नेपाली महिला क्रिकेट टोली आज चीनतर्फ प्रस्थान
काठमाडौं । चीनमा आयोजना हुने बी एण्ड आर कप क्रिकेट प्रतियोगिता खेल्न १९ वर्षमुनि (यु–१९) नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । चीनको सङ्घाइमा आयोजना हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय खेलाडीसहितको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल, आइसीसीका नेपाल प्रतिनिधि रौनक मल्ललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । यही कात्तिक २५ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, साउदी अरेबिया, आयोजक चीन र म्यानमार सहभागी छन् । प्रतियोगितामा नेपालले यही कात्तिक २५ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै, नेपालले २६ गते दुई खेल खेल्नेछ, जसमा पहिलो खेल साउदी अरेबियासँग खेल्नेछ भने दोस्रो खेल चीनसँग हुनेछ । कात्तिक २८ गते नेपालले मलेसिया र २९ गते म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, नेपाली टोलीको कप्तानीको भूमिका भने डली भट्टले निर्वाह गर्नेछिन । त्यस्तै, टोलीको अन्य सदस्यमा कविता कुँवर, कृतिका मरासिनी, यशोधा विष्ट, राजमती ऐरी, ईश्वरी विष्ट, लक्ष्मी साउद, खुशी डङ्गोल, ज्योति दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजवंशी, गोमा आले र सृष्टि पौडेल छन् । त्यसैगरी वैकल्पिकतर्फ हेलिसा लामा गुरुङ, पेम लामु शेर्पा र मनिषा मगर छन् । रासस
बाख्रा पालनः यस्ता छन् सुधारका उपाय
परिचयः नेपालमा धेरैजसो कृषकहरूको जीविकोपार्जन पशुपालनमा निर्भर रहेको छ । विशेष गरी तराई र पहाडमा गरीब कृषकहरू ३ देखि ४ वटा बोका बाख्राहरू पालेर गरी जीविका चलाई रहेका हुन्छ । तिनीहरूले बोकालाई खसी बनाएर, तथा पाठापाठी बिक्रीगरी आफ्नो गर्जो टार्ने गर्दछ । बाख्रालाई गरीवको गाई पनि भनिन्छ । तराई मधेशमा बाख्राहरू प्रायःखुल्ला चरीचरणमा, परम्परागत तथा अव्यवस्थित तरीकाले पालनगर्दा नश्लको क्षमता अनुसार उत्पादन लिन सकि रहेको अवस्था छैन । परम्परागत तरिकाको बाख्राको खोरमा चिसो, घाम, वर्षा, छाँया, हावा, प्रकाशको समुचित व्यस्थापन नभएकोले बाख्रालाई थप तनाव हुनगई बाख्राको उत्पादन घट्नुका साथै रोग व्याधिबाट समेत ग्रसित हुने गरेका छन् । प्रायः तराई मधेशमा बाख्रालाई बर्षा र शितलहरीले विभिन्न किसिमका रोगहरू लागेर मृत्यू हुने गर्दछन् । यस परिप्रेक्ष्यमा बाख्राकोे खोर सुधार गरी जलवायु समानूकुलित खोरनिर्माण अति आवश्यक रहेको छ । बाख्राको खोर बनाउँदा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन हुने समेत देखिएको छ । महत्वः बाख्राकोे खोर सुधार गर्दा जलवायु परिवर्तनको असर न्यून गर्न सकिन्छ । बाख्राकोे उत्पादनका महत्वपूर्ण ४ खम्बाहरू (खोर, नश्ल, आहारा र स्वास्थ्य) मध्ये खोर व्यवस्थापन प्रमुख हुन् । परम्परागत खोर अँध्यारो, सूर्यको प्रकाश नपर्ने, चिसो भएकोले उपियाँ, जुम्रा, तथा सुलसुले जस्ता बाह्य परजिवीको आक्रमण तिब्र हुनुका साथै संक्रामक रोगका जीवाणु, विषाणु तथा ढुसीको बृद्धिविकास तिब्र भई बाख्राहरू बिरामी भई रहन्छ । हावा नखेल्ने खोर बाफिलो, दिसा पिसावले दुर्गन्धित र चिसो हुने भएकोले श्वास प्रश्वास संबन्धि रोग (निमोनिया)ले बाख्राहरू विरामी पर्ने गर्दछन् । डा.श्रीभगवान् ठाकुर सूर्यको प्रकाशले रोगका जीवाणुहरू नष्ट हुनुका साथै पशुको शरीरमा विभिन्न प्रकारका भिटामिनहरूको निर्माण हुन्छ । खोरसुधारले बाख्राकोे सोत्तर, बडकौला र मूत्र व्यवस्थापन हुने र घाम, पानी, चिसो, हावाहुरी, वर्षा, असिना जस्ता तनावलाई घटाई र मौसमी तनावले हुन जाने रोगव्याधिमा कमी हुन्छ । यसबाट घाँस तथा दानाको उपभोगमा बृद्धि हने र आहारको प्रभावकारीता बढ्ने हुन्छ । फलःस्वरूप बाख्राकोे उत्पादनमा वृद्धि गर्न सकिन्छ । ठाउँको छनौटः खोर ओभानो, सुखा तथा पानी नजम्ने खालको उच्च, समथर र कम्तीमा दिनमा ५–६ घण्टा सूर्यको प्रकास पर्ने, जोडसँग हावा नचल्ने तर हावाको आवागमन राम्रो भएको ठाउँको छनौट गर्नु पर्दछ । खोरको लागि आवश्यक क्षेत्रफलः सुधारिएको खोरको आवश्यक लम्बाई चौडाई तथा उँचाईको विवरण तल उल्लेख गरिएको छ । सुधारिएको खोरको नमूना खोर निर्माण गर्दा प्रति वयस्क बाख्राको लागि सरदर ६ वर्ग फिट ठाउँको आवश्यक्ता पर्दछ । खोरमा स्थानीय सामग्रीहरू काठ बाँसहरू प्रयोग गर्नु पर्दछ । खोर निर्माण गर्दा पहाडमा दक्षिण वा पूर्व र तराई मधेशमा उत्तर पश्चिम मोहडा पारी बनाउनु पर्दछ । खोर बनाउँदा चित्रमा देखाए अनुसार जमीनबाट ३ फिटको उचाईमा, ७ फिट लम्बाई र ६ फिट चौडाईको खोर बनाउदा सुहाउँदो हुन्छ । खोरको भूईंक्षेत्र निर्माण विधिः खोरको भूँईक्षेत्र कडा, पानी नजम्ने र सफा गर्न सजिलो हुने ढंगबाट निर्माण गर्नु पर्दछ । त्यसको लागि सेमेन्ट, गिटिबाट ढलान गरेर वा ईटा छपाएर वा ढूँगा छपाएर वा चिम्टयाईलो माटोले खोरको भूईनिर्माण गर्नु पर्दछ । खोरको भूँईक्षेत्र निर्माण गर्दा निकाशतर्फ ३ प्रतिशतको भिरालो बनाएर पाईपको माध्ययमले पिसाव जम्मा हुने खाल्डोमा पुर्याउनु पर्दछ । जस्ले गर्दा भुई सफा हुनुका साथै मिथेन ग्यासको उत्सर्जन भई दुर्गन्ध हुदैंन । खोरको टाँड निर्माण विधिः खोरको टाँड बनाउँदा आधा ईन्चको फरकमा काठको २ ईन्च चौडाई र आधा ईन्च मोटाईको फल्याक वा बाँसको भाटा बनाई किलाले ठोक्नु पर्दछ । यस्तो टाँड बनाई बाख्रापालन गरेमा कक्सिडियोसिस तथा फिते जुका कमलाग्ने गर्दछ । साथै १०–२० प्रतिशत मृत्यूदर घटेको पाईएको छ । गर्मीको तनाव घटाएर जिउँदो वजन ६०–७० ग्राम देखि ७८–८६ ग्राम प्रतिदिन बढोतरी हुन सक्दछ । खोरको छाना निर्माणः छाना बलियो टिकाउ पानी नचुहिने, तापक्रमको कुचालक तथा आकर्षक हुनु पर्दछ । छाना पानी नथामिने भिरालो हुनु पर्दछ । स्थान र मौसम अनुसार छाना १२ देखि ३५ डिग्रीसम्म भिरालो हुन सक्दछ । छाना खर तथा २५–२६गेजको वा ०.३२ एम.एम. जी. आई. जस्ताको हुनु पर्दछ । भिरालो छाना भएको खोरमा अग्लो भागतिर पर्खालको उँचाई ६ देखि ६.५फिट र बलेनीतिर ५ फिट उचाईको पर्खाल बनाउनु पर्दछ । गर्मीबाट बचाउन सकभर खरको छाना प्रयोग गनर्् पर्दछ अथ्वा जस्ता पाताका छाना भए माथिबाट खर १ईन्च बाक्लो गरी खर ओछ्याउनु पर्दछ । बढी तापक्रम हुने स्थानमा अर्धसधन विधि अर्थात आधाखुल्ला आधाबन्द विधिवाट बाख्रापाल्नु पर्दछ । पर्खाल क्षेत्र र भेन्टिलेशनः खोरको पर्खाल मजबुत अर्थात बलियो हुनु पर्दछ । छेउको पर्खालमा ५ फिटसम्म काठको फल्याक वा बाँसको टाटी लगाएर माथि बाँकी भाग हावा आवागमनका लागी जाली वा सानो द्मयाल लगाउनु पर्दछ । पर्खाल बनाउन समस्या भए जस्ता पाताले घेरेको हुनु पर्दछ । चित्रमा देखाए अनुसार अग्लो पर्खालपट्टि १.५ फिटको लम्बाई चौडाईको पूर्व दक्षिण तिर भेन्टिलेशनको लागि झयाल बनाउनु पर्दछ । उच्च पहाडमा बाख्राको खोरलाई अग्लो बनाउनु हुदैंन । जाडोयाममा चिसोबाट बचाउन चित्रमा देखाए जस्तै ज्टको बोरा वा प्लाष्टिकले खोरलाई राती ढाक्नु पर्दछ र दिनमा घाम परेको बेला दोबारेर खोल्नु पर्दछ । गर्मीयाममा तातो हुन नदिन द्मयाल तथा भेन्टिलेशन खोलेर राख्नु पर्दछ । खोरको ढोकाः खोर बनाउँदा ५ फिट फराकिलो र ३.३३ फिट उँचाईको ढोका बनाउनु पर्दछ । ढोका काठ वाबाँसको भरयाङ्ग हुने किसिमको माथिबन्द गर्ने खालको बनाउनु पर्दछ । घाँस झुन्ड्याउने विधिः खोर बनाउँदा खोर भित्र बीचमा ३.३३ मिटर उचाई भएको बाँस वा काठको लठीको क्रस गरी घाँस राख्ने टाट्नो जस्तो बनाएर घाँस राखी खुवाउनु पर्दछ वा स्थानीय बुनेको जुट वा प्लाष्टिकको ठुलो प्वालभएको जालीमा राखी घाँस खुवाउनु पर्दछ जसले घाँस खेर नगई बढी सदुपयोग हुन्छ । पानीको व्यवस्थापनः बाख्राको लागि सफा, गन्ध नभएको, आरसेनिक नभएको पानी खुवाउनु पर्दछ । मल राख्ने खाडलः एक वयस्क बाख्रोबाट प्रतिवर्ष १३८ किलोसम्म बडकौला मल प्राप्त हुन्छ । बडकौलामा भएको पोषक तत्वलाई बचाउन, मिथेन ग्याँसको उत्सर्जन न्यून गर्न तथा दुर्गन्ध आउन नदिन खोरभन्दा अलि टाढा मल राख्नु पर्दछ । १० फिटलम्बाई ३.३३ फिट चौडाई र ३.३३ फिट गहिराईको खाल्डो बनाउनु पर्दछ । प्रति घन मिटर खाल्डोमा ७०० देखि १००० किलोसम्म अटाउँछ । अमोनिया तथा मिथेन ग्याँस उत्सर्जन हुन नदिन हप्ताको दुई पटक खोरमूनिबाट बडकौला तथा पिसाव सफा गरी खाल्डोमा राख्नु पर्दछ । चुना छर्किनेः बाख्रामा लाग्ने विभिन्न रोग तथा कीरालाई व्यवस्थापन गर्न खोरको टाँडमा हप्ताको एक पटक चुन पाउडर छर्नु पर्दछ । निश्कर्षः जलवायु परिवर्तनले बाख्राको उत्पादन र उत्पादकत्वमा प्रत्यक्ष असर पारी उचित लाभ नभएको अवस्थामा दिगो कृषि तथा कृषक पेशालाई मर्यादित बनाउन प्रादेशिक सरकार एवं स्थानीय तह गाउँपालिका र नगर पालिकाले बाख्राको गोठ सुधारमा उचित रकम विनियोजन गरी गाउँघर सरसफाईका साथै कृषकहरूको आम्दानीमा बृद्धि गर्न सकिन्छ । (-मधेश दर्पण फिचर सेवाबाट)
ललितपुरको छपेलीदेखि माझखण्डसम्म केबुलकार सरर, २ घण्टाको बाटो ५ मिनेटमै
काठमाडौं । ललितपुरको छपेलीदेखि माझखण्डसम्म ८४ करोडको लागतमा केबुलकार बन्ने भएको छ । छपेलीदेखि माझखण्डसम्म २ दशमलव ८ किलोमिटर क्षेत्रमा केबुलकार बन्ने भएको हो । ललितपुर जिल्ला बाग्मती गाउँपालिकाको ३ नम्बर वडाको छपेलीदेखि ५ नम्बर वडाको माझखण्डसम्म सञ्चालन हुने गरी केबलकार निर्माण हुने भएको हो । डेस्टिनेशन माझखण्ड प्रालिले निर्माण कार्य शुरु गर्ने तयारी गरेको छ । २०७७ सालको दशैंमा केबुलकार सञ्चालन हुने गरी निर्माण शुरु हुन लागेको कम्पनीका अध्यक्ष गोपाल सञ्जेलले बताए । स्वीट्जरल्यान्डको आधुनिक प्रविधि प्रयोग गरेर केबुलकार निर्माण हुनेछ । केबलकारको गति प्रतिसेकेन्ड १० मिटरको हुनेछ र २ दशमलव ८ किलोमिटर ५ मिनेटमा पार गर्नेछ । अहिले छपेलीदेखि माझखण्ड पुग्न गाडीमा २ घण्टा लाग्छ । केबुलकार सञ्चालमा आएपछि २ घण्टाको बाटो ५ मिनेटमा नै पार गर्न सकिन्छ । नेपालमा हाल सञ्चालित केबलकारको एउटा खण्डमा ६ सीट मात्रै हुने गरेको छ । ललितपुमा बन्न लागेको केबुलकार २५ सीट क्षमताको हुनेछ । उक्त केबलकारको बीचबीचमा पोलहरु पनि हुँदैन । शुरु र अन्त्यको स्टेशनमा मात्रै पोल हुने जनाइएको छ । सो स्थानमा कम्पनीले केबलकार सहित ४० करोडको लागतमा तीनतारे होटल र ७ करोडको लगानीमा फनपार्क र रेस्टुराँ समेत सञ्चालनमा ल्याउने जनाएको छ । कूल लगानीको ८० प्रतिशत विदेशी लोन र २० प्रतिशत स्वदेशी लगानी रहने जनाइएको छ । केबलकार पार्किङसहित तल्लो स्टेशनका लागि १० रोपनी, माथिल्लो स्टेशनका लागि ५ रोपनी, तीनतारे होटलका लागि २० रोपनी तथा रेस्टुराँ र फनपार्कका लागि १० रोपनी गरी ४५ रोपनी जग्गा कम्पनीले खरिद गरिसकेको छ । कम्पनीका अध्यक्ष सञ्जेलले केबलकार, होटल र फनपार्क निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताबीच सहमति जुटिसकेको बताए । यही महिनाबाटै निर्माण शुरु गर्ने समेत उनले बताए । नेपालमा हाल सञ्चालनमा रहेका केबलकारहरूमा अस्ट्रियाली कम्पनी डबल मायरको प्रविधि प्रयोगमा छ । तर, माझखण्डमा बन्ने केबलकार स्वीट्जरल्यान्डको बार्फोलेट कम्पनीले बनाउने गरी समझदारी (एमओयू) भएको छ । केबलकारका लागि चाहिने डब्बा लगायत सम्पूर्ण प्राविधिक काम बार्फोलेटले नै गर्ने सहमति भएको अध्यक्ष सञ्जेलले बताए । उनका अनुसार दुईओटा डब्बाले केबलकारको सेवा दिने गरी संरचना बनाइने छ । केबलकारको एक डब्बाले २ हजार किलोसम्म बोक्न सक्ने बताए । माझखण्डमा पर्यटकीय संभावना स्थानीयवासीलाई आवतजावतमा फाइदा त हुने नै भयो, माझखण्डमा रुद्रेश्वर महादेवको मन्दिर र बौद्ध विहार छन् । छुट्टी मनाउनका लागि पनि केबलकारको उपयोग हुने र आन्तरिक पर्यटक आकर्षित गर्न सकिन्छ । उक्त केबलकारको संरचना निर्माणका लागि प्रारम्भिक वातावरणीय मूल्यांकन(ईआईए) लगायत सबै प्रक्रिया पूरा भइसकेको छ ।
एउटै कार्यालयमा दुई सरकारको बोर्ड
तनहुँ । सडक डिभिजन कार्यालय तनहुँमा सङ्घ र प्रदेश दुईवटै सरकारको बोर्ड राखिएको छ । सङ्घ वा प्रदेश कुन मातहतमा रहने भन्ने विवादसँगै दुवै सरकारले आ–आफ्नो दाबी गर्दै कार्यालयमा सङ्घ र प्रदेश सरकारको छुट्टाछुट्टै बोर्ड राखेका हुन् । यसरी राखिएको उक्त बोर्डमा सङ्घअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मातहतमा र प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको मातहतमा रहेको उल्लेख गरिएको छ । सङ्घ वा प्रदेश कुन मातहतमा रहने भन्ने विवाद कायम हुँदा दुवैतर्फबाट बजेट विनियोजन नहुँदा विकास निर्माणको काम प्रभावित भएको कार्यालय प्रमुख इञ्जिनीयर विष्णुप्रसाद काफ्लेले बताएका छन् । गण्डकी प्रदेशमा रहेका तीन कार्यालयमध्ये पोखरास्थित कार्यालय सङ्घमा हुने र बाँकी दुई कार्यालय प्रदेशअन्तर्गत रहने भनिए पनि कार्यालय कसको मातहतमा रहने भन्ने विवादको विषय रहेको उनले जानकारी दिए । उक्त कार्यालयमा रहेका प्राविधिक कर्मचारी सबैले सङ्घ रोजेको र प्रदेशका लागि प्राविधिक एक जना कर्मचारी पनि नरहेको सो कार्यालयले जनाएको छ । प्राविधिक कर्मचारी नभएकाले प्रदेशअन्तर्गतका जिल्लामा विकास निर्माणका काम प्रभावित बनेको छ । कार्यालयमा आवश्यक बजेट नहुनु र कर्मचारी दरबन्दीअनुरुप नहुँदा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट काम गर्न नसकिएको कार्यालय प्रमुख इञ्जिनीयर काफ्लेले बताएका छन् । साविक कार्यालयलाई यथावत राखेर सङ्घ र प्रदेशअन्तर्गत विभिन्न पाँच जिल्लामा काम गर्दै आएका छौँ । उनले भने, “बजेट निकासा नहुँदा कर्मचारीले तलबसमेत खाना नपाएको कार्यालयले जनाएको छ । यस कार्यालयको सङ्घअन्तर्गत तनहुँ, लमजुङ, गोरखा, मनाङ गरी चार जिल्ला र प्रदेशअन्तर्गत सङ्घमा रहेको जिल्ला र नवलपुर गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयका सूचना अधिकारी इञ्जिनीयर सचिन श्रेष्ठले जानकारी दिएका छन् । रासस
एक खर्ब ६ अर्बकाे सेयर काराेबारमा अनलाइनबाट १६ अर्ब ५४ करोड मात्रै
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा गत एक वर्षमा कूल एक खर्ब ६ अर्ब ९ करोड ३४ लाख १८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये अनलाइनबाट १६ अर्ब ५४ करोड ८२ लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त रकम कूल कारोबारको १५.६ प्रतिशत हाे । नेप्सेका अनुसार २०७५ कात्तिक २० गतेदेखि २०७६ कात्तिक १९ गतेसम्मकाे अवधिमा कूल १६ हजार २३४ जनाले इन्टरनेट अर्थात अनलाइन कारोबार प्रणाली(नट्स)मार्फत सेयर खरिदबिक्री गरेका छन् । एक वर्षकाे अवधिमा कूल २४२ दिन मात्र सेयर कारोबार भएको थियो । जसमा कूल १५ लाख २४ हजार ०१४ पटक भएकोे कारोबारमा ३७ करोड १२ लाख ५७ हजार ९८८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये अनलाइनबाट मात्रै ३ करोड १३ हजार १९७ पटकमा ५ करोड ८७ लाख २१ हजार ६४९ कित्ता सेयर बिक्री भएका छन् । बाँकी ३१ कराेड २५ लाख ३६ हजार ३३९ कित्ता सेयर ब्रोकर कम्पनीमार्फत किनबेच भएकाे छ । नेप्सेले दिएको सूचना अनुसार १२ दिन सय करोडभन्दा बढी र एक दिन मात्र २ सय करोडभन्दा बढी सेयर कारोबार भएको छ । त्यस्तै, कारोबार संख्या २३ दिनमा १० हजारभन्दा बढी र एक दिन मात्र २० हजार भन्दा बढी भएको छ । सो अवधिमा सबैभन्दा बढी अर्थात उच्च कारोबार रकम २० करोड रुपैयाँ रहेको नेप्सेले जनाएको छ । नेप्सेले २०७५ कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली(नट्स) सञ्चालनमा ल्याएको थियो । दोस्रो बजार कारोबारमा लगानीकर्ताको सहभागितालाई प्रोत्साहन गर्न ल्याएको उक्त प्रणाली सञ्चालनमा आएको एक वर्ष पुरा भएको छ । इन्टरनेटको माध्यमबाट जुनसुकै ठाउँबाट सेयर खरिद बिक्री गर्न सकिने भएपछि देशविदेशबाट लगानीकर्ताहरुले सेयर कारोबारमा सहभागिता जनाएका नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिएका छन् ।
लक्ष्यभन्दा रु ४७ करोड बढी राजश्व सङ्कलन
काठमाडौं । सानो भर्याङस्थित प्रदेश नं ३ को यातायात व्यवस्था कार्यालयले आव २०७५/०७६ मा रु एक अर्ब ४७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले रु एक अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा थप रु ४७ करोड वृद्धि भएको जनाएको हो । सवारी साधन कर सङ्कलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व सङ्कलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिएका छन् । आव २०७६/०७७ को कात्तिक २० गतेसम्म रु ६० करोड ६४ लाख ४३ हजार राजश्व उठेको र सेवाग्राहीको चाप वृद्धि हुँदै गएकाले उनीहरुलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न जनशक्तिको अभाव रहेको कार्यालयले जनाएको छ । दैनिक सेवाग्राहीको भीड लाग्ने उक्त कार्यालयले नौ मात्र कर्मचारी रहेकाले १३ कर्मचारी थप गर्न माग गर्दै आएको छ । असारदेखि असोजसम्म सवारी साधनको नवीकरणलगायत कार्य बढ्ने हुँदा सेवाग्राहीको भीड लाग्ने सो कार्यालयमा कामको चाप बढेका बेला राति ९ बजेसम्म पनि काम गर्नुपरेको बताइएको छ । कम्पाउण्डसहितको भवन नभएकाले कार्यालय हातामा सेवाग्राहीलाई बीमा कम्पनीका प्रतिनिधि तथा विचौलियाले विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेकाले सिसी क्यामेराको सहयोगबाट निगरानी गरी प्रहरीको समन्वयमा कारवाहीसमेत गरिएको प्रमुख कपालीले जानकारी दिएका छन् । उक्त कार्यालयले दैनिक एक हजार २०० सेवाग्राहीलाई सेवा दिएको जनाएको छ । रासस
आरबिबि इम्पावरमेन्ट एकेडेमीमा ३० जना युवालाई ३ दिने तालिम
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आरबिबि इम्पावरमेन्ट एकेडेमीमा प्रदेश नम्बर ३ का अनलाइन आवेदन मार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुका लागि ३ दिने तालिम प्रदान शुरु भएको छ । शुक्रबार कार्यक्रमको शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको एकेडेमीबाट युवावर्गले बैंकिङ्ग क्षेत्रमा भएका नयाँ नयाँ उपलब्धिलाई सिक्ने बुझ्ने अवसर प्राप्त गर्ने बताए । उनले वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाहरुले यसबाट भरपुर लाभ लिन सक्ने बताए । पहिलो चरण अन्तर्गत एकेडेमीले २०७६ कात्तिक १ गते बाट १५ गते सम्म निःशुल्क अनलाइन आवेदन प्रदेश नं.३ का नागरिकता भएका स्नातक र स्नाकोत्तर डिग्री भएका २८ वर्ष मुनिका युवाहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको थियो । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिममा बैंकिङ्ग, टेक्निकल तथा परीक्षा तयारी सम्बन्धि तालिम दरबारमार्गमा प्रदान गरिनेछ । तीन दिनको तालिम पश्चात बैंकले ३० जना सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिनेछ । यो कार्यक्रम बैंकले अन्य प्रदेशमा पनि संचालन गर्ने जनाएको छ । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले स्वागत मन्तब्य तथा जब डाइनामिक्सका निर्देशक प्रयास राजउपाध्यायले मन्तब्य ब्यक्त गरेका थिए भने सुस्मिता बैद्यले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु कमलेश ठाकुर, दीपकराज न्यौपाने, मार्स एडभरटाइजिङ्गका सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
दक्षिणी क्यालिफोर्नियामा एसआर विमान दुर्घटना, चालकको निधन
लस एन्जलस । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एसआर २२ नामको सानो विमान दुर्घटना भएको छ । उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ । उक्त विमान आवासीय भवनको छतमा खसेको थियो । विमान छतमा खस्नासाथ घरमा आगो लाग्ने त्रासले अग्निनियन्त्रकहरु सो क्षेत्रमा तत्कालै पुगेका थिए । विमान अपल्याण्डको केबल विमानस्थलबाट उडेको थियो । प्रत्यक्षदर्शीहरुले उक्त विमान निकै होचोगरी उडेको र बस्तीको एक घरको छतमा ठोक्किन पुगेको बताएका छन् । त्यस घरमा एकजना पुरुष र उनको छोरा बसेका थिए । विमान छतमा ठोक्किएपछि उनीहरु भने भाग्न सफल भएको स्थानीय टेलिभिजनले जनाएको छ । एकमात्र इन्जिन भएको उक्त विमानको दुर्घटनाको कारण भने पत्ता लागेको छैन । रासस