खैरो सूचीबाट नेपाललाई निकाल्न प्रधानमन्त्री कार्की सक्रिय, १ हजार ६०० रोपनी जग्गा रोक्का
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘खैरो सूची’बाट नेपाललाई बाहिर निकाल्न गरिएका तयारीबारे सम्बन्धित निकायहरूसँग जानकारी लिएकी छन् । आइतबार ९आज० प्रधानमन्त्री निवासमा अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयका राजस्व सचिव भुपाल बराल तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्व पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान तथा नियमनकारी निकायबाट उच्चस्तरीय ब्रिफिङ लिएकी हुन् । ब्रिफिङका क्रममा सम्बन्धित निकायका प्रमुखहरूले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समयमै अनुसन्धान गरी अभियोजन प्रक्रियामा लैजाने, अपराधबाट आर्जित सम्पत्ति रोक्का तथा जफत गर्ने कार्यमा भएको प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । त्यस अवसरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं उपत्यकाभित्र मात्रै करिब १ हजार ६ सय रोपनी जग्गा रोक्का राखिएको विवरण प्रस्तुत गरेको छ। सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार कानुनी तथा संस्थागत सुधारलाई तीव्र बनाउँदै खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्ने प्रतिबद्धता दोहोर्याएको छ । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)ले नेपाललाई खैरो सूची (ग्रे लिष्ट)मा राखेको छ । यसअघि उसले दिएका सुझाव कार्यान्वयनमा अटेर गरेपछि नेपाल खैरो सूचीमा परेको हो । खैरो सूचीबाट बाहिर निस्कन एफएटीएफले थप सात सुझाव दिँदै कार्यान्वयन नगरे दुई वर्षमा कालोसूचीमा राख्ने चेतावनीसमेत नेपाललाई दिएको छ । खासगरी सम्पत्ति शुद्धीकरण निवारणमा नेपाल कमजोर भएको भन्दै नेपाललाई खैरो सूचीमा राखिएको हो । एफएटीएफका अनुसार ११ मापदण्डमध्ये कम्तीमा ३ वटामा ‘हाइली कम्प्लायन्स’ वा ‘सब्स्टान्सियल कम्प्लायन्स’ हुनु आवश्यक छ । तर नेपालले ४ मापदण्डमा ‘मध्यम’ र ७ मापदण्डमा ‘न्यून’ मूल्यांकन पाउँदा खैरो सूचीमा झर्नु परेको हो । खैरो सूची सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने एफएटीएफको नकारात्मक सूची हो । खैरो सूचीमा सम्पत्ति शुद्धीकरण अर्थात मनी लाउन्डरिङ र आतंकवादी क्रियाकलापमा वित्तीय सहायता रोकथाम गर्न आवश्यक मापदण्ड पूरा गर्न नसक्ने मुलुकहरूलाई राख्ने गरिन्छ ।
एनपीआई नारायणी सामुदायिक हस्पिटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट
काठमाडौं । एनपीआई नारायणी सामुदायिक हस्पिटलले आईपीओ जारी गर्ने भएको छ । एनपीआई नारायणी सामुदायिक हस्पिटलले आफ्नो जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँको २० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आईपीओ निष्कासनका लागि सेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको छ । सम्झौतामा एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक चुडामणि खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा निष्काशन कम्पनीको तर्फबाट कम्पनीको सञ्चालक विष्णु कुँवर तथा सञ्चालक निरज कुमार श्रेष्ठको उपस्थिति रहेको थियो । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धि निर्देशिकाहरूमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको हो । अस्पतालको थप सेवा विस्तारको लागि निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइएको हस्पिटलका लागि थप पूँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक चुडामणि खनालले जानकारी गराए । एनपीआई नारायणी सामुदायिक हस्पिटलको स्थापना विसं २०६३ मा भएको र हाल यसको वार्षिक कारोबार १.१५ अर्ब रहेको जानकारी कम्पनीले जनाएको छ । हाल यस संस्थामा ४२५ भन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन् ।
मधेसको सभामुखमा रामआशीष यादव निर्वाचित
काठमाडौं । मधेस सभामुख पदमा प्रदेशसभा सदस्य रामआशीष यादव निर्वाचित भएका छन् । यादव प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुख पदमा निर्वाचित भएका हुन् । उनको पक्षमा प्रदेशसभामा उपस्थित ९६ प्रदेशसभा सदस्यहरूमध्ये ७२ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो । नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले उनको विपक्षमा मतदान गरेको थियो । प्रदेशसभा सदस्य रामआशीष यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् प्रस्तावको पक्षमा प्रदेश सभामा उपस्थित प्रदेशसभा सदस्य संख्याको बहुमत रहेकाले अर्का सभामुख पदका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्ताव निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गर्नुपरेको थिएन ।
नियो स्टोरको सातौं तथा सबैभन्दा ठूलो फ्ल्यागशिप स्टोर लाजिम्पाटमा
काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स रिटेल चेन नियो स्टोरले काठमाडौंको लाजिम्पाटमा सातौं तथा देशकै सबैभन्दा ठूलो ‘फ्ल्यागशिप स्टोर’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई उत्कृष्ट भ्यालु र अन्तर्राष्ट्रिय स्तरको खरिद अनुभव प्रदान गर्ने उद्देश्यका साथ यो नयाँ शोरूम खोलिएको हो । नियो स्टोरका म्यानेजिङ डाइरेक्टर सञ्जय गोल्छाका अनुसार लाजिम्पाटमा सञ्चालनमा आएको यो स्टोर नेपालभरिकै सातौं शाखा हो। यसअघि काठमाडौं उपत्यकामा ६ र पोखरामा १ गरी ७ वटा स्टोर सञ्चालनमा थिए। ‘लाजिम्पाटको यो हाम्रो फ्ल्यागशिप स्टोर हो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो पनि छ,’ गोल्छाले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको उपभोक्तालाई उत्कृष्ट मूल्यमा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउनु हो । ’ नयाँ शोरूममा ल्यापटप, मोबाइल फोन, सीसीटीभी क्यामेरा, गेमिङ कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्रीहरूको बृहत् संकलन रहेको छ । विद्यार्थी, व्यवसायीदेखि कार्यकारीहरूसम्म सबै वर्गका ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर उत्पादनहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ । नियो स्टोरले आफ्ना उत्पादनहरूलाई ‘बेस्ट भ्यालु’को रूपमा प्रस्तुत गरेको छ । डाइरेक्टर गोल्छा भन्छन्, ‘हामी केवल जेन्युइन र ब्रान्डेड ल्यापटप मात्र बिक्री गर्छौं । हरेक उत्पादनमा वारेन्टी, ग्यारेन्टीका साथै एक वर्षको बीमा सुविधा पनि उपलब्ध छ । ’ ग्राहकहरूको सुविधाका लागि कम्पनीले किस्ताबन्दी (ईएमआई) को व्यवस्था पनि गरेको छ । नागरिकताको आधारमा पनि ग्राहकले सहजै ईएमआई सुविधा प्राप्त गर्न सक्नेछन्। ‘हामी केवल किन्ने बेलाको मूल्यमा मात्र होइन, उत्पादनको समग्र ‘कस्ट अफ ओनरशिप’मा ग्राहकलाई उत्कृष्ट भ्यालु प्रदान गर्न चाहन्छौं, उनले थपे । यो सातौं स्टोरसँगै नियोले भविष्यमा आवश्यकताअनुसार थप शाखाहरू विस्तार गर्ने र हाल सञ्चालनमा रहेका स्टोरहरूलाई समेत थप आधुनिक बनाउँदै लैजाने योजना बनाएको छ । ‘हाम्रो लक्ष्य नेपालमै ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको खरिद अनुभव दिनु हो,’ गोल्छाले भने । ग्राहकहरूलाई कुनै पनि इलेक्ट्रोनिक उत्पादन खरिद गर्दा मूल्य मात्र नभएर त्यसको समग्र भ्यालु हेर्न उनले आग्रह गरे ।
घण्टीघरमा रविले भने– जेनजी विद्रोहले उठाएका माग पूरा गर्नु अपरिहार्य छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जेनजी विद्रोहले उठाएका मागहरू पूरा गर्नु अपरिहार्य भएको समेत उनको भनाइ छ । उनले मुलुकमा सुशासन कायम गर्ने, जेनजीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने रास्वपा सरकारसँगै रहेको स्पष्ट पारे । सभापति लामिछानेले जेनजी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने समेत बताए । निर्वाचन बिथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी गर्दै त्यस्तो प्रयास सफल हुन नदिने चेतावनीसमेत उनले दिए । सभापति लामिछानेले भने, ‘यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन । जेनजी विद्रोहले गरेका अपेक्षा पुरा गर्नुको समेत विकल्प छैन । निर्वाचन बिथोल्नका निमित्त भागेका केही शक्तिहरू लागिपरेका छन् । त्यस्तो गर्न जरुरी छैन, पार्टीको चुनाव जितेसँगै आम चुनाव पनि जिते भैगो नि ।’ उनले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्तिहरू आफ्नो रोटी सेक्ने प्रयास गरिरहेको भन्दै वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने पनि बताए ।
रास्वपाका सभापति रवि लामिछानेलाई घण्टीघरमा स्वागत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गरिएको छ । पार्टी कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको उपस्थितिमा उनलाई बाजागाजासहित स्वागत गरिएको हो । लामिछाने शुक्रबार भैरहवा कारागारबाट रिहा भई काठमाडौं आइपुगेका हुन् । कारागारबाट छुटेपछि पहिलो पटक पार्टी कार्यालयमा आएका हुन् । सहकारी ठगी प्रकरणमा भैरहवा हुँदै नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई कार्यकर्ताहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । स्वागत कार्यक्रममा थुप्रै कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘सुरक्षित यात्रा तपाईंकै रोजाइमा’ नारासहित इनड्राइभको नयाँ सुरक्षा अभियान सुरु, बीमा पनि समेटियो
काठमाडौं । राइड सेयरिङ प्लेटफर्म इनड्राइभले यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंकै रोजाइमा’ नामक बृहत् सुरक्षा अभियान सुरु गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममाझ कम्पनीकी ब्राण्ड एम्बेस्डर नायिका स्वस्तिमा खड्काले उक्त अभियान सार्वजनिक गरिन् । अभियानको मुख्य उद्देश्य प्रयोगकर्ताहरूलाई एपमा उपलब्ध सुरक्षा सुविधाहरूबारे विस्तृत जानकारी गराउँदै यात्रालाई थप सुरक्षित र विश्वसनीय बनाउनु रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेस्डर खड्काले इनड्राइभबारे समाजमा रहेका केही भ्रमहरूलाई यो अभियानले चिर्ने विश्वास व्यक्त गरिन् । ‘कतिपयमा इनड्राइभमा यात्रा सुरक्षित छैन कि वा यसमा बीमाको सुविधा छैन कि भन्ने गलत बुझाइ छ,’ उनले भनिन्, ‘यो अभियानले एपमा भएका हरेक सुरक्षा सुविधाहरूलाई सरल तरिकाले यात्रुसम्म पुर्याउनेछ । तपाईंको रोजाइमा सुरक्षित यात्रा तय गर्ने स्वतन्त्रता इनड्राइभले दिएको छ । ’ उनले यो सकारात्मक सन्देश आम प्रयोगकर्तासम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताइन् । इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलका अनुसार इनड्राइभले सुरक्षालाई आफ्नो प्रमुख उत्तरदायित्व मानेको छ । इनड्राइभले अभियानमार्फत सुरक्षा सुविधाहरूको बारेमा जानकारी गराएको छ । जसमा यात्रुले आफूलाई लिन आउने विभिन्न राइडरहरूको प्रोफाइल, रेटिङ र उनीहरूले पूरा गरेको राइड संख्या हेरेर आफूलाई सबैभन्दा सुरक्षित लाग्ने राइडर छनोट गर्न सक्छन् । यात्राको क्रममा यात्रुले आफ्नो लाइभ लोकेसन परिवार वा साथीभाइलाई सजिलै सेयर गर्न सक्छन्, जसले गर्दा उनीहरू कहाँ पुगे भनेर ट्र्याक गर्न सकिन्छ । कुनै असुरक्षित महसुस भएमा एपबाटै सिधै प्रहरी वा आफ्नो आपत्कालीन सम्पर्क व्यक्तिलाई कल गर्न सकिने सुविधा छ । यात्रा सकिएपछि यात्रुले राइडरलाई र राइडरले यात्रुलाई रेटिङ दिन सक्छन्। यसले दुवै पक्षलाई मर्यादित र जिम्मेवार बनाउन मद्दत गर्छ । इनड्राइभमार्फत हुने हरेक यात्रा बीमाद्वारा सुरक्षित गरिएको छ । जसले गर्दा यात्रु र राइडर दुवैले ढुक्क महसुस गर्न सक्छन् । ‘हिडन कल फिचर’ ले गर्दा यात्रु र चालकको व्यक्तिगत फोन नम्बर गोप्य रहन्छ । जसले गर्दा व्यक्तिगत विवरण सुरक्षित हुन्छ । इनड्राइभकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले यी सुविधाहरू प्रयोग गर्न अल्छी नगरी हरेक यात्रामा उपयोग गर्न प्रयोगकर्ताहरूलाई आग्रह गरिन् । ‘हामीले राइड सुरु हुनुअघि, यात्राको दौरान र यात्रापछि, तीनवटै चरणमा सुरक्षा सुनिश्चित गर्ने फिचरहरू राखेका छौं,’ उनले भनिन् । इनड्राइभले यात्रुको सुरक्षाका साथै आफ्ना राइडरहरूलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । हालै मात्र ‘प्ल्याटिनम गिभ अवे’ कार्यक्रमअन्तर्गत कार र बाइक प्रदान गरेको कम्पनीले क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै फेरि नयाँ उपहार योजना ल्याएको छ । यसअन्तर्गत उत्कृष्ट राइडरले कार, बाइक, स्मार्टफोन, स्मार्टवाच र फ्युल भौचर जित्ने मौका पाउनेछन् ।
सीएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’मोटरसाइकल लन्च हुँदै, नेपालमा परीक्षण सुरु
काठमाडौं । सीएफमोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल परीक्षणका क्रममा देखा परेको छ । नेपालमा बढ्दै गएको एड्भेन्चर र डुअल–स्पोर्ट सेगमेन्टमा नयाँ मोडल छिट्टै लन्च गर्नेगरी सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले २५० डुअलको परीक्षण सुरु गरेको हो । सो नयाँ मोडलले मोटरसाइकल प्रेमीलाई सहरी यात्रादेखि अफरोडसम्म बहुउपयोगी विकल्प प्रदान गर्ने विश्वास लिइएको छ । नयाँ मोटरसाइकललाई सीएफमोटोले मजबुत अफरोड क्षमता र स्लीक अर्बन–रेडी डिजाइनका साथ अत्यन्त आकर्षक लुक्समा तयार पारेको छ । नेपालका विविध सडक परिस्थिति र चुनौतीपूर्ण भूपरिवेशलाई ध्यानमा राखेर विशेष रूपमा उपयुक्त मोटरसाइकल ल्याउन चाहेको कम्पनीले संकेत दिएको छ । डिजाइनलाई आकर्षक र एग्रेसिभ लुक्स दिन सो नयाँ बाइकमा शार्प एंगुलर फ्रन्ट फेसियाका साथ विशेष डुअल–स्पोर्ट हेडलाइट जडान गरिएको छ । अफरोडमा यात्रा गर्दा धुलो तथा ग्राभेलबाट सुरक्षा दिन उठाइएको फ्रन्ट फेन्डर र लम्बिएको फोर्क गार्ड उपलब्ध गराइएको छ । बाइकमा लामो ट्राभल सस्पेन्सन, स्लिम तथा स्ट्रिमलाइन बडी प्यानल, हाई–माउन्टेड एक्जस्ट, डुअल–पर्पस टायर र उभिएर चलाउँदा समेत राम्रो नियन्त्रण दिन सक्षम, स्कल्प्टेड ट्याङ्कसँग जोडिएको सानो स्लिम सीट प्रोफाइल दिइएको छ । इन्डुरो मेसिनबाट प्रेरित क्लासिक डिजाइन फिलोसफीमा आधारित २५० डुअलको उत्पादन आधुनिक तवरबार गरिएको छ भने प्रिमियम फिनिशिङले यसलाई थप परिष्कृत बनाएको छ । टिकाउपन र ह्यान्डलिङलाई विभिन्न परिस्थितिमा (सहरको भीडभाडदेखि बिग्रिएको सडक र अफरोड ट्रेलसम्म) मूल्यांकन गरिरहेको अवस्थालाई मध्यनजर गर्दा सीएफमोटो नेपाली सडक सुहाउँदो दछ । एर्गोनोमिक डिजाइन, फराकिलो ह्यान्डलबार र अप–राइट राइडिङ पोजिसनले सिएफमोटो २५० डुअललाई लामो यात्रादेखि विकेन्ड एड्भेन्चरसम्मका लागि उपयुक्त बनाउँने अपेक्षा गरिएको छ ।