विकासन्युज

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुङ टिभी उपहार प्रदान

काठमाडौँ । कुवेत स्थित सुदूर पश्चिमेली नेपाल समाजको दोश्रो वार्षिकोत्सव तथा अधिवेशन सम्पन्न भएको छ । उक्त अवसरमा वृहत साँगीतिक धमाका सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख आयोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको थियो । सो कार्यक्रममा ८०० भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागी रहेको थियो । जस्मा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमको प्रस्तुती थियो । कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले उपस्थित दर्शकहरुबीच लक्की ड्र सञ्चालन गरिएको थियो । जस्को बिजेता जयबहादुर थापा भएका थिए । थापाले उपहार स्वरुप सामसुङको ३२ इञ्चको टीभी प्राप्त गरे । सोही कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिएको थियो । नेपालका लागि सामसुङ उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालिसंग साझेदारी गरेको छ । सम्झैता अनुसार कतार, साउदी, कुवेत र मलेसियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछी नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् ।

खाद्य अभावको चपेटामा ८२ करोड मानिस, भोकमरी सूचकांकमा नेपाल ७३औँ स्थानमा

काठमाडौं । विश्वभर अझै करिव ८२ करोड मानिस खाद्य अभावको चपेटामा रहेका छन् । कूल जनसंख्याको ११ प्रतिशत जनसंख्या भोकमरीको सिकार बन्न पुगेको संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । हरेक ५ सेकेन्डमा भोकमरीका कारण ५ वर्ष मुनिका एक जना बालबालिकाको मृत्यू हुने गरेको संगठनले बुधबार प्रकाशित गरेको तथ्याङ्क छ । भोकमरी सूचकांकमा नेपाल ७३औँ स्थानमा रहेको छ । संयुक्त राष्ट्र संघको पहल र अगुवाईमा दीगो विकासका लक्ष्यहरु कायम गरिएका छन् र ती मध्ये एक महत्वपूर्ण लक्ष्य सन् २०३० सम्ममा विश्वव्यापी रुपमै भोकमरीको अवस्था शुन्यमा झार्ने रहेको छ । पछिल्ला दुई दशकमा विश्वले खाद्य सुरक्षामा राम्रो उपलव्धी हासिल गरेको भएता पनि सन् २०१५ देखि खाद्य सुरक्षाको अवस्था क्रमशः खस्किँदै गएको तथ्याङ्कले देखाएको छ । सन् २०५० सम्म विश्वको जनसंख्या करिव १० अर्व पुग्ने र त्यति जनसंख्यालाई आवश्यक खाद्यान्न आपूर्ति गर्न हालको उत्पादन बढाएर दोब्बर बनाउने लक्ष्य रहेको छ । ३६ प्रतिशत बालबालिकामा कुपोषण नेपालको सन्दर्भमा पाँच वर्ष मुनीका बालबालिकाको दीर्घकालीन कुपोषणको दर करिव ३६ प्रतिशत रहेको छ । नेपालको सन्दर्भमा “हाम्रो पहलः स्वस्थ आहार, भोकमुक्त संसार’’ नारा सहित बुधबार विश्व खाद्य सुरक्षा दिवस मनाइदै छ ।सन् २०१८ मा प्रकाशित विश्व खाद्य संकट प्रतिवेदनले नेपालका करिव ३४ लाख मानिसको लागि खाद्य सहयोग आवश्यक रहेको र करिव ६४ लाख मानिस दीर्घकालीन खाद्य असुरक्षाको अवस्थामा रहेको देखाएको छ । विसं २०७३ सालमा गरिएको सर्भेक्षणले देशको अझै पनि आधाभन्दा बढी जनसंख्या खाद्य असुरक्षाको अवस्थामा रहेको देखाएको थियो । कतिपय हिमाली र दुर्गम पहाडी भूभागमा पर्याप्त खाद्यवस्तुको उत्पादन नहुनुको अलावा, गरिवी र यातायातको असुविधाको कारण आपूर्ति एवम् वितरण प्रभावकारी हुन नसक्दा समय समयमा खाद्य संकटको अवस्था सृजना हुने गरेको छ । साथै, कृषि पेशा अपेक्षित रुपमा नाफामूलक हुन नसक्दा युवाहरुको आकर्षण बढ्न सकेको छैन । जस्ले गर्दा कमसल प्रकृतिको वैदेशिक रोजगारीमा युवापुस्ताको बाध्यात्मक पलायन बढ्दै जाँदा एकातिर खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ भने अर्को तर्फ श्रमिकको अभाव, श्रम महंगो हुन गइ उत्पादन लागत बढेको छ । यी कारणहरुले गर्दा समग्र कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षा कायम गर्न थप चुनौतीपूर्ण बनेको छ । सम्भावित भोकमरीको अवस्थालाई सामना गर्न र कृषि क्षेत्रको व्यवसायीकरणबाट राष्ट्रिय समृद्धि हासिल गर्नको लागि सम्बन्धित सबै सरोकारवालाहरुबाट उच्चस्तरको प्रतिवद्धताका साथै हाम्रो कृषि उत्पादन प्रणालीलाई जलवायु अनुकूलन बनाउँदै लैजानु र कृषि क्षेत्रको विकासमा लगानी वृद्धि गर्नु अपरिहार्य रहेकाे कृषि मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ । नेपालमा नै आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि २२ सदस्यीय नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको हो । बङ्गलादेशमा हुने सेन्ट्रल जोन आगामी कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ भने साग मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ । नेपाली टोलीले थाइल्यान्डको बैंककस्थित एफआइभिवी डेभलपमेन्ट सेन्टरमा प्रशिक्षणका साथै सातभन्दा बढी अभ्यास खेल खेल्ने नेपाल भलिबल सङ्घले जनाएको छ । नेपाली टोलीमा अरुणा शाही (कप्तान) कमला पुन, प्रतिभा माली, सरस्वती चौधरी, सङ्गम महतो, निरुता ठगुन्ना, रेश्मा भण्डारी, जानकी भण्डारी, उषा भण्डारी, लक्ष्मी (सोफिया) पुन, हिरा केसी, उषा विष्ट र शान्ति थारु छन् । त्यसैगरी, पुनम चन्द, सुनिता खड्का, शान्ति तामाङ, सलिना श्रेष्ठ र आरती सुवेदी छिन् । टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट छन् भने प्रशिक्षक, सलिना श्रेष्ठ र भरत यादव तथा टिम व्यवस्थापकमा रीता कोइराला रहेका छन् । रासस

‘निःशुल्क बीमा’मा कठोर बन्दै बीमा समिति, सबै सम्झौताको प्रतिलिपी मगाइँदै

काठमाडौं । बीमाको क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाविरुद्ध बीमा समिति थप कठोर हुने भएको छ । बीमा कम्पनीहरुसँग सम्झौता गरी बैंक तथा वित्तीय संस्था लगायत अन्य कम्पनीहरु समेतले बीमाबारे भ्रामक प्रचार गर्न थालेपछि समिति थप कठोर हुन लागेको हो । खासगरी बैंक तथा वित्तीय संस्थाहरुले ‘निःशुल्क बीमा’, ‘औषधोपचार बीमा’, ‘स्वास्थ्य बीमा’ जस्ता शब्दहरुको प्रयोग गरेर आफ्नो प्रोडक्टहरुको प्रचार गरिरहेको अवस्थामा त्यसले बीमा बजारलाई नकारात्मक प्रभाव पार्न थालेको महशुस गर्दै बीमा समितिले यस्तो कदम चाल्न लागेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निःशुल्क बीमा भन्ने शब्द प्रयोग गर्दा बिमितहरुले ‘बैंकले सित्तैमा बीमा गर्छ, किन पैसा तिर्ने ?’ भन्न थालेको, सीमित घातक रोगहरुको लागि बीमा गर्ने सम्झौता गर्ने तर स्वास्थ्य बीमाको रुपमा प्रचार गर्ने गरेको र यसले स्वास्थ्य बीमा, औषधोपचार बीमामा बीमितहरुको आकर्षण कम देखिएको भन्दै बीमा कम्पनीहरुले कस्तो शर्तमा त्यस्तो सम्झौता गरेका हुन् भनेर अध्ययन गर्न लागेको जानकारी दिए । बैंकहरु वा अन्य संस्थाहरुले आफ्ना ग्राहक वा सम्वद्ध पक्षको सामूहिक रुपमा बीमा गराउने विषय स्वागतयोग्य भएको भन्दै तर त्यस्तो बीमामार्फत् बीमा बजार नै प्रभावित हुनेगरी प्रचार हुन नहुने कार्यकारी निर्देशक पौडेलको भनाई थियो । समितिले केही समय अघिमात्रै ‘निःशुल्क बीमा’ जस्ता भ्रमपूर्ण शब्दहरुको प्रयोग नगर्न सर्कुलर नै जारी गरेको थियो । बीमा कहिले पनि निःशुल्क नहुने भन्दै बीमा समितिले आवश्यक बीमाशुल्क सम्बन्धित कम्पनीले तिरिदिने व्यवस्था मात्रै रहेको भन्दै त्यस्ता भ्रामक शब्दहरु हटाउन भनेको हो । समितिको सर्कुलरपछि केही बैंक तथा वित्तीय संस्थाहरुले त्यस्तो शब्दको प्रयोग गर्न छाडे पनि केहीले भने अटेरी गर्दै आएका छन् । अहिले बैंक तथा वित्तीय संस्थाका अतिरिक्त कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता कोषहरुले समेत आफ्ना सञ्चयकर्ताहरुको दुर्घटना बीमा, औषधोपचार बीमा र घातक रोगको उपचारको बीमाको शुल्क आफैंले व्यहोरिदिँदै आएका छन् । कर्णाली प्रदेश सरकारले समेत अहिले आफ्ना प्रदेशका नागरिकहरुको १ लाख रुपैंयाको दुर्घटना बीमा गराउँदै सो बीमाको शुल्क सरकारले नै व्यहोरिदिने भएको छ । समितिले बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाका साथै अन्य पक्षहरुसँग गरेको सम्झौताको विवरण मगाएर आवश्यक अध्ययन गर्ने सम्झौताको अन्तरवस्तुमै समस्या भए त्यसलाई सच्याउन निर्देशन दिनेछ ।

राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी आज म्यान्मा प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नेछिन् । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिवलगायत रहेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापाले बिदाई गरेका थिए । सो अवसरमा मन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित कूटनीतिक निकायका प्रतिनिधिलगायत विशिष्ट व्यक्ति उपस्थित थियो । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । रासस

मनाङ एयरले थप्यो बिमान, ९ एन-एएनजेले शुरु गर्यो व्यवसायिक उडान

काठमाडौँ । मनाङ एयर प्रालिले खरिद गरेको फ्रान्समा निर्मित एयरबस हेलिकप्टर ९ एन-एएनजेले सोमबारदेखि व्यवसायिक उडान शुरु गरेको छ । दक्ष पाइलट तथा प्राविधिकहरुद्वारा पर्यटकीय दृश्यावलोकन तथा उद्दार उडानमा थप भएको हेलिकप्टरको प्रयोगले मनाङ एयरले प्रदान गर्ने सेवामा अझ बढी प्रभावकारिता प्राप्त हुने जनाइएको छ । मनाङ एयर प्रालिले सञ्चालन गर्दै आएका २ हेलिकप्टरहरुले २३००० फिटको उचाईसम्म सुरक्षित उडान गर्न सक्ने छन् ।

बैंक अफ काठमाण्डूको नयाँ ब्याजदर सार्वजनिक, निक्षेप र कर्जामा कति ?

काठमाडाैं । बुधबारदेखि लागु हुने गरी बैंक अफ काठमाण्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ९.२५ प्रतिशत ब्याज दिने भएको छ भने बचत ४ देखि ६ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले तीन महिनादेखि ६ महिना अवधिसम्मकाे संस्थागत निक्षेपमा ७.५० प्रतिशत, ६ महिनादेखि १वर्षकाे  निक्षेपमा ८ प्रतिशत, १ वर्ष भन्दा माथिकाे निक्षेपलाई ८.५० प्रतिशत ब्याजदर तोकेको छ । आधारदर ६ प्रतिशत रहेको बैंकले विभिन्न प्रकृतिका कर्जाहरुको पनि ब्याजदर तोकेको छ । यस्तै शैक्षिक कर्जाका लागि ६ प्रतिशत र रिटेल कर्जाका लागि पनि ६ प्रतिशत ब्याज लिने जनाएको छ ।  

१३ सुरुङमार्ग र अण्डरपासको सम्भाव्यता अध्ययन गर्ने तयारीमा सरकार, प्राथमिकतामा नयाँपुल–हेम्जा सुरुङमार्ग

पर्वत । सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र ‘अण्डरपास’को सम्भाव्यता अध्ययन गर्ने भएको छ  । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि धवलागिरि क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालू आर्थिक वर्षभित्रै उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिएपछि आफूहरुको लामो समयदेखिको माग पूरा भएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिएका छन् । साविक धवलागिरि अञ्चलका चार जिल्लाको राष्ट्रिय राजमार्ग र प्रदेश राजधानीसँग प्रत्यक्ष जोड्ने एकमात्र सडकको रूपमा रहेको पोखरा–बागलुङ सडकमा सुरुङमार्ग बनाउन विगत पाँच वर्षदेखि पर्वत उद्योग वाणिज्य सङ्घले पहल गर्दै आएको थियो । धवलागिरि क्षेत्र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण र छिमेकी मुलुक चीनको कोरला नाकासँग समेत जोडिएको र पर्यटन प्रवद्र्धनका हिसाबले प्रशस्त सम्भावना बोकेको क्षेत्रलाई पोखरासँग प्रत्यक्ष जोड्नका लागि पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा यसअघि पनि छलफल र बहस हुँदै आएको थियो भने मन्त्रालयमा ध्यानाकर्षणपत्र समेत बुझाइएको थियो । प्रदेश तथा पर्यटनको राजधानी पोखरासँग पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई सिधा जोड्न सकियो भने राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन मात्र होइन, ढुवानी र समयसमेत बचत हुने र ओझेल परेको धवलागिरिमा नै आर्थिक क्रान्तिको ढोका खुल्न सक्ने भएकाले उक्त कार्य आवश्यक देखिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष शर्माले बताए । दूरीका हिसाबले पर्वतको कुश्मादेखि पोखरासम्म ५८ किलोमिटर रहेको छ । यसअघि पर्वतको कुश्मा नगरपालिका–८ दोविल्लादेखि पोखराको पामेसम्म सुरुङमार्गले जोड्न प्रस्ताव गरिएको थियो । अहिले सम्भाव्यता अध्ययन गर्न थालिएको नयाँपुल–हेम्जाको दूरी झण्डै ४० किलोमिटर रहेको छ । तर सुरुङमार्ग निर्माणपछि आठदेखि १० किलोमिटरको दूरीमा जोडिने अनुमान गरिएको छ । उक्त सुरुङमार्ग निर्माणपछि पोखरामा दिनहुँ भित्रिने हजारौँ पर्यटकलाई आकर्षण गर्न सकिने भएकाले भारत र चीनको व्यापारिक रुटको रूपमा काम भइरहेको कालीगण्डकी करिडोरसँग सिधा सम्पर्क राख्न सकिने र धार्मिक महत्व बोकेको मुक्तिनाथसँग पोखरालाई जोड्न तथा कालीगण्डकी जलयात्राका लागि पर्यटक भित्र्याउन सहज हुने भएकाले उक्त सुरुङमार्ग अत्यावश्यक भएको सङ्घका अध्यक्ष शर्माको भनाइ छ । मन्त्रालयले यो वर्ष पोखरा–बागलुङ सडकमा पर्ने हेम्जा–नयाँपुल सुरुङमार्गसँगै टोखा–छहरे–गुर्जे भन्ज्याङ, कोटेश्वर–जडीबुटी, खुर्कोट–चियावारी, सिन्धुली, कैलाली खुटिया–बिपीनगर–दिपायल खण्ड, थानकोट–चित्लाङ, गोदावरी, ललितपुर–मानेचौर, काभ्रे, नयाँ बनेश्वरमा अण्डरपास, कुलेखानी–भीमफेदी, बुटवल–सिद्धबाबा, दोलखाको लामाबजार, बुटबल–नारायणगढको दाउन्ने खण्ड, बेत्रावती–घट्टेखोला, स्याफ्रुबेँसी खण्डमा सुरुङमार्गको अध्ययन गर्ने भएको छ । रासस