इन्धनको मूल्य फेरी बढ्यो, विद्यार्थीले आन्दोलन गर्छन् की नाई ?
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले १९ गते मध्यरातदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैँयाले वृद्धि गरेको हो । अब प्रति लिटर पेट्रोलको मूल्य ११० रुपैंयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९७ रुपैंयाँ पुगेको छ । इन्धनको मूल्य वृद्धिलाई सधै आन्दोलनको मूल एजेण्डा बनाउँदै आएका विद्यार्थी संगठनहरुले अब के गर्छन भन्ने प्रश्न उठेको छ । प्रतिपक्षी काँग्रेसले सडक आन्दोलन गरिरहेका बेला उसको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले आन्दोलनका लागि नयाँ मसला पाएका छन् । तर जनजिविकासँग नङमासुको सम्बन्ध रहेको दावी गर्ने सत्ताधारी विद्यार्थी र युवा संगठनले गर्छन त्यो चाँही रोचक हुनेछ ।
लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार कित्ता हकप्रद सेयर लिलामीमा, बजार मूल्य १७४ रुपैंयाँ
काठमाडौं । लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार ५ सय ९६ कित्ता हकप्रद सेयर लिलामीका हुने भएको छ । बैंकले १० कित्ता बराबर १ कित्ताका अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमध्ये संस्थापक तर्फको सो मात्रामा सेयर बिक्रि नभएपछि लिलामीका लागि सूचना निकालेको हो । लुम्बिनी विकास बैंकले माघ २७ देखि फागुन ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।बैंकले न्युनतम मूल्य १ सय रुपैंयाँ राखेर न्युनतम १०० कित्ता आवेदन दिन सकिने जनाएको छ । भिबोर क्यापिटल मार्फत बैंकको संस्थापक सेयर किन्न सकिनेछ । लुम्बिनी बैंकको सेयरको बजार मूल्य १७४ रुपैंयाँ रहेको छ ।
डा. रामशरण महतको प्रश्नः स्वदेशी लगानीकर्ता नै आतंकित छन्, विदेशी कसरी आउँछन् ?
काठमाडौं । पुर्व अर्थमन्त्री डा.रामशरण महतले पछिल्लो समय लगानीकर्ताहरु आतंकित भएको बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा आधा दर्जन पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका डा. महतले भने,‘लगानी गर्छु भन्ने मान्छेहरु पनि अहिले हच्किएका छन् । लगानी गरेकाहरुपनि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेका छन् ।’ महतले मुलुकमा वैदेशिक लगानी भित्र्याउनको लागि आकर्षणको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘लगानी ल्याउनको लागि देशको स्थिति सुधार्नुपर्छ ।’ उनले सरकारले समयमै र सही ढंगले निर्णय गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने,‘यसको लागि व्युरोक्रेसीलाई ईफिसेन्ट बनाउनुपर्छ ।’ सरकारले लगानी सम्मेलन गर्न लागेको विषयमा टिप्पणी गर्दै उनले भने,‘अढाई वर्ष अघि प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो । नविन्द्रराज जोशी उद्योगमन्त्री हुनुहुन्थ्यो । त्यतिवेला कि–नोट नै मैले सम्बोधन गरेको थिएँ । त्यतिवेला १४ मिलियन डलरको लगानी गर्छौं भनेर प्रतिबद्धता आएको थियो । लगानीकर्ताहरुले एम.ओ.यूमा हस्ताक्षर गरेर गएका छन् । सरकारले त्यतिवेला प्रतिबद्धता गरेका लगानीकर्ताहरुसँग फलो–अप गर्नुपर्छ । उनीहरु किन आएनन् भनेर सोध्नुपर्छ ।’ उनले नयाँ सम्मेलन गर्छु भनेरमात्रै प्रचार गर्न नहुने धारणा राखे । उनले भने,‘मेरो सरकारलाई अहिलेपनि सुझाव छ–यो प्रचारवाजी कुरामात्रै होईन । भाषणवाजी कुरामात्रै होईन । काम गरेर देखाउनुपर्यो । मेहनत गर्ने वातावरण बनाउनुपर्यो ।’ उनले पछिल्लो समय महँगीको चरम सिमा नाघेको र जताततै भ्रष्टाचार बढेको पनि आरोप लगाए । उनले भने,‘हजारौं विकास निर्माणका आयोजनाहरु बेवारिसे भएका छन् । बुहवर्षमा ठेक्का लागिसकेका आयोजनाहरु बेवारिसे भएका छन् । केन्द्रले सुरु गरेका योजनाहरु केन्द्रले नै सम्पन्न गर्नुपर्दथ्यो । होईन भने प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ । त्यसको लागि आवश्यक बजेटको पनि व्यवस्था गरिनुपर्छ । तर, त्यो केही पनि गरिएको छैन् ।’ त्यस्तै उनले वार्डडबडी भ्रष्टाचार काण्डबारे पनि निश्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले भने,‘यसमा दोष कसको छ ? के छ ? भन्ने कुरा संसदीय समितिले बाहिर ल्याएको छ । यो रिपोर्टबारे निश्पक्ष तवरले छानबिन गर्नुपर्यो । अन्त्यमा त अदालत जान्छ । यसमा अविलम्ब निश्पक्ष तवरले छानबिन होस् । हामी यो अडानमा पछि परेका छैनौं ।’ वर्तमान लगानी बढाउँछु र दश वर्षभित्र मध्यम आय भएका राष्ट्र बनाउने र अर्थव्यवस्थालाई पर क्यापिटा ईन्कम दश हजार डलर पुर्याउनेजस्ता सरकारले अनेक अनेक हावादारी लक्ष्यहरु घोषणा गरिरहेको पनि उनले गम्भिर आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री डाबोस जानुभयो । यो अत्यन्तै राम्रो कुरा हो । त्यसमा असहमित होईन् । तर, मुल कुरो के हो भने देशको अवस्था नै नसुधारिकन खाली भाषणमात्रै गरेर देश तथा विदेश घुमेरमात्रै अथवा लगानी सम्मेलन गरेरमात्रै लगानी आकर्षित हुने कुरो होईन् ।’ देशमा सुशासन छ कि छैन ? भएका नियम, कानुनहरु राम्रोसँग पालना हुन्छन् कि हुँदैनन् ? भ्रष्टाचार समाप्त भएको छ कि छैन ? न्यायपालिका स्वतन्त्र छ कि छैन ? विधिको शासन लागु भएको छ कि छैन ? देशभित्रका लगानीकर्ताहरु के खोज्दैछन् ? भन्ने कुरामा सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । उनले भने,‘देशभित्रै काम गर्ने वातावरण र लगानीको वातावरण बनाउनुपर्छ । तर, यी सबै कुरामा निराशजनक स्थिति छ।’ विश्व बैंकले प्रत्येक वर्ष प्रकाशित गर्ने ‘डुईङ बिजनेश रिपोर्ट’ मा नेपालको लगानीको वातावरणको अवस्था घटेको पनि उनले सुनाए । महतले भने,‘नेपालको स्टाटस घटेको छ । उता टा«न्सपरेन्सी ईन्टरनेश्नलको रिपोर्टअनुसार नेपालमा भ्रष्टाचार बढेको छ ।’
बजार पूँजीकरणमा वाणिज्य बैंक कै बोलवाला, माथिल्लो तामाकोशी टपटेनबाट बाहिरियो
काठमाडौँ । बजार पूँजीकरणका आधारमा यस साता वाणिज्य बैंक नै अग्रस्थानमा रहेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार उत्कृष्ट बजार पूँजीकरण भएका १० कम्पनीमध्ये आठ वटा त वाणिज्य बैंक नै रहेका छन् । यस्तै नेपाल टेलिकम शीर्ष स्थानमा रहँदा एक बीमा कम्पनीले पनि बजार पूँजीकरणका आधारमा आफूलाई अब्बल सावित गरेको छ । सधैँ जस्तै गत साता पनि नेपाल दूरसञ्चार कम्पनी बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बजार पूँजीकरण एक खर्ब नौ अर्ब ३५ करोड बराबरको रहेको छ । यस्तै, नवील बैंक बजार पूँजीकरणका आधारमा दोस्रो नम्बरमा छ । सो बैंकको ६७ अर्ब ६० करोड ४६ लाख बराबरको बजार पूँजीकरण छ । त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको ६६ अर्ब ८२ करोड ८८ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४७ अर्ब ८३ करोड ८५ करोड रहेको छ । स्ट्याण्र्डड चार्टड बैंकको ४५ अर्ब २६ करोड ६४ लाखको बजार पूँजीकरण हुँदा एभरेष्ट बैंकको ४२ अर्ब ६ करोड छ । हिमालयन बैंकको ३८ अर्ब १७ करोड, एनआइसी एशिया बैंकको रु ३४ अर्ब ५४ करोड, नेपाल एसबिआइ बैंक ३२ अर्ब १९ करोड र एनएमबी बैंकको ३० अर्ब ४८ करोड बराबरको बजार पूँजीकरण रहेको छ । बजार पूँजीकरणका शीर्ष १० स्थानमा उक्लेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी विगत केही सातादेखि भने पछाडि परेको छ । यस्तै स्टकमा यस साता नागरिक लगानी कोष, महालक्ष्मी विकास बैंक र पोखरा फाइनान्स कम्पनीको शेयर लाभांश सूचीकृत भएका छन् । कोषको चार लाख आठ हजार २२५ कित्ता, महालक्ष्मीको २१ लाख सात हजार ३७ कित्ता र पोखरा फाइनान्सको १९ लाख ९२ हजार २८९ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् । रासस
आइतबार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको गृह घोषणा
चितवन । भरतपुर महानगरपालिकामा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तामझामसहित गृह घोषणा तथा डीपीआर शुभारम्भ आइतबार गरिने भएको छ । गत माघ १६ गते काठमाडौंबाट निर्माण थाल्ने घोषणा गरिएको रंगशालाको निर्माणस्थलमा काम थालनी गर्ने गरी समारोह आयोजना गरिएको छ । शनिबार बिहान महानगर कार्यालयमा सम्पन्न सर्वपक्षीय छलफलले तय गरेको कार्यक्रमअनुसार रंगशाला निर्माण गर्ने धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलसहितको र्याली भरतपुरको चौबिसकोठीबाट निर्माणस्थलसम्म जानेछ । आइतबार बिहान १० बजे कट्टेललाई भरतपुर विमानस्थलमा स्वागत गरेपछि चौबिसकोठीबाट र्याली सुरु गरिनेछ । यस्तै, मंगलपुरबाट १६ नम्बर वडा कार्यालय हुँदै निर्माणस्थल पुग्ने भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले जानकरी दिइन् । र्याली तथा समारोहमा उपस्थित हुन दाहालले सबै खेलप्रेमीलाई राष्ट्रिय झण्डासहित उपस्थित हुन आह्वान गरेकी छन् । र्यालीमा खेलाडी, उद्योगपति, पेशाकर्मी, नागरिक समाज, युवा विद्यार्थी सबैलाई सहभागी हुन उनकोे आग्रह छ । र्यालीपछि निर्माणस्थलमा रंगशालाको जिल्ला घोषणा र डीपीआर शुभारम्भको घोषणा गरिने छ । रंगशाला भरतपुरको कृषि वन तथा विज्ञान विश्वविद्यालयको जग्गामा निर्माण हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर १५ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको छ । २० विघा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्ने भएको हो । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले जनाएको छ । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनले जनाएको छ । मौलिक डिजाइनमा बन्ने रंगशाला कमलको फुलको आकारमा निर्माण हुनेछ ।
कम ग्रेड ल्याउनेलाई शिक्षा शास्त्र पढाएर शैक्षिक गुणस्तर बढ्दैन : शिशिर खनाल (टिच फर नेपाल)
शिशिर खनाल : प्रमुख कार्यकारी अधिकृत, टिच फर नेपाल शैक्षिक सुधारका लागि सिकाई पद्धतिमा परिवर्तन ल्याउनु पर्ने आवश्यकता महसुस गरी शुरु भएको संस्था हो ‘टिच फर नेपाल’ । सोही संस्थाका एक अभियन्ता हुन् शिशिर खनाल । तनहुँमा जन्मिएको उनले केही बर्ष गाउँमै पढेर जागिरे बुवाको पिछा लागेर विभिन्न ठाउँमा पढ्ने मौका पाएका थिए । कक्षा ७ सम्म सर्लाहीमा अध्ययन गरेर काठमाडौमा एसएलसी सिध्याएपछी प्लस टु त्रिचन्द्र कलेजबाट पूरा गरेका थिए । उनी उच्च शिक्षाको लागि अमेरिका गए र केही समय त्यहाँ काम गरे । फर्केर नेपालको गाउँहरुमा काम गर्ने क्रममा गुणस्तरीय शिक्षालाई गहिरो रुपमा बुझ्ने मौका पाए र टिच फर नेपालको सुरुवात गरे । उनै शिशिर खनालसँग टिच फर नेपालको अभियान कस्तो हो ? अहिले के गरिरहेको छ ? र समग्र शैक्षिक क्षेत्रको बारेमा विकास न्यूजका लागि डोमी शेर्पाले गर्नु भएको कुराकानी: ‘टिच फर नेपाल’ कस्तो अभियान हो ? ’टिच फर नेपाल’ शैक्षिक र सामाजिक न्यायको लागि युवाहरुबीचको अभियान हो । नेपालमा सामुदायिक विद्यालय र निजी विद्यालयको नतिजामा ठूलो भिन्नता देखिएको छ । यो केवल डिग्रीको भिन्नता मात्र नभएर सामाजिक तथा आर्थिक अवस्थाको परिमाण पनि हो । जसमा तुलनात्मक रुपमा आर्थिक स्थिति कमजोर भएका परिवार तथा बालिकाहरु प्रायः सरकारी स्कुलमा गएका देखिन्छ यसको अर्थ नेपालमा अझैपनि सामाजिक विभेद रहेको छ । यी दुई शिक्षा प्रणालीको फरक नतिजा हुने बित्तिकै यसले ब्यक्तीको जीवनभरी असर गर्छ, यसकारण मानिसहरुमा एक प्रकारको विभेद सिर्जना हुन्छ । कोही मान्छे छोरा वा छोरी भएर जन्मियोस्, गाउँमा जन्मियोस् कि शहरमा जन्मियोस्, धनी भएर जन्मियोस् अथवा गरीब भएर जन्मियोस् भन्ने कुराले उनको शिक्षामा फरक नपारोस् भने हाम्रो मुख्य उदेश्य हो । हाम्रो मूलधारणा सार्वजनिक शिक्षा बलियो हुनपर्छ र त्यसको लागि योगदान गर्न सक्ने युवाहरुको जमात तयार गर्ने हो । ‘टिच फर नेपाल’ को नेतृत्वमा को को हुनुहुन्छ ? हाम्रो नेतृत्व परिषदमा नेपालमा नाम चलेका ब्यक्तित्वहरु जस्तै केदारभक्त माथेमा, गगन थापा, मनप्रसाद वाग्ले, शेखर गोल्छा, अनिलकेशरी शाह लगायत सामेल हुनुहुन्छ । उहाँहरुको नेतृत्वमा हाम्रो कार्यकारी कक्षमा २५ जनाको फुलटाइम टिम छ, त्यसले दिनहुँ गरिने तालिम दिने, अप्लिकेसन लिने जस्ता काम गर्छौँ । एकदमै राम्रो नम्बर ल्याएर पास गर्यो भने उसलाई कसैले पनि शिक्षक बन भनेर भन्दैनन्, सबैले उसलाई अन्य बिषय पढ भनेर सल्लाह दिन्छन्, तर एजुकेसन पढ भनेर कसैले पनि भन्दैनन् । तपाईलाई ‘टिच फर नेपाल’ मा लागेर भविष्यमा केही गर्नुपर्छ भन्ने सोचको विकास कहिले, कुन मोडमा आएर उत्पन्न भयो ? सामुदायिक विकासलाई मध्यनजर गर्दै अमेरिकाबाट नै नेपालमा केही गर्नुपर्छ भन्ने सोचका साथ म नेपाल आएको थिएँ । महात्मा गान्धीको फिलोसोफीबाट म एकदमै प्रभावित भएको थिएँ । एउटा गान्धीय वार्डमा काम गर्ने क्रममा गाउँ गाउँमा भएको शिक्षाको अवस्थालाई मूल्याङ्कन गर्दै जाँदा गुणस्तरीय शिक्षाको समस्या देखियो । राम्रा शिक्षकहरुको अभावको बारेमा विभिन्न गाउँका स्थानीयवासीहरुको कुरा सुनेपछि अब शिक्षामा नै केही गर्नुपर्छ भन्ने सोचको विकास भई ’टिच फर नेपाल’ को स्थापना भएको हो । वि.स २०६८/०६९ बाट शिक्षाको विषयमा मैले गम्भीर रुपमा सोच्न थालेँ, त्यसपछि २०६९ को दशैँपछि हामीले ’टिच फर नेपाल’ को पहिलो ब्याच खटाउनको लागि तालिम दिई २०७० को बैशाखदेखी विद्यालयमा पठाई काम शुरु गरेको हौं । नेपालमा शिक्षाको महत्व र शिक्षाको स्थिति कस्तो रहेको छ ? शिक्षा दुई प्रकारको हुन्छ, औपचारिक र अनौपचारिक । अनौपचारिक शिक्षा त हामी जीवनमा निरन्तर रुपमा सिकिरहेका हुन्छौँ । औपचारिक शिक्षाको कुरा गर्न पर्दा नेपालमा यसको सुरुवात २००७ साल पछिमात्र नागरिकको पहुँचमा पुगेको हो । त्यस अगाडि दरबार स्कुल तथा केही संस्कृति पढाउने विद्यालयहरुमा मात्र शिक्षा दिने गरिन्थ्यिो । हाम्रोमा बिशेष गरी नागरिकको पहुँचमा शिक्षा बल्ल २००७ सालको क्रान्ति पछि मात्र पुगेको हो । २०४६ सालको जनअन्दोलन पछी मात्र शिक्षा क्षेत्रको बिकास राम्रोसँग भएको देखिन्छ । पछिल्लो १५–२० बर्षको रेकर्ड हेर्यो भने चाँही बिकासशील देशको सन्दर्भमा नेपालमा शिक्षाको पहुँच राम्रो देखिन्छ । ५ देखी ६ बर्ष उमेरको झ्ण्डै ९७ प्रतिशत बालबालिका विद्यालय पुगेको सरकारको तथ्यांकले देखाउँछ । त्यो हिसाबले हाम्रो साक्षरताको दर धेरै रहेको छ । त्यस्तै, वयस्क साक्षरता ८० प्रतिशत देखिएको छ । साक्षरताको प्रतिशत राम्रो भएतापनि समस्या भने १०० जनाले कक्षा १ मा भर्ना भए भने त्यो पछी १० कक्षामा पुग्दा १० प्रतिशत भएर गएको देखिन्छ । यसले २ तिहाई विद्यार्थी कक्षा १० सम्म नपुगेको देखिन्छ । नेपालको परिवेशमा सरकारी भन्दा निजी स्कुलमा पढ्नेले राम्रो शिक्षा पाएको देखिन्छ । शिक्षण पेशा प्रतिको मानिसहरुको धारणा अझै पनि राम्रो देखिदैन, यसको कारण के होला ? शिक्षण पेशालाई अझैपनि समाजमा उच्च स्तरीय पेशाको रुपमा नलिनु दुई वटा कारण छन् । तथ्याङ्क हेर्दै गर्दा सरकारी स्कुल र निजी स्कुलको विद्यार्थीमा गणित, विज्ञान र अंग्रेजी जस्तो बिषयमा एकदमै बढी भिन्नता देखियो । पब्लिक स्कुलबाट एसएलसी फेल हुने ९० प्रतिशत विद्यार्थी यी बिषयहरुमा कमजोर देखिए । किन त सामाजिक, नेपाली, स्वास्थ्य÷जनसंख्यामा चाहीँ केटाकेटीहरु पास हुने तर अन्य बिषयमा चाँही फेल हुने कारणको अध्ययन गर्यौं । हामी कहाँ एसएलसीपछि नै हाम्रो करियरको लागि बाटो छुट्टिने गर्छ । एकदमै राम्रो नम्बर ल्याएर पास गर्यो भने उसलाई कसैले पनि शिक्षक बन भनेर भन्दैनन्, सबैले उसलाई अन्य बिषय पढ भनेर सल्लाह दिन्छन्, तर एजुकेसन पढ भनेर कसैले पनि भन्दैनन् । पछिल्लो समय ग्रेड कति ल्यायो भने के पढ्न पाउने भन्दा सबैभन्दा कम ल्यायो भने मात्र शिक्षा संकाय पढ्न पाउने भनिएको छ । हाम्रो संस्कारले पनि शिक्षा सम्मानजनक पेशा हो र त्यस पेशाप्रति राम्रो मानिसहरुलाई तान्न पर्छ भनेर भन्दैन भने अर्कोतर्फ सरकारी नीतिले पनि त्यो भन्दैन । जब हाम्रो समाज र सरकारको नीति दुवैले शिक्षक सम्मानजनक पेशा हो भनेर भनिरहेको छैन । यसले गर्दा कमजोर विद्यार्थीहरु शिक्षक बन्ने भए, राम्रो पढ्ने मान्छे अन्य पेशामा संलग्न हुने भए । सही प्लेटफर्म हुँदा नेपाली युवाहरुमा आफैँले केही गरेर देशको बिकासमा सहयोग पुर्याउँ भन्ने एकदमै ठूलो ईच्छा छ । त्यो ईच्छालाई संगठित गरेर प्लेटफर्म दिने काम टिच फर नेपालले गर्दै आएको छ । कस्तो ब्यक्तीले टिच फर नेपालको लागि अप्लाई गर्छन् र तपाईंहरु आफ्नो फेलो कसरी छान्नु हुन्छ ? हाम्रोमा अप्लाई गर्ने मानिसहरु ठूलो संख्यामा रहेका छन् । शिक्षाशास्त्र पढेकाहरु मात्र नभएर हरेक विधाका मानिसहरुले टिच फर नेपालमा काम गर्नको लागि आवेदन दिने गरेका छन् । हामीले हेर्ने भनेको शैक्षिक योग्यता, उहाँहरुको हाम्रो अभियानप्रतिको बुझाई र प्रतिबद्धता हो, किनभने धेरैलाई यो पनि लाग्न सक्छ कि यो ६ महिना गरेपनि हुन्छ वा १ बर्ष गरे पनि हुन्छ । यो गलत हो, हाम्रोमा २ बर्षको फुल टाईम कमिटमेन्ट चाहिन्छ चाहिन्छ, त्यो बाहेक उहाँहरुको समाजप्रतिको बुझाई र पढाइ बाहेक अन्य कुराको संलग्नतालाई हेरेर हामी आफ्नो अभियानमा सामेल गराउँछौ । विद्यार्थीमा बिकास हुने त छँदै छ, तर फेलोमा चाँही यो कार्यक्रमले कसरी सहयोग गर्छ ? हामीले उहाँहरुलाई पहिलो ६ हप्ता ट्रेनिङ दिएर मात्र गाउँमा पढाउन पठाउँछौ । त्यसपछी उहाँहरु हरेक महिना भेटेर क्लस्टरमा आफ्नो समस्या र ईनोभेसनहरु सेयर गर्नुहुन्छ । हरेक तीन महिनाको एकचोटी हामी उहाँहरुलाई ४ दिने ट्रेनिङ पनि दिने गरेका छौँ । उहाँहरुले कक्षाकोठा र समाजमा देखेको समस्या र त्यसलाई कसरी हल गर्ने साथसाथै नेपालको ऐतिहासिक कुराहरु कसरी बुझ्ने र एउटा शिक्षकको अभियन्ताको रुपमा हामी उनीहरुलाई दुई बर्षसम्म मात्र नभएर दुई बर्ष पछी पनि काम गर्नुपर्छ है भनेर बुझाईरका हुन्छौँ । हामीले समाजको समस्याहरुलाई हेर्ने दृष्टिकोणमा उहाँहरुलाई मद्त पुर्याउँछौँ । हरेक बर्ष कति युवाहरुले अप्लाई गर्नुहुन्छ ? यो बिस्तारै बढ्ने क्रममा छ । सबैभन्दा पहिलो बर्ष ५०० जनाले अप्लाई गर्नुभएको थियो भने अहिले १७६० जनाले अप्लाई गर्नुभएको छ । हामीले पहिलो साल ३० जना लियौं, पछिल्लो बर्ष ६० जना र यसवर्ष नि ६० जना नै लिनेछौँ । नेपालली युवाहरु के पोजिटीभिटीतर्फ अघि बढेका हुन् ? पक्कैपनि यसमा त कुनै दुईमत नै छैन । सही प्लेटफार्म हुँदा नेपाली युवाहरुमा आफैँले केही गरेर देशको बिकासमा सहयोग पुर्याउँ भन्ने एकदमै ठूलो ईच्छा छ । त्यो ईच्छालाई संगठित गरेर प्लेटफर्म दिने काम टिच फर नेपालले गर्दै आएको छ । तर, अब हामीसँग पनि न्युनतम श्रोत र नीति नियमको कारणले बढाउन सकिरहेका छैनौँ । किनभने पढाउनु सजिलो कुरा होईन । त्यसैले जती युवाहरु लिन चाहिरहेका छौँ, त्यती हामीले लिन सकिरहेका छैनौँ । तर स्पष्ट रूपमा नेपालमा मात्र नभएर विदेशमा बसेका नेपाली युवाहरुपनि अहिले टिच फर नेपालको फेलोको रुपमा गाउँघरमा कार्यरत छन् । जहाँ भएपनि नेपालको समृद्धि र बिकासमा योगदान गरिरहेका छन् । राम्रा शिक्षकहरुको अभावको बारेमा विभिन्न गाउँका स्थानीयवासीहरुको कुरा सुनेपछि अब शिक्षामा नै केही गर्नुपर्छ भन्ने सोचको विकास भई ‘टिच फर नेपाल’ को स्थापना भएको हो । फेलोहरु कुन कुन जिल्लामा कार्यरत छन् त ? हामी सबैभन्दा पहिला ललितपुर, सिन्धुपाल्चोक र धनुषामा कार्यरत थियौँ । अहिले हामीले थपा तीन जिल्ला पर्सा, लम्जुङ र दाङमा काम गरिरहेका छौँ । फन्डिङको व्यवस्था कसरी गर्नुहुन्छ ? यो कार्यक्रम सञ्चालन गर्नको लागि नेपाली ब्यक्तीहरुले हाम्रो मन्थली गिभिङ क्याम्पियन महिनाको पाँचसय, हजार, दुई हजार, ५ हजार दिने गर्नुहुन्छ । अर्को श्रोत भनेको हामी जुन समुदाय, स्थानीय सरकार विद्यालयसँग काम गर्छौ, वहाँहरुपनि हाम्रो श्रोत हुनुहुन्छ । तेस्रो नेपालको कर्पोरेट सेक्टर रहेको छ । यसमा झन्डै ११ वटा कम्पनीहरुले हामीलाई सहयोग पुर्याउँदै आउनुभएको छ । चौथो चाँही नेपाल, बाहिर भएका नेपाली साथीहरु र केही विदेशी साथीहरुले पनि ५–१० डलर सहयोग गर्नुहुन्छ । पाँचौ चाहीँ अन्तराष्ट्रिय संघसस्थामा जहाँ चाहीँ अप्लाई ग्राण्टहरु खुलेको थाहा भएपछी हामीले हाम्रो कार्यक्रमलाई सहयोग गर्नु भनी ग्रान्टहरु लेखेर अप्लाई गर्छौँ । तर मेजोरोटी फन्ड चाँही नेपालबाट उठाउँछौ । के छन् समस्या ? हाम्रो च्यालेज भनेको हाम्रो कामको प्रभाव देखेर सबैतर्फबाट हाम्रो संख्या बढाउन माग भईरहेको छ, जुन हामीले खोज्छौँ पनि । तर, त्यती सक्षम युवाहरु पाईरहेका छैनौँ । अप्लिकेसन भोलुम धेरै देखिन्छ, तर हामीले खोजेको गुणस्तर कम देखिन्छ । त्यसैले हामीले जति समुदायमा काम गर्न खोजेका छौँ, त्यो भने गर्न सकिरहेका छैनौं । केही समय अगाडि ‘टिच फर नेपाल’ एउटै नाम जस्तो देखिने ’टिच नेपाल’ भन्ने संस्थासँग नाम जुध्न गएर समस्यामा परेको थियो । टिच फर नेपाली र टिच नेपाल दुई भिन्न संस्था हुन् । ‘फर’ भन्ने शब्दले यी दुई भिन्न संस्था हुन् भन्ने स्पस्टसँग देखाउँछ ।
काँग्रेसले अब संसद अवरोध गर्दैनः डा. महत
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले अवरोध नगर्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले भने,‘सँधै संसद अवरोध हुँदैन् । एक/दुई दिन अवरोध भयो भन्दैमा सँधै संसद अवरोध हुँदैन । उहाँहरुले महिनौं दिनसम्म अवरोध गर्नुभएको थियो । हामीले त त्यत्रो गरेका छैनौं ।’ साक्षात्कारमा बोल्दै उनले माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले विरोध गर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारे । उनले भने,‘संसदमा अवरोध गर्नेबारे अहिले कुनै निर्णय भएको छैन् । के गर्ने भन्नेबारे संसदीय दलले निर्णय गर्ला । तर, अहिलेसम्म अवरोध गर्ने निर्णय भएको छैन् । पर्सी त विरोधको कार्यक्रम हो । विपक्षीले विरोधको कार्यक्रम गर्नु त –संसदमा पनि विरोध गर्छ र आवश्यक परे संसदमा पनि विरोध गर्छ । एक दिन सडकमा आउँदैमा सारा कुरा निश्चयपनि अवरुद्ध हुँदैन्।’ नेता महतले कांग्रेसले आफ्नो पार्टीका दुई जना नेता गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा खोलिएको अस्पताललाई लिएरमात्रै कांग्रेसले विरोध नगरेको जिकिर गरे । उनले भने,‘अहिले त सरकारले यी दुवै अस्पताल संघीय सरकारकै मातहातमा रहने निर्णय गरेको छ ।’ आफूहरुले सरकारले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता तथा सहमति कार्यान्वयन नगरेको र जबरजस्ती संसदबाट विद्येयक पारित गरेको विरोधमा सदन र सडकमा विरोध गरेको महतले स्पष्ट पारे ।
डेढ करोडको लागतमा खुल्यो होटल चौदण्डी दरबार
उदयपुर । उदयपुरको बेल्टार बजारमा स्थापना गरिएको होटल चौदण्डी दरबार एण्ड पार्टी प्यालेसले व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । स्थानीय युवाहरु विनोद सेढाई र किशोरकुमार कार्कीले उक्त पार्टी प्यालेस तथा होटल सञ्चालनमा ल्याएका हुन । उक्त पार्टी प्यालेस तथा होटलमा करिब १ करोड ५० लाख रूपैयाँको लगानीमा निर्माण सम्पन्न भएको सञ्चालकद्वयले जानकारी दिए । विवाह, ब्रतबन्ध, जन्मदिन लगायत कुनै पनि किसिमको पार्टीको आयोजना गर्न सकिने पार्टी प्यालेसमा तालिम, सेमिनार आदी सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ । उक्त पार्टी प्यालेसमा ३०० र १०० जना अटाउने क्षमताको दुईवटा एसी सहितका हलहरू रहेको छ । उक्त पार्टी प्यालेसको कम्पाउण्ड आसपासमा हरियाली गार्डेन, गार्डेन फाउण्टेनको व्यवस्था गरिएको छ । विवाह ब्रतबन्धको लागि आवश्यक पर्ने मण्डप समेतको सोही कम्पाउण्डमा व्यवस्था गरिएको छ । त्यसैगरी विबाहपश्चात नवदुलाहा दुलहीलाई दर्शनको लागि कम्पाउण्ड भित्रै मन्दिरको व्यवस्था गरिएको छ । पार्टी प्यालेसले स्वस्थबद्र्धक र स्वादिष्ट खानपिनका साथै रेष्टुरेण्ट र बारको पनि व्यवस्था रहेको छ । त्यसैगरी फूल एसी र एट्याच बाथरूम सहित लजको व्यवस्था समेत रहेको छ । ग्राहकको माग र आवश्यकता बमोजिम रूम तथा सेवाहरू थप्दै लैजाने योजना रहेको सञ्चालकले जानकारी दिए ।