विकासन्युज

संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थ–राजनीतिमा देखिएको संस्थागत तथा नीतिगत कब्जाको अध्याय अन्त्यतर्फ पुगेको दाबी गरेका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब सुशासन, स्वस्थ प्रतिष्पर्धा र डिजिटलीकरणमार्फत सेवा प्रवाहमा व्यापक सुधार गरिने बताए ।  मन्त्री वाग्लेले विगतमा केही सिमित व्यक्ति वा समूहको प्रभावमा रहेका राजनीतिक, प्रशासनिक र नियामक संरचनाहरूको नियन्त्रण तोड्न सरकारले महत्वपूर्ण सफलता हासिल गरेको बताए । उनले राज्यले बलियो नियामक र अवसर सिर्जना गर्ने भूमिकामा रहने बताए ।  निजी क्षेत्रले उत्पादन, लगानी, रोजगारी सिर्जना र कर तिरेर अर्थतन्त्रलाई गतिशील बनाउने बताउँदै उनले सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप सुदृढ बनाउँदै आर्थिक सुधारलाई निरन्तरता दिइने समेत बताए । मन्त्री वाग्लेले सुशासनको माइक्रो तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटलीकरणलाई प्राथमिकता दिइएको बताए । उनकाअनुसार नागरिक एपमार्फत सयौँ सरकारी सेवा उपलब्ध गराउने, कम्पनी दर्तालगायतका प्रक्रियालाई सरल र छरितो बनाउने तथा प्रशासनिक झन्झट कम गर्ने दिशामा काम भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा डिजिटल शासनको एजेण्डा अघि बढाइएको छ र नागरिकलाई सहज सेवा उपलब्ध गराउने लक्ष्यसहित विभिन्न सुधार कार्यक्रम कार्यान्वयन भइरहेका छन् । अर्थमन्त्री वाग्लेले पूर्वाधार विकासका आयोजना कार्यान्वयनमा देखिने टेन्डर प्रक्रिया, सार्वजनिक खरिद, जग्गा प्राप्ति र मुआब्जासम्बन्धी समस्याको स्थायी समाधानका लागि कानुनी तथा नीतिगत सुधार शुरु गरिएको बताए । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक रकमान्तर तथा प्रशासनिक लचकताको व्यवस्था पनि गरिएको उनको भनाइ थियो । मन्त्री वाग्ले भने, ‘म्याक्रो तहमा हेर्दा संस्थागत तथा नीतिगत कब्जाको दुःखद् अध्याय अब अन्त्यतर्फ पुगेको छ । राजनीतिक संयन्त्र, आर्थिक–प्रशासनिक क्षेत्र तथा नियामक निकायहरूमा सीमित व्यक्ति वा समूहले कायम गरेको नियन्त्रणलाई हामीले तोड्न सफल भएका छौँ । बजेटमार्फत पनि मैले यसलाई ‘अप्रतिगम्य’  परिवर्तनका रूपमा अगाडि बढाउन सकिने आधार तयार भएको उल्लेख गरेको छु ।' सरकारले छोटो अवधिमै ठूलो संख्यामा कानून संशोधन तथा खारेजीका काम अघि बढाएको उल्लेख गर्दै उनले सुधारको गति आगामी दिनमा पनि निरन्तर रहने उनले बताए । सरकार एक्लैले मात्र विकास र सुधारका लक्ष्य हासिल गर्न नसक्ने भन्दै निजी क्षेत्र, सञ्चारमाध्यम र आम नागरिकको विश्वास, सहकार्य तथा साझेदारी आवश्यक रहेको उनले बताए ।    

रास्वपाको देशव्यापी जिल्ला अधिवेशन सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनात्मक नीति अनुसार देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। केन्द्रीय समितिको निर्णयअनुसार जेठ २३ र २४ गते दुई चरणमा जिल्ला अधिवेशन सञ्चालन भइरहेका छन् । आज जेठ २३ गते देशभरका ३७ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ । कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरीमा अधिवेशन भइरहेको छ भने मधेशका महोत्तरी र रौतहटमा पनि कार्यक्रम सम्पन्न हुँदैछ । बागमती प्रदेशका दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली, गण्डकीका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दीमा समेत अधिवेशन जारी छ । लुम्बिनीका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णालीका कालिकोट र सल्यान तथा सुदूरपश्चिमका बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन सम्पन्न हुँदैछ । भोलि जेठ २४ गते थप २९ जिल्लामा अधिवेशन हुने तालिका रहेको छ । कोशीका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेशका सिराहा, धनुषा, पर्सा र सर्लाही, बागमतीका चितवन र ललितपुरमा अधिवेशन हुनेछ । त्यसैगरी गण्डकीका तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनीका अर्घाखाँची, रुपन्देही र प्युठान, कर्णालीका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिमका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा पनि अधिवेशन तय गरिएको छ । विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि सारिएको छ । निर्धारित तालिकाअनुसार रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ । यससँगै पार्टीको मुख्य संगठन संरचना अधिकांश जिल्लामा स्थापित हुने बताइएको छ । बाँकी १० जिल्लामा महाधिवेशनपछि क्रमशः अधिवेशन गरिनेछ। साथै जेठ २६ गतेदेखि सातै प्रदेशको अधिवेशन सुरु गर्ने तयारी गरिएको छ, जसअन्तर्गत पहिलो प्रदेश अधिवेशन बागमती प्रदेशबाट सुरु हुने जनाइएको छ ।   

प्रतिज्ञा रेग्मीको बिषेशले गर्यो साढे ६ अर्ब आम्दानी, बैंकमा ऋण १.४ अर्ब

काठमाडौं । बिषेश एण्ड कम्पनीले ९ महिनामा साढे ६ अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ६ अर्ब ४३ करोड ४० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । उक्त आम्दानी अघिल्लो वर्षको तुलनामा ३१.१७ प्रतिशत अर्थात् २ अर्ब ३ करोड २० लाख रुपैयाँ बढी हो । आव २०८०/८१ मा कम्पनीले ६ अर्ब ५१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । यो वृद्धि शाखा विस्तार तथा नजिकका क्षेत्रहरूमा बजार पहुँच विस्तारका कारण सम्भव भएको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार आव २०७९/८० मा ६ अर्ब २२ करोड ३० लाख रुपैयाँ र आव २०७८/७९ मा ६ अर्ब ९४ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । साथै आव २०७७/७८ मा कम्पनीले ४ अर्ब ८१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । नेपालमा निर्माण सामग्रीको आयात तथा वितरण क्षेत्रमा सक्रिय बिषेश एण्ड कम्पनीको स्थापना २० अगस्ट २०१८ भएको हो । यसको प्रधान कार्यालय भरतपुर-१०, चितवनमा रहेको छ । कम्पनीले सिमेन्ट, टिएमटी डण्डी, जस्तापाता (शीट), पाइप, ग्रिल सामग्री, बिटुमिन लगायतका विभिन्न निर्माण सामग्रीहरूको आपूर्ति तथा वितरण गर्दै आएको छ । कम्पनीले नेपालका प्रमुख शहर काठमाडौं, पोखरा, नारायणगढ, इटहरी, हेटौंडा, बुटवल लगायत स्थानहरूमा १८ वटा आधिकारिक शाखा तथा १४ वटा वितरण आउटलेटमार्फत कारोबार विस्तार गरेको छ । कम्पनीको चुक्ता पुँजी १६ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीमा प्रतिज्ञा रेग्मीको सतप्रतिशत सेयर स्वामित्वमा रहेको छ । प्रबन्ध निर्देशक रेग्मीसँग निर्माण सामग्री आपूर्ति क्षेत्रमा एक दशकभन्दा बढी अनुभव छ । उनले सन् २००८ देखि बिषेश इन्टरप्राइजेज सञ्चालन गर्दै आइरहेकी छन् । कम्पनीलाई परिवारका सदस्य उत्सव श्रेष्ठले सहयोग गर्दै आएका छन् । उच्च सञ्चालन आय भए पनि कम्पनीको नाफा मार्जिन अत्यन्त न्यून रहेको छ । कच्चा पदार्थको मूल्य, विशेषगरी स्टिलको मूल्य वृद्धि लगायतका कारण नाफा मार्जिनमा दबाब परेको देखिएको छ । न्यून नाफा संरचनाका कारण लागत वा आम्दानीमा सानो परिवर्तन भए पनि कम्पनीको नाफामा ठूलो असर पर्न सक्ने जोखिम रहेको कम्पनीले जनाएको छ ।  निर्माण सामग्री आपूर्ति क्षेत्र अत्यन्त चक्रीय प्रकृतिको भएकाले माग र नगद प्रवाहमा निरन्तर उतारचढाव रहने सम्भावना उच्च रहेको छ । यसले कम्पनीको आम्दानी र नाफा दुवैमा असर पार्न सक्छ । साथै अत्यन्त प्रतिस्पर्धात्मक तथा विखण्डित रहेको यो क्षेत्रमा धेरै संगठित तथा असंगठित खेलाडीहरू सक्रिय छन् । कम प्रवेश अवरोध, न्यून प्रविधि आवश्यकताका कारण प्रतिस्पर्धा अझ तीव्र रहेको कम्पनीले जनाएको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ ऋण लिएको छ । जसमा ८ करोड ७५ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ३३ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । 

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५११ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख ८४ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।      काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६७ जनालाई कारबाही गरिएको हो ।      यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४२, निषेधित क्षेत्रमा हर्न बजाउने १६५, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२५ जनालाई कारबाही गरिएको हो ।    

देशभर मौसम बदली, कतै वर्षा त कतै तातो लहर

काठमाडौं । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुनुका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । यसैगरी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर (हिट वेभ) चल्ने सम्भावना छ । आज राति कोशी प्रदेशसहित देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बदली रहने तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहनेछ भने अन्य तराई भेगमा आंशिक बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तातो लहरको प्रभावबाट बच्न मौसमविद्हरूले दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएका छन् । तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमविद्हरूको सुझाव पालना गर्न महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।

अदालत प्रवेशमा कडाइ, भीड नियन्त्रण गर्न ९ बुँदे निर्देशन जारी

काठमाडौं । जिल्ला अदालत बाँकेले अदालत परिसरमा हुने अनावश्यक भीडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई थप चुस्त, मर्यादित एवं सुरक्षित बनाउन नयाँ नियम लागू गरेको छ । अदालत प्रशासनले सूचना जारी गर्दै आगामी जेठ २५ गतेदेखि अदालत प्रवेश गर्ने सबै सरोकारवालाका लागि विभिन्न ९ बुँदे निर्देशन अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गरेको छ । अदालत परिसरमा हुन सक्ने सम्भावित असुरक्षा र अव्यवस्थालाई ध्यानमा राखेर सो निर्णय भएको बाँके जिल्ला अदालतको प्रशासनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । नयाँ व्यवस्थाअनुसार अब कानुन व्यवसायीले पेसागत आचरणसम्बन्धी नियमावली, २०७९ ले निर्दिष्ट गरेको पोसाक अनिवार्य रूपमा लगाएर मात्र अदालतमा प्रवेश पाउनेछ । लेखापढी व्यवसायीको हकमा पनि संशोधित नियमावली बमोजिम तोकिएको पोसाक र परिचयपत्र अनिवार्य गरिएको छ । सेवाग्राहीको हकमा फिराद पत्र, प्रतिउत्तर पत्र वा अन्य निवेदन दर्ता गर्न आउँदा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने नियम बनाइएको छ । साक्षी बकपत्रका लागि उपस्थित हुने दुवै पक्षका साक्षीले आफ्नो पक्षको साक्षी निवेदन पत्रका साथमा र तारिखमा रहेका पक्ष वा वारिसहरूले तारिख पर्चासहित आफ्नो परिचयपत्र देखाएर मात्र अदालतभित्र प्रवेश पाउने व्यवस्था गरिएको अधिवक्ता वसन्त गौतमले बताए ।  अदालतले मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै अशक्त तथा वृद्ध ज्येष्ठ नागरिकको सहायताका लागि भने एक जनासम्म सहयोगी साथमा ल्याउन पाउने सहुलियत दिएको छ । यसका साथै अदालत परिसरको स्वच्छता र मर्यादा कायम राख्न भित्र पान, गुट्खा लगायतका वस्तु सेवन नगर्न र साथमा लिएर आउन पूर्ण रूपमा निषेध गरिएको उनको भनाइ छ ।  तोकिएका वर्ग र प्रयोजन बाहेकका अन्य व्यक्तिलाई अदालतको अनुमति बिना प्रवेशमा रोक लगाइएको छ भने सुरक्षा गार्डले मुख्य ढोकामा कडा जाँच गरेर मात्र प्रवेश अनुमति दिने ब्यहोरा अदालतको सूचनामा उल्लेख गरिएको छ । 

‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

काठमाडौं । दाङको तुलसीपुरलाई क्षयरोग मुक्त बनाउनका लागि ‘एआई एक्सरे’ मेसिनबाट सङ्क्रमित पहिचान गर्ने गरिएको छ । तुलसीपुरका १९ वटा वडामध्ये १७ वडामा ‘एआई एक्सरे’बाट क्षयरोगका बिरामी खोजिएको फोकल पर्सन शिवप्रसाद तिवारीले बताए । तुलसीपुरको २ र १३ नम्बरमा भने अझै त्यसरी बिरामी खोजिएको छैन । त्यो बाहेक अन्य १७ वडामा ‘एआई एक्सरे’बाट बिरामी खोजिएको उनको भनाइ छ । विभिन्न शिविरमा उक्त मेसिन प्रयोग गरेर सङ्क्रमित खोज्ने गरिएको छ । जसले चिकित्सकलाई क्षयरोग पहिचान गराउन सहज भएको छ । ‘पहिले साधारण एक्सरेबाट क्षयरोग पहिचान गर्ने गरिन्थ्यो । अहिले एआई एक्सरेबाट रोग पहिचान गर्ने गरेका छौँ, त्यसले सहज बनाएको छ,’ उनले भने ।  एआई एक्सरेले साधारण माइक्रोस्कपी गर्दा पनि नदेखिएको क्षयरोगको सङ्क्रमण देखाउने गरेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबर्द्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताए । उनका अनुसार एआई एक्सरेमा सङ्क्रमण देखिएमा त्यसको पुष्टिका लागि पुनः ‘जीनएक्सपर्ट’ मेसिनमा परीक्षण गरिन्छ । यो सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको छ । ‘हामीले पहिले एआई एक्सरे मेसिनबाट हेर्छौं, त्यसपछि जीनएक्सपर्ट मेसिनमा परीक्षण गरेपछि पोजेटिभ देखिएमा उपचार सुरु गर्छौ । यसरी हामीले सङ्क्रमित पहिचान गरी उपचार गर्ने गरेका छौँ,’ शाखा प्रमुख न्यौपानेले भने ।  सङ्क्रमितलाई ‘डटस्’ अर्थात् प्रत्येक दिन निगरानी गरेर औषधि खुवाउने गरिएको छ । यसरी छ महिनासम्म प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउने गरिएको शाखा प्रमुख न्यौपानेले बताए ।  तुलसीपुर उप-महानगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने अभियान अन्तर्गत यसरी क्षयरोग सङ्क्रमितको पहिचान गरि उपचार गर्ने गरिएको छ । हाल उक्त कार्यक्रम दोस्रो वर्षमा सञ्चालित छ । आर्थिक वर्ष २०८१/८२ देखि तुलसीपुरमा उक्त कार्यक्रम सञ्चालनमा आएको हो । तुलसीपुर उप-महानगरपालिकाले ९७ प्रतिशत सङ्क्रमितलाई उपचार गरिसकेको प्रमुख न्यौपानेले बताए । चालु आर्थिक वर्षको जेठ १८ गतेसम्म तुलसीपुरमा ३५५ जना सङ्क्रमित पहिचान गरिएको छ । १५ वर्ष मुनीका ३४ जना र १५ वर्ष माथिका ३२१ जनामा क्षयरोग सङ्क्रमण भएको पुष्टि भएको छ । प्रत्येक एक लाखमा २२७ जनामा क्षयरोग सङ्क्रमण देखिएको उनको भनाइ छ । हाल तुलसीपुरमा १३ डट्स केन्द्र, चार स्थानमा टीबी माइक्रोस्कपी लागु गरिएको छ । 

सरकार दमन र हिंसालाई बिर्सियौ भने ठूलो मूल्य चुकाउनुपर्ला: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाका सम्बन्धमा मानवअधिकार आयोगको सिफारिस तत्कालै कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसको साप्ताहिक श्रृङ्खला ‘ग्रिन टेबल’ अन्तर्गत पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले मानवअधिकार उल्लंघनका घटनाहरूलाई सामान्यीकरण गर्न नहुने धारणा राखे । भदौ २३ र २४ गते भएका मानवअधिकार उल्लंघनका घटनाहरूमा आफ्नै पार्टीका नेता-कार्यकर्ताहरूमाथि कारबाही अघि बढे पनि नेपाली कांग्रेसले दोहोरो मापदण्ड नअपनाउने उनको भनाइ छ । 'पूर्ववत् सिफारिसहरूको यथोचित कार्यान्वयन भएको भए सायद यस्तो अवस्था आउने थिएन । मानवअधिकार उल्लंघनका घटनाहरूमा हाम्रै (नेपाली कांग्रेसका) मानिसहरूको पनि संलग्नता देखिन्छ भने कारबाही हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौं, प्रतिबद्ध छौं । दुबै दिनका घटनामा सरकारको निष्पक्षता देखिनुपर्छ । सामान्यीकरण गरेर सरकारले घटनालाई पन्छाउन चाह्यो भने पनि त्यो सम्भव छैन,' उनले भने । सभापति थापाले आयोगको सिफारिस कार्यान्वयनका लागि कांग्रेसले सरकारसमक्ष नियमित प्रश्न उठाउने र दबाब बढाउन नछाड्ने बताए । आयोगको सिफारिस ढिलो चाँडो कार्यान्वयन भइ छाड्ने विश्वास व्यक्त गर्दै उनले भने, 'दमनलाई बिर्सियौँ र योजनाबद्ध हिंसालाई क्षमा दियौँ भने भविष्यमा हामीले ठूलो मूल्य चुकाउनुपर्छ । त्यसैले कांग्रेस यसमा गम्भीर छ ।' आयोगको प्रतिवेदन चुनावअघि नआएकोप्रति आफूहरूको प्रश्न रहेको बताउँदै सभापति थापाले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन र उक्त प्रतिवेदनको कार्यान्वयनमा सरकारको पूर्वाग्रह देखिएको पनि दाबी गरे । 'कार्की आयोगको सिफारिस पर्याप्त अध्ययन नगरेरै सेलेक्टिभ तरिकाले कारबाही बढ्यो । २४ गतेको घटनाबारे अध्ययन गर्न कार्की आयोग पन्छियो । २४ गतेको घटनाबारे विस्तृत अध्ययन गर्न अर्को आयोग बनाउने प्रतिबद्धता थियो। तर त्यो पनि भएन। जसले गर्दा संशय पैदा भएको छ,' उनले भने । त्यस्तै, मानवअधिकार आयोगको छानबिन समितिका संयोजक एवं आयोगका सदस्य डा. लिली थापाले विगतमा संवैधानिक लगायत अन्य आयोगका सिफारिसहरू कार्यान्वयनमा राजनीतिक दलहरू उदासीन हुँदा मानवअधिकार उल्लंघनलाई सामान्य ठान्ने प्रवृत्ति बढेको आरोप लगाए । कांग्रेसले मानवअधिकारको सवाललाई ढिलै भए पनि महत्व दिएर अघि बढेकोमा भने उनले सराहना गरे । नवयुवाहरूको सुशासनप्रतिको चाहना र तत्कालीन सरकारको गलत रवैयाका कारण मात्र भदौ २३ र २४ गतेको घटना नभएको बताउँदै आयोगका सदस्य थापाले विभिन्न व्यक्ति र समूहको योजनाबद्ध घुसपैठ पनि हिंसा भड्किनुको महत्वपूर्ण कारक रहेको प्रस्ट्याए । 'अहिलेका ठूलै मान्छेले पनि बम बनाउन सिकाएको, सुरक्षा उपायहरू अपनाउन सिकाएको, नवयुवाहरूलाई उक्साएको प्रशस्त प्रमाणहरू छन् । हामीले तीनलाई अनुसन्धानमा लैजान भनेका छौं। आयोगको सिफारिसलाई सरकारले कुनै पनि बहानामा पन्छाउन पाउँदैन,' उनले भने। त्यस्तै, कांग्रेस नेता एवं मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले सिफारिस कार्यान्वयनमा सरकार र अदालतले अनदेखा गरे पनि अन्तर्राष्ट्रिय नियोगहरूमार्फत दोषीहरूलाई कुनै न कुनै दिन अवश्य कारबाही हुने दाबी गरिन्।