विकासन्युज

प्रधानमन्त्री ओली क्याबिनेटको सेट परिवर्तन गर्दै, भावी अर्थमन्त्रीको चर्चा

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटको सेट नै परिवर्तनको तयारीमा जुटेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि छलफल गरिसकेका छन् । पार्टीका तीन र्शीर्ष नेताबीच मन्त्रिमण्डलमा हेरफेरबारे करिब सहमति भइसकेको स्रोतले जानकारी दिएको छ । मन्त्रि परिषद्मा मन्त्रीहरुको कामबारे समीक्षा समेत भएपछि को-को राख्ने र को-को झिक्नेबारे समेत छलफल भएको बुझिएको छ । ओलीले सरकारको काम कारबाहीलाई सशक्त बनाउन मन्त्रिहरु हेरफेर गर्ने तयारी गरेका छन् । यसबारे पार्टी भित्र परामर्श जारी छ । मन्त्रिहरुलाई दशैं तिहार मान्न दिने नीति अनुरुप प्रधानमन्त्री ओलीले मन्त्रिहरुको हेरफेरलाई थाती राखेका थिए । अब उनी तत्काल एक्सनमा जाने गरी तयारीमा जुटेका छन् ।मन्त्रीपरिषदबाट १० मन्त्री बिदा हुने भएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले १० मन्त्रीलाई राजीनामा गराएर १० नयाँ मन्त्री ल्याउने अन्तिम कसरत थालेका हुन् । केही मन्त्री बाँकी राखेर १० जना मन्त्रीलाई राजीनामा गराउने तयारी भइरहेको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण सकिएलगतै मन्त्रीहरुलाई राजीनामा गराउने तयारी भइरहेको बालुवाटार स्रोतले बताएको छ । पूर्वमाओवादीबाट ३ र पूर्वएमालेबाट ६ मन्त्रीलाई राजीनामा गराउने तयारी भइरहेको छ । पूर्वएमालेबाट सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुद मन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिका मन्त्री थममाया थापा, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई मन्त्रीबाट बिदा गर्ने तयारी भएको छ भने पूर्वमाओवादीबाट उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानी मन्त्री बिना मगरलाई बिदा दिने तयारी गरिएको स्रोतले बताएको छ । गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानूनमन्त्री भानुभक्त ढकाल सहित ८ जना मन्त्री भने यथावत् रहने बुझिएको छ । तर यी मध्ये पनि केही बाहिरिने संभावना छ । उनीहरु मन्त्रीबाट नहटेपनि मन्त्रालय भने फेरबदल हुन सक्नेछ । सम्भावित नयाँ अनुहारहरु मन्त्रिमण्डल पुनर्गठनको चर्चा चुलिएसँगै पार्टीका दुई अध्यक्षहरुले विभिन्न तहका नेताहरुलाई मन्त्री बनाउने आश्वासन बाँड्न थालेका छन् । मन्त्रिमण्डल पूनर्गठनपछि पूर्व एमालेका तर्फबाट सुरेन्द्र पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री ओलीले आश्वासन दिएको बताइएको छ । त्यस्तै, हाल अर्थ समितिको सभापति रहेका कृष्णप्रसाद दाहाललाई मन्त्रिमण्डलमा प्रवेश गराउने आश्वासन पनि ओलीले दिएका छन् । प्रतिनिधिसभामा तत्कालीन एमालेबाट मकवानपुरको क्षेत्र नम्बर १ मा कृष्णप्रसाद दाहालले विजय हासिल गरेका हन् । उनी नेकपा प्रदेश नम्बर ३ का सचिवालय सदस्य समेत हुन् । राप्रका कमल थापालाई हराएर ह्याट्रिक गरेका दाहाल प्रत्येक पटक हुने मन्त्रीमण्डल गठन प्रक्रियामा छायाँमा परे पनि यो पटक भने मन्त्री बन्ने पक्का भएको श्रोत बताउँछ । उनले उद्योग मन्त्रालयको माग गर्दै आएको बताइएको छ, यद्यपि अहिले पूर्व माओवादीको भागमा रहेको उक्त मन्त्रालय कसरी व्यवस्थापन गर्ने अन्यौलताका कारण उनलाई फरक जिम्मेवारी दिनसक्ने समेत चर्चा छ । नेकपाका नेता महेश बस्नेत र खगराज अधिकारी पनि नयाँ मन्त्रीका लागि आश्वासन पाएका अनुहारहरु हुन् । यी दुवैजना ओली निकटका हुन् । खगराज अधिकारीले संसदमा सरकारको बचाउमा खेलेको उल्लेख्य भूमिकाका कारण ओली उनीप्रति थप सकारात्मक बनेको बताइन्छ । प्रधानमन्त्री ओलीले संसदमा बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउने माग गर्दा नियमापत्ति गर्ने व्यक्ति तिनै खगराज अधिकारी हुन् । त्यस्तै, विष्णु पौडेल, जनार्दन शर्मा, भीम रावल, लेखराज भट्ट, प्रभु साह, विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का समेत मन्त्री बन्ने दौडमा रहेको चर्चा छ । प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा समेत हेरफेर गर्न सल्लाहकाहरुलाई सामुहिक राजीनामा गराउने कुरा बाहिर आइसकेको छ । मन्त्रीमण्डल पुनर्गठन गरी ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार बनाउने एग्रेसिभ ढंगले अघि बढ्ने योजना बनिरहेको बालुवाटार श्रोतले जनाएको छ ।

अजोड इन्स्योरेन्स ३ महिनामा २० करोड बीमा शुल्क आर्जन गर्न सफल, नाफा ७८ लाख रुपैयाँ

काठमाडाैं । अजोड इन्स्योरेन्सको विजनेश ग्रोथ राम्रो देखिएको छ । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा कम्पनीले करिव २० करोड ७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ४ करोड २९ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको समिक्षा अवधिमा ३ हजार ७३५ बीमा लेख जारी गरेकोमा यस वर्षको समिक्षा अवधिमा २६ हजार ४४३ बीमा लेख जारी गरेको छ । विजनेश विस्तारसँगै कम्पनीमा बीमा दावी पनि बढेको देखिन्छ । चालु आर्थिक वर्षको प्रथम ३ महिनामा ५ करोड ३६ लाख बीमा दावी भुक्तानी गरेको छ भने थप ४ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी हुन बाँकी रहेको कम्पनीले जनाएको छ । चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको यस कम्पनीले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको तयारी गरिरहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८८ पैसा छ भने प्रतिसेयर कुल सम्पत्ति मुल्य १६० रुपैयाँ रहेको छ । तर प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ११ पैसा मात्र छ । असोज मसान्तसम्ममा कम्पनीले करिव ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

ठूला आयोजनाको बीमाः ‘जोखिम बहन गर्न सक्षम छन् नेपाली कम्पनी’

काठमाडौं । हालैमात्र शिलान्यास भएको नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको निर्माण लागत २२ अर्ब रुपैयाँ हो । तर, यो र यस्ता ठूला आयोजनाहरुको जोखिम बहन गर्न नेपाली बीमा कम्पनी सक्षम छन् कि छैनन् ? बीमा विज्ञ र नेपाली बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले ठूला-ठूला आयोजनाको बीमा गर्न नेपाली कम्पनी सक्षम रहेको बताएका छन् । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको जापान अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारिसकेको छ । डीपीआरका अनुसार सुरुङ निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्ने र सो लगानी सात वर्षमा उठ्ने उल्लेख छ । सो मार्ग प्रयोगबापत उठ्ने कर त ७ वर्षमा उठ्ला, तर भइपरि आउने जोखिमलाई भने बीमाले मद्दत गर्ने कुरामा शंका छैन । बीमा समितिका एक अधिकारीले दिएको जानकारी अनुसार अहिले देशमा विभिन्न पूर्वाधारहरु निमार्णको क्रममा रहेका छन् । सोही कारण बीमाले पूर्वाधारलाई कतिको सुरक्षण गर्छ भन्ने महत्वपूर्ण सवाल पनि हो ।’ बीमाविज्ञ र कम्पनीका सीइओ यसो भन्छन् बीमाविज्ञ भोजराज शर्माका अनुसार नेपाली कम्पनीहरु ठूला आयोजनाहरुको बीमा गर्न सक्षम छन्, कम्पनीले आफूले धान्न नसक्ने जोखिमको पूनर्बीमा गर्ने भएकाले यो सहजै हुन्छ ।’ उनले जोखिम हस्तान्तरण नगरेको खण्डमा नेपाली कम्पनीहरुलाई मात्र नभई विदेशी कम्पनीहरुलाई समेत ठूला लगानीको जोखिम लिन गाह्रो हुन्छ । बीमा र पूनर्बीमा एक अर्काका परिपूरक भएकाले बीमालाई पूनर्बीमाको साथ रहने गर्छ । बीमाविज्ञ शर्माले भने-‘जोखिमकै लागि भनेर बीमा गर्नु पर्ने हो, साथै जोखिमको भार एक निश्चित कम्पनीले मात्र लिनु जरुरी छैन ।’ उनले सोही कार्यका लागि नेपालमा पूनर्बीमा कम्पनी रहेको र विदेशी राष्ट्रहरुमा विभिन्न पूनर्बीमा कम्पनीहरु सञ्चालन हुँदै आएको बताए । यता, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीइओ) कुमारबहादुर खत्रीले जोखिम बहन गर्ने बजेट धेरै भयो भनेर बीमा कम्पनीले बीमा गर्न नसक्ने अवस्था रहदैन, यस्तो बेलामा कम्पनी एक्लैले नभई पूनर्बीमा मार्फत बीमा गर्ने गरिन्छ ।’ ‘पहिले बीमा कम्पनीहरुले पूनर्बीमासँग छलफल गर्छन्, त्यसपछि मात्र पोलिसी इस्यू हुन्छ’-उनले भने । बीमाको अन्तर्राष्ट्रिय मान्यता अनुसार जोखिम एउटै कम्पनीले बहन गर्नु पर्ने भन्दा पनि हस्तान्तरण हुनु पर्ने विज्ञहरुको मत रहेको पाइएको छ ।

एभरेष्ट बैंकको नाफा ६९ करोड, निक्षेप १५ अर्बले बढ्दा वासलातमा १६ अर्बको वृद्धि

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको प्रथम ३ महिनामा ६९ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव ६ करोडले बढी हो । एक वर्षमा बैंकको निक्षेप १५ अर्बले बढेर १ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी १२ अर्बले बढेर १ खर्ब ९ अर्ब रुपैयाँ भएको छ । विभिन्न कम्पनीको सेयरमा बैंकले लगानी ८ अर्बले वृद्धि भई २४ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीको वासलात एक वर्षमा १६ अर्बले वृद्धि भई १ खर्ब ६१ अर्ब रुपैयाँ बराबर भएको छ । चुक्ता पुँजी ८ अर्ब १० करोड रुपैयाँ रहेको यस बैंकको पुँजी प्रर्याप्तता अनुपात १३.७९ प्रतिशत छ । बैंकको खराव कर्जा शुन्य दशमलव १७ प्रतिशत छ । बैंकको कष्ट अफ फण्डको दर केहि वृद्धि भए पनि बेस रेटमा सुधार देखिएको छ । एक वर्षअघि ८.८ प्रतिशत बेसरेट रहेकोमा हाल ८.५२ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ रहेको यस बैंकको प्रतिसेयर आम्दानी भने १६ रुपैयाँ ४६ पैसा छ । बैंकको सेयर बुधबार प्रतिकित्ता ५५१ रुपैयाँमा कारोबार भएको छ । यस बैंकले गत वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरि २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । तर राष्ट्र बैंकबाट स्वीकृत नभएकोले वार्षिक साधारणसभा बोलाएको छैन ।

उद्योगपति डा. रुप ज्योतिलाई सम्मानपूर्वक रिहा गर्न महासंघको आग्रह

काठमाडौं । उद्योगपति डा. रुप ज्योतिलाई ठगी प्रकरणमा गिरफ्तार गरी अदालतमा पेश गरिएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको प्रतिष्ठित व्यवसायिक घरानाका उद्योगपति डा. रुप ज्योतीलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलबाट बिना सूचना पक्राउ गरी हिरासतमा लिएको घटनामा गलत भएको महासंघको ठहर छ । दुई पक्ष बीचको व्यवहारिक कारोबारमा भएको असहमति र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदा हुँदै हिरासतमा राखिनु गलत भएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । उद्योग व्यवसायको विकासमा महत्वपूर्ण योगदान पुर्याइ कयौँलाई रोजगारी दिदै आएको उद्योग प्रतिष्ठानका प्रमुख व्यक्तिलाई अपराधीलाई जस्तो हतारहतारमा पक्राउ गर्नु र पूर्पक्षका लागि थुनामा राखी कारबाही अगाडी बढाउन लगाउनु उचित नभएको तर्फ महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । यसबाट मुलुकको उद्यम व्यवसायको क्षेत्रमा पर्नसक्ने नकारात्मक असरलाई न्यून गर्न डा. ज्योतिलाई सम्मानपूर्वक व्यवहार गरी रिहा गर्न आग्रह महासंघले गरेको छ ।

पूर्वी नाकाबाट नेपाल आउने बङ्गलादेशी पर्यटक घटे, १० वर्ष अघि ११ हजार, अहिले २ हजारमात्रै

भद्रपुर । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजारभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएको देखिन्छ भने अहिले त्यो सङ्ख्या ह्वात्तै घटेर दुई हजारभन्दा कम भएको छ । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१९ को चालू नौ महिनामा यो नाका भएर एक हजार ७२७ जना बङ्गलादेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०१८ मा एक हजार ९५०, सन् २०१७ मा एक हजार ९६४ र सन् २०१६ मा दुई हजार थियो । तर, एक दशक अघिसम्म बङ्गलादेशी पर्यटकको आगमन दर उच्च थियो । सन् २००४ मा ११ हजार १२७, सन् २००५ मा ११ हजार २१२, सन् २००६ मा ११ हजार ३१२ र सन् २००७ मा १२ हजार ५५३ बङ्गलादेशी पर्यटक काँकडभिट्टा नाकाबाटै नेपाल प्रवेश गरेको अध्यागमन कार्यालयको तथ्याङ्कमा देखिन्छ । सन् २००८ मा भारतले मुम्बईमा भएको आतङ्कवादी हमलाको कारण जनाउँदै छिमेकी मुलुकको सीमाक्षेत्रमा आउजाउ र भिसा प्रक्रियामा कडाइ गरेको थियो । सोही वर्षदेखि नेपालमा आउने बङ्गलादेशी पर्यटक ह्वात्तै घटेको बताइएको छ । नेपाल पर्यटन बोर्ड काँकडभिट्टाकी निमित्त प्रमुख सुस्मिता दाहालले भारतले भिसामा कडाइ गरेका कारण नेपाल आउने बङ्गलादेशी पर्यटकको सङ्ख्यामा कमी आएको बताए । नेपालले बङ्गलादेशी नागरिकका लागि काँकडभिट्टा नाकामै ‘अन अराइभल भिसा’ सुविधा उपलब्ध गराएको छ । तर, बङ्गलादेशीहरु नेपाल आउनुअघि भारतीयस्थल नाका भएर काँकडभिट्टा आउनुपर्ने हुन्छ । उनीहरुलाई भारत प्रवेश गर्न भिसा पाउन सहज छैन । भिसा सुविधा पाउनका लागि बङ्गलादेशीहरुले त्यहाँको राजधानी नै धाउनुपर्ने हुन्छ । पछिल्लो समय आउने गरेका थोरै बङ्गलादेशी नागरिकहरु पनि आँखाको उपचारका लागि मात्र आउने गरेको र उनीहरु उपचार सकेर भरसक एकै दिनमा फर्किने गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले बताए । झापाको काँकडभिट्टामा रहेका तीन र विर्तामोडमा भएका तीन वटा आँखा अस्पतालमा बङ्गलादेशका नागरिक उपचारका लागि आउने गरेका हुन् । घुमफिरका लागि बङ्गलादेशीहरु यो नाका भएर खासै आउँदैनन् ।

आज मधुमेह दिवस, अल्का अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडोँ । अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका विहिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। विहान साढे ९ बजेबाट सुरु हुने शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो। शिविरको मुख्य विशेषता भनेको र्याण्डम ब्लड सुगर, एचबिएवान सी, ७ दिनदेखि १० दिन सम्मका लागि निशुल्क औषधि बितरण र २८ दिनभित्र एक पल्ट निशुल्क फलोअप हो । शिविर आयोजना अघि अल्का अस्पतालले सचेतनामुलुक र्याली निकालेको छ । र्याली अल्का अस्पतालबाट जावलाखेल चोक हुदैँ कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुदैँ पुन अस्पताल परिसरमा नै आएर टुंगिएको थियो । मधुमेह कसरी थाहा पाउने ? (वरिष्ठ चिकित्सक अंशुमाली जोशीका अनुसार) – खाना रुचेर पनि तौल घटदै जाने । – पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने । – मुख सुख्खा हुने, प्यास धेरै लाग्ने । – भोक बढी लाग्ने तर दुव्लाउदै जाने । – कमजोरी हुने र खुट्टाहरु झम्झमाउने । – खुट्टाहरु पोल्ने । – पिसावमा कमिलाहरु देखिने । – घाउहरु छिटो निको नहुने । कसरी बच्ने ? – हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने । – मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने । – सामान्य खानपान अपनाउनु राम्रो । क्यालोरी भएको चिज अर्थात भात, मैदा, (आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो । – व्यायम नियमित गर्ने। व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने। – दिनमा कम्तिमा आधा घण्टा हिड्ने ।

बिबिएस चौथो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं। बिबिएस चौथो वर्षको नतिजा सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालयले २०७५ साल चैत महिनामा संचालित व्यवस्थापन संकायतर्फ चार वर्षे बिबिएस चौथो वर्षको नतिजा सार्वजनिक गरेको हो। त्रिविले परिक्षा भएको ३ महिनाको अवधिमा नतिजा प्रकाशित गर्छौ भन्दै गर्दा बिबिएसको नतिजा करिब ८ महिना पछि प्रकाशित  गरेको हो। नतिजा हेर्नको लागि विद्यार्थीले विश्वविद्यालयको वेभसाईट www.tuexam.edu.np र मोबाईलमा BBS (space)  सिम्बोल नं ३३६२४ मा एसएमएस गरेर हेर्न सक्नेछन्।