विकासन्युज

भेन्टो ट्रेन्डलाइन: नेपालमा पाइने भक्सवागनको सबैभन्दा सस्तो सेडान, यस्ता छन् विशेषता

काठमाडाैं । जर्मन अटोमेकर कम्पनी ‘भक्सवागन’ को नेपालका लागि आधिकारीक बिक्रेता पूजा इन्टर्नेशनल प्रा.लि.ले यस ब्राण्डका विभिन्न मोडेलहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ । भक्सवागनको हाल नेपाली बजारमा उपलब्ध एकमात्र सेडान हो ‘भेन्टो’ । नेपालमा भेन्टोका ट्रेन्डलाइन, कम्फर्टलाइन, हाइलाइन र हाइलाइन प्लस गरी ४ अलग भेरियन्टहरु उपलब्ध छन्, जसमध्येको बेस भेरियन्ट ‘ट्रेन्डलाइन’ को मूल्य चाहिँ ३९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । भेन्टो ट्रेन्डलाइनको फिचर्सका रुपमा अटोमेटिक एयर कण्डिसनिङ्ग, क्रूज कन्ट्रोल, रेन सेन्सिङ्ग वाइपर्स, एप कनेक्ट सहितको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, कुल्ड ग्लोवबक्स, अटो डिमिङ्ग रियर भ्यू मिरर, रियर पार्किङ्ग क्यामेरा, एडजस्ट गर्न मिल्ने स्टेयरिङ्ग तथा ड्राइभर सिट, आउटसाइड रियर भ्यू मिरर, १२ भोल्टको ब्याट्री लगायतका विशेषताहरु रहेका छन् । सेफ्टि फिचरहरुको रुपमा चाहिँ यस सेडानका अगाडिका सिटमा दुइओटा एयरब्याग, एबीएस सिस्टम, ईबीडी सिस्टम, हिल-होल्ड फङ्सन्, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लक, पावर डोर लक जस्ता विशेषताहरु रहेका छन् । भेन्टो ट्रेन्डलाइनमा प्रयोग गरिएको १.६ लिटर ४ सिलिण्डर पेट्रोल इञ्जिनले १०५ पीएसको पावर र १५३ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १६.०९ केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको ग्राउण्ड क्लियरेन्स १६३ मिलिमिटर, बुट स्पेस ४९४ लिटर र फ्युल ट्याङ्क क्यापासिटि चाहिँ ५५ लिटरको रहेको छ । त्यसैगरी, यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् । कम्पनीका अनुसार अहिलेको विशेष अफर अन्तर्गत यस कारको खरिदमा एक लाख ५५ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनेछ । हाल नेपालमा भेन्टोको कम्फर्टलाइन, हाइलाइन, हाइलाइन डिजेल इञ्जिन र हाइलाइन प्लसको मूल्य चाहिँ क्रमशः ४३ लाख ९५ हजार, ४७ लाख ४५ हजार, ५१ लाख ४५ हजार र ५१ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

विधान संशोधनबाट पछि हट्यो महासंघ, प्रत्यक्ष निर्वाचन फेरी पनि वरिष्ठ उपाध्यक्ष पदमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान यो वर्ष संशोधन नहुने भएको छ । शुक्रबार बसेको विधान संशोधन समितिको बैठकले विधान संशोधन प्रक्रिया रोक्ने निर्णय गरेको समितिका सदस्य तथा प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । संशाेधन समितिले अध्यक्ष पदकाे लागि प्रत्यक्ष निर्वाचन गर्ने गरी संशाेधन प्रस्ताव गरेकाेमा त्यसलाइ फिर्ता लिने निर्णय पनि गरेकाे छ । संशाेधन प्रकियामा रहेका अन्य बुँदाहरू थप परिमार्जनसहित चैतमा हुने साधारणा सभामा पेश गर्ने गरि प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएकाे छ । आइतबार बस्ने पदाधिकारीकाे बैठकमा  विधान संशाेधन समितिकाे प्रस्तावहरू पेश हुने  र विधान संशाेधनका लागि बाेलाइएकाे विशेष साधारणसभा स्थगित गर्ने निर्णय हुने उनले बताए । कात्तिक २८ गते बस्ने कार्यसमितिकाे बैठकले त्यसलाई अनुमाेदन गर्नेछ । विधान संशोधन नहुने भएपछि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी चैतमा हुने चुनावी सभासँगै स्वत अध्यक्ष हुनेछन् । महासंघको हालको विधानमा वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । यो व्यवस्था हटाएर प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने गरि विधान संशोधन प्रक्रिया अगाडि बढाईएको थियो । तर विधान संशोधनको विषयमा महासंघमा ठूलो विवाद भएपछि र महासंघ नै फुट्न सक्ने अडकलबाजी हुन थालेपछि महासंघ नेतृत्व विधान संशाोधन नगर्ने निष्कर्षमा पुगेको हो । साथै, विधान संशोधन प्रक्रिया नमिलेको भन्दै महासंघको निवर्तमान अध्यक्ष पशुपति मुरारकाले महासंघका अध्यक्षसहित कार्यसमितिलाई सचेत गराएका थिए । विधान संशोधन समितिले ३५ बुँदे संशोधनको प्रस्ताव अगाडि सारेको थियो । त्यसमा अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने मुख्य प्रस्ताव थियो भने महासंघको प्रदेश संघहरुलाई बलियो बनाउने विषयहरु थिए । विधान संशोधनका प्रस्तावित विषयहरु चैतमा हुने साधारणसभामा विशेष प्रस्तावको रुपमा पेश हुने वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । साधारणसभाबाट संशोधन भएको विधान जिल्ला प्रशासन कार्यालय हुँदै मन्त्रिपरिषद्बबाट स्वीकृत भएपछि लागू हुने उनले जानकारी दिए । महासंघको विशेष साधारणसभा रोक्न फोहोरी खेल, चण्डिराज ढकालले भने-‘आफ्नै उद्योग चलाउँछु अब’ महासंघको वरिष्ठ उपाध्यक्षमा चार आकांक्षी, अध्यक्ष निर्वाचनको विषयमा अझै विवाद महासंघको विशेष साधारणसभा अनिश्चित बन्दै, पदाधिकारी नै परे दुविधामा

सामाजिक सुरक्षाको दायरमा ल्याउन गैसस महासङ्घसंग छलफल, हालसम्म एक लाख श्रमिक सूचीकृत

काठमाडौँ । सरकारले मुलुकभर क्रियाशील रहेका रोजगारदाता तथा तिनमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी छलफललाई तीव्र पारेको छ । गत साउन १ गतेदेखि सामाजिक सुरक्षा योजना औपचारिक रुपमा कार्यान्वयनमा आएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै पक्षसँग छलफल गरी सहभागिताका लागि सहजीकरण गर्दै आएको छ । योजनाको प्रभावकारी कार्यान्वयन गर्दै सबै श्रमिकलाई कोषको दायरामा ल्याउन मन्त्रालयले बहुपक्षीय छलफललाई पनि तीव्रता दिएको छ । श्रममन्त्री गोकर्ण विष्ट आफैँले सरोकारवाला निकायका प्रतिनिधिसँग बेग्लाबेग्लै तथा सामूहिकरुपमा भेट गरी योजना कार्यान्वयका क्रममा व्यवहारिक कठिनाइ देखिए समाधान गर्दै आएका छन् । त्यससँगै सरकारले योजनालाई समृद्ध बनाउन सरोकारवालासँग पनि सुझाव सल्लाह लिँदै आएको छ । पछिल्लो पटक कोषमा सूचीकरणका लागि मंसिर १४ गतेसम्म समयावधि थप गरिएको छ । तोकिएको समयभित्र बढीभन्दा बढी रोजगारदाता र श्रमिकलाई समेट्न मन्त्री विष्टले पहलकदमी लिँदै आएका छन् । यसैक्रममा आज मन्त्री विष्टले गैरसरकारी संस्था महासङ्घलगायत गैरसरकारी संस्था, सामाजिक सङ्घ संस्थासँग छलफल गरेका थिए । छलफलका क्रममा सहभागीले सामाजिक सुरक्षा योजनामा सहभागिताका लागि आफूहरु आतुर रहेको बताएका थिए । उनीहरुले योजनाका कार्यान्वयनका क्रममा आइपर्ने व्यवहारिक कठिनाइ समाधान गरेर जान सुझाव दिएका थिए । छलफलमा मन्त्री विष्टले सरकारी सेवा कार्यरतको हकमा धेरैथोरै सुरक्षा भए पनि निजी क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति नभएको अवस्थामा निजी क्षेत्रमा काम गर्ने श्रमिकलाई जोखिमबाट बचाउन सामाजिक सुरक्षा कार्यक्रम ल्याइएको भन्दै सूचीकरणमा ढिलाइ नगर्न आग्रह गरेका थिए । मन्त्री विष्टले कोषमा सहभागी हुन अटेर गर्नेलाई कानूनको प्रयोगभन्दा पनि यसको दूरगामी प्रभावका बारेमा जानकारी दिएर सहजीकरण गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताए । उनले योगदानकर्ताको चाहनालाई सम्बोधन गर्नेगरी लगानी कार्यविधिलाई अन्तिम रुप दिने तयारी भइरहेको बताए । छलफलमा सहभागीको जिज्ञाशालाई मन्त्री विष्ट र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले प्रष्ट पारेका थिए । मन्त्री विष्टले बिहीबार पनि बैङ्कर्स एसोसियसनसँग पनि बैङ्क तथा वित्तीय संस्था र तिनमा आबद्ध कामदारलाई कोषमा सहभागी गराउने विषयमा छलफल गरेका थिए । बैङ्कर्स एसोसियसनले बैङ्क तथा वित्तीय संस्था र तिनमा क्रियाशील कामदारलाई कोषमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गरेको थियो । एक लाख श्रमिक सूचीकृत हालसम्म १० हजार प्रतिष्ठान सूचीकृत भइसकेको कोषले जनाएको छ । त्यसैगरी सूचीकृत हुने श्रमिकको सङ्ख्या एक लाख पाँच हजार पुगेको कोषका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै करिब ११ करोड योगदान रकम सङ्कलन भइसकेको छ । कोषले योगदानकर्तालाई धितोका आधारमा कर्जा दिने गरी लगानी कार्यविधि प्रस्ताव गरेको छ । रासस

चीनको राजधानी बेइजिङमा हिमालय एयरको ७० प्रतिशत अकुपेन्सी

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको छ । बेइजिङ उडानमा अहिले ७० प्रतिशतसम्म अकुपेन्सी रहेकामा चीनतर्फबाट अकुपेन्सी राम्रो रहे पनि नेपालबाट चीन जाने यात्रुको सङ्ख्या भने अपेक्षितरुपमा बढ्न नसकेको एयरलाइन्सको भनाइ थियो । बेइजिङ गन्तब्यको बजारमा हिस्सा बढाउन कम्पनीले बजारीकरणलाई प्रभावकारी बनाउने कम्पनीका सेवा सुधार शाखा प्रमुख उज्जवला दलीले बताइन् । उनले भने, “बेइजिङ उडानमा अहिले ६० र ७० प्रतिशत अकुपेन्सी छ । उता (चीनतर्फ)बाट यात्रुको आगमन राम्रै छ । नेपालबाट चीन जाने यात्रुको सङ्ख्या कम छ, अकुपेन्सी बढाउन बजारीकरणको कामलाई प्राथमिकता दिन्छौँ ।” नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालयले गत कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा व्यावसायिक उडान शुरु गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सँघारमा काठमाडौँ र बेइजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएसँगै चीनबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्रने अपेक्षा गरिएको छ । भ्रमण वर्ष अवधिमा चीनबाट पाँच लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को आठ महिनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिमा १० प्रतिशतले चिनियाँ पर्यटक बढेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । चीनबाट वार्षिक १५ करोड विश्व भ्रमणमा जाने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । त्यसको केही हिस्सा मात्रै नेपाल भित्र्याउनसके नेपालको पर्यटनले सकारात्मक फड्को मार्ने सरकारी अधिकारी बताउँछन् । हिमालय एयरलाइन्सले १५८ सिट क्षमताको एयर बस ३२० जहाजबाट काठमाडौँ–बेजिङ उडान गरिरहेको छ । हिमालयले सातामा तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो मार्गमा एकतर्फी न्यूनतम भाडा दर रु २४ हजार पर्ने जनाइएको छ । काठमाडौँ बेइजिङ मार्गमा एकतर्फी उडान समय ५ः३० घण्टा हाराहारीको हुन्छ । हिमालयले हाल बङ्गलादेशको ढाका, युएइको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहामा सिधा उडान गर्दै आएको छ । बेइजिङसँगको सिधा उडान नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा सावित हुने कम्पनीले उल्लेख गरेको छ । रासस

भृकुटीमण्डपमा विन्टर फुटवेयर बिजनेस एक्स्पो शुरु, ७० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादक तीन उद्योग मिलेर बिहीबारदेखि भृकुटीमण्डपमा विन्टर फुटवेयर बिजनेस एक्स्पो (मेला) शुरु भएको छ । विन्टर फुटवेयर बिजनेस एक्स्पो (मेला) को उद्घाटन प्रदेश ३ का आर्थिक मामिला एवम् योजना मन्त्री कैलाश ढुंगेलले गरेका हुन् । मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री ढुंगेलले हरेक नेपाली जनताको खुट्टामा नेपाली जुत्ता हुनु पर्ने बताए । बर्तमान अवस्थामा ६० प्रतिशत नेपाली जुत्ताले आत्मनिर्भर भएको हुँदा अर्काे वर्ष आउँदा ८० प्रतिशत नेपाली जुत्ताको आत्मनिर्भर भएको सुन्न पाउने अपेक्षा गरे । नेपाली जुत्ता अझ गुणस्तर बनाउनु पर्ने जोड दिदै मन्त्री ढुंगेलले निजी क्षेत्रको सहयोगमा समृद्ध नेपालको यात्रामा सरकार लाग्ने समेत बताए । मेलामा बीएफ डियर हिल सुज, रन सुज, शिखर सुजका जुत्ताचप्पल रहने छन् । उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अबसर हुने शिखर सुजका अध्यक्ष प्रबन्ध निर्देशक एव् मेलका सभापति रामकृष्ण प्रसाइले बताए । मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराउने उनले बताए । मेला सीमित अबधिका लागि लगाइने आयोजकको भनाई छ । जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बीएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा विवाहका सिजनलाइ लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध हुने उनले जानकारी दिए । जाडोको सिजन सुरु भएकाले न्यानो खालका जुत्ता मेलामा राखिने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए । ‘मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध हुनेछन,’ उनले भने । मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाउने छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध हुनेछन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् । जुत्ता उत्पादक कम्पनीले हिउँदलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध हुनेछन् ।

सिटिजन लाइफमा १० हजारमा जीवन बीमा, साधारण मृत्युमा डबल रकम, दुर्घटनामा तीन गुणा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन शुभारम्भ जीवन बीमा’ नामक नयाँ बीमा योजना ल्याएको छ । इन्स्योरेन्सले गरिबीको रेखामुनि रहेका नागरिकलाई समेत समेट्ने गरी न्यूनतम १० हजार रुपैयाँमै बीमा गर्न सकिने नयाँ योजना बजारमा ल्याएको हो । यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई डबल सुरक्षा प्रदान गर्ने छ । जस अन्तर्गत बीमितहरुले साधारण मृत्युमा बीमाङ्कको डबल रकम र दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा भुक्तानी पाउने छन् । जस्तै, ५ लाखको बीमा गर्दा साधारण मृत्युमा १० लाख र दुर्घटना भई मृत्यु भएमा १५ लाख रुपैयाँ बीमालेखमा इच्छाएको व्यक्तिलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ । साथै, स्थायी पूर्ण अशक्तता लाभ, बीमा शुल्क छुट लाभ, मासिक आयलाभ, काजक्रिया खर्च सुविधा तथा ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा पाइने छ । कम्पनीका अनुसार ५ देखि ६५ बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । बीमा अवधि ५ देखि ३५ बर्ष रहेको यस योजनामा बीमा लेख परिपक्व बखत अधिकतम उमेर ७० वर्ष तोकिएको छ । त्यस्तै, न्यूनतम बीमाङ्क रकम १० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमितको आयको आधार सहित कम्पनीको जोखिममाङ्कको नीतिअनुसार जति पनि गर्न सकिने इन्स्याेरेन्सले जानकारी दिएकाे छ । योजनाकाे शुभारम्भ गर्दै इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) पोषकराज पौडेलले न्युन आय तथा गरिबीको रेखामुनि रहेका २० प्रतिशत नागरिकलाई पनि बीमा क्षेत्रमा संलग्न गराउने उद्देश्यले यो योजना बजारमा ल्याएको बताएका छन् । साथै, इन्स्याेरेन्सले शुक्रबार(कात्तिक २२ गते) मात्रै नेपाल क्यिरिङ हाउस(एनसीएचएल)सँग सम्झौता गरेको सीईओ पौडेलले जानकारी गराएका छन् । दुरदराजका नागरिकले पनि एनसीएचएलका भुक्तानी प्रणाली मार्फत कम्पनीका विभिन्न बीमा योजना किन्न सकुन् भन्ने उद्देश्यले उक्त सम्झौता गरेको उनले बताए । कम्पनीले गत वर्षको भन्दा ६० प्रतिशतले व्यापार वृद्धि गरेको छ । त्यस्तै, अघिल्लो वर्ष पहिलो त्रैमासिकको नाफाको तुलनामा यस वर्षको सोही अवधिसम्म २०० प्रतिशतले नाफा बढाउन कम्पनी सफल भएको सीईओ पौडेलले जानकारी दिएका छन् । कम्पनीले शुक्रबार काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा एक विशेष कार्यक्रम गरेर उक्त बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीका सीईओ पोषकराज पौडेल, सञ्चालक समितिका सदस्यहरू मनोज कार्की तथा दिप प्रकाश पाण्डे र ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रूपमा यस योजनाको सार्वजनिक गरेका हुन् । कम्पनीले यस अघिपनि पेन्सनको सुविधा सहितको बीमितको आफ्नै जीवन कालमा बीमाङ्कको डबल प्लस बोनसको व्यवस्था सहितको सिटिजन जीवन सारथी बीमा योजना ल्याइसकेको छ । साथै, उपचार खर्च अब सिटिजन लाईफले गर्छ नारा सहितको सिटिजन क्रिटिकल केयर नामको २० वटा घातक रोग सुरक्षा बीमा योजना प्रचलनमा ल्याएको छ । जस अन्तर्गत सो रोगहरु लागेको सुनिश्चित हुना साथ ५० लाख रुपैयाँसम्म कम्पनीले भुक्तानी गर्ने र सोको बिल बिजक नचाहिने कम्पनीले जनाएको छ ।

गोदावरीमा बन्दैछ ३ हजार सिट क्षमताको सभाहल, पाँच महिनामा निर्माण हुने

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा सरकारले ३ हजार क्षमताको सुविधा सम्पन्न सभाहल निर्माण गर्ने भएको छ । करिब ५२ करोडको लागतमा  बन्ने सभा हलकाे ५ महिना भित्र  निर्माण सकिने जनाइएकाे छ ।  सभाहल निर्माण आयोजनाका प्रमुख प्रकृण तुलाधरले काठमाडौंमा ठूलो कार्यक्रमको आयोजना गर्न मिल्ने कुनै पनि सभाहल नभएका कारण गोदावरीमा ठूलो र सुविधा सम्पन्न सभा हल निर्माण थालिएको बताए । कस्तो बन्दैछ सभाहल ? ललितपुरको गोदावरी नगरपालिकामा निर्माण हुने सभाहल ३ हजार सिट क्षमताको र सुविधा सम्पन्न हुनेछ । जुन हालसम्मकै ठूलो सभाहल बन्नेछ । १ सय १२ रोपनीमा बन्न लागेको उक्त सभाहलको चौडाई ४५ मिटर र लम्बाई १ सय ६ मिटर हुनेछ । कुल २८२ रोपनी ६ आना ३ पैसा जग्गामध्ये वनस्पति उद्यान क्षेत्रदेखि पश्चिमतर्फ र केशर दरबारको कम्पाउण्ड वालदेखि उत्तरतर्फको जग्गामा उक्त सभाहल निर्माण हुनेछ । जुन जग्गा शहरी विकास मन्त्रालयको स्वामित्वमा रहनेछ । गोदावरीको बसपार्कसँगै जोडिएको जग्गामा यो हल बन्न लागेको हो । सात दोबाटोदेखि ८ किलोमिटर र काठमाडौंबाट लगभग १४ किलोमिटर दुरीमा यो सभाहल बन्न लागेको हो । उपत्यकामा ठूलो हलको अभाव भइरहेको बेला सहरी विकास तथा भवन निर्माण विभागले उक्त हल बनाउन लागेको हो । जसको निर्माणको ठेक्का समानान्तर निर्माण सेवाले लिएको छ । अब यो भवन बनेपछि भने ठूलो हलको अभाव टर्ने आयोजना प्रमुख तुलाधर बताउँछन् । ‘जग्गा खोज्दै हामी भक्तपुर पुगेका थियौं’ आयोजना प्रमुख तुलाधरले भने-‘त्यहाँ राष्ट्र बैंकले जग्गा नदिएपछि गोदावरीमा रहेको सरकारी जग्गामा बनाउने निर्णय भएको हो ।’ सभाहल एक तलाको बन्ने उनले बताए । मूल भवनको दुवैतिर साना साना दुई कोठा पनि हुनेछन् । मुख्य हलको पछाडि पनि केही कोठाहरु हुनेछन् । भीआइपीहरु सिधै मञ्चमा आउनु पूर्व बस्नका लागि हलको पछाडि होल्डिङ कोठा बनाइनेछ ।  हलका दुई भागका साना कोठा मल्टिपर्पोज हल हुन् । हलको अघि रहेको मञ्चको दुवैतर्फ एलइडी स्क्रिन हुने उनले बताए । यसका साथै विभागले यस वर्षभित्रै अर्को ५ हजार सिट क्षमताको हल बनाउने प्रक्रिया थालेको तुलाधरले बताए । उक्त ५ हजार सिट क्षमताको हल अन्तर्राष्ट्रिय स्तरको सुविधासहित हुने उनले बताए । भक्तपुरको ठिमीमा निर्माण हुने उक्त सभाहलको पनि डिजाइनिङ भइरहेको उनले बताए । यस वर्षभित्रै टेण्डर आब्हान गर्ने उनले बताए । सभाहल निर्माणपछिको अवसर हालसम्म उचित र सुविधा सम्पन्न सभाहल नभएका कारण कतिपय ठूला कार्यक्रमहरु पनि प्रभावकारी हुने गरेका थिएनन् । सम्मेलनमा जान इच्छुकहरु पनि सिट अभावकै कारण सहभागि हुन नपाउने अवस्था थियो । अब तीन हजार सिट क्षमताको सभाहल निर्माण भइसकेपछि सभाहलमा विदेशी तथा स्वदेशी लगानीकर्ता र अतिथिहरुको उल्लेख्य सहभागिता रहने छ । गोदावरीमा भीआईपी मुभमेन्ट बढ्ने काठमाडौंबाट लगभग १४ किलोमिटर दुरीमा पर्ने उक्त सभाहल निर्माण भइसकेपछि भीआइपी मुभमेन्ट पनि बढ्नेछ । यसले पनि समग्र गोदावरी क्षेत्रको व्यापार व्यवसायमा मात्र होइन ललितपुरै आर्थिक विकासमा पनि टेवा पुग्नेछ । आजको दिनमा साँघुरो र खाल्डाखुल्डी भएको सडक व्यापक विस्तार हुनेछ र यातायात आगावमनमा सहज हुनेछ । अन्तर्राष्ट्रिय सरहको सभाहल निर्माण पश्चात स्थानीय स्तरका हरेक गतिविधि तथा विकासका कामहरुले तीब्रता पाउनेछन् । गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले सभाहल निर्माण कार्यले स्थानीय उत्साहित भएको बताइन् । उनले सभाहल निर्माण भएपछि हालको खाल्डाखुल्डी रहेको सडक बिस्तार हुनुका साथै पुरै सडक कालोपत्रे हुने बताइन् । ‘हाल सडक १२/१३ फिट चौडाईको छ’ उनले भनिन- ‘अब सभाहल निर्माण हुने भएसँगै हामीले १६ फिटको सडक विस्तार गर्ने प्रक्रियामा छौं ।’ उक्त सडकमा भीआएपी मुभमेण्ट बढेसँगै स्थानीयस्तरको जग्गाको मूल्य पनि बढ्न सक्नेछ भने भौतिक संरचना निर्माणले पनि गति लिनेछ । यो सभाहल निर्माण सँगै सरकारले लाखौं रुपैयाँ तिरेर होटलका सभाहल भाडामा लिने परिपाटीको अन्त्य हुनेछ । सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मलेन केन्द्रलाई संघीय संसद भवनका रुपमा परिणत गरिएको छ । जसको सिट क्षमता ८ सय रहेको छ । यो सँगै अर्को राष्ट्रिय सभाहल हो । यसको क्षमतापनि ५ सय मात्रै छ । सभाहल साना हुँदा विदेशी लगानीकर्ता तथा अतिथिहरुलाई बोलाएर गरिने कार्यक्रम प्रभावित हुँदै आएको थियो । हालै सम्पन्न इन्भेस्टमेन्ट समिटमा सहभागिता जनाउन चाहेका धेरै लगानीकर्तालाई सभाहलकै कारण सहभागी गराउन सकिएको थिइन्, आएका लगानीकर्ताहरुलाई पनि सिट नपाएर उभिएरै सहभागि भएका थिए । विभिन्न सभा सम्मेलनहरु सरकारले पाँचतारे होटलहरुमा भाडा तिर्दै कार्यक्रम आयोजना गर्दै आएको छ । करिब ५२ करोडको लागतमा तीन हजार सिट क्षमताको सभाहल निर्माण गर्न ठेक्का पनि दिइसकेको बताइएको छ । सहरी विकास तथा भवन निर्माण विभागले उक्त भवन बनाउन लागेको बताइएको छ । नेपालकै हालसम्मको ठुलो सभाहलको पाँच महिनाभित्र सम्पूर्ण निमार्ण सक्ने विभागले जनाएको छ ।

पोखरामा कालिका लघुवित्तको शाखा प्रमुख भेला

काठमाडौँ । स्याङ्जाको वालिङमा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम त्रैमासिक समीक्षा गोष्ठी, वीमा सम्बन्धि तालिम तथा शाखा प्रमुखहरुको भेला पोखरामा सम्पन्न भएको छ । संस्थाका ७१ वटा शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको ३ दिने कार्यक्रममा पहिलो त्रैमासमा भएको प्रगति विवरण एवम् समीक्षा गरिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथिको रुपमा कालिका लघुवित्त वित्तीय संस्थासंग मर्ज हुन लागेको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समिति अध्यक्ष विकास गौचनले कालिकासंग मर्ज भए पश्चात संस्थालाई नेपालको लघुवित्त क्षेत्रमा उत्कृष्ट र नमुनाको लघुवित्तको रुपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने बताए । विशेष अतिथि संस्थाका अध्यक्ष कृष्ण खाँणले दुबै संस्थाको लागि यो एउटा सुवर्ण अवसर रहेको र यसमा सबैको सकारात्मक धारणा पाएको बताए । उनले सबैको जीत हुने तरिकाले मर्ज हुने र लघुवित्त संस्था मर्जमा सुनौलो इतिहास बनाउन सबैलाई आग्रह गरे । संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संचालकहरु नित्यानन्द तिवारी, कृष्ण काजी केसी, सन्तोष श्रेष्ठ, विश्वराज नेपाल, करुणा पोखरेल, जनसेवी लघुवित्त वित्तीय संस्थाका संचालक तथा संयुक्त मर्जर समितिका संयोजक पदमराज रेग्मी, संचालकहरु कुल प्रसाद गुरुङ, मेघनाथ सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको लागि प्रभु लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्सले सहयोग गरेको थियो भने शाखा प्रमुखहरुलाई वीमा सम्बन्धि तालिम पनि दिइएको थियो । संस्थाको तर्फबाट योजना तथा अनुगमन विभाग एवम् कर्जा तथा जोखिम विभाग प्रमुख राजेश श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए भने सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी, विभागीय प्रमुखहरू अनुप श्रेष्ठ र याम प्रसाद अर्याल लगायतले सहजिकरण गरेका थिए । यसै बीचमा संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासको प्रतिवेदन पनि सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ७४ लाख त्रियासी हजार खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो ६ गुणाले बढी हो ।