बीमा संस्थानको अभूतपूर्व प्रगति, बीमाशुल्क ४.२ गुणा बढ्दा बचत ६६६ प्रतिशतले वृद्धि
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा अभूतपूर्व प्रगति हासिल गरेको छ । संस्थानले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद बीमाशुल्क ४.२ गुणा र अन्य आयहरुमा समेत उल्लेख्य प्रगति गर्दा बचत रकममा ६६६ प्रतिशतको सुधार देखिएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा संस्थानले ७८ करोड रुपैंया मात्रै बीमाशुल्क संकलन गरेको थियो, यो आकार यो वर्ष बढेर ४ अर्ब ९ करोड रुपैंया पुगेको छ । त्यस्तै लगानीबाट प्राप्त हुने आयलाई ३६ करोड ६६ लाखबाट सुधार गरी ४५ करोड २७ लाख पुर्याएको हो । अघिल्लो वर्षको न्यून आय र अधिक व्ययका कारण ४८ करोड ८६ लाख रुपैंयामा सीमित रहेको बचतको आकारलाई संस्थानले आय विस्तार र खर्च नियन्त्रणमार्फत् ३ अर्ब ७४ करोड रुपैंया पुर्याउन सफल भएको हो । पछिल्लो समय राष्ट्रिय बीमा संस्थानले नयाँ प्रविधि र पहुँचलाई विस्तार गर्दै आक्रामक व्यवसाय विस्तारको रणनीतिका साथ अघि बढिरहेको छ । सोही रणनीतिको नतिजा वित्तीय सूचकहरुमा समेत देखिन थालेको हो ।
युनिग्लोव कलेजद्वारा कर्पोरेट प्लेसमेन्ट मेला आयोजना
काठमाडौं। नयाँ बानेश्वर स्थित युनिग्लोव कलेजमा शक्रवारको दिन विभिन्न संघ संस्थाहरुको उपस्थितीमा कर्पोरेट प्लेसमेन्ट मेला सम्मन्न भएको छ । कार्यक्रममा व्यवस्थापन संकायका एम.वि.ए (फाइनान्स), एम.वि.ए., वि.वि.ए. र वि.वि.ए–विआई कार्यक्रमका भर्खरै उत्तिर्ण भएका छात्र छात्राहरु गरी १०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा स्टाण्डर्ड चार्टड बैंक, एनआइसी एशिया बैंक, शंकर ग्रुप, कान्तिपुर मिडिया ग्रुप, मोरङ्ग अटोवर्कस, सानिमा लाईफ इन्सुरेन्स, सिटिजन लाईफ इन्सुरेन्स, शिखर अर्गनाइजेशन, सिप्रदि टेडिङ्ग, गोल्यान ग्रुप, एनआइसी एशिया क्यापिटल, ई–शेवा, होङ्गफु कम्युनिकेशन, मिरा वायोटेक, ओदत फुड्स एण्ड वेभरेज, क्लाशिकटेक, ओयो रुम्स, ओप्पो मोवाईल, स्किल बेस्ट, सिई कन्सट्रक्सन लगायत २१ वटा विभिन्न क्षेत्रका कम्पनिहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घाटनमा युनिग्लोव कलेजका प्रबन्ध निर्देशक तथा प्राचार्य डा.नर बहादुर विष्टले युनिग्लोव कलेजका विद्यार्थीहरुले व्यवस्थापन अध्ययनसँग सँगै बजारको माग बमोजिम बहुआयामिक शिक्षा हासिल गरेकाले यस्तो अवसरले उनीहरुलाई आफ्नो गन्तव्यमा पु¥याउनको लागि विशेष सहयोग हुने बताए । साथै कलेजका शैक्षिक निर्देशक प्रा.डा.राधेश्याम प्रधानले यस्ता कार्यक्रमले विद्यार्थीहरुको भविष्य उज्वल बनाउने बताउदै युनिग्लोव कलेजका विद्यार्थीहरुको गुणस्तर र क्षमतामा अव्वल हुने बताए । कलेजका प्रचार्य डा. विष्टका अनुसार युनिग्लोव कलेजबाट अध्ययन पश्चात् विद्यार्थीहरुले बढीमा दुई देखि तीन महिना भित्रमा आफुले रोजेको र खोजेको क्षेत्र तथा स्थानमा रोजगार प्राप्त गरेको बताउनु भयो । साथै युनिग्लोवका ग्राजुएट विद्यार्थीहरु मध्य कम्तीमा दश प्रतिशतले आफ्नै व्यापार, व्यवसाय सुरु गर्ने गरेको बताए । कार्यक्रममा सहभागि अधिकांश कम्पिनीहरुले उक्त कार्यक्रममै अन्तरवार्ता पश्चात् केही विद्यार्थीहरुलाई नियुक्ति पत्र समेत दिएकाे थियाे ।
३३ करोड बढी विद्युत महसुल उठाउन बाँकी,लाइन काट्न केन्द्रका प्रमुखलाई निर्देशन
अत्तरिया । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले रु ३३ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी रहेको छ । कार्यालयले दिएको जानकारीअनुसार गत आव २०७५/७६ सम्मको मात्रै रु ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहेको हो । प्रदेशमा सडक बत्तीबापत रु नौ करोड ४८ लाख २० हजार, गैरव्यापारिक रु एक करोड ६८ लाख २२ हजार, कालोसूचीमा राखिएका ग्राहकबाट रु एक करोड ३८ लाख ४७ हजार र अन्य ग्राहकबाट रु २० करोड ५२ लाख १० हजार गरी रु ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । उक्त बक्यौता रकम कार्यालय मातहतका ११ वटा वितरण केन्द्रको नाममा देखिएको जनाइएको छ । वितरण केन्द्रका नाममा ठूलो रकम बक्यौता देखिएपछि अत्तरियाका प्रमुख शतीशकुमार कर्णले सम्बन्धित ग्राहकको लाइन काट्न केन्द्रका प्रमुखहरूलाई निर्देशन दिएको बताएका छन् । महसुल नतिर्ने ग्राहकको लाइन काट्न केन्द्र प्रमुखहरूलाई निर्देशन दिइसकिएकाले बक्यौता रकम सङ्कलन हुने अपेक्षा लिइएको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला प्राधिकरणको ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । यससँगै १२ वटा विद्युत् वितरण केन्द्र स्थापना गरिएको प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख कर्णको भनाइ छ । रासस
धनगढी विमानस्थलमा उडान आंशिक रुपमा बन्द हुने
कैलाली । कैलालीको धनगढी विमानस्थलमा मङ्सिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने भएका छन् । धावनमार्गको मर्मतसम्भार र स्तरवृद्धिको काम बाँकी रहेकाले सो कामलाई निरन्तरता दिन आजबाट दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म एक महिनाका लागि उडान आंशिक रुपमा बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिएका छन्। गत जेठमा एक हजार ८०० मिटरमध्ये ४२० मिटर धावनमार्गमा कालोपत्र र पार्किङ क्षेत्रको काम बाँकी रहेकाले विमानस्थलको स्तेरोन्नतिका लागि आंशिक उडान मात्रै गरिने विमानस्थल प्रमुख बुढथापाले बताए । विमानस्थल बन्द हुने भएपछि धनगढीबाट काठमाडौँका लागि हुने दैनिक उडान प्रभावित हुने भएका छन् । विमानस्थल कार्यालयले दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म हुने उडानहरु अन्य समयमा गर्न विमान कम्पनीलाई आग्रह गरेको बताइएको छ । त्रिभुवन विमानस्थलपछिको सबैभन्दा ठूलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावनमार्ग र पार्किङ क्षेत्र विस्तारका लागि एक वर्षको अवधि तोकेर ठेक्का सम्झौता भएको बताइएको छ । रासस
भृकुटीमण्डपमा तेस्रो ‘बैंकिङ एक्स्पो’ शुरु, लगानीकर्तालाई लगानी सम्बन्धि जानकारी दिने
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आइतबारदेखि ‘बैंकिङ एक्स्पो २०१९’ शुरु भएको छ । उक्त एक्स्पोको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गरेका हुन् । तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा गभर्नर डा नेपालले लगानीको सम्भावना र बजार सुनिश्चित हुँदाहुँदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य भएको धारणा राखेका छन् । वैदेशिक विभागको पछिल्लो तथ्याङ्कमा विश्वका ८४ देशमा झन्डै ५० लाख युवा वैदेशिक श्रममा रहेको उल्लेख छ । रोजगारमा रहेका अधिकांश नेपाली युवामार्फत नेपालमा वार्षिक करिब आठ खर्ब विप्रेषण रेमिट्यान्स भित्रने गरेको छ । वित्तीय चेतना अभिवृद्धि पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बैंक, बीमा र लघुवित्त संस्थाका गरी कूल ४८ अवलोकन तथा परामर्श कक्ष समावेश गरिएको छ । प्रदर्शनी कक्षमा रहेका परामर्श दाताले अवलोकनकर्तालाई आ-आफ्ना वित्तीय संस्थाको लगानीको क्षेत्र, सम्भावना र चुनौतीका बारेमा जानकारी दिने आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले बताए । बैंक तथा वित्तीय क्षेत्रले गर्ने कामका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त एक्स्पो मंसिर २ गतेसम्म हुने छ । उक्त प्रदर्शनीमा बैंक, बीमा, नेपाल धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर्स सङ्घ तथा शेयर विज्ञहरुले लगानीकर्तालाई लगानीका सम्भावित क्षेत्रका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समितिको सहकार्य, नेपाल धितोपत्र बोर्डको साझेदारीमा उक्त एक्स्पोको आयोजना गरिएको हो । त्यस्तै, सहयोगी पार्टनरमा युवा स्वरोजगार कोष, नेपाल बैंकर्स एसोशियसन, नेपाल शैक्षिक परामर्श संघ, स्वसाईटी डेभलपमेन्ट लगायत डिजिटल बैंकिङ पार्टनरमा प्रभु पेको सहकार्यमा मिडिया इन्टरनेसनलले मेलाको आयोजना गरेको हो ।
३७ वटा नयाँ औषधि कम्पनी खुल्दै, हरेक कम्पनीमा २० देखि ४० कराेड लगानी हुँदै
काठमाडाैं । नेपाली बजारमा ३७ नयाँ औषधि उत्पादक कम्पनीले प्रवेश गर्ने भएका छन् । पछिल्लो दुई वर्षको अवधिमा औषधि व्यवस्था विभागमा ३७ नयाँ औषधि कम्पनी दर्ता भएका हुन् । २ वर्षयता विभागबाट ती औषधि कम्पनीले दर्ता अनुमति पत्र लिएको विभागले जानकारी दिएको छ । विभागमा दर्ता भएका कम्पनीहरूको लागत २० करोड देखि ४० करोड रुपैयाँसम्म रहेको छ । विभागका अनुसार दर्ता हुने कम्पनीहरुमा नेपाल आयुर्वेद, राजदेवी फर्मास्यूटिकल्स प्राईभेट लिमिटेड, पोखरा फर्मास्यूटिकल्स प्राईभेट लिमिटेड, लाईका फर्मास्यूटिकल्स, टिजिग फर्माप्राईभेट लिमिटेड लगायत रहेका छन् ।यी कम्पनीहरुको मध्ये धेरै बजारमा आउनको तयारीमा रहेको विभागका फार्मेसी अधिकृत विवेक गौतमले बताए । उनीहरू उत्पादनको तयारीमा पुगेका छन्,’ उनले भने । हाल नेपाली बजारमा ५९ वटा नेपाली औषधि कम्पनी छन् भने ३७० वटा विदेशी कम्पनीका औषधि बिक्री भइरहेका छन् । विदेशी कम्पनीका औषधिमध्ये भारतीय कम्पनीको ठूलो बजार हिस्सा रहेको छ । बजारमा नयाँ कम्पनी आएपनि ठूलाे असर नपर्ने देउराली जनता फर्मास्यूटिकल्सका प्रवन्ध निर्देशक हरिभक्त शर्माले बताए । ‘औषधिकाे बजारमा धेरै समस्या छन् । सरकारले भएका औषधि कम्पनीलाई समेत नियमन गर्न सकेको छैन,’ उनले भने ‘यस्तो अवस्था नयाँ कम्पनीको आउनुको कुनै औचित्य रहँदैन । के कसरी कस्ता औषधि उत्पादन हुने हो, ती औषधिको माग बजारमा कस्तो छ यसको वारेमा नियामक निकायको ध्यान जानु पर्ने उनले बताए । नेपाल औषधी उत्पादक संघका प्रवक्ता विप्लप अधिकारी भन्छन्, ‘सरकारले दुई वर्षभित्र नेपाललाई औषधी उत्पादनमा आत्मानिर्भर बनाउँछु भन्दै गर्दा नितिमा भने कार्यनयन गर्न सकेको छैन । नेपालमै उत्पादन हुने औषधीहरुको विदेशी आयत नरोकेसम्म नयाँ औषधी कम्पनीलहरुले राम्रो स्थान पाउँदैनन् ।’
लक्ष्मी बैंकको डिबेञ्चर बाँडफाँड, १०% ब्याजदर, २०८६ मा परिपक्व हुने
काठमाडौं । लक्ष्मी बैंकले जारी गरेको डिबेञ्चर बाँडफाँड भएको छ । बैंक निष्कासन गरेको २ अर्ब रुपैंया बराबरको १०% लक्ष्मी बैंक डिबेन्चर आइतबार बाँडफाँड गरिएको हो । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शतप्रतिशत आवेदन प्राप्त भएको थियो । आइतबार बिहान लक्ष्मी बैंक लिमिटेडको केन्द्रिय कार्यालय हात्तीसारमा एक कार्यक्रमका बीच सो बाँडफाँड सम्पन्न भएको थियो । कार्यक्रमा दुवै कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कूल निष्कासित २०,००,००० कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९,९९६ कित्ता र प्राइभेट प्लेसमेन्ट तर्फ २३ जना आवेदकलाई माग भएको थियो । यो ऋणपत्रका लगानीकर्ताले वार्षिक १० प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्नेछन् । सो ऋणपत्र २०८६ मा परिपक्व हुनेछ । लक्ष्मी बैंक सन् २००२ मा स्थापना भइको ‘क’ वर्गका वित्तीय संस्था हो । बैंकले आफ्ना शाखा एवं आईटी च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका नेपाल अधिराज्यभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
सवस्टेशनको क्षमता विस्तारसँगै विद्युत कटौतीको समस्या हट्यो
गलकोट । बागलुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या समाधान भएको छ । देशमा लोडसेडिङको अन्त्य भएको दुई वर्षभन्दा बढी बित्दासमेत बागलुङमा अनियमित विद्युत् आपूर्ति हुँदा जनता हैरान भएको सन्दर्भमा सवस्टेशनको क्षमता विस्तारसँगै समस्या समाधान भएको हो । विद्युत्को मागभन्दा सवस्टेशनको भारवाहन क्षमता कम भएका कारण अनियमित विद्युत् कटौतीको समस्या भोग्दै आएका बागलुङवासीलाई सवस्टेशनमा रहेको ट्रान्सफर्मरको क्षमता विस्तार गरेसँगै समस्या हटेर गएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बागलुङमा विद्युतको मागअनुुसार सवस्टेशनले आपूर्ति गर्न नसक्दा अनियमित रूपमा विद्युत् कटौती हुने समस्या भएको भन्दै बागलुङ जिल्लालाई विद्युत् आपूर्ति गर्दै आएको बागलुङ नगरपालिका–१ रामरेखामा रहेको ३३÷११ केभी क्षमता रहेको सवस्टेशनको क्षमता वृद्धि गरिएको वितरण केन्द्रका प्रमुख इञ्जिनीयर शिवनारायण गोशलीले जानकारी दिएका छन् । “हामीले यही शुक्रबारबाट लागू गर्ने गरी सवस्टेशनको क्षमता थप गरेका छौँ”, गोशलीले भने, “क्षमता थप गरेसँगै अनियमित विद्युत् कटौतीको समस्या हटेर जानेछ ।” छ एमभीए क्षमताको सवस्टेशनलाई क्षमता विकास गरी ११ एमभीए क्षमताको बनाइएको वितरण केन्द्रले जनाएको छ । सवस्टेशनको क्षमता विस्तार गरेसँगै बागलुङ जिल्लाको विद्युत् मागलाई पर्याप्त रूपमा धान्ने केन्द्र प्रमुख गोशलीले बताए । विद्युत् मागलाई ध्यानमा राखेर गलकोटको हरिचौरमा ३३÷११ केभी तीन एमभीए क्षमताको सवस्टेशनसमेत सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ । यससँगै बागलुङ जिल्लामा १४ एमभीए सवस्टेशनको क्षमता पुगेको छ । बागलुङमा चार एमभीए बराबरको विद्युत् माग रहेको छ । पर्याप्त विद्युत् आपूर्ति हुँदासमेत पर्याप्त सवस्टेशनको क्षमता नहुँदा बढी विद्युत् खपत हुने समय साँझ र बिहान विद्युत् अनियमित रूपमा कटौती हुँदै आएका कारण प्राधिरकणले सवस्टेशनको क्षमता वृद्धि गरेको हो । रासस