सिटिजन लाइफमा १० हजारमा जीवन बीमा, साधारण मृत्युमा डबल रकम, दुर्घटनामा तीन गुणा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन शुभारम्भ जीवन बीमा’ नामक नयाँ बीमा योजना ल्याएको छ । इन्स्योरेन्सले गरिबीको रेखामुनि रहेका नागरिकलाई समेत समेट्ने गरी न्यूनतम १० हजार रुपैयाँमै बीमा गर्न सकिने नयाँ योजना बजारमा ल्याएको हो । यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई डबल सुरक्षा प्रदान गर्ने छ । जस अन्तर्गत बीमितहरुले साधारण मृत्युमा बीमाङ्कको डबल रकम र दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा भुक्तानी पाउने छन् । जस्तै, ५ लाखको बीमा गर्दा साधारण मृत्युमा १० लाख र दुर्घटना भई मृत्यु भएमा १५ लाख रुपैयाँ बीमालेखमा इच्छाएको व्यक्तिलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ । साथै, स्थायी पूर्ण अशक्तता लाभ, बीमा शुल्क छुट लाभ, मासिक आयलाभ, काजक्रिया खर्च सुविधा तथा ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा पाइने छ । कम्पनीका अनुसार ५ देखि ६५ बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । बीमा अवधि ५ देखि ३५ बर्ष रहेको यस योजनामा बीमा लेख परिपक्व बखत अधिकतम उमेर ७० वर्ष तोकिएको छ । त्यस्तै, न्यूनतम बीमाङ्क रकम १० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमितको आयको आधार सहित कम्पनीको जोखिममाङ्कको नीतिअनुसार जति पनि गर्न सकिने इन्स्याेरेन्सले जानकारी दिएकाे छ । योजनाकाे शुभारम्भ गर्दै इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) पोषकराज पौडेलले न्युन आय तथा गरिबीको रेखामुनि रहेका २० प्रतिशत नागरिकलाई पनि बीमा क्षेत्रमा संलग्न गराउने उद्देश्यले यो योजना बजारमा ल्याएको बताएका छन् । साथै, इन्स्याेरेन्सले शुक्रबार(कात्तिक २२ गते) मात्रै नेपाल क्यिरिङ हाउस(एनसीएचएल)सँग सम्झौता गरेको सीईओ पौडेलले जानकारी गराएका छन् । दुरदराजका नागरिकले पनि एनसीएचएलका भुक्तानी प्रणाली मार्फत कम्पनीका विभिन्न बीमा योजना किन्न सकुन् भन्ने उद्देश्यले उक्त सम्झौता गरेको उनले बताए । कम्पनीले गत वर्षको भन्दा ६० प्रतिशतले व्यापार वृद्धि गरेको छ । त्यस्तै, अघिल्लो वर्ष पहिलो त्रैमासिकको नाफाको तुलनामा यस वर्षको सोही अवधिसम्म २०० प्रतिशतले नाफा बढाउन कम्पनी सफल भएको सीईओ पौडेलले जानकारी दिएका छन् । कम्पनीले शुक्रबार काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा एक विशेष कार्यक्रम गरेर उक्त बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीका सीईओ पोषकराज पौडेल, सञ्चालक समितिका सदस्यहरू मनोज कार्की तथा दिप प्रकाश पाण्डे र ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रूपमा यस योजनाको सार्वजनिक गरेका हुन् । कम्पनीले यस अघिपनि पेन्सनको सुविधा सहितको बीमितको आफ्नै जीवन कालमा बीमाङ्कको डबल प्लस बोनसको व्यवस्था सहितको सिटिजन जीवन सारथी बीमा योजना ल्याइसकेको छ । साथै, उपचार खर्च अब सिटिजन लाईफले गर्छ नारा सहितको सिटिजन क्रिटिकल केयर नामको २० वटा घातक रोग सुरक्षा बीमा योजना प्रचलनमा ल्याएको छ । जस अन्तर्गत सो रोगहरु लागेको सुनिश्चित हुना साथ ५० लाख रुपैयाँसम्म कम्पनीले भुक्तानी गर्ने र सोको बिल बिजक नचाहिने कम्पनीले जनाएको छ ।
गोदावरीमा बन्दैछ ३ हजार सिट क्षमताको सभाहल, पाँच महिनामा निर्माण हुने
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा सरकारले ३ हजार क्षमताको सुविधा सम्पन्न सभाहल निर्माण गर्ने भएको छ । करिब ५२ करोडको लागतमा बन्ने सभा हलकाे ५ महिना भित्र निर्माण सकिने जनाइएकाे छ । सभाहल निर्माण आयोजनाका प्रमुख प्रकृण तुलाधरले काठमाडौंमा ठूलो कार्यक्रमको आयोजना गर्न मिल्ने कुनै पनि सभाहल नभएका कारण गोदावरीमा ठूलो र सुविधा सम्पन्न सभा हल निर्माण थालिएको बताए । कस्तो बन्दैछ सभाहल ? ललितपुरको गोदावरी नगरपालिकामा निर्माण हुने सभाहल ३ हजार सिट क्षमताको र सुविधा सम्पन्न हुनेछ । जुन हालसम्मकै ठूलो सभाहल बन्नेछ । १ सय १२ रोपनीमा बन्न लागेको उक्त सभाहलको चौडाई ४५ मिटर र लम्बाई १ सय ६ मिटर हुनेछ । कुल २८२ रोपनी ६ आना ३ पैसा जग्गामध्ये वनस्पति उद्यान क्षेत्रदेखि पश्चिमतर्फ र केशर दरबारको कम्पाउण्ड वालदेखि उत्तरतर्फको जग्गामा उक्त सभाहल निर्माण हुनेछ । जुन जग्गा शहरी विकास मन्त्रालयको स्वामित्वमा रहनेछ । गोदावरीको बसपार्कसँगै जोडिएको जग्गामा यो हल बन्न लागेको हो । सात दोबाटोदेखि ८ किलोमिटर र काठमाडौंबाट लगभग १४ किलोमिटर दुरीमा यो सभाहल बन्न लागेको हो । उपत्यकामा ठूलो हलको अभाव भइरहेको बेला सहरी विकास तथा भवन निर्माण विभागले उक्त हल बनाउन लागेको हो । जसको निर्माणको ठेक्का समानान्तर निर्माण सेवाले लिएको छ । अब यो भवन बनेपछि भने ठूलो हलको अभाव टर्ने आयोजना प्रमुख तुलाधर बताउँछन् । ‘जग्गा खोज्दै हामी भक्तपुर पुगेका थियौं’ आयोजना प्रमुख तुलाधरले भने-‘त्यहाँ राष्ट्र बैंकले जग्गा नदिएपछि गोदावरीमा रहेको सरकारी जग्गामा बनाउने निर्णय भएको हो ।’ सभाहल एक तलाको बन्ने उनले बताए । मूल भवनको दुवैतिर साना साना दुई कोठा पनि हुनेछन् । मुख्य हलको पछाडि पनि केही कोठाहरु हुनेछन् । भीआइपीहरु सिधै मञ्चमा आउनु पूर्व बस्नका लागि हलको पछाडि होल्डिङ कोठा बनाइनेछ । हलका दुई भागका साना कोठा मल्टिपर्पोज हल हुन् । हलको अघि रहेको मञ्चको दुवैतर्फ एलइडी स्क्रिन हुने उनले बताए । यसका साथै विभागले यस वर्षभित्रै अर्को ५ हजार सिट क्षमताको हल बनाउने प्रक्रिया थालेको तुलाधरले बताए । उक्त ५ हजार सिट क्षमताको हल अन्तर्राष्ट्रिय स्तरको सुविधासहित हुने उनले बताए । भक्तपुरको ठिमीमा निर्माण हुने उक्त सभाहलको पनि डिजाइनिङ भइरहेको उनले बताए । यस वर्षभित्रै टेण्डर आब्हान गर्ने उनले बताए । सभाहल निर्माणपछिको अवसर हालसम्म उचित र सुविधा सम्पन्न सभाहल नभएका कारण कतिपय ठूला कार्यक्रमहरु पनि प्रभावकारी हुने गरेका थिएनन् । सम्मेलनमा जान इच्छुकहरु पनि सिट अभावकै कारण सहभागि हुन नपाउने अवस्था थियो । अब तीन हजार सिट क्षमताको सभाहल निर्माण भइसकेपछि सभाहलमा विदेशी तथा स्वदेशी लगानीकर्ता र अतिथिहरुको उल्लेख्य सहभागिता रहने छ । गोदावरीमा भीआईपी मुभमेन्ट बढ्ने काठमाडौंबाट लगभग १४ किलोमिटर दुरीमा पर्ने उक्त सभाहल निर्माण भइसकेपछि भीआइपी मुभमेन्ट पनि बढ्नेछ । यसले पनि समग्र गोदावरी क्षेत्रको व्यापार व्यवसायमा मात्र होइन ललितपुरै आर्थिक विकासमा पनि टेवा पुग्नेछ । आजको दिनमा साँघुरो र खाल्डाखुल्डी भएको सडक व्यापक विस्तार हुनेछ र यातायात आगावमनमा सहज हुनेछ । अन्तर्राष्ट्रिय सरहको सभाहल निर्माण पश्चात स्थानीय स्तरका हरेक गतिविधि तथा विकासका कामहरुले तीब्रता पाउनेछन् । गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले सभाहल निर्माण कार्यले स्थानीय उत्साहित भएको बताइन् । उनले सभाहल निर्माण भएपछि हालको खाल्डाखुल्डी रहेको सडक बिस्तार हुनुका साथै पुरै सडक कालोपत्रे हुने बताइन् । ‘हाल सडक १२/१३ फिट चौडाईको छ’ उनले भनिन- ‘अब सभाहल निर्माण हुने भएसँगै हामीले १६ फिटको सडक विस्तार गर्ने प्रक्रियामा छौं ।’ उक्त सडकमा भीआएपी मुभमेण्ट बढेसँगै स्थानीयस्तरको जग्गाको मूल्य पनि बढ्न सक्नेछ भने भौतिक संरचना निर्माणले पनि गति लिनेछ । यो सभाहल निर्माण सँगै सरकारले लाखौं रुपैयाँ तिरेर होटलका सभाहल भाडामा लिने परिपाटीको अन्त्य हुनेछ । सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मलेन केन्द्रलाई संघीय संसद भवनका रुपमा परिणत गरिएको छ । जसको सिट क्षमता ८ सय रहेको छ । यो सँगै अर्को राष्ट्रिय सभाहल हो । यसको क्षमतापनि ५ सय मात्रै छ । सभाहल साना हुँदा विदेशी लगानीकर्ता तथा अतिथिहरुलाई बोलाएर गरिने कार्यक्रम प्रभावित हुँदै आएको थियो । हालै सम्पन्न इन्भेस्टमेन्ट समिटमा सहभागिता जनाउन चाहेका धेरै लगानीकर्तालाई सभाहलकै कारण सहभागी गराउन सकिएको थिइन्, आएका लगानीकर्ताहरुलाई पनि सिट नपाएर उभिएरै सहभागि भएका थिए । विभिन्न सभा सम्मेलनहरु सरकारले पाँचतारे होटलहरुमा भाडा तिर्दै कार्यक्रम आयोजना गर्दै आएको छ । करिब ५२ करोडको लागतमा तीन हजार सिट क्षमताको सभाहल निर्माण गर्न ठेक्का पनि दिइसकेको बताइएको छ । सहरी विकास तथा भवन निर्माण विभागले उक्त भवन बनाउन लागेको बताइएको छ । नेपालकै हालसम्मको ठुलो सभाहलको पाँच महिनाभित्र सम्पूर्ण निमार्ण सक्ने विभागले जनाएको छ ।
पोखरामा कालिका लघुवित्तको शाखा प्रमुख भेला
काठमाडौँ । स्याङ्जाको वालिङमा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम त्रैमासिक समीक्षा गोष्ठी, वीमा सम्बन्धि तालिम तथा शाखा प्रमुखहरुको भेला पोखरामा सम्पन्न भएको छ । संस्थाका ७१ वटा शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको ३ दिने कार्यक्रममा पहिलो त्रैमासमा भएको प्रगति विवरण एवम् समीक्षा गरिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथिको रुपमा कालिका लघुवित्त वित्तीय संस्थासंग मर्ज हुन लागेको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समिति अध्यक्ष विकास गौचनले कालिकासंग मर्ज भए पश्चात संस्थालाई नेपालको लघुवित्त क्षेत्रमा उत्कृष्ट र नमुनाको लघुवित्तको रुपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने बताए । विशेष अतिथि संस्थाका अध्यक्ष कृष्ण खाँणले दुबै संस्थाको लागि यो एउटा सुवर्ण अवसर रहेको र यसमा सबैको सकारात्मक धारणा पाएको बताए । उनले सबैको जीत हुने तरिकाले मर्ज हुने र लघुवित्त संस्था मर्जमा सुनौलो इतिहास बनाउन सबैलाई आग्रह गरे । संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संचालकहरु नित्यानन्द तिवारी, कृष्ण काजी केसी, सन्तोष श्रेष्ठ, विश्वराज नेपाल, करुणा पोखरेल, जनसेवी लघुवित्त वित्तीय संस्थाका संचालक तथा संयुक्त मर्जर समितिका संयोजक पदमराज रेग्मी, संचालकहरु कुल प्रसाद गुरुङ, मेघनाथ सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको लागि प्रभु लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्सले सहयोग गरेको थियो भने शाखा प्रमुखहरुलाई वीमा सम्बन्धि तालिम पनि दिइएको थियो । संस्थाको तर्फबाट योजना तथा अनुगमन विभाग एवम् कर्जा तथा जोखिम विभाग प्रमुख राजेश श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए भने सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी, विभागीय प्रमुखहरू अनुप श्रेष्ठ र याम प्रसाद अर्याल लगायतले सहजिकरण गरेका थिए । यसै बीचमा संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासको प्रतिवेदन पनि सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ७४ लाख त्रियासी हजार खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो ६ गुणाले बढी हो ।
कामना सेवाको वार्षिकोत्सवमा ६८ जनाले गरे रक्तदान
काठमाडौँ । कामना सेवा विकास बैंकको १३ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइरहेको छ । २०७६ साल कात्तिक २७ गते पर्ने १३ औँ वार्षिकोत्सवको उपलक्षमा कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने भएकाले ज्ञानेश्वर स्थित आईएसटी कलेजमा ग्राण्डी इन्टरनेस्नल अस्पतालको सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको हो । जस्मा करीब ६८ जना रक्तदाताले रक्तदान रक्तदान गरे ।
उद्योगी रुप ज्योतिको गिरफ्तारी प्रति चेम्बरको आपत्ति
काठमाडौँ । वरिष्ठ उद्योगपति तथा व्यवसायी रुप ज्योतिको गिरफ्तारी प्रति नेपाल चेम्बर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘अपराधनै प्रमाणित नभई केवल उजुरीको भरमा, आफ्नो भ्रमण पूरा गरी विदेशबाट स्वदेश फर्कदा सिधै एयरपोर्टबाट रुप ज्योतीलाई उहाँकी छोरी सुरुची सहित पक्रउ गरिएकोले निजी क्षेत्र मर्माहित भएको छ ।’ चेम्बरद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा देशमा ठूला लगानी गरेको र नियमित रुपमा उल्लेखनीय राजश्व योगदान गरी रहेका उद्यमी÷व्यवसायीलाई अमर्यादित व्यवहार गरिंदा सम्पूर्ण निजी क्षेत्र हतोत्साहित मात्र नभई लगानी मैत्री वातावरणमा समेत प्रतिकुल प्रभाव पर्न जाने उल्लेख छ । कानून परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी/व्यवसायीलाई सम्मानजनक व्यवहार होस् भन्ने तर्फ चेम्बरले विज्ञप्ति मार्फत ध्यानाकर्षण जनाएको छ ।
प्राइम लाइफको जीवन बीमा योजना अनलाइनबाटै खरिद गर्न सकिने
काठमाडौँ । प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले अनलाइन प्रविधिबाट विभिन्न जीवन बीमा योजना ग्राहक स्वयम्ले नै खरिद गर्न सक्ने प्रविधि विकास गरी सञ्चालनमा ल्याएको छ । यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफुले लिन चाहेको जीवन बीमा योजना तथा त्यस योजना अन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरु छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायक मार्फत भुक्तानी गर्न सकिने जनाएको छ । हालको लागि अधिकतम विमाङ्क रकम रु. ५ लाखसम्मको बीमालेख खरिद गर्न सकिनेछ । यस प्रविधि अन्तर्गत ग्राहकलाई कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फारममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्वीकृत भई बीमालेख जारी हुनेछ । कम्पनीले शुरुवात गरेको अनलाइन प्रविधिबाट प्रदान गरिने बीमाको सेवाबाट धेरै भन्दा धेरै जनता समक्ष जीवन बीमाको पहुँच पुग्ने विश्वास कम्पनीले लिएको छ । अनलाइन मार्फत प्राप्त प्रस्ताव फारममा उल्लेखित ठेगानाबाट नजिक पर्ने यस कम्पनीको शाखा तथा उपशाखा कार्यालयबाट स्वीकृत भएको बीमालेख सम्बन्धित बीमितलाई दिने व्यवस्था समेत गरिएको जनाएको छ ।
अढाइ दशकपछि भारतद्वारा नहर निर्माणको थालनी
भीमदत्तनगर । एकीकृत महाकाली सन्धी भएको अढाइ दशकपछि भारतले सम्झौताअनुसार नेपालको सिमानासम्म एक हजार २०० मिटर मूल नहर र महाकाली नदीमा हेड रेगुलेटर बनाउन अग्रसरता देखाएको छ । भारतले आफ्नो भूमि पर्ने क्षेत्रमा बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माणका लागि सर्वे भएको करिब १८ वर्ष भइसकेको बताउँदै स्थानीयवासी कार्कीले नहरमा पानी बग्नेमा आफू ढुक्क नभएको बताए । “सर्वे भएको ठाउँभन्दा केही मिटर दक्षिणतर्फ भारतले नहर निर्माणका लागि ठेक्का दिएर वन क्षेत्र खाली गराएर काम थालेको छ”, उनले भने, “नहर सर्वेभन्दा तल सार्नुको अर्थ अहिल्यै थाहा हुँदैन ।” एक दशकअघि सोही क्षेत्रको नेपाली भूमिबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल निर्माण थालेको थियो । करिब १३ किलोमिटर मूल नहर बने पनि शाखा नहर बनाउने र सिँचाइका लागि किसानको खेतमा पानी पुर्याउने योजना भने अझै नदेखिएको कार्कीको भनाइ छ । यहाँस्थित महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले १८ महिनामा सक्ने गरी भारतीय पक्षले एक हजार २०० मिटर नहर र नहरको हेडरेगुलेटर निर्माणको थालनी गरेको बताए । “एक हजार २०० मिटर भूमिमा वन परेकाले त्यहाँको स्वामित्व लिएर नहर खन्न भारतीय प्रक्रियागत कारणले ढिलाइ भएको भारतीय एनएचपिसीको भनाइ छ”, निर्देशक थापाले भने, “अब नहर निर्माण हुनेमा आशङ्का गर्नुहुन्न ।” यसअघि पनि भारतीय पक्षले नहर निर्माणका लागि ठेक्का आह्वान गरे पनि प्राविधिक कारण देखाउँदै ठेक्का प्रक्रिया रद्द गरेको थियो । मटेनादेखि कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मूल नहरको दोस्रो चरणमा हाल १५ किलोमिटर निर्माणाधीन अवस्थामा छ । कञ्चनपुर र कैलालीको ३३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य रहे पनि निर्माणको गति भने सुस्त छ । रासस
सवारीसाधनको बाटो निर्धारण नहुँदा सडक अस्तव्यस्त बन्दै
काठमाडौं । काठमाडौँ उपत्यकामा कुन मार्गमा कस्ता र कति मात्रामा सवारी साधन चल्ने भनी निर्धारण हुनसकेको छैन । मार्ग निर्धारण हुन नसक्दा कतिपय मार्गमा आवश्यकताभन्दा बढी सवारी साधन हुँदा सवारी चाप बढी छ भने ग्रामीण क्षेत्रमा सवारी साधन कम मात्रै चल्दा स्थानीयवासी हैरान छन् । डेढ वर्ष पहिले यातायात व्यवसायीको एकाधिकार तोडेसँगै यातायात व्यवस्था विभागले मार्ग निर्धारणका लागि अध्ययन गरे पनि त्यसको प्रतिवेदन आउन सकेको छैन । मार्ग निर्धारण नभएर व्यवसायीले चाहेको स्थानमा सवारी साधन चलाउँदा बढी नाफा हुने ठाउँमा मात्रै व्यवसायी जाने गर्दा समस्या भएकोे विभागका महानिर्देशक गोगनबहादुर हमालले बताएका छन् । पहिले यातायातको व्यवस्थापन नेपाल सरकारले मात्रै गर्ने भए पनि अहिले प्रदेश सरकार र स्थानीय तहको पनि कार्यक्षेत्रमा पर्ने उनको भनाइ छ । उनले भने, “तीनै तहका सरकारले आपसी छलफल र समन्वयमा रुट निर्धारण गर्न सकिन्छ ।” उपत्यकाको सवारी साधनको व्यवस्थापनकै लागि सरकारले गत वर्ष राष्ट्रिय यातायात प्राधिकरणको गठन गर्ने निर्णय गरे पनि गठन हुनसकेको छैन । पाँच वर्षका लागि काठमाडौँ उपत्यकाको सवारी व्यवस्था व्यवस्थापन र नियमन गर्नका लागि प्राधिकरण गठन गर्ने भनिएको थियो । प्राधिकरण गठन नहुँदासम्म स्थानीय तह र प्रदेशसँग मिलेर विभागले नै काम गर्ने महानिर्देशक हमालको भनाइ छ । विभाग मातहत रहेका यातायात व्यवस्था कार्यालय पनि सरकारले गत वर्ष नै प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको थियो । रासस