काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मध्यम वर्ग केन्द्रित भएको भन्दै तल्लो वर्गका लागि आवश्यक कार्यक्रम उपेक्षित भएको टिप्पणी गरेका छन् ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पुनले किसान, मजदुर, बेरोजगार युवा र सुकुम्बासीका लागि ठोस कार्यक्रम समावेश नभएको आरोप लगाए ।
'समग्रमा बजेट मध्यम वर्ग केन्द्रित आएको छ, तल्लो वर्गका लागि लक्षित कार्यक्रम देखिँदैन,' उनले भने, 'मजदुर, किसान, बेरोजगार युवा र सुकुम्बासीका लागि रोजगारी सिर्जना गर्ने वा स्वरोजगारका कार्यक्रम पर्याप्त छैनन् ।'
उनका अनुसार बजेटले रोजगारी सिर्जनाको जिम्मेवारी निजी क्षेत्रतर्फ सार्ने प्रयास गरेको देखिन्छ, जुन उचित नभएको उनले बताए ।
पुनले नेपाल टेलिकम र नेपाल वायुसेवा निगम जस्ता सार्वजनिक संस्थानको सेयर बिक्रीको योजनाप्रति पनि आपत्ति जनाए । नाफामा सञ्चालन भइरहेका संस्थानलाई सेयर बिक्रीमार्फत निजीकरणतर्फ लैजान खोजिएको भन्दै उनले आलोचना गरे ।
त्यसैगरी बजेटमा उल्लेख गरिएको आन्तरिक तथा वैदेशिक ऋण परिचालन योजनाप्रति पनि उनले प्रश्न उठाए । सरकारले ठूलो परिमाणमा ऋण लिने योजना बनाएको भन्दै उनले यसले दीर्घकालीन आर्थिक दबाब बढाउने जोखिम रहेको बताए ।
पुनले यसअघि आफूले बजेटमा समावेश गरेका केही विकास अवधारणालाई वर्तमान बजेटमा फरक नाममा निरन्तरता दिइएको भन्दै त्यसप्रति धन्यवाद समेत व्यक्त गरे ।
समग्रमा बजेटले संरचनात्मक परिवर्तनको संकेत गरे पनि सामाजिक न्याय र तल्लो वर्गका मुद्दामा कमजोरी देखिएको उनको निष्कर्ष छ ।