काठमाडौंमा नेपाल र यूएईबीच जोइन्ट वर्किङ ग्रुपको बैठक बस्दै, कात्तिक १७ गतेदेखि शुरू
काठमाडौं । नेपाल र यूएईबीच संयुक्त कार्य समुह(जोइन्ट वर्किङ ग्रुप) को पहिलो बैठक यहि नोभेम्वर ३ र ४(कातिक १७ र १८ गते) तारिखमा काठमाडौंमा बस्ने भएको छ । नेपाल र यूएइबीच गत जुनमा सम्पन भएको श्रम समझदारीलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा सहभागी हुन यूएइको प्रतिनिधीमण्डल २ तारिखमा नेपाल आइपुग्नेछ । दुइ साता अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट अबुधावी डायलगमा सहभागी हुन यूएइ पुगेका थिए । सो क्रममा त्यहाँका मानव संसाधन मन्त्री नासेर थानी अल हम्ली र मन्त्री विष्टबीच भएको बैठकमा नोभेम्वर पहिलो साता संयुक्त कार्य समुहको बैठक काठमाडौंमा बस्ने निर्णय भएको थियो । यस्ता थिए गत जुनमा नेपाल र यूएइबीच भएका श्रम समझदारीका मुख्य मुख्य विशेषताहरुः – कामदारको छनौट/भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने इम्प्लोयर पेज प्रिन्सिपललाई स्थापित गरिएको छ । – रोजगारदाताको कमि कमजोरीका कारण कामदार वेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्ने सक्ने, – कुनै पनि कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातारण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न नपाइने र सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनुपर्ने मान्यतालाई स्थापित गरिएको, – महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्नुपर्ने, – राहदानी लगायत व्यक्तिगत परिचय सम्बन्धि कागजात श्रमिककै साथमा रहन पाउने व्यवस्थाको सुनिश्चितता, – कामदारकको दुखद मृत्यु हुनपुगेको अवस्थामा शव छिटो साधनद्धारा नेपालमा ल्याउन लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नु पर्ने, – कामदारले पाउने सेवा सुविधा तत्कालै भुक्तानी गर्नुपर्ने र बिलम्व गर्न नपाईने व्यवस्थाको सुनिश्चितता, – कामदार र रोजगारदाता बीच विवाद उत्पन्न भै अदालतमा मुद्दा परी विचाराधिन रहेको अवस्थामा कामदारलाई कुनै लागत वा शुल्क नलाग्ने गरी कानूनी उपचारको प्रत्याभूति गरिएको, त्यस्तो अवस्थामा कामदारले कानून बमोजिम अस्थायी श्रम स्वीकृतिका लागि आवेदन गर्ने सक्ने, – समझदारीपत्रको प्रभावकारी कार्यान्वयन र कामदारको भर्ना, रोजगारी र फिर्ता सम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्ने लगायतका विषय दुई देशका प्रतिनिधिहरु संलग्न संयुक्त बैठकबाट तय गरिने, – व्यवसायजन्य दुर्घटना वा रोग लागेमा त्यसको उपचारमा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने, – पाँच बर्ष सम्मको सेवा अवधिका लागि हरेक वर्षको सेवा वापत २१ दिनका दरले र सो भन्दा बढि सेवा अवधिका लागि वार्षिक ३० दिनका दरले उपदान पाउने व्यवस्था सुनिश्चित गरिएको, – गन्तव्य मुलुकको कानूनमा कामदारको हित अनुकुल हुने गरी संशोधन भएमा सो व्यवस्था कामदार र रोजगारदाता बीच सम्पन्न करारमा स्वत लागू हुने व्यवस्था गरिएको।
जापानीज भाषा परीक्षा स्थगित, विभागलाई जानकारी छैन
काठमाडौं । अन्तिम समयमा जापानीज भाषा परीक्षा स्थगित भएको छ । जापान फाउण्डेसनले तोकेको परीक्षा विना कारण नै स्थगित गरेको छ । नेपालमा पहिलो पटक जापान फाउण्डेनले आफ्नै तरिकाबाट कात्तिक १०, ११, १२ गते(अक्टोवर १०,११,१२) मा भाषा परीक्षा अनलाइनबाटै लिएको थियो । हालै मात्र फाउण्डेसनले कुनै निकायसँग समन्वय नगरी अगामी परीक्षा स्थगित गरेको हो । जापानीज भाषा परीक्षा स्थगित भएकोमा विभागलाई केहि जानकारी नभएको भन्दै यसका विषयमा जापान फाउण्डेसनका केहि सदस्यहरु एक हप्ता पछि नेपाल आएर परीक्षामा देखिएको अन्योलताकोे विषय छलफल तथा स्पष्ट नीति नियम बनाउने वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भिष्मकुमार भूसालले जानकारी दिएका छन् । डा.भूसालले भने- ‘उक्त भेटमा जापानको रोजगारलाई इन्डोनेसिया मोडलमा लैजाने विषयमा छलफल गर्ने तयारीमा छौं ।’ त्यस्तै बाँकी रहेका परीक्षार्थीको कात्तिक १९, २०, २१ गते (नोभेम्बर ५,६,७) मा हुने र सीप परीक्षा भने २६,२७, २८ गते (नोभेम्बर १२,१३,१४)मा हुने तयारी रहेको यूनिभर्सल ल्याङ्ग्विज् एण्ड कम्प्यूटर इन्स्टिटय्यूट्ले जानकारी दिएको छ । अघिल्लो १०,११,१२ गते भएको भाषा परीक्षाको बारे कति परीक्षार्थी उत्तीर्ण भए भन्ने कुनै तथ्यांक नरहेकाे साे इन्स्टिटय्यूट्ले जनाएकाे छ । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेसँगै नेपाल लगायत नौं देशको कामदार लैजाने निर्णय गरेको थियो । नेपाल सरकार र जापान सरकारबीच गत चैत ११ गते नेपाली श्रमिक पठाउने सम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी) मा हस्ताक्षर भएको थियो । जापानले १४ वटा कार्यक्षेत्रमा विदेशी श्रमिक भित्र्याउने नीति अख्तियार गरेको थियो । जस अन्तर्गत कृषि, नर्सिङ केयर, सवारी साधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिने घोषणा गरेको थियो ।
विश्व बैंकका कार्यकारी निर्देशकहरुले भने-‘उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपाल सरकारको लक्ष्यमा सघाउँछौ’
काठमाडौँ । आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा हरसम्भव सहायता उपलब्ध गराउने प्रतिबद्धता विश्व बैंकले व्यक्त गरेको छ । विश्वका आधाभन्दा बढी राष्ट्रको प्रतिनिधित्व गर्ने उक्त बैंकका १२ जना कार्यकारी निर्देशकहरूको समूहले बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर नेपालको सामाजिक–आर्थिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । “शीघ्र समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने सोचसहित अघि बढेको वर्तमान सरकारको लक्ष्य प्राप्तिमा सक्दो सहयोग गर्ने दृढता बैंकको उच्च प्रतिनिधिमण्डलले व्यक्त गरेको छ”, मन्त्री खतिवडाले बताए । सङ्घीयता कार्यान्वयनमा भएको उत्साप्रद प्रगति, वित्तीय सङ्घीयता बुझेको अर्थ मन्त्रालयको नेतृत्वको सराहना गर्दै प्रतिनिधिमण्डलले जनताका अपेक्षा, सेवा प्रवाहमा क्षमता अभिवृद्धिबारे अर्थमन्त्रीसँग चासो प्रकट गरेको थियो । विश्व बैंकको सहयोगबाट नेपालजस्ता देशमा परेको प्रभाव, उसले उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण ऋणको प्रभाव, द्वन्द्व र विपद्बाट आर्थिक रुपमा धक्का झेलेका राष्ट्रको अबको अवस्था, राजनीतिक सङ्क्रमण, राज्य प्रणाली तथा सङ्घीयता कार्यान्वयनको स्थितिबारे जानकारी लिन नेपाल भ्रमणमा रहेको उक्त प्रतिनिधिमण्डलले नेपाललाई सहायताको उच्च प्राथमिकतामा राखेको अवगत गराएको थियो । प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न नपाए पनि अर्थमन्त्रीमार्फत बैंकको सहयोग निरन्तर रहने सन्देश प्रधानमन्त्रीसमक्ष प्रवाह गर्न आफूलाई अनुरोध गरेको मन्त्री खतिवडाले बताए ।
तराईका बजारमा छठ पर्वका सामाग्री बिक्री बढ्यो(फोटो फिचर)
काठमाडौँ । तराईवासीहरुको महान् चाड छठ पर्व शुरु भएको छ । छठ पर्वको शुरु भएसँगै यो पर्वका लागि आवश्यक केरा, ढकी लगायतका सामाग्रीहरुको स्थानीय हटियाहरुमा बिक्री शुरु भएको छ । छठ पर्वलाई चाहिने सामाग्री खरिदका लागि स्थानीयवासीहरुको भीड हटियाहरुमा बढ्न थालेको छ । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सुनसरी जिल्लामा देखिएको छठ सामाग्री, हेरौँ केही तस्विर । तस्विरः रासस
अधिक वजन भएका व्यक्तिको फोक्सोमा बोसो, दम हुने सम्भावना बढी
अष्ट्रेलिया। अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले ५२ जनामा फोक्सोको नमुना परीक्षण गरेकाे धेरैकाे फोक्सोमा बोसो भेटाएका छन्। उनीहरुकाे आफ्नो अध्ययनले किन धेरै वजन भएका मानिसहरुलाई दम हुने सम्भावना बढी हुन्छ भन्ने कुराकाे पुष्टी भएकाे बताए। फोक्सो विज्ञहरु यस समस्यालाई तौल घटाएर बद्ल्नु सकिन्छ कि भन्ने विषयलाई अध्ययन गर्न अझ रोचक हुने बताउँछन्। युरोपियन रेसपिरेटरी जनरलमा प्रकाशित एक अध्ययनमा वैज्ञानिकहरुले अनुसन्धानको लागि दान गरिएको फोक्सोको पोष्टमार्टम नमुनाहरुको अध्ययन गरेका थिए। उक्त ५२ फोक्सोको नमुनाहरुमा १५ जनालाई दम थिएन, २१ जनालाई दम थियो तर उनीहरुको अन्य कारणले मृत्यु भएकाे थियो भने बाँकी १६ जनाको मृत्युको कारण भने दम रहेको थियो। वैज्ञानिकहरुले रंगको प्रयोग गरेर उक्त नमुना फोक्सोको १४ सय स्वास नलीकाे माईक्रोसकोपको माध्यमबाट विस्तृत अध्ययन गरेका थिए। अनुसन्धानकर्ताहरुले उक्त अध्ययनमा स्वास नलीमा बोसो युक्त तन्तु भेटाएका थिए र शरीरको वजन बढी भएको व्यक्तिमा यो बढी पाइएको थियो। उनीहरु भन्छन्, ‘बोसो बढ्नाले स्वास नलीकाे सामान्य संरचना परिवर्तन हुने र फोक्सो सुनिन्छ जसले मोटो व्यक्तिहरुमा दम हुनुको कारण पुष्टि गर्दछ।’ युरोपियन रेस्पीरेटरी सोसाईटीका अध्यक्ष प्रोफेसर थिरि टुरुस्टरको अनुसार शरीरको तौल र श्वासप्रश्वास सम्बन्धी रोग बिचको सम्बन्धको यो महत्वपूर्ण खोज हो किनभने यसले कसरी अत्याधिक तौल वा मोटोपनले दमका रोगीलाई अझै बढी असर गरिरहेको छ भन्ने देखाउँछ।फोक्सोमा देखिएको बोसोलाई भने वजन घटाएर घटाउन सकिन्छ वा सकिदैन भन्नको लागि थप अनुसन्धानको आवश्यक रहेको उनी बताउँछन्। ब्रिटिश थोरेसिक सोसाईटीका अध्यक्ष डा. एलिजावेथ सापेको भन्छिन्, ुशरीरको तौलले फोक्सोमा वायुमार्गको संरचनालाई असर गर्छ भनेर यो पहिलो पटक पत्ता लगाईएको हो। विश्वभर मोटोपना एक समस्याको रुपमा रहेको विषयलाई ध्यानमा राख्दै, यस अध्ययनले एक स्वास्थ्य समस्याको रूपमा रहेको दमको उपचारमा सुधार गर्ने नयाँ तरिकाहरू पहिचान गर्न सहयोग पुर्याउन सक्छ’ उनी भन्छिन्। ( बिबिसीबाट नेपालीमा उल्था गरिएको )
उपत्यकाका १५० वटा खानेपानी चुहावटको मर्मत कार्य सम्पन्न
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यका भित्रका मुख्य ठाउँहरुमा पुराना पाइपहरुबाट भईरहेको खानेपानी चुहावटको मर्मत कार्य सम्पन्न गरेको छ । नौ दिनको अवधिमा उपत्यकाका विभिन्न ठाउँहरुको १ सय ५० वटा चुहावट (लिकेज) मर्मत कार्य सम्पन्न भएको महाप्रबन्धक मिलन शाक्यले जानकारी दिए । ‘रातिको समय पारेर नौ दिनसम्ममा मुख्य ठाउँहरुमा भईरहेको चुहावट मर्मत सकेका छौं’ महाप्रबन्धक शाक्यले भने, ‘खानेपानी वितरणमा समस्या आएपछि केयुकेएलका प्राविधिक टोलीले यति छोटो समयमा धेरै ठाउँहरुमा चुहावट मर्मतको काम सम्पन्न गरेको छ । यसलाई आगामी दिनमा निरन्तरता दिँदै जानेछौं ।’ केयुकेएलले गैरीगाउँ, बालाजु, नयाँबजार, सोह्रखुट्टे, नक्साल, त्रिपुरेश्वर, टेकु, लाजिम्पाट, महाराजगञ्ज चोक, बाँसबारी, बुढानिलकण्ठ, कालोपुल, चावहिल चोक, गौशाला र सिनामंगल लगायतका ठाउँहरुमा चुहावट मर्मतको काम सम्पन्न गरेको हो । ‘पुरानो पाइपलाइनमा प्रेसर बढ्नाले धेरै ठाउँहरुमा चुहावट देखिएको हो ।’ महाप्रबन्धक शाक्यले भने, ‘ती चुहावटहरुको योजनाबद्ध तरिकाले मर्मत सकिएको छ । मर्मत सकिएपछि खाल्डो राम्ररी पुरी सडकको अस्थायी पिच गर्ने काम पनि हामीले सकेका छौं । चुहावट रोकिएपछि आम उपभोक्ताको घर घरमा अब पानीको आपूर्ति मात्रा बढ्नेछ ।’ रासस
नेपाल सेवा लघुवित्तको सीईओमा शाक्य, कम्पनी सचिवको कार्यभार पनि सम्हाल्ने
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बसन्त बहादुर शाक्य नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले शाक्यलाई आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो । साथै, उनले कम्पनी सचिवको कार्यभार पनि सम्हाल्ने भएका छन् । अन्य व्यवस्था नभएसम्म नवनियुक्त सीईओ शाक्यलाई सचिवको जिम्मेवारी पनि दिने लघुवित्तका वरिष्ठ अधिकृत राकेश श्रेष्ठले बताएका छन् । नवनियुक्त सीईओ शाक्यले कात्तिक १४ गतेदेखि नै आफ्नो पदभार ग्रहण गरेका छन् ।
बोइङका ५० बिमानमा क्षति भएको देखिएपछि उडानमा प्रतिबन्ध
सिड्नी । बोइङ कम्पनीका ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ । यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो । अस्ट्रेलियाली राष्ट्रिय ध्वजाबाहक क्वान्टासले एउटा बिमानमा समस्या भेटिएपछि ग्राउन्डेड गरेको जनाएको छ । क्वान्टासले यही सिरिजका अरु ३२ बिमानको पनि परीक्षण गर्न लागेको छ, तर कम्पनीले यात्रुहरुलाई चिन्ता नलिन आग्रह गरेको छ । गत अक्टोबरको शुरुमै दक्षिण कोरियाली अधिकारीहरुले बिमानमा क्षति देखिएको पत्ता लगाएसँगै नौ वटा बिमान ग्राउन्डेड गरेका थिए । यी बिमानमध्ये कोरियन एयरका पाँच वटा थिए । बिमानमा समस्या देखिएलगत्तै अमेरिकी नियामक निकायले बिमानको तत्काल परीक्षण गर्न बोइङ कम्पनीलाई आदेश दिएको थियो । क्वान्टासको घोषणालगत्तै बोइङ कम्पनीका एक जना प्रवक्ताले बिहीबार नै एक हजार बिमानमध्ये ५ प्रतिशतभन्दा कम बिमानमा स–साना दरार देखिएको बताएका छन् । प्रवक्तले ती बिमानको मर्मत शुरु भइसकेको पनि जानकारी दिए । क्वान्टासको इन्जिनियरिङ विभागका प्रमुख क्रिस स्नूकले बिमान पूर्णरुपमा सुरक्षित महसुस नगर्दासम्म कुनै पनि बिमान नउडाउने बताएका छन् । अमेरिकी नियामक निकाय संघीय नागरिक उड्डयन प्रशासनले ३० हजार पटकभन्दा बढी उडेका सबै ७३७एनजी सिरिजका बिमानको तत्कालै प्राविधिक जाँच गर्न आदेश दिइसकेको छ । तर क्वान्टासले ३० हजार पटकभन्दा कम उडेका बिमानमा पनि यस्तै समस्या देखिएको जनाएको छ । यी बिमानहरु सामान्यतया अस्ट्रेलियाभित्र र छिमेकी न्यूजील्यान्डसम्म मात्र उडाइएको क्वान्टासले जनाएको छ । अस्ट्रेलियाली नियामक निकायले अस्ट्रेलियाकै निजी क्षेत्रको भर्जिन एयरवेजले बोइङ ७३७एनजी सिरिजका सबै १७ वटा बिमानको प्राविधिक परीक्षण सम्पन्न गरिएको र त्यसमा कुनै समस्या नदेखिएको जनाएको छ । बोइङका ७३७ म्याक्स सिरिजका लगातार दुई वटा बिमान दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएपछि बोइङका बिमानहरुको सुरक्षाप्रति सर्वत्र चासो उत्पन्न भएको छ । रासस