विकासन्युज

मठ, मन्दिर र तालतलैया सफा गर्दै पर्यटन मन्त्री योगेश भट्टराई, भ्रमण वर्षको प्रवद्र्धन

जनकपुर । छठपर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका क्रममा आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा जनकपुरका मठ, मन्दिर र तालतलैयामा सरसफाइको अभियान शुरु भएको छ । छठपर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका क्रममा आज केन्द्र र प्रदेश सरकारको आयोजनामा जनकपुरमा सर्वपक्षीय सहभागितामा चियापान कार्यक्रम राखिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिए । यस प्रकारको कार्यक्रम पहिलोपटक आयोजना गरिएको हो ।

ढुंगेगढी र कृषि उद्यमको मुख्यमन्त्रीले गरे अवलोकन, ‘पर्यटन र कृषि सरकारको प्राथमिकता’

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रचार प्रसार गर्न सके मकवानपुरमा रहेको ऐतिहासिक ढुंगेगढी पर्यटकीय गन्तब्य बन्ने बताएका छन् । उक्त गढीको बुधबार स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले ऐतिहासिकता झल्कने गरी ढुंगेगढीको बिकास गरिने पनि जानकारी दिए । प्रदेशमा ऐतिहासिकता झल्कने धेरै गढीहरु रहेको स्मरण गर्दै उनले भौगोलिक हिसाबले पनि सो गढीमा पर्यटक आकर्षण गर्न सकिने बताए । प्रदेश सरकारले यसको बिकासका लागि बिषेश महत्वका साथ योजनासहित अगाडि बढ्ने समेत उनको भनाई थियो । मकवानपुरढीदेखि करिब ५ किलोमिटर माथि कान्तिराजपथ नजिकै रहेको सो गढीमा अहिले पनि पर्यटकहरु घुम्न आउने गरेका छन् । यसअघि पनि प्रदेश सरकारको सहयोगमा सो स्थानमा ऐतिहासिक मन्दिर तथा बिश्राम स्थल निर्माणसमेत गरिएको छ । यसैगरी बुधबार नै मुख्यमन्त्री पौडेलले मकवानपुर गढी गाउँपालिकाका विभिन्न कृषि उद्यमहरुको अवलोकन गरेका छन् । मुख्यमन्त्री पौडेलले मकवानपुर गढी गाउँपालिकाका कामधेनु कृषि फर्म, देबकी एकीकृत कृषि फर्म, मकवानपुर एग्रो प्राली, कलश बहुउद्देश्यीय कृषि फर्म, तिमल्सिना कृषि फर्मको अवलोकन गरेका हुन् । किसानहरुलाई हौसला प्रदान गर्न उनीहरुको फर्ममा नै गएर समस्याका विषयमा जानकारी लिएका थिए । किसानहरुले लगाएको तरकारीका साथै भैंसी, गाई, टर्की तथा कुखुरा फर्महरु अवलोकन गरेका हुन् । उक्त अवसरमा स्थानीय किसानहरुले मुख्यमन्त्री पौडेलसंग कृषि उत्पादनको बजार ब्यबस्थित बनाउन माग गरेका थिए । यसैगरी फर्महरु स्थापना गरेपनि बाटो, पानी, बिजुली लगायतको समस्याका बारेमा पनि उनीहरुले मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए । किसानहरुको जिज्ञासाको जवाफ दिदैं सरकारले सबै भन्दा कृषि क्षेत्रलाई महत्व दिने बताए । किसानले उत्पादन गरेका हरेक कृषि उत्पादनलाई सहजरुपमा बिक्री बितरण गर्न, सहजरुपमा उत्पादनका बिभिन्न भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने उनको भनाई थियो । बुधबार नै मुख्यमन्त्री पौडेलले बिभिन्न निर्माणधीन भौतिक संरचनाहरुको समेत अवलोकन गरे । अवलोकनमा जिल्ला समन्वय समिति मकवापुरका प्रमुख रघुनाथ खुलाल, गढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईं, सहकारी संघका केन्द्रीय सदस्य बद्रि लम्साल, दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देबकोटा, रामजी सापकोटा, हेटौँडा उपमहानगरपालिकाका अधिकृत रामकृष्ण थापा, स्थानीय वडाहरुको अध्यक्षहरुलगायत सहभागी थिए ।

तराईवासीको महान पर्व छठ शुरु, आज नहाय खाय विधि गरिँदै

जनकपुरधाम । आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा रहेको छ । छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतीले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाने गरिँदैन । यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी ९धानको एक प्रकार, कालो रङको गर्भमै पाक्ने पवित्र अन्न० को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ । गम्हरीलाई साठी पनि भनिन्छ । छठपर्वमा साठी प्रकारको वस्तु चाहिने भनिन्छ, तिनमा गम्हरीलाई कुटेर त्यसको केही कमी रहन गएमा गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने लोकविश्वास रहेको छ । चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपयोग गरिन्छ । आरोग्य लाभ मुख्य उद्देश्य भएको छठपर्व उत्सवको रूपमा मात्र नभई कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ । चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास रहेको पाइन्छ । छठपर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुने निश्चित मानिएको छ । छठपर्व विशुद्धरूपमा प्रकति र पुरूषको पूजा हो । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ । झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैँठौँ अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा रहेको छ । देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ । यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ ।

डोल्पावासीको कहर, फोन गर्न हिमाल चढ्नै पर्ने बाध्यता

जाजरकोट । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन् । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि दैनिक कोठाना जाने गरेको उनी बताउँछन् । उनले भने–“मजस्तै यहाँका सबै मानिस फोन गर्न तीन घण्टा हिमाल चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु ? आफन्तको खबर सुन्न मन लाग्छ ।” त्यस्तै मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही पनि सदरमुकामलगायत अन्य ठाउँमा फोन गर्नुपरेमा यही लेकमा पुग्ने गरेको बताउँछन् । दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले कोठाना डाँडामा पुग्नु बाध्यता भएको उनको भनाइ छ । फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना आदान–प्रदान गर्न मुस्किल भएको छ । अग्लो हिमाल र अग्ला डाँडामा रहेको ठूला रुखको टुप्पोमा गएपछि त्रिपुराकोटमा रहेको टावरले सामान्य काम गर्ने भएकाले त्यहाँ गएर फोन गर्ने गरिएको नर्कुका सोमराज शाहीले बताए । फोन नहुँदा जहाँ पनि हिँडेर गई खबर गर्नुपर्दा निकै दुःख भोग्नुपरेको प्रहरी कार्यालय इलले जनाएको छ । जाजरकोटको सिमानासँग जोडिएको मुड्केचुला गाउँपालिका जुम्लाको सिमानासँग पनि जोडिएको छ । कठिन भूगोल रहेको यस क्षेत्रबाट सदरमुकाम जान दुई दिन लाग्ने गर्दछ । मुड्केचुला गाउँपालिकामा सामान्य कभरेज भएको नमस्तेको फोन दूरसञ्चार प्राधिकरण र चिनियाँ स्याटलाइट कम्पनी डिस्याटबीच भएको सम्झौता सकिएपछि उक्त चिनियाँ कम्पनीले स्याटलाइट बन्द गर्दा मुड्केचुला गाउँपालिका र काइके गाउँपालिकामा सञ्चार सेवा पूर्णरुपमा बन्द भएको छ । असोज २५ गते बन्द भएको नमस्तेको मोबाइल सेवा अझै सञ्चालन हुने कुनै छाँटकाँट देखिएको छैन । विगत लामो समयदेखि चिनियाँ स्याटलाइटमार्फत मोबाइल सेवा प्रदान गर्दै आएको दूरसञ्चार प्राधिकरणले स्याटलाइट बन्द भएपछि सेवा दिन सकेको छैन । सञ्चार सेवा अवरुद्ध भएसँगै यहाँका करीब १५ हजार नागरिक सञ्चारविहीन भएका छन् । चीनको डिस्याट कम्पनीसँगको सम्झौता सकिएका कारण बन्द भएको र अब केन्द्रीय कार्यालयको निर्णयानुसार नै सेवा सञ्चालन हुने दूरसञ्चार कार्यालय डोल्पाका निमित्त प्रमुख नवराज भट्टराईले जानकारी दिए । मुड्केचुला गाउँपालिकामा जोड्नका लागि ल्याइएको नेपाल टेलिकमका सामग्रीहरु रुकुमको त्रिवेणीमा करीब दुई वर्षदेखि थन्किएका छन् । भारतीय कम्पनीले जाजरकोटलगायत डोल्पाका अधिकांश ठाउँमा नेपाल टेलिकम टावर निर्माणको जिम्मा लिए पनि काम नगर्दा समस्या हुँदै आएको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए । जतिपटक ताकेता गरे पनि टावर निर्माण कम्पनीले नटेरेको उनको भनाई छ । रासस

शुल्क महङ्गो भो, सङ्कटमा मुस्ताङको पर्यटन व्यवसाय

मुस्ताङ । सडक र महङ्गो प्रवेश शुल्क उपल्लो मुस्ताङको पर्यटन विकासको चुनौतीको रूपमा देखिएको छ । नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला केही वर्षयता उपल्लो मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटक बढ्न सकेको छैन । पर्यटक बढाउन वैकल्पिक पदमार्ग सञ्चालन, प्रचारप्रसार र प्रवेश शुल्क घटाउन स्थानीयवासीले माग गरेका छन् । चीनको सीमा क्षेत्रमा अवस्थित लोमान्थाङ र दामोदरकुण्ड लोघेयकर गाउँपालिकामा पर्ने उपल्लो मुस्ताङ भ्रमणका लागि विदेशीले कम्तीमा दुई जनाको समूह बनाएर अध्यागमन विभागलाई पाँच सय डलर तिरेर १० दिनका लागि अनुमति लिनुपर्ने व्यवस्था छ । दश दिनभन्दा बढी बस्नुपर्दा कारण खुलाएर प्र्रतिदिन ५० डलरका दरले अतिरिक्त शुल्क बुझाउनुपर्छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा करोडौँ खर्चेर सुविधासम्पन्न होटल खोल्ने क्रम बढे पनि महङ्गो शुल्क र झन्झटिलो प्रक्रियाका कारण पर्यटन व्यवसाय सङ्कटमा परेको होटल व्यवसायी रामबहादुर गुरुङले गुनासो गरे । दुई गाउँपालिकामा रु ३० लाखदेखि २० करोडसम्म लगानीमा दैनिक ५०० जना बास बस्न सक्ने क्षमताका करीब ५० रिसोर्ट, होटल तथा लज सञ्चालनमा छन् । नयाँ होटल थपिने क्रम बढ्दो छ । बिदा र चाडपर्वको समयमा आन्तरिक पर्यटकको आगमन बढे पनि नियमित छैन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० लोमान्थाङका अनुसार सन् २०१६, २०१७ र २०१८ मा क्रमशः तीन हजार ९१८, चार हजार १५ र तीन हजार ९४६ विदेशीले उपल्लो मुस्ताङ घुमेका छन् । सन् २०१९ मा पनि गत वर्षकै हाराहारीमा आएका छन् । पर्यटक आगमन बढाउन नयाँ पदमार्ग र गन्तव्यको खोजीमा प्राथमिकता दिएको एक्याप लोमान्थाङका निमित्त प्रमुख श्रीकृष्ण न्यौपानेले बताए । सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुला गर्दा पहिलो वर्ष ४८३ पर्यटक आएका थिए । सन् २००७ सम्म प्रतिदिन ७० डलर प्रवेश शुल्क हुँदा वार्षिक ८०० पर्यटक आउने गरेकामा शुल्क घटाएपछि बढेका थिए । कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुफा, गुम्बा, छोर्तेन, कोरला नाका यस क्षेत्रको आकर्षण हुन् । उपल्लो मुस्ताङको पर्यटन विकासका लागि शुल्क समायोजन, नयाँ गन्तव्य र पदमार्गको पहिचान, अनुमति लिने प्रक्रियालाई सरलीकरण, स्वदेशीलाई आकर्षित गर्ने र प्रचारप्रसारमा जोड दिनुपर्ने देखिएको छ । रासस

हरेक बैंकका आ-आफ्नै मर्चेन्ट बैंकर्स, ३१औं नम्बरमा हिमालयन क्यापिटल आयो

काठमाडौं । प्रत्येक बैंकले एउटा एउटा मर्चेन्ट बैंकिङ एण्ड इन्भेष्टमेन्ट कम्पनी खोल्ने क्रम जारी रहेको छ । ३१औं नम्बरमा हिमालयन बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल खुल्ने भएको छ । बैंकको पूर्ण स्वामित्वमा रहेको यो कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । शुक्रबारदेखि औपचारिक कारोबार शुरु गर्न लागेको यस कम्पनीको मुख्य कार्यालय ठमेलमा राखिएको छ । यस कम्पनीले मर्चेन्ट बैकिङ तथा इन्भेष्टमेन्ट सम्बन्धी सबै काम गर्ने उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले जानकारी दिए । नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रेशन, अन्डरराटिङ, पोर्टफोलियो म्यानेजमेन्ट, कर्पोरेट एडभाइजरीको काम गर्ने अनुमति लिइएको उनले जानकारी दिए । हालसम्म बैंक अफ काठमाडौं, सिटिजन्स बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, जनता बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, नेपाल एसबिआई बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सनराईज बैंक र हिमालयन बैंक गरी २१ वटा वाणिज्य बैंकको आआफ्नै मर्चेन्ट बैकिङ कम्पनी छन् । पछिल्लो समय मुक्तिनाथ विकास बैंकले पनि मर्चेन्ट बैकिङ कम्पनी किनेको छ । नागरिक लगानी कोषले पनि मर्चेन्ट बैकिङको काम गर्दै आएको छ । बैंकको एकल स्वामित्वमा नभएको अन्य ९ वटा मर्चेन्ट बैकिङ कम्पनीहरु पनि सञ्चालनमा रहेका छन् । सानाे बजार, धेरै कम्पनी भएकाले अधिकांश मर्चेन्ट बैंकर्स कम्पनी नाेक्सानमा चलिरहेकाे तिनकाे वित्तीय  विवरणले देखाउँछ ।

प्रधानमन्त्री केपी शर्मा ओली आईसीयुमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्राण्डी इन्टरनेशनल अस्पतालको आईसियुमा राखिएको छ। स्वास्थ्यमा समस्या आएपछि ओलीलाई ग्राण्डी इन्टरनेशनल अस्पतालको आईसीयुमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । ओलीलाई ४ बजे अस्पतालबाट डिस्चार्ज गर्ने भनिए पनि उपचार लम्बिएको कारण ओलीलाई आज अस्पतालमै राख्ने सम्भावना बढी भएको बताईएको छ। उनलाई धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल बिहान १० बजे पुर्याईएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र नियमित फलोअपमात्रै भएको बताएका छन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीले पछिल्लोपटक भाद्र ५ गते सिंगापुर गएर त्यहाँ दुई साता बसेर प्लाज्माफेरेसिस गराई भाद्र २० गते स्वदेश फर्किएका थिए। अस्पतालले भने यस विषयमा औपचारिक धारणा राखेको छैन।

बजेट विनियोजन नहुँदा अधिकांश स्थानीय तहका कार्यालय भाडाकै घरमा

काठमाडाैं । बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । १६ स्थानीय तहमध्ये सुगम र सुविधा सम्पन्न उपमहानगरपालिकाको रुपमा चिनिने कलैया उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाबाहेकका सबै स्थानीय तहका कार्यालय भाडा तथा अरु सरकारी कार्यालयका भवनमा सञ्चालनमा रहेको बताइएको छ । कोल्हवी नगरपालिका, महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, त्यसैगरी आर्दशकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, करैयामाई गाउँपालिका, विश्रामपुर गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, देवताल गाउँपालिका र सुर्वण गाउँपालिका भाडाकै घरमा सञ्चालित छन् । स्थानीय तह गठन भएको लामो समय बित्दा पनि भवन निर्माणका लागि बजेट विनियोजन नहुँदा व्यक्तिगत प्रयोजनका लागि बनाइएका घर तथा अन्य सरकारी एवम् गैर सरकारी निकायका भवनबाट कार्यसम्पादन गर्दा समस्या परेको स्थानीय निकायका जनप्रतिनिधिको गुनासो छ । रासस