डीभी भर्नकै लागि २९ हजारले बनाए राहदानी, पौने ३१ करोड राजश्व संकलन
काठमाडौं । सन् २०२१ का लागि अमेरिकन डीभी आवेदन फारम खुलेको अवधिमा राहदानी विभागमा ३० करोड ७५ लाख ७४ हजार ३ सय रुपैयाँ राजश्व संकलन भएको छ । गत असोज १५ गतेदेखि कात्तिक १९ गतेसम्म डीभी फारम भर्न समय तोकिएको थियो । यो अवधिमा दैनिक एक हजार ५० भन्दा बढी व्यक्तिले राहदानी विभागमा आवेदन दिने गरेका थिए । अरु समयको तुलनामा राहदानी विभागमा यो अवधिमा भीड बढेको थियो । यस पटकदेखि डीभी फारम भर्दा राहदानी नम्बर अनिवार्य गरिएको हो । विदेशमा घुम्न र कार्यक्रमहरुमा सहभागिता जनाउन जाँदा, बैदेशिक रोजगारी र अध्ययनका लागि राहदानी आवश्यक हुन्छ । तर, यस पटक डीभी भर्दा समेत राहदानी अनिवार्य भएपछि विभागमा भीड बढेको थियो । अन्य प्रयोजनका लागि भन्दा पनि यो अवधिमा डीभी भर्नकै लागि राहदानी बनाउनेको घुईँचो देख्न सकिन्थ्यो । राहदानी लिने तीन किसिमको प्रक्रिया छ । आवेदन फारम बुझाएको दिन अथवा एककै दिनमा चाहिए १५ हजार रुपैयाँ, दुई दिनमा चाहिए १२ हजार, तीन दिनमा चाहिए १० हजार रुपैयाँ तोकिएको छ । अक्टोवर दुई देखि नोभेम्बर पाँचसम्म डिभी आवेदन फारम खुले पनि नेपालका ठूलो चाडपर्व दशैं र तिहारको बिदाका कारण २३ दिन राहदानी विभाग खुलेको विभागका प्रशासन निर्देशक तथा सूचना अधिकारी तीर्थराज अर्यालले जानकारी दिए । तीन महिनामा ४३ हजारले लिए राहदानी चालु आर्थिक वर्षको तीन महिनामा ४३ हजार ८ सय ९६ जनाले विभागबाट राहदानी लिएका छन् । डीभीका लागि राहदानी अनिवार्य गरेसँगै एक महिनामा २९ हजारभन्दा बढीले राहदानीका लागि आवेदन फारम भरेका थिए । यो संख्या अन्य महिनाको तुलनामा उच्च हो । आर्थिक वर्ष २०७३/७४ मा राहदानी लिनेको संख्या ५ लाख ५७ हजार एक सय ८८ थियो । आव २०७४/७५ मा घटेर ५ लाख ३१ हजार छ सय ३३ ले लिएका थिए भने गत वर्ष एक लाख २० हजार सात सय ६९ जनाले राहदानी लिएका विभागले जानकारी दिएको छ ।
हिमाल आरोहण अनुमतिबाट साढे ६ करोड रोयल्टी संकलन
सोलुखुम्बु । शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिएका छन् । जसमध्ये सबैभन्दा बढी २७ समूहका ३१६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन् । जसबाट रु एक कारोड ४० लाख ३६ हजार ३०० रोयल्टी सङ्कलन भएको छ । सबैभन्दा बढी रोयल्टी भने मनास्लु हिमाल आरोहण अनुमतिबाट उठेको छ । मनास्लुबाट मात्रै रु दुई करोड ७० लाख ८५ हजार ६०० रोयल्टी सङ्कलन भएको निरौलाको भनाइ छ । मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएका छन् । त्यसैगरी, धवलागिरि हिमाल आरोहणबाट रु ३२ लाख आठ हजार पाँच रोयल्टी सङ्कलन भएको छ । उक्त हिमाल आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् । यता थापा पिक आरोहण अनुमतिबाट रु ११ लाख ८९ हजार ३१२ सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । वसन्त ऋतुमा आरोहीको भीड लाग्ने विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति पाएका थिए । उनीहरुबाट सरकारले रु ६३ लाख ११ हजार ८०० रोयल्टी सङ्कलन गरेको छ । लामो समयपछि शरद ऋतुमा आरोहणका लागि गएको भए पनि सफल हुन नसकेको निरौलाको भनाइ छ । सगरमाथा आरोहण असफल भएपछि उनीहरु फर्किसकेका छन् । शरद ऋतुमा आरोहणका लागि मौसम सामान्य अनुकूल हुने भए पनि उच्च गतिको हावाका कारण जोखिम हुने आरोहीको भनाइ छ । सगरमाथा आधार शिविरदेखि क्याम्प १ सम्मको अति जोखिमयुक्त बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार शरद ऋतुमा बाटो निर्माण गर्दा खर्च बढी लाग्छ । त्यसैले यो समयमा आरोही समूहले नै बाटो निर्माण गर्दै जानुपर्ने हुन्छ । वसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प १ सम्मको बाटो बनाउने सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्ने समितिले जनाएको छ । नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन । यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताब सिं तामाङले बताए । रासस
राष्ट्रिय बीमा कम्पनीले माग्यो ३४ जना कर्मचारी, कहिलेसम्म फारम भर्ने हेर्नुहोस्
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ३४ जना कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा रिक्त रहेका पदमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको कम्पनीद्वारा प्रकाशित सूचनामा उल्लेख छ । कम्पनीले नायब व्यवस्थापक(तह ७) २ जना, सहायक व्यवस्थापक(तह ६) ९ जना, सूचना प्रविधि अधिकृत(तह ६) १ जना, सूचना प्रविधि सहायक(तह ५) १ जना, स्वास्थ्य सहायक(तह ५) १ जना, सहायक क(तह ५) ३ जना, सहायक ख(तह ५) १४ जना, सहायक ख(तह ४) कृषि प्राविधिक २ जना र सहायक ख(तह ४) पशु प्राविधिक १ जना गरी ३४ जना कर्मचारी माग गरेको हो । विभिन्न पदमा योग्यता पुगेका इच्छुक व्यक्तिहरुले कात्तिक २२ गतेदेखि २१ दिन भित्र कम्पनीको प्रधान कार्यालय, जनशक्ति व्यवस्थापन विभाग रामशाह पथ काठमाडौँमा दरखास्त बुझाउन सक्नेछन् ।
नागरिक लगानी कोषमा अधिकृतदेखि सहायक सम्मका कर्मचारी माग
काठमाडौँ । नागरिक लगानी कोषले अधिकृत देखि सहायक सम्मका पदमा कर्मचारी माग गरेको छ । अधिकृत(प्रशासन) पदमा ५ जना, सहायक कम्प्युटर अधिकृत १ जना, वरिष्ठ सहायक २ जना, वरिष्ठ कम्प्युरटर अपरेटर १ जना, सहायक २ जना र सहायक कम्प्युटर अपरेटर १ जना माग गरेको हो । कात्तिक २२ गतेदेखि २१ दिन भित्र सम्बन्धित पदमा योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवेदन दिन सक्ने कोषले जनाएको छ । लोक सेवा आयोगको सहमतिमा रिक्त पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्याथी पदपूर्ति गर्न लागिएको कोषद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
आज हरिबोधिनी एकादशी मनाइँदै, यस्तो छ महत्व
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । मलेरिया रोग उत्पन्न गर्ने वायुलाई नष्ट गर्न सक्ने शक्ति तुलसीमा भएको आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ भनी व्याख्या गरिएको अध्यक्ष गौतमले जानकारी दिए । आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाई सुते जगत् सुत्छ, तपाई उठे जगत् उठ्छ”, भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने वाल्मीकि विद्यापीठका सहप्राध्यापक श्रीराम सापकोटाले बताए । “यसका लागि चार महिनासम्म उपासना गरेर श्रद्धा भक्तिसाथ हरिबोधिनी एकादशीका दिनमा भगवान् विष्णुको विशेष पूजा गर्दा ११ वटै जाग्छन् भन्ने विश्वास छ”, उनले भने । किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । बूढानीलकण्ठमा आजदेखि कात्तिक २६ गते पूर्णिमासम्म विशेष मेला लाग्ने नारायणस्थान मठका मठाधीश स्वामी निगमानन्दले बताउनुभयो । बूढानीलकण्ठमा हरि ९विष्णु० र हर ९शिव० दुवै देवताको मूर्ति छ । ठूलो ढुङ्गामा हरि र हर दुवैको मूर्ति भएको विश्वकै दुर्लभ शिला मानिने भएकाले यहाँ वार्षिक लाखौँ पर्यटक आउने गरेका छन् । उपत्यकाका चार नारायण, बूढानीलकण्ठका साथै देशभरका नारायण मन्दिरमा आज भक्तजनको विशेष भीड लाग्ने गर्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म तुलसीको हवन गर्न हेराउनु नपर्ने धार्मिक मान्यता छ । त्यसपछि हवन (होम) जुरेका दिनमात्र तुलसी पूजा उद्यापन गर्न हुने विधि छ । यसरी चार महिने तुलसी पूजा समापन हुन्छ । रासस
विदेशी सम्बन्धन लिएका १५ कलेजलाई मापदण्ड पूरा गर्न निर्देशन, नगरे खारेज हुने
काठमाडौँ । सरकारले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका १५ कलेजलाई १५ दिनभित्र तोकेको मापदण्डमा आउन निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन नयाँ कार्यविधिअनुसार ती कलेज तोेकेको समयावधिमा मापदण्ड पूरा नगरे खारेज हुने बताए । “सरकारले तोकेको मापदण्डमा हामीले ती कलेजलाई आउन आग्रह गरेका छौँ”, उनले भने, “ती कलेजले आफ्नो कार्यक्रम सञ्चालन गर्न चाहन्छन् भने सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्दछ ।” उहाँ अनुसार ती कलेजले धरौटी अध्यावधिक नगरेको र नवीकरणका लागिसमेत निवेदन नदिएको र २०७४ साल माघ मसान्तभित्र नवीकरण दस्तुरबापतको रकम बुझाएका छैनन् । ती सबै कलेज प्रायः बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयबाट सम्बन्धन लिई ए लेभलका कक्षा सञ्चालन गरिरहेका छन् । ती कलेजमा एजे वाइल्ड इन्स्टिच्युट एडभान्स इस्टडिज काठमाडौँ, ब्रिजबाटर कलेज इन्टरनेशनल सीनामङ्गल, मल्पी इन्टरनेशलन कलेज काठमाडौँ, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाडौँ, एभरेष्ट एजुकेशन फाउण्डेशन काठमाडौँ, काठमाडौँ भ्याली स्कूल काठमाडौँ, ओरिन्ट कलेज काठमाडौँ, पेन्टागन एजुकेशन नेटवर्क काठमाडौँ, सरिन भ्याली स्कूल (एपेक्स लाइफ स्कूल) काठमाडौँ, साउथ वेस्टन स्टेट कलेज काठमाडौँ रहेको छन् । यी दश कलेजले धरौटी अध्यावधिक नगरेको र नवीकरणका लागिसमेत निवेदन गरेका छैनन् । यसैगरी स्काई इन्टरनेशनल कलेज बुटवल, वेस्र्टन मेघा कलेज बुटवल, वेस्र्टन इन्टरनेशनल विजनेश स्कूल धनगढी, कसमस इन्टरनेशनल कलेज पोखरा, गण्डकी बोर्डिङ स्कूल पोखरा रहेका छन् । ती पाँच कलेजले भने २०७४ साल माघ मसान्तभित्र नवीकरण दस्तुरबापतको रकम नबुझाएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालसँगको सीमा नक्शामा कुनै परिवर्तन नगरिएको भारतको दावी
नयाँ दिल्ली । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपालसँगको सीमामा कुनै परिवर्तन नगरिएको दावी गरेको छ । जम्मु र काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याएपछि जारी गरिएको नक्शालाई लिएर नेपालको तर्फबाट चर्को विरोध भएपछि भारतीय पक्षले नेपालसँगको सिमानामा कुनै फेरबदल नभएको दावी गरेको हो । कालापानी लगायतका क्षेत्र भारतले आफ्नो क्षेत्रमा परेको भन्ने समाचारको भारतको विदेश मन्त्रालयले बिहीबार खण्डन गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सिमाना निर्धारणका लागि छुट्टै संयन्त्र र व्यवस्था रहेकाले त्यही अनुसार हुने स्पष्ट पारे । उनले कुनै विवाद वा समस्या रहेमा दुवै देशकाबीचमा वार्ता र छलफल गरेर समाधान निकालिने र एक अर्कामा स्पष्ट हुने पनि जानकारी दिए । दुवै देशको सरोकारका विषयमा दुईपक्षीय हित र मित्रताकै आधारमा टुङ्गोमा पुगिने प्रवक्ता कुमारले पत्रकारहरूलाई बताए । “नेपालसँगको सिमानामा पूरानै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन,’ प्रवक्ता कुमारले भने । उनले आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न तयार रहेको प्रतिबद्धता दोर्होयाए । प्रवक्ता कुमारले निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने कोशिश भैरहेको र यसको विरूद्ध दुवै देशले संयुक्तरूपमा अघिबढ्नुपर्ने जरुरी रहेको पनि बताए । रासस/एएनआई
ज्योति ग्रुपका मालिक रुप ज्योति पक्राउ
काठमाडौं । नेपालकाे पुरानाे व्यवसायिक घराना ज्योति ग्रुपका उपाध्यक्ष डा. रुप ज्योति पक्राउ परेका छन् । उनी राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेकाे बेलामा अर्थ राज्यमन्त्री समेत भएका थिए । रुप ज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार सिंगापुरबाट सिल्क एयरमा आएका ज्योतिलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो । उनलाई विमानस्थलबाट महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको छ । जग्गा कारोबारमा ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको भनिए पनि प्रहरीले स्पष्ट खुलाएको भने छैन । ल्यान्डमार्क हाउजिङका नाममा ठगी गरेको आरोप उनलार्ई लागेको छ । केही समयअघि जिल्ला अदालत काठमाडौंले ज्योति विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला अदालतको पक्राउ पुर्जीलाई चुनाैति दिदै उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले जिल्ला अदालतको निर्णय सदर गरेपछि ज्योतिलाई पक्राउ गरिएकाे प्रहरी स्राेतले बतायाे । जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा नै ज्याेतिलाइ पक्राउ गर्न अनुमति दिएको थियो । तर उनले २०७५ मंसिर २४ गते सर्वोच्चबाट अन्तरिम आदेश लिएका थिए । सर्वोच्चले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेपछि उनलाई पक्राउ गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूप ज्योतिको निषेधाज्ञा सम्बन्धी रिट खारेज गरिदिएका थिए ।