प्रतितोला ८ सयले घट्यो सुन, ६९ हजार २ सयमा कारोबार
काठमाडौं । मंगलबार सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँले कारोबार भइरहेको छ । सोमबार प्रतितोला ७० हजारमा बिक्री भएको सुन ८ सय रुपैयाँ घटेर सो मूल्यमा विक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार प्रतितोला ६९ हजार ७ सयमा बिक्री भएको तेजावी सुन मंगलबार ६८ हजार ९ सयमा बिक्री भईरहेको छ । भने चाँदी सोमबारको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेर ८ सय २५ रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
दशैंः खसीबोका र भेडाच्याङ्ग्राको ब्यापार(फोटो फिचर)
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा पहाडी क्षेत्रबाट बिक्रीका लागि ल्याइएका खसी र बोका । दशैं सुरु भएसँगै सप्तरीको राजविराज नगरपालिका–४ मा सोमबार लागेको हटियामा खसी वोकालगायत बिक्रिबितरणका लागि व्यापारीहरु ग्राहकको प्रतीक्षा गर्दै । भक्तपुरको उपभोक्ताका लागि प्रतिकिलो ७८० रुपैयामा च्याङ्ग्रा बिक्री भइरहेको छ । गत वर्षभन्दा यस वर्ष मूल्य वृद्धि भएको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत काठमाडौँमा बिक्री गर्न ल्याएको खसी, बोका तथा च्याङ्ग्रा । दz}+लाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट म्याग्दी सदरमुकाम बेनीमा ल्याइएका भेडाच्याङ्ग्रा । दशैँ तिहारलाई लक्षित गरी मुस्ताङ जिल्लाबाट बिक्रीका लागि बागलुङ बजारतर्फ ल्याइएका च्याङ्ग्रा । तश्वीरहरुः रासस ।
पेट्रोल र डिजेल भारतमाभन्दा नेपालमा सस्तो, ‘भारतीय सवारी पनि यतै हाल्छन् इन्धन’
काठमाडौं । नेपालीले उपभोग गर्ने धैरै बस्तुहरु विदेशबाट आयात हुने गरेको छ । आयातित वस्तु र सामाग्री नेपालमा विदेशको मूल्यभन्दा धेरै मूल्य लिएर बिक्री वितरण हुन्छ । तर, नेपाल आयल निगमले भारतबाट भित्रने पेट्रोलियम पदार्थ भने त्यहाँको मूल्य भन्दा सस्तोमा बिक्री वितरण गर्दै आएको छ । भारतमा भन्दा नेपालमा पेट्रोलमा १३ रुपैयाँ ५९ पैसा र डिजेलमा १४ रुपैया ४४ पैसा प्रतिलिटर सस्तो मूल्य रहेको छ । नेपालमा पेट्रोल मूल्य प्रतिलिटर १०५ रुपैयाँ ५० पैसा छ भने भारतमा ११९ रुपैयाँ ९ पैसा पर्छ । त्यस्तै नेपालमा डिजेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ ५० पैसा छ भने भारतमा १०७ रुपैयाँ ९४ पैसा रहेको छ । नेपाल आयल निगमले भारतबाट नै तेल आयात गरेर भारतकोभन्दा सस्तोमा बिक्री वितरण गरिरहेको छ । त्यसकारण नेपाली नाका आसपास सञ्चालन हुने र नेपालमा आएका मौका छोपी भारतीय सवारी साधनहरुले समेत यतैबाट तेल हालेर जाने गरेका छन् । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भारतबाट नै तेल ल्याएर भारतको भन्दा सस्तोमा बिक्री गरिरहेको बताए । भारतमा तेलको बजार ठूलो छ, भारतले हामीलाई तेल दिंंदा ढुवानी खर्च जोड्दैन, त्यसकारण पनि नेपालमा त्यहाँ भन्दा सस्तो भएको हो–कार्यकारी निर्देशक पौडेलले भने । केही समय अघिसम्म हामीले ट्याङ्कर लगेर तेल ल्याउने गरेका थियौँं । अहिले पाइपलाईनबाट तेल आइरहेको छ । इन्डियन आयल कर्पोरेसनका कर्मचारीको खर्च नजोडी तेल दिएकोले पनि नेपालमा तेलको मूल्य सस्तो भएको हो । कार्यकारी निर्देशक पौडेलले भने–‘हामीले नै कच्चा तेल ल्याएर प्रसोधन गर्ने हो भने पनि हामीलाई मंहगो मूल्य पर्न जान्छ ।’
दशैंको टीकाको दिन पनि राष्ट्रिय बाणिज्य बैंकका २ शाखा सञ्चालन हुने
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले दशैंको टीकाको दिन असोज २१ गते पनि बैंकिङ सेवा दिने भएको छ । टीकाको दिन समेत काठमाडौँ उपत्यका भित्रको शाखा कार्यालय बानेश्वर र उपत्यका बाहिरको शाखा महेन्द्रपुल खुला राखी नगद जम्मा र चेक भुक्तानी गरी ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै दशैं बिदाको अन्य दिन असोज १८, १९, २० र २२ गते काठमाडौँ उपत्यकाका ६ र उपत्यका बाहिरका १६ शाखाबाट बैंकिङ सेवा दिन जनाएको छ । ती दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकिङ सेवा सुचारु हुने बैंकले जनाएको छ । बिदाको दिन काठमाडौँ उपत्यका भित्र बानेश्वर, भोटाहिटी, महाराजगञ्ज, कलंकी, ललितपुर र त्रिवि विमानस्थाल शाखामा खुला हुने भने उपत्यका बाहिरका विर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर शाखा खुला रहने छन् ।
बजारमा सुजुकीका ६ नयाँ बाइक, आइतबारदेखि एक्सचेञ्ज क्याम्प शुरु
काठमाडौँ । जापनिज मोटरसाइकल उत्पादक कम्पनी सुजुकी टू व्हीलर्सको नेपालका लागि आधिकारिक विक्रेता भीजी अटोमोबाइल्स प्रालिले नेपालमा सुजुकी ब्राण्डका ११३ सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकल र स्कुटरहरु विक्री गर्दै आइरहेको छ । कम्पनीले जनाए अनुसार सुजुकीका एकलाख ७९ हजार ९०० रुपैयाँ देखि लिएर चार लाख ९६ हजार ९०० रुपैयाँसम्म मूल्य पर्ने मोटरसाइकल तथा स्कुटरहरु नेपाली बजारमा बिक्री हुँदै आइरहेका छन् । भीजी सुजुकीले नेपाली बजारमा भरखरै मात्र जिक्सर एसएफ २५० मोटोजिपि, जिक्सर एसएफ २५०, जिक्सर २५०, जिक्सर एसएफ मोटोजिपि, जिक्सर एसएफ र जिक्सर गरी ६ ओटा नयाँ मोडेलका बाइकहरु भित्र्याएको छ, जसले बजारमा राम्रो पकड जमाउने अनुमान पनि गरिएको छ । कम्पनीले दशैं र तिहारको उपलक्ष्यमा फेस्टिवल अफर पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकहरुले सुजुकीको कुनैपनि मोटरसाइकल तथा स्कुटरको खरीदमा रु. १० हजार नगद छुट पाउनेछन् भने बम्पर पुरस्कारको रुपमा जिक्सर एसएफ २५० जित्ने मौका समेत पाउनेछन् । कम्पनीले यहि असोज १२ गते देखि १७ गतेसम्मका लागि एक्सचेञ्ज क्याम्प सञ्चालन गरेको छ जसअन्तर्गत कुनैपनि कम्पनीको पुरानो बाइक अथवा स्कुटरलाई विश्वप्रसिद्ध जापनिज ब्राण्ड सुजुकीको नयाँ बाइक वा स्कुटरसँग साट्न सकिनेछ । एक्सचेञ्ज क्याम्पमा कुनैपनि पुरानो बाइक अथवा स्कुटरको बजारमूल्य भन्दा रु. १५,००० थप गरी मूल्याङ्कन गरिनेछ भने जस्तोसुकै कण्डिसनको बाइक या स्कुटर भएतापनि सो को न्यूनतम मूल्याङ्कन रु. ३०,००० गरिनेछ । कम्पनीले जनाए अनुसार यो योजना नेपाल अधिराज्यभरिकै सुजुकी शोरुममा लागू गरिएको छ ।
कालीमाटी बजारमै प्याज प्रतिकिलो रु १३५, विभागद्वारा गोदाममा छापा
काठमाडौँ । नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ । विभागको अनुगमन टोलीले आज कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो । अनुगमनका क्रममा आइतबारको तुलनामा सोमबार प्याजको मूल्य बढाएर बिक्री गरेको भेटिएको थियो । विभागले ती प्याज व्यापारीको परिचय सार्वजनिक गरेको छैन । व्यापारीले मौज्दातमै रहेको प्याजको मूल्य बढाएर बिक्री गरेको हो वा उनको खरीद मूल्य नै बढी परेको हो भन्नेमा अनुसन्धान भइरहेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । अनुगमन टोलीले खरीद, बिक्री तथा मौज्दात विवरणसहित ती व्यापारीलाई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अस्वभाविकरुपमा वृद्धि भएको प्याजको भाउले जनजीवन प्रभावित पारेको पाइएपछि विभागको टोली अनुगमनमा निस्किएको हो । अनुगमनका क्रममा व्यापारीले अवरोध गर्ने आशङ्कामा विभागको टोली ठूलो सङ्ख्यामा सुरक्षाकर्मी लिएर कालीमाटीस्थित तरकारी बजार पुगेको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको भाउ अस्वभाविकरुपमा वृद्धि भएको छ । केही दिनअधिसम्म प्रतिकिलो रु १०० मा बिक्री भइरहेको प्याजको खुद्रा मूल्य आज कालीमाटी बजारमा रु १३५ प्रतिकिलो पुगेको छ । कालीमाटीस्थित तरकारी बजारमा आज प्याजको थोक मूल्य औसत प्रतिकिलो रु ११५ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । दसैँको मुखमा प्याजको भाउ एकाएक वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् । आपूर्ति सहज बनाउन चेम्बरको आग्रह नेपाल चेम्बर अफ कमर्शले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनमा देखिएको असहज अवस्था हटाउन आग्रह गरेको छ । ठूला गाडीको प्रवेशमा रोक लगाइएसँगै राजधानीमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या भएको ठहर गर्दै चेम्बरले तत्काल आपूर्ति व्यवस्थामा ध्यान दिई ढुवानीका साधनलाई काठमाडौँ प्रवेशमा सहज वातावरण बनाउन अनुरोध गरेको छ । राजधानी प्रवेशको मुख्य नाका नागढुङ्गा क्षेत्रमा अत्यधिक ट्राफिक जाम भएको भन्दै सरकारले तत्कालका लागि छ चक्केभन्दा ठूला ट्रकको काठमाडौँ प्रवेशमा रोक लगाएको छ । आयातित वस्तुमा कारोवार मूल्यलाई मान्यता नदिइएको कारणले पनि मूल्यवृद्धि हुन पुगेको चेम्बरले जनाएको छ । चाडबाडका बेलामा मात्र गरिने बजार अनुगमन मूल्यवृद्धिको प्रमुख कारक बनेको चेम्बरको निष्कर्ष रहेको छ ।
बजाजको ग्राण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा, जस्ताेसुकै बाइक साट्न सकिने
काठमाडौं । नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले “बजाज ग्राण्ड एक्सचेन्ज मेला” भृकुटीमण्डपमा सञ्चालन गरेको छ । उक्त मेलामा ग्राहकहरुले आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् । असोज १२ गतेदेखि शुरु भएको यो मेला असोज १६ गतेसम्म लागू हुनेछ । कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३०,००० सम्मको मूल्याकंन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५,००० प्रदान गर्नेछ । ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निःशुल्क हेल्मेट, बाईक कबर, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने छन् । बजाजको ग्राण्ड एक्सचेन्ज मेलासँगै टेस्ट राइड पनि संचालन भइरहेको छ र ग्राहकहरुले हरेक टेस्ट राइडमा आकर्षक उपहारहरु पनि पाउनेछन् । ग्राहकहरुले यो बजाजको ग्राण्ड एक्सचेन्ज मेलामा पुरानो बाइकबाट नयाँमा अप्ग्रेड गर्न सक्नेछन् ।
दशैँमा हवाई यात्रुलाई टिकट पाउनै सास्ती, वायुसेवा कम्पनी भन्छन्-‘दशैँलाई टिकट सकियो’
काठमाडौँ । वर्षेनी दशैँका बेला यात्रुलाई हवाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन् । महँगो टिकटसमेत पाउन यात्रुलाई मुस्किल हुन्छ । हरेक वर्ष दशैँँ आउनासाथ राजधानी काठमाडौँलाई कर्मथलो बनाएका लाखौँ नागरिक घर जाने चटारोमा हुन्छन् । यात्रुका लागि घर फर्कन दुई विकल्प छन् । हवाई र सडक यातायात प्रयोग गरी यात्रु आ–आफ्नो गन्तव्यतर्फ लाग्छन् । विगत झँै यस वर्ष पनि दशैँमा घर फर्कन यात्रुले उही सास्ती खेप्नुपरेको छ । सबैजसो वायुसेवा कम्पनीले दशैँको टिकट सकिएको बताएका छन् । यात्रुले महँगो शुल्क तिरेर पनि टिकट पाउन सकेका छैनन् । वायुसेवा कम्पनीले दशैँको मुखमा हरेक वर्ष झण्डै दोब्बर हवाई भाडा बढाउँदै आएका छन् । सडक पूर्वाधार अभावका कारण यात्रुले हवाई यात्रा गर्नुपर्ने बाध्यता छ । महङ्गो भाडा तिरेर भए पनि सहज र आरामदायी यात्राका लागि यात्रु लालायित हुन्छन् । उनीहरुले दशैँमा हरेक वर्ष पीडा भोग्नुपर्छ । अहिले पनि दशैँका लागि हवाईजहाजको टिकट पाउन कठिन भएको छ । पाए पनि दोब्बर भाडा तिर्नुपर्ने बाध्यता छ । पोखरा जान सामान्य अवस्थामा रु एक हजार ८०० सम्म भाडा तिर्नुपर्छ । अहिले दशैँमा रु पाँच हजारभन्दा बढी भाडा तिर्नुपरेको छ । यस्तै विराटनगरका लागि हवाई भाडा अन्य बेला रु तीन हजार २०० सम्म पर्छ । यात्रुले अहिले रु सात हजारभन्दा बढी भाडा तिर्दै आएका छन् । धनगढी र नेपालगञ्ज गन्तव्यमा जान ठिक्क परेका एक यात्रुले भने, “वायुसेवा कम्पनीलाई अहिले दशैँ लागेको छ, बसको टिकट पाउन नसकेपछि रु आठ हजार तिरेर जहाजको टिकट किनेँ ।” अहिले यात्रुले धनगढीका लागि रु १२ हजारभन्दा बढी भाडा तिर्नु परिरहेको छ । नेपाल वायुसेवा निगमको जहाजमा भने धनगढीका लागि रु पाँच हजार ७०० मा टिकट खरीद गरेको अर्का एक यात्रुले बताउनुभयो । निगमले आफ्नो नियमित भाडादरमै गन्तव्यमा उडान भर्दै आएको छ । निगमका सहायक प्रवक्ता सुलेख मिश्रले दशैँमा पनि निगमले नियमित भाडादरमै टिकट बिक्री गरिरहेको जानकारी दिए । यात्रुलाई मात्र हैन वायुसेवा कम्पनीलाई पनि कम्ती चुनौती छैन । भाडा बढाएरै भए पनि उडान व्यवस्थापन र मागअनुसारको सेवा दिन दशैँका बेला हम्मेहम्मे पर्छ । एक वायुसेवा कम्पनीका सञ्चालकले भने, “हामीलाई दशैँमा सधैँ भाडा बढायो भन्ने आरोप लाग्छ, हाम्रो बाध्यता कसैले बझ्दैन् । सस्तो, महङ्गोको त कुरै छैन, टिकट पाउन कठिन छ, वायुयानको विविध खर्चको कुरा गरी साध्य छैन ।” वायुसेवा कम्पनी भन्छन्ः दशैँलाई टिकट सकियो दशैँ आउनु एक महिनाअघि देखि नै हवाईजहाजको टिकट बुकिङ हुन्छ । यात्रुलाई घटस्थापनापछिका दिनमा धेरै टिकट चाहिन्छ । टिकट पाउन मुस्किल हुन्छ । पहिल्यै टिकट बुकिङ सकिएको हुन्छ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले दशैँको हवाई टिकट सबै सकिएको जनाएको छ । यो समय उडान हुने प्रायः सबै गन्तव्यमा हवाई यात्रुको चाप छ । यतिले आफ्ना पाँच एटिआर र पाँच साना गरी १० तथा भगिनी संस्था तारा एयरका छ जहाजबाट आन्तरिक उडान भर्दै आएको छ । भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत गन्तव्यमा हवाईजहाजको टिकट सकिएको छ । अरू बेला पनि व्यस्त रहने यी गन्तव्यमा दशैँका बेला हरेक वर्ष हवाई यात्रुको चाप हुने गर्छ । निजी क्षेत्रको अर्को ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पनि दशैँका लागि अधिकांश गन्तव्यमा टिकट बुकिङ भइसकेको जनाएको छ । कम्पनीका अनुसार तुम्लिङ्टार र सुर्खेत गन्तव्यमा एक साताअघि नै बुकिङ पूरा भइसकेको छ भने बाँकी गन्तव्यमा ९० प्रतिशत बुकिङ भइसकेको छ । बुद्ध एयरसँग आन्तरिक उडानमा रहेका १३ जहाजमध्ये ११ एटिआर र दुई साना जहाज छन् । आन्तरिक उडानको प्रतिस्पर्धी कम्पनी श्री एयरलाइन्सको पनि दशैँका लागि टिकट सकिएको छ । कम्पनीसँग आन्तरिक उडानका लागि ७० सिट क्षमताका दुई तथा ५० सिट क्षमताका दुई जहाज छन् । त्यस्तै आन्तरिक उडानका सौर्य, सीता र सिम्रिक एयरलाइन्सको पनि दशैँका लागि टिकट बुकिङ सकिएको छ । दशैँमा यात्रुको अत्यधिक चाप बढेकाले उडान व्यवस्थापन तथा थप विस्तार गर्न लागिपरेको हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन नेपाल वायुसेवा सञ्चालक सङ्घले जनाएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले पछिल्लो थानकोट–नागढुङ्गा सडक जामका कारण वायुसेवा कम्पनीलाई असाध्यै दबाब परेको भन्दै विमान कम्पनीले गन्तव्यमा उडान सङ्ख्या थप्ने तयारी गरेको छ । दशैँलाई लक्ष्य गरी अहिले सबै वायुसेवा प्रदायक कम्पनीको नियमित उडानमा शत्प्रतिशत टिकट बुकिङ भइसकेको छ । यात्रुको चापलाई मध्यनजर गर्दै उडान सङ्ख्या वृद्धि गरिने जनाइएको छ । सङ्घका अनुसार आन्तरिक उडानमा १० हेलिकोप्टर कम्पनीसहित १८ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । बुद्धएयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, सीता एयर, सिम्रिक एयरलाइन्स, समिट एयर र तारा एयरले आन्तरिक उडान भर्दै आएका छन् । रासस