बुटवल पावरले किन बढायो एफपीओको मूल्य?
काठमाडौं । बुटवल पावर कम्पनीले जारी गर्न लागेको एफपीओको मूल्य बढाएको छ । कम्पनीले धितोपत्र बोर्डबाट जारी गरिएको नयाँ निर्देशिका(धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४) बमोजिम जारी गर्न लागेको एफपीओको मूल्य बढाएको हो । कम्पनीले ४० लाख ८१ हजार कित्ता थप साधारणा सेयर (फरदर पब्लिक इस्यु(एफपिओ)) निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ४१८ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ५१८ रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । जुन रकम अघिल्लो निर्णय अनुसार ४८ रुपैयाँ बढी हो । यस अघि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ३७० प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४७० रुपैयाँमा एफपिओ निष्कासन गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुग्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७७ रुपैयाँ रहेको छ ।
भरतपुर प्रकरणलाई असामान्य तवरले प्रचार गरिएकोमा दुःख छ – प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार नै संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण दिशामा मुलुक अगाडि बढेको बताएका छन् । व्यवस्थापिका-संसद्को मंगलबारको बैठकलाई विशेष सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण आधारका रुपमा स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढेको र त्यसले हिमाल, पहाड र तराईबीचको एकतालाई कायम गरेको बताए । संविधान गतिशील दस्तावेज भएकाले संशोधन हुँदै जाने भन्ने प्रतिबद्धता विगतमा व्यक्त गरिएको स्मरण गर्दै उनले थारु, मधेसी र आदिवासी जनजातिको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयास जारी रहेको र त्यो निकट भविष्यमा पूरा हुने विश्वास व्यक्त गरे। संविधान संशोधन विधेयकमाथि खुला दिलले छलफल गर्नु आवश्यक छ भन्दै प्रधानमन्त्रीले आन्दोलनरत पक्ष, प्रतिपक्ष र सत्तापक्ष सबैलाई स्वीकार गर्न सक्ने गरी तयार गरिएको प्रस्तावलाई सकारात्मक निष्कर्षमा पु¥याउनु जरुरी रहेको स्पष्ट पारेका छन्। राष्ट्रिय एकतालाई कायम राख्न कोही न कोहीले त्याग गर्नु जरुरी छ भन्दै उनले ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने जस्तो दृष्टिकोणले काम नगर्ने भएकाले प्रतिपक्षले पनि राष्ट्रिय आवश्यकतालाई ख्याल गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)का बीचमा सरकार गठनका समयमा नै भएको सहमतिअनुसार नै आफूले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगाडि राजीनामा दिएको जानकारी उनले दिए । काँग्रेसका सभापति शेरबहादुर देउवाले दबाब दिएर प्रधानमन्त्रीबाट राजीनामा दिएको होइन भन्दै प्रधानमन्त्री दाहालले आफूले राजनीतिमा इमान र नैतिकता पनि छ भन्ने स्थापित गर्न चाहेको उल्लेख गरे। संविधान घोषणा भएपछि गठन भएपछि एमाले र आफ्नो पार्टीबीच भएको समझदारी तोडिएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले विगतदेखि नै सरकारका सन्दर्भमा भएका सहमति तोडिएको अवस्थामा अब राजनीतिमा इमान र नैतिकता छ भन्ने स्थापित भएको उल्लेख गरे । निर्वाचन आयोगले गर्ने नियमित कामको विषय संसद्मा ल्याएर घोलमेल गरिएको छ भन्दै प्रधानमन्त्री दाहालले भरतपुर प्रकरणको विषयलाई लिएर संसद् अवरुद्ध गर्नु लोकतन्त्रको प्रमुख पक्ष कसरी हुन गयो प्रश्न गरे । भरतपुर प्रकरणमा मतपत्र च्यातिएको विषय सुन्नेबित्तिकै आफूले सो कार्य सही होइन भनी निर्वाचन आयोगलाई बोलाएर कानुनअनुसार गर्न आग्रह गरेको जानकारी दिएका छन् । प्रधानमन्त्रीले भरतपुर प्रकरणमा आफ्नो पार्टी र आफूलाई अनपेक्षित रुपमा आरोप लगाइएको, गलत प्रचार गरिएको र प्रमुख प्रतिपक्षले राजनीतिक लाभ उठाउन नाजायज विषय उचालेको आरोप लगाउँदै प्रधानमन्त्रीले एउटा घटनालाई देखाएर गलत प्रचार गरिनु मुलुक र जनताका लागि जायज र फाइदाजनक विषय नभएको स्पष्ट पारेका छन्। भरतपुरमा सबैभन्दा बढी ध्यान गएकाले निष्पक्ष र भयरहित रुपमा चुनाव सम्पन्न हुने र अन्य क्षेत्रका लागि पनि सकारात्मक उदाहरण हुने स्पष्ट पारेका छन् । प्रधानमन्त्रीले भने, “इतिहासदेखि आजसम्म मैले व्यक्त गरेको लोकतन्त्रप्रतिको निष्ठाको कति प्रमाण चाहियो बाह्र? बुँदेदेखि शान्ति प्रक्रियासम्म आइपुग्दा आफ्नो पार्टीले गरेको त्याग र बलिदानको कति प्रमाण चाहियो ? प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीमाथि मेरो प्रश्न छ ।” प्रतिपक्षलाई विश्वासमा नलिइएको भन्ने एमालेको भनाइ जायज नभएको स्पष्ट पार्दै उहाँले संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत अन्य विषयमा आफूले निरन्तर छलफल र संवाद गरेको स्मरण गराए । प्रधानमन्त्रीले भने, “प्रमुख प्रतिपक्षी दलमा सबैभन्दा बढी दम्भ देखिएको छ । त्यो दम्भले कोही कसैको फाइदा गर्दैन, स्वयम् एमालेलाई पनि फाइदा गर्दैन ।” नेपाली सेनाले नै पहल लिएर काठमाडौँ तराई मधेस द्रुतमार्ग अगाडि बढेको र आफूले प्रधानमन्त्रीको हैसियतले शिलान्यास गरेको जानकारी दिँदै प्रधानमन्त्रीले आफूलाई त्यसमा जस नचाहिएको धारणा राखेका छन् । राजनीतिक दललाई मिलाएर देशमा आर्थिक एवम् औद्योगिक वातावरण नबनाएको भए र विद्युत्भार कटौती अन्त्य नगरेको भए आर्थिक वृद्धि ७.२ प्रतिशतको हाराहारीमा विगतको बजेटले मात्रै नहुने स्पष्ट पारे । राष्ट्रिय मुद्दालाई सम्बोधन गर्ने विषयमा प्रमुख दलबीच अझै सहमतिको आवश्यकता छ भन्दै उनले कोही कसैको मानमर्दन गरेर राष्ट्रिय आवश्यकता भुल्न नहुने र राष्ट्रिय अपेक्षा विपरीत जान नहुने धारणा राखेका छन् । रासस
युनाईटेड फाइनान्सलाई २० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले यूनाईटेड फाइनान्सलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले ५ः१ अर्थात् २० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले १३ लाख ४५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १३ करोड ५४ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
एनएमबि बैंकले शुरु गर्यो शैक्षिक कर्जा सेवा, आवेदन दिएको ५ दिनमै उपलब्ध गराउने
काठमाडौं । एनएमबि बैंकले स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीहरुका लागि ‘एनएमबि बैंक शैक्षिक कर्जा’ नामक कर्जा सेवाको आरम्भ गरेको छ । शिक्षामा आत्मनिर्भता भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले ल्याएको यो शैक्षिक कर्जाको कर्जा अवधि १० वर्ष सम्म रहने छ भने अधिकतम १ करोड रुपैयाँ सम्मको शैक्षिक कर्जा उपलब्ध हुनेछ । एनएमबि बैंक शैक्षिक कर्जा आवेदन दिएको ५ दिन मै उपलब्ध गराईने बैंकले जनाएको छ । शिक्षामा आत्मनिर्भता भन्ने नारा सहित आरम्भ गरिएको ‘एनएमबि बैंक शैक्षिक कर्जा’ ले विद्यार्थीहरुको शैक्षिक यात्रामा लाग्ने आर्थिक समस्या समाधान गर्न भरपर्दो वित्तीय सेवाका रुपमा स्थापित हुने विश्वास बैंकले गरेको छ ।
परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, तीन कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । सो दिन नेप्से ३४ दशमलब ७२ अंकले उकालो लागेर १६३६ दशमलब ३७ अंकमा पुगेको छ । दोहोरो अंकले बढेको बजारमा ९१ करोड १६ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब ३० करोड रुपैयाँ बढी हो । मंगलबार मात्रै १४८ कम्पनीको १४ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ । दोहोरो अंकले उकालो लागेको बजारमा तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । सबैभन्दा बढी मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आरएसडीसी लघुवित्त वित्तीय संस्था र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिका लगानीकर्ताले क्रमशः ९.९७ र ९.५७ प्रतिशत बढी कमाएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १७२ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ६२, बैंक, विकास बैंक र हाइड्रो समूह ३५ र अन्य समूहको परिसूचक १५ अंकले उकालो लागेका छन् । उत्पादनमूलक समुहको परिसूचक भने १४ अंकले ओरालो लागेको छ । सो दिन सिभील बैंकको ७ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको हो । त्यस्तै, स्ट्याण्डार्ड चार्टर्ड बैैंकको ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
असार १ गते कञ्चन डेभलपमेन्ट बैंकको बुक क्लोज
काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको आगामी असार १ गते बुक क्लोज हुने भएको छ । बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नको लागि सो दिन कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको हो । उक्त निर्णय कम्पनीको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।
कतारमाथी अरबको प्रतिबन्ध र चार लाख नेपालीको भविष्य
काठमाडौं । खाडी मुलुक कतारमाथी साउदी अरब, युएई, बहराइन, यमन र इजिप्ट र लिबियाले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेसँगै नयाँ तरंग सृजना भएको छ । अब खाडी मुलुकमा संकट आउने, इन्धनको बजारमा समस्या आउने, कतारको अर्थतन्त्र ओरालो लाग्ने, विश्व कतारको पक्ष र विपक्षमा उभिने लगायतका अड्कलबाजी सुरु भएका छन् । नेपाल र भारतका लागि कतारमाथीको प्रतिबन्ध महंगो पर्ने निश्चित भैसकेको छ । एउटै फोरममा बसेर सहकार्य गर्दै आएका खाडी मुलुकहरु किन एक्कासी कतार विरुद्ध खनिए ? प्रश्न गम्भिर छ । कतारले आइएसलाई सघाएको तथा खाडी क्षेत्रमा अशान्ति मच्चाउन भूमिका खेलेको आरोप लागेको छ । त्यसो त कतार इरानको नजिकको मित्र शक्ति पनि हो जसको खाडी मुलुकसँग कटु सम्बन्ध रहँदै आएको छ । इरानसँग अमेरिकाको सम्बन्ध राम्रो नहुनु, कतार र इरान मित्र पक्ष हुनु, कतारले अमेरिकाको हातबाट सन २०२२ को विश्व कप फुटबल खोसेर लिनु जस्ता कारणले कतारलाई घेरा बन्दीमा पारिएको बुझ्न गाह्रो छैन् । साउदी अरब, यमन, इजिप्ट, बहराइन, युएई र लिबियाले आफ्नो देशमा रहका कतारी कुटनितिक नियोग बन्द गर्न र देश छाड्न कर्मचारीलाई आदेश दिएका छन् । त्यस्तै, कतारी नागरिकलाई २ हप्ताभित्र देश छाड्न भनिसकेका छन् । ती देशहरुले आफ्ना नागरिकलाई पनि कतार नजान निर्देशन दिएका छन् । कतारलाई एक्ल्याउने प्रयाससँगै कतारले जिसिसि(गल्फ कन्ट्री काउन्सिल)को भविष्य माथी नै प्रश्न उठाएको छ । कतारका अर्थ मन्त्रीले जिसिसिको भबिष्यमाथी नै प्रश्न चिन्ह उठाउँदै वार्ता र छलफलद्धारा समस्याको समाधान आवश्यक रहेको बताएका छन् । वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार हाल कतारमा चार लाख नेपाली कामदार रहेका छन् । आर्थिक बर्ष २०७०/७१ पछि श्रम स्विकृति लिएर कतार जाने नेपालीहरुको संख्या ३ लाख २ हजार ८ सय ५४ जना रहेको छ । त्यस अघि नै कतार पुगेर बसेका र अनधिकृत रुपमा कतार पुगेकाहरुको संख्या जेड्दा करिब ४ लाख नेपाली कतारमा रहेको उनले बताए । उनले कतार संकटलाई हाइ अलर्टमा हेरिएको तर पनि तत्कालका लागि श्रम स्विकृति भने नरोकिएको पनि जानकारी दिए । परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयले समन्वय गरेर कतारको अवस्थाबारे अध्ययन गरिरहेको पनि उनले बताए ।
पोखरा विमानस्थलको ऋण स्वीकृत, निर्माण गर्न ५२१ रोपनी जग्गा अधिग्रहण
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ पक्षले ऋण उपलब्ध गराएको छ । ऋणदाता निकाय चिनियाँ आयातनिर्यात बैंकले ऋण रकम उपलब्ध गराएपछि विमानस्थल निर्माण शुरु गर्न सहज भएको हो । सो बैंकले अर्थ मन्त्रालयलाई एक पत्रमार्फत ऋण स्वीकृत भएको जानकारी गराएको अर्थ मन्त्रालयका उपसचिव युवराज पाण्डेले राससलाई जानकारी दिए । विमानस्थल निर्माणको अव सबै प्रक्रिया पूरा भएको छ । मन्त्रालयकाअनुसार २१ अर्ब ४७ करोड रुपैयाँ लागत रहेको सो आयोजनाको यही जेठ १७ गते बुधबार ऋण स्वीकृत भएर आएको हो । त्यसमा ७५ प्रतिशत ऋण हो भने २५ प्रतिशत अनुदान हो । उक्त रकम अर्थ मन्त्रालयले चीनको आयातनिर्यात बैंकसँग दुई प्रतिशत ब्याज दरमा लिएको हो । विमानस्थलको २०७३ वैशाख १ गते प्रमुख दलका शीर्ष नेताको उपस्थितिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । ऋण अनुमोदन भएको चार वर्षभित्र विमानस्थल निर्माण सक्नुपर्ने भएकाले अव भौतिक पूर्वाधार निर्माण प्रक्रियाले गतिलिने विश्वास लिइएको छ । विमानस्थल निर्माण गर्न ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको छ । हालसम्म मुआब्जा वितरणसहित पाँच अर्ब रुपैयाँ भइसकेको छ । चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले सो विमानस्थल निर्माण गर्नेछ । रासस