विकासन्युज

बोइङका ५० बिमानमा क्षति भएको देखिएपछि उडानमा प्रतिबन्ध

सिड्नी । बोइङ कम्पनीका ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ । यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो । अस्ट्रेलियाली राष्ट्रिय ध्वजाबाहक क्वान्टासले एउटा बिमानमा समस्या भेटिएपछि ग्राउन्डेड गरेको जनाएको छ । क्वान्टासले यही सिरिजका अरु ३२ बिमानको पनि परीक्षण गर्न लागेको छ, तर कम्पनीले यात्रुहरुलाई चिन्ता नलिन आग्रह गरेको छ । गत अक्टोबरको शुरुमै दक्षिण कोरियाली अधिकारीहरुले बिमानमा क्षति देखिएको पत्ता लगाएसँगै नौ वटा बिमान ग्राउन्डेड गरेका थिए । यी बिमानमध्ये कोरियन एयरका पाँच वटा थिए । बिमानमा समस्या देखिएलगत्तै अमेरिकी नियामक निकायले बिमानको तत्काल परीक्षण गर्न बोइङ कम्पनीलाई आदेश दिएको थियो । क्वान्टासको घोषणालगत्तै बोइङ कम्पनीका एक जना प्रवक्ताले बिहीबार नै एक हजार बिमानमध्ये ५ प्रतिशतभन्दा कम बिमानमा स–साना दरार देखिएको बताएका छन् । प्रवक्तले ती बिमानको मर्मत शुरु भइसकेको पनि जानकारी दिए । क्वान्टासको इन्जिनियरिङ विभागका प्रमुख क्रिस स्नूकले बिमान पूर्णरुपमा सुरक्षित महसुस नगर्दासम्म कुनै पनि बिमान नउडाउने बताएका छन् । अमेरिकी नियामक निकाय संघीय नागरिक उड्डयन प्रशासनले ३० हजार पटकभन्दा बढी उडेका सबै ७३७एनजी सिरिजका बिमानको तत्कालै प्राविधिक जाँच गर्न आदेश दिइसकेको छ । तर क्वान्टासले ३० हजार पटकभन्दा कम उडेका बिमानमा पनि यस्तै समस्या देखिएको जनाएको छ । यी बिमानहरु सामान्यतया अस्ट्रेलियाभित्र र छिमेकी न्यूजील्यान्डसम्म मात्र उडाइएको क्वान्टासले जनाएको छ । अस्ट्रेलियाली नियामक निकायले अस्ट्रेलियाकै निजी क्षेत्रको भर्जिन एयरवेजले बोइङ ७३७एनजी सिरिजका सबै १७ वटा बिमानको प्राविधिक परीक्षण सम्पन्न गरिएको र त्यसमा कुनै समस्या नदेखिएको जनाएको छ । बोइङका ७३७ म्याक्स सिरिजका लगातार दुई वटा बिमान दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएपछि बोइङका बिमानहरुको सुरक्षाप्रति सर्वत्र चासो उत्पन्न भएको छ । रासस

सामाजिक सञ्जाल ट्वीटरमा राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध

वासिङ्टन । सामाजिक सञ्जाल ट्वीटरले आफ्नो प्लेटफर्मबाट राजनीतिक विज्ञापन स्वीकार नगर्ने बुधबार घोषणा गरेको छ । राजनीतिक व्यक्तिहरुबाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुने गरेको भन्दै सबै क्षेत्रबाट चासो व्यक्त भएपछि उक्त निर्णय गरिएको ट्वीटरले जनाएको छ । ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले ट्वीट गर्दै इन्टरनेट विज्ञापन निकै सशक्त र ज्यादै प्रभावकारी देखिए पनि यो शक्तिलाई राजनीतिक व्यक्तिहरुले दुरुपयोग गर्ने सम्भावना बढी देखिएको बताएका छन्र । उनले यही हतियारका आधारमा लाखौं जनतालाई मतदानका बेला दिग्भ्रमित पार्ने खतरा रहेको उल्लेख गरे । अर्को सामाजिक सञ्जाल फेसबुकमाथि पनि राजनीतिक विज्ञापन गर्नुअघि तथ्य–जाँच गर्न तिब्र दबाब परेको छ । डोर्सेले नयाँ नीति बमोजिम राजनीतिक मामिलाका साथै उम्मेदवारका सबै विज्ञापनमाथि रोक लगाइने छ । उनले अर्को महिना विज्ञापनसँग सम्बन्धित विस्तृत विवरण सार्वजनिक गरिने र आगामी नोभेम्बर २२ देखि यो नीति लागू हुने पनि उनले जानकारी दिएका छन् । तर फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले राजनीतिक विज्ञापन फेसबुकका लागि ठूलो आम्दानीको स्रोत नभएको बताउँदै राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउँदा बहालवाला राजनीतिक व्यक्तिलाई नै फाइदा पुग्ने दाबी गरेका छन् । प्रतिबन्धले स्वतन्त्र र नयाँ “आवाज”लाई दबाउने जुकरबर्गको तर्क छ । तर, डोर्से भने जुकरबर्गको तर्कसँग सहमत छैनन् । डोर्सेले कुनै राजनीतिक विज्ञापन बेगर पनि ठूला र धेरै सामाजिक अभियानहरु सञ्चालनमा आएको बताए । “अमेरिका र विश्वकै लोकतन्त्रको रक्षाका लागि यो सही निर्णय हो,” सन् २०१६ की राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले ट्वीट गरेकी छिन् । “फेसबुकको भनाई के छ ?” क्लिन्टनले प्रश्न गरिन् । रासस

प्रधानमन्त्री ओलीको दोस्राे डायलाईसिस, आज डिस्चार्ज हुने

काठमाडौं । बुधबार स्वास्थ्यमा समस्या आई आईसीयुमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्री डायलसिस सम्पन्न भएको छ। उनलाई आजै डिस्चार्ज गरिने पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । प्रधानमन्त्रीको मिर्गौलाको बुधबार र बिहीबार गरी दुईपटक डायलाइसिस भइसकेको छ। उनले भने, ’केही समय आराम गरेर उहाँ डिस्चार्ज हुँदै हुनुहुन्छ । उहाँ आज बालुवाटार जाँदै हुनुहुन्छ ।’ उनले ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य भएको जानकारी दिए । उनलाई बुधबार बिहान १० बजे ग्राण्डी इन्टरनेशनल अस्पतालको आईसीयुमा भर्ना गरिएको थिए। प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीले पछिल्लोपटक भाद्र ५ गते सिंगापुर गएर त्यहाँ दुई साता बसेर प्लाज्माफेरेसिस गराई भाद्र २० गते स्वदेश फर्किएका थिए।  

निःशुल्क हुनुपर्ने सामुदायिक विद्यालयमा मासिक शुल्क तिर्न बाध्य

जाजरकोट । सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिए पनि जाजरकोट जिल्लाको छेडागाडस्थित एक सरकारी विद्यालयका विद्यार्थी अहिले पनि मासिक शुल्क तिर्न बाध्य छन् । छेडागाड नगरपालिका –१२ मनघाटस्थित चन्द्रज्योति आधारभूत विद्यालयका विद्यार्थी मासिक शुल्क तिर्न बाध्य भएका हुन् ।कक्षा ८ सम्म सञ्चालन भएको सो विद्यालयका एकदेखि आठ कक्षासम्मका सबै छात्र/छात्राले रु २५० का दरले मासिक शुल्क तिर्दै आएका छन् । संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने उल्लेख छ । बोर्डिङ स्कूलले जस्तै सरकारी स्कूलले पनि मासिक शुल्क लिने गरेको अभिभावक नैनसरा विकले बताएका छन् । उनले भने, “मावि तहसम्म सरकारले निःशुल्क पढाउने भनेको सुनेकी थिएँ तर पनि हामी मासिक शुल्क तिर्न बाध्य छौं, सरकारी विद्यालयमा पनि शुल्क तिर्नुपर्दा हामीजस्ता आयस्रोत न्यून भएका परिवारलाई निकै समस्या परेको छ ।” नैनसरा जस्तै धेरै अभिभावक शुल्क तिर्नु पर्दा खिन्न छन् । विद्यालयमा दरबन्दी नहुँदा चार निजी स्रोतका शिक्षकलाई तलब खुवाउन शुल्क लिने गरिएको विद्यालयले जनाएको छ । प्रधानाध्यापक शर्माबहादुर खत्रीले भने, “निजी स्रोतका चार शिक्षकलाई मासिक रु ४६ हजार तलब दिनुपर्छ, विद्यालयको अन्य आयस्रोत नभएपछि अभिभावकको सहमति लिएर सबै कक्षाका विद्यार्थीबाट मासिक रु २५० का दरले शुल्क उठाउने गरेका छौँ ।” विसं २०४६ मा स्थापना भएको यो विद्यालय पाँच कक्षासम्म सञ्चालनमा थियो । पाँचभन्दा माथिका कक्षाका लागि धेरै टाढा जानुपर्ने भएकाले निजी स्रोतमा शिक्षक राखेर आठ कक्षासम्म पठनपाठन सञ्चालन गरिएको हो । उक्त विद्यालयमा प्रावि तहमा एक अनुदान, एक राहत र दुई दरबन्दीसहित चार, एक बालविकास र निमाविमा एक अनुदान शिक्षकको दरबन्दी छ । दुई सय दश विद्यार्थी अध्ययनरत विद्यालयमा दरबन्दीका साथै कक्षाकोठा, भवन, शौचालय तथा शैक्षिक सामग्री, र खेलकूदका सामग्रीको अभाव रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खत्रीले बताए । उनले स्थानीय सरकारसँग आवश्यक दरबन्दी र अन्य भौतिक पूर्वाधारका लागि माग गरिएको जानकारी दिए । सरकारी दरबन्दी प्राप्त भएपछि शुल्क लिन बन्द गरिने अध्यक्ष खत्रीको भनाइ थियो । कक्षाकोठा अभावमा एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । एउटै कोठा दुई वटा कक्षा चलाउँदा एकअर्को कक्षालाई असर भएको शिक्षकहरूको गुनासो थियो । यो विद्यालयजस्तै अस्थायी सम्बन्धन लिएर नि.मा.वि तथा मा.वि तह सञ्चालन गरिरहेका र केही पुराना विद्यालयलेसमेत मासिक शुल्क लिने गरेका छन् । कतिपय विद्यालयले मासिक शुल्क नभनेर एकमुष्ट रुपमा रकम लिने गरेका छन् । विद्यालयको भौतिक सुविधा विस्तार, मर्मत र खेलकूद शुल्कको नाममा भर्ना हुँदा नै एकमुष्ट रुपमा रकम असुल्ने गरेको पाइएको छ । उनीहरुले रु दुई हजार रुपैयाँसम्म एकमुष्ट रकम लिने गरेका हुन् । त्यस्तै एसइई तथा कक्षा १२ कक्षा पासको चारित्रिक प्रमाणपत्रको शुल्कसमेत चर्को असुल्ने गरेको अभिभावकको गुनासो थियो । एउटै विद्यार्थीबाट चारित्रिक प्रमाणपत्र र शुल्कबापत रु पाँच हजारसम्म लिने गरिएको उनीहरूको भनाइ थियो । शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख खड्ग केसीले संविधानअनुसार मा.वि तहसम्म मासिक शुल्क लिन नपाइने प्रावधान रहेको बताए । निजी स्रोतका शिक्षकको तलब ब्यहोर्न अन्य स्रोत खोज्न र मासिक शुल्क नलिन आग्रह गरिने उनको भनाइ थियो । रासस

भदौ महिनासम्म ९ वाणिज्य बैंक घाटामा, त्रैमासिक रिपाेर्ट कस्ताे आउला ?

काठमाडौं । भदाै महिनासम्म ९ ओटा बैंक घाटामा रहेको पाइएकाे छ । नेपाल राष्ट्र बैंककाे तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका २८ ओटा वाणिज्य बैंकहरुमध्ये साे संख्याका बैंकहरु घाटामा रहँदा बाँकी १९ बैंकहरु मात्रै नाफामा रहेकाे देखिएकाे हाे । नाफामा रहेका बैंकहरुको पनि साे अवधिकाे नाफा निकै कम देखिएको छ । दुई महिनाको यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले  १ अर्ब १ करोड नाफा कमाएर साे अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा परेको छ । त्यस्तै, नबिल बैंकको ७५ करोड १७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ७२ करोड ५ लाख, प्रभु बैंकले ६८ करोड २२ लाख रुपैंया नाफा गरेर क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान कायम गरेका छन् । सो अवधिमा एनआईसी एशिया बैंकले एक करोड २८ लाखमात्रै नाफा कमाएको छ । त्यसबाहेक स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल एसबीआई, एभरेष्ट, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, सिद्धार्थ, कृषि विकास, ग्लोबल आईएमई, सिटिजन्स, सनराइज, एनएमबि, मेगा र सानिमा बैंकले सो अवधिमा नाफामा रहेको विवरण पेश गरेका छन् । घाटामा जाने बैंकहरुमा भने नेपाल बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, प्राइम कमर्शियल बैंक, जनता बैंक, सिभिल बैंक र सेञ्चुरी बैंक छन् । यो अवधिमा कुमारी बैंकको सबैभन्दा धेरै ७९ करोड ६ लाख रुपैंयाँ तथा नेपाल बैंकको ७६ करोड ८३ लाख रुपैंयाँ घाटा देखिएको छ । विवरणहरु सही छन् त ? राष्ट्र बैंकको मासिक तथ्यांकमार्फत् सार्वजनिक हुने यी विवरणहरुलाई पूर्ण रुपमा सही मान्न नसकिए पनि यी तथ्यांकहरु पूर्ण रुपमा गलत भने होइनन् । नेपाल राष्ट्र बैंकले प्रत्येक बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न बैंकिङ सूचनाहरुको नियमित रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरेको छ । यसमध्ये केही दैनिक, केही साप्ताहिक र केही मासिक विवरणहरु छन् । त्यसका लागि बैंकले त्यस्तो रिपोर्टिङ गर्ने छुट्टै अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत छ । उनीहरूले इन्टरनेटमा आधारित सूचना प्रविधिमार्फत् गर्ने आधिकारिक रिपोर्टिङलाई नै राष्ट्र बैंकले आफ्नो प्रकाशनको रुपमा प्रकाशित गर्ने गर्छ । नेपाल राष्ट्र बैंक नियमन विभागअन्तर्गतको नीति अनुसन्धान विश्लेषण महाशाखाका अनुसार बैंकहरुले पठाएको रिपोर्टिङलाई जस्ताको त्यस्तै प्रकाशन गर्ने मात्रै हो, त्यो पनि कम्युटराइज्ड सफ्टवेयरमार्फत् आउँछ, त्यसैले यसमा हाम्रो खासै केही भूमिका हुन्न, कुनै तथ्यांक अस्वाभाविक लाग्यो भने हामीले के भएको हो भनेर सोध्न चाहिँ सक्छौं ।’ किन देखिन्छ यस्तो फरक ? बैंकहरुले त्रैमासको अन्त्यलाई लोन सेटलमेन्टको मुख्य समय बनाउँछन् । असोजको मध्यदेखि मात्रै बैंकहरूले आफ्ना ऋणीहरुसँग ऋणको ब्याज तथा सावाँ भुक्तानीका लागि ताकेता गर्न थाल्छन् । त्यसैले बैंकहरूले गर्ने धेरैजसो ब्याज आम्दानीहरू त्रैमासको अन्त्यतिर मात्रै हुने गर्छ । तर बैंकहरुको सञ्चालन खर्च, कर्मचारी खर्च तथा कतिपय अवस्थामा ब्याज खर्चहरू समेत नियमित रुपमा भुक्तानी गर्नुपर्ने भएकोले बैंकहरू कुनै महिनामा नाफा र कुनै महिनामा घाटामा देखिन गएका हुन् । यद्यपि आम्दानी पनि खर्चजस्तै नियमित रुपमा हुनुलाई राम्रो मान्न सकिने राष्ट्र बैंकले जनाएको छ । उनले भने – ‘तर भदौ महिनाको नाफालाई हेरेर असोज महिनाको नाफाको पूर्वानुमान भने नगर्दा नै राम्रो हुन्छ ।’

मदन भण्डारी लोकमार्गकाे ८० प्रतिशत निर्माण कार्य सम्पन्न

गाईघाट । पूर्वको सुनसरीदेखि उदयपुर र सिन्धुली हेर्टौडा हुँदै राजधानी काठमाडौँ जोड्ने मदनभण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतरादेखि सिन्धुलीको भिमानसम्मको पूर्वी खण्डमा ८० प्रतिशत सडक निर्माण भएको छ । चतरादेखि उदयपुर जिल्लाको रामपुर ठोक्सिला, गाईघाट, कटारी हुँदै सिन्धुलीको भिमानसम्मको १४३ किलोमिटर सडक खण्डमा हालसम्ममा ८० प्रतिशत कार्य सम्पन्न भएको पूर्वी सडक डिभिजन प्रमुख इञ्जिनीयर ललितजंग खनालले बताएका छन् । एकसय त्रिचालिस किलोमिटर सडकमध्ये ५० किलोमिटर सडक पूर्णरुपमा कालोपत्र भइसकेको र ८० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य अन्तिमचरणमा पुगेको र बाँकीको पनि कालोपत्र हुन लागेको उनको भनाइ थियो । उक्त सडक खण्डको ४३ पक्की पुलमध्ये ३३ पक्की पुल निर्माण भइसकेको र बाँकी १० पुलको निर्माण अन्तिम चरणमा पुगेकाले आगामी चैतसम्ममा सम्पन्न हुने प्रमुख खनालले बताए । सो सडक सम्पन्न गर्ने समयावधि आगामी कात्तिक महिनासम्म रहे पनि जेठ भित्रै सम्पूर्ण कार्य सम्पन्न हुने अवस्थामा पुगेको पनि उनले जानकारी दिएका छन् ।सो पूर्वी खण्डको सडक निर्माण र पुल निर्माणका लागि रु छ अर्ब बजेट उपलब्ध भएकामा रु चार अर्ब ५० करोड सडक निर्माण, कालोपत्र र नाला निर्माणका लागि तथा रु एक अर्ब ५० करोड ४३ वटा पुल निर्माणका लागि छुट्याइएको थियो । यस्तै उक्त लोकमार्गको पूर्वी क्षेत्र बाहेक सिन्धुलीको भिमान हुँदै हेटौंडासम्मको पश्चिमी क्षेत्रको सडक खण्डमा पनि अहिले ५० प्रतिशत कार्य भइसकेको सो लोकमार्गका योजना प्रमुख राजेश पौडेलले बताएका छन् । रासस

कैदीले उत्पादन गरेको ३ लाखको कपडा बिक्री, बजार मूल्य भन्दा ५० प्रतिशत सस्तो

काठमाडौं । भद्रकाली केन्द्रीय कारागारका कैदीहरूले उत्पादन गरेको ३ लाख रुपैयाँको कपडा १ महिनाको अवधिमा बिक्री भएको छ । कैदीहरुले उत्पादन गरेको कपडा उद्योग विभाग परिसर त्रिपुरेश्वरमा असोज ८ गतेबाट बिक्री सुरु भएको थियो । १ महिना अवधिमा कार्यालय समयमा खुल्ने र बन्द हुने बिक्री कक्षबाट ३ लाख ३४ हजार ३५८ रुपैयाँको कपडा बिक्री भएको हो । बिक्री कक्षमा रहेकी लक्ष्मी गिरीले भनिन्–‘तन्ना, टावेल र सर्टको कपडा बढी बिक्री भएको छ ।’ कैदीहरुले उत्पादन गरेको कपडा बजार मूल्यभन्दा ३० देखि ५० प्रतिशतसम्म सस्तो रहेको छ । अस्पातालमा प्रयोग गर्ने एप्रोन देखि महिला पुरुषले प्रयोग गर्ने सबै किसिमको कपडा बिक्री कक्षमा छ । उक्त बिक्री कक्षबाट ग्राहकहरुले घरायसी प्रयोगका लागि मात्र कपडा खरिद गर्न पाइन्छ । व्यापारिक प्रयोजनका लागि भने बिक्री कक्षबाट कपडा बिक्री गरिंदैन । भद्रकाली केन्द्रीय कारागारमा कैदीहरूद्वारा उत्पादित कपडा बिक्री कक्षको असोज ८ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव उद्घाटन गरेका थिए । उक्त अवसरमा मन्त्री यादवले नेपाली उत्कृष्ट उत्पादनलाई उपभोक्ताले सहजै रुपमा उपभोग गर्न सक्ने बताएका थिए । केन्द्रीय कारागार कारखाना प्रमुख रामहरि ढुङ्गेलले कैदीहरुले उत्पादन गरेको कपडा राम्रो र बजार मूल्यभन्दा ४० देखि ५० प्रतिशतसम्म सस्तो रहेको बताए । कैदीहरुले उत्पादन गरेका कपडा सबै सुतिका हुन् । बिक्री भएको कपडाको पैसा कैदीहरुको कोषमा जाने छ । त्यो पैसा कैदीहरुको नै वृद्धिविकासमा खर्च हुनेछ । शुरुमा १८ किसिमका कपडा बिक्री सुरु थियो भने हाल २१ किसिमका कपडा बिक्री भइरहेको छ । त्यहाँ बिक्रीका लागि राखिएको कपडाको मूल्य प्रति मिटर ५३ देखि ५५० सम्म तोकिएको छ ।

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, साठी भन्दा बढी यात्रुको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा बिहीबार बिहान गुडिरहेको एउटा रेलमा आगलागी हुँदा साठी भन्दा बढी यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा अरु कैयौँ घाइते भएका स्थानीय यातायात अधिकारीहरुले जानकारी दिएका छन् । पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको प्रहरीको प्रतिवेदनमा जनाइएको छ । रेलमा रहेका यात्रुको सिलिन्डर विस्फोट भएका कारण उक्त आगलागी हुन पुगेको अनुमान गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् । तर यसको आधिकारिक पुष्टि भने भएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीको क्रममा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने जल्न नपाएको बताइएको छ । यस घटनामा घाइते भएकाहरुको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने आशङ्का गरिएको पनि समाचारमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा