विकासन्युज

जुम्लाका ३ हजार प्रतिष्ठानमा ८ हजारले पाए रोजगारी

खलङ्गा । सरकारले विसं २०७५ मा गरेको आर्थिक गणना जिल्लास्तरमा सार्वजनिक गरेको छ । नेपाल सरकारले गरेको आर्थिक गणना जिल्ला तथ्याङ्क कार्यालयले एक कार्यक्रमका बीच जुम्लामा सार्वजनिक गरेको हो । जुम्लामा तीन हजार ७८ वटा प्रतिष्ठान रहेका छन् । तीमध्ये एक हजार ५ सय ११ (४९.२७ प्रतिशत) दर्ता भएका र एक हजार ५ सय ५६ (५०.७३ प्रतिशत) दर्ता नभएका प्रतिष्ठानको गणना भएको थियो । यसैगरी जुम्लामा ती प्रतिष्ठानमा आठ हजार ४६३ जनाले रोजगार पाएका छन् । कार्यालय प्रमुख शङ्करदत्त भट्टले सार्वजनिक गरेको प्रतिवेदनमा कर्णाली प्रदेशमा आर्थिक प्रतिष्ठान र यसमा रोजगारी पाउने व्यक्तिको सङ्ख्या कम भएको बताइएको छ । प्रतिवेदनमा कर्णाली प्रदेशमा ४२ हजार ८०७ वटा आर्थिक कारोवार गर्ने प्रतिष्ठानको गणना भएको छ । देशभरमा गणना गरिएका प्रतिष्ठानको सङ्ख्या नौ लाख २२ हजार ३५६ रहेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आर्थिक गणनाले एउटा मार्गचित्र तयार हुने र आगामी दिनमा काम गर्न सहयोग भएको बताएका छन् । उनले देशकै आर्थिक आकार दिने आर्थिक गणनाले सहयोग गर्ने भन्दै जुम्लाको आर्थिक अवस्था बढाउन सबैको सहकार्य आवश्यक रहेको बताए । कोष तथा लेखानियन्त्रक रामप्रसाद बिडारीले आर्थिक तथ्याङ्क अर्थतन्त्रको मेरुदण्ड रहेको बताउँदै यसले योजना मूल्याङ्कन गर्न सजिलो हुने भएकाले सोहीअनुसारको काम सरोकारवाला निकायले गर्ने बताए । नेपाल सरकारले विसं २०७५ वैशाख १ गते देखि जेठ ३१ गते सम्म आर्थिक गणना गरेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

अर्थमन्त्री खतिवडा भन्छन्-‘बैंक तथा वित्तीय संस्थालाई कसैको करकाप र हतारमा मर्जर गरिँदैन’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मर्जरमा जान बैंक तथा वित्तीय संस्थाहरुलाई बाध्यकारी नभएको प्रतिक्रिया दिएका छन् । बुधबार कामना सेवा विकास बैंकको १३ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बैंकहरुलाई मर्जरमा जान बाध्यकारी नभएको बताएका हुन् । ‘बैंक तथा वित्तीय संस्था मर्जर ऐच्छिक कुरा हो’, उनले भने– ‘बैंक मर्जर कसैको करकाप र हतारमा गरिँदैन । कानून पालना गर्नु सबैको कर्तब्य हो ।’ केही कमजोर वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले बाध्यकारी मर्जरमा लैजाने तयारी गरिरहेका बेला सरकारको तर्फबाट बाध्यकारी मर्जरको विपक्षमा धारणा बेलाबखत आउने गरेको छ । अर्थमन्त्री खतिवडाले सरकार बाध्यकारी मर्जरको पक्षमा नरहेको र नेपालमा बाध्यकारी मर्जर गराउन सम्भव पनि नरहेको बताए । दक्षिण एसियामा नेपालका बैंकहरु नियमनकारी निकायको सुपरीवेक्षण, निष्कृय कर्जा, र सपूर्ण व्यवस्थापनको हिसाबले तुलनात्मक रुपमा उत्कृष्ट भएको प्रतिक्रिया दिए । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. चिन्तामणी शिवाकोटीले कमजोर बैंकहरुले मर्जरमा जानु भन्दा अर्को बिकल्प नभएको बताए । उनले अब राष्ट्र बैंंकले छिट्टै नै दुई महत्वपूर्ण कार्यक्रम ल्याउने योजनामा समेत रहेको उल्लेख गरे । ‘राष्ट्र बैंकले डिसेम्बरबाट सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआएएस) कार्यक्रम लागू गर्दैछ।’ उनले भने–‘यसका लागि बैंकहरुले ठूलो लगानी गर्नु पर्ने हुन्छ, त्यो लगानी गर्न नसक्ने बैंकले मर्जरमा जान बाहेकको विकल्प छैन ।’ कामना सेवाका ५२ शाखा  विस्तार  कामना सेवा बैंकले वार्षिकोत्सव कार्यक्रममा देशका ५२ ठाउँमा ५२ शाखा  विस्तार गरेको छ ।  १३ औं वार्षिकोत्सव कार्यक्रममा सात वटै प्रदेशमा ५२ शाखा विस्तार गरेको हो । अब बैंकका देशभर १०३ शाखा भएका छन् । बुधबार उद्घाटन गरेका शाखाहरुमा प्रदेश एकमा तीन, प्रदेश २ मा ११, प्रदेश तीनमा १०, गण्डकी प्रदेशमा ६, प्रदेश पाँचमा ७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा ४ शाखा रहेका छन् । कामना सेवा बैंकले आफ्नो केन्द्रीय कार्यालय समेत उद्घाटन गरेको छ । बैंकका संस्थापक कृष्ण आचार्यले कामना विकास बैंक आफ्नै खुट्टमा उभिन सक्ने भएको हैसियत भएकोले मर्जर आवश्यक नभएको प्रतिक्रिया दिए । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कामना विकास बैंकलाई एक अब्बल वित्तीय संस्थाका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । उनले राष्ट्र बैंकले जारी गर्ने सम्पूर्ण नीतिनियमहरु पालना गर्ने मध्येको एक बैंक कामना सेवा रहेको उल्लेख गरे । हाल बैंकले २६ अर्ब बराबरको निक्षेप संकलन गरेको छ भने २२.५ अर्ब ऋण प्रवाह गरेको छ । समग्र विकास बैंहरुमा ७ प्रतिशत हिस्सा कामना विकास बैंकले ओगटेको कार्यक्रममा बताइयो ।

मंसिर १३ गतेदेखि देशभर मखमली प्रदर्शन हुँदै

काठमाडौं । सवित्रा चिलुवालले निर्माण गरेको चलचित्र मखमली मंसिर १३ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।  ६० वटा हलमा एक्कै साथ प्रदर्शन हुने मखमलीमा यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउले परिवेशमा देख्न सकिन्छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् भने सावित्रा चिलवाल एक कुशल गीतकारको रुपमा समेत प्रख्यात छिन । बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा चलचित्रमा संगीत वसन्त सापकोटा रहेको छ भने रामेश्वर हुमगाईको छायांकन रहेको छ । २१ औं शताब्दीमा आइपुग्दा पनि नेपालको ग्रामिण बस्तीमा देखिने पुरुष र महिलाबीचको विभेदलाई पर्दामा उतारिएको छ । मखमलीले यस चलचित्रमार्फत नारीको प्रतिनिधित्व गर्दै नारीको समस्या र भोगाईलाई प्रस्तुत गरिएको छ । चलचित्र निर्माणकाे क्रममा विशेष सहयोगीको रुपमा दामोदर भट्ट र गोकर्ण सापकोटाले निर्माता चिलुवाललाई सहयोग गरेका जनाएका छन् ।

एनएमबि बैंकले माग्यो १८६ जना कर्मचारी, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । एनएमबि बैंकले १ सय ८६ जना कर्मचारी माग गरेको छ । बैंकले आज सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । वरिष्ठ प्रबन्धक १ जना, अफिसर तथा सिनियर अफिसर तहका ब्रान्च म्यानेजर १५ जना, रिलेसनसिप म्यानेजर पदमा २० जना, विजनेस डेभलपमेन्ट एक्जुकेटिभमा १० जना, लिगल अफिसरमा २ जना, सेक्युरिटी विभागमा २ जना, चार्टर्ड एकाउन्टेन्ट ६ जना, प्रोजेक्ट फाइनान्समा २ जना, सफ्टवेयर डेभलपरमा ३ जना, म्यानेजमेन्ट ट्रेनी २५ जना, जुनियर असिस्टेन्ट १ सयजना गरी १८६ जना कर्मचारी माग गरेको बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक व्यक्तिले मंसिर ११ गतेसम्म अनलाईनबाटै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरन्सको पहिलो त्रैमासको आय २८.८६ प्रतिशतले वृद्धी

काठमाडौं । नेपाल लाइफ इन्स्योरन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६÷७७ को पहिलो त्रैमासमा गत आवको पहिलो त्रैमासमा भन्दा २८.८६ प्रतिशतले आय वृद्धी गर्न सफल भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा ८ अर्ब ६३ करोड ९ लाख रुपैयाँ आय गरेको थियो भने चालु आवको पहिलो त्रैमासमा कम्पनीले ११ अर्ब १२ करोड २५ लाख रुपैयाँ आर्जन गरेको हो । कम्पनीमा गत आवको पहिलो त्रैमासमा खुद बीमा शुल्क ५ अर्ब ४३ करोड २८ लाख रुपैयाँ संकलन भएको थियो भने चालु आवमा भने खुद बीमा शुल्क ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ पुगेको छ । यसरी गत आवको पहिलो त्रैमासमा भन्दा चालु आवको पहिलो त्रैमासमा खुद बीमा शुल्क ४३.९० प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ । यस्तै, गत आवको पहिलो त्रैमासमा कम्पनीको लगानी, कर्जा तथा अन्य आय १ अर्ब ४ करोड २५ लाख रुपैयाँ देखिन्छ भने चालु आवको पहिलो त्रैमासमा १ अर्ब ४० करोड ६५ लाख रुपैयाँ देखिएको छ ।

कृषि विकास बैंकको नाफा साढे ६० करोड, प्रतिसेयर आम्दानीमा पनि सुधार

काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ६० करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड ६० लाख रुपैयाँ बढी हो । बैंकले गत बर्षको यही समयमा ५५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो असोज मसान्तमा २०.८५ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको बैंकले चालु वर्षको सोही अवधिमा २३.३३ रुपैयाँ रहेको छ । बैंकले १ खर्ब २३ अर्ब ५४ करोड निक्षेप संकलन गरि १ खर्ब ११ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ३ अर्ब ७८ करोड र कर्जा परिचालन ६६ करोड रुपैयाँले बढेको छ । बैंकको निष्कृय कर्जा घटेर ३.९३ प्रतिशतबाट ३.७० प्रतिशतमा झरेको छ । बैंकको पूँजी कोष अनुपात २०.७७ प्रतिशत, कर्जा निक्षेप अनुपात ८१.७३ प्रतिशत रहेको छ । त्यस्तै, आधार दर घटेर १०.१८ प्रतिशत र स्प्रेड दर ५.२६ प्रतिशत रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गति लिन सकेन, ८ अर्बकाे सेयर र ५ अर्बकाे ऋणपत्र नबिक्ने जाेखिम

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले व्यवसायिक गति लिन नसकेको देखिएको छ । बैंकले प्रकाशित गरेको असोज मसान्तसम्मको वित्तीय प्रतिवेदन निराशाजनक छ । चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको यस बैंकले असोज मसान्तसम्ममा जम्मा २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत फागुनमा सञ्चालनमा आएको यो बैंकले साढे पाँच महिनामा २५ करोड रुपैयाँ मात्र निक्षेप संकलन गरेको हाे । बैंकले व्यक्तिगततर्फ न्यूनतम ५ वर्ष अवधिको न्यूनतम १ करोड र संस्थागततर्फ सोही अवधिको न्यूनतम ५ करोडको निक्षेप स्वीकार गर्दै आएकाे छ । बैंक संचालनको शुरुवाती चरणमा नै भएकोले निक्षेप  संकलनलाई  जाेड नदिएकाे बैंककाे भनाइ छ । निक्षेप संकलनका अलवा बण्ड जारी गर्ने, विदेशबाट रकम भित्र्याउने लगायतका पुँजी संकलनका विभिन्न विकल्पहरू पहिचान गरी अगाडि बढेका बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीकाे भनाइ छ । निक्षेप संकलनमा मात्र हाेइन, कर्जा लगानीमा पनि बैंकले चमक देखाएकाे छैन । बैंकले अहिलेसम्म ८ करोड ४४ लाख रुपैयाँ मात्र कर्जा लगानी गरेको छ । सेयरमा भने १२ करोड ५९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले पाँच अर्बभन्दा बढी पुजीमा निर्माण हुने परियोजनमा मात्र कर्जा लगानी गर्ने जनाएको छ । ऊर्जा, सडक, सुरुङ, केबलकार, एयरपोर्ट, होटल अन्य पर्यटन पूर्वाधार साथै सामाजिक पूर्वाधारहरू जस्तै शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारको परियोजनाहरूलाई बैंकले प्राथमिकता प्राप्त क्षेत्रहरूमा राखेको छ । बैंकको कोष लागत ९.४० प्रतिशत भएकोले कर्जा लगानी पनि महँगो पर्ने देखिएको छ । पछिल्लाे समय करुवा सेती हाइड्रोपावरमा ४ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गर्ने सम्झाैता गरेकाे छ ।  ‘कर्जाको माग उच्च छ । यथेष्ट परियोजनाहरू पहिचान भई कर्जा प्रवाह गर्ने निर्णयको प्रकृयामा छ । परियोजनाहरूमा थप कर्जा प्रवाह हुनेछु’  ज्ञवालीले भने । बैंकले असोज मसान्तसम्ममा १८ करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ । संचित कोषमा ९७ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ २० पैसा छ । बैंकले यस आर्थिक वर्षमा हामी सर्वसाधारणको लागि ८ अर्ब रूपैयाँ बराबर सर्वसाधारण शेयर जारी गर्ने र ५ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्र जारी गर्ने बैंककाे तयारी छ । वित्तीय सूचकाङ्कमा उच्च सुधार नभए बैंककाे सेयर तथा ऋणपत्र नबिक्ने जाेखिम हुने जानकारहरू बताउँछन् ।  

नारायणी नदीमा मिनी पानीजहाजको टेष्ट ड्राइभ यसैमहिना, शीर्ष नेताले उद्घाटन गर्ने

काठमाडौँ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप (मिनी पानीजहाज)को परीक्षण यात्रा (टेष्ट ड्राइभ) यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा क्रुज निर्माणकार्य भइरहेको छ । क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार क्रुजको बाहिरी भागमा सिसा राख्न मात्र बाँकी रहेको छ । इञ्जिन जडान भइसकेको छ । भित्री भागमा कुर्सी, टेबल, भान्छा, बार बन्ने क्रममा रहेको छ । शौचालयलगायतका अन्य निर्माणका काम पनि सम्पन्न भएको छ । विदेशी प्राविधिक टोली आउँदै गरेको भन्दै उनले यही महिनाको अन्त्यसम्ममा परीक्षणयात्रा गरी नोभेम्बरभित्र व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी गरेको बताए । क्रुजको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई निमन्त्रणा गरिने पनि उनले बताए । प्रबन्ध निर्देशक कँडेलका अनुसार, क्रुजको भुइँतलामा ९०, पहिलो तलामा १०० जना बस्न मिल्ने सिट रहनेछन् । पहिलो तलाको अगाडिपट्टि र दोस्रो तलाको खुला ठाउँमा १५ जना उभिन मिल्नेछ भने पहिलो तलामा १० विशिष्ट व्यक्तिका लागि कुर्सी राखिनेछ । क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ । क्रुजमा बिहानको खाजा खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपराह्न खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताए । प्रत्येक क्रुजिङ करीब तीन घण्टाको हुनेछ । काभ्रेघाटदेखि शुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि बाटोको समेत अध्ययन भइसकेको छ । क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कँडेलले बताए । क्रुजसीपको सञ्चालनका लागि आवश्यक क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी हुनेछन् । दीर्घकालीनरूपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने कँडेलले बताए । क्रुज जलप्रवाहको मापन, प्रकोपका चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनपश्चात नर्वेजियन प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नारायणी नदी किनारमै निर्माण गरिएको हो । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरिरहेको छ । क्रुजमा दुई इञ्जिन रहनेछन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ । क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ । क्रुजको अघिल्लो भागमा एकसिङ्गे गैँडाको टाउकोको आकृति हुनेछ । क्रुज निर्माणका लागि रु १५ करोड हाराहारी खर्च हुने जनाइएको छ । रासस