विकासन्युज

ग्लोबल आइएमईका ग्राहकलाई ब्लू क्रश हस्पिटलमा छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र ब्लू क्रश हस्पिटल प्रालिबीच हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमुख शान्ता शिवाकोटी र ब्लू क्रश हस्पिटल प्रालिको व्यवस्थापन समितिका सदस्य–सचिव रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात ब्लू क्रश हस्पिटल, त्रिपुरेश्वरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा विशेष सहुलियत पाउने छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको जनाएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा घुस काण्डको श्रृंखला: अख्तियारले पक्राउ गर्यो २ सहायक रजिष्ट्रार

काठमाडौं । ‘सरकारी कार्यालयमा कुनै काम गराउन जानु पर्यो भने घुस बिना कामै हुँदैन’– सर्वसाधारण सेवाग्राहीबाट यस्तो गुनासो पटक पटक आउने गरेको छ । भन्सार, मालपोत जस्ता कार्यालय घुस अण्डाका रुपमा परिचित हुँदै आएका छन् । यस्तै घुसखोरी हुने कार्यालयका रुपमा कम्पनी रजिष्ट्रार कार्यालय थपिएको छ । भ्रष्टाचारको आरोपमा उक्त कार्यालयबाट महिनैपिच्छे कर्मचारी पक्राउ पर्न थालेका छन् । केहि दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्यालयका दुई जना सहायक रजिष्ट्रारलाई छलफलका लागि बोलायो र अनुसन्धानका लागि हिरासतमा राखेको छ । अख्तियारले उनीहरु माथि अनुसन्धान थालिएको पत्र कम्पनी रजिष्ट्रार कार्यालाई पठाएको छ । अनुसन्धानका लागि अख्तियारले कम्पनी रजिष्ट्रार कार्यालयमै कार्यरत सहायक रजिष्ट्रार सीताराम खड्का र हाल उद्योग मन्त्रालयमा कार्यरत अर्का सहायक रजिष्ट्रार टंक भट्टराईलाई बोलाएको कार्यालयमा बोलाएको थियो । सहायक रजिष्ट्रार खड्काले आर्थिक चलखेल गर्दै १ महिनामा नै करिब १ हजार फाइलको काम गरेको स्रोतले बतायो । रजिष्ट्रारको कार्यालयका सहायक रजिष्ट्रार खड्का र भट्टराईलाई घुस दिएर काम गराएको भिडियो समेत अख्तियारले फेला पारेको बुझिएको छ ।पछिल्लो समय कार्यालयमा मौलाएको घुस प्रकरणले कम्पनी रजिष्ट्रार कार्यालयमा काम गर्छु भन्न पनि लाज लाग्ने अवस्था आएको सोही कार्यालयमा कार्यरत एक कर्मचारीले बताए । उनलेभ भने–‘मैले उद्योग मन्त्रालयमा काम गर्छु भन्ने गरेको छु ।’ कम्पनी रजिष्ट्रारको कार्यालयमा घुस काण्डको श्रृंखला यस्तो छ:  गत माघ १ गते रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी घुससहित पक्राउ परेकी थिइन् । उनले दर्ता रहेको स्कुलको कर तिर्न जाने सेवाग्राहीसँग राजस्व रकम कम गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएकी थिइन् । यसअघि गत २८ मंसिरमा सोही कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियारले पक्राउ गरेको थियो । उनले सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए । यसैगरी, गत ११ असोजमा अख्तियारले कार्यालयकै उप-रजिष्ट्रारद्यद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रालिका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको आरोपमा उनीहरूलाई अख्तियारले पक्राउ गरेको थियो ।

नेशनल लाइफले गर्यो ६२ लाख मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कं. लि.ले स्व.सुचिता खनालको मृत्यु बीमा दावी भुक्तानी गरेको छ । केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बुधबार एक कार्यक्रम आयोजना गरी स्व. खनालले ३ वर्ष अघि रु.५० लाखको जीवन बीमा गर्नु भएकोमा वोनस सहित रु.६२,२०,०००/- (रु.वासठी लाख बीस हजार) रकम बीमा दाबी बापत भुक्तानी भएको हो । उक्त रकम कम्पनीको कार्यकारी प्रमुखले स्व. खनालका श्रीमान पूर्व अर्थ सचिव रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरे । कार्यक्रममा उक्त दाबी छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि यथाशिघ्र फच्र्छौट गरिएको हो । विमित श्रीमती खनालको उपचारको क्रममा असोज २१ गत मृत्यु भएको थियो ।

कुमारी बैंकद्वारा ज्ञान ज्योति आधारभूत विद्यालयलाई सहयोग

काठमाडौँ । कुमारी बैंकले लामाटार, ललितपुरस्थित ज्ञान ज्योति आधारभूत विद्यालयमा टिफिन बक्स तथा स्कुल ब्याग वितरण गरेको छ । विपन्न वर्गका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले विद्यालयलाई एक लाख बराबरका शैक्षिक सामाग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा स्कुल ब्यागहरू हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीलाई एक लाख बराबरको चेक हस्तान्तरण गरे । हस्तान्तरण समारोहमा महालक्ष्मी नपा वडा–९ का अध्यक्ष वासुदेव गौतम, कुमारी बैंकका कर्मचारीहरु, विद्यालयका कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता थियो ।

ठाउँ ठाउँमा मिनरल वाटर प्लान्ट राख्ने संस्थानको तयारी, पनौति केन्द्रको मन्त्री मगरले गरिन् निरीक्षण

काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानको काभ्रे पनौतिस्थित प्रशोधित पानी उत्पादन केन्द्रको बुधबार निरीक्षण गरेकी छिन् । संस्थान आफैंले लगानी गरेर प्रशोधित पानी उत्पादन गरी जार तथा बोतल मार्फत आम उपभोक्ता समक्ष पुर्याउने लक्ष्य लिई पनौति नगरपालिका क्षेत्रमा प्लान्टको स्थापना गरेको हो । उक्त प्लान्टको निरीक्षण गर्न खानेपानी मन्त्री मगर पनौति पुगेकी हुन् । प्रशोधित पानीको प्लान्ट निरीक्षण गर्दै मन्त्री मगरले बजारमा प्रतिस्पर्धा गरेर संस्थानले गुणस्तरीय पानी आम उपभोक्ता माझ पुर्याउने गरी योजना बनाउन निर्देशन दिइन् । ‘संस्थानको यो पहिलो उत्पादन केन्द्र हो । अन्य स्थानीय तहहरुमा यसरी नै पानी प्रशोधन गर्ने प्लान्ट राख्ने गरी योजना बनाउन जरुरी छ ।’ उनले भनिन्-‘यो एउटा उदाहरण मात्र हो । अन्तर्राष्ट्रिय बजारमा हाम्रा मिनरल वाटर निर्यात गर्न सक्ने गरी योजना बनाउनुपर्छ । संस्थानले काम गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्न सकोस् ।’ नेपालका विभिन्न ठाउँहरुमा यस्तै पानी प्रशोधन प्लान्टहरु कहाँ कहाँ राख्न सकिन्छ, त्यस बारेमा सम्भावना खोजी गर्न मन्त्री मगरले संस्थानलाई निर्देशन दिइन् । उनले संस्थानलाई आफ्नो क्षमता बढाउन निर्देशन समेत दिइन् । सगरमाथा लगायतका हिमालहरुबाट बग्ने पानीको प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने सम्बन्धमा सम्भावनाको खोजी भईरहेको उनको भनाइ छ । संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थान अब खुला बजार प्रतिस्पर्धाका लागि तयार भईसकेको बताए । महाप्रबन्धक प्रसादले पनौति जस्तै अन्य नगरपालिकाहरुमा समेत मिनरल वाटर प्लान्ट राख्ने तयारी भईरहेको जानकारी दिए । पनौति नगरपालिकाका नगर प्रमुख मेयर भीम न्यौपानले संस्थानलाई पानीको प्लान्ट क्षमता विस्तार गर्नका लागि आफूहरुले पूरा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संस्थानको उक्त प्लान्ट २०७४ भदौदेखि सञ्चालनमा आएको हो । यसको पानी उत्पादन क्षमता प्रति घण्टा २ हजार लिटर रहेको छ । संस्थानले यस प्लान्टबाट दैनिक ३८ हजारदेखि ४० हजार लिटर सम्म पानी उत्पादन गर्न सकिने जनाएको छ । अहिले दैनिक २ सय ६५ जार पानी उत्पादन हुँदै आएकोमा आगामी दिनमा यसको क्षमता विस्तार गरिने महाप्रबन्धक प्रसादको भनाई छ । उत्पादनसँगै जारको संख्या बढाएर बजारमा प्रतिस्पर्धा गर्ने र बिक्री बढाउने रणनीति संस्थानले लिएको उनको भनाई छ ।

सगरमाथा इन्स्योरेन्सका ग्राहकले ग्रिनसिटी अस्पतालमा छुट पाउने

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी र ग्रिनसिटी अस्पतालबीच अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने संझौता भएको छ । उक्त सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट मोटर बीमा गर्ने ग्राहकहलाई उपलब्ध गराईएको भीआईपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई ग्रिनसिटी अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने बिभिन्न सेवा सुबिधामा छुट पाउने छन् । उक्त सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र ग्रिनसिटी अस्पतालका तर्फबाट अध्यक्ष लोकबहादुर टण्डनले स्वास्थ्य उपचार सेवा सम्वन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

माछापुच्छ्रे बैंकको चितवनदेखि कैलालीसम्म ११ नयाँ शाखा विस्तार

काठमाडौँ । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुल्सीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा शाखा कार्यालय बिस्तार गरेको हो । उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानगरपालिका तथा नगरपालिकाका जनप्रतिनिधि एवम् माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँनयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ ।

‘कोका-कोला क्यापमा कार’ अफरमा हेटौँडाका अम्बर गुरुङले जिते टाटा टियागो

काठमाडौँ । पेय पदार्थ कोका–कोलाले यो वर्षको ठूलो प्रवद्र्धन क्याम्पेन ‘कोका–कोला क्यापमा कार’को विजेता हेटौंडाका अम्बरबहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरिएको छ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा बुधबार विजेतालाई गाडीको साँचो हस्तान्तरण गरेका छन् । यो क्याम्पेनमा प्रत्येक घण्टा(हावर्ली) लक्की ड्र उपहार अन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका थिए । कोका–कोलाको यो अभियान देशभरका कोक उपभोक्तासम्म पुग्दै ठूलो सफलता हासिल गर्यो र नेपालका विभिन्न शहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, विरगञ्ज लगायतको स्थानबाट उपभोक्ताहरु विजेता भएका छन् । बम्पर लक्की ड्र का विजेता गुरुङले भने–‘म लाखौं सहभागी मध्य टाटा टियागो गाडीको विजेता हुन पाउँदा निकै खुशी छु । यो मेरो पहिलो गाडी हो । यस्तो अभियान ल्याएकोमा म कोका–कोला नेपालप्रति आभार प्रकट गर्दछु ।’