विकासन्युज

अन्ना हजारेले शुरु गरे अनशन, लोकपाल विधेयक कार्यान्वयन गर्न माग

रलेगण सिद्धी, भारत । भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गरेका छन् । केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले अनशन सुरु गरेका हुन् । भ्रष्टाचार विरुद्धका काम गर्न मोदी नेतृत्वको सरकार असफल भएको भन्दै उनले स्वतन्त्र लोकपाल र लोकायुक्त नियुक्त गर्नुपर्ने माग गरेका छन् । “कुनै सर्वसाधारणले प्रमाणसहित उजुरी दियो भने लोकपालले प्रधानमन्त्रीलाई पनि छानबिन गर्न सक्दछ, त्यसैगरी लोकायुक्तले मुख्यमन्त्री, अन्य मन्त्रीहरु र प्रदेश सभाका सांसदहरुलाई पनि छानविन गर्न सक्छ,” आफ्नै गाउँमा अनसन शुरु गर्नुअघि उनले भने । आफूमाथि नै छानबिन गर्ने भएकाले उनीहरुले यस्तो व्यवस्था गराउन नचाहेको उनको आरोप छ । उनले यस्तो व्यवस्था कुनैपनि पार्टीको चाहनामा नपरेको बताए । लोकपाल विधेयक सन् २०१३ मा नै संसदले पारित गरिसकेको भएपनि सरकारले अहिलेसम्म त्यसमा भएको व्यवस्था अनुसार लोकपाल र लोकायुक्त नियुक्त नगरेकाले फेरि अनसनमा बस्नु परेको उनको भनाई छ । आफ्ना पूर्व समर्थकहरु, जो अहिले राजनीतिमा छन्, उनीहरुले पनि अनसनमा साथ दिन सक्ने बताउँदै उनले भने, “हाम्रो मञ्चमा अब कुनै राजनीतिक नेताहरुलाई ठाउँ छैन ।” उनले थपे, “लोकपाललाई निषेध गर्नेगरी तीन दिन भित्रमा उनीहरुले अर्को कानुन पारित गरेका छन्, त्यसमा राष्ट्रपतिले पनि लालमोहर लगाइसक्नु भएको छ, तर पनि लोकपाल नियुक्त गरिएको छैन ।” “पाँच वर्षसम्म पनि उनीहरुले यस बारेमा केही गरेनन्, त्यसैले राजनीतिक नेताहरुलाई हाम्रो ठाउँमा आउन दिदैनौँ,” हजारेले भने । भारतमा शहीद दिवसको रुपमा समेत मनाइने महात्मा गान्धीको स्मृति दिवस जनवरी ३० को दिन पारेर आफूले अनसन सुरु गरेको पनि उनले बताए । रासस/एएनआई

स्मार्ट टेलिकमले दिन थाल्यो इजिलोन

काठमाडौं  । स्मार्ट टेलिकम कम्पनीले हालै इजिलोन अफर प्रस्तुत गरेको छ । यससँगै स्मार्टका ग्राहकहरुले आफ्नो ब्यालेन्स रु.१ वा सो भन्दा कम भएको अवस्थामा डायल गरी रु. १० को व्यालेन्स प्राप्त हुनेछ । ग्राहकले फोन गर्न, एस एम एस पठाउन, मोबाइल डाटाको प्रयोग गरी इन्टरनेट चलाउन साथै लोन लिइएको रकम र सेवा शुल्क भने अर्को पटकको रिचार्जमा कट्टा गर्ने व्यवस्था रहेको छ । ग्राहकले रिचार्ज नगरेको खण्डमा पनि आगमन कलहरु सुचारु हुने छन् तर पुन : लोन लिनभने सकिने छैन । यो सेवा  लिन स्मार्टको सिमकार्ड ६ महिना प्रयोग गरिएको हुनु पर्ने छ । यसै गरी स्मार्टका ग्राहकहरुले नेट टिभि डाउनलोड गरी लग इनमा आफ्नो मोबाइल नम्बरलाई प्रयोग गरी न्यूनतम शूल्कमा नेट टिभिमा उपलब्ध हुने प्रिमियम च्यानलहरु हेर्न सकिने सुविधा पनि प्रस्तुत गरेको छ । यस अन्तर्गत ग्राहकले साप्ताहिक सदस्यताको लागि रु. २९, १४ दिनको लागि रु ५२ तथा एक महिना(३० दिन) को लागि रु ८७ तिरी नेट टिभिको सुविधा रहेको छ ।

पारस शाहको स्वास्थ्य स्थिती सुधारोन्मुख : नर्भिक अस्पताल

काठमाडौं। नर्भिक अस्पतालले बुधबार जारी गरेको सुचना अनुसार पुर्व युवराज पारस विक्रम शाहको स्वास्थ्य स्थित सुधारोन्मुख र स्थिर रहेको छ। सोमबार साँझ पूर्व युवराज पारस विक्रम शाहलाई तेस्रो पटक हृदयाघाट भएको थियो। मुटुको धमनी बन्द भएको अवस्थामा नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगेको शाहको उपचार गरि धमनी सुचारु भएको सो अस्पतालले जनाएको थियो।

चीन-अमेरिका व्यापार वार्ता वासिङ्टनमा, गतिरोधबीच भएको वार्ताले के देला निश्कर्ष ?

वासिङ्टन । चीन र संयुक्तराज्य अमेरिकाबीच दोस्रो चरणको व्यापार वार्ता बुधबार वासिङ्टन डिसीमा शुरु भएको छ । अमेरिकाले चिनियाँ विशाल टेलिकम कम्पनी हुवावे विरुद्ध दुई दर्जनभन्दा बढी फौजदारी अभियोग लगाएपछि उत्पन्न गतिरोधबीच वार्ता शुरु भएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिका उच्च प्रविधि उद्योगको भविष्यलाई लिएर सङ्घर्षरत रहेको अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले बताए । उनी वार्तामा अमेरिकी प्रमुख मध्यस्थकर्ता हुन् । तीन वर्षअघि बेइजिङले महत्वाकाँक्षी “मेड इन चाइना २०२५” कार्यक्रम सार्वजनिक गरेको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य नै चीनलाई अन्तरिक्ष, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, नयाँ पुस्ताको कार तथा अरु क्षेत्रमा अग्रणी स्थानमा पुर्याउने थियो । अमेरिकी अधिकारीहरुका अनुसार यी क्षेत्रहरुमा अमेरिकी प्रविधि र खोजको मुख्य हिस्सा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक आफू स्वस्थ चिनीया अर्थतन्त्रको पक्षमा रहेको बताउँदै आउनुभएको छ, तर त्यो अमेरिकी व्यवसाय र प्रविधिको बदलामा होइन । खासगरी, अमेरिकी अधिकारीहरुले चिनियाँ व्यापारिक अभ्यासमाथि आक्रमण गरिरहेका छन् । उनीहरुको भनार्इमा चीनको व्यापार अभ्यास अस्वच्छ रहेको छ । चीनले जबर्जस्ती अमेरिकी प्रविधि हस्तान्तरण गरेको र बौद्धिक चोरी गरेको अमेरिकी अधिकारीहरुको भनाइ छ । चीनले अमेरिकी कम्पनीलाई चीनमा व्यवसाय गर्न चिनीया कम्पनीसँग साझेदारी गर्नैपर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने गरेको छ । बेइजिङमाथि दबाब सिर्जना गर्न ह्वाइट हाउसले २५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करवृद्धि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको वार्तामा सहमति नभए आगामी मार्च २ तारिखदेखि २०० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेका छन् । बेइजिङले पनि करिब ११० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औद्योगिक राष्ट्रहरुको समूह जी–२० को ब्युनस आयर्समा भएको बैठकका क्रममा तीन महिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो । उक्त सहमति बमोजिम तीन महिनाभित्र वार्ता गरी दुई देशबीचका असमझदारी हल गर्ने र नयाँ व्यापार सम्झौता गर्ने उद्देश्यले दुबै देशका उच्च अधिकारीहरुबीच वार्ता जारी छन् । यसअघि चीनको बेइजिङमा पहिलो चरणको प्रारम्भिक वार्ता भइसकेको छ । उक्त वार्ताका विवरणहरु भने सार्वजनिक गरिएको छैन । रासस/एएफपी

४०% बोनस र २०% हकप्रद पछि उन्नति माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ४०.५० प्रतिशत बोनस र २० प्रतिशत हकप्रदपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०८.७२ रुपैयाँ छ । जसको आधार मूल्य प्रतिकित्ता ६५४.३६ रुपैयाँ रहेको थियो ।

दुई कम्पनीको कराेडाैँको सेयर काराेबार, सबैभन्दा बढी लगानी कोषको

काठमाडौं । बुधबारको बजारमा दुई कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन नागरिक लगानी कोष र अपर तामाकोशीको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । लगानी कोषकोे २ करोड ३० लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २७१७ रुपैयाँ रहेको छ । त्यस्तै, अपर तामाकोशीको एक करोड ३६ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ४ रुपैयाँले घटेर प्रतिकित्ता २५६ रुपैयाँमा झरेको छ । बुधबारको बजारमा कुल १६८ कम्पनीको १९ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा बुधबारको नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ०.४० अंकले घटेर ११६०.५९ अंकमा अडिएको छ । सो दिन कुल ११ वटा समूहहरु कारोबारमा आएका छन् । सो मध्ये ५ वटा समूह उकालो लागेका छन् भने बाँकी ६ वटा समूह ओरालो लागेका छन् । उत्पादनमूलक समूह सबैभन्दा बढी ६३ अंकले घटेको छ भने होटल समूह ५.६९ अंकले बढेको छ । बजारमा उन्नति माईक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.१४ प्रतिशतले बढेको छ । उता सबैभन्दा बढी सिटी एक्स्प्रेस फाइनान्स कम्पनीको सेयर मूल्य ७.५२ प्रतिशतले घटेको छ ।

६ महिनामा ५ अर्ब ९५ कराेड रूपैयाँ बराबरकाे कृषि बीमा, बीमा शुल्क संकलन ४२% ले वृद्धि

काठमाडौ । बाली तथा पशुपन्छी बीमामा आकर्षण बढ्दै गएको छ । बीमा समितिका अनुसार बाली तथा पशुपन्छी बीमा गर्नेको संख्या बढ्दै गएको छ । उक्त बीमाकै लागि सरकारले ७५ प्रतिशत अनुदानको समेत व्यवस्था गरेको छ । चालु आर्थिक बर्षको ६ महिनामा ५ अर्ब ९५ करोड ५८ लाख ६० हजार ८ सय २५ रुपैयाँ बराबरकाे बाली तथा पशु बीमा भएकाे छ ।  यस्तै, सोही अवधिमा बीमा शुल्क भने २७ करोड ६० लाख ७ सय ४६ रुपैयाँ संकलन भएको छ । साथै, बीमा लेख संख्या ३५ हजार ५ सय ५५ पुगेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा मात्रै बाली तथा पशुपन्छी बीमाङ्क ४ अर्ब ६८ करोड ३० लाख ३९ हजार ६ सय १० रुपैयाँ थियो । दौश्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा ५ अर्ब ९५ करोड ५८ लाख ६० हजार ८ सय २५ रुपैयाँ बराबर बीमा भएकाे हाे । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ७५ लाख ५० हजार ६ सय ९७ रुपैयाँ बीमा शुल्क संकलन भएको थियो भने दोश्रो त्रैमास पुस मसान्त सम्ममा २७ करोड ६० लाख ७ सय ४६ रुपैयाँ संकलन भएको बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेछ छ । साथै, पहिलो त्रैमासमा बीमालेख संख्या २७ हजार ८ सय १४ रहेको थियो भने दोस्रो त्रैमाससम्म आइपुग्दा वृद्धि भएर ३५ हजार ५ सय ५५ पुगेको छ ।  पछिल्लो समय देशैभर बीमाका कार्यक्रम सञ्चालन भएकाे,  बीमाको आधारभूत ज्ञान पाउनेहरुले बीमामा सहभागी हुन इच्छुक देखिएकाे बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ  बताउँछन् । तल्लाे तहमा बीमाकाे लाभबारे जानकारी पुग्न थालेकाेले कृषि बीमामा समेत पर्न थालेकाे र पशु तथा बाली धन बीमाको प्रिमियम ४२ प्रतिशतले बढेको उनले जानकारी दिए । अध्यक्ष चापागाईँले बीमामा विश्वास रहेको र बीमाप्रति सकारात्मक धारणा फैलदै गएको तर्क गरे । चालु आर्थिक बर्षको सुरुवातमा बीमा समितिले लघु बीमा निर्देशिका जारी गरेको थियो । यसरी निर्देशिका जारी गरेपश्चात बीमाका कार्यक्रममा सहभागिता बढ्दै गएको समितिको बुझाई रहेको छ । सरकारले पनि कृषि तथा पशुधन बाली बीमा गर्दा लाग्ने बीमा शुल्कमा ७५ प्रतिशत अनुदान  दिदै अाएकाे छ ।

गृहमन्त्री थापा र चिनिया राजदुतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चीनका नवनियुक्त राजदुत होउ यान्छीबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो । नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने बताए । भेटमा गृहमन्त्री थापाले राजदुत यान्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै कार्यकालमा नेपाल र चीनबीचको सम्बन्धले थप उचाई लिने विश्वास रहेको जानकारी दिए । भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका थिए । भेटमा राजदूत यान्छीले आफ्नो कार्यकालमा नेपाल चीनबीच सम्बन्ध थप उचाईमा पुर्याउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।