फिलिपिन्समा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौं । फिलिपिन्समा आएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयले यसको पुष्टि गरेको हो ।

स्थानीय नागरिक सुरक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाका अनुसार ज्यान गुमाएका १५ मध्ये १२ जना सोक्ससार्जेन क्षेत्रका रहेका छन् । यो क्षेत्र चारवटा प्रान्त र एउटा सहर (साउथ कोटाबाटो, सुल्तान कुदारात, सारंगानी र जनरल सेन्टोस सिटी) मा फैलिएको छ ।

उक्त क्षेत्रमा कम्तीमा १२९ जना घाइते भएको उनले जानकारी दिए ।

यसैगरी, फिलिपिन्स इन्स्टिच्युट अफ भोलकानोलोजी एन्ड सिस्मोलोजीले मिन्डानाओका ६ वटा क्षेत्रमा सुनामीको लहर रेकर्ड गरिएको जनाएको छ ।

यी लहरहरू स्थानीय समयअनुसार बिहान ७ः४२ देखि ८ः४५ बजेको बीचमा रेकर्ड गरिएका हुन्, जसमा सबैभन्दा उच्च लहर १.४ मिटर (४.६ फिट) सम्म पुगेको थियो ।

इन्स्टिच्युटले दिएको जानकारी अनुसार दक्षिणी तट नजिकै आएको सोही ७.८ म्याग्निच्युडको भूकम्पपछि स्थानीय समयअनुसार बिहान ११ः०० बजेसम्म १३८ वटा पराकम्पहरू महसुस भइसकेका छन् ।

यी परकम्पहरूको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्म मापन गरिएको छ ।

Share News