विकासन्युज

सनराइज बैंककाे विज्ञ संचालकमा जोशी नियुक्त, नेशनल नारायणी फाइनान्सको सिम्बोलिक प्रतिनिधित्व

काठमाडौं, ७ पुस । सनराइज बैंकको संचालक समितिले विज्ञ सञ्चालकमा ओमकृष्ण जोशीलाई नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार व्यवसायिक विशेषज्ञको रुपमा उनलाई आगामी ४ वर्षको लागि नियुक्त गरिएको बैंकले जनाएको छ । उनको नियुक्तीसँगै सनराईज बैंकमा गाभिएको नेशनल नारायणी फाइनान्सको सिम्बोलिक प्रतिनिधित्व भएको छ । दुई संस्था मर्ज हुँदा नेशनल नारायणी फाइनान्सबाट सञ्चालक समितिमा प्रतिनिधित्व भएको थिएन । जोशी यसअघि नेशनल नारायणी फाइनान्समा विज्ञ सञ्चालक थिए ।  त्यसअघि नारायणी फाइनान्समा प्रबन्ध निर्देशकको रुपमा कार्यरत थिए । बैंक व्यवस्थापन समिति र सञ्चालक समिति दुबै तहमा बसेर काम गरेका जोशीलाई व्यवहारिक बैकर्सको रुपमा चिनिन्छन् ।

मोरङमा ‘माछा जोन’ कार्यक्रमका लागि २० करोड

विराटनगर, ७ पुस । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत मोरङको एक नगरपालिका र तीन गाविसमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । दस वर्षे सो परियोजना सञ्चालनका लागि चालु आवमा रु २० करोड विनियोजन गरिएको छ । रङ्गेली नगरपालिकाका साथै बबियाविर्ता, सोराभाग र कटहरी गाविसमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुन लागेको जिल्ला कृषि विकास कार्यालय, मोरङले जनाएको छ । यो कार्यक्रम सञ्चालनका लागि ५०० हेक्टर जग्गा चाहिन्छ । ती जग्गामा माछा पाल्न नयाँ पोखरी निर्माण, बजारीकरण, यन्त्र औजार खरिद, नर्सरी पोखरी र साना सिँचाइका लागि ५० देखि ८५ प्रतिशतसम्म अनुदान रकम प्रदान गरिने सो कार्यालयका प्रमुख मनोजकुमार यादवले जानकारी गराए । कृषि क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन र निर्यातलाई बढावा दिन सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारले चालु आवदेखि चार तहको कार्यक्रम सुरु गरेको छ । सोअनुरुप सातवटै प्रदेशमा एक हजार हेक्टरको ‘सुपर जोन’ र छनोटमा परेका जिल्लामा ५०० हेक्टरको जिल्ला जोन, एकसय हेक्टरको इलाका र १० हेक्टरको पाकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्न थालिएको छ । प्रदेश र जिल्लामा उत्पादनमा प्रमुखता पाएका कृषि वस्तुलाई आधार बनाएर कार्यक्रम निर्धारण गरिएको हो । प्रदेश नं १ मा ‘सुपरजोन’ कार्यक्रमका लागि झापालाई छनोट गरिएको छ । सो कार्यक्रमअन्तर्गत एक हजार हेक्टर जग्गामा विशेष किसिमको धानको खेती गरिन्छ । सोहीअनुरुप सातवटै प्रदेशमा एउटा एउटा ‘सुपर जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । मोरङमा माछा उत्पादन बढी हुने गरेकाले मोरङमा ‘माछा जोन’ र सप्तरीमा आँप उत्पादन बढी हुने गरेकाले सप्तरीमा ‘आँप जोन’ निर्धारण गरिएको छ । सोहीअनुरुप, भोजपुर, उदयपुरलगायतका जिल्लामा प्रमुखता पाएका वस्तुलाई आधार बनाएर कार्यक्रम छनोट गरिएको बताइएको छ । माछाको उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको मोरङ जिल्लामा ५८५ हेक्टर जग्गामा माछाको खेती गरिन्छ । गत वर्ष सरकारले ५६ हेक्टर जग्गामा नयाँ पोखरी निर्माणका लागि रु एक करोड ५० लाख अनुदान रकम वितरण गरेको थियो । सोही कारण माछा उत्पादनका लागि मोरङलाई छनोट गरिएको हो । ‘सुपर जोन’ र ‘जिल्ला जोन’का लागि छुट्टै कार्यालय स्थापना हुने र इलाका र पकेट कार्यक्रम सम्बन्धित जिल्ला कृषि विकास कार्यालयबाट सञ्चालन हुने जिल्ला कृषि विकास कार्यालय, मोरङका प्रमुख यादवले बताए । जोन सञ्चालक समितिमा कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि सामग्री व्यवसायीका साथै नजिकको कृषि विकास कार्यालयका प्रतिनिधि सदस्यको रुपमा रहने बताइएको छ । रासस

सीआईबी र नेशनल बैंकिङ ईन्ष्टिच्युटबीच सम्झौता, वित्तीय अपराध नियन्त्रण गर्ने

काठमाडौं, ७ पुस । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) र नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीआई) बीच वित्तीय क्षेत्रमा हुने अपराध रोक्न तथा भएका अपराधको अनुसन्धान गर्न सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सन्जिब सुब्बा र सीआईवीका प्रमुख नवराज सिलवालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार सीआईवीले छनौट गरेर पठाएका अनुसन्धानमा संलग्न हुने कर्मचारी तथा अन्य अधिकारीलाई अन्तरराष्ट्रिय चासोका विषयहरु मध्येको एण्टी मनी लण्डरिङ तथा कम्ब्याटिङ दि फाइनान्सिङ अफ टुरिजम (एएमएल/सीएफटी)का तालिम एनबीआईले उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ । वित्तीय कारोवारको दायरा बृद्धिसँगै बैंक तथा वित्तीय क्षेत्रमा ठगी तथा घोटालाका घटनाहरु र अन्य वित्तीय अपराध समेत बढिरहेकोले एएमएलरसीएफटीमा तालिमले कानुन कार्यान्वयन ईकाइलाई प्रभावकारी ढंगबाट कामगर्न मद्दत पुग्ने जारी विज्ञप्तिमा बताइएको छ । कार्यक्रममा एनवीआईका सीईओ सुब्बाले एनबीआईको मुख्य उद्देश्य बैंक तथा वित्तीय संस्था एवं नियामक निकाय, नीति निर्माता तथा कानून कार्यान्वयन ईकाइहरु लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षहरुको दक्षता अभिवृद्धि गर्नु रहेको बताएका छन् । कार्यक्रममा सीआईबीका प्रमुख सिलवालले पनि साझेदारीसँगै वित्तीय क्षेत्र सम्बद्ध अपराध अनुसन्धानमा सक्रिय अधिकारीहरुलाई अपराधको प्रकृति अध्ययन तथा अनुसन्धान गर्न अवाश्यक ज्ञान तथा सीप उपलव्ध गराउन उपयुक्त माध्यम हुने बताए । साथै क्षमता अभिवृद्धि कार्यक्रमले केन्द्रिय अनुसन्धान ब्युरो टोलीलाई थप परिपक्कता बनाइ माथिल्लो तहमा पुग्न मद्दत मिल्ने विश्वास गरेका छन् ।

विकास समितिले भन्यो–’मेट्रो रेलको निर्माण थाल्नु, जनकपुर–जयनगरमा यसै वर्ष रेल गुडाउनु’

काठमाडौं, ७ पुस । व्यवस्थापिका संसदको विकास समितिले काठमाडौं उपत्यकामा मेट्रो रेलको निर्माण तत्काल आरम्भ गर्न सरकारलाई निर्देशन दिएको छ । बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको उपस्थितीमा सम्पन्न समितिको बैठकले मेट्रो रेलको डिपिआर तयार पारेर तत्काल निर्माण आरम्भ गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । ‘काठमाडौँ उपत्यकाको सवारी चाप तथा सवारी जामलाई व्यवस्थित गर्न तथा उपत्यकाको सवारी आवागमनलाई सहज रुपमा सञ्चालन गर्न उपत्यकाभित्र मेट्रो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी मेट्रो रेल सेवा निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरी निर्माण कार्य आरम्भ गर्न समिति नेपाल सरकार, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई तथा रेल विभागलाई निर्देशन गर्दछ ।’,समितिले भनेको छ । समितिले निर्माणाधिन जनकपुर–जयनगर रेल मार्गलाई यसै आर्थिक बर्षभित्र सम्पन्न गरि सञ्चालनमा ल्याउन पनि निर्देशन दिएको हो । ‘जनकपुर–जयनगर रेल्वे निर्माण गर्ने कार्य यसै वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याउन र वर्दिबास–सिमरा रेलमार्गको ट्रयाकबेडकोे निर्माण सम्पन्न गरी ट्रयाक विछ्याउने कार्य आरम्भ गर्न समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।’, समितिले भनेको छ । त्यसैगरि, रसुवागढी–काठमाडौ–पोखरा–लुम्बिनी रेल मार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न, मेची–महाकाली,काठमाडौँ–पोखरा विद्युतीय रेलमार्ग निर्माण गर्ने कार्य द्रुतगतिमा अगाडि बढाउन पनि निर्देशन दिएको हो । समितिको बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले मेट्रो रेल, रसुवागढी–काठमाडौं रेलमार्ग, काठमाडौं–पोखार–लुम्बिनी रेलमार्गको निर्माणका लागि तदारुकताका साथ काम भैरहेको बताएका थिए । उनले मेची–महाकाली रेलमार्ग निर्माणको कामलाई तिब्रता दिने र एक बर्षभित्रै जनकपुर–जयनगर रेल वेको निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । बैठकमा समितिका सभापति रबिन्द्र अधिकारीले रेल मार्गको विकासद्धारा नेपालाई अन्तराष्ट्रिय रेल सञ्जालमा जोड्नुपर्नेमा जोड दिएका थिए ।कतिपय सांसदहरुले भने रेल मार्गको काम अघि बढाउन नसकेको भन्दै रेल विभाग खारेज गर्नुपर्ने माग समेत गरेका थिए ।

एस एण्ड एस गार्मेन्टको तातो न्यानो कपडा व्यापार मेला

काठमाडौं, ७ पुस । एस एण्ड एस गार्मेन्ट प्रालिद्धारा उत्पादित कपडाहरुको मेला पौष ९ गते शनिबार कुलेश्वरस्थित गौतम श्री कम्प्लेक्समा हुने भएको छ । स्वदेशमै रोजगारीको अवसर सृजना गर्दै नेपालमै उत्पादित गुणस्तरीय कपडाको प्रयोग गराउने उद्देश्यका साथ कपडा व्यापार मेला गर्न लागिएको एस एण्ड एस गार्मेन्टका बजार प्रबन्धक रामेश्वर रिमालले बताए । जाडो तथा गर्मीका लागि कपडा उत्पादन गर्दै आएको एस एण्ड एस गार्मेन्टले स्कुल, कलेज, संघ सस्थाहरुका लागि पनि अर्डर अनुसारका कपडा तयार गर्दै आएको छ । नेपालमा उत्पादन गरिएको गार्मेन्ट प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ सर्वसाधारणलाई मेलामा सहभागि हुन गार्मेन्टले आब्हान गरेको छ । उक्त मेला बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म हुने गार्मेन्टले बताएको छ । यस अघि पनि गार्मेन्टले पहिलो र दोस्रो व्यापार मेला गरिसकेको छ ।

नेपाल बङ्गलादेश बैंकले धितोपत्र बोर्डमा दियो ८० प्रतिशत हकप्रदको लागि निवेदन

काठमाडौं, ७ पुस । नेपाल बङ्गलादेश बैंकले ८० प्रतिशतको हकप्रद सेयर ल्याउन गत सोमबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ३ अर्ब २० करोड रूपैयाँको ३ करोड २० लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब एक करोड रूपैयाँ रहेको छ । बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम ग्लोबल आइएमइ क्यापिटल लिमिटेडले गरिरहेको छ ।

नबिल बैंकद्धारा सुरक्षाकर्मीको सम्मान

काठमाडौं, ७ पुस । नबिल बैंकले कान्तिपथ शाखाका सुरक्षक यदुनाथ पोखरेललाई नगद ५० हजार सहित प्रशंसा पत्र प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले जि. फोर. एस. सेक्युरिटि सर्भिसेज नेपाल प्रा. लिबाट बैंकको कान्तिपथ शाखामा पोखरेललाई प्रशंसा पत्र प्रदान गरेका छन् । सम्मानित पोखरेलले १० नोभेम्बर २०१६ मा बैंकको कान्तिपथ शाखाको एटीएम बुथमा भएको गतिविधिमा शंका लागि तुरुन्त खवर गरेको र उक्त गतिविधिमा संलग्न व्यक्तिहरु उपर निगरानी राखी उनीहरु बसेका होटल पत्ता लगाई संदिग्ध व्यक्तिहरुलाई पक्राउ गर्न बहादुरी पूर्वक सहयोग गर्नुका साथै एटीएमको सुरक्षामा महत्वपूर्ण योगदान पु¥याएकाले सम्मान गरिएको बैंकले जनाएको छ । बैंकका संचालक समितिका अध्यक्ष पौड्यालले बैंकको यस प्रकारको सम्मानले सुरक्षा कार्यमा संलग्न सम्पूर्ण व्यक्तिहरुलाई आफनो कार्यमा अझ दत्तचित्त भई काम गर्न र कुनैपनि शंकास्पद गतिविधिलाई निगरानी गरी बैंक र ग्राहकको सुरक्षामा अझ बढि सचेत हुन आग्रह गरेका छन् । सम्मानित पोखरेलले बैंकको यस्तो कदमले अझ थप हौसला प्राप्त भएको र अझ बढि जिम्मेवारी पूर्वक काम गर्ने जिम्मेवारी थपेको बताएका छन् ।

सिटिजन्स बैंकको एटिएम सेवा अब ललितपुरको भैंसेपाटीमा पनि

काठमाडौं, ७ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बिहीबारबाट ललितपुर स्थित भैंसेपाटी शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटिएम सेवा विस्तार पछि बैंकको कुल एटिएम संख्या ५३ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ७२ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । हाल बैंकको उपत्यका भित्र २७ वटा तथा उपत्यका बाहिर २६ वटा एटिएम सञ्चालनमा रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।