विकासन्युज

८५ करोड लागतमा एक दर्जन सडक योजना सम्पन्न

हेटौडा । रौतहट र सर्लाही जिल्लामा पक्की पुल तथा सडक निर्माणसम्बन्धी एक दर्जन योजना सम्पन्न भएको सडक डिभिजन कार्यालय रौतहटले जनाएको छ । कार्यालयका प्रमुख दारोगा प्रसादले रु ८५ करोडको लागतमा रौतहट र सर्लाहीमा आर्थिक वर्ष २०७५/७६ मा पुल तथा पक्की सडक निर्माण भएको बताइएको छ । साथै कतिपय योजनाका काम पूरा गर्ने प्रक्रिया अगाडि बढेको छ । कार्यालयबाट प्राप्त विवरणअनुसार रौतहट, सर्लाही तथा बारा जिल्लालाई जोड्ने सडक तथा पुलसमेत निर्माण गर्नुका साथै स्थानीयस्तरमा बाटोको ग्राभेलिङ गर्ने, माटो पुर्ने, सडक पेन्टिङ, पक्की नाला निर्माण कालोपत्रको कार्य सम्पन्न भएको छ । उक्त निर्माणका कारणले एक जिल्लाबाट अर्को जिल्लामा जान सजिलो भएको बलरा नगरपालिका वडा नं ४ सर्लाहीका वडाध्यक्ष केशव झाले बताएका छन् । कार्यालयका अनुसार सर्लाही, रौतहट र बाराका बरथवा, बलरा कठहरिया, गौर, बङ्गकूल, निजगढ, पतौरा, पिपरा, समनपुर, सन्तपुर, नुनथर, कलैया, मौलापुर, जयनगर, चन्द्रपुर रिङरोड, कटहरियादेखि झाझपुल, निजगढ, पतौरा वनकुल सडक, सखुआबा, मटिअर्वा सडक, विरनगरा, गरुवा सडक, फतुवा हर्खाहा सडक, सन्तपुर कलैया सडक, खैरहा शीतल पुल, पतौरा बङ्कल सडकलगायत पाँच दर्जनभन्दा बढी विभिन्न स्थानमा सडक निर्माण सो अवधिमा गरिएको छ । कार्यसम्पन्न भएका कामको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नगरपालिका र गाउँपालिका पठाइएको कार्यालय प्रमुख दारोगाको भनाइ छ । उक्त निर्माण सम्पन्न कार्यको अनुगमनसमेत गरिएको छ । रासस

१२ बैंकले कमाए ६ अर्ब ६० करोड नाफा, ग्लोबल आईएमईको सबैभन्दा बढी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ वाणिज्य बैंकले ६ अर्ब ६० करोड ८३ लाख नाफा कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार उनीहरूले सो अवधिमा कमाएको नाफा गत आवको सोही अवधिकोभन्दा ३६ करोड ४८ लाखले बढी हो । हालसम्म वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकहरूले गत आवकोे यो अवधिमा ६ अर्ब २४ करोड ३५ लाख नाफा आर्जन गरेका थिए । चालु आव साउनदेखि असोजसम्मकोे यो अवधिमा सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ भने बढी नाफा कमाउने दोस्रो बैंकको एभरेष्ट बैंक परेको छ । प्राइम कमर्शियल बैंकले पहिलो त्रैमासमा ६५ करोड ९७ लाख नाफा आर्जन गरेको छ भने प्रभु बैंकले ६२ अर्ब ८४ करोड नाफा कमाएको छ । सरकारी स्वामित्वका ३ बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको वित्तीय विवरण प्रकाशित हुन वाँकी छ भने वित्तीय विवरण सार्वजनिक गरेका कृषि विकास बैंकको नाफा गएको आवकोभन्दा बढेको छ भने नेपाल बैंकको नाफा घटेको छ । चालु आवको यो अवधिमा कृषि विकास बैंकले ६० करोड ७३ लाख नाफा गरेको छ । सो नाफा गएको आवकोभन्दा ५ करोड ५९ लाखले बढी हो । नेपाल बैंकको नाफा भने चालु आवको यो अवधिमा ३३ करोड २० लाखले घटेको छ । नेपाल बैंकले जस्तै सिद्धार्थ र सिटिजन्स बैंकले पनि नाफा घटाएका छन् भने वाँकी ९ बैंकले गएको आवको तुलनामा नाफा बढाएका छन् । गत आवमात्रै बजारमा प्रवेश गरेको नेपाल इन्फ्रास्टक्चर बैंकले चालु आवको पहिलो त्रैमासमा १८ करोड ५८ लाख नाफा गरेको छ । १२ वाणिज्य बैंकले पहिलो त्रैमासमा गरेको नाफा:

अमेरिकामा नेपाल भ्रमण २०२० शुभारम्भ, अमेरिकी सिनेटरले गरे नेपाल आउने घोषणा

काठमाडौँ । नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एशोसियशन इन साउथइष्ट अमेरिका(नासा)ले औपचारिक रुपमा कार्यक्रम शुरू गरेको छ । अमेरिकाको एटलान्टामा एक बिशेष कार्यक्रमको आयोजना गरी नेपाल सरकारका न्याय तथा कानून मन्त्री भानुभक्त ढकालले कार्यक्रमको सुरुवात गरेका हुन् । उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले प्रवासमा रहेर पनि नेपालीहरुले नेपाल सरकारको कार्यक्रमलाई सफल बनाउन लागि परेको देख्दा आफु निकै खुशी भएको र सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने बचनबद्धता ब्यक्त गरे । उनले यस्ता कार्यक्रमहरुले सबै नेपालीहरुलाई जोड्न सहयोग पुर्याउने बताए । बिदेशमा जन्मिएका दोस्रो पुस्तालाई नेपाल चिनाउन भ्रमण बर्षले मद्तद्द पुर्याउने ढकालको भनाई थियो । कार्यक्रमको बिशेष अतिथिहरुमा जर्जिया राज्यका डेमोक्रेटिक पार्टीका सिनेटका नेता सिनेटर स्टिभ हेन्सन र सिनेटर शेख रहमान रहेका थिए । सिनेटर रहमानले आफुले नेपाल भ्रमण बर्षलाई सहयोग गर्दै २०२० मा नेपाल जाने बताउँदै नासाले संचानल गर्ने कार्यक्रमको सफलताको कामना गरे । सो कार्यक्रममा बोल्दै सिनेटर स्टिभ हेन्सनले आफु नेपालीहरुको बीचमा आएर बोल्न पाउदा खुशी ब्यक्त गरे । उनले एट्लाण्टामा नेपाल दिबस मनाउन आफुले सिनेटमा प्रस्ताब लाने बताए । नासाका अध्यक्ष विनय अर्यालको सभापतित्वमा भएको कार्यक्रममा नेप्लिज एसोसिएसन जर्जियाका अध्यक्ष कुमार केसीले सबैलाई स्वागत गर्दै भ्रमण बर्षलाई सहयोग गर्न अनुरोध गरेका थिए भने नासाका बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनीले धन्यवाद दिएकी थिइन् । कार्यक्रममा नासाका पूर्व अध्यक्षहरू रामचन्द्र बराल र संजिव सापकोटा लगायतले शुभकामना सन्देश दिएका थिए । १९९१ मा एटलान्टाबाट नै शुरु भएको नासाको आफ्नो कार्यकालको सुरुवाति बैठक पनि एटलान्टाबाट नै शुरु गरेको बताउदै अध्यक्ष अर्यालले भ्रमण बर्षको कार्यक्रम पनि यहीबाट शुरु गरेको बताए । कार्यक्रम संयोजक पर्यटनदुत तथा नासाका पूर्व अध्यक्ष राजा घलेले एक बर्षभरि नासाले स्थानीय नेपाली सस्थाहरुसंग मिलेर बिबिध कार्यक्रम संचालन गर्ने बताए । स्थानीय बालबालिकाहरुले सांगीतिक प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए । यसैगरी भ्रमण बर्षमा संचालन गरिने बिबिध कार्यक्रम मध्ये ४ वटा कार्यक्रम सोही दिन सुरुवात गरिएको छ । बिशेष गरी भ्रमण बर्षको सन्देश जाने गरी अमेरिका मै हुलाक टिकट प्रकाशन गर्ने लक्ष्य राखिएको र एटलान्टा शहरको यातायात बिभागसंग समन्वय गरी चारवटा गाडी रोक्ने स्थल (बस चढ्ने र उत्रने सार्वजनिक स्थल) मा भ्रमण बर्षको तुलहरु राखिएको छ । सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन, नेपाली ब्यबसायीहरुलाई प्रचार सामाग्री हस्तान्तरण, सामाजिक संजाल (फेसबुक)मा भ्रमण बर्षको लोगो (प्रतीक चिन्ह)लाई प्रोफाइल ( परिचय)को रुपमा प्रयोग गरी र ईमेल हस्ताक्षरको रुपमा भ्रमण बर्षको सन्देश प्रयोग गर्न शुरु गरिएको छ । यसरी नै अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रचार प्रसार सामग्री तथा तुलहरु राख्न सके भ्रमण बर्षको सन्देश अमेरिका भरि नै सहज तरिकाले पुग्ने नासाका अध्यक्ष अर्यालले बताए । अमेरिकामा भएका नेपालीका सबै खाले व्यवसायमा भ्रमण बर्षका प्रचार सामाग्रीहरु प्रदर्शन गर्ने कार्यक्रम अनुसार सिएनएनको मुख्यालयमा व्यवसाय रहेका संचालक रामजी पराजुलीलाई प्रचार सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर

सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युतकाे राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुग्न कम्तीमा दुई वर्ष लाग्ने जनाएको छ । प्राधिकरणका प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनीयर सुरेन्द्र अग्रहरिले लाइन विस्तारका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको बताए । “चालू आर्थिक वर्षमा जाजरकोट–डोल्पा, कालिकोट–जुम्ला र नाग्म–मुगु ३३ केभी प्रसारण लाइन विस्तार गर्ने तयारीमा जुटेका छौँ”, उनले भने, “कम्तीमा ती जिल्लाका सदरमुकामसम्म आगामी दुई वर्षभित्र लाइन विस्तार गर्ने लक्ष्य रहेको छ ।” भौगोलिक जटिलता र सडकको पहुँच नहुँदा विद्युत् सामग्रीको ढुवानीमा समस्या रहेको उनले बताएका छन् । कर्णालीमा विद्युत् विस्तारका लागि विसं २०७४ भदौ ११ गते सुर्खेतमा प्राधिकरणको क्षेत्रीय कार्यालय स्थापना भएको थियो । झण्डै दुई वर्षसम्म कर्मचारीविहीन रहेको यो कार्यालय हालै प्रादेशिक कार्यालयमा रुपान्तरण भएको हो । कार्यालय प्रमुख अग्रहरिका अनुसार कर्णालीमा विद्युत् लाइन विस्तारसम्बन्धी १३ वटा आयोजना रहे पनि जाजरकोट–डोल्पा ३३ केभी प्रसारण लाइनमात्रै यस कार्यालयअन्तर्गत सञ्चालित रहेको छ । बाँकी आयोजना प्राधिकरणको पाँच नम्बर डिभिजन कार्यालय नेपालगञ्जले हस्तान्तरण गरेको छैन । प्राधिकरणको पाँच नम्बर कार्यालयले अबको एक महिनामै कर्णाली प्रदेश कार्यालयलाई आयोजना हस्तान्तरण गर्ने बताएको छ । त्यस्तै, विद्युत् लाइन विस्तारको ठेक्का पाएका कम्पनीको लापरवाहीका कारण कतिपय योजनामा तीव्र गतिले काम हुनसकेको छैन । ३३ केभी लाइन विस्तारअन्तर्गत सुर्खेत–बाबियाचौर र दुल्लु–कालिकोट खण्डको काम एउटै ठेकेदारले लिएका छन् । यी दुई आयोजनाको जिम्मा पाएको त्रिपुरेश्वर जय दुर्गेश जेभी काठमाडौँले सुर्खेत–बाबियाचौर तथा दुल्लु–कालिकोटको विद्युत् पोल गाडे पनि बाँकी काम पूरा गरेको छैन । हाल कर्णालीका ७७ हजार घरधुरी मात्र विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । केही जिल्लामा लघु जलविद्युत् आयोजनाबाट बिजुलीको उपयोग भइरहेको छ । रासस

डिभी परेका वडाध्यक्ष अमेरिकामा, हस्तलिखित राजीनामा नदिंदा उपनिर्वाचन नहुने

हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ । वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएको थियो । अध्यक्ष घिसिङको राजीनामा समयमा नआएकाले उपनिर्वाचनका लागि समस्या भएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताए । निर्वाचन कार्यालयका प्रमुख पौडेललले राजीनामा जुनसुकै माध्यमबाट आए पनि त्यो हस्तलिखित हुनुपर्ने र हस्तलिखित नहुँदा मान्य नहुने प्रावधान रहेको बताए । उक्त वडामा उपनिर्वाचन हुन शुरूदेखिकै कुनै पनि प्रकिया नभएको प्रमुख पौडेलको भनाइ छ । अध्यक्ष घिसिङ निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका थिए । उडेको पाँच महिनापछि मात्र घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीनामा दिएको गाउँपालिका प्रमुख हिदम लामाले जानकारी दिए । शुरुमा अमेरिका गएको भन्दै तीन महिनाका लागि बिदा लिएका वडाध्यक्ष घिसिङ पाँच महिनासम्म पनि अमेरिकामै रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि भएर इमेलमा राजीनामा पठाएको उनको भनाइ छ । उनले भने, “घिसिङले इमेलमार्फत त राजीनामा पठाउनुभयो, तर हस्तलिखित राजीनामा पठाउन पनि आलटाल नै गर्नुभयो ।” भदौमा इमेलमार्फत राजीनामा दिएका घिसिङको अझैसम्म पनि लिखित राजीनामा नआएको जनाइएको छ । देशमा उपनिर्वाचन गराउने तयारी भइरहेको अवस्थामा समेत घिसिङले हस्तलिखित राजीनामा नपठाएका कारण उक्त वडामा उपनिर्वाचन नहुने भएको हो । उक्त वडामा विसं २०७४ भएको वडाध्यक्षको निर्वाचनमा नेकपाका जगतमान घिसिङको ५४१ मत थियो भने दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राउतले २२३ मत प्राप्त गरेका थिए । त्यस्तै नेपाली काङ्ग्रेसका दिपेशकुमार विश्वकर्माले १९१ मत प्राप्त गरेका थिए ।

भवन निर्माणमा चिकित्सक पाण्डेद्वारा एक करोड प्रदान गरिने

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने भएका छन् । यस सहयाेगसँगै नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका संस्थापक अध्यक्ष चिकित्सक मृगेन्द्रराज पाण्डेले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । महानगरपालिकाले जमिन र चिकित्सक पाण्डेले भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् । समाजको स्थानीय नबहिल, ओमबहालमा समाजको कार्यालय रहेको छ । सोही कार्यालयबाट चिनी रोग (मधुमेह)का बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजका लागि आवश्यकपर्ने जमिन उपलब्ध गराउने जानकारी दिँदै यसका लागि जमिन खोज्न आग्रहसमेत गरेका छन् । उनले भने, “महानगरले स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । चिनी रोगविरुद्धको अभियानमा महानगरपालिका साथमा रहेको छ ।” वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने जानकारी दिँदै चिनी रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको हुँदा सचेतनाका कार्यक्रम सञ्चालन गर्न जोड दिए । समाजका अध्यक्ष शिव श्रेष्ठले समाजको आफ्नै भवन नहुँदा चिनीरोग सेवा उपलब्ध गराउन समस्या परेको गुनासो गर्दै जमिन उपलब्ध गराउन महानगरपालिकासँग आग्रह गरेका छन् । कार्यक्रममा चिनीरोग विशेषज्ञ चिकित्सक प्रदीपकुमार श्रेष्ठले जीवनशैली परिवर्तनसँगै चिनीरोगीका सङ्ख्या बढिरहेको बताए । के हो चिनीरोग ? वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा चिकित्सक पुकार श्रेष्ठका अनुसार शरिरमा चिनी (सुगर)को मात्र बढी हुनुलाई चिनीरोग भनिन्छ । शरीरमा चिनीको मात्रा आवश्यक मानिन्छ । तर आवश्यकभन्दा बढी भएमा मुटु, मिर्गौला र आँखालाई यसले असर पुर्याउँछ । चिकित्सकका अनुसार छिन् छिनमा पिसाब लाग्ने, मुख सुक्ने, पानीको प्यास लाग्ने, तौल घट्ने, थकान महसुुस गर्ने, शरीरमा घाउचोट देखिने तर निको नहुने चिनीरोगका लक्षण हुन् । नेपालमा कति चिनीरोगी रहेका छन् भनेर हालसम्म कुनै अध्ययन भएको छैन । नेपालमा विश्व स्वास्थ्य सङ्गठनले कूल जनसङ्ख्याको चार प्रतिशतमा चिनीरोगको समस्या हुनसक्ने प्रक्षेपण गरेको छ । तीमध्ये आधा पनि उपचारको पहुँचमा आएका छैनन् । “चिनीरोग दुई प्रकारका हुन्छन् । टाइप एक र टाइप दुई । टाइप एक विशेष गरी २० वर्षमुनि र टाइप दुई विशेषगरी ४० वर्षमाथि उमेर समूहलाई हुने गर्दछ ।” चिकित्सक श्रेष्ठ भन्छन्। यस वर्षको चिनीरोगको नारा ‘चिनीरोग र परिवार’ रहेको छ । चिनी रोगबाट बच्न विशेषगरी खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । रासस

शिवम् सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड २०१९’, मारुति र जगदम्बालाई प्रसंशा पत्र

काठमाडौं । एनएस चिन्ह प्राप्त उद्योगमध्ये शिवम् सिमेन्टले ‘एनएस क्वालिटी अवार्ड २०१९’ पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले सर्वकृष्ट तथा गुणस्तरिय उप्पादनको आधारमा शिवमलाई यस वर्षको उक्त अवार्ड प्रदान गरेको हो । विभागले शिवम् सिमेन्टलाई ‘मार्कर्ड अडिनरी पोर्टल्याड सिमेन्ट(एनएस ४९)’ को गुणस्तरिय उत्पादनको लागि उक्त अवार्ड प्रदान गरेको हो । यससँगै एनएस चिन्ह पाप्त मध्ये उत्कृष्ट १० उद्योगमा शिवम् सिमेन्ट प्रथम स्थानमा रहेको विभागले जनाएको छ । त्यसैगरी, एनएस चिन्ह प्राप्त मारुति र जगदम्बा सिमेन्टले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेका छन् । यी दुईले गुणस्तर तथा नापतौल विभाग मार्फत प्रसंशा प्रत्र पाएका छन् । विभागले मारुति सिमेन्टस्लाई मार्कर्ड अर्डिनरी पोर्टल्याड सिमेन्ट(एनएस ४९)को गुणस्तरिय उत्पादनको लागि प्रसंशा प्रत्र प्रदान गरेको हो । त्यसैगरी जगदम्बा सिमेन्ट मिल्स प्रा.लिलाई मार्कर्ड पोर्टल्याड स्याल्ग सिमेन्ट(एनएस ३८४) को गुणस्तरिय उत्पादनको लागि प्रसंशा पत्र दिर्ईएको विभागले जनाएको छ । विभागले कात्तिक २८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यमा एनएस क्वालिटि अवार्ड २०१९ आयोजना गरेको हो । विभागले नेपालमा गुणस्तरिय उत्पादनलाई प्रोत्साहन दिने उद्यश्यले एनएस चिन्ह प्राप्त उद्योगहरु मध्येबाट सर्वकृष्ट उत्पादनलाई एनएस क्वालिटी अवार्ड दिँदै आएको छ । त्यस्तै, अन्य दुईलाई प्रसंशा प्रत्र वितरण गर्दै आएको छ ।

सांग्रिला बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपको सेवामा १० प्रतिशत छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । दुई संस्थाबीच हालै भएको सम्झौतामा बैंकका ग्राहकले देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा सो मात्राको छुट पाउने भएका हुन् । उक्त सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् । यस सांग्रिला बैंकले ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ् हस्पिटालिटीको देशका विभिन्न स्थानहरुमा रहेको शाखा सञ्जालहरुबाट प्राप्त हुने खाना तथा आवाश सम्वन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न सक्ने छन् ।