डिभी परेका वडाध्यक्ष अमेरिकामा, हस्तलिखित राजीनामा नदिंदा उपनिर्वाचन नहुने
हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ । वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएको थियो । अध्यक्ष घिसिङको राजीनामा समयमा नआएकाले उपनिर्वाचनका लागि समस्या भएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताए । निर्वाचन कार्यालयका प्रमुख पौडेललले राजीनामा जुनसुकै माध्यमबाट आए पनि त्यो हस्तलिखित हुनुपर्ने र हस्तलिखित नहुँदा मान्य नहुने प्रावधान रहेको बताए । उक्त वडामा उपनिर्वाचन हुन शुरूदेखिकै कुनै पनि प्रकिया नभएको प्रमुख पौडेलको भनाइ छ । अध्यक्ष घिसिङ निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका थिए । उडेको पाँच महिनापछि मात्र घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीनामा दिएको गाउँपालिका प्रमुख हिदम लामाले जानकारी दिए । शुरुमा अमेरिका गएको भन्दै तीन महिनाका लागि बिदा लिएका वडाध्यक्ष घिसिङ पाँच महिनासम्म पनि अमेरिकामै रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि भएर इमेलमा राजीनामा पठाएको उनको भनाइ छ । उनले भने, “घिसिङले इमेलमार्फत त राजीनामा पठाउनुभयो, तर हस्तलिखित राजीनामा पठाउन पनि आलटाल नै गर्नुभयो ।” भदौमा इमेलमार्फत राजीनामा दिएका घिसिङको अझैसम्म पनि लिखित राजीनामा नआएको जनाइएको छ । देशमा उपनिर्वाचन गराउने तयारी भइरहेको अवस्थामा समेत घिसिङले हस्तलिखित राजीनामा नपठाएका कारण उक्त वडामा उपनिर्वाचन नहुने भएको हो । उक्त वडामा विसं २०७४ भएको वडाध्यक्षको निर्वाचनमा नेकपाका जगतमान घिसिङको ५४१ मत थियो भने दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राउतले २२३ मत प्राप्त गरेका थिए । त्यस्तै नेपाली काङ्ग्रेसका दिपेशकुमार विश्वकर्माले १९१ मत प्राप्त गरेका थिए ।
भवन निर्माणमा चिकित्सक पाण्डेद्वारा एक करोड प्रदान गरिने
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने भएका छन् । यस सहयाेगसँगै नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका संस्थापक अध्यक्ष चिकित्सक मृगेन्द्रराज पाण्डेले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । महानगरपालिकाले जमिन र चिकित्सक पाण्डेले भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् । समाजको स्थानीय नबहिल, ओमबहालमा समाजको कार्यालय रहेको छ । सोही कार्यालयबाट चिनी रोग (मधुमेह)का बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजका लागि आवश्यकपर्ने जमिन उपलब्ध गराउने जानकारी दिँदै यसका लागि जमिन खोज्न आग्रहसमेत गरेका छन् । उनले भने, “महानगरले स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । चिनी रोगविरुद्धको अभियानमा महानगरपालिका साथमा रहेको छ ।” वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने जानकारी दिँदै चिनी रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको हुँदा सचेतनाका कार्यक्रम सञ्चालन गर्न जोड दिए । समाजका अध्यक्ष शिव श्रेष्ठले समाजको आफ्नै भवन नहुँदा चिनीरोग सेवा उपलब्ध गराउन समस्या परेको गुनासो गर्दै जमिन उपलब्ध गराउन महानगरपालिकासँग आग्रह गरेका छन् । कार्यक्रममा चिनीरोग विशेषज्ञ चिकित्सक प्रदीपकुमार श्रेष्ठले जीवनशैली परिवर्तनसँगै चिनीरोगीका सङ्ख्या बढिरहेको बताए । के हो चिनीरोग ? वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा चिकित्सक पुकार श्रेष्ठका अनुसार शरिरमा चिनी (सुगर)को मात्र बढी हुनुलाई चिनीरोग भनिन्छ । शरीरमा चिनीको मात्रा आवश्यक मानिन्छ । तर आवश्यकभन्दा बढी भएमा मुटु, मिर्गौला र आँखालाई यसले असर पुर्याउँछ । चिकित्सकका अनुसार छिन् छिनमा पिसाब लाग्ने, मुख सुक्ने, पानीको प्यास लाग्ने, तौल घट्ने, थकान महसुुस गर्ने, शरीरमा घाउचोट देखिने तर निको नहुने चिनीरोगका लक्षण हुन् । नेपालमा कति चिनीरोगी रहेका छन् भनेर हालसम्म कुनै अध्ययन भएको छैन । नेपालमा विश्व स्वास्थ्य सङ्गठनले कूल जनसङ्ख्याको चार प्रतिशतमा चिनीरोगको समस्या हुनसक्ने प्रक्षेपण गरेको छ । तीमध्ये आधा पनि उपचारको पहुँचमा आएका छैनन् । “चिनीरोग दुई प्रकारका हुन्छन् । टाइप एक र टाइप दुई । टाइप एक विशेष गरी २० वर्षमुनि र टाइप दुई विशेषगरी ४० वर्षमाथि उमेर समूहलाई हुने गर्दछ ।” चिकित्सक श्रेष्ठ भन्छन्। यस वर्षको चिनीरोगको नारा ‘चिनीरोग र परिवार’ रहेको छ । चिनी रोगबाट बच्न विशेषगरी खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । रासस
शिवम् सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड २०१९’, मारुति र जगदम्बालाई प्रसंशा पत्र
काठमाडौं । एनएस चिन्ह प्राप्त उद्योगमध्ये शिवम् सिमेन्टले ‘एनएस क्वालिटी अवार्ड २०१९’ पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले सर्वकृष्ट तथा गुणस्तरिय उप्पादनको आधारमा शिवमलाई यस वर्षको उक्त अवार्ड प्रदान गरेको हो । विभागले शिवम् सिमेन्टलाई ‘मार्कर्ड अडिनरी पोर्टल्याड सिमेन्ट(एनएस ४९)’ को गुणस्तरिय उत्पादनको लागि उक्त अवार्ड प्रदान गरेको हो । यससँगै एनएस चिन्ह पाप्त मध्ये उत्कृष्ट १० उद्योगमा शिवम् सिमेन्ट प्रथम स्थानमा रहेको विभागले जनाएको छ । त्यसैगरी, एनएस चिन्ह प्राप्त मारुति र जगदम्बा सिमेन्टले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेका छन् । यी दुईले गुणस्तर तथा नापतौल विभाग मार्फत प्रसंशा प्रत्र पाएका छन् । विभागले मारुति सिमेन्टस्लाई मार्कर्ड अर्डिनरी पोर्टल्याड सिमेन्ट(एनएस ४९)को गुणस्तरिय उत्पादनको लागि प्रसंशा प्रत्र प्रदान गरेको हो । त्यसैगरी जगदम्बा सिमेन्ट मिल्स प्रा.लिलाई मार्कर्ड पोर्टल्याड स्याल्ग सिमेन्ट(एनएस ३८४) को गुणस्तरिय उत्पादनको लागि प्रसंशा पत्र दिर्ईएको विभागले जनाएको छ । विभागले कात्तिक २८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यमा एनएस क्वालिटि अवार्ड २०१९ आयोजना गरेको हो । विभागले नेपालमा गुणस्तरिय उत्पादनलाई प्रोत्साहन दिने उद्यश्यले एनएस चिन्ह प्राप्त उद्योगहरु मध्येबाट सर्वकृष्ट उत्पादनलाई एनएस क्वालिटी अवार्ड दिँदै आएको छ । त्यस्तै, अन्य दुईलाई प्रसंशा प्रत्र वितरण गर्दै आएको छ ।
सांग्रिला बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपको सेवामा १० प्रतिशत छुट
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । दुई संस्थाबीच हालै भएको सम्झौतामा बैंकका ग्राहकले देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा सो मात्राको छुट पाउने भएका हुन् । उक्त सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् । यस सांग्रिला बैंकले ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ् हस्पिटालिटीको देशका विभिन्न स्थानहरुमा रहेको शाखा सञ्जालहरुबाट प्राप्त हुने खाना तथा आवाश सम्वन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न सक्ने छन् ।
एकैदिनमा प्रतितोला ६ सयले बढ्यो सुन, ७२ हजारमा कारोबार
काठमाडौं । बिहीबार छापावला सुन प्रतितोला ७२ हजारमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन ६ सय रुपैयाँले बढेको छ । त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला ७१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा बिक्री भएको थियो भने बिहीबार १० रुपैयाँ बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । पछिल्लाे समय सुनकाे मूल्य क्रमश बढ्दै गएकाे छ । गतमंगलबार छापावला सुन प्रतिताेला ७१ हजार २ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।
जिभी हेल्थ एप बजारमा: अब डाक्टरको समय तपाईको हातमा
काठमाडौं। जिभी हेल्थ प्राईभेट लिमिटेडले बजारमा नयाँ हेल्थ एप सार्वजनिक गरेको छ। कम्पनिले बुधबार काठमाडौंमा एक समारोह बिच नयाँ हेल्थ एप जिभी लन्च गरेको हो । टेक्नोलोजीद्वारा जीवनको रक्षा भन्ने मुल उदेश्यको साथ जिभा हेल्थ एप बजारमा लिएर आएको जिभीका प्रमुख कार्यकारी अधिकृत अभुसन ज्योति कंन्सकारले बताए। उनी भन्छन्,’हामी सुचनाको जमानामा छौं। संसार डिजिटलाईज भईसकेको छ र यदी हामीले हेल्थकेयरलाई पनि डिजिटलाईज गर्न सक्यौं भने हामीले धेरै मानिसको जीवनलाई सजिलो बनाउनको साथै धेरै जीवन बचाउन सक्छौं।’ यस एपको माफर्त तपाईले आफ्नो नजिकै भएको डाक्टरको समय लिन सक्नुको साथै आफुलाई आवश्यक औषधीलाई अनलाई मार्फत अर्डर गर्नु सक्नुहुनेछ। अनलाईन मार्फत तपाईले औषधी मात्र नभएर सेनेटरी प्याड, बच्चाको डाईपर, क्रिम तथा अन्य थुप्रै सामाग्री अर्डर गर्न सक्नुहुन्छ।साथै तपाईले डाक्टरसँग लिएको समय हेरफेर भएको अवस्थामा पहिला नै नोटिफिकेसन मार्फत जानकारी पाउनुहुनेछ। यस एपसँग हाल १ सय भन्दा बढी डाक्टर जोडीसकेका छन्। डाक्टर, अस्पताल र बिरामीलाई निकै नै महत्वोपूर्ण रहेको हेल्थ रिपोर्ट पनि एपमा सुरक्षित राख्न सकिनेको साथ साथै आफ्न परिवारको हेल्थ रिपोर्टलाई पनि त्यसैमा समावेश गर्न सक्ने एपका प्रोजेक्ट म्यानेजर मोहमद नाबीले बताए। एपले एउटा निकै नै गजबको सुविधा ल्याएको छ। तपाईले एपको मार्फत रगत दान गर्नुको साथै तपाईलाई आवश्यक रगत भएको व्यक्तीको सुचना पाउन सक्नुहुनेछ। मात्र २ महिनाको अवधिमा यस एपलाई १ हजार व्यक्तीले डाउनलोड गरिसकेका छन् भने यसले आफ्नो अनलाईन स्टोरमा ५ हजार बढी सामाग्री राखिसकेको छ।
व्यवसायी रुप ज्योतिको पक्षमा व्यवसायीको प्रदर्शन, सम्मानपूर्वक रिहा गर्न माग
काठमाडौँ । नेपाल उद्योग बाणिज्य संघ काठमाडौँ व्यवसायी डा. रुप ज्योतिलाई पक्राउ गरिएकोप्रति ध्यानाकर्षण जनाउँदै आन्दोलनमा उत्रिएको छ । बिहीबार बिहान संघको नेतृत्वमा जुद्धशालिक चोक नयाँसडक काठमाडौँमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा उत्रिएकाहरुले रुप ज्योतिको सम्मानपूर्वक रिहाईको माग गरेका थिए । प्रदर्शनमा उत्रिएका संघका अध्यक्ष दिनेश श्रेष्ठले राज्यको अर्थतन्त्रमा विशेष योगदान पुर्याउँदै आएका प्रतिष्ठित, जिम्मेवार तथा वरिष्ठ उद्योगपति/व्यवसायी एवम् सामाजिक रुपान्तरणका अभियन्ता रुप ज्योति र उनका छोरी सुरुची ज्योतिलाई आर्थिक लेनदेनको विवादमा पक्राउ गरिएकोको घटनाले सम्पूर्ण निजी क्षेत्रलाई स्तब्ध तुल्याएको बताए । यो घटनाले नेपाली उद्योगी÷व्यवसायी आतंकित बनेको उनले बताए । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले व्यवसायी डा. रुप ज्योतिको गिरफ्तारीले आर्थिक क्षेत्रमा आतंक सिर्जना गरेको बताए । नेपालमा औद्योगिक बाताबरण बनिरहेको बेला ज्योतिलाई पक्राउ गर्दा नकारात्मक सन्देश गएको उनले बताए ।
हिमालयन बैंककाे लाभांश गत वर्षभन्दा ३९ प्रतिशतले बढी, सेयर मूल्य ४५० रूपैयाँ
काठमाडौं। हिमालयन बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ । विहीबार विहान बसेकाे सञ्चालक समितिकाे बैठकले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे । यस वर्ष बैंकले गत वर्षकाे तुलनामा विन्दुगत आधारमा ६.२२ र प्रतिशतका आधारमा ३९.४१ प्रतिशतले बढी लाभांश दिन लागेकाे हाे । गत वर्ष बैंकले १५.७८ प्रतिशत लाभांश दिएको थियो। बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। हाल बैंककाे सेयर प्रतिकित्ता ४५० रूपैयाँमा काराेबार भइरहेकाे छ । हाल बैंकको शेयर पुँजी आठ अर्ब पाँच करोड रुपैयाँ रहेको छ। गत वर्ष बैंकले दुई अर्व ८४ करोड रुपैयाँ आम्दानी गरेको थियो। प्रति शेयर आम्दानी ३३ रुपैयाँ ४१ पैसा रहेको बैंकको नेटवर्थ १८८.७६ रुपैयाँ छ।