विकासन्युज

असोज १ गतेदेखि उपत्यकामा ५०० वटा सुपथ मूल्य पसल, नुन, चामल र ग्यासमा छुट पाइने

काठमाडौं, १३ भदौ । सरकारले असोज १ गतेदेखि उपत्यकामा ५०० वटा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । आपुर्ति मन्त्री दिपक बोहराको अध्यक्षतामा आइतबार बसेको बैठकले दशैं, तिहार तथा छठ लगायतका पर्वहरुलाई लक्षित गर्दै उपत्यका भित्र ५०० वटा किराना पसल मार्फत सुपथ मुल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो । सुपथ मूल्य पसलबाट खाद्य संस्थानले १५ प्रकारका चामल, फापर र सिमीमा प्रति किलो ५ रुपैंयाँ छुट दिनेछ । त्यस बाहेक २००० देखि २५०० वटासम्म खसी, बोका तथा च्याङग्रा ल्याएर सहुलियत मुल्यमा बेच्नेछ । त्यस्तै, साल्ट टे«डिङले चीनीमा प्रति किलो ५ रुपैंयाँ र नुनमा २ रुपैंयाँ छुट उपलब्ध गराउनेछ । नेपाल आयल निगमले ग्यासमा प्रति सिलिण्डर ५० रुपैंयाँ तथा मट्टितेलमा आवश्यक छुट दिने बताएको छ । दुग्ध विकास संस्थानले घ्युमा प्रति किलो १० रुपैंयाँ छुट दिने भएको छ भने पनिरमा पनि केहि सहुलियत दिने योजना बनेको जनाएको छ । यसरी सञ्चालन गरिएका सुपथ मुल्य पसलबाट उपलब्ध गराइएको सुहलियत वापतको रकमको सोधभर्ना भने अर्थ मन्त्रालयले उपलब्ध गराउने आपुर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए ।

सिद्धार्थ क्यापिटलले ४६ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, १३ भदौ । सिद्धार्थ क्यापिटलले सेयरधनीलाई ४६ प्रतिशत नगद लाभांश दिने भएको छ । क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ मा लगानी गर्ने लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश दिने भएको छ । साथै, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इक्विटी ओरिन्टेड स्किममा लागानी गर्ने लगानीकर्तालाई पनि १६ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सिद्धार्थ क्यापिटलले जारी गरेको ५ करोड लाख कित्ता सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ हाल प्रतिकित्ता करिब २८ रुपैयाँमा कारोबार हुँदै आएको छ । त्यस्तै, सिद्धार्थ क्यापिटलले जारी गरेको १० करोड लाख कित्ता सिद्धार्थ इक्विटी ओरिन्टेड स्किम नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित सिद्धार्थ इक्विटी ओरिन्टेड हाल प्रतिकित्ता करिब १५ रुपैयाँमा कारोबार हुँदै आएको छ ।

दक्षिण एशियाली मुलुकहरुमा नेपाल कम धान फल्ने दोस्रो मुलुक

काठमाडौं, १३ भदौ । दक्षिण एशियाली मुलुकहरुमा नेपाल अफगानिस्तान पछि कम धान फल्ने दोस्रो मुलुक हो । विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा औसतमा प्रतिहेक्टर ३ दशमलव १ लाख मेट्रिक टन धान फल्दै आएको छ । अफगानिस्तानमा भने प्रतिहेक्टर साढे दुई मेट्रिक टन धान फल्नो गरेको छ । जवकि नेपालको उत्पादन अनुपातलाई बढाउन सक्ने प्रशस्त सम्भावना हुँदा हुँदै पनि सरकारले उत्पादन बढाउने कार्यक्रमहरु लागू गर्न नसक्दा अर्थात हालसम्म पनि यहाँको परम्परागत खेती प्रणाली कारण अन्य देशको तुलनामा नेपालमा धान उत्पादन कम भएको हो । नेपालकै झापामा प्रतिहेक्टर ५ लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । सार्कमुलकमध्ये सबैभन्दा बढी धान उत्पादन श्रीलंका हुने गरेको छ । श्रीलंकामा प्रतिहेक्टर ३ दशमलव ८ लाख मेट धान उत्पादन हुने गरेको छ । भारत धान उत्पादन बढी हुने दोस्रो ठूलो मुलुक हो । यहाँ प्रतिहेक्टर ३ दशमलव ६ लाख मेट धान उत्पादन हुँदै आएको छ । पाकिस्तान र भुटानमा क्रमशः ३ दशमलव ५ र ३ दशमलव ४ धान उत्पादन हुँदै आएको छ । भेतनाम, थाइल्याण्ड, चीन, फिलिफिन्सको उत्पादकत्व सार्क मुलुको भन्दा बढी छ । हाल भएको उत्पादकत्वलाई वृद्धि गर्न सके नेपालमा खाद्य संकट नहुने कृषि विकास मन्त्रालयका सह प्रवक्ता शङ्कर सापकोटाल बताए । ‘अहिलेको उत्पादकत्वलाई बढाएर प्रतिहेक्टर ४ लाख मेट मात्र पु¥याउन सके नेपालमा खाद्यान्न पर्याप्त हुन्छ,’ उनले भने ‘उत्पादन बढाउन सरकारले सिंचाइँ, उन्नत विउविजन, मल तथा आधुनिक प्रविधिलाई परिचालन गर्न सक्नु पर्छ,’ उनले भने । गत वर्ष धानको उत्पादनमा गिरावट आएपछि देशमा खाद्य संकट हुन सक्ने अनुमान सरकारले गरेको थियो । ‘हामीलाई अहिले ७ लाख मेट्रिक टन चामल नपुग हुने देखिएको छ,’ सापकोटाले भने ‘ यसवर्ष धान उत्पादन बढ्ने देखिएकाले खाद्यन्न बचत हुन सक्छ ।’ गत वर्ष १० दशमलव २ प्रतिशतले धान उत्पादन घट्दा यसको प्रत्यक्ष असर आर्थिक वृद्धि परेको थियो । यस वर्ष भने समयमा वर्षा भएकाले शतप्रतिशत रोपाइँ सकिएको र धान लगाउने समयमा मलको समस्या तथा वाहिरी रोकावट पनि नआएकोले धानको उत्पादन ५० लाख मेट्रिक टनभन्दा माथि हुने अनुमान मन्त्रालयले गरेको छ । गत अािर्थक वर्ष २०७२/७३ मा ४२ लाख ९९ हजार मेट्रिक टन धानमात्र धान उत्पादन भएको थियो । गत वर्ष भएको धान उत्पादन अघिल्लो आवको तुलनामा ४ लाख ९० हजार मेट कम हो । धान उत्पादन क्षेत्रमा पनि ४ दशमलव ४ प्रतिशतले कमी आएको छ । धान उत्पादन घटेसँगै यसको प्रत्यक्ष असर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा परेको थियो । कुल गार्हस्थ्य कृषिक्षेत्रभित्र धानको भार २१ प्रतिशत रहेको छ । देशको अर्थतन्त्रमा ठूलो असर पार्ने धान उत्पादनमा वृद्धि हुने देखिए पछि चालू आवमा खाद्य संकट कम हुनका साथै अर्थतन्त्रमा कृषिको योगदान पनि बढ्ने मन्त्रालयले बताएको छ । कृषि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सुपर जोन कार्यक्रम सञ्चालनका लागि कार्यविधि निर्माण गरिसकेको छ । कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित ल्याइएको उक्त कार्यक्रमको कार्यविधि अर्थ मन्त्रालयमा सहमतिका लागि पठाउने तयारी मन्त्रालयले गरेको छ । सुपर जोनमा परेका बालीहरु लक्षित उत्पादन गर्नै पर्ने कार्यविधिमा उल्लेख छ । सरकारले सो कार्यक्रम सञ्चालन गर्न यस वर्ष ५ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ । विगत १० वर्षमा औसतमा कृषि क्षेत्रको आर्थिक वृद्धिदर २ दशमलव ९ प्रतिशत रहेमात्र रहेकोले सरकारले यसलाई बढोत्तरी गर्न यस्ता कार्यक्रम ल्याएको हो । मौसमी अनुकूलता र प्रतिकूलतामा निर्भर हाम्रो कृषि प्रणाली अझैसम्म व्यवसायिक बन्न नसक्दा यस्तो परिस्थिति आएको हो । सरकारले वृहत्तर धान उत्पादन कार्यक्रमलाई चैतदेखिनै शुरु गरेको छ । सो कारणले पनि यस वर्ष धानको उत्पादन बढ्ने देखिएको हो । गएको वर्ष बन्दहडताल, नाकाबन्दी तथा प्रतिकूल मौसमका कारण अघिल्लो वर्षहरुको तुलनामा धान उत्पादनका कमी आएको थियो ।

एनएमबि बैंकको नयाँ शाखा पाल्पा, भैरहवा र दमकमा

काठमाडौं, १३ भदौ । एनएमबि बैंकले पाल्पा, भैरहवा र दमक तीन वटा शाखा स्थापना गरेको छ । बैंकले एकै दिन तीन वटा शाखा विस्तार गरेको हो । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपाल एनएमबि बैंक पाल्पा र भैरहवा शाखाको उद्घाटन गरेका हुन् । बैंकका संचालक नन्द किशोर राठी तथा नेपाल राष्ट्र बैंकका क्षेत्रिय प्रवन्धक रामु पौडेलले संयुक्त रुपमा दमक शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकका संचालक कमलेश कुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलको पनि उपस्थिती रहेको थियो । गर्भनर डा. नेपालले पाल्पा र भैरहवामा एनएमबि बैंकको नँया शाखाको सुरुवातले स्थानीयको सरल बैकिङ्ग पँहुचमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । बैंकले पाल्पा र भैरहवासँगै दमकमा पनि नँया शाखाको विस्तार गरेको बैंकले जनाएको छ । अब बैंकको शाखा संख्या ७१ पुगेको छ भने एटिएम ५० वटा र एक्सटेन्सन काउन्टरको संख्या ७ वटा पुगेको छ ।

चाडपर्व पर्यटनको बहस सुरु, हरेक पर्वको आकर्षक प्याकेज हुनुपर्ने

काठमाडौं १३, भदौ । नेपालमा पर्यटनलाई विविधिकरण गर्न र प्रवर्द्धनको माध्यम बनाउन हरेक क्षेत्रलाई पर्यटनसँग जोड्न थालिएको छ । पर्यटन व्यसायीले विस्तारै पर्यटन नेपालको धार्मिक, सांस्कृतिक र जीवनशैली पनि हो भनेर प्रवद्र्धन गर्न थालेका छन् । गत साउन १५ गतेबाट नेपालमा चाडपर्व पर्यटनबो बहस सुरु भएको छ । पर्यटन व्यवसायीसँगको सहकार्य र एकतामा चाडपर्व पर्यटन प्रवर्द्धन गर्न थालिएको चाडपर्व पर्यटनको प्रवर्द्धन अभियानमा लागेका एक अभियन्ता कृष्ण केसीले बताए । उनका अनुसार गत भदौ ३० गते हाडिँगाउँस्थिति गहना पोखरीबाट चाडपर्व पर्यटन प्रवर्द्धनको विशेष अभियान अगाडि बढाएको हो । ‘यस अभियान अहिले सुरु मात्रै भएको छ, प्रवर्द्धन र विकास अब जररुरी छ’, केसीले भने । विभिन्न पर्यटन अभियानलाई आत्मसाथ गरेर व्यवसायीक सहकार्य जुटाउन थालेका केसीले एक वर्ष अगाडि मात्रै लुम्बिनी, लोमाङ्थान, फेवा र रारा (लोलुफेरा)को पर्यटन सर्किट बनाउने अभियान अगाडि सारेका थिए । अहिले मेची, महाकाली, हिमाल तराई (मेमहित) अभियान संचालन गरेको अभियानका संयोजक केसीका अनुसार नेपालमा संभावना भएर पनि हामीले आफ्नो महत्व लुकाइहेका छौं । दुई साता अगाडि टानको संयोजनमा काभ्रेको तिमाल पुगेका केसीले तिमाल डाँडाबाटै पनि पर्यटन अभियान घोषणा  गर्न सकिने बताए । उनले साँस्कृति र धार्मिक पर्यटकलाई जोडेर नेपालमा चाडपर्व पर्यटनको अभियान जरुरी रहेको तर्क दिएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले पनि पर्यटनलाई विविधिकरण गर्दै जान आवश्यक रहेको बताएको छ । टानका अध्यक्ष चन्द्र रिजालले गत भदौ ३० गते हाडिगाँउबाट सुरु भएको चाडपर्व पर्यटनको अभियानमा हरेक पदयात्रा पर्यटन व्यवसायीको साथ रहने उद्घोष गरे । रिजालले भने ‘हामीले यस अघि नै चाडपर्व पर्यटनको उद्घोष गरिसकेको छौ’, अब व्यवसायीक प्रवर्द्धन गर्न मात्रै बाँकी छ । भुटानको फेस्टिवल टुरिजम अनुसारण गर्नुपर्छ  नेपालको पर्यटनलाई भुटान तथा तिब्बतमा जस्तै गरी चाडपर्व पर्यटन (फेस्टिवल टुरिजम)को रुपमा पनि प्रवद्र्धन गर्न सकिने अर्का पर्यटन व्यवसायी राजन संखडाले बताए । भुटानमा फेस्टिवल टुर्स पहिल्यै देखि ओभर बुकिङ भइसकेको हुन्छ । नेपालले पनि दशैंलाई नै पर्यटकीय प्याकेज बनाएर बेच्न सकिन्छ । हामीले नेपालमा हुने विविध चाडपर्वलाई पर्यटकीय प्याकेज बनाएर प्रवर्द्धन गर्न सक्छौ सक्ने उनको बुझाइ छ । दशैं, तिहार, छठ, माघेसंक्रान्ति, गोरु जुधाउनेसहितका हामीसँगै भएको विविध चाडपर्व र यसमा हुने गतिविधिलाई नै पर्यटकीय प्याकेजका रुपमा बेच्न सकिने तर्क पनि सिंखडाको छ । सिंखडाले आफ्नै कम्पनी आउटबाउण्ड टुर्स मार्फत पनि भारतीय बजारको लागि दिवाली फेस्टिवलको प्याकेज विक्री गर्ने गरेका छन् । नेपालको पर्यटनको एक प्रमुख पर्यटकीय आकर्षणको प्याकेजका रुपमा चिनाउँन पनि दशैंपछि यो प्याकेज संचालन गर्ने उनको भनाइ छ । यो दिवाली फेस्टिवल भारतमा चल्ने गरेको र नेपालमा पनि केही पर्यटक आउछु भनेको आफूले प्याकेज बनाएको उनको बुझाई छ । दसहरा, दिवाली, छठ, माघे संक्रान्ति, शिवरात्री, गौरापर्व, खप्तडको त्रिवेणी, मागि पर्व, जनैपूर्णिमालगायतका विभिन्न नेपाली चाडपर्वलाई वार्षिक क्यालेण्डर बनाउने र पर्यटकीय प्याकेजको लागि फेस्टिवल टुर्सको रुपमा विकास गर्न सकिने सिंखडा बताउँछ । स्पेनको गोरु जुझाई पर्यटन प्याकेज हुने नेपालको नहुने ? स्पेनमा गोरु जुधाएको हेर्न विश्वभरबाट नै पर्यटक ओइरिने गरेका छन् । यो पर्यटकीय प्योकज हुने भएकोले नेपालमा हरेक वर्ष माघे संक्रान्तिमा हुने गोरु जुधाईलार्य पनि पर्यटकीय प्याकेज बनाउनुपर्ने पर्यटन व्यवसायीको बुझाइ छ । प्याकेज बनाउने र प्रवद्र्धन गर्ने भनेको व्यवसायीले नै नभएको नेपाल पर्यटन बोर्डको भनाइ छ । बोर्डका अनुसार हामीसँग भएकै सबै धार्मिक, कला—संस्कृति, ऐतिहासिक विषयवस्तु नेपालको लागि विदेशी पर्यटक आकर्षण गर्न पर्यटकीय प्याकेज बन्न सक्छ । नेपालमा हरेक चाडपर्व र नेपाली कला संस्कृति सबै पर्यटकीय आकर्षण हुन । नेपाली चुलो, भोजन गृह, उत्सव रेष्टुरेष्ट, विभिन्न डान्स तथा दोहोरीलाई प्रवद्र्धन गरेर पर्यटनसँगै जोड्नुपर्ने तर्क व्यवसायीको छ । एक दशकदेखिलगातार तिजी फेस्टिवलको प्याकेज बेचिरहेका छन् । यो फेस्टिवल भनेको मुस्ताङमा पद्मसंभावको माक्स डान्स हो । यो हरेक मे महिनामा हुन्छ । यो निकै रोमान्चक डान्स हो । ‘मेरो कम्पनीबाट यो डान्सको लागि वर्षमा १० देखि १२ जना आउने गरेका छन’, सिंखडाले भने । यसलाई नै आधार मान्ने हो भने पाँच सय वटा कम्पनीले मात्रै पनि वार्षिक रुपमा विभिन्न चाडपर्व पर्यटनको प्याकेज प्रवद्र्धन गर्ने हो भने वार्षिक निकै राम्रो संख्यामा पर्यटक ल्याउन सक्ने तर्क उनको छ । नेपालमा मौलिक चाडपर्वहरू वर्षैभरि मनाइन्छन् । विदेशीहरूका लागि पनि हाम्रो संस्कृति तथा चाडपर्व चासोको विषय हुने गरेको छ । विदेशीको यही चासो र रुचीलाई ध्यानमा राखेर केही पर्यटन व्यवसायीले ‘चाडपर्व पर्यटन’को अवधारणा अघि बढाइसेका छन् । विभिन्न चाडपर्वलाई क्यालेन्डरमै राखेर व्यवसायीले पर्यटकलाई सम्लग्न गराउन थालेका छन् । चाडपर्व पर्यटनलाई अपेक्षित रूपमा प्रवद्र्धन गर्न भने नसकिएको पर्यटन व्यवसायीहरू बताउँछन् । नेपाल पर्यटन बोर्ड पनि हरेक वर्ष हुने नेपाली कला संस्कृत र चाडपर्वको क्यालेण्डर नै बनाएर प्रवर्द्धन गर्ने गरेको छ । बोर्डले एक वर्ष भित्रमा भएका र हुने सबै चाडपर्व तथा सांस्कृतिक गतिविधिको क्यालेण्डर बनाएर सोही अनुसार पर्यटन प्रवद्र्धन गर्ने गरेको छ । व्यक्तिगत रूपमा केही पर्यटन व्यवसायीले निमन्त्रणा गरेरै चाडपर्वमा पर्यटक भित्र्याउँदै आए पनि यसले संस्थागत रूप भने अझै लिइसकेको छैन । पर्यटकहरूले नेपालीका जन्मदेखि मृत्युसम्मका संस्कारहरू रुचीपूवर्क अवलोकन गर्ने गरेका छन् । विशेषगरी पशुपति आर्यघाटमा खुला रूपमा शव जलाएको दृष्य उनीहरूलाई अनौठो लाग्छ । नेपाली संस्कृतिको अध्ययन गर्ने, जीवनशैली हेर्ने, खानपिनमा सहभागी हुने र रमाइलो गर्ने पर्यटकको संख्या ठूलै छ । पर्यटक आकर्षण गर्न सक्ने चाडपर्व पर्यटन व्यवसायीको अनुसार हरेक चाडलाई केन्द्रित गरी प्याकेज बनाएर पर्यटन प्रडक्टको रूपमा विकास गर्न सकिन्छ । चाडपर्व पर्यटन प्रवद्र्धन गर्नु होमस्टेमा पर्यटक पुर्याउनु पनि हो । कसरी रमाउँछन् त विदेशी पर्यटक नेपाली चाडपर्वमा भन्ने र कसरी गाँउमा पुर्याएर नेपाली संस्कृति देखाउने भन्ने महत्वपूर्ण विषय भएको पनि व्यवसायीको तर्क छ । दशैं दशैँका लागि ११ दिनको प्याकेज बनाएर ३ दिन घरमा बसाउन सकिने र बाँकी दिन नियमित टुरमा लैजान सकिने पर्यटन व्यवसायी सिम्खडा बताउँछन् । पर्यटकहरू दुर्गा पूजा, नवमी र दशमीमा समावेश हुन मन पराउने उनको अनुभव छ । त्यस्तै, कतिपय पर्यटक टीका ग्रहण गरेर आशीर्वादसमेत लिन चाहन्छन् र पिङ खेलेर रमाइलो गर्छन् । तिहार तिहारमा बनाइने रंगोली पर्यटकले मन पराउँछन् । देउसीभैलो खेल्ने, टीका लगाउनेमा पनि पर्यटकहरू सम्लग्न हुन्छन् । कतिपय विदेशीले तिहारमा टीका लगाएर नेपालीलाई दिदीबहिनी बनाएका पनि छन् । शिवरात्री शिवरात्रीमा पनि विदेशी पर्यटक निकै रमाउँछन् । साधुसन्तसँग धुनी जगाएर गाँजा सेवन गर्दै रात बिताउने पर्यटकको संख्या पनि ठूलै हुन्छ ।   तीज तीजको अवसरमा नेपाली पोसाक लगाएर महिला पर्यटकहरू नाचगान गर्न रुचाउँछन् । नेपाली महिलाले तिजमा गरगहना र रातो साडीमा नाचगान गर्दा महिला पर्यटकले पनि त्यही अनुकरण गर्ने गरेको पाइन्छ । होली रङ र पानीसँग खेलेर मनाइने होलीमा पनि विदेशी पर्यटक उत्तिकै रमाउँछन् । नदी किनारका रिसोर्टमा हुने होली कार्यक्रममा विदेशी पर्यटक उत्साहका साथ सहभागी हुने गरेका छन् । जनै पूर्णिमा नेपालको गोसाइँकुण्ड र चीनको मानसरोवरमा जनै पूर्णिमाको अवसरमा लाग्ने मेलामा हजारौं भारतीय पर्यटक सहभागी हुन्छन् । व्यवसायीहरूले गोसाइँकुण्ड र मानसरोवरलाई प्याकेजमा राखेर प्रडक्टको रूपमा बिक्री गर्न थालेका छन् । त्यस्तै, तिब्बतको थारबोचेमा पनि नेपाल आएका पर्यटकलाई त्यहाँको सांस्कृतिक कार्यक्रममा लैजान सकिन्छ । तिजी पर्व मुस्ताङमा हुने तिजी पर्वमा पनि पर्यटक आकर्षित हुने गरेका छन् । मे महिनामा हुने यो पर्व ८ औं शताब्दीमा पद्मसम्भवले सुरु गरेको विश्वास छ । तीन दिनसम्म चल्ने यो पर्व लोमान्थाङ राजदरबारको आँगनमा हुन्छ । स्थानीय थरीथरीका मुखुण्डो लगाएर नाचगान गर्छन् । यसलाई पर्यटकले उत्साहका साथ अवलोकन गर्ने पर्यटन व्यवसायी सिम्खडा बताउँछन् । यो नाच भुटानको नाचजस्तै हुन्छ । तिजी पर्वमा हरेक वर्ष लगभग ३ सय पर्यटक सहभागी हुने गरेका छन् । यीबाहेक छठ तथा बुद्ध पूर्णिमामा प्याकेज बनाएर पर्यटक ल्याउन सकिन्छ । नेपालमा वार्षिक दुई लाख धार्मिक पर्यटक नेपालमा पछिल्लो समय धार्मिक पर्यटकको संख्या वर्षेनी बढिरहेको छ । नेपालमा आउने विदेशी पर्यटक मध्ये वार्षिक दुईदेखि साढे दुई लाख पर्यटकको रुचि धार्मिक पर्यटनमा हुने गरेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको नेपालको पर्यटकीय तथ्यांक २०१५ मा धार्मिक पर्यटकको संख्या दुई लाख रहेको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार नेपालको प्रमुख धार्मिक आस्थाको केन्द्र पशुपति आउने पर्यटक सबैभन्दा बढी हुने गरेका छन् । धार्मिक पर्यटकीय गन्तव्यको पहिलो रोजाइ पनि पशुपतिनाथ नै रहेको मन्त्रालयको भनाइ छ । सरकारले धार्मिक पर्यटकलाई प्राथमिकता दिन सुरु गरेको र धार्मिक पर्यटकीय गन्तव्य पनि पर्यटकीय आकर्षणको केन्द्र हुन थालेकोले यसतर्फ पर्यटक बढ्न थालेको मन्त्रालयले जनाएको छ । नेपालमा धार्मिक पर्यटकीय गतिविधिका लागि आइपुग्ने पर्यटक पशुपति क्षेत्र बाहेक नै करिब एक लाख पुग्न थालेका छन् । पशुपति क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यको सबैभन्दा पहिलो र पर्यटकीय रोजाइको क्षेत्रसमेत हुने गरेको छ । यो क्षेत्रमा सन् २०१५ मा ७८ हजार विदेशी पर्यटक पुगेका छन् । सन् २०१४ मा पशुपति क्षेत्रमा मात्रै एक लाख ६६ हजार पर्यटक पुगेका थिए । यो वर्ष समग्रमा धार्मिक पर्यटकको संख्या दुई लाख ६५ हजार छ । नेपालमा आउने विदेशी पर्यटकले धार्मिक विमानस्थलबाट प्रवेश गर्दै धार्मिक रुचि राख्ने पर्यटक वार्षिक रूपमा नै करिब एक लाख पुग्न थालेका छन् । पशुपति क्षेत्र पनि धार्मिक पर्यटकीय गन्तव्य भएकोले यो क्षेत्रसमेत जोड्दा बसेनि साढे दुई लाखभन्दा बढी धार्मिक पर्यटक नेपाल भित्रिरहेका छन् । चाडपर्व पर्यटनलाई धार्मिकसँग जोडेर प्रवर्द्धन गर्न सकिने पनि पर्यटन व्यवसायीको तर्क छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नेतृत्वमा सिंगापूरबाट नगद डलर ल्याइदै

काठमाडौं, १३ भदौ । बजारमा अमेरिकी डलरको अभाव बढेपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको नेतृत्वमा ४ बाणिज्य बैंकले सिंगापूरवाट कार्गाे गरेर डलर ल्याउने तयारी थालेका छन् । आफूले विदेशमा राखेको अमेरिकी डलर कार्गाे गरेर नेपाल भित्र्याउनले गृहकार्यमा बैंक जुटेका हुन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल सहित नविल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले सिंगापूरवाट नगद डलर ल्याउन लागेका हुन् । यसका लागि ती बैंकले नेपाल राष्ट्र बैंकसँग समन्वय गरिरहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म ढुंगानाले जानकारी दिए । सिंगापूरमा अमेरिकी डलर भए नभएको बारेमा बुझ्ने कार्य भइरहेको र त्यहाँ पनि नगद डलर नभए के विकल्प अपनाउने भन्ने विषयमा छलफल भइरहेको ढुंगानाले जानकारी दिए । यी बैंकहरुले विदेशमा रहेका आफ्नो खातावाट झिकेर डलर नेपाल ल्याउन लागेका हुन् । सवै बाणिज्य बैंकको विदेशी बैंकमा खाता हुन्छ । त्यस्तो खातामा बाणिज्य बैंकहरुले विदेशी मुद्रा राख्ने गरेका हुन्छन् । नगद डलरको माग अधिक भएपछि बैंकहरुले आफ्नो खाताको रकम झिकेर नेपाल ल्याउन लागेका हुन् । यसअघि बाणिज्य बैंकहरुले यसरी विदेशवाट डलर नेपाल ल्याएका थिएनन् । बजारको माग धान्नको लागि बैंकहरुले डलर ल्याउने प्रस्ताव गरेकोले सोको स्वीकृति प्रदान गर्न लागिएको कार्यकारी निर्देशक ढुंगानाले बताए । कुन बैंकले कति परिमाणमा डलर ल्याउन लागेका हुन भन्ने अझै यकिन नभएको उनको भनाइ छ । डलर ल्याउनको लागि नै आवश्यक प्रक्रिया मिलाउन हिमालयन बैंकको उच्च टोली यही साता सिंगापूर जाने तयारी भएको छ । बैंकहरुले आफूले विदेशमा राखेको डलर नै नेपाल ल्याउने हुन् । उनीहरुले अन्तराष्ट्रिय ब्यापारको लागि ब्यापारीहरुले खोलेको प्रतितपत्र (एलसी) को २२ प्रतिशत, आफूसँग भएका सवै अमेरिकी डलर र फरवार्ड कन्ट्याक्टको शतप्रतिशत अमेरिकी डलर विदेशी बैंकमा खाता खोलेर राख्न पाउने ब्यवस्था छ । बाणिज्य बैंकहरुले सोही रकम नेपाल ल्याउन लागेका हुन् । यसरी विदेशवाट डलर ल्याउदा यहाँको विनिमय दर अनुसार आर्थिक रुपमा सम्भाब्य हुने नहुने बैंक आफैले निक्र्योल गर्नुपर्ने हुन्छ ।

एक लाख ८३ हजार भूकम्प पीडितले पाए घर बनाउन ५० हजार

काठमाडौं, १३ भदौ । एक लाख ८३ हजार ६ सय ४२ भूकम्प पीडितले घर बनाउन पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार स्थानिय विकास मन्त्रालय मार्फत भूकम्प पीडितको बैंक खातामा पहिलो किस्ता वापतको सो रकम जम्मा गरिएको हो । पीडितले आफुले चाहेको समयमा खातामा रहेको रकम झिकेर प्रयोग गर्न सक्नेछन् । यसैबिच, हालसम्म ३ लाख ९२ हजार २ सय १८ घरधनीसँग अनुदान सम्झौता भैसकेको छ । अनुदान सम्झौता भएको एक साता भित्रै पीडितको बैंक खातामा पहिलो किस्ताको रकम जम्मा गर्ने व्यवस्था गरिएको छ । भूकम्प पीडितलाई सरकारले दुई लाख रकम निजी आवास निर्माणका लागि दिने भनेको छ । सो रकम तीन किस्तामा दिने भनेको छ । पहिलो किस्तामा ५० हजार, दोश्रोमा ८० हजार र तेश्रोमा ७० हजार दिने कार्यबिधी रहेको छ । पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि ४५ दिन भित्र भूकम्प पीडितलाई पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ दिने निर्णय गरेका थिए ।

मध्य मोदी जलविद्युत् आयोजनाका कारण बस्ती जोखिममा

पर्वत, १३ भदौ । पर्वतमा निर्माणाधीन मध्य मोदी जलविद्युत् आयोजनाका कारण मोदीखोलाको किनारमा अवस्थित पर्यटकीय स्थल विरेठाँटीबजार जोखिममा परेको छ । आयोजनाको व्यवस्थापन पक्षले अव्यवस्थित ढङ्गले खोलामा बाँध लगाउँदा पर्यटकीय बजार विरेठाँटीको बस्ती नै जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । समयमै बस्तीक्षेत्रको खोलामा बाँध नहाल्दा पर्वतको सिमानामा रहेको कास्कीको दाङसिङ गाविसमा पर्ने पुलपारी विरेठाँटीमा रहेका १५ घरसहितको बस्ती नै जलविद्युत्का कारणले गर्दा पहिरोको उच्च जोखिममा परेको स्थानीयले गुनासो गरेका हुन । विरेठाँटीको लुम्ले गाविसतर्फ पुल वारी क्षेत्रमा बाँध हाल्दा मोदीखोलाले ठूलो वर्षात् हँुदा वारीको पानीको बहावले गर्दा पारीको क्षेत्रमा असर पु¥याउँदा बस्तीलाई नै जोखिममा पारेर पहिरो जान थालेको स्थानीय खगेन्द्र्र गौचनले बताए । मध्य मोदी जलविद्युत् आयोजना सरोकार समितिका अध्यक्ष मनोज गुरुङले उक्त जलविद्युत्को व्यवस्थापन पक्षसंँग विरेठाँटी क्षेत्रको मोदीखोला वारीपारी दुवै किनारामा बाँध बाध्न माग गर्दा पनि खासै माग सुनुवाइ नभएको बताए । तत्काल बाँध बाँध्न नसक्दा हाल मानव बस्ती जोखिममा पर्न गएको गुरुङले बताए । आफ्नो क्षेत्रमा स्थापना हुन लागेको उक्त हाइड्रोपावर व्यवस्थापन पक्षले आफूखुसी काम गर्दा विरेठाँटीको बस्तीलाई मोदीखोलाको कटान गर्नाले उच्च जोखिममा पारेको उनले बताए । उक्त आयोजनाका प्रमुख हरि देवकोटाले खोला वारी पहिला बाँध नभएकाले सो क्षेत्रमा बाँध लगाएको बताउँदै खोला पारी पहिला बाँध भएकाले बाँध नलगाएको बताए । बस्ती जोखिममा परेको कुरा आफूलाई थाहा नभएको बताउँदै यस विषयमा भने हिउँदमा मात्र सोच्न सकिने उनले उल्लेख गरे । सो आयोजना करिब दुई अर्ब ८० करोडको लागतमा निमार्ण कार्य सुरु भएको करिब दुई वर्षमा पाँच प्रतिशत मात्र काम पूरा भएको प्रमुख देवकोटाले बताए । रासस