विकासन्युज

साँझैदेखि बन्द हुन थाले एटीएम काउन्टर, ‘३ सिफ्टमा गार्ड राखेर निःशुल्क सेवा दिन सकिन्न’

काठमाडौं । सबै एटीएम बुथमा सुरक्षा गार्ड राख्ने राष्ट्र बैंकको निर्देशनपछि एटीएम काउन्टरहरु साँझदेखि नै बन्द हुन थालेका छन् । नेपाल राष्ट्र बैंकले केही दिन अघि मात्रै बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएम मेसिनमा चौबिसै घण्टा हतियारसहित सुरक्षा गार्ड राख्न निर्देशन दिएसँगै बैंक तथा वित्तीय संस्थाले आफूले प्रदान गर्दै आएको सेवाको समय घटाउन थालेका हुन् । अहिले उपत्यका र बाहिरका कम चहलपहल हुने ठाउँहरुमा सञ्चालित एटीएम काउन्टरहरु बैंकहरुले साँझ पर्नेबित्तिकै बन्द गर्न थालेका छन् । कतिपय बैंकहरुले त कार्यालय समय सकिएपछि बैंकिङ काउन्टरसँगै एटीएम काउन्टर समेत बन्द गर्न थालेको बताइएको छ । यसअघि खुला रहने व्यस्त ठाउँका एटीएमहरु समेत रातको समयमा एटीएम काउन्टरहरु बन्द गर्न थालिएकाे छ । बैंकहरु भने तीन सिफ्टमा २४ सै घण्टा सुरक्षा गार्ड राखेर निःशुल्क सेवा चलाउन नसकिने भन्दै राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले एटीएम सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको बताउँछन् । त्यसाे त उनीहरु सुरक्षा गार्ड राखेकै भरमा पनि यस्तो लुट अन्त्य हुनेमा विश्वस्त छैनन् । ‘कसैले मेरो पैसा म झिक्छु भन्यो भने हतियारसहितको सुरक्षाकर्मीले चाहिँ के गर्ने ?’ एकजना बैंकरले भने । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले पनि यो अवस्थामा बैंकहरुका लागि राम्रो भनेको कार्यालय समयमा मात्रै एटीएम खोल्नु नै उपयुक्त हुने बताउँछन् । नियामकले दिएको निर्देशन आफूहरुले मान्नुपर्ने भए पनि त्यो मान्न नसेकेको अवस्थामा सेवा बन्द गर्ने विकल्प भएको उनको तर्क छ । ‘बैंकहरुले आफैंले बजारको सबै थ्रेटहरु देख्दैन, नियामकले त्यसलाई औंल्याइदिने काम गर्छ, त्यसैले नियामकले देखेको जोखिमका आधारमा दिएको निर्देशन हामीले मान्नुपर्छ, तर हामीले यसरी २४ सै घण्टा सेवा दिन सक्दैनौं, त्यस्तो अवस्थामा रातको समयमा एटीएम बन्द गर्ने नै अर्को विकल्प हो’ शाहले भने । चिनियाँ ह्याकरहरुले एटीएम ह्याक गरी करोडौं रकम लुटेको र केही दिन अघि मात्रै कृषि विकास बैंकमा भएको लुट काण्ड समेत एटीएम मेसिनकै प्रयोग गरेर भएपछि राष्ट्र बैंकले एक साता अघि मात्रै त्यस्ता मेसिनहरुमा हतियारसहितको सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको थियो । तर यसमा बैंकरहरुले भने राष्ट्र बैंकको यो निर्देशनको घुमाउरो ढंगले असहमति जनाउँदै आएका छन् । राष्ट्र बैंकको यो व्यवस्था प्रविधिमाथिको आक्रमणलाई मान्छेले रोक्न खोजेको जस्तो भएको भन्दै यो सम्भव नहुने उनीहरुको भनाई छ । त्यसका लागि प्रविधिकै सुधारमा जोड दिँदैै नियामकको यो निर्देशनको घुमाउरो ढंगले विरोध गर्दै आएका छन् । चौबिसै घण्टा सुरक्षा दिएर निःशुल्क सेवा दिनुपर्ने एटीएम राख्न नसकिने उनीहरुको तर्क छ । बैंकहरुले सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेसँगै बैंकहरुले एटीएम सञ्चालन अवधि घटाउँदै जाँदा ग्राहकहरुले भने खल्तीमा राख्ने आफ्नो रकम बढाउँदै जान थालेका छन् । नेपाल राष्ट्र बैंकले खुला भएको भने पनि अझै पनि एउटा बैंकको रकम अर्को बैंकबाट झिक्न पाउने अवस्था विश्वस्त अवस्था छैन । अर्कोतर्फ एटीएम काउन्टर नै बन्द गर्न थालेपछि बचतकर्ताहरु दैनिक खर्च टार्ने रकम खल्तीमै होल्ड गर्न थालेका हुन् । यसले दशैंको समयमा थप अप्ठ्यारो पार्नसक्ने र दीर्घकालसम्म यस्तै अवस्था हुने हो भने बैंकिङ तरलतालाई समेत यसले प्रभाव पार्ने बैंकिङ क्षेत्रका सरोकारवालाहरु नै बताउँछन् ।

बैंकिङ सेवा पुर्याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र बैंक पुग्छन्ः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबे स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताएका छन् । पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बैंकिङ सेवा पुर्याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताए । उनले भने, “मुलुकका प्रत्येक स्थानीय तहमा बैंकको सेवा पुग्नैपर्छ, अब पुस मसान्तभित्र पुर्याइसक्नेछौँ ।” विसं १९९४ देखि २०७४ सालसम्म मुलुकमा पाँच हजार बैंक शाखा रहेकामा वर्तमान सरकारले नौ हजार ८५० पुर्याएको उनले जानकारी गराए । मन्त्री खतिवडाले बैंक, लद्युवित्त सहकारी, जुनसुकै वित्तीय संस्थालाई मात्रात्मकबाट गुणात्मकतामा लैजानुपर्नेमा जोड दिए । “सङ्ख्याको विस्तारलाई रुपान्तरण गरी सरकार जोडबलका साथ वित्तीय संस्था ‘मर्ज’ गर्ने विषयमा लागेको छ”, उनले भने । उनले १० वर्षसम्म सञ्चालन भई १० वटा पनि शाखा विस्तार गर्न नसक्ने बैंकले ग्रामीण भेगका जनतालाई सेवा दिन नसक्ने भएकाले तिनीहरुको औचित्य नभएको बताए । मन्त्री खतिवडाले नेपालसँग अब आफैँ वित्तीय सेवा हाक्नसक्ने सामथ्र्य भएको जानकारी गराए । उनले भने, “अब स्थानीय र प्रदेश तहमा वित्तीय सेवा परिचालन गर्न संयन्त्र बनाउने, कानून निर्माण, सङ्घीय संरचना अनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, बीमा ऐन र धितोपत्र ऐन संशोधनको प्रक्रियामा छन्, यसपछि वित्तीय प्रणालीमा निकै सुधार हुनेछ ।” मुलुकमा गरीबीको रेखामुनि रहेका करीब ११ लाख जनसङ्ख्यालाई स्वरोजगारी वा अन्य कुनै ज्याला व्यवसायमा संलग्न गराई अबका तीन वर्षमा शून्य बनाउने गरी सरकार लागेको उनले बताए । मन्त्री खतिवडाले ठूलो वित्तीय संस्था गाउँघर पुग्न नसक्दा मध्यम र साना व्यवसायीका लागि लघुवित्तीय संस्थाको अवधारणा ल्याएको स्मरण गराउँदै लघुवित्तीय मुनाफारहीत हुनुपर्नेमा जोड दिए । “लघुवित्तीय संस्थाले सामाजिक व्यवसायमा जोड दिई निश्चित नाफा लिनुपर्छ, अन्य सामाजिक काम ठान्नुपर्छ”, उनले भने । उनले सामुदायिक वन ऐनमा सङ्घीय सरकारले साल र खयरलाई समुदाय भन्दा बाहिर बिक्री गर्दा १० प्रतिशत कर लगाउने बोहक अन्य कुनै पनि कर नलगाएको र स्थानीय, प्रदेश तथा सङ्घमा कुनै प्रकारको दोहोरो कर नलगाइएको स्पष्ट पारे । पूर्वमन्त्री हरि पराजुली, प्रदेशसभा सदस्य चन्द्र लामा, नपाका उपप्रमुख गीता बञ्जारालगायतले संस्थाको प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष बाबुराम थापाले हाल १० जिल्लाका १६ स्थानमा तथा आगामी पाँच वर्षमा ४३ जिल्लामा ६० शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिए । रासस

संसदीय समितिले अनुगमन गर्यो कोरला नाका

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरला नाकाबारे छलफल भएको छ । संघीय संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काको अगुवाईमा प्रदेशका मुख्य पृथ्वी सुब्बा गुरुङसहितको उपस्थितिमा अन्तरक्रिया गरिएको हो । विकास समिति सभापति खड्काको नेतृत्वमा संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौंदेखि मुग्लिन हुँदै पोखरा–बेनी–जोमसोम–कोरला सडकको स्थलगत अनुगमन गरेको थियो । अनुगमनमा देखिएका समस्याहरुको निराकरणका उपायबारे अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा सभापति खड्काले देशको अर्थतन्त्र र विकासको मेरुदण्डका रुपमा रहेको बेनी–जोमसोम–कोरला सडकको निर्माण द्रुतगतिमा गरिनुपर्नेमा जोड दिईन् । उनले नेपाल चीन व्यापार र देशको पर्यटन प्रवद्र्धनमा समेत सो सडक महत्वपूर्ण रहेकाले चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिईन् । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले कोरला नाका पुग्ने सडक नै प्रदेशको मेरुदण्ड भएको बताए । उनले कोरला नाका पुग्ने सडक पूर्वाधार जति चाँडो निर्माण भयो त्यति नै चाँडो गण्डकी प्रदेशको समृद्धि सम्भव हुने पनि बताए । उनले सडक पूर्वाधारसँगै नाकामा भन्सार, सुरक्षा चेकजाँच लगायतका संरचना निर्माणमा समेत तदारुकता देखाउनुपर्ने बताए । उनले सडक र अन्य पूर्वाधार विकासमा गण्डकी प्रदेश सरकारले सबै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । नेपाल भ्रमण वर्ष अगावै सो सडक निर्माण सम्पन्न गराउने उद्देश्यसहित विकास तथा प्रविधि समितिले सडक अनुगमन गरेको जनाएको छ ।

एनआईसी एशियाको नयाँ शाखा अनामनगर र सौराहामा

काठमाडौँ । एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा सोमबारदेखि सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिका वडा नं. २९ अनामनगरस्थित अनामनगर शाखाकोे लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले उद्घाटन गरेका हुन् । त्यसैगरी सोमबारनै चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं. ६ स्थित सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका हुन् । यी शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहकहरुलाई बैंकिङ सेवा प्राप्त गर्न थप सहज हुने बैंकले विश्वास लिएको छ ।

हिमस्टारको ‘अजबको गजब’ योजना सार्वजनिक

काठमाडौँ । गोल्छा अर्गनाइजेशनको भगिनी कम्पनी हिम इलेकट्रोनिक्स प्रालिले दशैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा आकर्षक उपहारसहित ‘अजबको गजब’ योजना सार्वजनिक गरेको छ । यो अफर अन्तर्गतग्राहकहरुले हरेक हिमस्टार प्रोडक्ट हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा एसी लगायतको खरिदमा हात खाली नजाने योजना ल्याएको छ । ग्राहकहरुले उपहारमा हिमस्टारका ब्लेन्डर, मिक्स्चर, इलेक्ट्रिक किट्ली, ड्राइआइरन तथा स्टिम आइरन प्राप्त गर्न सक्नेछन् । हिम इलेक्ट्रोनिक्सले नेपाली बजारमा स्तरीय, स्टेट–अफ–आर्ट तथा अत्याधुनिक होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ । हिम इलेक्ट्रोनिक्स वर्षौंदेखि ग्राहकहरु माँझ विश्वाशीलो ब्राण्डको रुपमा स्थापना भएको छ र यसले निरन्तर ग्राहकहरुलाई उत्पादनदेखि सेल्स सर्भिस प्रदान गर्दै आइरहेको छ ।

एनर्जाइजरको पावरबैंक अब नेपाली बजारमा

काठमाडौँ । आईएमएस ग्रुपले एनर्जाइजरको पावरबैंक नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ । एनर्जाइजर, ब्याट्री, पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास् लाईटहरु र लालटिनको उत्पादन गर्ने विश्वको ठूलो निर्माता हो । एनर्जाइजरले निरन्तररुपमा टेक्नोलोजी नवप्रवर्तक भई पावर बैंक र वायरलेस चार्जिङ्गको उत्पादन गर्दै आएको छ । जसले मानिसको आज र भोलीको जीवन सरल पारेको छ । एनर्जाइजरसँग शक्तिशाली र पोर्टेवल दायराका पावर बैंकहरु छन् । जसले तपाईंको एन्ड्रोइड वा एप्पल स्मार्टफोन र अन्य विद्युतीय उपकरणहरु तुरुन्त चार्ज गर्नेछ । हाल कम्पनीले एनर्जाइजरको उत्पादनहरू स्मार्ट डोको मार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो र चाँडै नै देशभर मोबाइल फोन आउटलेटहरूमा उपलब्ध हुने आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले जनाएका छन् ।

सनराइज बैंकले बाल मन्दिरमा बाँड्यो राहत सामाग्री

काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरमा सहयोग सामाग्री वितरण कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु बच्छराज तातेड, दीपक नेपाल तथा शारदा शर्मा पुडासैनी, र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बैंकले बालबालिकाको लागी राशन सामाग्री तथा जाडो महिनाको लुगा करिब १ लाख पचास हजार बराबरको सामाग्री वितरण गरिएको हो ।

ज्योति विकास बैंकद्वारा ट्राफिक चिन्ह राख्न सहयोग

काठमाडौँ । ज्योति विकास बैंकले टोखा नगरपालिकाको टोखादेखि झोरकोमालुङसम्म ७०वटा ट्राफिक चिन्ह राख्न आर्थिक सहयोग प्रदान गरेको छ । टोखा नगरपालिका वडा नं २ द्वारा आयोजित जनचेतना कार्यक्रममा ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत उक्त सहयोग प्रदान गरेको हो । कार्यक्रमको प्रमुख आतिथि नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले र विशिष्ट अतिथिको रुपमा टोखा नगरपालिकाका मेयर प्रकाशअधिकारी, उपमेयर ज्ञानीमाया डङ्गोल तथा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली उपस्थित थिए । टोखा वडा नं २ का वडाध्यक्ष दीपकराज जोशीले उक्त कार्यक्रमको सभापतित्व ग्रहण गरेका थिए ।