भृकुटीमण्डपमा तेस्रो ‘बैंकिङ एक्स्पो’ शुरु, लगानीकर्तालाई लगानी सम्बन्धि जानकारी दिने
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आइतबारदेखि ‘बैंकिङ एक्स्पो २०१९’ शुरु भएको छ । उक्त एक्स्पोको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गरेका हुन् । तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा गभर्नर डा नेपालले लगानीको सम्भावना र बजार सुनिश्चित हुँदाहुँदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य भएको धारणा राखेका छन् । वैदेशिक विभागको पछिल्लो तथ्याङ्कमा विश्वका ८४ देशमा झन्डै ५० लाख युवा वैदेशिक श्रममा रहेको उल्लेख छ । रोजगारमा रहेका अधिकांश नेपाली युवामार्फत नेपालमा वार्षिक करिब आठ खर्ब विप्रेषण रेमिट्यान्स भित्रने गरेको छ । वित्तीय चेतना अभिवृद्धि पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बैंक, बीमा र लघुवित्त संस्थाका गरी कूल ४८ अवलोकन तथा परामर्श कक्ष समावेश गरिएको छ । प्रदर्शनी कक्षमा रहेका परामर्श दाताले अवलोकनकर्तालाई आ-आफ्ना वित्तीय संस्थाको लगानीको क्षेत्र, सम्भावना र चुनौतीका बारेमा जानकारी दिने आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले बताए । बैंक तथा वित्तीय क्षेत्रले गर्ने कामका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त एक्स्पो मंसिर २ गतेसम्म हुने छ । उक्त प्रदर्शनीमा बैंक, बीमा, नेपाल धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर्स सङ्घ तथा शेयर विज्ञहरुले लगानीकर्तालाई लगानीका सम्भावित क्षेत्रका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समितिको सहकार्य, नेपाल धितोपत्र बोर्डको साझेदारीमा उक्त एक्स्पोको आयोजना गरिएको हो । त्यस्तै, सहयोगी पार्टनरमा युवा स्वरोजगार कोष, नेपाल बैंकर्स एसोशियसन, नेपाल शैक्षिक परामर्श संघ, स्वसाईटी डेभलपमेन्ट लगायत डिजिटल बैंकिङ पार्टनरमा प्रभु पेको सहकार्यमा मिडिया इन्टरनेसनलले मेलाको आयोजना गरेको हो ।
३७ वटा नयाँ औषधि कम्पनी खुल्दै, हरेक कम्पनीमा २० देखि ४० कराेड लगानी हुँदै
काठमाडाैं । नेपाली बजारमा ३७ नयाँ औषधि उत्पादक कम्पनीले प्रवेश गर्ने भएका छन् । पछिल्लो दुई वर्षको अवधिमा औषधि व्यवस्था विभागमा ३७ नयाँ औषधि कम्पनी दर्ता भएका हुन् । २ वर्षयता विभागबाट ती औषधि कम्पनीले दर्ता अनुमति पत्र लिएको विभागले जानकारी दिएको छ । विभागमा दर्ता भएका कम्पनीहरूको लागत २० करोड देखि ४० करोड रुपैयाँसम्म रहेको छ । विभागका अनुसार दर्ता हुने कम्पनीहरुमा नेपाल आयुर्वेद, राजदेवी फर्मास्यूटिकल्स प्राईभेट लिमिटेड, पोखरा फर्मास्यूटिकल्स प्राईभेट लिमिटेड, लाईका फर्मास्यूटिकल्स, टिजिग फर्माप्राईभेट लिमिटेड लगायत रहेका छन् ।यी कम्पनीहरुको मध्ये धेरै बजारमा आउनको तयारीमा रहेको विभागका फार्मेसी अधिकृत विवेक गौतमले बताए । उनीहरू उत्पादनको तयारीमा पुगेका छन्,’ उनले भने । हाल नेपाली बजारमा ५९ वटा नेपाली औषधि कम्पनी छन् भने ३७० वटा विदेशी कम्पनीका औषधि बिक्री भइरहेका छन् । विदेशी कम्पनीका औषधिमध्ये भारतीय कम्पनीको ठूलो बजार हिस्सा रहेको छ । बजारमा नयाँ कम्पनी आएपनि ठूलाे असर नपर्ने देउराली जनता फर्मास्यूटिकल्सका प्रवन्ध निर्देशक हरिभक्त शर्माले बताए । ‘औषधिकाे बजारमा धेरै समस्या छन् । सरकारले भएका औषधि कम्पनीलाई समेत नियमन गर्न सकेको छैन,’ उनले भने ‘यस्तो अवस्था नयाँ कम्पनीको आउनुको कुनै औचित्य रहँदैन । के कसरी कस्ता औषधि उत्पादन हुने हो, ती औषधिको माग बजारमा कस्तो छ यसको वारेमा नियामक निकायको ध्यान जानु पर्ने उनले बताए । नेपाल औषधी उत्पादक संघका प्रवक्ता विप्लप अधिकारी भन्छन्, ‘सरकारले दुई वर्षभित्र नेपाललाई औषधी उत्पादनमा आत्मानिर्भर बनाउँछु भन्दै गर्दा नितिमा भने कार्यनयन गर्न सकेको छैन । नेपालमै उत्पादन हुने औषधीहरुको विदेशी आयत नरोकेसम्म नयाँ औषधी कम्पनीलहरुले राम्रो स्थान पाउँदैनन् ।’
लक्ष्मी बैंकको डिबेञ्चर बाँडफाँड, १०% ब्याजदर, २०८६ मा परिपक्व हुने
काठमाडौं । लक्ष्मी बैंकले जारी गरेको डिबेञ्चर बाँडफाँड भएको छ । बैंक निष्कासन गरेको २ अर्ब रुपैंया बराबरको १०% लक्ष्मी बैंक डिबेन्चर आइतबार बाँडफाँड गरिएको हो । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शतप्रतिशत आवेदन प्राप्त भएको थियो । आइतबार बिहान लक्ष्मी बैंक लिमिटेडको केन्द्रिय कार्यालय हात्तीसारमा एक कार्यक्रमका बीच सो बाँडफाँड सम्पन्न भएको थियो । कार्यक्रमा दुवै कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कूल निष्कासित २०,००,००० कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९,९९६ कित्ता र प्राइभेट प्लेसमेन्ट तर्फ २३ जना आवेदकलाई माग भएको थियो । यो ऋणपत्रका लगानीकर्ताले वार्षिक १० प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्नेछन् । सो ऋणपत्र २०८६ मा परिपक्व हुनेछ । लक्ष्मी बैंक सन् २००२ मा स्थापना भइको ‘क’ वर्गका वित्तीय संस्था हो । बैंकले आफ्ना शाखा एवं आईटी च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका नेपाल अधिराज्यभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
सवस्टेशनको क्षमता विस्तारसँगै विद्युत कटौतीको समस्या हट्यो
गलकोट । बागलुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या समाधान भएको छ । देशमा लोडसेडिङको अन्त्य भएको दुई वर्षभन्दा बढी बित्दासमेत बागलुङमा अनियमित विद्युत् आपूर्ति हुँदा जनता हैरान भएको सन्दर्भमा सवस्टेशनको क्षमता विस्तारसँगै समस्या समाधान भएको हो । विद्युत्को मागभन्दा सवस्टेशनको भारवाहन क्षमता कम भएका कारण अनियमित विद्युत् कटौतीको समस्या भोग्दै आएका बागलुङवासीलाई सवस्टेशनमा रहेको ट्रान्सफर्मरको क्षमता विस्तार गरेसँगै समस्या हटेर गएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बागलुङमा विद्युतको मागअनुुसार सवस्टेशनले आपूर्ति गर्न नसक्दा अनियमित रूपमा विद्युत् कटौती हुने समस्या भएको भन्दै बागलुङ जिल्लालाई विद्युत् आपूर्ति गर्दै आएको बागलुङ नगरपालिका–१ रामरेखामा रहेको ३३÷११ केभी क्षमता रहेको सवस्टेशनको क्षमता वृद्धि गरिएको वितरण केन्द्रका प्रमुख इञ्जिनीयर शिवनारायण गोशलीले जानकारी दिएका छन् । “हामीले यही शुक्रबारबाट लागू गर्ने गरी सवस्टेशनको क्षमता थप गरेका छौँ”, गोशलीले भने, “क्षमता थप गरेसँगै अनियमित विद्युत् कटौतीको समस्या हटेर जानेछ ।” छ एमभीए क्षमताको सवस्टेशनलाई क्षमता विकास गरी ११ एमभीए क्षमताको बनाइएको वितरण केन्द्रले जनाएको छ । सवस्टेशनको क्षमता विस्तार गरेसँगै बागलुङ जिल्लाको विद्युत् मागलाई पर्याप्त रूपमा धान्ने केन्द्र प्रमुख गोशलीले बताए । विद्युत् मागलाई ध्यानमा राखेर गलकोटको हरिचौरमा ३३÷११ केभी तीन एमभीए क्षमताको सवस्टेशनसमेत सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ । यससँगै बागलुङ जिल्लामा १४ एमभीए सवस्टेशनको क्षमता पुगेको छ । बागलुङमा चार एमभीए बराबरको विद्युत् माग रहेको छ । पर्याप्त विद्युत् आपूर्ति हुँदासमेत पर्याप्त सवस्टेशनको क्षमता नहुँदा बढी विद्युत् खपत हुने समय साँझ र बिहान विद्युत् अनियमित रूपमा कटौती हुँदै आएका कारण प्राधिरकणले सवस्टेशनको क्षमता वृद्धि गरेको हो । रासस
नेपालमा गुड्ने चर्चित १० कार, जसको मूल्य १ करोडदेखि ५ करोड पर्छ
काठमाडाैं । आजको समयमा विश्व प्रख्यात विभिन्न कार ब्राण्डहरुले आफ्ना उत्पादनहरुलाई नेपालमा बिक्री वितरण गर्दै आइरहेका छन् । यहाँका सडकमा कम मूल्यका कारहरुको संख्या मात्र बढेको छैन कि, धेरै मूल्य पर्ने लक्जरियस कारहरु पनि छ्याप्छ्याप्ती देखिन थालेका छन् । आज हामी नेपालमा हाल उपलब्ध भइरहेका एक करोड रुपैयाँ मूल्य देखि लिएर ५ करोड रुपैयाँ मूल्य सम्मका चर्चित कारहरुको बारेमा चर्चा गर्न गइरहेका छौं । भक्सवागन टिगुवान टिगुवानमा १९६८ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १४१ बीएचपीको पावर र ३४० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ७–स्पिड अटोमेटिक ट्रान्समिशन दिइएको यस सीयूभीले १७.०६ केएमपीएलको माइलेज प्रदान गर्दछ । टिगुवानमा ७१ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको छ भने यस कारको लम्वाई ४४८६ मिलिमिटर, उचाई १६७२ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १४९ मिलिमिटर रहेको छ ।जर्मन अटोमेकर कम्पनी भक्सवागनको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टर्नेशनल प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस कारको सुरुवाती मूल्य एक करोड ११ लाख रुपैयाँ तोकेको छ । जिप कम्पास ट्रेलहक जिप कम्पास ट्रेलहकमा १९५६ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १७० एचपीको पावर र ३५० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ९–स्पिड अटोमेटिक ट्रान्समिशन दिइएको यस एसयूभीले १६.३ केएमपीएलको माइलेज प्रदान गर्दछ । कम्पास ट्रेलहकमा ६० लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको छ भने यस कारको लम्बाई ४३९८ मिलिमिटर, उचाई १६५७ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ २०५ मिलिमिटर रहेको छ ।अमेरिकन अटोमेकर कम्पनी जीपको नेपालका लागि आधिकारिक बिक्रेता लाईफ अटोमोवाइल प्रा.लि. रहेको छ भने कम्पनीले नेपालमा यस कारलाई सुरुवाती मूल्य एक करोड २४ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । निशान एक्स–ट्रेल निशान एक्स–ट्रेलमा १९९७ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १०६ पीएसको पावर र २०० एनएमको टर्क प्रोड्युस गर्दछ । यस सीयूभीमा ६० लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको छ भने यस कारको लम्बाई ४६४० मिलिमिटर, उचाई १७१० मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ २१० मिलिमिटरको रहेको छ ।नेपालका लागि निशानको आधिकारीक बिक्रेता पायनियर मोटोकर्प प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस कारको मूल्य एक करोड २४ लाख ९९ हजार तोकेको छ । प्युजो ३००८ प्युजो ३००८ मा १५९८ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १६५ बीएचपीको पावर र २४० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ६–स्पिड अटोमेटिक ट्रान्समिशन दिइएको यस एसयूभीको फ्युल ट्याङ्क क्यापासिटी ५३ लिटर रहेको छ । प्युजो ३००८ को लम्वाई ४४४७ मिलिमिटर, उचाई १६२४ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ २१९ मिलिमिटर रहेको छ । फ्रेन्च अटोमेकर कम्पनी प्युजो को नेपालका लागि आधिकारीक बिक्रेता सांग्रिला मोटर्स प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस एसयूभीको मूल्य एक करोड २९ लाख रुपैयाँ तोकेको छ । होण्डा सिआर–भि होण्डा सिआर–भि मा १९९७ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १५५ पीएसको पावर र १९० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ६–स्पिड अटोमेटिक ट्रान्समिशन दिइएको यस एसयूभी को फ्युल ट्याङ्क क्यापासिटी ५८ लिटर रहेको छ । यस कारको लम्वाई ४५४५ मिलिमिटर, उचाई १६८५ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटर रहेको छ । होण्डाको नेपालका लागि आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस एसयूभीलाई एक करोड ३३ लाख रुपैयाँ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ । इसुजु एमयु–एक्स एमयु–एक्स मा २९९९ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १७४ बीएचपीको पावर र ३८० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ५–स्पिड अटोमेटिक ट्रान्समिशन दिइएको यस एसयूभि ले १३.८० केएमपीएलको माइलेज प्रदान गर्दछ । एमयु–एक्स मा ६५ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको छ भने यसको लम्वाई ४८२५ मिलिमिटर, उचाई १८४० मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ २२० मिलिमिटर रहेको छ । इसुजुको नेपालका लागि आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस कारलाई एक करोड ४४ लाख ९० हजार रुपैयाँ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ । हुण्डाई स्यान्टा फी हुण्डाई स्यान्टा फी मा २१९९ सीसीको इञ्जिन समावेश गरिएको छ जसले २०० बीएचपीको पावर र ४४१ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ७ सिटर यस एसयूभीले १३.०१ केएमपीएलको माइलेज प्रदान गर्दछ । स्यान्टा फी मा ६४ लिटर फ्युल ट्याङ्कक क्यापासिटी रहेको छ भने यस कारको लम्वाई ४७७० मिलिमिटर, उचाई १६८० मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १८५ मिलिमिटर रहेको छ । हुण्डाईको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस कारको मूल्य एक करोड ४५ लाख ९५ हजार रुपैयाँ तोकेको छ । फोर्ड इन्डेभर फोर्ड इन्डेभर मा ३१९८ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १९७ बीएचपीको पावर र ४७० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ७ सिटर यस एसयूभीले १४.२ केएमपीएलको माइलेज प्रदान गर्दछ । इन्डेभरमा ८० लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको छ भने यस कारको लम्वाई ४९०३ मिलिमिटर, उचाई १८३७ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ २२५ मिलिमिटर रहेको छ ।फोर्डको नेपालका लागि आधिकारीक बिक्रेता गो अटोमोवाइल्स प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस कारलाई एक करोड ७५ लाख रुपैयाँ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ । टोयोटा ल्याण्ड क्रुजर प्राडो ल्याण्ड क्रुजर प्राडो मा २९८२ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १७१ बीएचपीको पावर र ४१० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस एसयूभीले ११.१३ केएमपीएलको माइलेज प्रदान गर्दछ । यस कारमा ८७ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको छ भने यसको लम्वाई ४८४० मिलिमिटर, उचाई १८८० मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ २२५ मिलिमिटर रहेको छ । जापनिज अटोमेकर कम्पनी टोयोटा को नेपालका लागि आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस कारलाई दुई करोड ५७ लाख रुपैयाँ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ । टोयोटा ल्याण्ड क्रुजर टोयोटा ल्याण्ड क्रुजरमा ४४६१ सीसीको इञ्जिन समावेश गरिएको छ जसले २६१ बीएचपीको पावर र ६५० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस एसयूभीले ११ केएमपीएलको माइलेज प्रदान गर्दछ । यस कारमा ९३ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको छ भने यसको लम्वाई ४९५० मिलिमिटर, उचाई १९१० मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ २२५ मिलिमिटर रहेको छ ।टोयोटाको नेपालका लागि आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि. ले नेपाली बजारमा यस कारको मूल्य चार करोड ९२ लाख रुपैयाँ तोकेको छ ।
साढे तीन करोड लागतमा डिप ट्युबवेल जडान
हेटौंडा । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साले रु तीन करोड ५० लाखको लागतमा यस वर्ष १७ वटा डिप ट्युबवेल जडान गरी विभिन्न स्थानमा सिँचाइ सुविधा पुर्याएको छ । प्रदेश नं २ सरकारको निःसर्त अनुदान कार्यक्रमअन्तर्गत बारा र पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा उक्त डिप ट्युबवेल निर्माण गरिएको कार्यालयको प्राविधिक शाखाले जनाएको हो । कार्यालयका अनुसार बाराका ११ र पर्साका छ स्थानमा डिप ट्युबवेल जडान गरिएको हो । उपभोक्ता समितिमार्फत गरिएको उक्त कार्यबाट ४२५ बिगाहा जमिन सिञ्चित भइरहेको बताइएको छ । ती डिप ट्युबवेल पर्साको वीरगञ्ज उपमहानगरपालिका–२, पोखरिया, बगही, निचुटा र धोवनीमा तथा बाराको फेटागाउँ, विश्रामपुर, पचरौता, गञ्जभवानीपुर, स्वर्ण गाउँपालिका, तेलकुवाँ र प्रष्टोकामा निर्माण गरिएको हो । एउटा डिप ट्युबवेलमा करिब रु २० लाख खर्च लाग्ने गरेको कार्यालयले जनाएको छ । रासस
एडिबीको सहुलियत ऋणमा छनाेट भए तीन अर्बका योजना
कञ्चनपुर । एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिमा रु तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन् । नगरपालिकामा पूर्वाधार निर्माण र संस्थागत सृदृढीकरणका लागि क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत विकास निर्माणका योजना कार्यान्वयनमा ल्याइन लागेको हो । नगरपालिकामा आयोजनाअन्तर्गत ढल विकास, शहरी सडक निर्माण र फोहर व्यवस्थापन प्रणाली सुधारका लागि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका योजना छनोट गरिएका छन् । आयोजनाअन्तर्गत भीमदत्तमा सञ्चालन हुने योजनामा तीन अर्ब रकम खर्च हुनेछ । शहरी सडक निर्माणअन्तर्गत ३६ दशमलव छ किलोमिटर नालीसहित पक्की सडक निर्माण हुने योजना छ । नगरपालिकामा शहरी सडकको ३६ दशमलव छ किलोमिटरमध्ये पहिलो चरणमा १३ दशमलव ८५ किलोमिटर सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्रका सबै गल्लीका सडक निर्माणका लागि गत महिना रु एक अर्ब ७६ करोडको ठेक्का आह्वान गरिएको थियो । सर्वदलीय सर्वपक्षीय बैठकमा आयोजनाअन्तर्गत छनोट गरिएका सबै योजना सफल बनाउन सबै दलहरु एक भएर जाने निर्णयसमेत गरिएको नगरप्रमुख सुरेन्द्र विष्टले बताएका छन् । नगरपालिकासहित सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालनमा रहेको छ । आयोजना लागू भएका चार नगरपालिकाको कूल लागत २१ करोड ४० लाख अमेरिकी डलर रहेको छ । सरकारले आयोजनामा लगानी गर्न एडिबीको साधारण पूँजीगत स्रोतबाट शर्तहरु बमोजिम विभिन्न मुद्रामा १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण लिएको छ । यस ऋणको अवधि आठ वर्षको ग्रेस अवधिसहित ३२ वर्षको हुनेछ । यसैगरी ऋणको वार्षिक ब्याजदर ग्रेस अवधिभर एक प्रतिशत र त्यसपछि एक दशमलव पाँच प्रतिशत रहनेछ । रासस
एनसीसी बैंकका ग्राहकलाई नेपाल मेडिसिटि अस्पतालमा विशेष छुट
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकका कर्मचारी तथा ग्राहकहरूले नेपाल मेडिसिटि अस्पतालका सेवाहरूमा विशेष छुट पाउने भएका छन् ।उक्त बैंक र नेपाल मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहररूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल मेडिसिटि अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका ग्राहकहररूले उक्त छुट बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।