दक्षिणी क्यालिफोर्नियामा एसआर विमान दुर्घटना, चालकको निधन
लस एन्जलस । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एसआर २२ नामको सानो विमान दुर्घटना भएको छ । उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ । उक्त विमान आवासीय भवनको छतमा खसेको थियो । विमान छतमा खस्नासाथ घरमा आगो लाग्ने त्रासले अग्निनियन्त्रकहरु सो क्षेत्रमा तत्कालै पुगेका थिए । विमान अपल्याण्डको केबल विमानस्थलबाट उडेको थियो । प्रत्यक्षदर्शीहरुले उक्त विमान निकै होचोगरी उडेको र बस्तीको एक घरको छतमा ठोक्किन पुगेको बताएका छन् । त्यस घरमा एकजना पुरुष र उनको छोरा बसेका थिए । विमान छतमा ठोक्किएपछि उनीहरु भने भाग्न सफल भएको स्थानीय टेलिभिजनले जनाएको छ । एकमात्र इन्जिन भएको उक्त विमानको दुर्घटनाको कारण भने पत्ता लागेको छैन । रासस
विद्यार्थीहरुले घेरे भारतीय दूतावास, ‘गो ब्याक इण्डिया’ नारा लगाउँदै प्रदर्शन
काठमाडौँ । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा शुक्रबार राजधानीमा विद्यार्थीहरुले भारतीय राजदूतावास घेराउ गरेका छन् । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियूले भारतीय राजदूतावास घेराउ गरेको हो । विभिन्न स्थानबाट ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, गो ब्याक इण्डिया’को नारा लगाउदै दूतावास पुगेर विधार्थीहरुले भारत बिरुद्ध नाराबाजी गरेका छन् ।
सम्झौताको ३ महिना अघि नै सडक कालोपत्र सम्पन्न
दमौली । तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ । सम्झौताअनुसार सडक कालोपत्र गरिसक्नुपर्ने अन्तिम मिति माघ १० गतेसम्म थियो । भिमाद नगरपालिका र स्थानीयवासीको सहभागितामा शुरु गरिएको कालोपत्रको काम ४२ दिनमै सम्पन्न भएको हो । मोटरमार्ग कालोपत्रका लागि असोज ९ गते सम्झौता भएकामा यही कात्तिक २१ गते ६०० मिटर सडकको कालोपत्र सम्पन्न भएको फूलबारी मोटरमार्ग कालोपत्र योजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर थापाले जानकारी दिएका छन् । “मोटरमार्ग कालोपत्र गरिसक्नुपर्ने अन्तिम मिति माघ १० गतेसम्म थियो”, थापाले भने, “तर हामीले सम्पन्न गर्ने मितिभन्दा अगावै कालोपत्रको काम सकेका छौं ।” मोटरमार्ग कालोपत्रका लागि कूल रु २५ लाख ३५ हजार ९१८ खर्च भएको छ । जसका लागि भिमाद नगरपालिकाले रु १७ लाख ३० हजार ७६४ र स्थानीयवासीले रु आठ लाख पाँच हजार १५३ लगानी गरेका छन् । अध्यक्ष थापाका अनुसार यहाँका ४१ घरधुरी यो मार्गबाट लाभान्वित भएका छन् । सडक कालोपत्रका लागि प्रतिघर रु १५ हजार सङ्कलन गरिएको थियो । साथै विभिन्न सहयोगदाताबाट कालोपत्रका लागि रु एक लाख ९० हजार १५३ प्राप्त भएको थियो । सडक कालोपत्रका लागि बेलायत, भारत, कावासोती लगायतका ठाउँबाट सहयोग प्राप्त भएको थियो । “छोटो समयमै गुणस्तरीय काम गर्न सफल भएका छौँ”, थापाले भने, “सडक कालोपत्र भएपछि यहाँका स्थानीयवासी धुलोबाट मुक्त भएका छन् ।” कच्ची सडक हुँदा धुलोले स्थानीयवासीलाई समस्या हुने गरेको थियो । भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले लागत साझेदारीमा स्थानीय उपभोक्ताले नमूना काम गरेर देखाएको बताए । “बजारभन्दा बाहिरका गाउँमा पहिलो पटक लागत साझेदारीमा सडक कालोपत्र सम्पन्न गरेका छौँ”, नगरप्रमुख थापाले भने, “यो कार्य सफल भएको छ, अन्य ठाउँमा पनि लागत साझेदारीमा सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।” नगरपालिकाले नगरक्षेत्रभित्र रहेका कच्ची सडक कालोपत्र गर्ने कामलाई प्राथमिकतामा राखेको भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताएका छन् । थापाका अनुसार सडक कालोपत्र नभएका गाउँलाई प्राथमिकताका आधारमा कालोपत्र गरिनेछ । रासस
लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच सहयोगसम्बन्धी सम्झौता
काठमाडौं । लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारकालागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुखकार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुखकार्यकारी अधिकृत रिता गुरुङ्गले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुसार बैंकले आर्थिक रुपले विपन्न पृष्ठभुमिका बालबालिकाहरुको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा)को पहिचान र उपचारका लागिरु ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नेछ । रटिनोब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो जुन सामान्यतया नवजातशिशु र पाँचवर्ष सम्मका बालबालिकामा देखा पर्दछ । विश्वभर १५ सय नवजातशिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ । यो रोग समयमा पत्ता लागेमा ज्यानमात्र होइन आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिहरुको विकास भएको छ । नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापि, लेजर थेरापि, प्लेग ब्राकिथेरापि, शल्यक्रियालगायतका प्रविधिहरुबाट यो रोगको उपचार सुरु गरेको छ । यसरी, सुस्वास्थ्य सम्बन्धीदिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारका लागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो ।
उन्नती लघुवित्तद्वारा रक्तदान
काठमाडौ । भैरहवामा प्रधान कार्यालय रहेको उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको छैठौं वार्षिकोत्सवको शुभ अवसरमा बिहीबार केन्द्रीय कार्यालय सिद्धार्थनगर नगरपालिका–१२, भैरहवामा सम्पन्न गरेको हो । संस्थागत उत्तरदायित्व अन्र्तगत “रक्तदान जिवनदान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले जानकारी गराए । उनले गराएको जानकारी अनुसार सञ्चालक समितिका खड्ग बहादुर राना, केशव प्रसाद शर्मा, कृष्ण प्रसाद गौतम, प्रमुख कार्यकारी अधिकृत प्रेम वहादुर पाठक, विभागीय प्रमुखहरु तथा कर्मचारीहरुको उपस्थितिमा २८ जनाले रक्तदान गरेका छन् ।
स्वाथ्य बीमा बोर्डको आलोचना गर्दै अर्थमन्त्रीले भने-‘बीमाको काम बीमा कम्पनीहरुले मात्र गर्ने हो’
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमाको काम बीमा कम्पनीहरुले मात्र गर्नु पर्ने र बीमा सेवासँग जोडिएको सबै संस्थाको नियमन बीमा समितिले गर्नु पर्ने बताएका छन् । बीमा कस-कसले गर्ने भन्ने विषयमा रहेको अन्यौलता हटाउन पर्नेमा उनले जोड दिएका छन् । बीमाको मुल व्यवसाय कसले गर्ने ? बीमाको एजेन्ट भएर काम कसले गर्ने ? भन्ने विषयमा बजारमा दुविधा र अन्यौलता हटाउन उचित हस्तक्षेप आवश्यक रहेको समेत उनले बताए । ‘बैंकले पनि बीमा गर्ने, सहकारीले पनि बीमा गर्ने । नागरिक लगानी कोषले पनि बीमा गर्ने/गराउने । कर्मचारी संचयकोषले पनि बीमा गर्ने/गराउने’, अर्थमन्त्रीले भने- ‘कुन चाहि एजेन्ट हुन् ? कुन चाहि अपरेटर हुन् भनेर मलाई त कहिले काँहि छुट्याउन पनि गाह्रो हुन्छ ।’ बैंकहरुले अनप्रोफेशनल रुपमा बीमा व्यवसाय गर्न थालेपछि सरकारले हस्तक्षेप गर्नु परेको उनले बताए । सरकारी हस्तक्षेपपछि बीमा कम्पनीहरुमा खुशी छाएको तर बैंकहरुले अन्याय भयो भनेर गुनासो गर्ने गरेको अर्थमन्त्रीले सुनाए । ‘तपाईहरुको अनुहार हेरेर म चिन्छु । तपाईहरु बैंक पनि चलाउनु हुन्छ । बीमा पनि चलाउनु हुन्छ । बैंकको बोर्डकाे रुपमा बसेर मेरो बीमा कम्पनीमा बीमा गर्नुहोस् भनेर तपाईहरु नै भन्नु हुन्छ । यहाँ स्वार्थ बाझियो । बैंकहरुले प्रोफेशनल रुपमा बीमा एजेन्ट भूमिका खेलेको भए सरकारले हस्तक्षेप गर्नु पर्ने थिएन ।’ बीमा क्षेत्रलाई कन्सोलिडेट गर्नुपर्ने उनले बताए । ‘बीमाका सबै कार्य बीमा कम्पनीबाट हुनु पर्छ । सबै प्रकारका बीमा सेवा प्रदायकको नियमन बीमा ऐन अन्तर्गत बीमा समितिबाट हुनुपर्छ’ अर्थमन्त्रीले प्रष्ट पारे । बीमा कम्पनीको सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बीमा समितिले काम गर्नु पर्ने बताए । अर्थमन्त्री खतिवडाले स्वास्थ्य बीमा बोर्डको भूमिकाको बारेमा पनि खुलेर आलोचना गरेका छन् । साथै, उनले स्वास्थ्य बीमा सेवाका सबै काम बीमा कम्पनीहरुबाट गराउनु पर्ने विचार राखेका छन् । ‘बीमा आफैमा व्यवसायिक कार्य हो । सबै व्यवसायमा सरकारले हात हाल्नुपर्छ भन्ने छैन’ अर्थमन्त्रीले खुलेर भने- ‘स्वास्थ्य बीमा गर्न प्रिमियम तिर्न नसक्नेलाई सरकारले तिरिदिने हो । तर सरकार आफै एक्चुरी हुने, आफै मूल्याङ्कन गर्ने, आफै क्षतिपूर्ति दिने, समयमा क्षतिपूर्ति दिएर जनता निरास पनि बनाउने । यस्तो हुनु भएन ।’ नेपाल पुर्नबीमा कम्पनीको छैटौं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने- ‘बीमा व्यवसायको अपरेटर पनि आफै, रेगुलेटर पनि आफै, क्षतिको मूल्याङकन गर्ने पनि आफै, क्षतिपूर्ति दिने पनि सरकार आफै’ खतिवडाले भने- सबै काम सरकारले गर्नु हुँदैन, यसरी हुँदैन । यसमा सुधार गर्नुपर्छ । तपाईहरु, रेगुलेटर पनि यहि हुनुहुन्छ, अपरेटेर पनि यहि हुनुहुन्छ । तपाईहरु प्रस्ताव लिएर आउनुहोस् । सरकारले गर्नु पर्ने सहयोग गर्छ ।’ अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दिने सेवाको स्तर कमजोर भएकोमा आलोचना गरे । बीमा कम्पनीहरुले टेलिभिजनमा स्मार्ट सेवा दिन्छौं भनेर विज्ञापन गरे पनि प्रचार गरेजस्तो सेवा दिन सफल नभएको उनले बताए । बीमा कम्पनीहरुले दावी भुक्तानी गरेनन् भनेर सरकारी निकायहरुमा धेरै उजुरी आएको तथा सानो बीमा दावी गर्न बीमा कम्पनी धाउनु भन्दा नजाँदा नै फाइदा हुन्छ भन्ने सोचाई जनमानसमा विकसित हुँदै गएको उनले बताए । ‘क्षतिको कति दिनभित्र मूल्याङकन भइसक्ने ? कति दिनभित्र बीमितको खातामा पैसा पठाउने हो ? मापदण्ड बनाउनुहोस् र लागू गर्नुहोस्’ उनले बीमा समिति र कम्पनीहरुलाई निर्देशन दिँदै भने । बीमा व्यवसायलाई खेलवाडका विषय नबनाउने समेत उनले सचेत गरे । ‘फेक क्लेमको पनि धेरै समस्या छन् । फेक रेस्क्यू त कति भए भए, तल परे आफ्नै घर भत्काएर पनि बीमा दावी गर्न हामी तयार हुन्छौं । यो हाम्रो नैतिकता पतनको पराकाष्ट हो’ खतिवडाले भने-‘एकातिर यस्तो व्यवहार गर्ने, अर्कोतिर हामी नैतिकताको भाषण गर्दै हिड्ने । समाज कता जादैछ ?’ एकातिर नयाँ बीमा कम्पनी थप्दै जाने अर्कोतिर मर्ज गर्दै जाने कार्य राम्रो नभएको उनले बताए । ‘बीमा बजारमा विस्तार र सुदृढिकरणको बारेमा दुविधा बोकेर हुँदैन । समितिले ५/५ वर्षको योजना बनाएर काम गर्दा बजारको विकास राम्रोसँग हुन्छ’ उनले भने । ‘पहिलो चरण बीमा सेवाको पहुँच वितारमा काम गरौं । दोस्रो चरणमा सेवा स्तर सुदृढ गर्ने गरी काम गरौं । तेस्रो चरणमा मर्ज एक्विजिशन वा कन्सोलिडेशनमा जाँदा राम्रो होला’ उनले भने । देशको सीमा क्षेत्रमा तथा ग्रामिण क्षेत्रमा बीमा पहुँच ज्यादै कम भएको उनले बताए । बीमा समितिको पूर्व अध्यक्ष फत्तबहादुर केसीको ८ वर्षे कार्यकालमा बीमा क्षेत्र पोखरीको पानी जस्तो स्थीर भएको टिप्पणी गरे । ‘बीमा क्षेत्रको पहुँच कति छ भनेर सोध्यो, अध्यक्ष केसीले जहिले पनि ५ देखि ६ प्रतिशत भन्नुहुन्थ्यो । बीमा बजार पोखरीको पानी जस्तो स्थीर थियो’ अर्थमन्त्री खतिवडाले भने- पछिल्ला वर्षमा यो क्षेत्रले गति लिएको छ । बीमाको पहुँच करिब २० प्रतिशत पुगेको छ । यो राम्रो पक्ष हो ।’ बीमा क्षेत्रको प्रगति राम्रो भएको उनले बताए । जोखिम वहन गर्नको लागि सरकारले लघुबीमालाई जोड दिएको तर यस क्षेत्रमा अझै प्रयाप्त काम नभएको उनले बताए । बीमा कम्पनी कै जोखिम व्यवस्थापन गर्न र भौगोलिक रुपमा जोखिम विविधिकरण गर्नको लागि पुर्नबीमा कम्पनी स्थापना भएको उल्लेख गर्दै उनले भने- शुरुमा २० प्रतिशत पुर्नबीमा नेपाल रिमा गर्ने व्यवस्था गराएका थियाै । अहिले ३० प्रतिशत गरेको छौं । अब पुर्नबीमा कम्पनीलाई विदेशबाट बीमा व्यवसाय ल्याउन प्रेरित गर्नुपर्छ । त्यसको लागि सरकारले सक्दो सहयोग गर्नेछ ।’
मलेसियामा एक नेपालीको मृत्यु
राजविराज । सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिएका छन् । अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ । यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरिएको छ । दुई वर्षअगाडि यादव रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । रासस
डीभी भर्नकै लागि २९ हजारले बनाए राहदानी, पौने ३१ करोड राजश्व संकलन
काठमाडौं । सन् २०२१ का लागि अमेरिकन डीभी आवेदन फारम खुलेको अवधिमा राहदानी विभागमा ३० करोड ७५ लाख ७४ हजार ३ सय रुपैयाँ राजश्व संकलन भएको छ । गत असोज १५ गतेदेखि कात्तिक १९ गतेसम्म डीभी फारम भर्न समय तोकिएको थियो । यो अवधिमा दैनिक एक हजार ५० भन्दा बढी व्यक्तिले राहदानी विभागमा आवेदन दिने गरेका थिए । अरु समयको तुलनामा राहदानी विभागमा यो अवधिमा भीड बढेको थियो । यस पटकदेखि डीभी फारम भर्दा राहदानी नम्बर अनिवार्य गरिएको हो । विदेशमा घुम्न र कार्यक्रमहरुमा सहभागिता जनाउन जाँदा, बैदेशिक रोजगारी र अध्ययनका लागि राहदानी आवश्यक हुन्छ । तर, यस पटक डीभी भर्दा समेत राहदानी अनिवार्य भएपछि विभागमा भीड बढेको थियो । अन्य प्रयोजनका लागि भन्दा पनि यो अवधिमा डीभी भर्नकै लागि राहदानी बनाउनेको घुईँचो देख्न सकिन्थ्यो । राहदानी लिने तीन किसिमको प्रक्रिया छ । आवेदन फारम बुझाएको दिन अथवा एककै दिनमा चाहिए १५ हजार रुपैयाँ, दुई दिनमा चाहिए १२ हजार, तीन दिनमा चाहिए १० हजार रुपैयाँ तोकिएको छ । अक्टोवर दुई देखि नोभेम्बर पाँचसम्म डिभी आवेदन फारम खुले पनि नेपालका ठूलो चाडपर्व दशैं र तिहारको बिदाका कारण २३ दिन राहदानी विभाग खुलेको विभागका प्रशासन निर्देशक तथा सूचना अधिकारी तीर्थराज अर्यालले जानकारी दिए । तीन महिनामा ४३ हजारले लिए राहदानी चालु आर्थिक वर्षको तीन महिनामा ४३ हजार ८ सय ९६ जनाले विभागबाट राहदानी लिएका छन् । डीभीका लागि राहदानी अनिवार्य गरेसँगै एक महिनामा २९ हजारभन्दा बढीले राहदानीका लागि आवेदन फारम भरेका थिए । यो संख्या अन्य महिनाको तुलनामा उच्च हो । आर्थिक वर्ष २०७३/७४ मा राहदानी लिनेको संख्या ५ लाख ५७ हजार एक सय ८८ थियो । आव २०७४/७५ मा घटेर ५ लाख ३१ हजार छ सय ३३ ले लिएका थिए भने गत वर्ष एक लाख २० हजार सात सय ६९ जनाले राहदानी लिएका विभागले जानकारी दिएको छ ।