विकासन्युज

एनआरएनएमा नयाँ नेतृत्वका लागि बिहान १० बजेदेखि मतदान, ४२ पदमा ७६ को उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि बुधबार राति स्थगित भएको निर्वाचन आज बिहान १० बजेदेखि हुने भएको छ । एनआरएनएका केन्द्रीय पदाधिकारीका लागि बुधबार राति ७ बजेदेखि मतदान गर्ने भनिएपनि भोटिङ मेशिन बिग्रिएकाले निर्वाचन रोकिएको जनाइएको छ । विद्युतीय मेसिनबाट हुने निर्वाचनमा मतदान भएको एक घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचभन समितिले जनाएको छ । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । सङ्घको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको बिहीबारनै प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने बताइएको छ । ४२ पदका लागि ७६ को उम्मेदवारी यता, गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए । मङ्गलबार साँझदेखि बुधबार अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

एनआरएनएकाे कोषाध्यक्षमा महेशकुमार श्रेष्ठलाई सापकोटाकाे समर्थन

काठमाडौ। गैरआवासीय नेपालीहरूको छाता संगठन एनआरएनएको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनका लागि कोषाध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठलाई अर्का प्रतिस्पर्धी साेम सापकाेटाले समर्थन गरेका छन् । कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका डेनमार्क निवासी सोम सापकोटाले आफ्नाे उम्मेदवारी फिर्ता लिदै श्रेष्ठलाइ समर्थन गरेका हुन् । शनिवारदेखि शुरू भएको गैर आवासीय नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि निर्वाचन भइरहेको छ । नयाँ नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा भएको छ र सहमति भएपछि फिर्ता हुने क्रम पनि जारी देखिन्छ । एनआरएनकाे नयाँँ कार्यसमितिकाे लागि आजै मतदान हुने कार्यक्रम रहेकाे छ ।

बढ्दै छ हुण्डाईकाे क्रेटा क्रेज, एसएक्सओ किने फाइदै फाइदा

काठमाडाैं । पछिल्लाे समय नेपालमा हुण्डाइकाे क्रेटा केज छ ।  हुण्डाईको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली बजारमा हुण्डाई क्रेटाको विभिन्न भेरियन्टहरु बिक्री वितरण गर्दै आइरहेको छ । त्यस मध्ये धेरै अत्याधुनिक फिचरहरु रहेको क्रेटा एसयुभिको टप भेरियन्ट ‘एसएक्सओ’ को मूल्य नेपाली बजारमा रु. ६१ लाख ९६ हजार तोकिएको छ । हुण्डाई क्रेटा एसएक्सओको सेफ्टि फिचरहरुको रुपमा ड्राइभर र पेसेन्जर एयरब्याग्स, एबीएस सिस्टम, ईबीडी सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, भेइकल स्ट्याबिलिटी म्यानेजमेन्ट कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लक लगायत छन् भने कम्फर्ट फिचरका रुपमा अटोमेटिक एयर कण्डिश्नर, हिटर, फ्रन्ट र रियर आर्मरेस्ट, क्लच फूटरेष्ट, किलेस इन्ट्री, १२ भोल्टको पावर आउटलेट, रियर पार्किङ्ग क्यामेरा, हाइट एडजस्ट गर्न मिल्ने ड्राइभर सिट लगायत छन् । त्यसैगरी, यस कारमा अडियो तथा भिडियो दुवै डिस्प्ले हुने १७.७७ सेन्टिमिटरको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ४ ओटा स्पिकरहरु, आउटसाइड रियर भ्यू मिरर्स र सबै आवश्यक जानकारी डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट क्लष्टरलाई अन्य फिचर्सका रुपमा समावेश गरिएको छ । यस कारमा प्रयोग भएको १५९१ सीसी पेट्रोल इञ्जिनले १२३ पिएसको पावर र २६० एनएमको टर्क प्रोड्युस गर्छ । त्यसैगरी ६–स्पिड गियरबक्स दिइएको यस कारले १९.६७ केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको फ्यूल ट्याङ्क क्यापासिटि ५५ लिटर रहेको छ भने यसको अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ । कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यस कारको खरिदमा रु. एक लाख ५० हजार छुट दिइएको छ । त्यसैगरी अन्य अफरहरुको रुपमा स्क्रयाच कुपन मार्फत २० हजारदेखि एक लाख रूपैयाँसम्मको थप छुटका साथै एक वर्षको इन्स्योरेन्स, यस आर्थिक वर्षको कर चुक्ता, ४ वर्षको फ्रि सर्भिसिङ्ग र ३ वर्षको वारेन्टीको व्यवस्था समेत गरिएको छ ।

एनआईसी एशियाका ग्राहकलाई समितिभेज हस्पिटल थाइल्याण्डमा ५ प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र समितिभेज हस्पिटल, थाइल्याण्डबीच बैंकका भीषा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई समितिभेज हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५% छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेस प्रालिको तर्फबाट कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

६१ प्रतिशत जनसंख्यामा पुग्यो बैंकिङ पहुँच, २ वर्षमा ४४३ बैंक शाखा थपिए

काठमाडौं । देशमा संघीयता कार्यान्वयनमा गएसँगै बैकिङ पहुँच बढ्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हालको २ करोड ९६ लाख नौ हजार ६ सय २३ जनसंख्यामध्ये ६०.९ प्रतिशतमा बैकिङ पहुँच पुगेको हो । सो तथ्यांकले एक करोड ८० लाख ३२ हजार २ सय ६० जनसंख्याको निक्षेप खाता संचालन रहेको देखाएको छ । देशमा २८ बाणिज्य बैंकका आठ हजार आठ सय ५ शाखा संचालनमा रहेका छन् । औसतमा ३ हजार ३ सय ६३ जनाले एक बैंक शाखाबाट सेवा पाइरहेको तथ्यांकमा उल्लेख गरिएको छ । अझै एक करोड १५ लाख ७७ हजार ३ सय ६३ जनसंख्या वाणिज्य बैंकको सेवा बाहिर रहेका छन् । सबै स्थानीय तहमा कम्तीमा पनि एक बैंक शाखा पुर्याउने सरकारी नीति अनुरुप २०७६ मा बैंकिङ शाखा र पहुँच दुबै बढेको हो । हालसम्म ७ सय ३९ स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकको नीति लिएको वर्ष २०७४ असार मसान्तसम्म जम्मा २९६ स्थानीय तहमा मात्रै बैंक शाखा पुगेकोे थियो । २ वर्षको अवधिमा ४ सय ४३ स्थानीय तहमा बैंक शाखा विस्तार भएको छ । बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार हुँदै जाँदा वित्तीय पहुँच गर्ने जनसंख्या पनि बढ्दै गएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘सरकारले लिएको नीति अनुरुप वित्तीय क्षेत्रमा आम नागरिकको पहुँच बढ्दै गएको छ,’ उनले भने ‘अबको केही वर्षमा सबै नेपालीले वित्तीय सेवा पाउने छन् ।’ उनले भने ‘नेपालमा वित्तीय पहुँच बढ्दै गएको छ,’ उनले भने ‘बैंक तथा वित्तीय संस्थाहरूको संख्यात्मक वृद्धिसँगै प्रविधिको प्रयोग तीव्र रुपमा बढ्दै गएको हो ।’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोलेको आधारमा बैंकिङ पहुँच मापन गरेको हो । २०७६ जेठ मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूमा स्वदेशी र विदेशी गरी कुल दुई करोड ७८ लाख ६७ हजार अर्थात कुल जनसंख्याको ९४.१ प्रतिशत निक्षेप खाता रहेको छ । एक व्यक्तिको एक निक्षेप खाता र विदेशी नागरिकको खाता हटाउँदा जम्मा एक करोड ८० लाख बचत खाता हुन आएको राष्ट्रले सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचको स्थिति’ प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल बैंक तथा वित्तीय संस्थाको सहित हिसाव गर्दा भने प्रतिशाखा तीन हजार ३ सय पुगेको छ ।

‘माइती क्याफे’ को ५१ प्रतिशत नाफा माइती नेपाललाई, अधिकांश कर्मचारी ‘चेली’

काठमाडौं । राजधानीको केन्द्रविन्दु नयाँ बानेश्वर चोकमा अलि फरक खालको क्याफे खुलेको छ ।  जुन ६ महिना अघि मात्र खुलेको हो । फरक खालको उद्देश्यका साथ सञ्चालित क्याफे हो ‘माइती क्याफे’ । जहाँ अधिकांश कर्मचारीहरु महिला छन् । माइती नेपाल फाउडेसन, फ्रि अ गल, आफ्नो नेपाल डटकमको सहकार्यमा क्याफे सञ्चालनमा आएका हो । उक्त क्याफे अरु क्याफेको तुलनामा सस्तो छ । क्याफे भित्रको दृश्य तथा डेकुरेशनले जो कोही ग्राहकको मनमा सकारात्मक सोच उत्पन्न गराउँछ र सुरक्षित महसुस गर्न सकिन्छ । माइती क्याफे खास उद्देश्य के हो त ? भन्ने विकासन्यूजको प्रश्नमा संस्थाका ब्यवस्थापक उत्कर्ष श्रेष्ठले चेलिबेटी बेचबिखन र महिला हिंसा विरुद्ध सक्रिय माईती नेपाल नामक संस्थालाई सहयोग गर्नु माइती क्याफेको प्रमुख उद्देश्य रहेको बताए । सो क्याफेबाट प्राप्त नाफाको ५१ प्रतिशत रकम माइती नेपाललाई र बाँकी रहेको ४९ प्रतिशत रकम व्यवस्थापन तथा अन्य सामाजिक कामका लागि खर्च गर्ने व्यवस्थापक श्रेष्ठले जानकारी दिए । माइती नेपाललाई दातामै निर्भर रहनु पर्ने बाध्यता न्यूनिकरण गर्ने अपेक्षाका साथ दिगोपनका लागि सहयोगीको रुपमा क्याफे खोलिएको उनले बताए । माइती नेपालमा आश्रय लिएर बसेका चेलीहरुलाई क्याफेमा काम गलाएर उनीहरुको आत्मबल बढाउने गरिएको छ । क्याफेका प्रमुख सञ्चालक समिर पन्थी हुन् । लामो समयदेखि अमेरिकामा व्यवसाय गर्दै आएका युवा उद्यमी पन्थी एक अभियन्ता हुन् । उप्रेन्द्रबहादुर श्रेष्ठ, प्रविन शम्शेर राणा र मनिष कोइरालाको लगानीमा ‘माइती क्याफे’मा सञ्चालन भएको हो । साँढे दुई करोडको लागतमा ‘माइती क्याफे’ सञ्चालनमा आएको हो ।

२० वर्षदेखि गिट्टी कुट्ने एकजोडीलाई आएन दशैं, महिना भरिको कमाइ ८ हजार रुपैयाँ

बझाङ । असोज २१ गते बिहानैदेखि महान पर्व दशैं मनाउन मानिसहरू घरमा अभ्यस्त थिए । कोही महान पर्व दशैंका टिका जमरा लगाउँदै, कोही दशैंको खुसियालीमा पिङ खेल्दै, कोही साथीभाइहरूसँग रमाइलो गर्दै त कोही वर्षौंदेखि भेटघाट नभएका आफन्तजनहरूसँग भोलाकुसारी गर्दै दशैं मनाउन व्यस्त देखिन्थे । बिहानीको समय । सूर्यको किरणले पनि दशैं आएको गज्जवै सञ्चार गरिरहेको थियो । बझाङ चैनपुरका चारै तर्फका पहाडहरूबाट सूर्यको चमत्कारिक किरणहरूको आगवमनले दशैं आएको भान जोकोहीले पनि महशुस गरेको हुनुपर्छ । यहि माहोलमा बिहानै बाउली खोलाको छेउमा गिट्टी कुट्न एकोहोरो सुरमा थिए जलबिर नेपाली र उनकी श्रीमती बिमा नेपाली । दशैंलाई धेरैले मिठो–मिठो खाने र राम्रो लगाउने पर्वका रुपमा पनि चिन्ने गरिन्छ । वर्षौंदेखि भेटघाट नभएका आफन्तजनहरूसँग मिलन गर्ने पर्व पनि हो दशैं । तर यहि दशैंको माहोलमा बिहानै सुनशान बाउली खोलाको किनारमा बृद्ध बिमल नेपालीको परिवारले गिट्टी कुटेको दृश्य देख्ने जोकोहीको पनि आँखा रसाएको अवश्य हुनु पर्छ । यहि दृश्यले पंक्तिकारलाई पनि यो विषयमा बुझ्न उनी तर्फ तान्यो । दशैंको दिन पनि गिट्टी कुट्दै ? दशैं मनाउनु भएन ? बिमल नेपालीलाई पंक्तिकारको पहिलो जिज्ञासा थियो यो । पंक्तिकारको पहिलो जिज्ञासा सकिन नपाउँदै बिमा नेपाली बोलिन् – जसको कुनै आफन्त नै छैनन्, जोसँग एक छाक टार्न गाँस छैन, उसलाई के को दशैं ? प्रश्नमा प्रतिप्रश्न गर्दै पंक्तिकारलाई उनले भावविभोर बनाईन् । ‘विगत ३० वर्षदेखि राम्रोसँग चाँडवाड मनाउन पाएका छैनौं’ बिमलले भने, गिट्टी कुट्न शुरु गरेको पनि ३० वर्ष भयो ।’ घर रोल्पा हो, उनले थपे, संकटकालमा धेरै दु.ख पाएर भाग्दै बझाङसम्म पुगियो ३० वर्षदेखि नै गिट्टी कुट्दैछौं ।’ ‘पहिले आफन्त थिए, मिलेर दशैं मनाउन्थ्यौं’, बिमाले भनिन् – अहिले साथमा न छोराछोरी छन्, बुढो भइयो, साहारा दिने कोहि छैनन्, नदीको छेउमा बसेर गिट्टी कुट्नुको विकल्प छैन ।’ जन्मेका सबै बच्चाहरू मरे अन्तिममा एक छोरा र एक छोरी बाँचेका थिए । छोरी बिहे गरेर गई । २० वर्षको छोरा भने कहाँ छ कुन ठाउँ छ अत्तोपत्तो छैन उनले भनिन् । मासिक आठ हजार कमाइ दुवै जनाले दिनभरी गिट्टी कुटेर मासिक आठ हजार रुपैयाँ आम्दानी गर्ने गरेको बिमलले बताए । उमेरले ८६ वर्ष भएको बताउने उनी पेट पाल्नकै लागि भएपनि सकिनसकि काम गर्नु परेकोे सुनाए । उनी र उनकी श्रीमती हाल चैनपुरमै मासिक दुई हजार कोठा भाडा तिरेर बस्दै आएको छ । बिमलका दुवै जना उमेरले बृद्ध भएपनि काम गर्ने जोश भने अझै जिवितै देखिन्छ । पहिले रोल्पा घर भएको बताउने उनीहरु बझाङका विभिन्न ठाउँमा बसेर मजदुरी गरेको बताउँछन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरूको जीवनमा विभिन्न समयमा विभिन्न समस्याहरु आउने गरेको छ । आर्थिक स्थिति नाजुक भएकै कारण दशैंले आफुलाई छुन नसकेको बिमलले भावविभोर हुँदै बताए । दुईजनाले दिनभर गरेर दुई कट्टा गिट्टी कुट्ने उनले बताए । ‘महिनाको दुई ट्राली गिट्टी कुट्छौं’ उनले भने, एक ट्रालीको चार हजार रुपैयाँ मूल्यमा विक्रि हुन्छ, दुई ट्राली मिलाएर मासिक आठ हजार रुपैयाँ कमाइ हुन्छ ।’ कहिले काहीँ त गिट्टी विक्रि नहुँदा छाक टार्न पनि समस्या हुने गरेको बिमाले बताइन् । २० वर्षदेखि बाउली खोलामै गिट्टी कुट्दैछौं बिमाले भनिन्– अब त बाउली खोला नै आफन्त जस्तो भइसकेको छ । यसैको किनारमा बस्न मन पर्छ । हुनपनि यसको किनारमा बस्न वाहेक अन्य विकल्प छैन उनले भनिन् । ‘२० वर्ष यो नदिमै बितायौं’ अलि निराश भावमा बिमा भन्छिन्न् ‘उहाँ ८६ वर्षको भइसक्नु भो, मेरो उमेर ६३ वर्ष भयो, अझै काम गरी रहेका छौं । मरेको दिन यसै नदिले बगाएर लैजान्छ ।’ बिहानै बाउलीखोला गएर दिनभरी गिट्टी कुटेर राती अबेर चैनपुर डेरामा फर्किनु यी दुई दम्पतीकोे दैनिकी बनेको छ । बृद्ध अवस्थामा पुगिसक्दा समेत केही गर्नुपर्छ भनेर रातदिन काममै लागि रहने बिमलका परिवार सबैका लागि उदाहरणका पात्र समेत बनेका छन् ।

इलेक्ट्रिक अवतारमा आयो बजाजको आइकोनिक स्कुटर ‘चेतक’

काठमाडौँ । बजाजले अर्बनाइट ब्राण्डको इलेक्ट्रिक स्कुटर ‘चेतक’ लाई भारतीय बजारमा सार्वजनिक गरेको छ । यस स्कुटरको निर्माणसँगै बजाज १४ वर्ष पश्चात स्कुटर सेग्मेन्टमा पुनः प्रवेश गरेको हो । आधुनिक रेट्रो स्टाइलिङ्गमा बनेको यस स्कुटरको डिजाइन बजाजकै पुरानो ‘चेतक’ स्कुटरबाट लिइएको हो । यस स्कुटरमा एलइडि हेडलाइट, एलइडि टर्न सिग्नल्स र फुल–डिजिटल एलसिडि इन्स्ट्रुमेन्ट क्लष्टर समावेस गरिएको छ । त्यसैगरी अन्य फिचरहरुको रुपमा ब्लूतुथ फोन कनेक्टिभिटी, जीओ-फेन्सिङ्ग, लोकेशन ट्र्याकिङ्ग र त्यसैगरी म्यूजिक तथा टेलिफोन कन्ट्रोल दिइएको छ । बजाज अर्बनाइट चेतकमा प्रख्यात जर्मन ब्राण्ड ‘बश’ को लिथियम-आयन ब्याट्री समावेश गरिएको छ ।कम्पनीका अनुसार यस स्कुटरमा स्पोर्ट र इको गरी दुइओटा राइडिङ्ग मोड दिइएका छन् । ब्याट्री फुल चार्ज भएको अवस्थामा यस स्कुटरले स्पोर्ट मोडमा ८५ किलोमिटर र इको मोडमा ९५ किलोमिटर को माइलेज दिन्छ भनी कम्पनीले जनाएको छ । हाल कम्पनीले यसको सवै स्पेसिफिकेशनहरु भने सार्वजनिक गरेको छैन । अरु पार्टस्को कुरा गर्नु पर्दा यस स्कुटरमा १२ इञ्चको अलोए व्हिल, अगाडिको चक्कामा डिस्क ब्रेक, पछाडिको चक्कामा ड्रम ब्रेक, सिङ्गल-साइडेड टेलिस्कपिक फर्क, मोनोशक, एलुमिनियम स्विङ्गआर्म र एमआरएफ ज्यापरको टायर दिइएको छ । हाल कम्पनीले यस स्कुटरको मूल्य नतोकेको भएतापनि भारतीय बजारमा यस स्कुटरको मूल्य रु. एक लाख हाराहारी पर्नेछ भन्ने अनुमान गरिएको छ ।