काठमाडौं । चार वटा विकास बैंक मर्जपछि एनसीसी बैंकका १७ संस्थापकले बैंक छोड्ने निर्णय गरेका छन् । उनीहरुले आफूसँग भएको सेयर बिक्री गरी बैंकबाट बाहिरीने निर्णय गरेका हुन् ।
एनसीसी बैंकका अनुसार १७ जना संस्थापक सेयरधनीहरुले ४ लाख ५१ हजार ७५६ कित्ता बिक्री गर्ने प्रस्ताव सञ्चालक समितिलाई बुझाएका छन् । यसरी सेयर बेच्न चाहाने संस्थापक सेयरधनीमा विन्देश्वर श्रेष्ठ, गोविन्दप्रसाद चौलागाई, राधेश्याम सुवाल, खेमप्रसाद सुवेदी, अन्नपूर्ण बज्राचार्य, लक्ष्मीमान महर्जन, विष्णुप्रसाद गैरे, शालिकराम गिरी छन् । त्यस्तै सेयर बेच्ने प्रस्ताव गर्ने अन्य संस्थापकहरुमा रमेश भट्टराई, खड्गबहादुर खड्का, विना पराजुली, इश्वरप्रसाद ढकाल, चन्द्रकुमारी कार्की, रचित अग्रवाल, रिताराना मगर, रमेश ढंगोल, हरेराम श्रेष्ठ रहेको बैंकले जनाएको छ ।
यसरी सेयर बिक्री गर्न आएका संस्थापकको सेयर राष्ट्र बैंकले तोकेको नियमअनुसार पहिलो चरणमा संस्थापक समूहका अन्य व्यक्तिहरुलाई नै किन्न अवसर दिने र उनीहरुले पनि नकिनेमा सार्वजनिक रुपमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।