देशभर मौसम बदली, कतै वर्षा त कतै तातो लहर

काठमाडौं । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुनुका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर (हिट वेभ) चल्ने सम्भावना छ ।

आज राति कोशी प्रदेशसहित देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बदली रहने तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहनेछ भने अन्य तराई भेगमा आंशिक बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

तातो लहरको प्रभावबाट बच्न मौसमविद्हरूले दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएका छन् ।

तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमविद्हरूको सुझाव पालना गर्न महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।

Share News