सांसद नेम्वाङद्वारा ३० वटा योजना छनोट, अधिकांश योजना ग्रामीण सडक निर्माण र स्तरोन्नतिका
फिदिम । प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ३० वटा योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकले पाँचथरका सात वटा स्थानीय तहहरुमा सञ्चालन हुने योजना छनोट गरेको हो । छनोट भएका अधिकांश योजना ग्रामीण सडक निर्माण र स्तरोन्नतिका छन् । बाँकी भवन निर्माण, विद्युतीकरण र खेलमैदानका योजना छन् । उपनिर्वाचन हुन लागेका पाँचथरको फिदिम नगरपालिका, हिलिहाङ र फाल्गुनन्द गाँउपालिकाका लागि एक महिना अघि नै योजना छनोट भइसकेका थिए । जसअनुसार हिलिहाङ गाउँपालिकामा रु एक करोडको कूल लागतका पाँच वटा योजना सांसद नेम्वाङले छनोट गरेका छन् । यसैगरी, फिदिम नगरपालिकामा रु एक करोड ३० लाख कूल लागतका छ वटा र फाल्गुनन्द गाउँपालिकामा रु एक करोड ६० लाखका १५ वटा योजना छनोट भएका छन् । यस्तै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको हालै सम्पन्न बैठकले कुम्मायक, मिक्लाजुङ, फिदिम र फालेलुङमा एक÷एक वटा ठूला योजना सञ्चालन गर्ने निर्णय गरेको छ । जसअनुसार कुम्मायकमा यासोक–भदौरे–साँवाखोला मोटरबाटो स्तरोन्नतिका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी मिक्लाजुङमा दशमी–आरुबोटे–लिम्बा मोटरबाटो स्तरोन्नतिका लागि रु ५० लाख, फिदिममा इथुङ–तमाखे–त्रिवेणी–पञ्चमी दोभान सडकका लागि रु ५१ लाख ५० हजार र फालेलुङ गाँउपालिकामा मगरचेप्पा–बाँसबोटे–लुवाफू–पापुङदेन–हेवाखोला सडक स्तरोन्नतिका लागि रु ५० लाख विनियोजन गरिएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिका सदस्य सचिव, जिल्ला समन्वय अधिकारी विनोदकुमार दाहालले जानकारी दिएका छन् । रासस
स्याङ्जामा एक हजार र पाँच सयका नक्कली नोट फेला
वालिङ । स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ । वालिङमा भेटिएका शङ्कास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय सहकारी बैंक वालिङका शाखा प्रमुख सुवास आचार्यले बताएका छन् । वालिङस्थित विभिन्न तीनवटा सहकारी संस्थाबाट राष्ट्रिय सहकारी बैंक वालिङ शाखामा जम्मा गर्न ल्याइएका नोट नक्कली पाइएको आचार्यले बताए । पछिल्लो एक हप्ताको अवधिमा पाँच सयका चार वटा र एक हजारको एउटा गरी पाँचवटा नक्कली नोट भेटिएको प्रमुख आचार्यले जानकारी दिएका छन् । “गएको सोमबारबारदेखि बिहीबारसम्मको अवधिमा निरन्तर एक÷एक वटाको दरले नक्कली नोट जम्मा गर्न ल्याएको पाइएको थियो”, शाखा प्रमुख आचार्यले भने, “चार÷पाँच दिन निरन्तर नक्कली नोट भेटिएको तर अहिले देखिएको छैन, फेरि आउनसक्ने भएकाले सचेत हुन आवश्यक रहेको छ ।” राष्ट्रिय सहकारी बैंकमा जम्मा भएको शङ्कास्पद नोटलाई मेसिनबाट परीक्षण गर्दा नक्कली भएको पत्ता लागेको र वालिङस्थित अन्य बैंकमा पनि उक्त नोटलाई मेसिनमा राखेर परीक्षण गर्दा नक्कली भएको खुलेको थियो । सहकारी संस्थामा नक्कली नोट परीक्षण गर्ने मेसिन नभएको हुँदा नक्कली नोटको कारोबार हुनसक्ने भएकाले यसप्रकारको मेसिन राख्न पनि शाखा प्रमुख आचार्यले सुझाव दिएका छन् । रासस
सिजीले नेपाली बजारमा ल्यायो जाडोका घरायसी सामाग्री
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । जस अन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका छन् । रुम हिटर र हेलोजिन हिटरमा हालै नयाँ स्वरुप र आकर्षक रंगहरुमा आएको छ । जसले कोठालाई एकदमै न्यानो पार्ने गर्दछ । जाडोमा पनि सजिलैसँग नुहाउन सकिने बनाउन सि.जी.ले ग्याँस तथा इलेक्ट्रीक गरी दुई किसिमका गिजरहरु बजारमा ल्याएको छ । त्यसैगरी, केही समयमानै कुनै झ्नझ्ट विना पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रीक केटल र हटपटहरु रहेका छन् । तातिएका पानीलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि बजारमा उपलब्ध छन् ।
हिमालय एयरलाइन्सद्वारा काठमाडौं – गुइयाङ हवाइ सेवा शुरु
काठमाडौं । हिमालय एयरलाइन्सले नेपाल–चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम, काठमाडौं र गुइयाङ जोड्ने नयाँ सेवा शुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को संघारमा नेपाल भ्रमणमा आउने सम्भावित पर्यटकलाई प्रवद्र्धन र ध्यानाकर्षण गराउने उद्देश्यले उक्त उडान शुरु भएको हो । प्रत्येक वर्ष धेरैभन्दा धेरै पर्यटकलाई आकर्षण गर्ने सहर गुइयाङ चीनको प्रमुख पर्यटकीय शहर हो । हिमालय एअरलाइन्स प्रत्येक मंगलबार काठमाडौंबाट गुइयाङका लागि उडान भर्नेछ र सोहि दिन फर्कनेछ हिमालय एयरलाइन्स यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स हो । नयाँ सेवा विस्तारसँगै नेपालीहरुले चीनमा नयाँ गन्तव्य स्थलका निम्ति सरल, मितव्ययी र सिधा सञ्जालको सुविधा पाउन सक्नेछन् । उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर ३ गते स्थानीय समय १०ः२५ मा गुइयाङ्का लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको गुइयाङ् लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १५ः५८ मा अवतरण गरेको छ । आवागमन उडान गुइयाङ्को लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः०८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १९ः३६ मा अवतरण गरेको छ । ‘चीन हाम्रो प्रमुख लक्षित बजार मध्य एक हो । गुइयाङसम्म हाम्रो सञ्जाल विस्तार गर्न पाएकोमा हामी एकदमै प्रशन्न छौं । यो नयाँ थपिएको रुट नेपाल भ्रमण बर्ष २०२० का लागि हाम्रो प्रतिबद्धताकै एउटा कदम हो जसले धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई आकर्षित गर्नेछ । हामीले नियमित रुपमा सम्भावित रुटहरुको अध्ययन गरिरहेका छौं र काठमाडौंबाट गुइयाङ उडान भर्ने यात्रुहरुको लागि यो उत्कृष्ट रोजाईको गन्तव्यस्थल हुनेछ । ’गुइयाङको यो नयाँ उडानले व्यावसायिक र पर्यटकीय चिनियाँ यात्रुहरुका छनौट र सुविधाहरु उपलब्ध गराउँदै निर्वाध सञ्जालको विकल्पहरु उपलब्ध गराउनेछ । हिमालय एयरलाइन्स चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन र दुवै देशको आर्थिक पर्यटनलाई प्रवद्र्धन गर्न साधक बन्नेछ । यो नयाँ सेवा चीन भ्रमण गर्ने नेपालीहरुका लागि सबैभन्दा बढी रोजाईमा पर्ने गन्तव्यस्थल हुनेमा हामी विश्वस्त छौं ।’ प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले बताए । चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यको रुपमा हेरेको छ, जुन विगतका केही वर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरु वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही वर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ । सन् २०१९ को अक्टोबरको तथ्यांक अनुसार कुल १३,४८९ चिनियाँ पर्यटक नेपाल भित्रिए सँगै चीन नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा पहिलो स्थानमा छ । यो नेपाल भित्रिने पर्यटक संख्याको कुल १०.४५५ हो । सन् २०१९ (जनवरी देखि अक्टुबर सम्म)को वार्षिक तुलना गर्ने हो भने कुल १३४,२८१ चिनियाँ पर्यटक भित्रिएसँगै नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा चीन दोस्रो स्थानमा भए साथै सन् २०१८ को यसै अवधिको तुलनामा ९.२५ ले वृद्धि भएको छ । गुईयाङ–काठमाडौं नयाँ सञ्जाल सँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पु¥याउने विश्वास र आशा राखेको छ । हिमालय एयरलाईन्सको बारेमा नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्सले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ । एउटा विमान र एउटा गन्तव्यबाट आफ्नो काम सुरु गरेको एयरलाइन्सले तीन वर्षको छोटो अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । उक्त एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एसियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको र हालै सन् २०१९ मा युएईको आबुधावी, बंगलादेशको ढाका र चीनको बेइजिङ्गलाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका, बेइजिङ्ग र गुइयाङमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एक मात्र एयरलाइन्स हिमालय एयरलाइन्स हो र हाल चीनमा उडान भर्ने एक मात्र नेपाली एयरलनईन हो । ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन् । साथै, निकट भविष्यमा नै ल्हासा जस्ता उच्च स्थानमा उडान भर्नका निम्ति एयरलाइन्सले ए ३१९ जहाज खरिद गर्ने योजना पनि बनाएको छ । चीनसँग सञ्जाल विकास गर्ने विचार गरी एयरलाइन्सले बेइजिङमा पहिलो उडान सुरुवात गर्दै क्रम्शैस् चाङसा, नाङचाङ, चोङकिङ, अलि र शेन्जेङ्गमा विस्तार गर्नेछ । व्यावसायिक रुपमा काम सुरु गरेको एक वर्षमै हिमालय एयरलाइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एयरलाइन्स इन साउथ एसिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । यस अवार्डले गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तारमा एयरलाइन्सले गरेको अथक प्रयासको सम्मान गरेको छ र आगामी दिनमा उड्ययन क्षेत्रमा हिमालय एयरलाइन्सलाई अझै परिस्कृत गर्दै लैजान उर्जा प्रदान गरेको छ ।
सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई दोहोरो कर नलाग्ने, सस्तो व्याजमा एक करोडसम्म कर्जा
काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको आकर्षण बढाउन योगदानकर्ताले पाउने सुविधा वृद्धि गर्न लागिएको छ । योगदानकर्तालाई दोहोरो करबाट मुक्ति दिने, योगदानकर्ताको परिवार सदस्यहरुको पनि स्वास्थ्य बीमा गराउने, पुराना कम्पनीका कर्मचारीले पाउने उपदान वा अन्य सुविधामा कमी हुन नदिने गरी विद्यमान तयारी भईरहेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताएका छन् । विकासन्युजकाे यूट्युव च्यानलमा प्रसारित ‘विकास वहस’ वहसमा उनले सुविधा वृद्धिबारे धेरै तयारी जानकारी दिदै बुढेसकालमा अमिलो आँसु पियर बाँच्नु पर्ने अवस्थाको अन्त्य हुने गरी सामाजिक सुरक्षा कोषका याेजनाहरू विकास हुँदै जाने बताएका छन् । योगदानकर्तालाई सुविधा बढाउँदै लैजाने उदेश्यका साथ कोषले योगदानकर्तालाई ३ प्रकारको कर्जा दिन थालेको छ । एउटा व्यक्तिलाई बढीमा एक करोड वा १५ महिनाको तलव बराबरकाे रकम कर्जा दिइने उनले जानकारी दिए । यस्तो कर्जा धितो राखेर प्रवाह गरिने र कर्जाको व्याज बैंकले लिने चलनचल्तीको भन्दा केही कम हुने उनले जानकारी दिए । कोषले योगदान कर्तालाई घर कर्जा ७५ लाख रुपैयाँ, शैक्षिक कर्जा ३५ लाख रुपैयाँ र सामाजिक सुरक्षा कर्जा ५ लाख रुपैयाँसम्म दिने व्यवस्था गरेको छ । ‘एउटै व्यक्तिले तीनै प्रकारको कर्जा लिन पाउँछन् । तीन प्रकारका कर्जा लिँदा १ करोड भन्दा बढी दिइन्न’–ज्ञवालीले भने-‘शैक्षिक कर्जा याेगदानकर्ताकाे छाेराछाेरी वा श्रीमतीकाे थप शिक्षाकाे लागि पनि लिन सकिन्छ।’ याेगदानकर्ताकाे अायमा दोहोरो कर लाग्ने लगायतका समस्या समाधान गर्ने तयारी भईरहेको र नियमहरुमा आवश्यक संशोधनको लागि फाइल मन्त्रिपरिषद्मा पुगेको उनले जानकारी दिए । ‘कोषमा जम्मा भएको पैसा ६० वर्ष उमेर पुरा भएपछि मात्र भिक्न पाइने, उच्च आम्दानी भएको व्यक्तिको आयमा पनि कर लाग्ने र सामाजिक सुरक्षा कोषबाट पैसा झिक्दा पनि कर लाग्ने, यसअघि नै उपदानको व्यवस्थासहित सञ्चालनमा रहेका विभिन्न कम्पनीका पुराना कर्मचारीहरुलाई सामाजिक कोषमा आउँदा हुन सक्ने नोक्सानी लगायतका विषयमा असन्तुष्टिकाे आवाज आएका छन् । याेगदानकर्ताकाे तर्फबाट उठेका उचित माग सम्बाेधन हुँदै जानेछन्’ उनले भनेका छन् । हाल योगदानकर्ताको मात्र स्वास्थ्य बीमा मात्र हुने गरेकोमा योगदानकर्ताको परिवारका सदस्यहरुको पनि स्वास्थ्य बीमा गर्ने तयारी भएको कार्यकारी निर्देशक ज्ञवालीले बताए । यसको लागि बीमाङ्कीय मूल्याङ्कन गराउने र त्यसको रिपोर्टका आधारमा नयाँ निर्णय लिइने उनले जनकारी दिए । ज्ञवालीका अनुसार कोषमा हालसम्म १० हजार भन्दा बढी संस्था र १ लाख ६ हजार भन्दा बढी योगदानकर्ता सूचिकृत भएका छन् । ६७ जिल्लाबाट उद्योग प्रतिस्ष्ठान सूचिकृत भएका छन् । नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कम्पनीहरु, उद्योगहरु, स्कूल, कलेज, अस्पताल, सहकारी,आउटसोर्सिङ कम्पनी, गैरसरकारी संस्थाहरु दर्ता भईरहेका छन् । सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन स्थायी लेखा नम्बर अनिवार्य चाहिने भएकोले जाइका, डीएफआईडी, यूएसएड प्यान नहुने संस्थालाई पनि सूचिकृत गर्न सक्ने गरि नियमहरु संशोधन गर्न लागिएको उनले बताएका छन् । किराना पसल, पान पसल, तरकारी बिक्रेता लगायत स्वारोजगार व्यवसाय सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रयास दोस्रो चरणमा हुने उनले बताए ।
डुबायाे हाइड्राेकाे सेयरले, ५६ प्रतिशत जलविद्युत कम्पनीको सेयर मूल्य १०० रुपैयाँ भन्दा कम
काठमाडौं । पछिल्लो समय अधिकांश हाइड्रोपावरहरुको सेयर मूल्य अंकित मूल्यभन्दा कम रहेको छ । लामो समयसम्म राम्रो प्रतिफल दिन नसक्ने भएकाले नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत ५६ प्रतिशतभन्दा बढी जलविद्युत कम्पनीको सेयर मूल्य अंकित मूल्य भन्दा पनि तल झरेको हो । हाल नेप्सेमा कूल ३२ वटा जलविद्युत कम्पनी सूचिकृत रहेका छन् । जसमध्ये १८ वटा कम्पनीको सेयर मूल्य अंकित मूल्य १०० रुपैयाँभन्दा तल रहेको छ भने बाँकी १४ वटा कम्पनीको सेयर मूल्य १०० वा त्यसभन्दा माथी छ । १०० रुपैयाँभन्दा तल सेयर मूल्य रहेका जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा न्युनतम मूल्य नेशनल हाइड्रोपावर कम्पनीको रहेको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५१ रुपैयाँ रहेको छ । त्यस्तै, करिब एक वर्ष अघि प्रतिकित्ता ३०० रुपैयाँ रहेको घलेम्दी हाइड्रोको सेयर मूल्य ६३ रुपैयाँमा झरेको छ । अंकित मूल्य वा सो भन्दा बढी सेयर मूल्य रहेका १४ कम्पनीमध्ये चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७२ रुपैयाँ रहेको छ । गत एक वर्षको तुलनामा कम्पनीको सेयर मूल्य हाल ५४.९५ प्रतिशतले ओरालो लागेको हो । एक वर्षअधि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७७ रुपैयाँ रहेको थियो । जुन हाइड्रो कम्पनीमध्ये सबैभन्दा बढी हो । सूचिकृत कम्पनीको सेयर मूल्य ओरालो लाग्दा अपर तामाकोशीको सेयर मूल्य उकालो लागेको छ । एक वर्ष अघिको बजार मूल्यको तुलनामा हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले बढेर प्रतिकित्ता २३१ रुपैयाँ पुगेको छ । करिब एक वर्षअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२४ रुपैयाँ रहेको थियो । निर्माण भएका धेरै आयोजनाहरुमा विद्युत् उत्पादन समस्याका कारण रुग्ण बन्दै गएका छन् । जसले गर्दा उनीहरुले राम्रो प्रतिफल दिन नसकेका हुन् । त्यसैले बजारमा ती कम्पनीको सेयर मूल्य ओरालो लाग्दै आएका छन् ।
विश्व बैंकको प्रतिवेदनः लगातारको उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा बाह्या क्षेत्रको जोखिम बढ्दै
काठमाडौं । लगातारको उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा बाह्या क्षेत्रको जोखिम बढाएको विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ । मंगलबार विश्व बैंक ग्रुप र इन्सिच्युट फर इन्टिग्रेटेड डेलभलपमेन्ट स्टडिस (आइआइडिएस) ले सार्वजनिक गरेको सन् २०१९ मा दक्षिण एसियाली आर्थिक फोकस प्रतिवेदनले यस्तो देखाएको हाे। प्रतिवेदनले आप्रवासी प्राप्त देशहरुमा भौगोलिक तनाव र तेलको अनिश्चितताले मूल्यमा पार्ने प्रभावको कारण रेमिट्यान्समा प्रभाव पार्न सक्ने जनाएको छ । रेमिट्यान्स वृद्धिमा कमी आएमा वित्तीय प्रणालीमा असर गर्न सक्ने जनाएको छ । त्यस्तै, मौसम प्रतिकूलताको प्रभाव पनि नेपालको अर्थतन्त्रमा चुनौती रहेको औंल्याइएको छ । मौसममा प्रतिकुलता आए कृषि उत्पादनमा असर गर्नुका साथै यसले निवारणमा पनि असर गर्ने उल्लेख गरिएको छ । गरिबी न्युनीकरण उल्लेख्य रहे पनि जोखिममा रहेको अल्याइएको हो । प्रतिवेदनले गरेको प्रक्षेपणअनुसार सन् २०२० मा ६.३ प्रतिशतको र सन् २०२१ मा ६.७ प्रतिशतको आर्थिक वृद्धि दर हुनेछ । वर्तमान अवस्थामा यी राष्ट्रहरूमा लगानी र व्यापारमा अत्याधिक अनिश्चितता बढेको उल्लेख गरिएको छ । नेपालको सन्दर्भमा सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत र सन् २०२१ मा ६.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । सन् २०२० र २१ मा कृषि तर्फको वृद्धिदर ४ प्रतिशत, उद्योगको क्रमश ८.३ र ८.८ सेवा क्षेत्रको समान ७.२ प्रतिशत रहने प्रक्षेपण छ । सन् २०२० दक्षिण एसियामा भुटानको आर्थिक वृद्धिदर सबैभन्दा उच्च ७.४ रहने जनाइएको छ भने पाकिस्तानको सबैभन्दा कम २.४ प्रतिशत रहने प्रक्षेपण छ । छिमेकी देश भारतको वृद्वदर ६.९ प्रतिशतको अनुमान गरिएको छ । निर्यात प्रतिस्पर्धा बढाउने र सिमापार ऊर्जा व्यापारको लागि रुपरेखा तय गर्ने चुनौती रहेको प्रतिवेदनले औंल्याएको छ । नेपालको आर्थिक वृद्धिदर अन्य देशको तुलनामा फरक रहेको उल्लेख गरिएको हो । विश्व बैंकका दक्षिण एसिया क्षेत्री प्रमुख अर्थशास्त्री डा. हान्स टिमरले नेपालको आर्थिक स्थिति अन्य देशको तुलनामा फरक खालको रहेको बताए । थोरै निर्यात र अधिक आयात अर्थतन्त्रको चुनौती रहेको उनको भनाई छ । दक्षिण एसिया क्षेत्रको विकेन्द्रिकरणमा आधारित रहेर सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा आर्थिक वृद्धि उच्च रहेपनि स्थानीय सरकारको कार्य सम्पादन क्षमतालाई बढाउनु पर्ने जनाएको छ । नेपालको सन्दर्भमा प्रमुख अर्थशास्त्री टिमरले अधिक विकेन्द्रीकरण खतरा हुन सक्ने उल्लेख गर्दै सेवा प्रवाहमा सुधार गर्नु पर्ने बताए । नेपालस्थित विश्व बैंकका नेपाल निर्देशक फारिस हाडाज जेभोर्सले यो प्रतिवेदनले नेपालसहित विकेन्द्रीकरणमा गएका दक्षिण एसियाली मुलुकको अवस्था बारे चित्रण गरेको बताए । नेपालको सन्दर्भमा संघीय संरचना अवसर रहेपनि थुप्रै चुनौती रहेका बताउँदै स्थानीय तहको क्षमता अभिवृद्वि गर्ने तर्फ समेत ध्यान दिनु पर्ने जानकारी दिएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं आइआइडिएसका अध्यक्ष डा. स्वर्णिम वाग्लेले दक्षिण एशियाको मुख्य अर्थतन्त्र रहेको भारतसँगै श्रीलंका र पाकिस्तानमा समेत आर्थिक वृद्धिदरमा गिरावट आएकोले यसको असरबारे प्रतिवेदनले आंैल्याएको बताए । उनले नेपाल रेमिट्यान्समा निर्भर, निर्यात कम, अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान नघटेकोले नेपालमा कम असर पर्ने देखिएपनि सरकारले नीतिगत सुधार गर्न नसकेमा असर पर्न सक्ने बताएका छन् । प्रतिवेदनले नेपालको मात्र नभई दक्षिण एशियाको विकेन्द्रिकरणको अवस्थाबारे विश्लेषण गरेको बताउँदै उनले सेवा क्षेत्रलाई विकेन्द्रित गरेपनि नीतिगत क्षेत्रमा विकेन्द्रिकरणले समस्या आउनेतर्फ औल्याएको उल्लेख गरे । प्रतिवेदन सार्वजनिक कार्यक्रममा जुम्लाको चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाललले संघ प्रदेश र स्थानीय तहबिच समन्वयनको अभावमा दिगो विकास लक्ष्य हासिल गर्न प्रभाव पार्ने सचेत बन्नु पर्ने बताइन् । विपन्न ५० कानुन बनेपनि समन्वयनको अभावमा कार्यान्वयनमा आउन नसकेको उनको गुनासो छ । अब स्थानीय तह बलियो नभएसम्म संघीयता अर्थहिन हुने भन्दै उनले काम गरेर देखाउनु पर्ने चुनौती रहेको उल्लेख छ । यसैगरी, प्रतिवेदनले विश्वव्यापी जिडिपीमा आएको कमी र व्यापार,औद्योगिक उत्पादनमा आएको स्थिरताको प्रभाव दक्षिण यस क्षेत्रको अर्थतन्त्रमा पनि देखिएको उल्लेख गरिएको छ । दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूको आर्थिक वृद्धि दीर्घकालीन औषतभन्दा कम रहने प्रतिवेदनमा उल्लेख गरिएको छ । यी देशको चालु खाता घाटा घटेको र यस्तो घाटा प्रायः आर्थिक मन्दीको समयमा उठ्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । दक्षिण एसियाली राष्ट्रहरूमा मुद्रास्फिती वञ्चित सिमा भित्र नै केन्द्रित देखिएता पनि खाद्यको मूद्रास्फिती अधिक देखिएको उल्लेख गरिएको छ । यसरी, विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरलाई निरन्तरता दिन उद्योग स्थापनामा जोड दिनुपर्ने र कर असुलीलगायतका अधिकार स्थानीय तहलाई दिन उपयुक्त हुने सुझाव पनि दिएको छ । बजारका अवरोध हटाउने तर स्थानीय तहले नै कर उठाउने लगायतका काम गर्दा नेपालको आर्थिक वृद्धिदर झनै बढ्दै जाने विश्व बैंकको निष्कर्ष छ । स्थानीय सेवा प्रवाहमा सुधार गर्ने लक्ष्य राखी यी क्षेत्रका राष्ट्रहरूले विकेन्द्रिकरणलाई प्राथमिकतामा राखेको र विकासको लागि एक पटक केन्द्रिकरण वा विकेन्द्रिकरण दुबैको आवश्यकता पर्ने उल्लेख गरिएको छ । विकेन्द्रकरणबाट विकासको लागि केन्द्र र स्थानीय सरकार बीच निरन्तर अन्तरक्रिया र स्रोत बाँडफाँडको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिएको छ । विश्व बैंकले यस प्रतिवेदनको विकेन्द्रिकरणको कामको लागि प्रमुख नीतिगत मुद्दा र चुनौतीलाई केन्द्रित गर्ने उल्लेख गरिएको छ । विश्व व्यापी रुपमा नै आर्थिक वृद्धि घट्दै गएको र व्यापार र औद्योगिक उत्पादन स्थिर रहेको उल्लेख गरिएको छ । दक्षिण एसियाको समस्याको रुपमा खर्च र विकासको नतिजामा भौगलिक रुपमा डाटा अभाव रहेको उल्लेख गरिएको छ ।
भ्याट छल्दै दरबारमार्गको पिज्जा हट, राजश्व भन्छ जानकारी छैन
काठमाडौ । राजधानीको दरबारमार्ग स्थित पिज्जा हट नामक चर्चित मल्टिनेशल होटलले कर छली गरेको भेटिएको छ । होटलले खाजा खाने ग्राहकलाई कागजमा लिखित बिल दिएर कर छली गर्दै आएको प्रमाण फेला परेको हो । पिज्जा हटमा खाजा खाँदा मसरुम सुपको २ सय १९ रुपैयाँ, पोटेटो क्रन्चको २ सय ४९ रुपैयाँ तथा भेज स्प्रेन्चीको ६ सय ६९ रुपैयाँ गरी जम्मा ११ सय ३७ रुपैयाँको बिल बन्नु पर्ने थियो । होटलले राज्यलाई तिर्नु पर्ने करलाई वेवास्ता गर्दै सो रकमलाई एउटा कागजमा लेखेर दियो । यस्ता प्रकारका होटलहरू बिलविजक जारी गर्ने/ नगर्ने विषयलाई लिएर विकासन्युज यो अनुसन्धान गरेको हो । दरवारमार्गका प्राय यस्ता प्रकृतिका होटलले ग्राहकलाई बिलविजक दिएपनि पिज्जा हटले भने यसरी नै कागजको टुक्रामा लेखेर बिल दिने गरेको छ । दरवारमार्गको मात्र होइन ठमेलस्थित पिज्जा हटमा पनि ग्राहकलाई यस्तै व्यवहार गरिन्छ । उसले पनि यसरी नै कागजको टुक्रालाई बिल बनाउने गरेको छ । यसरी हातले कागजको टुक्रामा लेखेर दिएको बिल जारी गरेको प्रमाण कहि कतै हुँदैन । बिल नलिदा आफू मूल्य अभिवृद्धि कर र सेवा शुल्कबाट बचेको ग्राहकले महशुस गरेपनि होटलले भने आफूले लिनुपर्ने सेवा शुल्क र कर लिइसकेको हुन्छ । यसरी ग्राहकलाई बिल नदिँदा ग्राहकले तिरेको कर होटलको हुन्छ । सरकारी ढुकुटीमा जाँदैन । पिज्जा हटले बिल नदिएर राज्य र ग्राहक दुबैलाई ठगिरहेको छ । भ्याट बिल मागे दिने नत्र नदिने ग्राहकहरूले मागेको खण्डमा होटलले मूल्य अभिवृद्धि कर (भ्याट) बिल सजिलै दिने गरेपनि नमागेको अवस्थामा ग्राहकहरूले बिल पाउँदैनन् । नियमित रुपमा पिज्जा हट होटलमा खाजा खान जाने ग्राहकले दिएको जानकारी अनुसार–‘सो होटलले बिल नै नदिने त होइन, तर नमागेको खण्डमा भने ग्राहकहरूलाई बिल दिँदैन । हामी कहिले माग्छौं, कहिले त्यतिकै छाडिदिन्छौं, पिज्जा हटमा भेटिएका ती ग्राहकले भने ‘खाजा खाएको रकम भुक्तान गरेपछि बिल दिनु उनीहरूको धर्म र कतव्र्य हो भने बिल माग्नु हाम्रो अधिकार हो ।’ यस्तो छ सरकारको प्रतिक्रिया राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार–‘हालसम्म हामीले जटिल किसिमका मुद्दाहरूका लागि हामीले कदम चाल्दै आएका छौं । तर, यस्ता घटना पूर्ण रुपमा रोकिएका छैनन् ।’ उनले कर छली रोक्न अन्य विभागहरूले समेत काम गर्दै आएको बताए । साथै, गम्भिर ढङ्गका समस्याहरूमा आफ्नो तर्फबाट काम गर्दै आएको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ । पाँचतारे होटल अन्नपूर्णसँगै जोडिएको होटल हो पिज्जा हट । राजधानीका मात्र नभइ स्वदेश तथा विदेशका नागरिकले पिज्जाको स्वाद लिनका लागि उक्त होटलमा पुग्छन् । होटलबाट निस्कने क्रममा खाजा खाने ग्राहकहरूले होटलको काउण्टर भेट्न सक्छन् । सो काउण्टरमा ग्राहकहरूले आफूले खाएको खाजाको रकम भुक्तान गर्दछन् अनि बिल पनि लिन्छन् । खाजा खाने शिलसिलामा विकाशन्युज प्रतिनिधि राजधानीको दरबारमार्ग स्थित पिज्जा हट होटलमा पुग्दा होटलले मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रदान गरेन । होटलसँग विकाशन्युज प्रतिनिधिले बिल मागे । भ्याट बिल आएन । होटलले बिल त सोध्ने बित्तिकै ल्याइदियो । तर, सो बिल इलेक्ट्रोनिक वा भ्याट बिल थिएन । बिल झट्ट हेर्दा चिट जस्तो प्रकृतिको देखियो । दरवारमार्गका होटलहरूमा विशेषत विदेशी पर्यटकहरूको चाप बढी रह्न्छ । यस्तो ठाउँमा कर छली गर्दा त्यसको नकारात्मक हल्ला विदेशमा समेत पुग्ने छ भने राज्यले ठूलोमात्र राजस्व गुमाइरहेको हुन्छ । पिज्जा हटले राजधानीमा बसेर बदमासी गरिरहेको छ । राजश्व चुहावटमा यस्तै छिद्रहरू रहेकाले यसको नतिजा सधै नकारात्मक नै रहने राजस्वका अधिकारीहरूको भनाइ छ । कर छल्न कसैलाई छुट छैन, त्यसमाथि राजधानीको मुटुमा बसेर कर छली गर्दा कर प्रशासनलाई चुनौती दिएको राजस्व अनुसन्धान विभागले बताएको छ । साथै, राजश्वको क्षेत्रमा लामो समयसम्मको अनुभव हासिल गरेका अधिकारीहरुले भने आगामी दिनमा कर छली रोक्न सबैतिरबाट प्रयास हुन जरुरी रहेको तर्क गरेका छन् ।