कैदीले उत्पादन गरेको ३ लाखको कपडा बिक्री, बजार मूल्य भन्दा ५० प्रतिशत सस्तो

<p>काठमाडौं । भद्रकाली केन्द्रीय कारागारका कैदीहरूले उत्पादन गरेको ३ लाख रुपैयाँको कपडा १ महिनाको अवधिमा बिक्री भएको छ । कैदीहरुले उत्पादन गरेको कपडा उद्योग विभाग परिसर त्रिपुरेश्वरमा असोज ८ गतेबाट बिक्री सुरु भएको थियो । १ महिना अवधिमा कार्यालय समयमा खुल्ने र बन्द हुने बिक्री कक्षबाट ३ लाख ३४ हजार ३५८ रुपैयाँको कपडा बिक्री भएको [&hellip;]</p>


काठमाडौं । भद्रकाली केन्द्रीय कारागारका कैदीहरूले उत्पादन गरेको ३ लाख रुपैयाँको कपडा १ महिनाको अवधिमा बिक्री भएको छ । कैदीहरुले उत्पादन गरेको कपडा उद्योग विभाग परिसर त्रिपुरेश्वरमा असोज ८ गतेबाट बिक्री सुरु भएको थियो ।

१ महिना अवधिमा कार्यालय समयमा खुल्ने र बन्द हुने बिक्री कक्षबाट ३ लाख ३४ हजार ३५८ रुपैयाँको कपडा बिक्री भएको हो । बिक्री कक्षमा रहेकी लक्ष्मी गिरीले भनिन्–‘तन्ना, टावेल र सर्टको कपडा बढी बिक्री भएको छ ।’

कैदीहरुले उत्पादन गरेको कपडा बजार मूल्यभन्दा ३० देखि ५० प्रतिशतसम्म सस्तो रहेको छ । अस्पातालमा प्रयोग गर्ने एप्रोन देखि महिला पुरुषले प्रयोग गर्ने सबै किसिमको कपडा बिक्री कक्षमा छ । उक्त बिक्री कक्षबाट ग्राहकहरुले घरायसी प्रयोगका लागि मात्र कपडा खरिद गर्न पाइन्छ । व्यापारिक प्रयोजनका लागि भने बिक्री कक्षबाट कपडा बिक्री गरिंदैन ।

भद्रकाली केन्द्रीय कारागारमा कैदीहरूद्वारा उत्पादित कपडा बिक्री कक्षको असोज ८ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव उद्घाटन गरेका थिए । उक्त अवसरमा मन्त्री यादवले नेपाली उत्कृष्ट उत्पादनलाई उपभोक्ताले सहजै रुपमा उपभोग गर्न सक्ने बताएका थिए । केन्द्रीय कारागार कारखाना प्रमुख रामहरि ढुङ्गेलले कैदीहरुले उत्पादन गरेको कपडा राम्रो र बजार मूल्यभन्दा ४० देखि ५० प्रतिशतसम्म सस्तो रहेको बताए ।

कैदीहरुले उत्पादन गरेका कपडा सबै सुतिका हुन् । बिक्री भएको कपडाको पैसा कैदीहरुको कोषमा जाने छ । त्यो पैसा कैदीहरुको नै वृद्धिविकासमा खर्च हुनेछ । शुरुमा १८ किसिमका कपडा बिक्री सुरु थियो भने हाल २१ किसिमका कपडा बिक्री भइरहेको छ । त्यहाँ बिक्रीका लागि राखिएको कपडाको मूल्य प्रति मिटर ५३ देखि ५५० सम्म तोकिएको छ ।

Share News