विकासन्युज

जनता बैंकले ल्यायो गौतम वुद्ध बचत खाता, बार्षिक ८ प्रतिशत ब्याज दिने

काठमाडौं । जनता बैंक नेपालले गौतम बुद्ध बचत खाता नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । न्यूनतम १०० मै खाता खोल्न सकिने गौतम वुद्ध बचत खातामा निक्षेप कर्ताले वार्षिक ८ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन । यसबाट सर्वसाधारणहरु बचत गर्न प्रोत्साहित हुने तथा उच्चतम ब्याजदरबाट लाभान्वित हुने बैंकले दावी गरेको छ । साथै, बैंकले सार्वसाधारणका लागि विभिन्न अवधिका मुद्दती खाताहरुमा वार्षिक १२ प्रतिशत ब्याजदर प्रदान गर्दै आएको छ । ४ अर्ब ७२ करोड चुक्तापूँजी रहेको यस जनता बैंक नेपाल लिमिटेडले पूर्वमा ताप्लेजुङ्गदेखि पश्चिममा दार्चुलासम्म देशका ग्रामीण तथा शहरी क्षेत्रमा रहेका ६७ वटा शाखा कार्यालय, ४ वटा सीमित बैंकिङ्ग इकाइ र १९ वटा ब्रान्चलेस बैंकिङ इकाइ मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

गरिमा विकास बैंकको नाफा ७० प्रतिशतले बढ्यो

काठमाडौं । गरिमा विकास बैंकको नाफा करिब ७० प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक बर्षका तेश्रो त्रैमासिक अवधीमा आफ्नो नाफा १० करोेड १९ लाखले बढाएर २४ करोड ८५ लाख पुर्याएको हो । जुन अघिल्लो आवको भन्दा ६९ दशमलब ५० प्रतिशत हुन आउँछ । गत आवको तेश्रो त्रैमासिकमा बैंकले १४ करोड ६६ लाख नाफा कमाएको थियो । एक अर्ब २९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४६ करोड ८९ लाख रुपैंयाँ रहेको छ । बैंकले सो अवधीमा १३ अर्ब ३९ करोड निक्षेप संकलन गरेर १२ अर्ब ९ करोड कर्जा तथा लगानी प्रवाह गरेको देखिन्छ । बैंकको खराब कर्जा पनि शुन्य दशमलब ७४ प्रतिशत मात्रै रहेको छ । गरिमाको प्रति सेयर आम्दानी २५ रुपैंयाँ ५६ पैसा छ भने प्रति सेयर नेटवर्थ १३६ रुपैंयाँ १७ पैसा रहेको छ । गरिमाले बैशाख १४ गतेदेखि मात्रै १० बराबर ७ कित्ताको अनुपातमा ९० करोडको हकप्रद सेयर निष्काशन गरेको छ ।

एडिबी र नेपालबीचको साझेदारीका ५० वर्ष : एसियाको समृद्धिमा सहयोग

काठमाडौं । एसिया–प्रशान्त क्षेत्रको गरिबी घटाउने र भौतिक पूर्वाधारको निर्माणबाट यस क्षेत्रलाई समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यले स्थापना भएको एसियाली विकास बैंक (एडिबी) पचासौँ वर्षमा प्रवेश गरेको छ । सन् १९६७ मा बैंक स्थापना भएदेखि नै सदस्य रहेको नेपाल र एसियाली विकास बैंकबीचको सहकार्यले मुलुकको गरिबी घटाउने, व्यावसायिक तथा सीप विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, दैवी विपत्ति तथा आपत्कालीन सहायताले पारस्परिक सहयोगलाई अझ घनिभूत तुल्याएको छ । साना, मझौला र विशाल विकास आयोजनामा अर्बौंको लगानी गरेको उक्त बैंकले नेपाललाई संस्थापक साझेदारका रुपमा ५० वर्षदेखि नै प्राविधिक, अनुदान र ऋण सहायता प्रदान गरेर गरिबीको दुष्चक्रबाट नेपालीलाई मुक्त गर्ने अभियानमा सघाइरहेको छ । मेलम्ची खानेपानी आयोजना, जलविद्युत् लगानी परियोजना, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग, सडक सुधार आयोजना, विद्यालय क्षेत्र सुधार आयोजना, काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना, विद्युत् प्रसारण तथा वितरण क्षमता विस्तार परियोजना, इन्जिनियरिङ उच्च शिक्षा विस्तार कार्यक्रम, भूकम्प प्रभावित समुदायका लागि विपत्ति जोखिम न्यूनीकरण तथा जीवनयापन पुनः स्थापनामा एडिबीले सघाइरहेको छ । त्यसैगरी, उक्त बैंकले आपत्कालीन भूकम्प सहायता परियोजना, काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (अतिरिक्त लगानी), सुदूरपश्चिमाञ्चल नगर विकास परियोजना, कृषि क्षेत्र विकास कार्यक्रम, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा ऊर्जा प्रणाली विस्तार परियोजना, बाग्मती नदी किनार सुधार आयोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा व्यापार सहजीकरण कार्यक्रम, विद्युत् प्रसारण विस्तार तथा आपूर्ति सुधार आयोजना र काठमाडौँ उपत्यका सहरी वातावरण सुधार आयोजनालगायत दुई सयवटा विकास निर्माणका परियोजनामा सहयोग गरेको छ । बैंकको पचासौँ वार्षिकोत्सवको अवसर पारेर यही वैशाख २१ देखि २४ गतेसम्म जापानको योकोहामा नगरमा ६७ वटा सदस्य मुलुकका अर्थमन्त्री, केन्द्रीय बैंकका गभर्नर, सामुदायमा आधारित सङ्गठनका प्रतिनिधि, निजी क्षेत्रका नेतृत्वकर्ता, विकासका साझेदार, योजनाकार, नगारिक समाज र सञ्चारकर्मी गरी तीन हजारभन्दा बढीले ‘साथसाथै मिलेर एसियाको समृद्धि निर्माण’मा बहस गर्दैछन् । चारदिने स्वर्ण महोत्सव समारोहमा आगामी ५० वर्षमा एसियाका निम्ति अवसर, सार्वजनिक निजी क्षेत्र साझेदारी, प्रगति र चुनौती, समावेशिता र महिला नेतृत्व, मध्यम आय हासिल गर्न अल्पविकसित मुलुकले झेल्नु परेका चुनौती र विकासका निम्ति प्रविधिजस्ता विषयमा छलफल हुनेछ । संयुक्त राष्ट्रसङ्घमा विश्वका एकसय ९३ मुलुकले सन् २०३० सम्ममा दिगो विकास हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेअनुरुप त्यसमा एसिया प्रशान्त क्षेत्रका देशहरुको प्रगति, भावी चुनौती र रणनीतिक योजनाबारे पनि ६७ मुलुकका योजनाविद् र नेतृत्व तहसँग छलफल हुनेछ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले नेपालको विकासका आकाङ्क्षा, पछिल्लो राजनीतिक विकासक्रम, स्थानीय तह निर्वाचनलगायत विकास निर्माणका आयोजनाबारे अन्तर्राष्ट्रियजगत्लाई अवगत गराउँदै थप सहायता प्राप्तिमा पहल गर्नेछ । एडीवीको सहयोगमो बनेको कोशी पुल उद्घाटनको क्षण एडिबीको पचासौँ वार्षिकोत्सवकै सन्दर्भमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका अर्थमन्त्रीहरुको बेग्लै बैठक पनि योकोहामामा हुँदैछ । उक्त बैठकमा सार्कलाई गति दिने र स्वतन्त्र व्यापार, ऊर्जा, सडक सञ्जाल र सम्पर्क विस्तारजस्ता सार्कले घोषणा गरेका कार्यक्रमहरुको कार्यान्वयनबारे विचारविमर्श हुनेछ । पचास वर्षअघि एसिया–प्रशान्त क्षेत्रका ३१ मुलुकले स्थापना गरेको एडिबीमा हाल यस क्षेत्रका ४८ र विश्वका अन्य भूभागका १९ राष्ट्र सदस्य छन् । संस्थापक सदस्य नेपालले बैंकको कुल पुँजीको ०.०३ प्रतिशत लगानी गरेको छ । एडिबीसँगको नेपालको ५० वर्षे सहकार्य तथा उक्त बैंकको भूमिकाबारे पूर्वअर्थ मन्त्री एवम् परराष्ट्रमन्त्री डा रामशरण महत भन्छन्, “नेपालको विकासको विश्वसनीय साझेदार एडिबी हामीलाई आवश्यक छ ।” विकासका पूर्वाधार निर्माणमा एडिबीको सहयोग रहेको बताउँदै उहाँ वैदेशिक सहायता मुलुकलाई आवश्यक परिरहेको सन्दर्भमा एडिबी जस्ता बहुपक्षीय वित्तीय संस्थाहरुको महत्व नेपालमा अधिक रहेको उनकाे विचार छ । नेपालको सामाजिक, आर्थिक, शैक्षिकलगायत विकासका क्षेत्रमा एडिबीबाट प्राप्त सहयोग र योगदानको सराहना गर्दै उनी त्यसलाई अझ विस्तार गर्नुपर्ने ठान्दछन् । अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकको लक्ष्य प्राप्तिका निम्ति एडिबीको सहयोग अपरिहार्य हुने बताउछन्  “हाम्रा आन्तरिक कारणले केही परियोजनामा ढिलो भएपनि आत्मसमीक्षा गर्नुपर्छ”, एडिबी र मुलुकबीचको साझेदारी र सहकार्य बढाउनुपर्नेमा जोड दिँदै उनले जाेड दिए । पूर्वअर्थसचिव भानुप्रसाद आचार्य विकासका काममा आन्तरिक स्रोतको अभावले गर्दा एडिबीजस्ता बहुपक्षीय सङ्गठनहरुमा देशले सहायता माग्नु परेको बताउछन् । एडिबीसँगको सहकार्यले ग्रामीण पूर्वाधार विकास, सुशासन, प्रवद्र्धनलगायत कैयौँ योजनामा गरेको सहयोगले नेपालीलाई विकासप्रति सचेत गराउँदै गएको उनी बताउछन् । एडिबीजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुसँगको सहकार्यले गरिबी घटाउने लक्ष्यमा नेपाललाई सघाइरहेको उनको ठम्याइ छ । फिलिपिन्सको मनिलास्थित एडिबीको प्रधान कार्यालयमा निर्देशक रहिसक्नुभएका अर्थशास्त्री डा गोविन्दबहादुर थापा नेपालमा एडिबीको औचित्य र महत्व धेरै रहेको बताउछन् । दैवी विपत्तिदेखि भौतिक पूर्वाधार निर्माणजस्ता जुनसुकै क्षेत्रमा लगानी गर्दै आएको एडिबीले नेपालजस्ता स्रोतसाधनविहीन मुलुकलाई प्राविधिक सहयोग, अनुदान सहायता, सहुलियतपूर्ण ऋण उपलब्ध गराएर विकासको बाटोमा लम्किन प्रेरित गरेको उनको विश्लेषण छ । एडिबीबाट उपलब्ध स्रोत र साधनको समुचित उपयोग गर्न नसक्दा मुलुक अझै पछौटेपनको सिकार भएको उनलाई लाग्छ । जवाफदेहिता, पारदर्शिता र सुशासनजस्ता विकासका अपरिहार्य पूर्वसर्तको अभावमा एडिबीलाई नेपालमा काम गर्न कठिनाइ भएको उनको अनुभव छ । रासस

मर्जपछि एनसीसी बैंकका १७ जना संस्थापक सेयरधनी बाहिरिदै, ४ लाख ५१ हजार कित्ता संस्थापक सेयर लिलामीमा

काठमाडौं । चार वटा विकास बैंक मर्जपछि एनसीसी बैंकका १७ संस्थापकले बैंक छोड्ने निर्णय गरेका छन् । उनीहरुले आफूसँग भएको सेयर बिक्री गरी बैंकबाट बाहिरीने निर्णय गरेका हुन् । एनसीसी बैंकका अनुसार १७ जना संस्थापक सेयरधनीहरुले ४ लाख ५१ हजार ७५६ कित्ता बिक्री गर्ने प्रस्ताव सञ्चालक समितिलाई बुझाएका छन् । यसरी सेयर बेच्न चाहाने संस्थापक सेयरधनीमा विन्देश्वर श्रेष्ठ, गोविन्दप्रसाद चौलागाई, राधेश्याम सुवाल, खेमप्रसाद सुवेदी, अन्नपूर्ण बज्राचार्य, लक्ष्मीमान महर्जन, विष्णुप्रसाद गैरे, शालिकराम गिरी छन् । त्यस्तै सेयर बेच्ने प्रस्ताव गर्ने अन्य संस्थापकहरुमा रमेश भट्टराई, खड्गबहादुर खड्का, विना पराजुली, इश्वरप्रसाद ढकाल, चन्द्रकुमारी कार्की, रचित अग्रवाल, रिताराना मगर, रमेश ढंगोल, हरेराम श्रेष्ठ रहेको बैंकले जनाएको छ । यसरी सेयर बिक्री गर्न आएका संस्थापकको सेयर राष्ट्र बैंकले तोकेको नियमअनुसार पहिलो चरणमा संस्थापक समूहका अन्य व्यक्तिहरुलाई नै किन्न अवसर दिने र उनीहरुले पनि नकिनेमा सार्वजनिक रुपमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

शुल्क फिर्ता नगर्ने बोर्डिङलाई सामाजिक बहिष्कार गर्ने संयुक्त विद्यार्थी सङ्गठनको निर्णय

काठमाडौं । संयुक्त विद्यार्थी सङ्गठनले निजी शैक्षिक संस्थासँग मापदण्डभन्दा बढी लिइएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ । यहाँ विहीबार बसेको बैठकले निजी विद्यालय सञ्चालकले शुल्क फिर्ता नगर्दासम्म उनीहरुलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । बैठकले माग पूरा गर्न दबाब दिने उद्देश्यले र शिक्षा विभाग तथा देशभरका जिल्ला शिक्षा कार्यालयमा विरोध प्रदर्शन गर्ने, शुल्क लिने विद्यालय सञ्चालकलगायतलाई बहिष्कार गर्नेलगायत निर्णय पनि गरेको छ । केही विद्यालय सञ्चालकले सरकारले निर्दिष्ट गरेको मापदण्डभन्दा फरक तरिकाले नियमित विद्यार्थीलाई भर्ना, लेखन सामग्री, परीक्षा, खेलकुद, प्रयोगशाला तथा विविध शीर्षकमा बढी शुल्क लिएपछि विद्यार्थी सङ्गठनले विरोध गर्दै आएका छन् । संयुक्त विद्यार्थी सङ्गठनमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविसंलगायत आठ सङ्गठन आबद्ध छन् । रासस

एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनप्रति पुनःनिर्माण प्राधिकरणको आपत्ति

काठमाडौं । एम्नेस्टी इन्टरनेशनलले नेपालको पुनःनिर्माणका सम्बन्धमा प्रकाशित गरेको प्रतिवेदनप्रति राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ ।  ‘बिल्डिङ इक्वेलिटीः द फेलुअर अफ द नेपाली गभर्मेन्ट टु प्रोक्टेस द मार्जिनलाइज्ड इन पोष्ट अर्थक्वेक रिकन्स्ट्रक्सन एफोर्टस्’ शीर्षकमा एम्नेस्टीले निकालेको प्रतिवेदप्रति प्राधिकरणको ध्यानाकर्षण भएको प्रवक्ता यामलाल भुसालले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले भूकम्पबाट प्रभावितमध्ये जोखिममा परेका महिला, बालबालिका, विपन्न वर्गलाई उच्च प्राथमिकतामा राखेर पुनःनिर्माण र पुनःस्थापनाको काम गरिरहेको छ, पीडितको भावनाअनुरुप पुनःनिर्माण प्रक्रियाले गति लिन नसकेको दुःखद यथार्थलाई अस्वीकार गर्न सकिँदैन तर प्राधिकरणले भूकम्पका कारण जोखिममा परेका समुदायलाई जतिसक्दो छिटो पुनःस्थापना गर्न आवश्यक राहतको व्यवस्था मिलाउने गरी विभिन्न नीतिगत व्यवस्था गरेको जारी विज्ञप्तिमा उल्लेख छ । “सरकारले भूकम्प प्रभावित क्षेत्रका गरिब र विपन्नलाई लक्षित गरेर सामूहिक जमानीमा रु तीन लाख ऋण दिने नीतिगत व्यवस्था गरेको छ, त्यसको छिटो कार्यान्वयनका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर गृहकार्य गरिरहेको छ”– प्राधिकरणले भनेकाे छ । प्राधिकरण महिला, विपन्न तथा अपाङ्गता भएका व्यक्तिसहित सिमान्तकृत समुदाय प्राकृतिक प्रकोपका कारण उत्पन्न हुने विपत्तिबाट बढी प्रभावित हुने यथार्थप्रति चनाखो विज्ञप्तिमा जनाइएको छ । सिमान्तकृत तथा विपन्न समुदायलाई पुनःनिर्माणका क्रममा थप प्राथमिकता दिने गरी प्राधिकरणले अनुदान वितरणको कार्यविधिलाई सरलीकृत गर्न सुरु गरिसकेको छ । घर बनाउने रु तीन लाख अनुदानबाहेक प्राधिकरणले सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गामा बसेका तर उनको परिवारका नाममा जग्गा नभएका भूकम्पपीडितलाई घडेरी किन्न प्रतिपरिवार रु दुई लाख अनुदान उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिसकेको छ । प्राधिकरणअन्तर्गतको कार्यदलले जोखिमयुक्त भनी पहिचान गरेका बस्तीका सबै घरधुरीलाई पनि सुरक्षित स्थानमा घडेरी खरिद गर्न रु दुई लाख नै दिन प्रस्ताव गरेको छ । कार्यदलले हालसम्मको अध्ययनअनुसार करिब दुई हजार ७५० भन्दाबढी परिवारलाई सुरक्षित स्थलमा सार्न सिफारिस गरेको छ । आफ्नै जग्गा नभएका लाभग्राहीको सङ्ख्या करिब १० हजार रहेको प्राधिकरणले जनाएको छ । कमजोर समुदायका परिवारलाई रु तीन लाखका अतिरिक्त गैरसरकारी संस्थामार्फत् थप रु ५० हजार उपलब्ध गराउन सकिने नीतिगत व्यवस्था गरिएको छ । त्यस्ता विपन्न र अल्पसङ्ख्यक समुदायले कम लागतका आवास निर्माण गर्न चाहेमा पहिलो किस्ता सरकारबाट लिइसकेको भए पनि गैरसरकारी संस्थाबाट दोस्रो र तेस्रो किस्ता लिन सक्नेछन् । जीविकोपार्जनका तालिम तथा क्षमता अभिवृद्धि योजनामा महिला तथा कमजोर समुदायलाई प्राथमिकता दिइएको छ । डकर्मीको व्यावहारिक प्रशिक्षणमा बनाइने नमुना घर विपन्न वा कमजोर वर्गको हुनुपर्ने नीति लिइएको छ । स्थानीय तहका प्राकृतिक प्रकोप तथा राहतसम्बन्धी समितिमा एक महिला तथा दलित प्रतिनिधि अनिवार्य रुपमा समावेश गर्न पनि निर्देशन दिइएको प्रवक्ता भुसालले बताइन् ।

स्कोडा र्यापिड फाइनेन्सिङमा दुई विकल्प, ३० प्रतिशतमात्र डाउन पेमेन्ट गर्न सकिने सुविधा

काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले ग्राहकहरुको सजहतालाई ध्यानमा राखी फाइनेन्सिङका दुई वटा नयाँ विकल्प सार्वजनिक गरेको छ । ‘फाइनेन्स फ्रिडम’ नाम दिइएको यो नयाँ अफरमा ग्राहकले अब ३० प्रतिशत डाउन पेमेन्ट वा मासिक किस्ता रु २८ हजार एक सय सात र ८.९९ प्रतिशत ब्जायदरमा नयाँ स्कोडा र्यापिड खरिद गर्न सक्नेछन् । ‘यो अफर ल्याउनुको उद्देश्य स्कोडा खरिद गर्न चाहने हाम्रा ग्राहकहरुको सुविधा हो । हामी फाइनेन्सिङ जटिलताका कारण युरोपियन लक्जरी कारको अनुभव गर्नबाट कुनै पनि ग्राहक छुटोस् भन्ने चाहँदैनौं,’ स्कोडा एमएडब्लुका प्रमुख महाप्रबन्धक सुरज मानन्धरले भने, ‘अब ग्राहकले दुईमध्ये आफूलाई ठिक लाग्ने जुनसुकै विकल्पबाट स्कोडा ¥यापिडको अनुभव गर्न पाउनेछन् ।’ यसैबीच, स्कोडा एमएडब्लुले नेपालभरिका सोरुममा एक्सचेन्ज क्याम्प आयोजना गरिरहेको छ । २० बैशाखसम्म चल्ने एक्सचेन्ज क्याम्पमा पुराना कारको दुई लाख रुपैयाँसम्म ‘एक्स्ट्रा भ्यालुएसन’ हुनेछ । कम्पनीले स्कोडा ¥यापिडको खरिदमा ग्राहकलाई नगद छुटका साथै एक वर्षका लागि निशुल्क सवारी कर, र निशुल्क एसोसरिज प्रदान गर्दै आएको छ । स्कोडा एमएडब्लुले सन् २००८ देखि नेपालमा यो ब्रान्डको कारहरु विक्री गर्दै आएको छ । संसारकै सबैभन्दा पुरानो कार कम्पनीमध्ये पर्ने स्कोडा अटोको मुख्यालय चेक गणतन्त्रको म्लाहा बोलेस्लाब्मा छ । नेपालमा स्कोडाको मुख्य सोरुम थापाथलीमा छन् भने पोखरा, बुटवल, विराटनगर र नारायणघाट पनि सेल्स एन्ड सर्भिस आउटलेट छन् ।

सरकारको ढुकुटीमा २३३ अर्ब थुप्रियो, तर गभर्नर भन्छन्– ‘२०७३/७४ नेपाली अर्थतन्त्रका लागि पुनरुत्थानको वर्ष’

काठमाडौं । सरकारले खर्च गर्न नसक्दा ढुकुटीमा २३३ अर्ब रुपैयाँ जम्मा भएको छ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालका अनुसार राष्ट्र बैंकमा २०७४ वैशाख ८ मा नेपाल सरकारको खातामा रु. २३३ अर्ब ५९ करोड नगद मौज्दात रहेको छ । सरकारको राजस्व परिचालन ४१.८ प्रतिशतले वृद्धि भई रु ४२६ अर्व ५२ करोड पुगेको छ । कुल सरकारी खर्च ४५.५ प्रतिशतले वृद्धि भएको छ । यसमध्ये चालू खर्च ४५.७ प्रतिशतले र पूँजीगत खर्च १२२.० प्रतिशतले वृद्धि भएकोछ । अहिलेसम्म पूँजीगत खर्च बजेट अनुमानको २५.४ प्रतिशत रहेको छ । ५० वर्षदेखि नोटको डिजाइन समितिमा काम गर्दै आएका संस्कृतिविद्ध् सत्यमोहन जोशीलाई सम्मान गर्दै गर्भनर नेपाल सरकारी खर्च निराशाजनक भएपनि आर्थिक वर्ष २०७३÷७४ नेपाली अर्थतन्त्रका लागि पुनरुत्थानको वर्षको रुपमा रहेको उनले बताए । ‘अर्थतन्त्रका समष्टिगत परिसूचकहरु सकारात्मक रहेका छन् । कृषि उत्पादनमा वृद्धि भएको छ भने उर्जा आपूर्तिमा सुधार आएको छ ।आन्तरिक एवम् वाह्य लगानीको वातावरणमा भएको सुधार, वित्तीय क्षेत्रमा कायम रहेको स्थायित्व, न्यून मुद्रास्फीति, पर्याप्त विदेशी विनिमय संचिति तथा उच्च आर्थिक वृद्धि हासिल हुने अवस्थाको पृष्ठभूमिमा आर्थिक विकासको गतिलाई दु्रततर ढंगले अगाडि बढाउने अवसर प्राप्त भएको छ’ ६२ औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–हालै केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७३÷७४ मा आधारभूत मूल्यमा ६.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको छ । यसवाट संरचनागत सुधार र लगानीमैंत्री वातावरण वनाउन सके नेपालमा उच्च र दीगो आर्थिक वृद्धिको सम्भावना उजागर भएको छ ।’ बैंकिङ्ग क्षेत्रमा वढेको वित्तीय घर्षणले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह अवरुद्ध नहोस् भन्नेमा राष्ट्र बैंक सचेत रहेको बताए । ‘उत्पादनशील क्षेत्र लगायत विपन्न वर्गमा प्रवाह हुने कर्जाको ५० प्रतिशतसम्मको रकमलाई २०७४ असार मसान्तसम्म विद्यमान ८० प्रतिशतको कर्जा–निक्षेप (प्राथमिक पूँजी सहित) अनुपात गणना गर्दा घटाउन पाउने व्यवस्था गरिएको छ’ उनले भने–‘उत्पादनशील क्षेत्रतर्पm वित्तीय साधनको उपलव्धताको लागि शेयर मार्जिन र घर जग्गा कर्जामा केही कडाई गरिएको छ भने बैंक तथा वित्तीय संस्थाहरुले ओभर ड्राफ लगायतका रिभोल्भिङ प्रकृतिका व्यक्तिगत कर्जाहरु प्रवाह गर्ने रु. १ करोडको सीमालाई २०७४ असार मसान्तभित्रमा रु. ७५ लाखसम्म ल्याउनु पर्ने व्यवस्था गरिएको छ ।’ २०७३ फागुन मसान्तमा कुल वस्तु निर्यात १२.८ प्रतिशत र कुल वस्तु आयात ४४.२ प्रतिशतले बढेको छ । चालू खाता रु. ६ अर्ब ३१ करोडले घाटामा रहेको छ भने शोधनान्तर रु. ५० अर्ब ६ करोडले बचतमा रहेको उनले बताए । २०७३ फागुन मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु. १०७४ अर्ब २७ करोड पुगेको छ । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । अन्तरव्याजदर बढी गर्भनर नेपालले कर्जा र निक्षेपको व्याजदर अन्तर अझै सीमा भन्दा बढी रहेको बताए । २०७३ फागुनमा वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५.६ प्रतिशत रहेको छ भने औसत आधार दर ८.३० प्रतिशत रहेको उनले बताए । भुकम्प पीडितलाई ६१ करोड कर्जा चालू आर्थिक वर्षको आठ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुलाई साधारण पुनरकर्जा रु. ९ अर्ब ३९ करोड तथा निर्यात पुनरकर्जा रु. १ अर्ब ७५ करोड प्रदान गरिएको छ । भूकम्प पीडितलाई २ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था अन्तर्गत हालसम्म आवासीय घर पुनर्निर्माणका लागि रु. ६१ करोड २३ लाख २५ हजार पुनरकर्जा प्रदान गरिएको छ । “युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि २०७१” बमोजिम २०७३ पुस मसान्तसम्म रु. ५ अर्ब ९४ करोड कर्जा लगानीमा रहेको छ । यस अन्तर्गत रु. १३ करोड ९२ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।