निःशुल्क हुनुपर्ने सामुदायिक विद्यालयमा मासिक शुल्क तिर्न बाध्य
जाजरकोट । सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिए पनि जाजरकोट जिल्लाको छेडागाडस्थित एक सरकारी विद्यालयका विद्यार्थी अहिले पनि मासिक शुल्क तिर्न बाध्य छन् । छेडागाड नगरपालिका –१२ मनघाटस्थित चन्द्रज्योति आधारभूत विद्यालयका विद्यार्थी मासिक शुल्क तिर्न बाध्य भएका हुन् ।कक्षा ८ सम्म सञ्चालन भएको सो विद्यालयका एकदेखि आठ कक्षासम्मका सबै छात्र/छात्राले रु २५० का दरले मासिक शुल्क तिर्दै आएका छन् । संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने उल्लेख छ । बोर्डिङ स्कूलले जस्तै सरकारी स्कूलले पनि मासिक शुल्क लिने गरेको अभिभावक नैनसरा विकले बताएका छन् । उनले भने, “मावि तहसम्म सरकारले निःशुल्क पढाउने भनेको सुनेकी थिएँ तर पनि हामी मासिक शुल्क तिर्न बाध्य छौं, सरकारी विद्यालयमा पनि शुल्क तिर्नुपर्दा हामीजस्ता आयस्रोत न्यून भएका परिवारलाई निकै समस्या परेको छ ।” नैनसरा जस्तै धेरै अभिभावक शुल्क तिर्नु पर्दा खिन्न छन् । विद्यालयमा दरबन्दी नहुँदा चार निजी स्रोतका शिक्षकलाई तलब खुवाउन शुल्क लिने गरिएको विद्यालयले जनाएको छ । प्रधानाध्यापक शर्माबहादुर खत्रीले भने, “निजी स्रोतका चार शिक्षकलाई मासिक रु ४६ हजार तलब दिनुपर्छ, विद्यालयको अन्य आयस्रोत नभएपछि अभिभावकको सहमति लिएर सबै कक्षाका विद्यार्थीबाट मासिक रु २५० का दरले शुल्क उठाउने गरेका छौँ ।” विसं २०४६ मा स्थापना भएको यो विद्यालय पाँच कक्षासम्म सञ्चालनमा थियो । पाँचभन्दा माथिका कक्षाका लागि धेरै टाढा जानुपर्ने भएकाले निजी स्रोतमा शिक्षक राखेर आठ कक्षासम्म पठनपाठन सञ्चालन गरिएको हो । उक्त विद्यालयमा प्रावि तहमा एक अनुदान, एक राहत र दुई दरबन्दीसहित चार, एक बालविकास र निमाविमा एक अनुदान शिक्षकको दरबन्दी छ । दुई सय दश विद्यार्थी अध्ययनरत विद्यालयमा दरबन्दीका साथै कक्षाकोठा, भवन, शौचालय तथा शैक्षिक सामग्री, र खेलकूदका सामग्रीको अभाव रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खत्रीले बताए । उनले स्थानीय सरकारसँग आवश्यक दरबन्दी र अन्य भौतिक पूर्वाधारका लागि माग गरिएको जानकारी दिए । सरकारी दरबन्दी प्राप्त भएपछि शुल्क लिन बन्द गरिने अध्यक्ष खत्रीको भनाइ थियो । कक्षाकोठा अभावमा एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । एउटै कोठा दुई वटा कक्षा चलाउँदा एकअर्को कक्षालाई असर भएको शिक्षकहरूको गुनासो थियो । यो विद्यालयजस्तै अस्थायी सम्बन्धन लिएर नि.मा.वि तथा मा.वि तह सञ्चालन गरिरहेका र केही पुराना विद्यालयलेसमेत मासिक शुल्क लिने गरेका छन् । कतिपय विद्यालयले मासिक शुल्क नभनेर एकमुष्ट रुपमा रकम लिने गरेका छन् । विद्यालयको भौतिक सुविधा विस्तार, मर्मत र खेलकूद शुल्कको नाममा भर्ना हुँदा नै एकमुष्ट रुपमा रकम असुल्ने गरेको पाइएको छ । उनीहरुले रु दुई हजार रुपैयाँसम्म एकमुष्ट रकम लिने गरेका हुन् । त्यस्तै एसइई तथा कक्षा १२ कक्षा पासको चारित्रिक प्रमाणपत्रको शुल्कसमेत चर्को असुल्ने गरेको अभिभावकको गुनासो थियो । एउटै विद्यार्थीबाट चारित्रिक प्रमाणपत्र र शुल्कबापत रु पाँच हजारसम्म लिने गरिएको उनीहरूको भनाइ थियो । शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख खड्ग केसीले संविधानअनुसार मा.वि तहसम्म मासिक शुल्क लिन नपाइने प्रावधान रहेको बताए । निजी स्रोतका शिक्षकको तलब ब्यहोर्न अन्य स्रोत खोज्न र मासिक शुल्क नलिन आग्रह गरिने उनको भनाइ थियो । रासस
भदौ महिनासम्म ९ वाणिज्य बैंक घाटामा, त्रैमासिक रिपाेर्ट कस्ताे आउला ?
काठमाडौं । भदाै महिनासम्म ९ ओटा बैंक घाटामा रहेको पाइएकाे छ । नेपाल राष्ट्र बैंककाे तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका २८ ओटा वाणिज्य बैंकहरुमध्ये साे संख्याका बैंकहरु घाटामा रहँदा बाँकी १९ बैंकहरु मात्रै नाफामा रहेकाे देखिएकाे हाे । नाफामा रहेका बैंकहरुको पनि साे अवधिकाे नाफा निकै कम देखिएको छ । दुई महिनाको यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १ करोड नाफा कमाएर साे अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा परेको छ । त्यस्तै, नबिल बैंकको ७५ करोड १७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ७२ करोड ५ लाख, प्रभु बैंकले ६८ करोड २२ लाख रुपैंया नाफा गरेर क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान कायम गरेका छन् । सो अवधिमा एनआईसी एशिया बैंकले एक करोड २८ लाखमात्रै नाफा कमाएको छ । त्यसबाहेक स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल एसबीआई, एभरेष्ट, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, सिद्धार्थ, कृषि विकास, ग्लोबल आईएमई, सिटिजन्स, सनराइज, एनएमबि, मेगा र सानिमा बैंकले सो अवधिमा नाफामा रहेको विवरण पेश गरेका छन् । घाटामा जाने बैंकहरुमा भने नेपाल बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, प्राइम कमर्शियल बैंक, जनता बैंक, सिभिल बैंक र सेञ्चुरी बैंक छन् । यो अवधिमा कुमारी बैंकको सबैभन्दा धेरै ७९ करोड ६ लाख रुपैंयाँ तथा नेपाल बैंकको ७६ करोड ८३ लाख रुपैंयाँ घाटा देखिएको छ । विवरणहरु सही छन् त ? राष्ट्र बैंकको मासिक तथ्यांकमार्फत् सार्वजनिक हुने यी विवरणहरुलाई पूर्ण रुपमा सही मान्न नसकिए पनि यी तथ्यांकहरु पूर्ण रुपमा गलत भने होइनन् । नेपाल राष्ट्र बैंकले प्रत्येक बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न बैंकिङ सूचनाहरुको नियमित रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरेको छ । यसमध्ये केही दैनिक, केही साप्ताहिक र केही मासिक विवरणहरु छन् । त्यसका लागि बैंकले त्यस्तो रिपोर्टिङ गर्ने छुट्टै अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत छ । उनीहरूले इन्टरनेटमा आधारित सूचना प्रविधिमार्फत् गर्ने आधिकारिक रिपोर्टिङलाई नै राष्ट्र बैंकले आफ्नो प्रकाशनको रुपमा प्रकाशित गर्ने गर्छ । नेपाल राष्ट्र बैंक नियमन विभागअन्तर्गतको नीति अनुसन्धान विश्लेषण महाशाखाका अनुसार बैंकहरुले पठाएको रिपोर्टिङलाई जस्ताको त्यस्तै प्रकाशन गर्ने मात्रै हो, त्यो पनि कम्युटराइज्ड सफ्टवेयरमार्फत् आउँछ, त्यसैले यसमा हाम्रो खासै केही भूमिका हुन्न, कुनै तथ्यांक अस्वाभाविक लाग्यो भने हामीले के भएको हो भनेर सोध्न चाहिँ सक्छौं ।’ किन देखिन्छ यस्तो फरक ? बैंकहरुले त्रैमासको अन्त्यलाई लोन सेटलमेन्टको मुख्य समय बनाउँछन् । असोजको मध्यदेखि मात्रै बैंकहरूले आफ्ना ऋणीहरुसँग ऋणको ब्याज तथा सावाँ भुक्तानीका लागि ताकेता गर्न थाल्छन् । त्यसैले बैंकहरूले गर्ने धेरैजसो ब्याज आम्दानीहरू त्रैमासको अन्त्यतिर मात्रै हुने गर्छ । तर बैंकहरुको सञ्चालन खर्च, कर्मचारी खर्च तथा कतिपय अवस्थामा ब्याज खर्चहरू समेत नियमित रुपमा भुक्तानी गर्नुपर्ने भएकोले बैंकहरू कुनै महिनामा नाफा र कुनै महिनामा घाटामा देखिन गएका हुन् । यद्यपि आम्दानी पनि खर्चजस्तै नियमित रुपमा हुनुलाई राम्रो मान्न सकिने राष्ट्र बैंकले जनाएको छ । उनले भने – ‘तर भदौ महिनाको नाफालाई हेरेर असोज महिनाको नाफाको पूर्वानुमान भने नगर्दा नै राम्रो हुन्छ ।’
मदन भण्डारी लोकमार्गकाे ८० प्रतिशत निर्माण कार्य सम्पन्न
गाईघाट । पूर्वको सुनसरीदेखि उदयपुर र सिन्धुली हेर्टौडा हुँदै राजधानी काठमाडौँ जोड्ने मदनभण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतरादेखि सिन्धुलीको भिमानसम्मको पूर्वी खण्डमा ८० प्रतिशत सडक निर्माण भएको छ । चतरादेखि उदयपुर जिल्लाको रामपुर ठोक्सिला, गाईघाट, कटारी हुँदै सिन्धुलीको भिमानसम्मको १४३ किलोमिटर सडक खण्डमा हालसम्ममा ८० प्रतिशत कार्य सम्पन्न भएको पूर्वी सडक डिभिजन प्रमुख इञ्जिनीयर ललितजंग खनालले बताएका छन् । एकसय त्रिचालिस किलोमिटर सडकमध्ये ५० किलोमिटर सडक पूर्णरुपमा कालोपत्र भइसकेको र ८० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य अन्तिमचरणमा पुगेको र बाँकीको पनि कालोपत्र हुन लागेको उनको भनाइ थियो । उक्त सडक खण्डको ४३ पक्की पुलमध्ये ३३ पक्की पुल निर्माण भइसकेको र बाँकी १० पुलको निर्माण अन्तिम चरणमा पुगेकाले आगामी चैतसम्ममा सम्पन्न हुने प्रमुख खनालले बताए । सो सडक सम्पन्न गर्ने समयावधि आगामी कात्तिक महिनासम्म रहे पनि जेठ भित्रै सम्पूर्ण कार्य सम्पन्न हुने अवस्थामा पुगेको पनि उनले जानकारी दिएका छन् ।सो पूर्वी खण्डको सडक निर्माण र पुल निर्माणका लागि रु छ अर्ब बजेट उपलब्ध भएकामा रु चार अर्ब ५० करोड सडक निर्माण, कालोपत्र र नाला निर्माणका लागि तथा रु एक अर्ब ५० करोड ४३ वटा पुल निर्माणका लागि छुट्याइएको थियो । यस्तै उक्त लोकमार्गको पूर्वी क्षेत्र बाहेक सिन्धुलीको भिमान हुँदै हेटौंडासम्मको पश्चिमी क्षेत्रको सडक खण्डमा पनि अहिले ५० प्रतिशत कार्य भइसकेको सो लोकमार्गका योजना प्रमुख राजेश पौडेलले बताएका छन् । रासस
कैदीले उत्पादन गरेको ३ लाखको कपडा बिक्री, बजार मूल्य भन्दा ५० प्रतिशत सस्तो
काठमाडौं । भद्रकाली केन्द्रीय कारागारका कैदीहरूले उत्पादन गरेको ३ लाख रुपैयाँको कपडा १ महिनाको अवधिमा बिक्री भएको छ । कैदीहरुले उत्पादन गरेको कपडा उद्योग विभाग परिसर त्रिपुरेश्वरमा असोज ८ गतेबाट बिक्री सुरु भएको थियो । १ महिना अवधिमा कार्यालय समयमा खुल्ने र बन्द हुने बिक्री कक्षबाट ३ लाख ३४ हजार ३५८ रुपैयाँको कपडा बिक्री भएको हो । बिक्री कक्षमा रहेकी लक्ष्मी गिरीले भनिन्–‘तन्ना, टावेल र सर्टको कपडा बढी बिक्री भएको छ ।’ कैदीहरुले उत्पादन गरेको कपडा बजार मूल्यभन्दा ३० देखि ५० प्रतिशतसम्म सस्तो रहेको छ । अस्पातालमा प्रयोग गर्ने एप्रोन देखि महिला पुरुषले प्रयोग गर्ने सबै किसिमको कपडा बिक्री कक्षमा छ । उक्त बिक्री कक्षबाट ग्राहकहरुले घरायसी प्रयोगका लागि मात्र कपडा खरिद गर्न पाइन्छ । व्यापारिक प्रयोजनका लागि भने बिक्री कक्षबाट कपडा बिक्री गरिंदैन । भद्रकाली केन्द्रीय कारागारमा कैदीहरूद्वारा उत्पादित कपडा बिक्री कक्षको असोज ८ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव उद्घाटन गरेका थिए । उक्त अवसरमा मन्त्री यादवले नेपाली उत्कृष्ट उत्पादनलाई उपभोक्ताले सहजै रुपमा उपभोग गर्न सक्ने बताएका थिए । केन्द्रीय कारागार कारखाना प्रमुख रामहरि ढुङ्गेलले कैदीहरुले उत्पादन गरेको कपडा राम्रो र बजार मूल्यभन्दा ४० देखि ५० प्रतिशतसम्म सस्तो रहेको बताए । कैदीहरुले उत्पादन गरेका कपडा सबै सुतिका हुन् । बिक्री भएको कपडाको पैसा कैदीहरुको कोषमा जाने छ । त्यो पैसा कैदीहरुको नै वृद्धिविकासमा खर्च हुनेछ । शुरुमा १८ किसिमका कपडा बिक्री सुरु थियो भने हाल २१ किसिमका कपडा बिक्री भइरहेको छ । त्यहाँ बिक्रीका लागि राखिएको कपडाको मूल्य प्रति मिटर ५३ देखि ५५० सम्म तोकिएको छ ।
पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, साठी भन्दा बढी यात्रुको मृत्यु
इस्लामाबाद । पाकिस्तानमा बिहीबार बिहान गुडिरहेको एउटा रेलमा आगलागी हुँदा साठी भन्दा बढी यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा अरु कैयौँ घाइते भएका स्थानीय यातायात अधिकारीहरुले जानकारी दिएका छन् । पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको प्रहरीको प्रतिवेदनमा जनाइएको छ । रेलमा रहेका यात्रुको सिलिन्डर विस्फोट भएका कारण उक्त आगलागी हुन पुगेको अनुमान गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् । तर यसको आधिकारिक पुष्टि भने भएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीको क्रममा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने जल्न नपाएको बताइएको छ । यस घटनामा घाइते भएकाहरुको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने आशङ्का गरिएको पनि समाचारमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा
यस्तो छ हुण्डाईले सार्वजनिक गरेको स्यान्ट्रोको ‘एनिभर्सरी एडिसन’
काठमाडौँ । हुण्डाईले नयाँ हुण्डाई स्यान्ट्रोलाई बजेट फ्रेन्डली कारको रुपमा सार्वजनिक गरेको एक वर्ष पूरा भएको छ । यसै उपलक्ष्यमा कम्पनीले स्यान्ट्रोको ‘एनिभर्सरी एडिसन’हालसाल भारतीय बजारमा सार्वजनिक गरेको छ । हुण्डाई स्यान्ट्रोको यो स्पेसल एडिसन स्यान्ट्रो स्पोर्ट्स कै ट्रिम लेभलमा आधारित छ । त्यसैगरी म्यानुअल र एएमटी गरी दुई गियर अप्सनहरुमा उपलब्ध छ । स्यान्ट्रो एनिभर्सरी एडिसन मेकानिकली पहिले जस्तै रहेपनि सो मोडेलमा कस्मेटिक चेन्जेजहरु भने देख्न सकिन्छ । कस्मेटिक चेन्जेजहरुको रुपमा ग्लस ब्ल्याक कलरको रुफ, डार्क ग्रे कलर दिइएको व्हिल कभर, आउटसाइड रियर भ्यू मिरर्स र डोर ह्याण्डल्सलाई लिन सकिन्छ । यसका साथै बुट बेसमा र एनिभर्सरी एडिसनको बेजमा क्रोम फिनिस पनि देख्न सकिन्छ । यस मोडेलको इन्टेरियरमा पनि केहि परिवर्तन देख्न सकिन्छ । ड्यासबोर्डमा, इन्फोटेन्मेन्ट स्क्रिन वरिपरि, एसी भेन्ट्सका साइडमा र गियर स्टिकमा निलो रङ्गको इन्सर्ट्स दिइएको छ भने यसको फेब्रिक सिटको डिजाइनलाई पनि अपडेट गरिएको छ । यसमा समावेस भएको इञ्जिन १.१–लिटर ४–सिलिण्डर पेट्रोल इञ्जिन हो जसले ६९ एचपीको पावर र ९९ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ५–स्पिड म्यानुअल र ५–स्पिड एएमटि गरी दुई गियर अप्सन्समा यो कार उपलब्ध हुने भएको छ । स्मरण रहोस्, एएमटि गियरबक्समा गियर चेन्ज गर्नका लागि क्लचको आवश्यकता पर्दैन । यो स्पेसल एडिसन ‘पोलस ह्वाइट’ र ‘अक्वा टिल’ गरी दुई कलर अप्सन्सहरुमा उपलब्ध रहेको छ । भारतिय बजारमा स्यान्ट्रो एनिभर्सरी एडिसन म्यानुअल गियर भर्जनलाई पाँच लाख १७ हजार रुपैयाँ मूल्य तोकिएको छ भने एएमटि भर्जनलाई चाहिँ पाँच लाख ७५ हजार रुपैयाँ मूल्य तोकिएको छ । नेपाली बजारमा भने हुण्डाई कारको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सुरुवाती मूल्य २२ लाख ९६ हजार रुपैयाँ तोकेर हाल नेपाली बजारमा हुण्डाई स्यान्ट्रोको बिक्री वितरण गर्दै आइरहेको छ ।
करिब छ अर्ब लगानीमा मुग्लिन–पोखरा सडक चार लेनको बनाइने
काठमाडौं । दुई लेनको मुग्लिन–पोखरा सडक अब चार लेनको बन्ने भएको छ । सरकारले पाँच अर्ब ९० करोड रुपैयाँको लगानीमा उक्त राजमार्गलाई चार लेनकाे बनाउने भएको हो । राजमार्गलाई विस्तार गर्न यशियाली विकास बैंक (एडिबी)ले १९ करोड ५० लाख रूपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ । एडिबीको प्रधान कार्यालय मनिलाबाट जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले बैंकले उक्त ऋण रकम स्वीकृत गरेको हो । भारत र बङ्गलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रुपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पुर्याउन सजिलो मात्र नभई ढुवानी खर्चमा समेत कमी आउने विश्वास बैंकले लिएको छ । ८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने आठ किलोमिटर आबुखैरनी–मुग्लिन खण्ड त्यसपछि निर्माण गरिनेछ । एडिबीका अनुसार आगामी पाँच वर्षभित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य छ । रासस
१७ कम्पनीको चार करोड ५७ लाख कित्ता बोनस सेयर सूचीकृत, प्राइम बैंककाे सबैभन्दा बढी
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा १७ कम्पनीको चार करोड ५७ लाख ६३ हजार ६०७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलाे तीन महिनाको अवधिमै सो मात्राको बोनस सेयर धितोपत्र बजारमा थपिएको हो । सो अवधिमा ६ वटा बीमा, ३ वटा विकास बैंक, ३ वटा लघुवित्त वित्तीय, २ वटा वाणिज्य बैंक, १ फाइनान्स र अन्य २ वटा कम्पनीको ४ अर्ब ५७ करोड ६३ लाख ६० हजार ७८५ रुपैयाँ बोनस सेयर सूचीकृत भएको हो । बीमा समूहतर्फ सूर्या लाइफ इन्स्योरेन्सको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)को ४९ करोड ५ लाख ६० हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको एक अर्ब ९ करोड ९२ लाख ३२ हजार १६२ रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको १३ करोड ४० लाख ८१ हजार ६५० रुपैयाँ, सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ करोड २९ लाख ३१ हजार रुपैयाँ र आईएमई जनरल इन्स्योरेन्सको ४ करो ८६ लाख रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सूचिकृत भएको बोर्डले जनाएको छ । पूर्णिमा विकास बैंकको २ लाख ६२ हजार ५१६ कित्ता अर्थात २ करोड ६२ लाख ५१ हजार ६०० रुपैयाँ बराबरको नेप्से थपिएको छ । त्यस्तै, देव विकास बैंकको १२ लाख ९३ हजार ५२४ कित्ता र लुम्बिनी विकास बैंकको ३७ लाख ७१ हजार ९७२ कित्ता बोनस नेप्सेमा थपिएको छ । त्यसैगरी, लघुवित्ततर्फ नागबेली लघुवित्त वित्तीय संस्थाको एक लाख ४३ हजार ८०० कित्ता, मिथिला लघुवित्तको ६८ हजार ९४६ कित्ता र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको २ लाख २२ हजार ७५० कित्ता बोनस चालु आवको तीन महिना भित्र नेप्सेमा थपिएको हो । वाणिज्य बैंकतर्फ सेञ्चुरी कमर्शियल बैंकको १६ लाख ५० हजार अर्थात १६ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सूचीकृत भएको छ । त्यस्तै, प्राइम कमर्शियल बैंकको एक अर्ब २८ करोड ५३ लाख २७ हजार ८०० रुपैयाँ बराबरको एक करोड २८ लाख ५३ हजार २७८ कित्ता बोनस बजारमा सूचीकृत भएको छ । जुन सो अवधिमा सूचीकृत बोनसमध्ये सबैभन्दा बढी हो । रिलायन्स फाइनान्सको गत भदौ २५ गते ८ लाख ९१ हजार ८७४ कित्ता बोनस नेप्सेमा थपिएको छ । फाइनान्सको १२ प्रतिशत अर्थात ८ करोड ९१ लाख ८७ हजार ४३५ रुपैयाँ बराबरको बोनस सूचीकृत भएको छ । हाइडोपावर कम्पनीतर्फ रादी विद्युत कम्पनी र अपी पावर कम्पनीले जारी गरेका क्रमशः ५/५ प्रतिशत बोनस नेप्सेमा थपिएको हो । जसमध्ये रादी विद्युत कम्पनीको २ लाख २५ हजार ५२५ कित्ता र अपी पावरको ५ लाख ६७ हजार कित्ता बोनस नेप्सेमा सूचीकृत भएको बोर्डले जनाएको छ।