विकासन्युज

थानकोट-नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने

काठमाडौँ । ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन विशेष जाँचका लागि ४३० जनशक्ति थप गरिएको जानकारी दिए । “हाल ३६८ स्थानमा नियमित जाँचका लागि ७५० जनशक्ति परिचालन गरेकामा चाडपर्वलाई लक्षित गरेर ४३० जनशक्ति थप गरेका छौँ”, उनले भने । ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा विशेष जाँचको व्यवस्था गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला दशैँ मान्न झण्डै २५ लाख यात्रु बाहिरिने भएकाले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउने यातायात व्यवसायी गम्भीर भएर लागेका बताउँछन् । जाँचका क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरे/नगरेको, लामो दूरीका सवारी साधनमा दुई चालक भए÷नभएको, सवारी साधनभित्र भाडादर राखे/नराखेको, मोटरसाइकलले हेल्मेटको प्रयोग गरे÷नगरेको, क्षमताभन्दा धेरै यात्रु वा सामान राखे÷नराखेकोलगायतका कुरा हेर्नेछ । चाडपर्वको समयमा तीव्रगतिमा सवारी साधन चलाउने चालकलाई कारवाही गर्ने महाशाखाले जनाएको छ । यसैगरी, यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको यात्रु सहायताकक्षमा समेत ट्राफिक प्रहरी खटाइने महाशाखा प्रमुख ढकाल बताउँछन् । नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सम्पूर्ण सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षणसमेत गरिने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुवँर यान्त्रिक परीक्षणसँगै चाडपर्वको समयमा हुने दुर्घटनामा कमी आउने बताउँछन् । “नयाँ बसपार्कबाट छुट्ने अधिकांश सार्वजनिक सवारी साधनलाई परीक्षण गरेर उपत्यका बाहिर पठाउँछौँ”, उनले भने । यात्रु, चालक तथा सहचालकलाई लक्षित गरेर सवारी साधन छुट्नुभन्दा अगाडि संस्कार समाज नेपालको सहकार्यमा महाशाखाबाट निर्माण गरिएको जनचेतनामूलक अडियो एक हजार थान पेनड्राइभ वितरण गरिने महाशाखाले जनाएको छ । संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले सार्वजनिक सवारी साधनमा असल संस्कारसम्बन्धी जनचेतनामूलक अडियो वितरण गरेसँगै समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताउनुभयो । चाडपर्वको समयमा थानकोट–नागढुुङ्गा सडकखण्डमा सवारी चलाउँदा ओभरटेक गर्न नपाइने व्यवस्थासमेत गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतमा जस्तै चाडपर्वको समयमा कलङ्की–नौबिसे सडकखण्डमा सवारी साधन बिग्रेर घण्टौँसम्म जाम हुने परिपाटीको अन्त्यका लागि प्रहरी प्रधान कार्यालयबाट ‘र्याकर’ (बिग्रेको सवारी तान्ने साधन)को व्यवस्था गर्नुभएको छ । जसले गर्दा कुनै पनि सवारी साधन बिग्रेमा तत्काल तानेर बाटो खुलाउन सकिन्छ । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन आइतबारदेखि ५०० ट्राफिक स्वयंसेवक सडकमा खटाएको छ । महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्वयंसेवक परिचालन गरेको हो । जसले गर्दा चाडपर्वको बेला यातायात व्यवस्थापनमा सहजता हुने महाशाखाले विश्वास लिएको छ ।

थोमस कुक र जेट चल्न सकेनन्, संघर्ष गर्दैछ नेपाल वायुसेवा निगम

काठमाडौं । विश्वमा दिनहुँ नयाँ-नयाँ विमान कम्पनीहरू खुल्ने क्रम बढ्दो छ । बजारको माग र यात्रुहरूको सहजतालाई ध्यानमा राखेर सर्वसुलभ सुविधा प्रदान गर्ने उद्देश्यका साथ विमान कम्पनीहरू धमाधम खुलिरहेका छन् । नयाँ विमान कम्पनीहरू खुल्ने क्रम बढेसँगै पुराना प्रतिष्ठित विमान कम्पनीहरू बन्द हुन थालेका छन् । गत वर्ष चैत्र २५ गते भारतकै ठूलो मध्येको एयरलाइन्स कम्पनी जेट एयरवेज बन्द भयो । जेट एयरवेज आर्थिक संकटमा फस्दै गएको भन्दै उसले आफ्नो अन्तराष्ट्रिय उडान स्थगन गर्यो । सन् १९९२ सालमा आफ्नो सेवा विस्तार गरेको सो कम्पनी बन्दसँगै हजारौंको रोजगार समेत गुम्यो । यस्तै, सोमबार मात्रै १७८ वर्ष इतिहास बोकेको विश्वको पहिलो ट्राभल कम्पनी थोमस कुक ट्राभल्स औपचारिक रुपमा विघटन भयो । सन् १८४१ सालमा खुलेका कम्पनी बन्द भएसँगै सो कम्पनीमा कार्यरत विश्वका १६ देशका २२ हजार कर्मचारीहरूलाई बेरोजगार भए ।  यात्रुहरूको सहजताका लागि प्रचलित र प्रतिष्ठित थोमस कुक एयरलाइन्स कम्पनी बन्द हुनुले अहिले केही पुराना कम्पनीहरूमाथि पनि प्रश्न चिन्ह खडा भएको छ । यात्रुहरूको बढ्दो आकांक्षालाई पुरा गर्न र प्रतिस्पर्धी कम्पनीहरूले सरह सुविधा दिन नसक्दा  उक्त कम्पनी वित्तीय रूपमा टाट पल्टिएकाे हाे । नयाँ खुलेका कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने क्रममा ग्राहकलाइ लाेभ्याउने प्याकेज ल्याउँदा पनि कम्पनी घाटामा जाने र टाँट पल्टिने  यी उदाहरणहरूले संकेत गरी सकेका छन् । विश्वका प्रतिष्ठित कम्पनीहरू बन्द हुनुको कारण लो कष्ट क्यारिएर भएको हिमाल एयरलाइन्सका निर्देशक राजु केसी बताउँछन् ।  ‘लो क्यास’ को समस्याले पनि ति कम्पनी बन्द भएका हुन्’, उनले भने, ट्याक्स व्यवस्थापन गर्न नसकेर र बजारमा प्रतिस्पर्धी हुन नसक्दा विमान कम्पनीहरु बन्द हुने गर्दछन् । हाल प्रविधिको युग भएकोले पुराना कम्पनीहरूले त्यस्ता प्रविधिको प्रयोग पनि कम गर्छन्, यो युगमा प्रविधिसँग रम्न सके मात्र सफल भइन्छ ।’ नेपालमा पनि हाल धेरै एयरलाइन्सहरूले विमान सुविधा दिइरहेका छन् । विमान कम्पनीहरू बढेसँगै कम्पनीहरूलाई बजार धान्न पनि धौधौ परेको अवस्था छ । जहाजको भाडा बजारको माग र आपूर्तिले निर्धारण गर्छ । नेपाल वायुसेवा निगम पनि मुलुकको पुरानो र सरकारको मात्र लगानी रहेको एयरलाइन्स कम्पनी हो । ६१ वर्ष इतिहास बोकेको निगम पनि अहिले वित्तीय संकटमा छ । हाल निगम करिब ४० अर्ब रूपैयाँ ऋणमा डुबेको छ । व्याज खर्चले निगम झनझन् कमजाेर बनाएकाे र यहि अवस्थामा अघि बढे निगमले कर्मचारीलाई तलव दिन पनि मुश्किल पर्ने हालै गठित निगम सुधार कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । अर्बाै ऋणमा हुँदा हुँदै पनि भदौ १२ गतेदेखि ओशाकामा उडान शुरु गरेको छ । हाल निगमले ओशाकाको प्रत्येक उडानमा करोडौंको क्षति बेहोर्नु परेको समाचारहरू पनि आइरहेका छन् । यी र यस्तै जाेखिमहरूले पनि निगमको हालत थोमस कुक र जेट एयरवेज जस्तै नहोला भन्न सकिन्न । नेपाल वायुसेवा निगमले पनि थोमस कुक र जेट एयरवेयजका केही घटना क्रमहरूलाई अध्ययन गरेर अगाडी बढ्न आवश्यक छ । वित्तीय रुपमा कमजोर अवस्थामा पुगेको निगमलाई सक्षम संस्थाका रुपमा अगाडि बढाउन वायुसेवा निगम सुधार कार्यदलले तयार पारेको प्रतिवेदनलाई गाइडलाइन्सको रुपमा लिन जरुरी छ । कार्यदलले निगमलाई पुरानै र २० औं शताब्दीको अव्यवहारिक र पुरानो प्रविधि प्रयोग गर्दै आएको जनाएको थियो । यसले पनि उसको बजारमा प्रतिस्पर्धा गर्ने क्षमतालाई दर्शाउँछ । त्यसैले एक अब्बल र शसक्त संस्थाका रुपमा अगाडि बढ्न नयाँ सूचना र प्रविधिहरु प्रयोग गरी प्रतिस्पर्धात्मक बजारमा होमिन आवश्यक छ ।

वैदेशिक रोजगार व्यवसायी सङ्घमा लोकतान्त्रिक समूह विजयी

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । सङ्घको २७ औँ साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो । सङ्घको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित भएका छन् । उनले कूल ३३० मत प्राप्त गरेका थिए । सङ्घको निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका सरोजकुमार पोखरेलले २८३ मत प्राप्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सङ्घीय समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट अध्यक्षमा पोखरेलले उम्मेदवारी दिएका थिए । सङ्घको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएका छन् । यस्तै सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलले पनि जित हासिल गरेका छन् । सङ्घको अध्यक्षमा विजयी भएपछि गैरेले सङ्घलाई सबै व्यवसायीको साझा मञ्चका रुपमा विकास गरेर लैजाने बताए । सङ्घको निर्वाचनमा कूल ६२१ प्रतिनिधिले मतदान गरेका थिए । निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका थिए । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनी निर्वाचन प्रक्रियामा नै सहभागी भएका थिएनन् ।

बैंक अफ काठमाण्डूको एजीएम असोज ३० गते, बुक क्लोज कहिले ?

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको २५ औं वार्षिक साधारण सभा(एजीएम) असोज ३० गते हुने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे एलिस रिसेप्सन गैह्रीधारा काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप बैंकको चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर स्वीकृत गर्नेछ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज १६ गतेदेखि असोज ३० गतेसम्म सेयरधनी दर्ता किता बन्द(बुक क्लोज) हुने बैंक अफ काठमाण्डूले जनाएको छ ।

एनएमबि र ओमको एकीकृत कारोबार असोज ११ देखि, ओमबाट लिएका भिजा कार्ड असोज १० पछि नचल्ने

काठमाडौँ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असोज ११ गतेदेखि हुने भएको छ । काठमाडौँ बबरमहलमा मुख्य कार्यालय भएको एनएमबि र पोखरा चिप्लेढुंगा मुख्य कार्यालय रहेको ओमबीच एकीकृत कारोबार हुने भएको हो । एनएमबिको साउन २८ गते र ओमको साउन २७ गते सम्पन्न विशेष साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव स्वीकृत गरेको थियो । गाभ्ने/गाभिने संस्थाहरुको साधारण सभाको निर्णय बमोजिम राष्ट्र बैंकबाट असोज १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज ५ गते स्वीकृति प्राप्त भएको जनाइएको छ । यता, ओमले जारी गरेका डेबिट कार्ड(भिजा कार्ड) असोज १० गतेसम्म मात्र चल्ने भएको छ । एनएमबी बैंकसँग एकीकृत कारोबार पछि विगतमा जारी भएका कार्डहरु असोज १० गतेसम्म पछि प्रयोगमा नआउने भएकाले आफ्नो खाता रहेको शाखामा सम्पर्क गरी नयाँ कार्ड लिन ओम डेभलपमेन्ट बैंकले आग्रह गरेको छ ।

कृषि विकास बैंकको रकम ह्याकरले गरे आफ्नै खातामा ट्रान्सफर, पैसा चोर्दै गर्दा पक्राउ

काठमाडौँ । कृषि विकास बैंकको खातामा रहेको रकम मंगलबार दिउँसो ह्याकर समूहले आफ्नो खातामा ट्रान्सफर गरेका छन् । ह्याकर समूहका ३ जनालाई पक्राउ गरिएको र अन्य व्यक्तिको खोजी भएरहेका प्रहरी श्रोतले जनाएको छ । बैंकको सिरहा शाखाबाट काठमाडौँ ट्रान्सफर गरिएको करोडौँ रकम काठमाडौँबाट निकाल्न लाग्दा प्रहरीले पक्राउ गरेको हो । ह्याकर समूहले कति रकम ट्रान्सफर गरी चोरी गरे भन्ने अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख चोरी भएको देखिएको राष्ट्र बैंक श्रोतले जनाएको छ । घटनामा सिराहाको लाहान शाखामा कार्यरत तीन जना कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौड्यालले बताए । चोरी भएको रकम ७ जनाको खातामा ट्रान्सफर भएको देखिएको छ,’ उनले भने ‘काठमाडौंको न्यूरोड र कैलली भजनीबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।’ लाहानमा कार्यरत कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग गरी अनलाइन सिस्टममार्फत् भुक्तानीको अर्डर दिई विभिन्न स्थानबाट रकम निकालिएको हो । कृषि विकास बैंकबाट निकालिएको पैसा सर्वसाधारण नभइ बैंकको भएको प्रवक्ता पौडेलले बताए । ‘बैंकको खातामा भएको रकम झिकिएको हो,’ उनले भने ‘यो घटनाले सर्वसाधारण निक्षेपकर्तालाई कुनैपनि असर गर्दैन ।’ पक्राउ परेका व्यक्तिहरु नेपाली नै रहेको र उनीहरुको नाम भने प्रहरीले हालसम्म गोप्य राखेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले केही रकम बरामद गरेको जनाएको छ । यसअघि पनि भदौ १५ गतेमा प्रहरीले एटिएम ह्याक गरी रकम झिक्ने ५ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सय रूपैयाँको नयाँ नाेट सिधा हेर्दा रातो देखिने र ढल्काएर हेर्दा हरियो देखिने 

फाइल तस्वीर काठमाडाैं । नेपाल राष्ट्र बैंकले नयाँ साज–सज्जासहित सय रुपैयाँको नयाँ नोट आजदेखि प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले चलनचल्तीमा ल्याएको नयाँ नोटमा फरक विशेषता समावेश गरिएको छ । कूल दुई मिलिमिटर चौडा भएको रङ परिवर्तन हुने नोटलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङको देखिने सुरक्षण धागो राखिएको छ । नोटको मध्य भागमा एक सिङ्गे गैँडाको माऊ र बच्चाको चित्र पनि राखिएको छ । उक्त नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । यस्तै मध्य भागमा नेपालको नक्सा, अशोकस्तम्भको चित्रका साथै, ‘लुुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल’ लेखिएको छ । यस्तै अशोकस्तम्भ सँगै दृष्टिविहीनका लागि नोट पहिचानका लागि छामेर थाहा पाउने कालो थोप्लासमेत समावेश गरिएको छ । बैंकका अनुसार अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र राखिएको छ । दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।

सिभिल क्यापिटल र भायनेट कम्युनिकेशन बीच सम्झौता

काठमाडौँ । सिभिल क्यापिटल मार्केट र भायनेट कम्युनिकेशन प्रालि बीच सम्झौता भएको छ । सिभिल क्यापिटलका कर्मचारी र ग्राहकहरुलाई भायनेटको इन्टरनेट सेवामा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतामा सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सुशील महर्जन र भायनेट कम्युनिकेशनका उपाध्यक्ष शाहिन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।