विकासन्युज

ओम ज्योती सेभिङ र शिव शंकर सहकारीबीच मर्ज सम्पन्न, एकिकृत कारोबार शुरु

काठमाडौं, ११ पुस । काठमाडौंको जोरपाटीस्थित ओम ज्योती सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र शिव शंकर सहकारीबीच मर्ज प्रक्रिया सम्पन्न भएको छ । दुई संस्था एकआपसमा मर्ज भई एकीकृत कारोबार शुरु गरेका छन् । ज्योति सेभिङको सम्पन्न १० औं वार्षिक साधारणसभाले दुई सहकारी एकआपसमा मर्ज हुने प्रस्तावलाई पारित गरेको हो । सो अवसरमा अध्यक्ष उमेश श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको सहकारीमा हाल ३२२ जना सेयर सदस्य रहेका छन् । साथै संस्थाले नयाँ सञ्चालक समितिको चयन पनि गरेको छ । सुदीप सुवेदीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो । उपाध्यक्षमा वालकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रिता अधिकारी र सचिवमा हरिकृष्ण थपलिया रहेका छन् । सदस्यहरुमा सान्नारायण महर्जन, ओमराज थापा, अनिता भण्डारी, कृष्णप्रसाद सिग्देल र श्याम वस्ताकोटी रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा उद्धव पौडेल रहेका छन् भने सदस्यहरुमा मञ्जु सापकोटा र राजकुमार हुँमागाई रहेका कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगको विधेयकमा हकअधिकार खोज्दै- आदिवासी जनजाति

काठमाडौं, ११ पुस । आदिवासी जनजातिका अगुवाले सरकारले प्रस्तुत गरेको आदिवासी जनजाति आयोगसम्बन्धी विधेयक व्यापक रुपमा परिमार्जन नगर्ने हो भने आफ्नो समुदायको हकअधिकारको संरक्षण सम्बद्र्धन तथा सशक्तीकरण हुन नसक्ने जिकिर गरेका छन् । व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानवअधिकार समितिले आदिवासी जनजातिका आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राय सुझाव लिन आयोजना गरेको कार्यशालामा सहभागी वक्ताहरुले उक्त दलिल गरेका हुन् । सो अवसरमा आदिवासी जनजाति समुदायका अगुवा एवम् राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा चैत्यन्य सुब्बाले विधेयकमा आयोगको काम, कर्तव्य र अधिकारबारे स्पष्ट रुपमा उल्लेख नभएको, अध्यक्ष र सदस्यको योग्यता, पद रिक्त हुने अवस्था किटान नगरिएको, अरु संवैधानिक आयोगको तुलनामा नाम मात्रको आयोग भएको टिप्पणी प्रस्तुत गरेका छन्। नागरिक, राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, सेवा र अवसरजन्य हकअधिकारको स्पष्ट रुपमा उल्लेख हुनु पर्नेमा त्यो नभएको जनाउँदै उहाँले विधेयकमा सहभागिता, समावेशीकरण, प्रतिनिधित्व, शिक्षा, स्वास्थ्य, आवास, तथा सेवामा न्यायपूर्ण पहुँच, शोषणबाट मुक्ति, आर्थिक स्वाधीनता, संरक्षणलगायत सबै प्रकारका अवसरमा पहुँच, सांस्कृतिक हित, भाषिक समानताको विषयलाई समेट्न नसकेको धारणा राखे । आदिवासी जनजातिले अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको सामूहिक अधिकारको प्रत्याभूति र नागरिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक हकको स्पष्ट व्यवस्था, सामाजिक न्याय, समानता, स्वतन्त्रता र प्रतिष्ठाको प्रत्याभूति, भू–स्वामित्वको रक्षा, भूमिबाट विस्थापनमा नियन्त्रण र भू–विस्थापितलाई क्षतिपूर्ति र पुनःस्थापनजस्ता आफ्ना मूल सरोकारका विषयलाई समावेश नगरी विधेयक अघि बढाइएमा त्यसको कुनै औचित्य नहुने सो अवसरमा सहभागी वक्ताले चेतावनी दिएका छन् । अधिवक्ता कुन्साङ लामाले आयोगको क्षेत्राधिकार विधेयकमा व्यापक बनाउन आवश्यक रहेको बताउँदै आदिवासी जनजातिको हकहित गोलमटोल रुपमा उल्लेख गरेर हकलाई छायाँमा पार्न खोजिएको आरोप लगाए । आदिवासी जनजाति समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण गरी तत्सम्बन्धमा खण्डीकृत तथ्याङ्क तयार गर्ने, आदिवासी जनजाति हितमा गर्नु पर्ने नीतिगत, कानुनी र संस्थागत सुधारका विषय पहिचान गरी नेपाल सरकारलाई सिफारिस गर्ने काम, कर्तव्य र अधिकार आयोगलाई हुनुपर्ने उनको भनाइ थियो । यसअघि उक्त कार्यशालाको उद्घाटन गर्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले विधेयकमा भएका कमी कमजोरीलाई हटाएर परिस्कृत तुल्याउन सहभागीले दिने सुझाव फलदायी हुने विश्वास व्यक्त गरेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जगेवुले विधेयकलाई दीर्घजीवी तुल्याउन ठोस सुझावको अपेक्षा गरिएको बताए । आयोजक सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशील श्रेष्ठले संविधानले परिकल्पना गरेको सामाजिक न्याय र समानुपातिक तथा समावेशीका मुद्दा सम्बोधन हुनेखाले सुझाव आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। नेपालको संविधानको धारा २६१ मा संवैधानिक आयोगका रुपमा आदिवासी जनजाति आयोग रहने व्यवस्था गरिएको छ । आदिवासी जनजाति समुदायको समग्र स्थितिको अध्ययन गरी तत्सम्बन्धमा गर्नुपर्ने नीतिगत, कानुनी र संस्थागत सुधारका विषयमा नेपाल सरकारसमक्ष सिफारिस गर्नेलगायतका काम, कर्तव्य र अधिकार उक्त आयोगलाई हुनेछ । रासस

नेपाल बैंकका प्रबन्धक उमेशचन्द्र घिमिरेको लडेर मृत्यु

झापा, ११ पुस । नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गएराति लडेर मृत्यु भएको छ । गएराति बाथरुममा चिप्लिएर उनी लडेका थिए । बाथरुममा लडेर अचेत भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पु¥याइए पनि उनको अस्पताल पुर्याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिएका छन् । एकचालिस वर्षीय घिमिरे डेढ वर्षयता बिर्तामोडस्थित नेपाल बैंकको शाखा कार्यालयमा प्रबन्धकको काम गर्दै आएका थिए । काठमाडौं स्थायी घर भएका उनी बनेपाबाट सरुवा भएपछि बिर्तामोड शाखामा कार्यरत थिए। रासस

बृहत ग्रूपद्धारा क्रिसमस डेको अवसरमा ३ हाउजिङको बुकिङ खुला

काठमाडौं, ११ पुस । बृहत ग्रूपले क्रिसमस डेको अवसर पारेर आफ्ना विभिन्न हाउजिङ परियोजनाको बुकिङ खुला गरेको छ । कम्पनीले ललितपुरको भैंसेपाटीमा ल्याउन लागेको नयाँ हाउजिङ परियोजना ‘बृहत कम्युनिटी लिभिङ, भैंसेपाटी’ को बुकिङ खुला भएको हो । निर्माणका लागि नगर विकासबाट कम्पनीले हालै स्विकृती प्राप्त गरेको यस परियोजनामा २५ घरहरु रहनेछन् । ३ आनादेखि साढे ८ आना जग्गामा बन्ने यी घरहरुको बिल्टअप एरिया १४३० वर्गफिटदेखि १९२५ वर्गफिटसम्म हुनेछ । यसका अतिरिक्त कम्पनीले ‘बृहत कम्युनिटि लिभिङ्ग – रामकोट’ र ‘बृहत क्लष्टर- बल्खु’ गरी दुई परियोजनाको दोस्रो चरणका घरहरुको पनि बुकिङ खुला गरेको छ । यसका साथै, बृहतले हरेक वर्ष क्रिशमसका दिन हाउजिङका घरधनी परिवारसँग मनाउँदै आएको ‘क्रिशमस डे’ कार्यक्रम यसपटक आफ्नो बल्खुस्थित निर्माणाधीन आवास परियोजना बृहत क्लष्टरमा आयोजना गर्यो । ‘क्रिशमस डे’को सो कार्यक्रम कम्पनीले बृहत कम्युनिटि लिभिङ्ग – रामकोट र बृहत क्लष्टर- बल्खु, बृहत क्लष्टर- मैतिदेवीका घरधनीका परिवारहरुसँग मनाएको छ । हाउजिङका घरपरिवारका सदस्यहरुबीच निकटता, आपसी मेलमिलाप तथा सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले बृहतले विभिन्न अवसरमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

३ हजारमै हेलिकोप्टर चढ्न पाइने, आन्तरिक पर्यटन महोत्सवमा हेलिकोप्टरबाटै दृष्यावलोकनको आकर्षण

काठमाडौं ११, पुस । आन्तरिक पर्यटन महोत्सवमा हेलिकप्टरको प्रयोग व्यापक हुन थालेको छ । मेला महोत्सवमा आयोजकले हेलिकोप्टरबाट दृष्यावलोकन गराउने, अवलोकनकर्ता आकर्षण गर्न हेलिकोप्टर सेवा प्रदायकसँग भाडामा लिएर मेला अवधिभर हेलिकोप्टरबाट दृष्यावलोकन गराउँन थालेका छन् । मेला महोत्सवमा आयोजकले ३ हजारदेखि ३५ सय रुपैयाँमै हेलिकोप्टरबाट दृष्यावलोकन गराउन थालेका छन् । अहिले आन्तरिक पर्यटन महोत्सवको सिजन भएकोले हेलिकोप्टर सेवा प्रदायकलाई भ्याइनभ्याइँ भएको सिम्रिक एयरका महाप्रवन्धक दिलबहादुर ओलीले बताए । उनका अनुसार दिनदिँदै महोत्सव आयोजकबाट हेलिकोप्टरको डिमाण्ड आउने गरेको छ । महोत्सव आयोजकले प्रतिघण्टाको दुईलाख रुपैयाँसम्ममा हेलिकोप्टर भाडामा लिने गरेका छन् । त्यसपछि पाँच मिनेटदेखि आधा घण्टासम्मको प्याकेज तयार पार्ने गरेको ओलीले बताए । उनका अनुसार पाँच मिनेट दृश्यावलोकन लागि ३ हजार देखि ३५ सय रुपैयाँसम्मकै प्याकेज तयार पार्छन । एक पटकमा चारपाँच जनासम्म उडान सकिने भएकोले पनि आयोजकले आवश्यकता अनुसारको प्याकेज तयार पारेर हेलिकोप्टरमार्फत सेवा दिन थालेको हुन । पर्यटन बोर्डमा महोत्सव प्रवद्र्धन गरिदिन प्रस्तावको आइरो विदेशी पर्यटकका लागि अहिले अफ सिजन हुने गरेको भएपनि आन्तरिक पर्यटकको लागि भने मंसिरदेखि चैतसम्म नै सिजन हुने गरेको नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रवन्धक मणि लामिछानेले बताए । उनका अनुसार अहिले आन्तरिक पर्यटन महोत्सव भ्याइनभ्याई छ । बोर्डले करीब २५ देखि ३० वटा आयोजना गरिसकेको छ भने अझै ४० वटा जति बोर्डसँगकै सहकार्यमा महोत्सव हुँदै छ । बोर्डको सम्पर्कमा नआएका जिल्ला, क्षेत्र तथा स्थानिय तहसम्म हुने महोत्सव भने वर्षभरीमा करीब १५० वटा सम्म हुन थालेको पनि लामिछानले बताए । उनका अनुसार पछिल्लो समय मेला महोत्सव पहिलो प्राथमिकता व्यापरिक उद्देश्य हो भने दोस्रो पर्यटन प्रवद्र्धन र स्थान पहिचान गराउने माध्यम पनि हो । बोर्डले महोत्सवको प्रवद्र्धन गर्ने काम गर्छ । विभिन्न ट्राभल्स एजेन्सिको सहकार्य तथा हेलिकोप्टर कम्पनी आफैंले महोत्वमा हेलिकोप्टरमार्फ सेवा दिने र आयोजकले प्रयोग गर्ने प्रचलन बढिरहेको छ । हेलिकप्टर सेवा सामान्य नेपालीले समेत प्रयोग गर्न सक्ने तथा आन्तरिक पर्यटकले पनि हेलिकप्टरको प्रयोग गर्न सक्छन भएकोले पनि यसको प्रयोग बढेको उल्लेख छ । महोत्सवमा हेलिकोप्टरको प्रयोगको सुरुवात ६ वर्ष अगाडि सिम्रिक एयरले नै शुरु गरेको भएपनि अहिले अन्य हेलिकप्टर कम्पनीले समेत पछ्याउन थालेका छन् । आन्तरिक पर्यटन आकर्षणका लागि हेलिकप्टरको प्रयोग उपयुक्त हुने देखेर महोत्सव आयोजकले यसलाई प्रयोग गर्न चाहेका छन भने जहाज कम्पनीले पनि खाली बस्न नपर्ने र पैसाको कारोबारसमेत भइरहने भएकाले आन्तरिक पर्यटकीय गन्तव्य तथा महोत्सवमा हेलि प्रयोग गराएका हुन । आन्तरिक महोत्सवबाट ठूलो लाभ हुन नसके पनि लागत खर्च उठेसम्म हेलिकप्टर उडान गर्न आफूहरु तयार भएपनि यसको प्रयोग बढ्न थालेको उल्लेख छ । न्युनतम पाँच मिनेटका लागि ३ हजार ५ सयसम्मको प्याकेजमा उडान गर्दासम्म लागत धान्न सक्ने भएकोले महोत्सवको स्थान हेरी सोही रकम अनुसारको प्याकेज ल्याउन सकिने उनले भनाई छ । महोत्सव स्थान हेरेर आयोजकले अझै सस्तो गरेर लागत धान्ने गरी पनि सेवा दिन सक्ने ओलीको भनाई छ । हाल नेपालमा नौ वटा निजी कम्पनीको हेलिकोप्टर संचलानमा छन् । महोत्सवको सिजन भएकोले सबै कम्पनीलाई भ्याइनभ्याई भएको पनि उल्लेख छ ।

सुरुङ र फ्लाईओभर बनाउन छुट्टै विभाग, नागढुंगा-नौबिसे सुरुङ र कलंकीको फ्लाईओभर बनाउने

काठमाडौं, ११ पुस । सरकारले सुरुङ मार्ग र फ्लाईओभर निर्माणका लागि छुट्टै संरचना बनाउने भएको छ । नेपालको सडक विकासमा सुरुङ तथा फ्लाईओभर निर्माण नयाँ काम भएकाले त्यसलाई सहज बनाउन छुट्टै संयन्त्र गठनको तयारी थालिएको हो ।‘हामीले उर्जाका परियोजनाहरुमा सुरुङ निर्माणको अभ्यास गरेका छौं, मेलम्ची खानेपानीमा पनि सुरुङ बनिरहेको छ तर सडकमा त्यस्तो काम भएको छैन, अब त्यसका लागि छुट्टै विभाग बनाउने तयारी गर्दैछौं’, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने । उनले दक्ष प्राबिधिकका साथमा त्यस्तो विभागलाई आवश्कयता अनुसार विदेशी विज्ञ समेत राख्ने व्यवस्था मिलाईनेछ । नेपालले हालसम्म सडक पुर्वाधारमा आधारित सुरुङ मार्ग बनाएको छैन् । त्यस्तै नेपालमा हालसम्म फ्लाईओभर समेत बनाउन सकेको छैन् । तत्काल सुरुङ मार्ग र फ्लाईओभर बनाउनु पर्दा त्यसका लागि दक्ष जनशक्तिको समेत अभाव रहेको मन्त्रि लेखकले बताए । ‘अहिले हामीसँग सुरुङ मार्ग बनाउनका लागि जाने बुझेको प्राबिधिक जनशक्ति पनि छैन, अब जनशक्ति उत्पादन र व्यवस्थापनसहित त्यस्तो निकाय गठन हुन्छ, जसले सुरुङ र फ्लाईओभरको काम गर्छ’, मन्त्रि लेखकले भने । व्यवस्थापिका संसदको विकास समितिले पनि सुरुङ मार्ग र फ्लाईओभर निर्माणका लागि छुट्टै विभाग गठन गर्न निर्देशन दिएको थियो ।‘हामीले सुरुङ मार्ग र फ्लाईओभर निर्माणका लागि दक्ष जनशक्तिसहितको छुट्टै विभाग बनाउन निर्देशन दिएका थियौं, त्यसको प्रक्रिया सुरु भएको खबरले हर्षित बनाएको छ, अब नेपालका लागि जटिल मानिएका त्यस्ता काम पनि सहजै अघि बढ्छ’, विकास समितिका सभापति रबिन्द्र अधिकारीले भने । हाल भौतिक मन्त्रालयले सडक विभाग मार्फत सडक र रेल विभाग मार्फत रेल निर्माणको काम अघि बढाएको छ । हालसम्म सुरुङ र फ्लाईओभर पनि सडक विभागबाटै हेरिँदै आएको थियो । सरकारले नागढुंगादेखि नौबिसेको सिस्ने खोलासम्म सुरुङ मार्ग र कलंकीमा फ्लाईओभर निर्माण प्रक्रिया अघि बढाएको छ ।

मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रि गर्ने

काठमाडौं, ११ पुस । मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार ७ सय ३८ कित्ता हकप्रद सेयर लिलामीमा बेच्ने भएको छ । गत असोज कात्तिक १ देखि मसिर १ गतेसम्म बिक्रि खुल्ला गरिएको हकप्रद सेयरमध्ये नबिकेको सेयरलाई लिलामीमा बेच्न लागिएको बैंकले जनाएको छ । बैंकले ४२ हजार २ सय ५९ कित्ता साधारण र १७ हजार ४ सय ७९ कित्ता संस्थापक तर्फको हकप्रद सेयर बिक्रि गर्न लागेको हो । इच्छुक लगानी कर्ताले न्युनतम एक सय मुल्य कायम गरि पुस २६ गतेदेखि माघ ४ गतेसम्ममा शिलबन्द गरि आवेदन दिन सक्नेछन् । मितेरीले प्रभु क्यापिटलाई बिक्रि प्रबन्धक तोकेको छ ।

सेयरबाट करोडपतिको तेश्रो संस्करण बजारमा, दश हजार प्रति बिक्री

काठमाडौं, ११ पुस । सेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ‘सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा आएको छ । पुस्तक सार्वजनिक भएको एक हप्तामै पाँच हजार प्रति बिक्रि भएको दोश्रो संस्करण गत असारमा आएको थियो । गत जेठ १२ गते पहिलो संस्करण बजारमा आएको यो पुस्तक हाल सम्म दशहजार प्रति बिक्री भइसकेको छ । तेस्रो संस्करणमा धेरै विषय बस्तु थप गरिएको छ भने कतिपय पुनर्लेखन गरिएको छ । भाषागत त्रुटि सच्याएर पुस्तकलाई थप पठनिय बनाइएको लेखक भट्टराईले बताए । दोस्रो सँस्कणको तुलनामा पुस्तकको आकार केहि बढेको छ तर पनि मूल्य भने यथावत राखिएको छ जसले गर्दा उही मूल्यमा पाठकले अझ बढी पढ्न पाउने भएका छन । देशभरका सबै पुस्तक पसलमा पुस्तकको तेस्रो संस्करण उपलब्ध भएको प्रकाशक फाइनप्रिन्टका प्रवन्ध निर्देशक नीरज भारीले बताए । उनले भने, ‘दोस्रो संस्करण अपेक्षा गरे भन्दा छिट्टै सकिएको छ ।अहिले पनि पुस्तकको मागमा कमि आएको छैन । विदेशबाट सोचे भन्दा बढी माग भएको छ । पुस्तक पसलहरुबाटपुस्तकको माग निरन्तर भइरहेको छ । यो मागले तेस्रो संस्करणले अपेक्षाकृत सफलता हात पर्नेमा आशावादी छौ।’ पुस्तकमाथी पाठकको प्रतिक्रिया देखेर आफू उत्साहित भएको लेखक भट्टराई बताउँछन् । ‘सोसल मिडिया र इमेल मार्फत आएका पाठकका प्रतिक्रियाले अझ बढी उत्साहित बनाएको छ ।’ पाठकको प्रतिक्रिया सुनाउँदै उनले भने,‘जति पढ्यो त्यति पढौ लाग्छ । यो कितावले लगानीको भोक जगाइ दिएको छ ।’