विकासन्युज

छतको यात्रा जिवन खतरा (फोटो फिचरसहित)…………

काठमाडौं, २८ असोज । भारतले अघोषित नाका बन्दीगरेपछि राजधानीसहित देशभरको जिवन कष्टकर बनिरहेको छ । चुलोमा ग्यास बल्न छाडेको छ भने अन्य अत्यावश्यक वस्तुहरुको पनि अभाव हुन थालिसकेको छ । इन्धनको अभावमा सडकमा सवारी साधनको संख्या ह्वात्तै घटेको मात्रै छैन क्रमशः नगन्य बन्दै गएको छ । दशैंमा गाउँ जान गाडी नपाउने र राजधानीमै बस्दा खाना खान नपाउने दर्दनाक अवस्थमा सर्वसाधारणको दैनिकी पुगिसकेको छ ।राजधानीका लोकल रुटहरुमै पनि सार्वजनिक सवारी साधन नगन्य मात्रामा मात्रै सञ्चालनमा छन् । निजी सवारी साधनले इन्धन पाउन छाडेको त झन हप्तौं भैसक्यो । मंगलबार निजी सवारी साधनलाई इन्धन दिने भनेर आव्हान गरिएपनि ६० प्रतिशत भन्दा बढिले इन्धन पाएनन् । छतको यात्रा जिवन खतरा भन्ने ट्राफिक प्रहरीकै अगाडीबाट छतभरी यात्रु राखेर गाडी गुडाउनु पर्ने अवस्था आएको छ । सर्वसाधारणले छतमै बसेर यात्रा गर्छु भन्दा पनि सम्भव नहुने अवस्था बनिसकेको छ । नेपाल आयल निगमले ग्लोबल टेण्डर मार्फत इन्धन ल्याउने भनेपनि भारतले नाका बन्दी खुलाउँछ की भनेर पर्खिरहेको छ । दरखास्त बुझेको एक हप्ता हुँदा समेत निगमले अझै कुन कम्पनीलाई इन्धन आपुर्तिको जिम्मा दिने भन्ने टुंगो लगाएका छैन् । निगमका निर्देशक सुशिल भट्टराईले एक दुई दिन भित्रै इन्धन ल्याउने कम्पनीको छिनोफानो गर्ने बताएका छन् । तर लगनपछिको पोते भने झै दसैंले छोपीसकेपछि वा भारतले इन्धन दिन थालिसकेपछि दिईने अनुमतिले कुनै अर्थ राख्दैन् ।

बिहिबार साढे दुई लाख लिटर डिजेल र ३३ हजार लिटर पेट्रोल बाँढिदै

काठमाडौं, २८ असोज । नेपाल आयल निगमले बिहिबार थानकोट डिपोबाट दुई लाख ६७ हजार चार सय लिटर डिजेल र ३३ हजार लिटर पेट्रोल वितरण गरिरहेको छ । निगमले थानकोट ठिपोबाट ६० वटा पम्पलाई डिजेल र ८ वटा पम्पलाई पेट्रोल उपलब्ध गराएको हो । निगमले डिजेल क्रमशः तीन हजार लिटर, चार हजार लिटर, ६ हजार, नौ हजार देखि १२ हजार लिटर र २० हजार लिटरका दरले पम्पहरुलाई उपलब्ध गराएको छ । १४ पम्पले ती हजार लिटर, २९ वटाले चार हजार, १३ वटाले ६ हजार र एउटा पम्पले ९ हजार तथा अर्काेले १२ हजार र अर्काे एउटाले २० हजार लिटर डिजेल पाएका छन् । निगमले ८ वटा पम्पलाई तीन हजार, चार हजार र ६ हजारका दरले पेट्रोल उपलब्ध गराएको हो । निगमको थानकोट डिपोले बागमति अञ्चलभर इन्धन वितरण गर्दै आएको छ ।

दशै अगाडि ३ बुलेट ग्यास काठमाडौं भित्र्याउने निगमको प्रयास, पाइएला त ग्यास ?

काठमाडौं, २८ असोज । तपाइको भान्सामा ग्यास बाँकी छ ? छ भने दशैमा खाना पकाएर खान सक्नु होला, छैन भने विकल्प खोज्नुस् । दशै अगाडि ग्यास पाइने सम्भावना छैन । कुनै कम्पनीको केहि मात्रामा पाइयो भने पनि सामान्य उपभोक्ताले पाउने सम्भावन निकै कम छ । तराइ–मधेशमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीको कारण ग्यासको हाहाकार भएको हो । केहि मात्रामा अन्य डिजेल र पेट्रोल काठमाडौं भित्रने गरेको भएपनि ग्यास भने आउनै छोडेको नेपाल आयाल निगमको भनाइ छ । पछिल्लो समयमा नेपालगन्ज, धनगढी र विराटनगर नाकावाट केहि मात्रामा ग्यास नेपाल भित्रिएको छ । तर ती नाकाहरुवाट आएको ग्यास सोही क्षेत्रका उपभोक्ताको लागि भएकोले काठमाडौका उपभोक्तालाई ग्यास दिन नसकिएको निगमका ग्यास हेर्ने निमित्त निर्देशक मुकुन्द घिमिरेले भने । ‘बीरगन्ज नाका खुल्ला नभएसम्म काठमाडौंका उपभोक्ताले ग्यास पाउने सम्भावना एकदमै कम छ, आज (विहिवार) म इन्डियन आयाल कर्पोरेसन (आइओसी) सँग यही विषयमा कुरा गर्न भारत जादैछु, कुनै चमत्कार भएर पाइयो भने छुट्टै कुरा हो, नत्र दशै अगाडि ग्यास दिन सक्ने अवस्थामा हामी छैनौं,’ विहिवार विहान घिमिरेले भने । निगमले बीरगन्ज वाहेकका क्षेत्रवाट भित्रिएको केहि बुलेट ग्यास काठमाडौं ल्याएर वितरण गर्ने योजना बनाएको छ । ग्यासको अभावमा सर्वसाधारण भोकभोकै पर्न थालेपछि नेपालगन्ज, धनगढी, विराटनगर जस्ता नाकाहरुवाट आएको २ देखि ३ बुलेट ग्यास काठमाडौं ल्याउने र काठमाडौंका उपभोक्तालाई वितरण गर्ने योजना निगमको छ । ‘बीरगन्ज वाहेकका नाकाहरुवाट आउने ग्यास सोही क्षेत्रका उपभोक्ताको लागि हो, अन्य क्षेत्रवाट भित्रिएको ३ बुलेटसम्म ग्यास काठमाडौं ल्याउन सकिन्छ कि भनेर प्रयत्न गरिरहेका छौं, तर पनि सम्भावना निकै कम छ,’ निगमका अर्का एक अधिकारीले भने । निगमले केहि दिन पहिला सुगम ग्यासको ३ हजार सिलिन्डर काठमाडौंमा वितरण गरेको थियो । सो ग्यास पनि विराटनगरको प्रिमा ग्यासलाई सुगमका सिलिन्डरमा भरेर वितरण गरिएको निगम स्रोतको भनाइ छ । निगमको अहिलेको प्रयत्न अनुसार ३ बुलेट ग्यास दशै अगाडि काठमाडौं भित्रिएमा सर्वसाधारणले केहि राहतको महसुस गर्न पाउने निगमको भनाइ छ । निगमले करिब एक महिनादेखि ग्यास विक्री वितरण बन्द गरेको छ ।

तेल भर्न भारतीय डिपो पुगेका ट्यांकर रित्तै, आईओसीद्धारा तेल कटौती

काठमाडौं, २७ असोज । तेल भर्न भारतीय डिपो पुगेका ट्यांकरहरुलाई यथेष्ठ मात्रामा तेल दिन आईओसीले पुन अस्विकार गरेको छ । पर्याप्त तेल दिने आश्वासन पाएपछि भारतीय डिपोमा पुगेका १५० भन्दा धेरै ट्यांकर बुधबार डिपो छेउछाउ रित्तै बसिरहेका छन् । नेपाल आयल निगमका निर्देशक सुशिल भट्राईका अनुसार आईओसीको आश्वासनपछि बुधबार १५० ट्यांकर तेल भर्न भारतीय डिपोहरुमा पुगेका थिए । तर आईओसीले तीमध्ये १५ प्रतिशतलाई मात्रै तेल दिएको छ । आईओसीले मंगलबार ६० प्रतिशत ट्यांकरमा इन्धन भरिदिएको थियो । सोमबार केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै इन्धनको मात्रा बढाउने संकेत गरेको आईओसीले मंगलबार केहि मात्रा वृद्धि पनि गरेको थियो । तर बुधबार पुनः पुरानै रवैया देखाउँदै १५ प्रतिशत ट्यांकरमा मात्रै इन्धन भरिदिएको निगम निर्देशक भट्टराईले बताए । बुधबार पनि १५० ट्यांकर इन्धन भर्न बरौनी, बेतालपुर, सिलिगुढी लगायतका आईओसी इन्धन डिपोमा पुगेका थिए । ग्लोबल टेण्डरका छिनोफानो एकदुई दिनमै यसैबिच निगमले पेट्रोलिमय पदार्थ आयातका लागि आव्हान गरेको ग्लोबल टेण्डरको छिनोफानो एकदुई दिन भित्रै गर्ने तयारी थालेको छ । निगमले यस अघि नै हवाई इन्धन ल्याउने जिम्मा नेपाल एयरलाईन्सलाई दिईसकेको छ । ‘हामी प्रस्तावहरुको अध्ययन गरिरहेका छौं, केहिको प्रस्ताव अझै स्पष्ट छैन, उनीहरुलाई सच्याउन भनिरहेका छौं, केहि दिनभित्रै सबै टुंगो लाग्छ’ भट्टराईले भने ।

बीमा समितिमा फेरि पस्यो अख्तियार

काठमाडौं, २७ असोज । बीमा समितिमा पुन अख्तियार छिरेको छ । समिति उच्च ब्यवस्थापनले विगतमा गरेका तीन विषयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारको अनुसन्धान टोलीले समितिका अध्यक्षसहित उच्च ब्यवस्थापनसँग गत साता बयान लिएको छ । समितिका पूर्व कार्यकारी निर्देशक विनोद अर्याललाई पदवाट हटाएको, अर्याल नै संचालक रहेको कम्पनीलाई शंकास्पद बीमा दाबी भुक्तानी दिइएको र समितिका विभिन्न कोषमा रहेको रकम कम ब्याज आउने कल एकाउन्टमा राखी समितिलाई हानी नोक्सानी पु¥याएको विषयमा अनुसन्धान थालिएको हो । ‘समितिका पूर्वकार्यकारी निर्देशकलाई गैरकानुनी रुपमा पदवाट हटाएको, अर्याल नै संचालक रहेको कम्पनीलाई गैरकानुनी रुपमा शंकास्पद तरिकाले बीमा दाबी भुक्तानी गरिएको र समितिको पैसा कम ब्याज आउने कल एकाउन्टमा राखी हानी नोक्सानी पु¥याएको विषयमा अनुसन्धान थालिएको हो, समितिका उच्च ब्यवस्थापन र सरोकारवाला ब्यक्तिहरुसँग गत साता बयान लिइएको छ,’ अख्तियार स्रोतले भन्यो । अख्तियारको अनुसन्धान टोलीले समितिका पूर्वअधिकारी शेखर अर्यालसँग पनि बयान लिइसकेको छ । उनी अर्यालकै कार्यकालमा समितिवाट वाहिरिहेका थिए । अख्तियारले सो विषयमा यसअघि पनि अनुसन्धान गर्दै फाइल थन्क्याउदै गरेको थियो । यसपटक भने अन्तिम टुंगो लगाउने गरी अनुसन्धान थालिएको अख्तियार स्रोतको भनाइ छ ।

अर्थमन्त्रीमा पौडेललाई रोक्न बामदेव र शंकर सक्रिय, ओली भने बनाउने पक्षमा

काठमाडौं, २७ असोज । एमाले उप महासचिव बिष्णु पौडेललाई अर्थमन्त्री बन्नबाट रोक्न बामदेव गौतम र शंकर पोखरेलहरुले कडा संघर्ष गरिरहेको तथ्य खुलेको छ । गौतम र पोखरेलकै सक्रियतामा सोमबार प्रधानमन्त्री केपी ओलीको अथक प्रयासका बाबजुद पौडेलले अर्थमन्त्रीको सपथ खान पाएनन् । आफुलाई पार्टी महाधिवेशनमा उप महासचिवमा हराउन मुख्य भूमिका खेलेको भन्दै शंकर पोखरेलले पौडलको बिरोध गरेको एमाले श्रोतले बतायो । श्रोतका अनुसार राधा ज्ञवालीलाई उर्जा मन्त्री बनाउन सिफारिस गरेका पौडेल र बामदेव गौतमबिच उर्जा मन्त्रालयकै कामकाजका शिलशिलामा मनमुटाब बडेको थियो । पौडेल र गौतमले एक अर्काका कारण उर्जा मन्त्री ज्ञवाली भ्रष्टाचार काण्डमा मुछिएको आरोप लगाउँदै आएको बताईन्छ । मन्त्री छान्ने बिषयमा ओलीसँग बसेको गुटको बैठकमा गौतमले पौडेलको खुलेर बिरोध गरेका थिए भने पोखरेलले पनि पौडेललाई पठाउन नहुने धारणा राखेका थिए । प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त हुने तयारीमा रहेका पोखरेलले पौडेललाई अर्थ मन्त्री बनाउँदा सरकार नैतिक संकटमा फस्ने टिप्पणी गरेको श्रोतले बतायो । पौडेलको औपचारिक अध्ययनको बिषयलाई लिएर ओली समुहमा उनीमाथी औलाँ ठड्याइएको छ । यद्यपी केपी ओली भने पौडेललाई कुनै हालतमा अर्थ मन्त्री बनाउने पक्षमा लागिपरेको श्रोतले बतायो । बरिष्ठ नेता माधव नेपाल समेत पौडेललाई अर्थ मन्त्री बनाउने कुराको बिरोध नगरेको श्रोतले बतायो । मंगलबार साँझ बसेको एमाले शिर्ष नेताहरुको अनौपचारिक बैठकले बरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष विद्या भण्डारीलाई मन्त्री छान्ने जिम्मा दिएको श्रोतले बतायो ।

झलनाथ, विद्या,  नेम्बाङ  र लालबाबु राष्ट्रपतिको दौडमा

काठमाडौं, २७ असोज । एमालेले राष्ट्रपति र एकिकृत माओवादीले सभामुख लिने सहमति भएसँगै एमालेमा राष्ट्रपतिको बहसले तिब्रता पाएको छ । मुलतः एमालेमा राष्ट्रपति बनाउने बिषयमा चार नेताको नाम अघि सारिएको छ । पुर्व प्रधानमन्त्री झलनाथ खनाल राष्ट्रपतिका स्वभाविक र पुराना दावेदार हुन् । उनलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नवौं महाधिवेशन अघि नै राष्ट्रपति बनाउने आश्वासन दिएको एमाले वृतमा चर्चा छ । राष्ट्रपति बन्न पाउने आशमै खनालले महाधिवेशनमा गोप्यरुपमा ओलीलाई सघाएका थिए । एमालेभित्र राष्ट्रपतिको अर्का दावेदार हुन निवर्तमान सभामुख सुभाषचन्द्र नेम्बाङ । नेम्बाङलाई राष्ट्रपति बनाउन केपी ओली पनि सकारात्मक नै छन् । तर नेम्बाङ क्रिस्चियन धर्मावलम्बी भएकाले राष्ट्रपति बनाउन केहि अप्ठेरो रहेको एमाले श्रोतले बतायो । पार्टी उपाध्यक्ष तथा मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति पदकी अर्की प्रतिष्पर्धी हुन् । प्रधानमन्त्री केपी ओली समेत उनलाई राष्ट्रपति बनाउने भित्रि खेलमा सामेल छन् । बरिष्ठ महिला नेतृ तथा मदन भण्डारी पत्नी भएकाले पनि उनलाई राष्ट्रपति बनाउन ओली र उनी निकटकाहरु दिलोज्यन दिएर लागिपरेका छन् । त्यसो त मुलुकको पहिलो महिला राष्ट्रपति बनाएर इतिहास लेख्ने अभियानमा समेत उनीहरु लागिपरेका छन् । राष्ट्रपतिको रेसमा सामेल भएका अर्का उम्मेदवार हुन निवर्तमान सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डित । डिभि, पिआर र ग्रीन कार्डधारी कर्मचारीलाई कारवाहीको बाटोमा ल्याएर वाहवाही कमाएका पण्डित मधेशी मुलका समेत हुन् । मधेशी जनताको सेन्टीमेन्ट र राष्ट्रवादी सोँचको जगमा पण्डितलाई राष्ट्रपति बनाउन माधव नेपाल समुह लागिपरेको छ ।

राजधानीमा पेट्रोल सकस (फोटो फिचरसहित)

काठमाडौं, २६ असोज । भारतले अघोषित नाका बन्दी लगाएसँगै निजी सवारी साधनलाई पेट्रोलिम पदार्थ वितरणमा रोक लागेको थियो तर मंगलबार दशैंमा घर जान भन्दै निगमले निजी सवारी साधनलाई पनि पेट्रोल उपलब्ध गराउने निर्णय गर्यो । निगमले मंगलबार पेट्रोलियम पदार्थ वितरण गर्ने सूचना आइतबार नै बजारभरी फैलीसकेको थियो । सोमबार सार्वजनिक सूचना प्रकाशित गरेर मंगलबार सर्व साधारणलाई इन्धन दिने घोषणा गरेपछि सोमबारदेखि नै राजधानीका इन्धन पम्पहरुमा सर्वसाधारणहरुले आफ्ना सवारी साधन लाईन लगाईसकेका थिए । रत्नपार्क पुल छेउमै रहेको चुनीलाल आयल स्टोर्समा सोमबार दिउँसो तीन बजे नै आफ्नो कारलाई लाईनमा राखेको बताउँदै थिए बागबजारकै स्थानिय हरि महर्जन । ‘आज तेल दिन्छ भन्ने सूचना पक्का हुने वित्तिकै कारलाई यहाँ ल्याएर राखेका हुँ, त्यतिबेला त्यस्तै तीन बजेको थियो होला’ उनले भने । निगमले मंगबालर थानकोट डिपोबाट सर्वसाधारणलाइ दशैंमा घर पठाउन भन्दै ६ लाख लिटर पेट्रोल वितरण गरिरहेको छ । निगमले मंगलबार निजी मोटर साईकललाई पाँच लिटर र कारलाई १० लिटर पेट्रोल वितरण गरिरहेको छ । पेट्रोल भर्न सर्वसाधारण मध्यरातदेखि लाईनमा बसिरहेका छन् । राजधानीमा दैनिक ६० लाख लिटर पेट्रोल खपत हुने भएपछि निगमले दशैंका लागि भन्दै जम्मा ६ लाख लिटर पेट्रोल वितरण गरिरहेको हो ।