व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै ‘पियर-टु-पियर लेनदेन’ लाई नियमनसहित सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गरिने जानकारी दिए ।

त्यसैगरी बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर-बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म स्थापना गरिने बजेटमा उल्लेख छ ।

सरकारका अनुसार क्रेडिट स्कोरिङ प्रणालीले कर्जाको जोखिम मूल्यांकन सुधार गर्ने, पियर-टु-पियर लेनदेनले वित्तीय पहुँच विस्तार गर्ने तथा सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको समस्या समाधानमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।

Share News