
काठमाडौँ । कृषि विकास बैंकको खातामा रहेको रकम मंगलबार दिउँसो ह्याकर समूहले आफ्नो खातामा ट्रान्सफर गरेका छन् । ह्याकर समूहका ३ जनालाई पक्राउ गरिएको र अन्य व्यक्तिको खोजी भएरहेका प्रहरी श्रोतले जनाएको छ ।
बैंकको सिरहा शाखाबाट काठमाडौँ ट्रान्सफर गरिएको करोडौँ रकम काठमाडौँबाट निकाल्न लाग्दा प्रहरीले पक्राउ गरेको हो । ह्याकर समूहले कति रकम ट्रान्सफर गरी चोरी गरे भन्ने अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख चोरी भएको देखिएको राष्ट्र बैंक श्रोतले जनाएको छ ।
घटनामा सिराहाको लाहान शाखामा कार्यरत तीन जना कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौड्यालले बताए । चोरी भएको रकम ७ जनाको खातामा ट्रान्सफर भएको देखिएको छ,’ उनले भने ‘काठमाडौंको न्यूरोड र कैलली भजनीबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।’
लाहानमा कार्यरत कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग गरी अनलाइन सिस्टममार्फत् भुक्तानीको अर्डर दिई विभिन्न स्थानबाट रकम निकालिएको हो । कृषि विकास बैंकबाट निकालिएको पैसा सर्वसाधारण नभइ बैंकको भएको प्रवक्ता पौडेलले बताए । ‘बैंकको खातामा भएको रकम झिकिएको हो,’ उनले भने ‘यो घटनाले सर्वसाधारण निक्षेपकर्तालाई कुनैपनि असर गर्दैन ।’
पक्राउ परेका व्यक्तिहरु नेपाली नै रहेको र उनीहरुको नाम भने प्रहरीले हालसम्म गोप्य राखेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले केही रकम बरामद गरेको जनाएको छ । यसअघि पनि भदौ १५ गतेमा प्रहरीले एटिएम ह्याक गरी रकम झिक्ने ५ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।