विकासन्युज

दुई डिस्टीलरी सञ्चालक कारागारमा, ३१ करोड जरिवाना, एक-एक वर्ष कैद

पर्सा । अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजश्व छल्ने जिल्लाका दुई डिष्टीलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालयले रु ३१ करोडभन्दा बढी जरिवानासहित एक-एक वर्ष कैद गर्ने निर्णय गरेको छ । जिल्लामा सञ्चालित जयश्री धौलागिरि डिष्टीलरी र उदयपुर डिस्टलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेका प्रमाणित भएकाले उक्त कार्यालयले गत मङ्गलबार दुवै उद्योगका सञ्चालकलाई सो कारबाही गरेको हो । उदयपुर डिष्टीलरीले ३६ लाख ६९ हजार ७४२ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक ओमप्रकाश कलवारलाई रू २६ करोड १६ लाख जरिवानासहित एक वर्ष कैद र धौलागिरि डिष्टीलरीले सात लाख ४५ हजार ६१५ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक शम्भुशरणप्रसाद कलवारलाई एक वर्ष कैद र रु पाँच करोड ४७ लाख जरिवाना गरिएको उक्त कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले जानकारी दिए । दुवै सञ्चालकको जायजेथा बिक्री तथा लिलाम गरी जरिवानाको रकम असुलउपर नभए फौजदारीसंहितानुसार थप सात वर्ष कैद सजाय गरिने उक्त कार्यालयले जनाएको छ । दुवै उद्योग सञ्चालकलाई वीरगञ्ज कारागार पठाइएको छ । डिष्टीलरीभित्र निगरानी गर्न खटाइएका कर्मचारीले समेत आफ्नो दायत्व पूरा नगरेको प्रमाणित भएकाले ती उद्योगमा कार्यरत चार नासुलाई निजामती सेवा ऐन २०५० अनुसार विभागीय कारवाही गरिने निर्णय भएको कार्यालय प्रमुख कोइरालाको भनाइ थियो । रासस

उत्पादित स्याउले बजार नपाउँदा किसान चिन्तित

रुकुमपूर्व । रुकुमपूर्वको हिमाली क्षेत्रमा प्रशस्त मात्रामा स्याउ उत्पादन हुन्छ । पुथा उत्तरगङ्गावासीका अधिकांश घरमा र भूमे गाउँपालिकाको केही क्षेत्रमा स्याउका बोट छन् । बोटमा लटरम्म स्याउ फलेका छन् । स्याउ किसानलाई बोटबाट स्याउ टिप्ने चटारो छ । तर, यतिबेला किसान निकै चिन्तित देखिन्छन् । उनीहरुलाई चिन्ता छ, फलेको यो स्याउलाई अब के गर्ने ? जिल्लाको सदरमुकाम रहेको सिस्ने गाउँपालिका रुकुमकोटमा प्रतिकिलो स्याउको मूल्य रु २०० पर्छ । तर पुथा उत्तरगङ्गा गाउँपालिकामा उत्पादन भएको स्याउको मूल्य भने २०÷३० रुपैयाँ पर्ने गरेको छ । उत्पादन प्रशस्त मात्रामा हुने तर उत्पादनले बजार नपाउँदा किसान मर्कामा परेका हुन् । सडक पुगेको कतिपय ठाउँमा वर्षातका कारण अवरुद्ध सडक सुचारु भएको छैन भने अधिकांश ठाउँमा सडक सुविधा पुगेकै छैन । यातायातको सुविधा नहुँदा उत्पादित स्याउ ढुवानी हुन नसकेको स्थानीयवासीले बताएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका, पेल्माका स्याउ किसान वासु बुढामगरको घरमा एक हजार स्याउका बोट छन् । ती बोटले चार वर्षदेखि फल दिन थालेको उनले बताए । उनले लगाएका स्याउका प्रतिबोटले तीन सयदेखि पाँच सयसम्म स्याउका दाना लगाउने गरेका छन् । स्याउ बगैँचामा पुग्दा परिश्रमको फल हेरी निकै आनन्द महसुस गर्छु तर परिश्रम खेर जाने चिन्ताले निकै सताउने गरेको छ । उनले भने, “गाउँमा सडक पुगेको छैन, ढुवानी हुँदैन, घरमा कोही किन्न आयो भने महँगो पैसा तिर्दैनन्, प्रतिकेजी रु २०÷३० मा बेच्ने गरेको छु ।” घरमा फलेको थुप्रो स्याउ दुई तीन किलो बेचेर नसकिने भएकाले गाईभैँसी तथा भेडाबाख्रालाई खुवाउने गरेकोसमेत उनले बताएका छन् । सोही ठाउँका अर्का लजिम पुनले पनि आफूले उत्पादन गरेको स्याउ प्रतिकेजी रु ३० मा बेच्ने गरेको बताउँछन् । जैविक स्याउ उत्पादन गर्ने गरेको तर, भौगोलिक विकटताका कारण बजारसम्म पुर्याउन नसक्दा आफूहरुले लाभ लिन नसकेको उनको भनाइ छ । सोही ठाउँका अर्का किसान हर्कबहादुर कामीले भने, “यातायातको सुविधा छैन, घोडामार्फत ढुवानी गर्दा स्याउ बिग्रने र महङ्गो पर्न जान्छ ।” उत्पादनलाई भण्डारण गरौँ भने पनि शीतभण्डारको व्यवस्था नभएको उनले बताए । भूमे गाउँपालिका–१ लुकुमको मैजाकुङस्थित तीर्थबहादुर पुनको बारीमा लगाएको एउटा स्याउको बोटमा दुई सयभन्दा बढी स्याउका दाना फलेका छन् । उनको बारीमा ३३० वटा स्याउको बिरुवा छन् । उनको घरमाथिसम्म सडक पुगेको छ । वर्षाका कारण अवरुद्ध भएको सडक नखुल्दा स्याउ घरमै थुप्रिएको उनले बताउँछन् । अब छिट्टै सडक सुचारु नभए स्याउ कुहिएर जाने चिन्ताले उनलाई सताइरहेको छ । यतिबेला रुकुमपूर्वका स्याउ किसानले आफूकहाँ आएका पाहुनालाई डोकाभरि स्याउ दिएर फर्काउने गरेका छन् । उनीहरु भन्छन्, “स्याउ कुहिएर जानुभन्दा आफन्तलाई कोसेली दिएर पठाउने गरेका छौँ ।” जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको पेल्मा, घुइवाङ, रल्तिजाङ, हुकाम, मयाङलगायतको क्षेत्र र भूमे गाउँपालिकाको लुकुम, गुणाम, काँक्री, कोर्जालगायतको क्षेत्र स्याउ फल्ने ठाउँ हुन् । रुकुमपूर्वको भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न ठाउँका नागरिकले जुम्ला, रोल्पाबाट स्याउका बोट लिएर रोपेका हुन् । पछिल्लो चरणमा भने स्थानीयस्तरमै स्याउका बिरुवा उत्पादन गर्न थालिएको छ । अहिले पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न क्षेत्रका मानिसले दुई सयदेखि एक हजारसम्म स्याउका बोट लगाएका छन् । लगाएको छोटो समयमै स्याउको बोटले राम्रो फल दिन थालेपछि खुशी भएका किसान यतिबेला स्याउले बजार नपाउदा दुःखी बनेका छन् । अहिले जिल्लामा कति स्याउ उत्पादन हुन्छ भन्ने कुराको यकिन तथ्याङ्क भने छैन । गाउँपालिकामा कति स्याउ उत्पादन हुन्छ भन्ने कुरा पत्ता लगाउन पुथा उत्तरगङ्गा गाउँपालिकाले कृषि प्राविधिक खटाएको बताएको छ । गाउँपालिकाका कृषि प्राविधिक सन्तोष ओलीले स्याउ उत्पादन हुने क्षेत्रमा पुगेर गाउँपालिकाभरि कति स्याउ उत्पादन हुन्छ भनेर तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताएका छन् । त्यसैगरी, पुथा उत्तरगङ्गा गाउँपालिकामा कृषि उपज सङ्कलन केन्द्र निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारले रु आठ÷आठ गरी १६ लाख बजेट छुट्याएको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाथोकीले जानकारी दिए । भूमे गाउँपालिकाले भने भूमेलाई कृषि जैविक गाउँपालिका बनाउने लक्ष्यका साथ कृषिलाई प्राथमिकता दिएर अगाडि बढेको गाउँपालिका अध्यक्ष रामसुर बुढामगर बताउँछन् । जिल्लामा बिरुवा उत्पादन, खेती गर्ने तरिका र यस क्षेत्रको भौगोलिक अध्यनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने किसानको माग छ । रासस

बसको टिकट अनलाइनबाट लिन सकिने, चारदिनमै ८ हजार जनाले लिए टिकट

नेपालीको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घर जाने चटारो शुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि यात्रुहरू राति नै गएर बस टिकटका लागि लाइन लाग्ने गरेका छन् । तर धेरैजसो यात्रुले टिकट पाउन नसकेको गुनासो गर्दै आएका छन् । पछिल्लो समयमा अनलाइनबाट बस टिकट काट्न सकिने भएपछि अनलाइन टिकटिङमा पनि आकर्षण बढेको छ । यात्रुलाई अनलाइन टिकट उपलब्ध गराएर सुविधा दिन सकिने बससेवा डटकमका सञ्चालक बताउँछन् । यातायात व्यवसायीले सिट संख्या कम दिँदा सबैलाई अनलाइन टिकट उपलब्ध गराउन मुस्किल परेको बससेवाका संस्थापक पिआर खनालले बताएका छन् । अघिल्लो वर्षमा करिब ४ हजार यात्रुले अनलाइन टिकट काटेका थिए भने यो वर्ष बुकिङ खुलेको चारदिनमै करिब ८ हजार जनाले टिकट काटिसकेको उनको भनाइ छ । टिकट काट्ने दिन अझै बाँकी रहेको हुनाले यो वर्ष धेरै यात्रुले अनलाइनबाट टिकट काट्ने अनुमान गरिएकोे छ । बससेवाबाट मुलुकका विभिन्न गन्तव्यका लागि अनलाइन टिकट काट्न सकिन्छ । अहिले अन्यत्रका टिकट कम भएपनि बुटवल, भैरहवा, दाङ, पोखरा, बाग्लुङ, म्याग्दी, चितवन, सुर्खेत, रूकुम, जोमसोम, ओखलढुंगा, खोटाङ, नुवाकोट, रसुवा, जनकपुर लगायतका ठाउँका लागि भने पर्याप्त मात्रामा अनलाइनबाट टिकट काट्न सकिने बससेवाको भनाइ छ । पूर्वी तथा सुदूरपश्चिम लगायतका जिल्लाका टिकट भने अनलाइनमा कम उपलब्ध भएकाले पर्याप्त मात्रामा काट्न नसकिएको खनालको भनाइ छ । उनले भने ‘अनलाइनमा सिट छोडेमा यात्रुले टिकट काट्न पाइने हो, पूर्वी नेपाल लगायतका केही जिल्लामा व्यवसायीहरूले सिट उपलब्ध नगराएका कारण अनलाइनबाट दिन मुस्किल भएको हो । तर अहिले पनि धेरै क्षेत्रमा जानका लागि अनलाइनबाट टिकट काट्न सकिन्छ ’। नेपालमा अनलाइनबाट बस टिकट काट्न सकिने सेवा दिने बससेवा डटकम एकमात्र सेवा प्रदायक भएको खनालको दाबी छ । यात्रुले बससेवा डटकम, र्इसेवा, आइएमर्ई पे, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ लगायतबाट सहजै टिकट काट्न सक्नेछन् । सरकारबाट सहजीकरण हुने हो भने आफुहरूले यातायात क्षेत्रमा चाहिने उच्चस्तरको प्रविधि निर्माण गरेकाले सबै रूटका सवारीलाई अनलाइनमा राख्ने र अग्रिम बुकिङ अनलाइनबाट गर्ने उनको भनाइ छ । उनले भने, ‘अनलाइन टिकट काट्दा शुरूमा टिकट काट्ने हो भने कति गाडी पर्छ, कति सिट बाँकी छन्, कति बुकिङ भए र थप कति गाडी आवश्यक पर्छ भन्ने सबै कुराको अनुगमन गर्न सकिन्छ । टिकट दोहोरिने तथा नपाउने समस्या पनि हुँदैन ।’ रासस

एनआईसी बैंकद्वारा जापानबाट रेमिट्यान्स सेवा शुरु

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ओके रेमिट जापानसँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवाको शुरुवात गरेको छ । ओके रेमिट जापान सँगको सम्झौताअनुसार ओके रेमिटमार्फत् जापानमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३०१ वटा शाखाहरु, ७० वटा विस्तारित काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सक्नेछन् । यसका साथै नजिकिँदो चाडपर्वको अवसरमा जापानमा रहेका नेपालीहरुले २०७६ असोज महिनाभर ओके रेमिट जापानबाट एनआईसी एशिया रेमिटमार्फत् भुक्तानी हुने गरी नेपालमा निःशुल्क रकम पठाउन सक्नेछन् । यसैगरी, नेपालका समग्र भौगोलिक क्षेत्रहरुमा आफ्नो उपस्थिति थप दरिलो बनाउने क्रममा एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु पोखराको बाझापाटन र वीरगञ्जको पावरहाउस चोकमा यही आश्विन ६ गतेदेखि सञ्चालनमा आएको छ । कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं १३ स्थित बाझापाटन शाखाकोे उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गरेका हुन् भने पर्सा जिल्ला, वीरगञ्ज महानगपालिका वडा नं १३ स्थित पावरहाउस चोक शाखाको उद्घाटन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले गरेका हुन् ।

साधारणसभा गर्न वाणिज्य बैंकले जस्तो ढिलो नगर्ने, ‘धेरै विकास बैंकहरु राष्ट्र बैंक गइसके’

काठमाडौं । एनएफआरएस प्रणालीअन्तर्गत वित्तीय विवरण बनाउन अनिवार्य गरिएका विकास बैंकहरुको साधारणसभा वाणिज्य बैंक तथा बीमा कम्पनीहरूको जस्तो ढिलो नहुने भएको छ । अधिकांश विकास बैंकहरुले नयाँ लेखाप्रणालीअनुसार वित्तीय विवरण बनाएर स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइसकेको र राष्ट्र बैंकले विवरण स्वीकृत गर्नेबित्तिकै साधारणसभा बोलाउने डेभलपमेन्ट बैंकर्स एशोसिएसन अफ नेपालले जनाएको छ । संघका अध्यक्ष गोविन्द ढकालले यसअघि नै ४/५ ओटा विकास बैंकहरुले विवरण पठाइसकेको भन्दै यसबीचमा अन्य धेरै बैंकहरुले वित्तीय विवरण तयार गरेर राष्ट्र बैंकमा पठाइसकेको जानकारी दिए । ‘गरिमा विकास बैंक लगायत ४÷५ ओटा बैंकहरुले धेरै दिनअघि नै राष्ट्र बैंकमा रिपोर्ट पठाइसकेका थिए, अहिले त धेरैजसोले पठाइसके होला, राष्ट्र बैंकले विवरण स्वीकृत गर्ने बित्तिकै हामी साधारणसभा बोलाउँछौं, ढिलो गर्दैनौं ।’ अध्यक्ष ढकालले विकासन्यूजसँग भने । उनले राष्ट्र बैंकले विवरणहरु स्वीकृत गर्न लगाउने समयका आधारमा बैंकहरुले साधारणसभा बोलाउने भन्दै बैंकहरुले गर्दा साधारणसभा बोलाउन ढिला नहुने बताए । उनले पुस मसान्तभित्रै सबैजसो बैंकहरुले साधारणसभा बोलाउनसक्नेमा विश्वस्त रहेको समेत बताए । वाणिज्य बैंक र बीमा कम्पनीहरुले अनिवार्य रुपमा एनएफआरएस प्रणाली लागु गरेपछि गत वर्ष बैंकहरुको साधारणसभा बोलाउन निकै ढिला भएको थियो । १५ ओटा बैंकहरुले समय घर्किएपछि मात्रै साधारणसभा बोलाएका थिए । बीमा कम्पनीहरुमा त कतिपयले अझैसम्म पनि साधारणसभा बोलाउन सकेका छैनन् । यो वर्षदेखि विकास बैंक र फाइनान्स कम्पनीलाई यो लेखाप्रणाली अनिवार्य गरिएको छ । पुरानो एनएएस प्रणालीमा धेरैजसो मानहरु वास्तविक हुने र या प्रणालीमा अनुमानित औसत हुने भएको कारणले पुरानो प्रणालीबाट नयाँ प्रणालीमा सिफ्ट हुँदा त्यसले समय लिने गरेको थियो । अब एनएफआरएस नयाँ नभएको र अघिल्लो वर्षदेखि नै विकास बैंकहरु यो प्रणालीमा जान तयार भएका कारण ढिलाई नहुने भएको हो । कम्पनी ऐन २०६३ ले कुनैपनि कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणको लेखापरीक्षण गरी त्यसलाई साधारणसभाबाट पारित गराएर कम्पनी रजिष्टर कार्यालयमा कम्पनी अद्यावधि गर्नुपर्ने व्यवस्था गरेको छ । सो समयभित्र कम्पनी अद्यावधि नभएमा कार्यालयले जरिवाना गर्ने व्यवस्था छ । हालैमात्र शेयर बजारमा आएको मार्जिन ट्रेडिङका लागि योग्य हुन पनि पुस मसान्तभित्र साधारणसभा गर्न अनिवार्य मानिन्छ, त्यसका लागि पनि बैंकहरुले साधारणसभा गर्न हतार गरेका हुन् ।  

प्राइम लाइफको विशेष साधारण सभाः बोनस शेयर पारितसँगै चुक्ता पूँजी २ अर्ब नाघ्यो

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलबार सम्पन्न विशेष साधारण सभाले बोनस सेयरको प्रस्ताव पारित गरेसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघेको छ । कम्पनीको विशेष साधारण सभाले हालको चुक्तापुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । अब कम्पनीको चुक्ता पूँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । विशेष साधारणसभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको १ करोड १७ लाख ४२ हजार ३ सय ३६ रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ । कम्पनीले नियमनकारी निकाय बिमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी कायम गर्न विशेष साधारण सभा बोलाएको हो ।

त्रिवि भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन, ‘राजस्व प्रशासनमा स्वच्छता कायम गर्नू’

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शिता र कुशलता कायम गरी कार्य सम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायी मैत्री रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी रुपमा तयारी गर्न नागरिक उडड्यन विभागसँग समेत पयाप्त सहकार्य गर्नुपर्ने बताए । विमानस्थलमा अन्य निकायको समेत समन्वय हुने भएकाले प्रभावकारी, छिटोछरितो र सहज रुपमा सेवा दिनुपर्नेमा सम्बन्धित सबै निकायलाई निर्देशन दिए । मन्त्री खतिवडाले विमानस्थलमा भौतिक पूर्वाधारको समस्यालाई नागरिक उडड्यन प्राधिकरणसँग सहकार्य गरेर व्यवस्थापन गरिने स्पष्ट पारे । उनले भन्सारमा रहेका मालवस्तु तथा सामानहरुको समयमै निकासी तथा लिलामी गरि काम नलाग्नेलाई स्टलमा नराखी खाली गर्न समेत निर्देशन दिए । उनले तोकिएको राजस्व पुरा गर्न सबै प्रकारका प्रयासहरु गर्ने, आवश्यक जनशक्तिको व्यवस्थापनमा अर्थ मन्त्रालय र भन्सार विभागले ध्यान दिनसमेत निर्देशन दिए । उनले निर्यात हुने मालवस्तुलाई प्राथमिकता दिनुपर्ने भन्दै जाँचपास प्रक्रियालाई सरल, छिटो र चुस्तदुरुस्त बनाई विवेकीय एवम् नीतिगत रुपमा स्वच्छ सेवा दिन सुरक्षा निकाय, अध्यागमन, प्राधिकरण भन्सारलगायतको उत्तिकै सहकार्य तथा सहयोग आवश्यक पर्ने बताए । स्थलगत निरीक्षणमा भन्सार विभागका महानिर्देशक सुमन दाहाल, अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख झक्कप्रसाद आचार्य, त्रिविका सुरक्षा प्रमुखलगायतको सहभागिता थियो ।

फ्रिजमा करेन्ट लागेर तीनको मृत्यु

धनुषा । धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उनकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । घटना रातिकै भए पनि बिहान कोही नउठेपछि स्थानीयले हेर्दा तीनैजना करेन्ट लागेको अवस्थामा मृत फेला परेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहानै होटल सञ्चालक महतोकी आमा होटल गई ढोका खोल्दा तीनै जनालाई मृत अवस्थामा देखेपछि स्थानीयलाई गुहारेकी थिइन् । घटनापश्चात् स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीनै जना होटलमा राखिएको फ्रिज नजिकै मृत अवस्थामा भेटिएपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो । अहिले इलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थलमा पुगेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताएका छन् । घटनास्थल प्रकृति मुचुल्का उठाई तीनै जनाको शवलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकराी दिए । रासस