भारतले नेपाली भूभागलाई आफ्नो दाबी गरेको प्रति साझा पार्टीको आपत्ति

<p>काठमाडौँ । नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेको प्रति साझा पार्टी गम्भीर आपत्ति प्रकट गरेको छ । पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बुधबार विज्ञप्ति प्रकाशित गर्दै आपत्ति जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ-‘भारत सरकारको यो कदम अन्तराष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो [&hellip;]</p>


काठमाडौँ । नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेको प्रति साझा पार्टी गम्भीर आपत्ति प्रकट गरेको छ । पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बुधबार विज्ञप्ति प्रकाशित गर्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ-‘भारत सरकारको यो कदम अन्तराष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो हस्तक्षेप हो ।’

यी भूभाग लगायत नेपालका दर्जनौं ठाउँमा भारतबाट भएको सीमा अतिक्रमणको साझा पार्टीले निरन्तररुपमा विरोध गर्दै आएको छ । हामी नेपाल सरकारलाई भारतले हालै जारी गरेको नयाँ नक्साको बारेमा कडा आपत्ति जनाउँदै स्पष्टिकरण माग्न, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन माग गर्न जोडदार आग्रह गर्दछौं–विज्ञप्तिमा उल्लेख छ ।

साथै नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको सीमा क्षेत्रका पिलरहरुको निर्माण, मर्मत र सर्वेक्षण कार्यमा प्रयोग भएका प्रविधि, ऐतिहासिक तथ्य एवम् नाप नक्साका साथै हाल सम्मको कार्यप्रगतीबारे आमनागरिकलाई जानकारी गराउन पनि साझा पार्टीले अनुरोध गरेको छ ।

नेपाल-भारत बीचको सदियौंदेखि रहिआएको घनिष्ट सम्बन्ध अझ नयाँ उचाईमा पुर्याउनु पर्नेमा भारत सरकारको यो कदम प्रत्युत्पादक हुने साझा पार्टीले ठहर गरेको छ ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसंग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्नेमा साझा पार्टीले विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।

Share News