विकासन्युज

जलविद्युत, उद्योग, व्यापार, होटल र अन्य समूहका कम्पनीको हकप्रद र एफपीओ निश्काशनमा रोक, नयाँ नियम बन्दै

काठमडौं, १५ । जलविद्युत, होटल, उद्योग, व्यापार लगायत प्रत्यक्ष नियमनकारी निकाय नभएको कम्पनीहरुको हकप्रद तथा फरदर पब्लिक अफरिङ (एफपिओ) निश्काशन गर्न तत्कालका लागि नेपाल धितोपत्र बोर्डले रोक लगाएको छ । बोर्डले ‘जलविद्युत लगायत प्रत्यक्ष नियमनकारी निकाय नभएको कम्पनीहरुको हकप्रद तथा फरदर पब्लिक अफरिङ व्यवस्थित गर्न नीतिगत व्यवस्था गर्न लागिएको भन्दै नयाँ व्यवस्था लागू नभएसम्म ती क्षेत्रका कम्पनीले हकप्रद तथा एफपीओ मार्फत पुँजी वृद्धि गर्न रोक लगाएको हो । अहिलेसम्म त्यस्ता कम्पनीहरुको प्राथमिक निश्कासनमा नीतिगत व्यवस्था भएपनि हकप्रद र एफपिओमा कुनै मापदण्ड छैन । बोर्डले सोमबार विज्ञ सहित रहने गरी जलविद्युत लगायतका कम्पनीको हकप्रद तथा एफपिओ मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु सिफारिश गर्न समिति गठन गरेको छ । समितिलाई एक महिनाभित्र सिफारिस पेश गर्न समय तोकिएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को नियम ७ को उपनियम ६ मा बैंक, वित्तीय संस्था वा बीमा कम्पनी बाहेकका अन्य सार्वजनिक निष्काशन गर्ने संगठित संस्थाहरुले सार्वजनिक निष्काशन गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु उल्लेख छ । तर हकप्रद शेयर निष्काशन तथा फर्दर पब्लिक इस्यू सम्बन्धमा आवश्यक मापदण्ड भने उल्लेख छैन । त्यस्ता सूचिकृत संगठित संस्थाहरुले हकप्रद शेयर निष्काशन तथा फर्दर पव्लिक इस्यू मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु तयार गरी हकप्रद शेयर निष्काशन कार्यलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन नीतिगत व्यवस्था गर्न लागिएको पनि बोर्डले जनाएको छ । समितिले प्रत्यक्ष नियमनकारी निकाय नभएको सूचिकृत संगठित संस्थाहरुले हकप्रद शेयर निष्काशन तथा फर्दर पव्लिक इस्यू मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था सिफारिश गर्नेछ ।

ङादी ग्रुपको ४८ लाख कित्ता शेयर सूचीकृत, २१ गतेबाट कारोबार हुने

काठमाडौं १५, भदौ । प्रति कित्ता एक सय रुपैयाँ अंकित्त ४८ लाख ६८ हजार ६८० कित्ता शेयर सूचीकृत भएको छ । धितोपत्र सम्बन्धि ऐन, २०६३ बमोजिम ङादी ग्रुपको शेयर सूचीकृत भएको छ । यसको शेयर मंगलबारदेखि सूचीकरण भएकोले आगामी भदौ २१ गतेबाट औपचारिक रूपमा नेपाल स्टक एक्सचेन्जमा शेयरको कारोबार हुने भएको छ । ङादी ग्रुप र नेपाल स्टक एक्चेन्जबीच मंगलबार शेयर सूचिकरण गर्ने सम्झौता भएको छ । यस्तो सम्झौता भएको मितिले ७ दिनपछि विधिवत रूपमा शेयरको कारोबार स्टक एक्जेन्जबाट हुनुपर्ने प्रावधान बमोजिम २१ गतेबाट यसको कारोबार हुने भएको छ । यसको कार्यालय अनामनगरमा रहेको छ । यो कम्पनीको सूचिकरणपश्चात दिनुपर्ने आरटीएस सम्वन्धि सेवा सिद्धार्थ क्यापिटल लिमिटेडबाट हुने भएको छ ।

सूर्योदयको साधारण शेयर भर्ने मिति आजसम्म, आवश्यकता भन्दा बढी आवेदन

काठमाडौं १५, भदौ । सूर्योदय लघुवित्त वित्तीय संस्थाको साधारण शेयरको आवेदन दिने मिति आजसम्म रहेको छ । प्रति शेयर एक सय रुपैयाँ अंकित एक लाख २० हजार कित्ता साधारण शेयरको निष्काशन तथा विक्री खुला गरेको यो संस्थाले आवश्यकता भन्दा बढी आवेदन पर्न आएका कारण आज बुधबार बैकिङ समयपछि शेयर आवेदनको दरखास्त बन्द गर्ने जानकारी दिएको छ । यो कम्पनीले ६ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ४८ सय कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरेको छ । बाँकी एक लाख नौ हजार दुई सय कित्ता शेयर सर्वसाधारणबाट आवेदन माग गरेको हो । सूर्योदयको शेयरको लागि धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

अनुदान पाएका कलेज नै धारशायी, करोडौ अनुदान पाउनेकै नतिजा कमजोर

काठमाडौं १५, भदौ । सरकारले सामुदायिक कलेजहरुलाई वर्षेनी करोडौं रकम अनुदान दिइरहे पनि यसको समग्र नतिजा भने निरासाजनक देखिएको छ। विश्वविद्यालय अनुदान आयोगले देशभरका सार्वजनिक क्याम्पस सञ्चालनका लागि अनुदान दिइरहेको छ। तर, अनुदान पाएका अधिकांश कलेजहरु धाराशायी बन्दै गइरहेको खबर आजको कारोबारमा छापिएको छ। आयोगका अनुसार अनुदान लिए पनि विद्यार्थी अभाव र खराब व्यवस्थापनका कारण अधिकांश सामुदायिक कलेज बन्द हुने अवस्थामा पुगेका छन्। आयोगले गरेको अध्ययनले देशभर सञ्चालन भइरहेका ९० प्रतिशत सामुदायिक कलेजको अवस्था धारासायी रहेको पाइएको छ । सरकारले सामुदायिक कलेजका लागि विगत ३ वर्षमा मात्र १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ अनुदान सहयोग प्रदान गरिसकेको छ। आयोगले नियमित र भौतिक विकास अनुदान शीर्षकमा लगानी बढाउँदै लगे पनि ९० प्रतिशत सामुदासियक कलेज विद्यार्थी अभाव झेलिरहेका छन्।

कमिसन नपाएपछि समातिनै छाडे सुन तस्कर, सुनतस्कर बढेको बढ्यै

काठमाडौं १५, भदौ । नेपालसँग सीमाना जोडिएका चीनका विभिन्न नाकाबाट तस्करी हुँदै आएको सुनको रूट परिवर्तन भएपछि नेपालमा अवैध सुन समातिन छाडेको छ। Gold bars यसअघि नेपालका विभिन्न नाकाबाट अवैधरूपमा सुन भित्रने गरेपनि अहिले भने चीनबाट तस्करी हुने न भुटान र बंगालादेश जान थालेको प्रहरीको निष्कर्ष छ। आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ। सरकारले सुन पक्राउ गर्ने र सुराकी गर्नेलाई कमिसन नदिने नीति अवलम्बन गरेपछि पछिल्लो समय ठूला परिणाममा सुन समातिन छाडेको छ। यसअभन्द अगाडि सरकारले सुनको अवैध कारोबार गर्ने कामलाई निरूत्साहित गर्न सुराकीलाई २५ प्रतिशत र सुन समात्ने सुरक्षा निकायलाई १५ प्रतिशत कमिसन दिने गरेकोमा अहिले भने जति परिणामको सुन समातिएपनि ५० हजारदेखि ५ लाख रूपैयाँ सम्म सुराकी र समाउनेलाई दिने नीति अख्तियार गरेपछि सुराकीले सुराक दिन छाडेको केन्द्रीय अनुसन्धान व्युरोले जानकारी दिएको छ।

अपराधी नउडाउने भन्दै फर्काइदियो इतिहादले

काठमाडौं १५, भदौ । काठमाडौं–गृह मन्त्रालयले निष्कासन डिपोर्ट गर्ने निर्णय गरेको एक पाकिस्तानी नागरिकलाई इतिहाद एयरलाइन्सले बोडिङ पास नदिई फर्काइदिएको छ । निष्कासित यात्रुको उडानबारे अध्यागमन विभागले समयमै समन्वय नगरेको भन्दै इतिहादले ती पाकिस्तानीलाई फर्काइदिएको हो । विभागले भने सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरीसकेको अवस्थामा कुनै यात्रुबारे जानकारी गराउन जरुरी नभएको दाबी गरेको छ । चोरी मुद्दामा जेल सजाय भागेका पाकिस्तानी नागरिक राना गणेशबहादुरलाई विभागको सिफारिसमा गृह मन्त्रालयले एक वर्ष अवधिभर नेपाल आउन नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

भूकम्प पीडितलाई सरकारको नयाँ योजना, जग्गा किन्न अनुदान

काठमाडौं १५, भदौ । सरकारले भूकम्पपीडितलाई दुई लाख रुपैयाँ अनुदान बाड्न नसकेको बेला अर्को नयाँ योजना ल्याएको छ । सरकारले भूकम्पपीडितलाई घर बनाउान आवश्यक जग्गा किन्न अनुदान दिने घोषणा गरेको छ । डेढ वर्ष बित्न लाग्दा पनि भूकम्पपीडितले घर बनाउने रकम पाएका छैनन् । यहीबीच सरकार पीडितलाई जग्गा किन्न पैसा दिने नयाँ योजना बनाउँदै छ । भूकम्पका कारण जोखिमपूर्ण बनेको आफ्नो जमिनमा घर बनाउन नसक्ने पीडितलाई सरकारले जग्गा किन्न अनुदान दिने तयारी गरेको हो । आफ्नो जग्गामा घर बनाउन नसक्ने पीडितलाई जग्गा खरिदका लागि अनुदान दिन कार्यविधि निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ सुशील ज्ञवालीले जानकारी दिए । ‘पीडितलाई कतिसम्म अनुदान दिने भन्ने तय गर्न कार्यविधि बन्दै छ,’ ज्ञवालीले भने, ‘जसको घर बनाउन जग्गा उपयुक्त छैन उनीहरूलाई जग्गा किन्न अनुदान दिन लागिएको हो ।’ आफ्नो जग्गामा घर बनाउन नसक्ने पीडितलाई अर्को घर बनाउने घडेरी खरिदका लागि दुई लाख रुपैयाँसम्म अनुदान दिने गरी कार्यविधि बनाउन लागिएको छ । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भएपछि त्यस्ता पीडितलाई जग्गा किन्न अनुदान वितरण सुरु हुने ज्ञवालीले जानकारी दिए । ‘कार्यविधि स्वीकृत भएपछि घर निर्माणका लागि जग्गा किन्न अनुदान दिने हाम्रो योजना हो,’ उनले भने । भूकम्पले आंशिक क्षति भएका पीडितले घरको रेट्रोफिटका लागि ५० हजार रुपैयाँ पाउने भएका छन् । यसका लागि कार्यविधि तयार भइरहेको सिइओ ज्ञवालीले जानकारी दिए । ‘घर रेट्रोफिट गर्न पीडितलाई ५० हजार दिन कार्यविधि तयार भइरहेको छ,’ उनले भने, ‘आंशिक क्षति भएका पीडितलाई यो रकम दिन खोजिएको हो ।’ यसका लागि निर्देशक समितिबाट निर्णय भइसकेको पनि उनको भनाइ छ । समाचार स्रोत नयाँ पत्रिका दैनिक ।

नक्कली पर्वतारोहीमाथि छानविन, दुई शेर्पा फरार, कर्मचारीलाई चेतावनी

काठमाडौं १५, भदौ । भारतीय जोडीमाथि छानविन शुरु भएपछि उनीहरुको सहयोगीका रुपमा खटिएका शेर्पा फुर्तेम्बा शेर्पा र फुर्वा शेर्पा फरार भएको मन्त्रालयको भनाई छ । ‘उनीहरुको खोजी र अनुसन्धान जारी छ’, मन्त्रालयका सहसचिव उपाध्यायले भने, ‘सम्पर्क अधिकृतका रुपमा खटिएका कर्मचारी र प्रमाणपत्र दिने अधिकारीलाई चेतावनी दिइएको छ ।’ विभागका अनुसार सन् २००१र०२ मा पनि एक जना बेलायती नागरिकलाई नक्कली तस्वीर प्रयोग गरी आरोहणको दाबी गरेको अभियोगमा तीन वर्षको प्रतिवन्ध लगाइएको थियो । तर, प्रमाणपत्र खारेज भएको इतिहास भने पहिलो हो । भारतीय जोडीमाथिको प्रतिवन्धले नेपालमा गैरकानूनी गतिविधि गर्नेमाथि कारवाही हुन्छ भन्ने सन्देश प्रवाह भएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव घनश्याम उपाध्यायको भनाइ छ । आरोहीहरुका अनुसार शेर्पा सहयोगी र सम्पर्क अधिकृतलाई रकम खुवाएर मिलेमतोमा आरोहणको प्रमाणपत्र लिने आरोही धेरै हुन्छन् । तर, नेपालमा नक्कली तस्वीर प्रमाणित गर्ने उच्च प्रविधिको अभाव र उजुरी नआएपछि यस प्रकारका गतिविधिको छानविन हुँदैन । नक्कली आरोहण निरुत्साही गर्न शेर्पा सहयोगीको भूमिका महत्वपूर्ण हुने श्रेष्ठले बताए । नयाँ पत्रिका दैनिकबाट ।