विद्युत् प्राधिकरण र सिउरी पावर कम्पनीबीच विद्युत खरिद सम्झौता, प्रत्येक वर्ष ३ प्रतिशतले विद्युत मूल्य वृद्धि हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सुपर न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक सिउरी न्यादी पावर प्रालिबीच विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ। लमजुङ, भुलभुलेमा अवस्थित ४०.२७ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको लागि हिउँदमा प्रतियुनिट ८.४० र वर्षामा भने ४.८० रुपैँयामा प्राधिकरणले विद्युत् खरिद गर्ने गरी पीपीए भएको हो । प्राधिकरणमा शुक्रबार आयोजित विद्युत् खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पावरका प्रमुख शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन३ । गुरागाईंका अनुसार आयोजना निर्माण सम्पन्न भएको आठ वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतको दरले महसुल वृद्धि हुनेछ। विसं २०७९ साउन ९ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको तारीकुना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने कार्यकारी सञ्चालक गुरागार्इंले जानकारी दिए।
छ्याङ्दी आईपीओमा पौन चार अर्बको आवेदन, संस्थागत लगानीकर्ताको पैसा फिर्ता गरिने
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आईपीओ)मा ३ अर्ब ७८ करोड २८ लाख २ हजार तीन सय रुपैयाँको आवेदन परेको हो । छ्याङ्दीले एक सय रुपैयाँ अंकित मूल्य ५ लाख दुई हजार दुई सय कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जेठ १४ देखि १८ गतेसम्म सेयर आवेदन लागि खुला थियो । छ्याङदीको आईपीओमा कुल ९१ हजार सात सय ७१ सर्वराधारणले आवेदन दिएका छन् । सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि सर्वसाधारणको भागमा पर्न आएको ५ लाख दुई हजार दुई सय कित्ता सेयर खुला गरेकोे हो । शुक्रबार सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई उक्त रकमको साधारण सेयर परेको जानकारी गराएको छ । संस्थागत सेयरको परेको संख्या र रकम कटौती गर्नु पर्ने भएकोले यस तथ्यांकलाई अन्तिम भने मान्न नहुने ग्लोबल आइएमई क्यापिटल लिमिटेडका रिस्क तथा कम्प्लायन्स हेड सञ्जय पोखरेलले बताए । बोर्डले गरेको नयाँ व्यवस्था अनुसार आईपीओमा संस्थागत लगानी गर्न पाइदैन । बोर्डले गत आइतबार मात्रै पूँँजी बजारमा संरचनात्मक सुधार गर्दै धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका–२०७४ लागू गरेर यस्तो व्यवस्था गरेको हो । उक्त व्यवस्था अनुसार छ्याङ्दी हाइड्रोपावरको आइपीओमा प्राकृतिक व्यक्तिले मात्रै आवेदन दिन पाउने भएकाले संस्थागत लगानीकर्ताको आवेदन फिर्ता गर्नुपर्ने अवस्था रहेको पोरखेलले बताए । अनुमानित तथ्यांक अनुसार आस्वाबाट मात्रै छ्याङ्दीको आइपीओमा ५९ हजार आठ सय १९ जना आवेदनबाट २ अर्ब ७३ करोड ४२ लाख १५ हजार ६ सय रुपैयाँ बराबरको सेयर माग भएको छ । यसैगरी, परम्परागत प्रक्रियाबाट ३१ हजार नौ सय ५२ जनाले एक अर्ब चार करोड ८५ लाख ८६ हजार सात सय रुपैयाँ बराबरको आवेदन परेको छ ।
सातामा दुई अर्ब ८४ करोडको सेयर कारोबार, २ करोड ५९ लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । यस साता सेयर बजारमा दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो साता भन्दा ५ दशमलब ८१ प्रतिशत बढी हो । दुई अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यस साता १५८ कम्पनीको का ५१ लाख २१ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यस साता सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको १७ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ बैंक कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ, जसको दुई लाख ४७ हजार कित्ताको सेयर किनबेच भएको हो । बजारमा सेयर कारोबारमा सुधार आएता पनि नेप्से परिसूचकमा भने गिरावट आएको छ । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११.२७ अंकले घटेर अन्तिम दिन १६०४.३१ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकहरुको उतारचढाव आएको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक १९.७२ अंकले उकालो लागेको छ भने अन्य समूहको परिसूचक सबैभन्दा बढी २७.४७ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ समूहको परिसूचक पनि ओरालो लागेका छन् । सातामा २ करोड ५९ लाख कित्ता सेयर सूचिकृत नेप्सेमा सूचिकृत भएका छन् । नेप्सेमा एकैदिन २ करोड ५९ लाख २४ हजार ४७१ कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा ४ कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । थप जानकारीको लागि यसमा क्लिक गर्नुहोस् ।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा अख्तियारको नियन्त्रणमा
काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा शुक्रबार दिउँसो साढे १२ बजे पक्राउ परेका छन् । राजस्व हिनामिना गरेको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा अख्तियार उच्च स्रोतले जानकारी दिएको छ । कर फछ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति दिएको कर निधारण गर्दा भष्टाचार गरको तथा एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादित मुद्दामा मुछिएका शर्मालाई अख्तियारले नियन्त्रणमा लिएको हो । अहिले उनी अख्तियारकै हिरासतमा रहेका छन् । लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागबाट उक्त आरोपमा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । अर्थमन्त्री रामशरण महतको पालामा आन्तरिक राजश्व विभाव प्रभुख भएको शर्मा अर्थमन्त्रीहरुलाई समेत प्रभावमा परेर सो कार्यलयमा लामो समय रहेका थिए । अर्थमन्त्री विष्णु पौडेल र कृष्णबहादुर महरा समेत शर्माको प्रभावमा परेको थिए । अर्थमन्त्रीहरु महत, पौडेल र महराले अर्थमन्त्रालयको अरु कर्मचारीलाई पटक पटक सरुवा गरे पनि महानिर्देशक शर्मालाई सोही कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको थियो । शर्मालाई नजिकबाट जिन्ने जो कोही पनि उनको शैली र आचरणबाट वाक्कदिक्क भएको गुनासो गर्दै आएका छन् ।
जनरल फाइनान्सको सञ्चालकमा चार जना नियुक्त
काठमाडौं । जनरल फाइनान्सको सञ्चालकमा चार जना नियुक्त भएका छन् । कम्पनीको जेठ १० गते एकैदिन भएको १६औँ, १७औँ, १८औँ, १९औँ र २०औँ वार्षिक साधारणसभाले संस्थाको प्रोमोटर तर्फको संचालकमा तीन र साधारणतर्फको संचालकमा एक जना गरि जम्मा चार जनालाई नियुक्त गरेको हो । कम्पनीको प्रोमोटर तर्फको सञ्चालकमा पद्मराज न्यौपाने, अन्जना छकुबाजी र मीलन थापा नियुक्त भएका छन् । त्यस्तै, कम्पनीको साधारणतर्फको संचालकमा महेश प्रसाद अधिकारी नियुक्त भएका छन् ।
३ अर्ब ६७ करोडको धरहराबारे अध्ययन गर्दै नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले धरहराको डिजाइन र प्रस्तावित लागतमाथी छलफल थालेको छ । पुरातत्व विभागले तयार पारेको धरहराको अनुमानित लागत र डिजाइनबारे टेलिकमले विगत ३ हप्तादेखि व्यापक अध्ययन अघि बढाएको हो । ‘हामीले ३ अर्ब ६७ करोडको लागत अनुमान प्रस्तावित धरहराकाे स्केज सहित पुरातात्विक ढंगले धरहराको डिजाइन तयार पारेर नेपाल टेलिकमलाई बुझाएका छौं, उनीहरुले आफ्नो व्यवसायीक अध्ययन गरेपछि थोरै परिमार्जन गरेर निर्माण प्रक्रिया अघि बढ्छ’, पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले विकासन्युजसँग भने । उता, नेपाल टेलिकमका सहायक प्रवक्ता शोभन अधिकारीले पनि धरहराको अनुमानित लागतसहितको डिजाइन आईपुगेको र त्यसबारे टेलिकमको उच्च तहले अध्ययन गरिरहेको बताए । ‘धरहराको डिजाइन र लागत अनुमानसहितको प्रतिवेदन टेलिकममा आइपुगेको छ, केहि चरण आन्तरिक छलफल समेत भैसकेको छ, बोर्ड बैठकले पारित गरेपछि मात्रै बाँकी प्रक्रिया अघि बढ्छ’, टेलिकमका सहायक प्रवक्ता अधिकारीले विकासन्युजसँग भने । टेलिकमले केहि हेरफेर गरेपछि मात्रै धरहराको डिजाइनले अन्तिम रुप लिनेछ । हाल अनुमान गरिएको ३ अर्र्ब ६७ करोडको लागत पनि केहि बढ्न सक्नेछ । टेलिकमले करिब ४२ रोपनी क्षेत्रफलमा ११ तल्ले धरहरा निर्माण गर्नेछ । टेलिकमले निर्माण सम्पन्न गरेको ३० बर्षमा सोही धरहरा सञ्चालन गरेर निर्माण लागत तथा मुनाफा समेत कमाउनु पर्नेछ । धरहरामा २ तल्ला अण्डर ग्राउण्ड पार्किङ तथा सुबिधा सम्पन्न पार्क, लिफ्ट, क्याफे, लाइब्रेरी लगायतका आधुनिक सुबिधा रहनेछन् ।
बुम रेमिट्यान्सको एजेन्टमा कृषि विकास बैंक नियूक्त
काठमाडौं । बुम रेमिट्यान्सले कृषि विकास बैंक लिमिटेडलाई आफ्नो एजेन्टमा नियूक्त गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् । यस सम्झौता मार्फत बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम कृषि विकास बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्न पाउने भएका छन् । साथै कृषि विकास बैंकका शाखाहरुले बुम रेमिट्यान्ससँग आवद्ध अन्य रेमिट्यान्सको पनि भुक्तानी गर्न सक्नेछ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब-ऐजेन्टहरु छन् । हाल बैंकको ७५ जिल्लामा २२४ वटा शाखाहरु रहेका छन् ।
भारमोरा ब्राण्डको नयाँ शोरुम उद्घाटन, गुणस्तरीय टाइलहरु पाइने
काठमाडौं । तीनकुनेमा रहेको कृष्णा मार्बल कम्पनीले भारमोरा ब्राण्डको टाइलहरुको नयाँ शोरुम उद्घाटन गरेको छ । शुक्रबार कम्पनीका प्रमुख अतिथि भारमोरा कम्पनीका सञ्चालक राजु देतरोजाद्वारा उक्त शोरुमको उद्घाटन गरिएको हो । कम्पनीका सञ्चालक देतरोजाले कार्यक्रममा नयाँ प्रविधिका विभिन्न साइज र विभिन्न फिनिसिङ्गका गुणस्तरीय टाइलहरुको बारेमा जानकारी दिएका छन् । साथै कृष्णा मार्बलबाटै थोक तथा खुद्रा बिक्री गर्ने विभिन्न योजनाहरुको बारेमा समेत जानकारी गराउँदै उपभोक्तालाई सामान निशुल्क ढुवानी तथा गुणस्तर सम्बन्धी प्राविधिक ग्यारेन्टी पनि गरेको कम्पनीले बताएको छ ।