सेवोन अध्यक्षमा टंक र वासुदेव मध्ये कस्ले मार्छ बाजी ? अरु ‘रिङ आउट’
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा रित्त रहेको अध्यक्ष छनोट प्रक्रिया अघि बढेसँगै आकांक्षीको रक्सारक्सी शुरु भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयालको संयोजनमा गत साता अध्यक्ष छनोट समिति गठन अघिनै बोर्ड अध्यक्षका लागि नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्व अध्यक्षदेखि नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशक र बोर्डभित्रकै ३ कर्मचारी अध्यक्षको दौडधूपमा थिए । अध्यक्ष छनोट समितिले कार्यविधि बनाएर काम शुरु गर्नुअघि नै बोर्डका कार्यकारी निर्देशकद्धय परिष्टनाथ पौडेल, निरज गिरी र उपकार्यकारी निर्देशक डा.नवराज अधिकारी अध्यक्षको दौडबाट बाहिरिएका छन् । विशेष स्रोतका अनुसार उनीहरूले अध्यक्षको पदका लागि आवेदन नदिने बुझिएको छ । आईक्यानका पूर्व अध्यक्ष टंक पनेरु उक्त पदका लागि बलियो दावेदार मानिएपनि उनीलाई नेपाल स्टक एक्चेन्जमा अध्यक्ष रहँदा राम्रो काम सम्पादन गर्न नसकेको आरोप छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाका निकट मानिएका थिए । तर, छनोट समिति उनको त्यतिबेलाको कार्यशैलीप्रति सन्तुष्ट छैन । त्यसैले उनको पनि अध्यक्ष बन्ने करिब करिब सम्भावना टुंगिएको छ । अब सेवोन अध्यक्षका आकांक्षीका रुपमा राष्ट्र बैंकका दुई पूर्व कार्यकारी निर्देशक रहेका छन् भिष्मराज ढुंगाना र वासुदेव अधिकारी । ढुंगाना राष्ट्र बैंकमा आगामी चैत ५ मा रित्त हुने गभर्नर पदका लागि आफूलाई दावेदार मानेर बसेका छन् । सेवोन विज्ञ सदस्यका रुपमा रहेका उनमा सेवोन अध्यक्ष बन्ने खासै चासो छैन । यी सबै कारणले गर्दा हाल नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारी नै सेवोन अध्यक्ष पदका लागि एकमात्र बलिया दावेदारका रुपमा देखिएका छन् । राष्ट्र बैंकमा रहँदा महत्वपूर्ण जिम्मेवारी निभाएका अधिकारीनै स्टक मार्केट बुझेका बलिया दावेदार मानिएको स्रोतले जानकारी दिएको छ । मेरिटको आधारमा अध्यक्ष चयनः छनोट समिति सरकार परिवर्तनको चहलपहलसँगै नेपाल धितोपत्र बोर्ड (सेवोन) को अध्यक्ष छनोट प्रक्रिया ओझेलमा परेको छ । सरकार परिवर्तनसँगै अर्थमन्त्री डा. युवराज खतिवडाको मन्त्री पद धरापमा परेपछि सेवोन अध्यक्ष चयनमा सुष्तता आएको हो । प्रधानन्त्री केपी शर्मा ओली विरामी परेका छन् । उनले पनि यस विषयमा खासै चासो देखाउन सकेका छैनन् । गत असोजमसान्तबाट सेवोनमा डा. रेवतवहादुर कार्कीको ४ वर्षे कार्यकाल सम्पन्न भएको छ । उनको कार्यकाल सकिदै गरेको जानकारी सरकारलाई राम्रोसँग ज्ञान भएपनि एक साता अघिमात्रै सेवोन अध्यक्ष छनोट समिति बन्यो । समिति बनेपनि अहिलेसम्म औपचारिक बैठक बस्न सकेको छैन । राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयालको संयोजनमा बनेको उक्त छनोट समिति अहिलेसम्म मौखिक बैठकमात्रै बसेको छ । ‘सेवोन अध्यक्ष छनोट कार्यविधि बनाउँदै छौं,’ उनले भने ‘अबको एक सातामा कार्यविधि तयार हुन्छ ।’ कार्यविधि बनेपछि औपचारिक रुपमा आवेदन माग छौं ।’ कुन प्रक्रियाबाट आवेदन माग हुन्छ भन्ने विषय भने कार्यविधिले तय गर्नेछ । आवेदकले गर्ने प्रस्तुती र व्यक्तिगत विवरणलाई आधार मानेर अध्यक्ष चयन हुने फुयालले बताए ।
सामाजिक सुरक्षामा सहभागी हुने उद्योग वाणिज्य महासङ्घको प्रतिबद्धता, सक्रिय हुँदै श्रममन्त्री
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार, रोजगारदाता तथा श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा कार्यान्वयनमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सक्रियतापूर्वक सहभागी हुने पुनः प्रतिबद्धता जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज भएको छलफलमा महासङ्घका पदाधिकारीले त्रिपक्षीय सहमतिका आधारमा कार्यक्रम सञ्चालन गरिएकाले योजनामा सहभागिताका लागि सातै प्रदेशमा जागरण अभियान चलाउने बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले वर्तमान सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन महासङ्घले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले श्रमिकको सहभागितालाई उत्साहजनक बनाउन रोजगारदाता, श्रमिक सङ्घ सङ्गठनले योजनाबाट प्राप्त हुने फाइदाका बारेमा व्यापक छलफल चलाउनुपर्ने बताए । महासङ्घका उपाध्यक्ष चन्द्र ढकालले त्रिपक्षीय सहमतिका आधारमा श्रम ऐन र सामाजिक सुरक्षा ऐन जारी भएकाले सबै औद्योगिक प्रतिष्ठान योजनामा सहभागी हुनुको विकल्प नभएको बताए । उनले सामाजिक सुरक्षा योजनाले असल श्रम सम्बन्धको विकास भई मुलुकको समृद्धिमा बलियो आधार बनेको बताए । “सबै प्रतिष्ठान र आवद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन हामी पूर्णरुपमा प्रतिबद्ध छौँ, महासङ्घले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ”, उपाध्यक्ष ढकालले भने, “लगानीसम्बन्धी कार्यविधि संशोधन भएपछि थप आकर्षण बढेको छ । यसलाई अझ समृद्ध बनाएर लैजानुपर्छ ।” छलफलमा सहभागीले योजना श्रमिकको भलाइका निम्ति आएको भए पनि कार्यक्रमका बारेमा स्पष्ट पार्न नसक्दा केही अलमल देखिएको बताएका थिए । सूचीकरणमा विलम्ब नगर्नुहोस्ः मन्त्री विष्ट सो अवसरमा मन्त्री विष्टले सामाजिक सुरक्षा योजनाले असल श्रम सम्बन्ध विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सूचीकरण प्रक्रियामा कुनै विलम्ब नगर्न आग्रह गरेका थिए । उनले योजनालाई बढीभन्दा बढी प्रभावकारी बनाउन आवश्यक परेको खण्डमा सरोकारवालासँगको छलफलपछि परिमार्जन गर्न सकिनेसमेत बताए । सरकारले सामाजिक सुरक्षा योजनाप्रति श्रमिकको आकर्षण बढाउन विभिन्न प्रकारको कर्जा सुविधा दिने तयारी गरेको छ । लगानीसम्बन्धी कार्यविधि अन्तिम चरणमा पुगेको कोषले जनाएको छ । कार्यविधिमा धितोमा आधारित रहेर घर, शैक्षिक र सामाजिक कर्जा दिने प्रस्ताव गरिएको छ । छलफलका क्रममा मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरे र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योजनाका बारेमा स्पष्ट पारेका थिए । सरकारले कोषमा सूचीकरणका लागि आगामी मङ्सिर १४ गतेसम्मको समयावधि तोकेको छ । कोषमा सूचीकृत हुने श्रमिकले औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षाअन्तर्गत निवृत्तिभरण र अवकाश सुविधा योजना प्राप्त गर्नेछन् । हालसम्म कोषमा एक लाख १० हजार भन्दाबढी श्रमिक र १० हजार बढी प्रतिष्ठान सूचीकृत भइसकेका छन् । त्यस्तै करीब १४ करोड योगदान रकम सङ्कलन भइसकेको कोषले जनाएको छ । श्रममन्त्री विष्टले तोकिएको समयावधिभित्रै सम्पूर्ण रोजगारदाता र श्रमिकलाई कोषमा सूचीकरणका लागि छलफललाई तीव्र पारेका छन् । पछिल्लो एक साताको बीचमा उनले नेपाल उद्योग परिसङ्घ, सहकारी सङ्घ, गैसररकारी संस्था महासङ्घ तथा उपभोक्ता समिति, निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्गठन (एन-प्याब्सन) लगायत ठूलो मात्रामा श्रमिक कार्यरत सङ्गठनसँग छलफल गरेका थिए ।
६० वटा फर्मको अनुसन्धान हुँदै, ११ करोड राजश्व छली यसरी पत्ता लाग्यो
काठमाडौँ । नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजश्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ रु तीन करोड १२ लाख तथा आयकरतर्फ रु आठ करोड सात लाख गरी कूल रु ११ करोड १९ लाख ८४ हजार बिगो बराबरको राजश्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । बङ्शलले काठमाडौँमा सञ्चालन गरेको हस्पी केयर इन्टरनेशनल र श्री श्याम ट्रेडर्सले वस्तु तथा सेवा खरीद नै नगरी झुठो तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर छली गरेको सो अनुसन्धानमा देखिएको हो । छली गरेको रकमबाट उनले नेपालीको नाममा विभिन्न भौतिक सम्पत्ति जोडेको फेला परेको छ । दीर्घराज मैनाली, महानिर्देशक, राजश्व अनुसन्धान विभाग उक्त घटनामा सहयोगी बनेका दुवै कम्पनीका सञ्चालक रामसुन्दर राय र राकेश पाण्डेयसहित ११ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा यही कात्तिक २५ गते मुद्दा दर्ता गरिएको छ । अन्य आठ जना नेपालीे उनको सम्पत्ति आफ्नो नाममा राखिदिएकाले मतियारका रुपमा मुछिएका हुन् । “बङ्शलले रु ११ करोड १९ लाख ८४ हजार १६४ बिगो बराबरको आर्थिक अपराध गरेको भेटियो, बिगो असुल उपर गरी दोब्बर जरिवाना र तीन वर्ष कैदको माग गर्दै मुद्दा चलाएका छौँ”, महानिर्देशक मैनालीले भने । उनले दुई वटा गाडी, एउटा घर तथा सर्जिकल सामग्री बिक्री गर्ने फम नेपालीको नाममा राखेर राजस्व छली गरेका हुन् । उनले यस्तो घटना विभागका लागि पहिलो भएको बताए । “आर्थिक अपराधविरुद्ध विभागले सूक्ष्म निगरानी गरिरहेको छ, यो घटना त्यसैको उपलब्धि हो, यस्ता झण्डै ६० वटा फर्म अहिले पनि अनुसन्धानको दायरामा छ”, मैनालीले थपे । बङ्शलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत गरेको देखिएकाले विभागले अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरिएको छ । विभागले झुठो बिल जारी गरी ११ अर्बभन्दा बढी बिगो बराबरको राजश्व चुहावट गरी आर्थिक अपराध गरेको आरोप लागेका ४३१ व्यक्तिविरुद्ध मुद्दा चलाएको छ । उनीहरुमध्ये आठ जना भन्सार कर्मचारीसमेत छन् । राजश्व अनुसन्धान विभागले उनीहरुमाथि बिगो असुल गरी दोब्बर जरिवाना र तीन वर्ष कैदको माग दाबीसहित विभिन्न मुद्दा चलाएको छ । बङ्शल जस्ता केही विदेशी नागरिक पनि राजश्व चुहावट र विदेशी विनिमय अपचलनमा मुछिएका छन् । यसरी पत्ता लाग्यो राजश्व छली आठ वर्षअघि सर्जिकल सामानको व्यापारका लागि बङ्शल नेपाल छिरेका थिए । गोरखा वेलफेयरमार्फत इसिजी पेपरको बिक्री व्यवसाय पनि गर्दथे । उनले आपूर्ति बढी मूल्यमा गर्ने तर नक्कली बिलबाट न्यून खरीद (कम सामान आपूर्ति गरेको) देखाएर हिसाब मिलान गरी राजश्व छली गर्दै आएका थिए । आठ वर्षअघि व्यवसाय थाले पनि विभागले उनीविरुद्ध भने २०७५ साल माघदेखि मात्रै अनुसन्धान थालेको थियो । शुरुमा विभागले हस्पी केयर इन्टरनेशनललगायत फर्मका आर्थिक गतिविधि शङ्कास्पद लागेर अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा हस्पी केयरसँगै श्याम ट्रडर्स पनि झुठो बिलबीजक बनाएर कर छलीमा तानियो । दुवै कम्पनी बङ्शलकै लगानीमा नेपालीको नाममा दर्ता गरेको भेटियो । गतिविधि थप शङ्कास्पद देखियो । झण्डै चार महिनाअघि अनुसन्धान नसकिँदै आफू पक्राउपर्ने देखेपछि उनी नेपालबाट भाग्न सफल भएको विभागले जनाएको छ । “जब हामीले उसको घर पत्ता लगाएर छापा मार्न गयौँ, ऊ केही घण्टाअघि नै निस्किएको रहेछ”, विभागका एक अनुसन्धान अधिकृतले भने । साथीकी श्रीमतीको नाममा घर अनुसन्धानमा बङ्शलले सर्जिकल सामानको कारोबार गर्ने नेपाली साथीकी श्रीमतीको नाममा कोहिनुर हिल हाउजिङमा घर किनेको पत्ता लाग्यो । त्यसैगरी दुई वटा गाडी पनि नेपालीकै नाममा खरीद गरेर प्रयोग गर्दै आएका थिए तर गाडी पत्ता लगाउन विभागलाई ठूलो सकश भयो । खोज्दै जाँदा गाडी वल्ड ट्रेड सेन्टरभित्र लुकाएर राखेको अवस्थामा फेला परेको थियो । विभागले अहिले दुई गाडी, एउटा घर नेपालीको नाममा खरीद गरेको फेला पारेको छ । उसको तीन वटा सर्जिकल गोदाम सिल गरिएको छ । केही सामान स्थानान्तरण गरेको फेला परेको छ । बङ्शल फरार रहेकाले विभागले अहिले रु चार करोड ८८ लाखको सामान लिलाम बिक्री गरी विभागको धरौटी खातामा जम्मा गरेको छ । केही ठाउँबाट आउने रु ४० लाख भुक्तानीसमेत रोक्का गरिएको छ । उसले नेपाली नागरिकतासमेत नक्कली बनाएको भेटिएको विभागले जनाएको छ । विभागले यस्ता ६० भन्दा बढी फर्मको अनुसन्धान गरिरहेको जनाएको छ । रासस
ज्योति विकास बैंकको सञ्चालकमा मन महर्जन नियुक्त
काठमाडौं । ज्योति विकास बैंकको सञ्चालकमा मन महर्जन नियुक्त भएकी छिन् । कात्तिक २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी महर्जनलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक महर्जनले कात्तिक २७ गतेदेखि नै आफ्नो पदको कार्यभार सम्हालि सकेकी छिन् ।
नेपाल भ्रमण बर्ष २०२० को प्रचारका लागि ‘ट्राभल शो’, विभिन्न देशमा प्रशारण गरिने
काठमाडौँ । भ्रमण बर्ष २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले भिजिट नेपाल वर्ष २०२० को सचिवालयले निजी क्षेत्रसँगको सहकार्यमा पल्सर द नेक्ट डेस्टिनेशन’ नामक पाक्षिक टेलिभिजन कार्यक्रम ‘ट्राभल सो’ निर्माण गरी प्रसारणको तयारी गरेको छ । सचिवालयमा विहीबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिइएको हो । कार्यक्रममा बोल्दै सचिवालयका संयोजक सुरज वैद्यले नेपालको प्रचारप्रसारमा सचिवालय अग्रसर रहेको बताए । द होराईजन मल्टिमिडिया प्रालि तथा भिजिट नेपाल वर्ष २०२० सचिवालयलको सहकार्यमा उक्त कार्यक्रम निर्माण गरिएको द होराईजन मल्टिमिडिया प्रालिका अध्यक्ष राधाकृष्ण धितालले जानकारी दिए । उक्त कार्यक्रममा नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्यलाई समेटिनेछ । पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचार–प्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष छ । कार्यक्रममा गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक पाटासँगै त्यहाँको जीवनशैली, खानपान र कथाहरुलाई समेटिने जनाइएको छ । प्राकृतिक सुन्दरतासँगै समाजका लुकेर रहेका विविध आयामलाई पनि प्रकाश पार्नु कार्यक्रमको ध्येय रहेको कार्यक्रमका निर्देशक धितालले बताए । कार्यक्रम नेपाली भाषा सहित हिन्दी, अंग्रेजी र चिनियाँ भाषामा समेत सव टाइटल गरी विभिन्न माध्यमबाट विभिन्न देशमा समेत प्रचार–प्रसार गरिनेछ । जसले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने विश्वास लिइएको सचिवालयले जनाएको छ ।
मुक्तिनाथका ग्राहकलाई ट्रयाङ्गकुलिटी स्पामा विशेष छुट
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र ट्रयाङ्गकुलिटी स्पा, काठमाण्डौंबीच स्पामा छुट दिन समझदारी भएको छ । बैंकका ग्राहकहरुलाई स्पामा तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट वजारीकरण तथा बिक्री प्रबन्धक बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट वजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयाङ्गकुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।
ललितपुरमा नेपाल इन्भेष्टमेन्ट बैंकको १६औं एक्सटेन्सन काउन्टर
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा १६ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । उक्त काउन्टर नेपाल इभेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, काठमाडौं युनिभर्सिटीका रजिष्ट्रार प्रा. डा. सुवोध शर्मा र कुसोमका डिन डा. विजय केसीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । यस एक्सटेन्सन काउन्टरमार्फत् विश्वविद्यालयका कर्मचारी, विद्यार्थी र अध्यापकहरूलाई विशिष्टीकृत वित्तीय सेवा उपलब्ध गराई दुई प्रतिष्ठानहरू बीचको समन्वयलाई बढाउने विश्वास गरिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले ८२ शाखा, १२४ एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५५ शाखारहित बैंकिङ काउन्टर तथा २७३६ प्वाइन्ट अफ सेल्स (पीओस) केन्द्रहरूमार्फत आफ्ना ग्राहकलाई सेवा पु¥याउँदै आएको छ ।
पोखरामा ग्रीन बैंकका दुई शाखा विस्तार
काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले पोखरा महानगरभित्र थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको शितलादेवी र छोरेपाटनमा शाखा विस्तार गरेको हो । शितलादेवी शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले गरेका हुन् भने छोरेपाटन शाखाको उद्घाटन बैंकका सञ्चालक कृष्ण शंकर श्रेष्ठले गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले स्थानिय स्तरबाट स्थापित बैंक गण्डकी प्रदेशको एक मात्र स्थानिय बैंक हुने बताए । सोही कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले वैंकले विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्बन्धित तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको र गण्डकी प्रदेशको उत्कृष्ट बैंक बनाउने लक्ष्य रहेको बताए । बैंकले हाल कास्की, वाग्लुङ्ग र म्याग्दी जिल्लामा रहेका ११ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटिएम सेवा, आईपिएस जस्ता सुविधा दिंदै आएको छ ।