विकासन्युज

एभरेष्ट बैंकको नाफा ६९ करोड, निक्षेप १५ अर्बले बढ्दा वासलातमा १६ अर्बको वृद्धि

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको प्रथम ३ महिनामा ६९ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव ६ करोडले बढी हो । एक वर्षमा बैंकको निक्षेप १५ अर्बले बढेर १ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी १२ अर्बले बढेर १ खर्ब ९ अर्ब रुपैयाँ भएको छ । विभिन्न कम्पनीको सेयरमा बैंकले लगानी ८ अर्बले वृद्धि भई २४ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीको वासलात एक वर्षमा १६ अर्बले वृद्धि भई १ खर्ब ६१ अर्ब रुपैयाँ बराबर भएको छ । चुक्ता पुँजी ८ अर्ब १० करोड रुपैयाँ रहेको यस बैंकको पुँजी प्रर्याप्तता अनुपात १३.७९ प्रतिशत छ । बैंकको खराव कर्जा शुन्य दशमलव १७ प्रतिशत छ । बैंकको कष्ट अफ फण्डको दर केहि वृद्धि भए पनि बेस रेटमा सुधार देखिएको छ । एक वर्षअघि ८.८ प्रतिशत बेसरेट रहेकोमा हाल ८.५२ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ रहेको यस बैंकको प्रतिसेयर आम्दानी भने १६ रुपैयाँ ४६ पैसा छ । बैंकको सेयर बुधबार प्रतिकित्ता ५५१ रुपैयाँमा कारोबार भएको छ । यस बैंकले गत वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरि २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । तर राष्ट्र बैंकबाट स्वीकृत नभएकोले वार्षिक साधारणसभा बोलाएको छैन ।

उद्योगपति डा. रुप ज्योतिलाई सम्मानपूर्वक रिहा गर्न महासंघको आग्रह

काठमाडौं । उद्योगपति डा. रुप ज्योतिलाई ठगी प्रकरणमा गिरफ्तार गरी अदालतमा पेश गरिएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको प्रतिष्ठित व्यवसायिक घरानाका उद्योगपति डा. रुप ज्योतीलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलबाट बिना सूचना पक्राउ गरी हिरासतमा लिएको घटनामा गलत भएको महासंघको ठहर छ । दुई पक्ष बीचको व्यवहारिक कारोबारमा भएको असहमति र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदा हुँदै हिरासतमा राखिनु गलत भएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । उद्योग व्यवसायको विकासमा महत्वपूर्ण योगदान पुर्याइ कयौँलाई रोजगारी दिदै आएको उद्योग प्रतिष्ठानका प्रमुख व्यक्तिलाई अपराधीलाई जस्तो हतारहतारमा पक्राउ गर्नु र पूर्पक्षका लागि थुनामा राखी कारबाही अगाडी बढाउन लगाउनु उचित नभएको तर्फ महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । यसबाट मुलुकको उद्यम व्यवसायको क्षेत्रमा पर्नसक्ने नकारात्मक असरलाई न्यून गर्न डा. ज्योतिलाई सम्मानपूर्वक व्यवहार गरी रिहा गर्न आग्रह महासंघले गरेको छ ।

पूर्वी नाकाबाट नेपाल आउने बङ्गलादेशी पर्यटक घटे, १० वर्ष अघि ११ हजार, अहिले २ हजारमात्रै

भद्रपुर । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजारभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएको देखिन्छ भने अहिले त्यो सङ्ख्या ह्वात्तै घटेर दुई हजारभन्दा कम भएको छ । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१९ को चालू नौ महिनामा यो नाका भएर एक हजार ७२७ जना बङ्गलादेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०१८ मा एक हजार ९५०, सन् २०१७ मा एक हजार ९६४ र सन् २०१६ मा दुई हजार थियो । तर, एक दशक अघिसम्म बङ्गलादेशी पर्यटकको आगमन दर उच्च थियो । सन् २००४ मा ११ हजार १२७, सन् २००५ मा ११ हजार २१२, सन् २००६ मा ११ हजार ३१२ र सन् २००७ मा १२ हजार ५५३ बङ्गलादेशी पर्यटक काँकडभिट्टा नाकाबाटै नेपाल प्रवेश गरेको अध्यागमन कार्यालयको तथ्याङ्कमा देखिन्छ । सन् २००८ मा भारतले मुम्बईमा भएको आतङ्कवादी हमलाको कारण जनाउँदै छिमेकी मुलुकको सीमाक्षेत्रमा आउजाउ र भिसा प्रक्रियामा कडाइ गरेको थियो । सोही वर्षदेखि नेपालमा आउने बङ्गलादेशी पर्यटक ह्वात्तै घटेको बताइएको छ । नेपाल पर्यटन बोर्ड काँकडभिट्टाकी निमित्त प्रमुख सुस्मिता दाहालले भारतले भिसामा कडाइ गरेका कारण नेपाल आउने बङ्गलादेशी पर्यटकको सङ्ख्यामा कमी आएको बताए । नेपालले बङ्गलादेशी नागरिकका लागि काँकडभिट्टा नाकामै ‘अन अराइभल भिसा’ सुविधा उपलब्ध गराएको छ । तर, बङ्गलादेशीहरु नेपाल आउनुअघि भारतीयस्थल नाका भएर काँकडभिट्टा आउनुपर्ने हुन्छ । उनीहरुलाई भारत प्रवेश गर्न भिसा पाउन सहज छैन । भिसा सुविधा पाउनका लागि बङ्गलादेशीहरुले त्यहाँको राजधानी नै धाउनुपर्ने हुन्छ । पछिल्लो समय आउने गरेका थोरै बङ्गलादेशी नागरिकहरु पनि आँखाको उपचारका लागि मात्र आउने गरेको र उनीहरु उपचार सकेर भरसक एकै दिनमा फर्किने गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले बताए । झापाको काँकडभिट्टामा रहेका तीन र विर्तामोडमा भएका तीन वटा आँखा अस्पतालमा बङ्गलादेशका नागरिक उपचारका लागि आउने गरेका हुन् । घुमफिरका लागि बङ्गलादेशीहरु यो नाका भएर खासै आउँदैनन् ।

आज मधुमेह दिवस, अल्का अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडोँ । अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका विहिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। विहान साढे ९ बजेबाट सुरु हुने शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो। शिविरको मुख्य विशेषता भनेको र्याण्डम ब्लड सुगर, एचबिएवान सी, ७ दिनदेखि १० दिन सम्मका लागि निशुल्क औषधि बितरण र २८ दिनभित्र एक पल्ट निशुल्क फलोअप हो । शिविर आयोजना अघि अल्का अस्पतालले सचेतनामुलुक र्याली निकालेको छ । र्याली अल्का अस्पतालबाट जावलाखेल चोक हुदैँ कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुदैँ पुन अस्पताल परिसरमा नै आएर टुंगिएको थियो । मधुमेह कसरी थाहा पाउने ? (वरिष्ठ चिकित्सक अंशुमाली जोशीका अनुसार) – खाना रुचेर पनि तौल घटदै जाने । – पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने । – मुख सुख्खा हुने, प्यास धेरै लाग्ने । – भोक बढी लाग्ने तर दुव्लाउदै जाने । – कमजोरी हुने र खुट्टाहरु झम्झमाउने । – खुट्टाहरु पोल्ने । – पिसावमा कमिलाहरु देखिने । – घाउहरु छिटो निको नहुने । कसरी बच्ने ? – हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने । – मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने । – सामान्य खानपान अपनाउनु राम्रो । क्यालोरी भएको चिज अर्थात भात, मैदा, (आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो । – व्यायम नियमित गर्ने। व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने। – दिनमा कम्तिमा आधा घण्टा हिड्ने ।

बिबिएस चौथो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं। बिबिएस चौथो वर्षको नतिजा सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालयले २०७५ साल चैत महिनामा संचालित व्यवस्थापन संकायतर्फ चार वर्षे बिबिएस चौथो वर्षको नतिजा सार्वजनिक गरेको हो। त्रिविले परिक्षा भएको ३ महिनाको अवधिमा नतिजा प्रकाशित गर्छौ भन्दै गर्दा बिबिएसको नतिजा करिब ८ महिना पछि प्रकाशित  गरेको हो। नतिजा हेर्नको लागि विद्यार्थीले विश्वविद्यालयको वेभसाईट www.tuexam.edu.np र मोबाईलमा BBS (space)  सिम्बोल नं ३३६२४ मा एसएमएस गरेर हेर्न सक्नेछन्।

सानिमा लाइफले ल्यायो ‘सानिमा कर्जा म्यादि बीमा योजना’, लघुवित्तबाट कर्जा लिएका ऋणीको ऋण तिरिदिने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ‘सानिमा कर्जा म्यादि बीमा’ योजना बजारमा ल्याएको छ । इन्स्योरेन्सले लघुवित्त कम्पनीबाट कर्जा लिएका ऋणीहरुको कर्जा सुरक्षण गरि ऋणीको असामयीक निधन पश्चात परिवारमा पर्ने ऋण भार कम गर्न तथा वित्त कम्पनीहरुको ऋण सुरक्षा गर्ने उदेश्यले उक्त योजना बजारमा सार्वजनिक गरेको हो । यस बीमा योजना अन्तर्गत ऋणीले कर्जा रकम बराबर सानिमा कर्जा म्यादि जीवन बीमा गरेको अवस्थामा कर्जा लिए पश्चात कर्जा लिने व्यक्तिको मृत्यु हुन गएमा सो रकम वित्तीय संस्थालाई तिरिदिने कम्पनीले जनाएको छ । जसले गर्दा मृतकको परिवारका सदस्यहरुले ऋण चुक्ता गर्न नसकि घर जायजेथा नै नोक्सान हुने स्थीति बाट जोगाउछ । कम्पनीका अनुसार १६ देखि ६९ वर्षसम्म उमेरका व्यक्तिहरुले यो बीमा योजना लिन सक्नेछन् । त्यस्तै, न्यूनतम बीमाङ्क रकम ५ हजार रुपैयाँ देखि अधिकतम १० लाख रुपैयाँसम्म कायम गरिएको छ । जस अन्तर्गत बीमितहरुले कालगति मृत्यु लाभमा ऋण बराबरको रकम र काजक्रिया खर्च ऋण रकमको ५ देखि ३० प्रतिशत भुक्तानी पाउने छन् । त्यस्तै, दुर्घटना भई मृत्यु भएमा र दुर्घटना भई पूर्ण स्थाई अशक्तता भएमा ऋण रकमको २० देखि २०० प्रतिशतसम्म बीमालेखमा इच्छाएको व्यक्तिलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

यस्तो छ हार्ले डेभिडसनको ‘आइरन ८८३’, थप दुई मोडेल पनि नेपाल भित्रिँदै

काठमाडाैं । अमेरिकन मोटरसाइकल ब्राण्ड ‘हार्ले डेभिडसन’ को नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्सले हाल यस ब्राण्डको ‘आइरन ८८३’ नामक मोटरसाइकल नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।कम्पनीले सो मोटरसाइकलको मूल्य ४० लाख रुपैयाँ तोकेको छ । ‘आइरन ८८३’ हार्लेको एउटा इन्ट्रि-लेभल क्रुजिङ्ग मोटरसाइकल हो जसमा ८८३ सीसीको ४-भल्भ इञ्जिन जडान गरिएको छ । यस इञ्जिनले ५० बीएचपीको पावर र ६८ एनएमको टर्क प्रोड्युस गर्दछ भने यसमा ५-स्पिड गियरबक्स दिइएको छ । त्यसैगरी, यस इञ्जिनमा इलेक्ट्रोनिक सिक्वेन्सल पोर्ट फ्युल इन्जेक्सन सिस्टम समावेश गरिएको छ । यस मोटरसाइकलको सिट हाइट ७६० मिलिमिटर छ भने फ्युल ट्याङ्क क्यापासिटि १२.५ लिटरको र तौल चाहिँ २४७ के.जी. रहेको छ । त्यसैगरी, यसको फ्रन्ट ह्विल १९ इञ्चको र ब्याक ह्विल चाहिँ १६ इञ्चको रहेको छ । यस मोटरसाइकलले १७ केएमपीएलको माइलेज र १७० केएमपीएचको टप स्पिड प्रदान गर्दछ भनेर कम्पनीले दावी गरेको छ । आईएमई मोटर्सले चाँडै नै हार्लेको दुई नयाँ मोडेल ‘स्ट्रीट ७५०’ र ‘स्ट्रीट रड ७५०’ लाई नेपाली बजारमा भित्र्याउने तयारी गरिरहेको छ । कम्पनीका अनुसार नेपाल लञ्च पश्चात यी दुवै मोटरसाइकलहरुको बजार मूल्य २६ लाख रुपैयाँ देखि २९ लाख रुपैयाँको हाराहारी पर्न जानेछ । हार्ले डेभिडसन आफ्नो लुक्स, साउण्ड, पावर, कम्फर्टनेस लगायतका कारण संसारभर कैयौं प्रशंसकहरु कमाउन सफल रहेको छ ।

निर्माण व्यवसायीहरु आन्दोलित, संशोधित सार्वजनिक खरिद नियमावली कार्यान्वयन गर्न माग

काठमाडौँ । सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आएपनि व्यवसायीको माग सम्बोधन नभएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलन गर्ने भएको छ । महासंघले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष रवि सिंहले सरोकार भएका निकायबाट व्यवसायीको माग सम्बोधन नभएकाले आन्दोलनमा जान बाध्य हुनुपरेको बताए । गत साउन १६ गते नेपाल राजपत्रमा तेस्रो पटक संशोधन गरी प्रकाशित सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६मा केही सकारात्मक प्रावधान रहेतापनि तिनको कार्यान्वयन नभएको महासंघले जनाएको छ । “विशेष गरी म्याद थप तथा बैंक क्रेडिट लाइनमा देखिएको समस्याका कारण समग्र निर्माण क्षेत्र प्रभावित हुँदा देशको अर्थतन्त्रमा नै समस्या देखिएको छ”, उनले भने । निर्माण परियोजना समयमै नसकिनुमा निर्माण व्यवसायीको भन्दा पनि नियमनकारी निकायको बढी दोष रहेको भन्दै अध्यक्ष सिंहले व्यवसायीहरु अहिले पनि समस्या झेल्न बाध्य रहेको बताए । अधिकांश परियोजनामा क्षमताभन्दा बढीको काम लिँदा समस्या देखिएको जानकारी दिंदै उनले समस्या समाधानका लागि महासंघले दिएका सुझाव सम्बन्धित् निकायबाट कार्यान्यन नहुनु दुर्भाग्यपूर्ण भएको धारणा राखे । समृद्ध नेपाल, सुखी नेपाली भन्ने वर्तमान सरकारको अवधारणालाई साकार बनाउन व्यवसायीहरु तयार रहेपनि पाइला पाइलमा व्यवसायीले समस्या भोग्नु परिरहेको अध्यक्ष सिंहको भनाइ थियो । “यदि निर्माण व्यवसायीबाट गल्ती भएको छ भने प्रचलित ऐन कानून अनुसार कार्वाही हुनुपर्छ तर सोही कार्यमा संलग्न अन्यलाई भने उन्मुक्ति दिन पाइँदैन”, उनले भने । सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली, २०७६मा म्याद थपको स्पष्ट व्यवस्था हुँदा हुँदै पनि कार्यान्वयन नहुँदा राज्यलाई नै ठूलो घाटा भइरहेको महासंघले जनाएको छ । बैंक क्रेडिट लाइनको नयाँ ढाँचा अनुसार बैङ्क कमिसन बापत क्रेडिट लाइन रकमको ०.६ देखि १.४ प्रतिशतसम्म वार्षिक रुपमा कमिसन लिई केही बैङ्कहरुले जारी गरिरहेकोले सो कमिशनमा अत्यधिक खर्च हुन गई ठेक्का प्रक्रियामा भाग लिनको लागि बैंक कमिशनमा मात्र ठूलो धनराशी खर्च लाग्ने महासंघको भनाइ छ । यस्तो कमिशनबाट बैंकलाई मात्र फाइदा हुने एवम् उच्चतम धितो मार्जिन समेत कट्टी गरिने भएकोले उक्त नियम कायम रहेमा निर्माण कार्यमा अधिकांश निर्माण व्यवसायीले भागलिन सक्ने अवस्था नरहेको महासंघका महासचिव रोशन दाहालले बताए । संशोधित नियमावलीमा कायम भए बमोजिमको नयाँ ढाँचालाई खारेज गरी आर्थिक भार नपर्ने गरी साबिक अनुसारकै ढाँचा बमोजिम संसोधन हुनुपर्ने उनको भनाइ थियो । जतिसुकै अवधिको जस्तो सुकै निर्माण कार्य खरिदमा पनि मूल्यवृद्धि समायोजन गरी भुक्तानी हुने व्यवस्था हुनुपर्ने, स्वीकृतिको लागि छनौट भएको बोलपत्रदाता वा प्रस्तावदाता खरिद सम्झौता गर्न नआएमा धरौटी जफत गरिने व्यवस्था यथावत राखी कालोसुचीमा राख्ने व्यवस्था हटाइनु पर्ने माग पनि महासंघले अघि सारेको छ । निर्माण व्यवसायी कम्पनीहरुको मर्जर, डिजेलको भुक्तानी समस्या, मजदुरको प्यान नम्बर, मुल्य अभिवृद्धि।कर भुक्तानी लगायतका प्रावधानमा समेत आफनो धारणा सार्वजनिक गर्दै महासंघले व्यवसायीमैत्री वातावरणका लागि आग्रह गरेको छ । निर्माण क्षेत्रलाई समृद्ध बनाउन सरकार नै बढी जिम्मेवार हुनुपर्ने महासंघका उपमहासचिव टंकप्रसाद चौलागाईले बताए । महासंघले आफ्ना यी सबै मागका विषयमा बुधवार नै केन्द्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । त्यस्तै प्रदेश महासंघले मुख्यमन्त्री समक्ष तथा जिल्ला संघहरुले जिल्ला प्रशासन कार्यालहरुमा ज्ञापन पत्र बुझाएको महासंघले जनाएको छ । आगामी एक हप्ता भित्रमा माग सम्बोधन नभए सार्वजनिक खरिद अनुगमन कार्यालय, सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग लगायतका नेपाल सरकारका सम्बन्धित् निकायमा धर्ना दिने, घेराउ गर्ने, तालाबन्दी गर्ने महासंघले जानकारी दिएको छ । त्यस्तै हेभी यन्त्र उपकरण सडकमा राख्ने, निर्माण ठप्प राख्ने, टेण्डर बहिष्कार गर्ने, निर्माण व्यवसायीको इजाजत–पत्रसमेत सरकारलाई बुझाउने लगायतका विविध विरोधका कार्यक्रम चरणबद्ध रुपमा संचालन गर्ने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै भावी रणनीति तय गर्न आगामी मंसिर १ गते आइतबार राजधानीमा निर्माण व्यवसायीको राष्ट्रिय भेला आह्वान गरिएको महासंघले जनाएको छ ।