विकासन्युज

अम्बिका पौडेलले दिए एनबी इन्स्योरेन्स कम्पनीबाट राजीनामा, अरुण फाइनान्सको नेतृत्व गर्दै

काठमाडौं, ७ पुस । एनबी इन्स्योरेन्स कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले राजीनामा दिएका छन् । तर उनको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छैन । स्रोतका अनुसार मंसिर १७ गते कम्पनीको १८ औं र १९ औं साधारणसभा सम्पन्न भएपछि पौडेलले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । आफू अन्य काममा व्यस्त भएको जनाउँदै पौडेलले राजीनामा गरेको बताएका छन् । सञ्चालक समितिले पौडेललाई राजीनामा फिर्ता गर्न सुझाव दिएको छ । बीमा समितिले समस्याग्रस्त घोषणा गरेको र बन्द अवस्थामा रहेको एनबी इन्स्योरेन्स कम्पनीलाई सञ्चालनमा ल्याउने र सामान्य अवस्थामा फर्काउन पौडेलले महत्वपूर्ण योगदान गरेको बताइएको छ । पौडेलको राजीनामा स्वीकृत गरि सो ठाँउमा आईएमई ग्रुपका हेमराज ढकाल आउन सक्ने अनुमान गरिएको छ । सम्बद्ध स्रोतका अनुसार अम्बिका पौडेलसहित आईएमई ग्रुपमा आवद्ध व्यक्तिहरुले समस्याग्रस्त अरुण फाइनान्समा प्रमोटर सेयर लिएका छन् । विहीबार मात्र पौडेल अरुण फाइनान्सको अध्यक्षमा चयन भएका छन् । राष्ट बैंकले समस्या ग्रस्त घोषणा गरेको यो फाइनान्सले नयाँ नेतृत्व पाए लगतै समस्याग्रस्त सूचिबाट हटाउने तयारी गरेको छ । संसद्बाट पारित हुने अन्तिम चरणमा रहेको बैक तथा वित्तीय संस्था सम्बन्धि विधेयकमा एउटै व्यक्ति बैंक र बीमा कम्पनीको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था गरेकोले पौडेलले इन्स्योरेन्स कम्पनीबाट राजीनामा दिएको बताईएको छ ।

रिलायन्स फाइनान्स र ज्योति विकास बैंकको साधारणसभा क्रमशः पुस २६ र २८ गते

काठमाडौं, ७ पुस । रिलायन्स फाइनान्सको सातौँ वार्षिक साधारणसभा यही मंसिर २६ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस ११ गतेदेखि पुस १९ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने भएको छ । ज्योति विकास बैंकको आगामी वार्षिक साधारणसभा यही मंसिर २८ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २८ गतेसम्म बैंकको बुक क्लोज हुने भएको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, ७ पुस । सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार मात्रै उक्त संस्थाको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।

पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन, अब पुरानै मूल्यमा इन्धन पाइने

काठमाडौं, ७ पुस । व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको छ । बिहिबार बसेको सो समिति अन्तर्गत गठिन उप समिति बैठकले नेपाल आयल निगमले हालै वृद्धि गरेको मुल्य कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।‘उपभोक्ताको ढाड सेक्ने गरि आफैले बनाएको कार्यबिधीको समेत उल्लंघन गर्दै पेट्रोलियम पदार्थको वृद्धि गरिएको मुल्य घटाउन निर्देशन गरिन्छ’, समिति बैठकको निर्णय सुनाउँदै उप समिति सभापति सुभाषचन्द्र ठकुरीले विकासन्युजसँग भने । नेपाल आयल निगमले पुस ४ गते राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा मूल्य वृद्धि गरेको थियो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा र मट्टितेल ७७ रुपैया ५० पैसाका कारोबार भैरहेको थियो । समितिको निर्णय कार्यान्वयन भएमा पेट्रोलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ, डिजेल ७३ रुपैयाँ र मट्टितेल ७३ रुपैयाँमा पाइनेछ । बिहिबारको बैठकमा बाणिज्य सचिव प्रेम कुमार राई सहभागी थिए । बढेको मुल्य कार्यान्वयन नगर्न संसदिय समितिले दिएको निर्देशन कार्यान्वयनबारे बुझ्न निगमका कार्यकारी प्रमुख गोपाख खड्काको मोबाइल स्विच अफ थियो । निगम प्रवक्ता भानुभक्त खनालले भने यसबारे आफुलाई केहि थाहा नभएको प्रतिक्रिया दिए ।

साताको अन्तिम दिन नेप्से परिसूचक हरियो, ५० करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं, ७ पुस । साताको अन्तिम दिन सेयर बजार हरियो भएको छ । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक ४ दशमलब ७८ अंकले बढेर १४७५ दशमलब ४१ अंकमा पुगेको छ । लगातार घटेको बजारमा आज केही मात्रामा सुधार भएको देखिन्छ । परिसूचक सँगै कारोबार रकममा पनि सुधार भएको छ । सो दिन १३८ कम्पनीको ७६ लाख ९९ हजार कित्ता सेयर ५० करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार ५ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा सनराइज बैंक लि प्रमोटर सेयरको सेयर, नेको इन्स्योरेन्स र नेपाल दुरसञ्चार कम्पनीको ४ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, चिलिमे हाइड्रो पावर कम्पनीको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन उत्पादनमूलक, अन्य समूह, विकास बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः ३४, १९, ५ र २ अंकले उकालो लागेका छन् । यी मध्ये बाँकी रहेका समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक २३ अंकले ओरालो लागेको छ । बजारमा एनबी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी करिब ८ प्रतिशत कमाएका छन् । उता सबैभन्दा बढी माउन्ट मकालु डेभलपमेन्ट बैंकका लागानीकर्ताले करिब ५.७ प्रतिशत गुमाएका छन् ।

फास्ट ट्रयाक आफैं बनाउने सरकारको निर्णय, ७ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं, ७ पुस । सरकारले काठमाडौं–निजगढ फास्ट ट्रयाक आफैं बनाउने निर्णय गरेको छ । भारतीय कम्पनी आइएल एण्ड एफएसँगको सम्झौता तोडेर फास्ट ट्रयाक आफैं बनाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयलाई बिहिबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो । ‘फास्ट ट्रयाक आफैं बनाउने मन्त्रालयको निर्णयलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ, अब थप प्रक्रिया अघि बढाउँछौं’, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने । मन्त्रिपरिषदले नै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यिय अध्ययन समिति पनि गठन गरेको छ । समितिले फास्ट ट्रयाक निर्माणको मोडल र वित्तिय व्यवस्थापनबारे अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाउने छ । त्यस्तै, मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा प्रमोद कुमार वैद्यलाई नियुक्त गरेको छ भने नेपाल औषधी लिमिटेडको महाप्रबन्धकमा रोबस कुसुम सुवेदीलाई नियुक्त गरेको छ । त्यस बाहेक राष्ट्रिय फुटबल टिमलाई ७५ लाख पुरस्कार दिने निर्णय पनि बिहिबारको मन्त्रिपरिषद बैठकले गरेको छ । शुक्लाफाँट वन्यजन्तु आरक्षको नाम परिर्वतन गर्दै राष्ट्रिय निकुञ्जका रुपमा स्तरोन्नति गर्ने निर्णय पनि सरकारले गरेको छ ।

नेको इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, पुस २८ गते साधारणसभा

काठमाडौं, ७ पुस । नेको इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णयलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा यही पुस २८ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २८ गतेसम्म कम्पनीको बुक क्लोज हुने बताइएको छ ।

३१ गाविसका ३४ हजार मानिस उच्च खाद्य असुरक्षाको जोखिममा, कुन कुन गाविस जाेखिममा ?

काठमाडौं, ७ पुस । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूको एक अध्ययनले भूकम्पले अतिप्रभावित ४ जिल्ल्लाका ३४ हजार मानिस उच्च खाद्य सुरक्षा जोखिमको अवस्थामा पुगेको देखाएको छ । सञ्जालले साउनदेखि कार्तिकसम्म गरेको अध्ययनले धादिङ ५, गोरखा ११, नुवाकोट ९ र सिन्धुपाल्चोक ६ गरी ३१ गाविस उच्चतम खाद्य असुरक्षित (चरण ३) अवस्थामा पुगेको कृषि विकास मन्त्रालयले जानकारी दिएको हो । यी गाविसका ३४ हजार मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको कृषि विकास मन्त्रालयले जानकारी दिएको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले यस्तो अवस्था आउनुका प्रमुख कारण वैशाख २०७२ मा गएको विनाशकारी भूकम्पको निरन्तर प्रभावलाई मानेका छन् । यसका साथै भूकम्प प्रभावित जिल्लाहरूमा जिल्ला खाद्य सुरक्षा संजालहरूले हिउँदे बालीको उत्पादनमा ह्रास आएको, सरसफाई र स्वास्थ्यको अवस्था नराम्रो रहेको, बाढी पहिरोको कारण सडक र बाटोहरू बन्द भएकोे समेत जानकारी दिएको छ । उक्त जिल्लाहरुमा खाद्य उपभोग अभावको अवस्था सामान्य भन्दा धेरै माथि छ । सञ्जालले १५ जिल्लाका धेरै गाविसहरू र नगरपालिकालाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा वर्गीकरण गरे गरेको छ । त्यहाँका घरधुरीहरू परम्परागत निर्वाह पद्धति अपनाएर न्यूनतम खाद्य आवश्यकताहरू परिपूर्ति गर्न सक्ने अवस्थामा रहेका छन् । तर, केही अत्यावश्यक गैर खाद्य आवश्यकताका परिपूर्तिका लागि भने निर्वाह पद्धतिहरूबाट नहुने देखिएको छ । सञ्जालको प्रतिवेदनअनुसार बझाङका ७, बाजुरा/धादिङ ११, दोलखा १२, डोल्पा ७, गोरखा ९, हुम्लाका १८, कालिकोट ७, काभ्रेपलाञ्चोकको १०, मुगा १५, नुवाकोट २१, प्यूठान ३, रामेछाप १३, रसुवा २ र सिन्धुपाल्चोक १३ गाविसहरु मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा रहेका छन् । सञ्जालले वाँकी तीन हजार एक सय १५ गाविस तथा नगरपालिकालाई न्यूनतम खाद्य असुरक्षित (चरण १) अवस्थामा वर्गीकरण गरिएका छ । यो अवस्था मानिसहरुले जीविकोपार्जनका पद्धतिहरू (उपायहरू) परिवर्तन नगरिकन खाद्य र गैर खाद्य आवश्यकताहरू पूरा गर्न सक्दछन् । ती घरधुरीहरूले यस्तो अवस्थामा पुग्नुको प्रमुख कारण आफ्नो सामाजिक, प्राकृतिक तथा आर्थिक हैसियतका तथा प्रकोप, संकट, माहामारी र द्वन्द वा हिंसा रहेको छ । ती क्षेत्रहरूमा भर्खर गहुँ (चैत्र/बैशाख) र मकै (श्रावण/भाद्र) बालीहरूको उत्पादन भएका कारण पर्याप्त खाद्य वस्तुको संचिती रहेको देखिएको छ । कृषि र गैर कृषिजन्य कृयाकलापहरूबाट समेत प्राप्त आम्दानीले गर्दा घरधुरीको खाद्य उपलब्धता र पहुँचमा सहयोग पुर्याएको हुँदा प्राकृतिक तथा मानव सिर्जित विपत्तिले खाद्य उपयोग र स्थिरतामा पार्ने प्रभावलाई सीमित तुल्याएको छ । यस वर्ष धानको उत्पादन १५ प्रतिशतले बढ्ने भएपनि खाद्य संकट अझ बढ्ने देखिएको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले हालको अवस्था र भावी परिदृष्यलाई मध्यनजर गर्दै मंसिर देखि फाल्गुनसम्मको अवधिलाई खाद्य सुरक्षाको अवस्थाको प्रक्षेपण गरेका छ । यस वर्ष धान बाली लगाउने र हुर्कने बेलामा समयमै र प्रशस्त मात्रामा मनसुनी वर्षा भएकाले धानको उत्पादन राम्रो हुने अनुमान गरिएको हो । दोस्रो प्रारम्भिक पूर्वानुमान नतिजाका अनुसार धान बालीको उत्पादन गत वर्षको तुलनामा वृद्धि भई गत सालको उत्पादन ४२ लाख ९९ हजार मेट्रिक टनबाट बढेर यस यस वर्ष ४९ लाख ५२ हजार पुग्ने अनुमान सञ्वालले गरेको छ । समग्रमा जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले मंसिर देखि फाल्गुन सम्मको अवधिमा खाद्य सुरक्षाको अवस्था खस्कन गई गम्भिर खाद्य असुरक्षित अवस्था (चरण ४) मा समेत वर्गीकरण हुन सक्ने अनुमान गरेको छ । तथापि उच्चतम खाद्य असुरक्षित (चरण ३) र मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) मा वर्गिकृत हुने गाविसहरुको संख्या समेत बढेर क्रमशः ३१ बाट ४६ र १७५ बाट १७९ मा पुग्ने संभावना देखिएको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालले ४६ गाविस (बझाङ ७, बाजुरा ९, धादिङ ५, हुम्ला १८, र कालिकोट ७) उच्चतम खाद्य असुरक्षित (चरण ३) को अवस्थामा वर्गीकरण पुग्न सक्ने अनुमान गरेको छ । यस अवधिमा वर्षे बालीबाट प्राप्त खाद्य सञ्चय रित्तिदै जाने र गहुँको उत्पादन फाल्गुन÷चैत्रमा मात्र भित्रिने हुनाले खाद्यान्न अभाव हुन सक्ने जनाएको हो । सञ्जालले १४ जिल्लाका १७९ (अछाम १५, बैतडी १४, बझाङ २०, दार्चुला १९, धादिङ ११, डोल्पा ७, डोटी १८, गोरखा ११, हुम्ला ९, कालिकोट २३, मुग १५, नुवाकोट ९, रसुवा २, र सिन्धुपाल्चोक ६) लाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा पुग्न सक्ने देखाएको छ । सञ्जालका अनुसार ४६ गाविस (बझाङ ७, बाजुरा ९, धादिङका ५, हुम्ला १८, र कालिकोटका ७) उच्चतम खाद्य असुरक्षित (चरण ३) को अवस्थामा पुग्ने छन् । १४ जिल्लाका १७९ गाविस (अछाम १५, बैतडी १४, बझाङ २०, दार्चुला १९, धादिङ ११, डोल्पा ७, डोटी १८, गोरखा ११, हुम्ला ९, कालिकोट २३, मुगु १५, नुवाकोट ९, रसुवा २, र सिन्धुपाल्चोक ६) लाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा वर्गीकरण हुनसक्ने सम्भावना देखाएको छ ।