विकासन्युज

आइएमईको ‘डबलको डबलको डबल’ अफर अन्तर्गत इन्द्रराजले जिते दुई गुणाबढी रकम

काठमाडौँ । सेवाग्राही इन्द्रराज शेरचन दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र ’ मार्फत विजेता घोषित भएका हुन् । सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । उनले युके स्थित रिया मनि ट्रान्सफर मार्फत रु ५०,१३७र( नेपालमा पैसा पठाएका थिए । जसको दुई गुणा हुन आउने रकम रु १००,२७४र( जितेका हुन् । पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनले ग्रहण गरेकी हुन् । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर २०७६ साल भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्म कायम रहने जनाएको छ । अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता २ जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने जनाइएको छ ।

जनता अवकाश कोषले संचित रकमको १ प्रतिशत मुनाफा बितरण गर्ने

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडद्वारा सञ्चालित जनता अवकाश कोषले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कोषमा सहभागी सञ्चयकर्ताहरुलाई संचित रकमको १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको छ । २०७६ कात्तिक २१ गते बसेको कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ । कोषले सहभागी संचयकर्ता/बचतकर्ताहरुको संचित मौज्दात रकममा बार्षिक ८.५० प्रतिशतका दरले व्याज प्रदान गर्दै आएको छ । साथै सहभागिले संचित रकमको ९० प्रतिशतसम्म सापटी लिनसक्ने व्यवस्था गरेको छ । कोषले सहभागी संचयकर्ता/बचतकर्ताहरुलाई सुत्केरी स्यहार खर्च रु. १०,०००/– र काजक्रिया खर्च रु. १०,०००/– को व्यवस्था गरेको छ । जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपालभर रहेका सम्पूर्ण शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्ने कोष प्रमुख गणेश सुवेदीले जनाएका छन् ।

बजेट विनियोजनमा भेदभावको आरोप लगाउँदै वडाध्यक्षद्वारा आन्दोलनको चेतावनी

लहान । बजेट विनियोजनमा भेदभाव गरेको भन्दै सिरहाजिल्लास्थित लक्ष्मीपुर पतारी गाउँपालिकाको बिभिन्न वडाका वडाध्यक्ष तथा स्थानीयवासीले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उक्त गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का वडाध्यक्ष तथा स्थानीयवासीले आज गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहलाई ज्ञापनपत्र बुझाउँदै एक साताभित्र सबै वडामा सम्मान ढङ्गले बजेट विनियोजन नगरिए आन्दोलन उत्रिने चेतावनी दिएका हुन् । राजनीतिक आस्थाको आधारमा आफूहरुको वडामा न्यून बजेट विनियोजन गरी अध्यक्ष साहले आफ्नो पार्टीबाट निर्वाचित वडाका अधिकांश योजनामा बढी बजेट छुट्टयाएको आरोप लगाउँदै वडा नम्बर ६ का वडाध्यक्ष राजेश्वर साह सुडीले गाउँपालिका अध्यक्ष साहले आफ्नो पार्टीबाट निर्वाचित वडाध्यक्षहरुको वडामा बढी बजेट छुट्टयाएर आफूहरुको वडामा एकदमै न्यून बजेट मात्र छुट्टयाएको बताएका छन् । गाउँपालिकाका अध्यक्ष समाजवादी पार्टीको तर्फबाट निर्वाचित भएको र वडा नम्बर ४, ५ र ६ का वडाध्यक्षहरु नेकपा र काङ्ग्रेसबाट निर्वाचित भएका हुन् । फरक पार्टीबाट निर्वाचित भएकै कारण अध्यक्ष साहले आफूहरुको वडाबाट छनोट भएका योजना काटेर गुप्तरुपमा अर्को योजना तयार पारेर बहुमतको आडमा आफूहरुमाथि अपमानजनक व्यवहार गरेको वडा नं ४ का वडाध्यक्ष विद्यानन्द साह सुडीको गुनासो थियो । उनले भने, “जनसङ्ख्या र भौगोलिक बनोटको आधारमा बजेट विनियोजन नगरी गाउँपालिकाको अध्यक्षको घर रहेको वडा नम्बर ३ मा विभिन्न योजनामा बढी बजेट विनियोजन गरिएको तर आफूहरुले छनोट गरेका अधिकांश योजनामा बजेट नै विनियोजन गरिएको छैन ।” गाउँपालिकाबाट पारित भएका आर्थिक वर्ष ०७४÷०७५ र आव ०७५÷०७५ का योजनामा आफ्ना नातागोता र पार्टीका कार्यकर्तालाई सहभागी गराएकोे वडा नम्बर ५ का वडाध्यक्ष देवकुमार यादवले आरोप लगाएका छन् । उनले ती आवमा गाउँपालिकाबाट भएका कतिपय आयोजना समयमै सम्पन्न नगरिएको र कतिपय योजना सम्पन्न नहुँदै भत्किएकाले त्यसमा छानबिन गर्नसमेत माग गरेका छन् । यता अध्यक्ष साहले आफूले कुनै पनि वडाध्यक्ष वा वडाका जनतासँग विभेद नगरेको जिकिर गर्दै केही वडाध्यक्षले पुरानै योजनालाई पुनः निरन्तरता दिएकाले त्यसलाई मात्र हटाइएको बताउँदै भने, “कुनै पनि वडालाई विभेद नगरी समान रुपमा बजेट विनियोजना गरिएको तर केही वडाध्यक्षहरुले मन्दिर, सडकलगायत एउटै योजनालाई वर्षेनी पेश गर्दै आएकाले त्यसलाई यस वर्ष हटाइएको मात्र हो ।” वडाध्यक्षहरुका असन्तुष्टि समेट्न केही दिनभित्रै विशेष गाउँसभा बोलाएर पुनः योजना चयन गरिने अध्यक्ष साहको भनाइ थियो । रासस

विदेशीलाई नागरिकता दिलाएको अभियोगमा दुई कर्मचारीसहित ६ जना जेल चलान

भद्रपुर । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । कारागार चलान भएका अभियुक्तमा झापा जिल्ला प्रशासन कार्यालयका खरिदार तेजिन्द्र न्यौपाने, विर्तामोड नगरपालिका–८ का वडासचिव लोकराज बराल, जिल्ला प्रशासन कार्यालय झापाको मूलढोका अगाडि नेसनल फोटो स्टुडियो चलाउने भद्रपुर–१० का भीमबहादुर लिम्बू, लेखापढी सम्बन्धी काम गर्ने भद्रपुर–१० का प्रेमराज तिम्सिना, विर्तामोड–५ बस्ने टेकबहादुर गुरुङ र भारत किसनगञ्ज घर भई विर्तामोड–८ मा डेरा गरी बस्ने मुस्तफा आलम रहेका छन् । गैर–नेपालीलाई झुठा विवरण भराई झापा जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकता लिएको घटना सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँबाटसमेत छानबिन भएको थियो । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको थियो भने अभियोग लागेका भद्रपुर र विर्तामोडका दुई जना वडाध्यक्ष फरार भएका छन् । प्रहरीले उनीहरुको खोजतलास भइरहेको जनाएको छ । प्रहरीका अनुसार अभियुक्तहरुले मिलिभगत गरी १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएका थिए । उक्त नागरिकताविरुद्ध उजूरी परेपछि गृहमन्त्रालयले नै चासो राखी छानबिन अघि बढाउन निर्देशन दिएको थियो । सो घटनामा जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेल र खरिदार तेजिन्द्र न्यौपानेको प्रत्यक्ष संलग्नता रहेको छानबिनले ठहर गरेको थियो । प्रहरीले न्यौपानेलाई पक्राउ गरेको थियो भने ढुङ्गेल अझै फरार छन् । झुठा विवरण बनाउँदा टेकबहादुर गुरुङ र रीना गुरुङलाई बुबाआमा कायम गर्दै नौ जनालाई नेपाली नागरिकता दिलाउन सनाखत गराइएको थियो । त्यसरी नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ, लोब्सान गुरुङलगायत छन् । रासस

प्राइम लाइफ इन्स्योरेन्सको आय १३.६३ प्रतिशतले वृद्धी

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष(आव) को पहिलो त्रैमासमा गत आवको भन्दा १३.६३ प्रतिशतले वृद्धी गरेको छ । कम्पनीको गत आवमा १ अर्ब २७ करोड ३२ लाख रुपैयाँ रहदा चालु आवमा १ अर्ब ४४ करोड ६९ रुपैयाँ रहेको हो । कम्पनीको खुद बीमा शुल्क गत आवको पहिलो त्रैमासमा ६१ करोड ४३ लाख ४३ हजार रहदा चालु आवको पहिलो त्रैमासमा ७५ करोड ७५ लाख ९१ हजार रुपैयाँ रहेको छ । लगानी, कर्जा तथा अन्य आयबाट कम्पनीले गत आवमा १८ करोड ४ लाख २६ हजार रुपैयाँ रहेको थियो भने चालु आवमा सोही शीर्षकमा २० करोड २० लाख ६८ हजार रुपैयाँ रहेको तथ्याङ्कमा देखीन्छ ।

जुम्लाका ३ हजार प्रतिष्ठानमा ८ हजारले पाए रोजगारी

खलङ्गा । सरकारले विसं २०७५ मा गरेको आर्थिक गणना जिल्लास्तरमा सार्वजनिक गरेको छ । नेपाल सरकारले गरेको आर्थिक गणना जिल्ला तथ्याङ्क कार्यालयले एक कार्यक्रमका बीच जुम्लामा सार्वजनिक गरेको हो । जुम्लामा तीन हजार ७८ वटा प्रतिष्ठान रहेका छन् । तीमध्ये एक हजार ५ सय ११ (४९.२७ प्रतिशत) दर्ता भएका र एक हजार ५ सय ५६ (५०.७३ प्रतिशत) दर्ता नभएका प्रतिष्ठानको गणना भएको थियो । यसैगरी जुम्लामा ती प्रतिष्ठानमा आठ हजार ४६३ जनाले रोजगार पाएका छन् । कार्यालय प्रमुख शङ्करदत्त भट्टले सार्वजनिक गरेको प्रतिवेदनमा कर्णाली प्रदेशमा आर्थिक प्रतिष्ठान र यसमा रोजगारी पाउने व्यक्तिको सङ्ख्या कम भएको बताइएको छ । प्रतिवेदनमा कर्णाली प्रदेशमा ४२ हजार ८०७ वटा आर्थिक कारोवार गर्ने प्रतिष्ठानको गणना भएको छ । देशभरमा गणना गरिएका प्रतिष्ठानको सङ्ख्या नौ लाख २२ हजार ३५६ रहेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आर्थिक गणनाले एउटा मार्गचित्र तयार हुने र आगामी दिनमा काम गर्न सहयोग भएको बताएका छन् । उनले देशकै आर्थिक आकार दिने आर्थिक गणनाले सहयोग गर्ने भन्दै जुम्लाको आर्थिक अवस्था बढाउन सबैको सहकार्य आवश्यक रहेको बताए । कोष तथा लेखानियन्त्रक रामप्रसाद बिडारीले आर्थिक तथ्याङ्क अर्थतन्त्रको मेरुदण्ड रहेको बताउँदै यसले योजना मूल्याङ्कन गर्न सजिलो हुने भएकाले सोहीअनुसारको काम सरोकारवाला निकायले गर्ने बताए । नेपाल सरकारले विसं २०७५ वैशाख १ गते देखि जेठ ३१ गते सम्म आर्थिक गणना गरेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

अर्थमन्त्री खतिवडा भन्छन्-‘बैंक तथा वित्तीय संस्थालाई कसैको करकाप र हतारमा मर्जर गरिँदैन’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मर्जरमा जान बैंक तथा वित्तीय संस्थाहरुलाई बाध्यकारी नभएको प्रतिक्रिया दिएका छन् । बुधबार कामना सेवा विकास बैंकको १३ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बैंकहरुलाई मर्जरमा जान बाध्यकारी नभएको बताएका हुन् । ‘बैंक तथा वित्तीय संस्था मर्जर ऐच्छिक कुरा हो’, उनले भने– ‘बैंक मर्जर कसैको करकाप र हतारमा गरिँदैन । कानून पालना गर्नु सबैको कर्तब्य हो ।’ केही कमजोर वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले बाध्यकारी मर्जरमा लैजाने तयारी गरिरहेका बेला सरकारको तर्फबाट बाध्यकारी मर्जरको विपक्षमा धारणा बेलाबखत आउने गरेको छ । अर्थमन्त्री खतिवडाले सरकार बाध्यकारी मर्जरको पक्षमा नरहेको र नेपालमा बाध्यकारी मर्जर गराउन सम्भव पनि नरहेको बताए । दक्षिण एसियामा नेपालका बैंकहरु नियमनकारी निकायको सुपरीवेक्षण, निष्कृय कर्जा, र सपूर्ण व्यवस्थापनको हिसाबले तुलनात्मक रुपमा उत्कृष्ट भएको प्रतिक्रिया दिए । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. चिन्तामणी शिवाकोटीले कमजोर बैंकहरुले मर्जरमा जानु भन्दा अर्को बिकल्प नभएको बताए । उनले अब राष्ट्र बैंंकले छिट्टै नै दुई महत्वपूर्ण कार्यक्रम ल्याउने योजनामा समेत रहेको उल्लेख गरे । ‘राष्ट्र बैंकले डिसेम्बरबाट सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआएएस) कार्यक्रम लागू गर्दैछ।’ उनले भने–‘यसका लागि बैंकहरुले ठूलो लगानी गर्नु पर्ने हुन्छ, त्यो लगानी गर्न नसक्ने बैंकले मर्जरमा जान बाहेकको विकल्प छैन ।’ कामना सेवाका ५२ शाखा  विस्तार  कामना सेवा बैंकले वार्षिकोत्सव कार्यक्रममा देशका ५२ ठाउँमा ५२ शाखा  विस्तार गरेको छ ।  १३ औं वार्षिकोत्सव कार्यक्रममा सात वटै प्रदेशमा ५२ शाखा विस्तार गरेको हो । अब बैंकका देशभर १०३ शाखा भएका छन् । बुधबार उद्घाटन गरेका शाखाहरुमा प्रदेश एकमा तीन, प्रदेश २ मा ११, प्रदेश तीनमा १०, गण्डकी प्रदेशमा ६, प्रदेश पाँचमा ७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा ४ शाखा रहेका छन् । कामना सेवा बैंकले आफ्नो केन्द्रीय कार्यालय समेत उद्घाटन गरेको छ । बैंकका संस्थापक कृष्ण आचार्यले कामना विकास बैंक आफ्नै खुट्टमा उभिन सक्ने भएको हैसियत भएकोले मर्जर आवश्यक नभएको प्रतिक्रिया दिए । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कामना विकास बैंकलाई एक अब्बल वित्तीय संस्थाका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । उनले राष्ट्र बैंकले जारी गर्ने सम्पूर्ण नीतिनियमहरु पालना गर्ने मध्येको एक बैंक कामना सेवा रहेको उल्लेख गरे । हाल बैंकले २६ अर्ब बराबरको निक्षेप संकलन गरेको छ भने २२.५ अर्ब ऋण प्रवाह गरेको छ । समग्र विकास बैंहरुमा ७ प्रतिशत हिस्सा कामना विकास बैंकले ओगटेको कार्यक्रममा बताइयो ।

मंसिर १३ गतेदेखि देशभर मखमली प्रदर्शन हुँदै

काठमाडौं । सवित्रा चिलुवालले निर्माण गरेको चलचित्र मखमली मंसिर १३ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।  ६० वटा हलमा एक्कै साथ प्रदर्शन हुने मखमलीमा यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउले परिवेशमा देख्न सकिन्छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् भने सावित्रा चिलवाल एक कुशल गीतकारको रुपमा समेत प्रख्यात छिन । बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा चलचित्रमा संगीत वसन्त सापकोटा रहेको छ भने रामेश्वर हुमगाईको छायांकन रहेको छ । २१ औं शताब्दीमा आइपुग्दा पनि नेपालको ग्रामिण बस्तीमा देखिने पुरुष र महिलाबीचको विभेदलाई पर्दामा उतारिएको छ । मखमलीले यस चलचित्रमार्फत नारीको प्रतिनिधित्व गर्दै नारीको समस्या र भोगाईलाई प्रस्तुत गरिएको छ । चलचित्र निर्माणकाे क्रममा विशेष सहयोगीको रुपमा दामोदर भट्ट र गोकर्ण सापकोटाले निर्माता चिलुवाललाई सहयोग गरेका जनाएका छन् ।