
काठमाडौँ । केहि वर्ष अघिसम्म पनि सम्पन्न वर्गले सोखका रुपमा प्रयोग गर्ने गरेको कार वा बाइक आज भने सबैको आवश्यकता बनिसकेको छ । यहि आवश्यकता बनिसकेको साधन कार वा बाइकको प्रयोग राम्रोसँग गर्न नजान्नाले गर्दा झन्झट व्यहोर्नेहरुको संख्या पनि दिनहुँ बढ्दो छ ।
सामान्यतया चालकले सवारी चलाउँदा ट्राफिक नियमको पालना गरे पनि केहि सानातिना कुराहरुतर्फ ध्यान दिन नसक्दा भने भयङ्कर दुर्घटनाको शिकार पनि बन्न सक्दछन् । यसै तथ्यलाई मध्यनजर गर्दै आज हामीले सुरुवाती चालकले सुरक्षित कार ड्राइभिङ्गका लागि सम्झनै पर्ने ८ कुराहरुलाई ‘मन्त्र’ का रुपमा प्रस्तुत गरेका छौं । यस्ता छन् ८ मन्त्र:
१. सिकारु चालकले पहिले आफ्नो कारसँग राम्ररी परिचित हुनुपर्छ । आफ्नो कारका हरेक पार्टस्हरु जस्तै–क्लच, गियर, ब्रेक, स्टेयरिङ्ग इत्यादिको प्रयोग सही रुपमा कसरी गर्ने भन्ने बारेमा राम्रोसँग ज्ञान राख्नुपर्ने हुन्छ ।
२. गाडीलाई शाखा सडकबाट मूल सडकमा निकाल्ने बेलामा टर्न सिग्नलको प्रयोग गर्नुपर्दछ । यसो गर्नाले मूल सडकमा भएका सवारी चालकले तपाईं कुन दिशातर्फ मोडिदै हुनुहुन्छ भन्ने कुरावारे पहिलेनै जानकारी पाउनेछन्, जसका कारण सम्भावित खतरा पनि टर्न सक्दछ ।
३. गाडी चलाउँदा मादक पदार्थको सेवन गर्नै हुँदैन । रिस उठेको वेलामा अथवा तनावमा भएको बेला पनि गाडी नचलाउनु नै उपयुक्त हुन्छ । यस्तो बेलामा चालकको ध्यान पूर्णरुपमा गाडीमा केन्द्रित नहुने भएकोले दुर्घटना हुने सम्भावना अधिक रहन्छ ।
४. चालकले आफ्नो आँखालाई सडकमा केन्द्रित नगर्नु भनेको ठूलो दुर्घटना निम्त्याउनु हो । ड्राइभिङ्ग गरेको बेला मोबाइल चलाउने, स्पिडोमिटरमा हेर्ने, सडक छेउका दृष्यहरु हेर्दै कुदाउने गर्नु हुँदैन ।
५. आफ्नो गाडीसँग पहिला परिचित नभई द्रुत गतिमा चलाउँछु भनेर सोच्नु हुँदेन । त्यसैले हाइवेमा होस् अथवा सीटी एरियामा, गाडीमा पूरा बानी नपरुन्जेलसम्म बिस्तारै कुदाउनु पर्दछ ।
६. सिटिङ्ग पोजिशन कम्फर्टेवल भएन भने चालकले आफ्नो पूरा ध्यान गाडीमा केन्द्रित गर्न सक्दैन र धेरै अप्ठ्याराहरु झेल्नु पर्ने हुन्छ । त्यसैले सिटलाई चालकले सवै दिशामा देख्न सक्ने गरी र एक्सलेरेटर, ब्रेक, क्लच पेडल्स र गियरसम्म राम्रो पहुँच हुने गरी एडजस्ट गर्नुपर्ने हुन्छ ।
७. गाडी चलाउन थालेको शुरुवाती अवस्थामा ब्रेकिङ्गमा राम्रोसँग बानी परिएको हुँदैन । त्यसैले यस्तो अवस्थामा गाडी चलाउँदा अन्य सवारीहरुसँग केहि बढी नै दूरी राख्नुपर्दछ ।
८. कारको स्टेयरिङ्गमाथि चालकको राम्रो नियन्त्रण हुनु जरुरी हुन्छ । विज्ञहरुका अनुसार ‘नाइन ओ क्लक’ र ‘थ्री ओ क्लक’ पोजिशनमा स्टेयरिङ्ग समाउनुलाई उत्कृष्ट मानिन्छ । यो पोजिशनका अनुसार दायाँ हातले स्टेयरिङ्गको पुरै दायाँतर्फ र बायाँ हातले स्टेयरिङ्गको पूरै बायाँतर्फ समाउनु हो ।