विकासन्युज

व्यापार घाटा १२ प्रतिशतले घट्यो, कुल वैदेशिक व्यापार ३ खर्ब ६२ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा व्यापार घाटा १२ प्रतिशतले घटेको छ । चालु आवको साउनदेखि असोजसम्मको यो अवधिमा ३ खर्ब ३४ अर्ब ९५ करोड मूल्य बराबरका वस्तु तथा सेवा आयात भएका छन् । त्यस्तै, यो अवधिमा २७ अर्ब १६ करोडको वस्तुहरू विदेशी बजारमा निर्यात भएका छन् । सो अवधिमा कुल वैदेशिक व्यापार ३ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँको व्यापार भएको छ । चालु आवको समीक्षा अवधिमा १० प्रतिशतभन्दा बढीले आयात घटेको छ भने १४.४१ प्रतिशतले निर्यात बढेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको अंश साढे सात प्रतिशत रहेको छ भने आयात साढे ९२ प्रतिशत रहेको छ । गएको आवको सोही अवधिमा कुल ३ खर्ब ९७ अर्ब ३३ करोडको वैदेशिक व्यापार भएकोमा निर्यातको ६ र आयातको ९४ प्रतिशत अंश रहेको छ । गत आवको पहिलो ३ महिनामा ३ खर्ब ७३ अर्ब ५८ करोड वस्तु तथा सेवा आयात भइ २३ अर्ब ७४ करोडको मालवस्तु निर्यात भएको थियो । कुल आयातमध्ये भारतबाट दुई खर्ब सात अर्ब ४१ करोड रुपैयाँको मालवस्तु नेपाल भित्रिएको छ भने चीनबाट ५९ अर्ब २६ करोडको मालवस्तु नेपाली बजारमा भित्रिएका छन् । यो अवधिमा नेपालबाट भने भारतमा १७ अर्ब ८७ करोड र चीनबाट ४५ करोड रुपैयाँको मालवस्तु निर्यात भएका छन् ।

चाडपर्व सकिएसँगै रोजगारीका लागि भित्रिँदै भारतीय, बाहिरिँदै नेपाली

बाँके । नेपालीहरुका ठूला चाडपर्व सकिएसँगै नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्नेहरुको चहलपहल बाक्लिएको छ । रोजगारीका लागि भारतबाट नेपाल आउने भारतीय नागरिकको बाक्लै ओहोरदोहोर देखिन्छ भने नेपालबाट भारततिर जाने नेपालीको लर्को पनि उस्तै देखिन्छ । रोजगारीका लागि भारत जाने नेपाली र नेपाल भित्रिने भारतीयको सङ्ख्या बढ्दै गएको छ । नेपालगञ्जको जमुनाह नाकाबाट दैनिक सयौँ नेपाली नागरिक भारततिर जाने र भारतीय नागरिक नेपालतिर आइरहेका छन् । पछिल्ला दिन जमुनाह नाकामा बन्दोबस्तीका सामानसहित युवा, वृद्धवृद्धा तथा केटाकेटीको भीड रोजगारीका लागि भारतबाट नेपाल प्रवेश गरेको छ । बुधबार जमुनाह नाकामा भेटिएका भारतीय नागरिक रजनेश यादवले परिवारसहित कामका लागि काठमाडौँ जान लागेको बताए । उमेरले ४० वर्ष काटेका रजनेश यादव काठमाडौँको इँट्टाभट्टामा काम गर्छन् । दुई छोरा र एक छोरी बोकेर नेपालगञ्ज आइपुगेका यादव केही वर्षदेखि काठमाडौँमा काम गर्दै आएको बताउँछन् । “करिब तीन वर्ष भयो काठमाडौँको भट्टामा काम गर्न थालेको, अहिले परिवार नै लिएर जाँदैछु,” यादवले भने । रजनेशजस्तै उनकै गाउँका बालादीप पनि काठमाडौँकै इँट्टाभट्टामा काम गर्न जाने क्रममा नेपालगञ्ज आइपुगेकै छन् । ३६ वर्षीय छोरा बुहारी अनि नातिलाई साथमा लिएर नेपालगञ्ज नाकामा आइपुगेका बालादीप यादव नेपालमा सजिलै काम पाउने भएकाले दशैँ मनाएर काठमाडौँ जानका लागि हिँडेको बताउँछन् । “काठमाडौँमा भट्टामा काम सजिलै पाइन्छ, त्यहीँ काम गर्न लागेको दुई–तीन वर्ष भयो, दशैँमा काठमाडौँमा काम पनि बन्द हुन्छ, त्यसैले दशैँ मनाउन भारत फर्किएका थियौँ,” उनले भने । भारत बरेलीका रामनिवास अहिर पनि रोजगारीका लागि नेपाल भित्रिँदै गर्दा सीमामा भेटिए । उनी आफ्ना साथीहरुसँग रोजगारीका लागि नेपालगञ्ज नाका हुँदै काठमाडौँ जाँदै थिए । “सहजै रोजगारी पाइने भएपछि यसपटक दशैँ बिदापछि थप साथीहरु लिएर आएको छु”, उनले भने । सीमा क्षेत्रका भारतीय नागरिकहरु नेपालमा सहजै काम पाइने भन्दै भारतबाट नेपालतर्फ भित्रिरहेका छन् । नेपालमा रोजगारीका नेपालीहरु भने स्वदेशमा काम नपाइने भन्दै कामका लागि भारत जान थालेका छन् । दशैँतिहार सकिएलगत्तै भारत जाने नेपालीहरुको सीमामा लर्को लागेको छ । चाडपर्व मनाउन नेपाल आएका नेपालीहरु पनि भारत फर्कन थालेका छन् । दशैँतिहार सकिएलगत्तै रोजगारीको लागि पुनः भारत फर्किने क्रम बढ्दै छ । भारतको मुम्बईमा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका कालीकोटका अशोक थापा र उनका एक जना साथी बुधबार भारत फर्किएका छन् । नेपालमा रोजगारीको अभावको रहेको र स्वरोजगारका लागि सीप र लागतको अभावले रोजगारीका लागि बर्षेनी भारत जानुपरेको थापा बताउँछन् । “आफूसँग हातमा सीप छैन, व्यापार–व्यवसाय गर्न लगानी छैन, अनि महिना दिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन । त्यसैले बाध्यताले गर्दा भारतमा मजदुरी गरेर बस्नुपरेको छ । आफ्नै गाउँठाउँमा बस्ने रहर त सबैलाई हुन्छ नि, तर यहाँ काम पाइँदैन”, थापाले भने । पर्वका लागि भनेरै भारतका आसाम, मुम्बई, देहरादुन, गुहाटी, राजकोट जस्ता ठाउँबाट बाँकेसँगै बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, कालीकोट जिल्लामा फर्किएका नेपालीहरु चाडपर्व सकिएसँगै कामका लागि पुनः भारत हिँडेका हुन् । उनीहरु समूह बनाएर भारततिर गइरहेका छन् । भारतबाट आउनेहरु भारतीय नागरिकहरु नेपालमा रोजगारी देख्छन् भने नेपालबाट जाने नेपाली नागरिकहरु भारतमा । “घरपरिवार छोडेर अर्काको देशमा काम गर्न जाने रहर त कसलाई हुँदो हो तर, गुजाराका लागि जानैपर्ने बाध्यता छ”, जाजरकोट छेडागाड नगरपालिका–३ का धनसिंह पुनले भने । धनसिंहसँगै गाउँका अरू १३ जना युवा पनि भारततिर गएका छन् । “चाडपर्व सकिए, गाउँमा बेरोजगारी छ, यहाँ काम नपाएर खाली बस्नुभन्दा भारत गएर पाँच÷सात महिना कमाउँदा परिवारको गर्जो टर्छ,” धनसिंहले भने । अधिकांश नेपालीहरु मौसमअनुसार मजदुरी गर्न भारत जाने गर्छन् । चाडपर्वमा गाउँ फर्किएकाहरु गहुँ, मुसुरो लगायतका हिउँदे खेती गरेर भारत पस्छन् । उनीहरु जेठ–असारमा धान रोप्नका लागि फर्किने गर्छन् । “गाउँघरमा हिउँद खेतीपातीको काम सकियो, यहाँ रोजगारी पाइँदैन । अलिअलि बाँकी रहेका काम घरपरिवारका अरू सदस्यले गरिहाल्छन् । हामी अब एकैचोटि धान रोप्ने बेलामा मात्रै फर्किन्छौँ,” धनसिंहले भने । सङ्घ तथा प्रदेश सरकारले युवा वर्गलाई स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गरी भारत जाने बाध्यताको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै आए पनि रोजगारीको खोजीमा भारत जानेको सङ्ख्या घट्न सकेको छैन । चाडपर्व सकिएसँगै कामको खोजीमा दिनहुँ धेरै व्यक्ति भारततर्फ पलायन भइरहेका छन् । भारत जानेहरुमध्ये कोही यसअघि पनि भारतमा गएर काम गरिसकेका छन् भने कोही पहिलो पटक जाँदैछन् । उमेरले ५० वर्ष कटिसकेका सुर्खेत चिङ्गाड गाउँपालिकाका आइते नेपाली गाउँघरमा रोजगारीको व्यवस्था नरहेकाले केही कमाउने उद्देश्यले विगतदेखि नै भारतमा गएर मौसमी काम गर्दै आइरहेका छन् । उनले भने, “गाउँघरमै रोजगारीको व्यवस्था भए त यसरी सधैँ जानु पर्दैनथ्यो ।” उत्पादनले  वर्षभरि खान नपुग्ने  भएपछि मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लाका नेपालीहरु प्रायः भारतमा मजदुरी गर्नकै लागि जाने गर्छन् । सल्यान बनगाड कुपिन्डे नगरपालिकाका बलबहादुर बिष्टले चाडपर्व मनाएर काममा फर्किएको  बताएका छन् । घरको आर्थिक अवस्था नाजुक भएका कारण मजदुरी गर्न भारत जान लागेको उनको भनाइ छ । “राम्रो काम पाएपछि धेरै समय बस्ने गरी गइरहेको छु”, उनले भने, “कहिले फर्किने भन्ने निश्चित छैन ।” पहाडी जिल्लाबाट युवा वर्ग भारत पसेपछि गाउँहरु सुनसान हुने गरेका छन् । रासस

बेरोजगारलाई रोजगारी दिने महानगरीय ट्राफिक प्रहरीको ‘नयाँ’ योजना

काठमाडौं । ट्राफिक प्रहरीले बेरोजगार युवाहरुलाई ट्राफिक स्वयंसेवकको रुपमा रोजगारी दिने भएकाे छ । ट्राफिक व्यवस्थापन र सचेतना कार्यक्रमलाई अघि बढाउँदै सरकारी खर्चलाई शहरी ट्राफिक व्यवस्थापनमा सदुपयोग गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो योजना अघि सारेको हो । महाशाखाले सरकारले सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम तथा अन्य विभिन्न संस्थाहरुको माध्यमबाट हुने सहयोगमार्फत् यस्तो योजना अघि बढाउन लागेको जनाएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार पौडेलका अनुसार त्यसका लागि राष्ट्रिय युवा परिषदसँग सहकार्य गरेर काम सुरु भइसकेको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आवद्ध गर्न समेत सम्बन्धित पक्षहरुसँग छलफल थालिएको छ । कसरी दिने बेरोजगारलाई रोजगारी ट्राफिक प्रहरीले अहिलेसम्म विभिन्न क्लब, स्कूल तथा कलेजहरुसँग सहकार्य गर्दै विभिन्न समयमा ट्राफिक स्वयंसेवक परिचालन गर्दै आएको थियो । केही समय अघि मात्रै राष्ट्रिय युवा परिषद् र युएन भोलियन्टरको सहयोगमा नयाँ कार्यक्रम सुरु गरेको छ । यसअन्तर्गत महाशाखाले करिब ५ सय जनालाई तालिम दिएर स्वयंसेवकहरु परिचालन गर्न शुरु गरेको छ । यो कार्यक्रममा स्वयंसेवकको व्यवस्थापन परिषद्ले गर्दै आएको छ भने युएन भोलियन्टरले स्वयंसेवकहरुका लागि निश्चित भत्ताको व्यवस्था गर्दै आएको छ । महाशाखाले भने उनीहरुलाई तालिम प्रदान गर्दै आवश्यक स्थानमा स्वयंसेवकको रुपमा खटाउने काम गर्दै आएको छ । अब भने सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ट्राफिक सचेतना कार्यक्रमसँग जोडेर सरकारी कार्यक्रमलाई ट्राफिक व्यवस्थापनमा सदुपयोग गर्न अग्रसर हुने प्रहरी उपरीक्षक पौडेलको भनाइ छ । ‘यसो हुन सक्यो भने शहरको ट्राफिक व्यवस्थापनमा सहयोग पनि हुन्छ, बेरोजगारहरुले रोजगारी पनि पाउँछन्, स्वयंसेवकमार्फत् ट्राफिक प्रहरी र सडक प्रयोगकर्ताबीचको भावनात्मक निकटता कायम गर्न पनि सहयोग पुग्छ’ – उनले भने । सरकारले गत फागुनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दै देशका रहेका बेरोजगारहरुलाई न्यूनतम १०० दिनको रोजगारीको ग्यारेन्टी गरेको छ । अघिल्लो आर्थिक वर्षमा सोही कार्यक्रमअन्तर्गत सरकारले विभिन्न स्थानीय तहहरुमार्फत् २७ दिनमा २ अर्ब ३६ करोड रुपैंया खर्च गरेको थियो । तर त्यो कार्यक्रम अनुत्पादक रुपमा खर्च भएको भन्दै आलोचना हुँदै आए पनि चालु आर्थिक वर्षमा ५ अर्ब १ करोड बजेट छुट्याएको छ । शहरी क्षेत्रमा स्थानीय तहहरुबाट हुने त्यस्तो खर्चलाई ट्राफिक व्यवस्थापनमा सदुपयोग गर्न सकेमा यसले आम जनतामा ट्राफिक ज्ञान र सचेतना बढ्ने प्रवक्ता पौडेलको भनाइ छ । स्वयंसेवक परिचालन ‘निकै प्रभावकारी’ ट्राफिक प्रहरीले विगतदेखि नै सञ्चालन गर्दै आएको स्वयंसेवक परिचालन कार्यक्रम निकै प्रभावकारी बन्दै गएको महाशाखाले जनाएको छ । प्रवक्ता पौडेलका अनुसार ट्राफिक प्रहरी र जनताबीचको भावनात्मक दूरी कम गर्न यो एउटा कोशेढुंगा नै सावित भएको छ । ‘एउटा स्वयंसेवकलाई परिचालन गर्दा स्वयंसेवक आफैंले ट्राफिक नियमबारे ज्ञान हासिल गर्छ, उसले ज्ञानमात्रै हासिल गर्दैन, ट्राफिक प्रहरीका समस्याहरु पनि बुझ्छ, एकपटक स्वयंसेवकको रुपमा खटिएकाहरुले सडकमा राम्रो व्यवहार गरेको हामीले पाएका छौं’ पौडेलले भने । एउटा व्यक्तिले सिकेको ज्ञान कम्तीमा पनि उसले आफ्नो परिवारलाई सिकाउने गरेको मात्रै नभएर बर्दीविहीन स्वयंसेवकलाई सडकमा पाउँदा सडक प्रयोगकर्ताले समेत आफ्नोपनको आभास पाउने गरेको उनको भनाई छ । ट्राफिक स्वयंसेवकले जेब्रा क्रसिङमा यात्रुलाई सहयोग गर्ने, पैदल यात्रुलाई फुटपाथ तथा आकाशेपुल प्रयोग गर्न सहयोग गर्ने, ‘पिक एण्ड ड्रप’ व्यवस्थित गर्ने, लेन व्यवस्थापन गर्ने र यात्रु सहायता कक्षमा रहेर सहयोग गर्ने काममा आवश्यक सहयोग गर्नेगरी परिचालन गर्दै आएको छ । यसरी परिचालन गर्दा न्यून संख्यामा रहेको ट्राफिक प्रहरीले नै प्रभावकारी रुपमा काम गर्न सम्भव भएको महशुस ट्राफिक प्रहरीले गरेको छ । हाल महाशाखाअन्तर्गत काठमाडौं उपत्यकामा १३७० जना ट्राफिक प्रहरीहरु क्रियाशील छन् भने देशभर करिब ३ हजार ट्राफिकहरु क्रियाशील छन् । म्यानुअल सिस्टमबाट ट्राफिक व्यवस्थापन हुने हाम्रोजस्तो मुलुकमा यो संख्या ज्यादै न्यून हो । युनिटहरुबाटै स्वयंसेवक व्यवस्थापन, तालिम अवधि घटाइँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले अब महाशाखाअन्तर्गतका प्रत्येक युनिटबाटै स्वयंसेवकहरुको तालिम र परिचालन गर्ने भएको छ । मुख्य कार्यालयबाटै यस्तो व्यवस्थापन गर्दा स्वयंसेवकहरुको कार्यक्षेत्र व्यवस्थापन गर्न समस्या भएपछि त्यसको जिम्मा सम्बन्धित युनिटहरुलाई नै दिन लागिएको हो । त्यसो गर्दा प्रत्येक युनिटले आफ्नो क्षेत्र वरपरका क्लब र विद्यालयहरुसँग सहकार्य गरी सोही क्षेत्रमा स्वयंसेवक खटाउन सक्ने भएकोले स्वयंसेवकहरुको समय व्यवस्थापन गर्न सजिलो हुने अनुमान गरिएको छ । त्यस्तै हाल १० दिनको तालिम अवधि लामो भएको अनुमान गर्दै महाशाखाले सो अवधिलाई समेत घटाएर एक सातामा सीमित गर्ने भएको छ ।

चार जिल्लाका तीस हजार करदाता करको दायरामा

फाइल तस्विर तनहुँ । आन्तरिक राजश्व कार्यालयमा चार जिल्लाका करीब तीस हजार करदाता करको दायरामा आएका छन् । तनहुँको सदरमुकाम दमौली कार्यालय रहेको उक्त कार्यालयमा तनहुँसहित गोरखा, लमजुङ, मनाङ गरी चार जिल्लाका व्यवसायीहरु करको दायरामा आएका हुन् । व्यवसायीहरुलाई करको दायरामा ल्याउन कार्यक्षेत्र रहेका चार वटै जिल्लाका विभिन्न स्थानमा गएर करसम्बन्धी सचेतना कार्यक्रमहरु गर्दै आएको कार्यालयका प्रमुख कर अधिकृत सूर्यप्रसाद सेढाईले जानकारी दिए । कार्यालयले दर्ता अनुगमन गर्ने, दर्ता भएर कर नतिरी बसेका करदातालाई कर तिर्न आग्रह गर्ने, करदाताहरुलाई कर तिर्ने वातावरण सिर्जना गर्ने लगायतको कार्यहरु गर्दै आएको उनले बताए । उक्त कार्यालयले आव ०७५/७६ मा लक्ष्यभन्दा एक अर्ब पाँच करोड ६१ लाख बढी राजश्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले आव ०७४/७५ मा रु ४८ करोड २४ लाख ५७ हजार राजश्व सङ्कलन गरेको थियो भने आव ०७५/७६ मा पाँच अर्ब ३० करोड आठ लाख ५० हजार राजश्व सङ्कलन गर्न सफल भएको प्रमुख कर अधिकृत सेढाईले बताए । उनका अनुसार पाँच अर्ब १९ करोड ५२ लाख राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ । उनले भने, “यसरी बढी राजश्व सङ्कलन गर्नेमा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयहरु रहेका छन् ।” करदाता सेवा कार्यालयका रूपमा रहेर सेवा प्रवाह गर्दै आएको उक्त कार्यालयलाई विसं ०७५ असार २० गतेदेखि आन्तरिक राजश्व कार्यालयमा स्तरोन्नति गरिएको थियो । रासस

बेकरी उत्पादनको मूल्य ३३ प्रतिशत बढ्ने, कहिलेदेखि ?

भद्रपुर । झापाका बेकरी उद्योगले कच्चा पदार्थको मूल्य बढेको कारण देखाउँदै आफ्ना उत्पादनको भाउ बढाउने घोषणा गरेका छन् । विर्तामोडमा पत्रकार सम्मेलन गरी उद्योगीले कात्तिक १८ गतेदेखि बेकरी उत्पादनमा ३३ प्रतिशत मूल्य वृद्धि हुने जानकारी दिएका हुन् । झापाका ४७ वटा बेकरी उद्योगले मूल्यवृद्धि नगरे व्यवसाय बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । विर्तामोडको गणपति बेकर्स प्रालिका सञ्चालक राजु ढकालले बेकरी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, श्रमिकको ज्याला, प्याकेजिङ सामग्री र इन्धनको मूल्यमा उल्लेखनीय वृद्धि हुँदै आएको भए पनि विगत लामो समयदेखि बेकरी उद्योगले मूल्य नबढाएको दाबी गरेका छन् । “मूल्य समायोजन रहर नभएर बाध्यता हो”, कञ्चन पाउरोटी उद्योग विर्तामोडकी सञ्चालिक भीमा शिवाकोटी भन्छन्, “आम उपभोक्तामाझ गुणस्तरीय एवं स्वास्थ्यवद्र्धक उत्पादन पु¥याउनका लागिसमेत मूल्य बढाउनुपर्ने अवस्था आयो ।” बेकरी उद्योगीले व्यवसायी, कर्मचारी र सेल्समेनको ३१ बुँदे आचारसंहितासमेत जारी गरेका छन् । जसमा उत्पादनमा अनिवार्यरुपमा उपभोग्य मिति, उत्पादन मिति, व्याच नं र अधिकतम बिक्री मूल्य उल्लेख गरिनुपर्ने उल्लेख छ । उपभोग्य मिति चार दिनसम्म कायम रहने र मूल्य तथा तौलमा एकरुपता ल्याउनेसमेत उद्योगीले जनाएका छन् । रासस

माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक ८ गते बसेको बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको हो । नवनियुक्त संचालक सिग्देलसँग सरकारी र प्राईभेट क्षेत्रमा लामो समय काम गरेकाे अनुभव रहेको छ ।

एनआईसी एशियाका ग्राहकलाई दाँत उपचारमा १५ प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रालि त्रिपुरेश्वरबीच डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म छुट प्राप्त गर्न सक्ने छन् । सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गरेका छन् ।

नवनियुक्त राजदूतहरुको प्रतिबद्धता-‘आर्थिक कुटनीतिलाई केन्द्रबिन्दुमा राख्छौँ’

काठमाडौं । अष्ट्रेलिया र स्पेनका नवनियुक्त राजदूतहरुले राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट लगानी, प्रविधि तथा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा व्यक्त गरेका छन् । आफ्नो जिम्मेवारी सम्हाल्न त्यसतर्फ जानु अघि निजी क्षेत्रस“ग छलफल गर्न नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा आएका अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतहरू क्रमशः महेशराज दाहाल र दावा फुटी शेर्पाको सम्मानमा आयोजना गरिएको भेटघाट एवम् छलफल कार्यक्रममा नवनियुक्त राजदुतहरूले सो धारणा व्यक्त गरेका हुन् । मुलुकले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने र सो क्रममा महासंघस“ग समेत नजिकमा रहेर कार्य गर्ने उनीहरुले प्रतिवद्धता व्यक्त गरे । नवनियुक्त राजदुतहरूको महासंघ सचिवालयमा स्वागत गर्दै महासंघका अध्यक्ष भवानी राणाले कार्यकालको सफलताको कामना गरिन् । अध्यक्ष राणाले विशेष गरी आफू कार्यरत मुलुकहरूमा नेपालमा लगानीको वातावरण रहेको संदेश दिन, निजी क्षेत्र बीचको आपसी सम्बन्ध विस्तार, लगानीका क्षेत्रहरू, पर्यटन, नेपालको कला स“स्कृति लगायतका विषयमा पर्याप्त प्रचार प्रसार गरी नेपालप्रति त्यहा“का जनता तथा लगानीकर्ताहरूलाई आकर्षित गर्ने वातावरण बनाई दिन आग्रह गरिन् । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालका यूवाहरूको प्रमुख रोजाई बन्दै गएको अष्ट्रेलिया र यूरोपको एक महत्वपूर्ण देश स्पेनलाई नेपालस“ग आर्थिक रूपमा जोड्ने इकोनोमिक कनेक्टिभिटीलाई मुख्य रुपमा जोड दिनुपर्ने सुझाव दिए । वरिष्ठ उपाध्यक्ष गोल्छाले नवनियुक्त राजदूतहरूलाई आफू कार्यरत देशहरूमा नेपाल लगानी सम्मेलन तथा नेपाल भ्रमण वर्ष सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरूको आयोजनामा जोड दिन सुझाव दिए । आफू कार्यरत मुलुकबाट लगानी, पर्यटन, प्रविधि आकर्षण र व्यवसायिक सम्बन्ध विस्तारमा के कुराको सहयोग निजी क्षेत्रले गर्नुपर्छ, तपाईहरूले खोजेको सहयोग गर्न महासंघ तयार छ–वरिष्ठ उपाध्यक्ष गोल्छाले भने । कुन देशमा नेपालबाट के कस्तो वस्तु तथा सामान के कति परिमाणमा निर्यात गर्न सकिन्छ त्यसका वारेमा आवश्यक सूचना महासंघ जस्ता स“स्थाबाट उपलव्ध गराउनु पर्ने सुझाव नवनियुक्त राजदूतहरूको थियो । निजी क्षेत्रको सुभाव अनुसार लगानी, प्रविधि, पर्यटन आकर्षण, बीटूबी सम्बन्ध विस्तार र व्यापार प्रवद्र्धनलाई आफूहरूले मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि जनाए । महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, नेपालबाट स्पेन र अष्ट्रेलियामा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरूको सहभागिता रहेको छलफल कार्यक्रममा नवनियुक्त राजदुतहरूको कार्यकालमा नेपाल र ती मुलुकका निजी क्षेत्र बीचको सम्बन्ध प्रगाढ बनाई निजी क्षेत्र मार्फत लगानी तथा प्रविधि आकर्षण गर्न सकिएमा मुलुकका लागि ठूलो उपलव्धी मिल्ने धारणा पनि राखिएको थियो । कार्यक्रममा महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारीको पनि उपस्थिति थियो ।