जलविद्युत प्रवर्द्धकलाई कर छुट, आयातमा बैंक जमानत सुविधा
काठमाडौं । सरकारले जलविद्युत आयोजनाका लागि आर्थिक विधेयक मार्फत केही छुट तथा राहतको प्रबन्ध गरेको छ । जलविद्युत आयोजनाको क्षमता अभिवृद्धि तथा डिजाइन परिवर्तन गर्ने सैद्धान्तिक सहमतिको आयोजना, सो को ठेकेदार वा आयोजनाको प्रवर्द्धकले उपकरणलगायतका सामग्री आयात गर्दा बैंक जमानत सुविधा दिइनेछ । आयोजनाको उत्पादन, प्रसारण तथा वितरणका लागि आवश्यक पर्ने पाटपुर्जा, औजार तथा सो को अत्यावश्यक सामग्री विष्फोटक पदार्थ, पेनस्टक पाइप तथा स्टिल प्लेट आयात गर्दा लाग्ने भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर बापतको रकम विद्युत् विकास विभागको सिफारिशमा बैंक जमानत सुविधा दिन सकिने प्रबन्ध गरिएको छ । यसबाट जलविद्युत आयोजना निर्माणमा सहज हुने विश्वास लिइएको छ । क्षमता वृद्धि तथा डिजाइन परिवर्तन स्वीकृत भएपछि विद्युत् विकास विभागको सिफारिससहित आयोजना, ठेकेदार वा प्रवर्द्धकले बैंक जमानत फुकुवाको लागि आयात भएको भन्सार कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यस्तो निवेदन प्राप्त भएमा भन्सार कार्यालयले आवश्यक जाँचबुझ गरी पैठारीका बखत राखेको बैंक जमानतबाट एक प्रतिशत महसुल असुल गरी बाँकी कर महसुल छुट दिई बैंक जमानत फुकुवा गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी चालु आवमा सरकारले स्थापना गरेको राष्ट्रिय पुनः निर्माण कोषमा योगदान गरेको रकम सो आय वर्षको करयोग्य आय गणना गर्दा घटाउन सकिने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ । जेनजी आन्दोलनका क्रममा प्रभावित उद्योग, व्यापार वा व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी वा तोडफोडबाट भवन, फर्नीचर, यन्त्र तथा उपकरणमा भएको क्षतिमध्ये बीमा सर्भेयरको प्रतिवेदनबाट यकिन भएको वस्तुको विवरणका आधारमा सो को पुनः स्थापनाका लागि त्यस्ता सामग्री आयात गर्दा लाग्ने भन्सार महसुल तथा अन्तःशुल्कमा ५० प्रतिशत बराबरको छुट दिइएको छ । जेनजी आन्दोलनका क्रममा क्षति भएका क्यासिनो व्यवसाय सञ्चालन नभएको अवधिको रोयल्टी तथा नवीकरण शुल्कमा पनि छुट दिइएको छ ।
सरकारले लगायो राइड-सेयरिङमा कर, सेवा बापत १ प्रतिशत तिर्नुपर्ने
काठमाडौं । सरकारले आर्थिक विधेयक २०८३ मार्फत राइड-सेयरिङ सेवामा अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ९५ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था ल्याएको हो । ‘बासिन्दा राइड-सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड-सेयरिङ अपरेटर)ले आफ्नो प्लेटफर्ममा आबद्ध भई कुनै सेवा प्रदान गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरेको सेवा बापतको रकमका एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्नेछ,’ आर्थिक विधेयकमा उल्लेख छ ।
आजको मौसम: चट्याङसहित वर्षा हुने, हावाहुरी चल्ने
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक फैलिएको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहेको छ। बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। देशका तराई तथा पहाडी भू-भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ। आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै ‘पियर-टु-पियर लेनदेन’ लाई नियमनसहित सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गरिने जानकारी दिए । त्यसैगरी बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर-बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म स्थापना गरिने बजेटमा उल्लेख छ । सरकारका अनुसार क्रेडिट स्कोरिङ प्रणालीले कर्जाको जोखिम मूल्यांकन सुधार गर्ने, पियर-टु-पियर लेनदेनले वित्तीय पहुँच विस्तार गर्ने तथा सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको समस्या समाधानमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।
खानी, उद्योग र नवप्रवर्तनमा अर्बौं बजेट, १०० उद्योग विद्युतीय बोइलरमा रूपान्तरण हुने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग, वाणिज्य, आपूर्ति, तथा विज्ञान र प्रविधिको क्षेत्रलाई समेटेर विशेष बजेट तथा नीतिगत व्यवस्था सार्वजनिक गरेको छ । सरकारले औद्योगिक विकास, व्यापार सहजीकरण र स्टार्टअप प्रवर्द्धनका लागि अर्बौं रुपैयाँ विनियोजन गर्दै विभिन्न महत्त्वाकांक्षी योजनाहरू अघि सारेको हो । औद्योगिक विकासतर्फ सरकारले निर्यातको सम्भावना भएका कृषि प्रशोधन, पर्यटन सेवा र हलुका उत्पादन लगायतका श्रमप्रधान उद्योगको विकासका लागि नमूना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र (इम्प्लोयमेन्ट लिङ्कड प्रोडक्सन जोन) सञ्चालन गर्ने नीति लिएको छ । उद्योग प्रतिष्ठानहरूको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनी प्रबन्ध मिलाइने बजेटमा उल्लेख छ । वातावरण संरक्षणलाई ध्यानमा राख्दै सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा कोरिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ट्रिटमेन्ट प्लान्टसहितको सिवरेज प्रणाली सञ्चालन गरिने जनाइएको छ । परम्परागत बोइलरलाई इलेक्ट्रिक बोइलरले प्रतिस्थापन गर्न सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराइनेछ भने १०० वटा उद्योगलाई विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रूपान्तरण गर्न २२ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी, औद्योगिक पूर्वाधार विकासका लागि ६५ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ । खानी क्षेत्रतर्फ खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गरिनेछ भने नयाँ खानीको अन्वेषणका क्रममा फेज टुसम्मको अध्ययनका लागि जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गरिनेछ । खनिज तथा निर्माणजन्य सामग्री उत्खनन र व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गरिने घोषणा गरिएको छ । ठूला उद्योग र ५ मेगावाटभन्दा बढी विद्युत खपत गर्ने निजी औद्योगिक क्षेत्रसम्म सहज पहुँच र विद्युत आपूर्तिको व्यवस्था मिलाइनेछ, जसका लागि औद्योगिक तथा खानी पहुँच सडक निर्माण र मर्मत गर्न रू. ५० करोड विनियोजन गरिएको छ । यस्तै, दैलेखको पेट्रोलियम व्यावसायिक उत्पादन प्रक्रिया शीघ्र अघि बढाइने र धौवादी फलाम उद्योगमा सरकारको सेयर अंश घटाई सार्वजनिक-निजी साझेदारी (एएए) मोडलमा सञ्चालन गरिने भएको छ । वातावरणीय दृष्टिकोणले उपयुक्त ठाउँ पहिचान गरी ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था पनि मिलाइनेछ । वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि सरकारले कुल ८ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ । विश्व बजारमा ब्राण्ड स्थापित गरिसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गरिने नीति लिइएको छ । व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिष्टिक गुरुयोजना कार्यान्वयनमा ल्याइनेछ भने राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरुयोजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि १ अर्ब १८ करोड रुपैयाँ छुट्ट्याइएको छ । गलैंचा, कार्पेट, धागो, तयारी कपडा र सिमेन्ट जस्ता उच्च मूल्यका वस्तुको निर्यात बढाउन वस्तुगत निर्यात रणनीति तयार गरिनेछ । पूर्वाधारतर्फ भैरहवाको एकीकृत जाँच चौकी शीघ्र सञ्चालनमा ल्याइनेछ भने चाँदनी दोधारामा निर्माणाधीन क्ष्ऋए दुई वर्षभित्र सम्पन्न गरिनेछ । इन्धन क्षेत्रमा मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्रयाक्ट सम्बन्धी अध्ययन गरिनेछ भने पेट्रोल पम्पहरूमा न्यूनतम पूर्वाधारसहित ईभी चार्जिङ स्टेशन जडान गर्न प्रोत्साहन गरिनेछ । नेपाल आयल निगमले इथानोल उत्पादन गर्ने उद्योगहरूसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्नेछ । यसका साथै, बजारमा हुने सबै किसिमका सिण्डिकेट, कार्टेलिङ्ग, कालोबजारी, नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्न नियामक निकायलाई सुदृढ बनाइने प्रतिबद्धता जनाइएको छ । यसैगरी, स्टार्टअप र साना उद्यमलाई राष्ट्रिय उद्यम इकोसिष्टममा आबद्ध गर्न नेपाल इन्टरप्राइज फसिलिटी प्लेटफर्म स्थापना गरिने भएको छ, जसका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । यस प्लेटफर्मले उद्यम नीति, नवीन वित्तीय उपकरणको पहुँच र इन्क्युवेशन सहयोग सञ्जाललाई एकीकृत रूपमा अघि बढाउनेछ। कृषि तथा पशुजन्य उद्यम गर्न चाहने १ हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराइनेछ । युवा वैज्ञानिकहरूलाई स्वदेशमै अनुसन्धानको अवसर दिन अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ भने खगोलीय पर्यटन प्रवर्द्धनका लागि सगरमाथा आधार शिविरमा अब्जर्वेटरी केन्द्र स्थापना गरिनेछ । समग्र विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बजेट मध्यम वर्ग केन्द्रित भयो, टेलिकम र वायुसेवा निगमको सेयर बिक्री गर्नु ठिक छैन: वर्षमान पुन
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मध्यम वर्ग केन्द्रित भएको भन्दै तल्लो वर्गका लागि आवश्यक कार्यक्रम उपेक्षित भएको टिप्पणी गरेका छन् । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पुनले किसान, मजदुर, बेरोजगार युवा र सुकुम्बासीका लागि ठोस कार्यक्रम समावेश नभएको आरोप लगाए । 'समग्रमा बजेट मध्यम वर्ग केन्द्रित आएको छ, तल्लो वर्गका लागि लक्षित कार्यक्रम देखिँदैन,' उनले भने, 'मजदुर, किसान, बेरोजगार युवा र सुकुम्बासीका लागि रोजगारी सिर्जना गर्ने वा स्वरोजगारका कार्यक्रम पर्याप्त छैनन् ।' उनका अनुसार बजेटले रोजगारी सिर्जनाको जिम्मेवारी निजी क्षेत्रतर्फ सार्ने प्रयास गरेको देखिन्छ, जुन उचित नभएको उनले बताए । पुनले नेपाल टेलिकम र नेपाल वायुसेवा निगम जस्ता सार्वजनिक संस्थानको सेयर बिक्रीको योजनाप्रति पनि आपत्ति जनाए । नाफामा सञ्चालन भइरहेका संस्थानलाई सेयर बिक्रीमार्फत निजीकरणतर्फ लैजान खोजिएको भन्दै उनले आलोचना गरे । त्यसैगरी बजेटमा उल्लेख गरिएको आन्तरिक तथा वैदेशिक ऋण परिचालन योजनाप्रति पनि उनले प्रश्न उठाए । सरकारले ठूलो परिमाणमा ऋण लिने योजना बनाएको भन्दै उनले यसले दीर्घकालीन आर्थिक दबाब बढाउने जोखिम रहेको बताए । पुनले यसअघि आफूले बजेटमा समावेश गरेका केही विकास अवधारणालाई वर्तमान बजेटमा फरक नाममा निरन्तरता दिइएको भन्दै त्यसप्रति धन्यवाद समेत व्यक्त गरे । समग्रमा बजेटले संरचनात्मक परिवर्तनको संकेत गरे पनि सामाजिक न्याय र तल्लो वर्गका मुद्दामा कमजोरी देखिएको उनको निष्कर्ष छ ।
पर्यटक भिसामा नेपाल आएर छालाको ज्याकेट बेच्ने दुई चिनियाँ पक्राउ
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । शुक्रबार देवचुली नगरपालिका– १३ स्थित दलदले भन्ने ठाउँमा चेन जीवक्विएन र यी लिहुवा पक्राउ परेका हुन् । छालाको जस्तो देखिने ४३ थान ज्याकेटहरूको बिक्री–बितरण गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए । उनीहरूले एउटा ज्याकेटको मूल्य ३ देखि ४ हजारमा बेच्ने गरेको उनको भनाइ छ । बिना बिलबिजक नभएका ज्याकेट उनीहरूको साथमा रहेको प्रहरीले जनाएको छ । उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए । थप अनुसन्धानका लागि कालिकास्थानस्थित अध्यागमन विभाग पठाइएको पण्डितले जानकारी दिए ।
बजेटमा सुदूरपश्चिमः पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास गर्ने र सुदूरमै पहिलोपटक एमबिबीएसको पढाइ सुरु गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आव २०८३÷८४ को बजेट प्रस्तुत गर्दै सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबीएससहित चार विधाका शैक्षिक कार्यक्रम सुरु गर्ने घोषणा गरे । स्वास्थ्य शिक्षा विस्तार र प्रदेशस्तरीय चिकित्सा जनशक्ति उत्पादनलाई लक्ष्य राख्दै एमबीबीएससहितका कार्यक्रम सुरु गर्ने बजेटमा उल्लेख गरिएको छ । त्यसैगरी, रामारोशन, खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा र मालिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिमा विशिष्ट पर्यटकीय चर्तुर्दिक विकास अघि बढाइने आगामी बजेटको प्राथमिकतामा रहेको छ । बजेटमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कमान्ड क्षेत्र विस्तार गरिने भएको छ भने कञ्चनपुरमा निर्माणाधीन दोधारा चाँदनी सुक्खा बन्दरगाहमा एकीकृत जाँच चौकी दुई वर्षभित्र सम्पन्न गर्ने अर्थमन्त्री वाग्लेले घोषणा गरे । त्यहाँको खेलकुदको विकास र विस्तारमा समेत बजेटमा सम्बोधन भएको छ । कैलालीको धनगढीमा रहेको निर्माणाधीन फाप्ला क्रिकेट रंगशाला तीन वर्षभित्र सम्पन्न गर्ने बताइएको छ । त्यसैगरी, बजेटमा पश्चिमीनाका गड्डाचौकीदेखि कोहलपुरसम्म महेन्द्र राजमार्गको सडकखण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गरिने विषय समावेश छ । महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिनुका साथै खुटिया–दिपायल सडकको स्तरोन्नतिलाई तीव्रता दिइने बजेटमा उल्लेख छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले सुदूरपश्चिमको पर्यटकीय विकासदेखि खेलकुद चलायन मनाउन बजेट आएकोप्रति खुसी व्यक्त गरे । ‘विगतको भन्दा बजेट सुदूरपश्चिममा थोरै आएको हो कि भन्ने देखियो,’ अध्यक्ष मल्लले भने, àबाँकी रातो किताब आएपछि थाहा होला, आएको बजेट कार्यान्वयन होस् ।’ कञ्चनपुरको बेलौरी–टाउन बजार ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने छ । दुई सय १० मेघावाटको चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गरिने विषय बजेटमा रहेको छ । यहाँको खप्तड–बडिमालिका र शुक्लाफाँटा प्रादेशिक पर्यटकीय करिडोरको प्रवर्द्धन गरिने छ । अपि हिमालको ट्रेकिङ रुट विकास गर्ने विषय पनि आसन्न बजेटमा परेको छ भने आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गरिने भएको छ ।