एडिबीको ऋण सहयोगमा सञ्चालित विकास परियोजनाको लक्ष्यअनुसार भएन प्रगति
काठमाडौं । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा देशका विभिन्न भागमा सञ्चालित विकास–निर्माणका परियोजनाले लक्ष्यअनुसार प्रगति नगरेको पाइएको छ । एडिबीको ऋण सहयोगमा सञ्चालित आयोजनाको आज बिहान यहाँ भएको समीक्षा बैठकमा सन् २०१९ का लागि निर्धारण गरिएका लक्ष्य पूरा हुन नसकेका विवरण प्रस्तुत भएका छन् । “चौबन्न प्रतिशत मात्र ठेक्का लागेको र ५५ प्रतिशत रकम निकासा भएको तथ्याङ्कले हामी कतै चुकेको प्रतिबिम्बित हुन्छ, त्यसैले सबै पक्ष मिलेर लक्ष्य हासिलका व्यवधान हटाऔँ,” बैठकका सहअध्यक्ष अर्थसचिव शिशिर ढुङ्गानाले कात्तिक १४ गतेसम्मको प्रगति विवरण सुनाउँदै भने । परियोजना कार्यान्वयन गर्ने सबै निकायलाई इमानदारीपूर्वक आफ्नो उत्तरदायित्व निर्वाह गर्न आह्वान गर्दै उनले परियोजनासँग सम्बन्धित कामलाई द्रुतगतिमा कार्यान्वयन गर्न अर्थमन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकका अर्का सहअध्यक्ष एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले विगतका अनुभव र अवरोधबाट पाठ सिक्दै निर्धारित वार्षिक लक्ष्य हासिल गर्ने दिशामा दत्तचित्त भएर लाग्नुको विकल्प नरहेको बताए । नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर आगामी चारवर्षका लागि बैंकले ‘नेपाल साझेदारी रणनीति’ हालै सार्वजनिक गरेको सन्दर्भ सुनाउँदै उनले त्यसमा वार्षिक सहायता रकममा भारी वृद्धि भएको जानकारी दिएका छन् । बैंकका प्रबन्धक रुडी भान डेलले बैंकको ऋण सहयोगमा सञ्चालन भएका परियोजनाको विस्तृत विवरण पेश गर्दै केही परियोजनाको प्रगति नीतिगत र प्राविधिक समस्याका कारण सन्तोषजनक हुन नसकेको गुनासो गरेका छन् । बैठकमा यातायात तथा सञ्चार, मानव तथा सामाजिक विकास, ऊर्जा, जल तथा अन्य शहरी पूर्वाधार तथा सेवा, कृषि, प्राकृतिक स्रोत तथा ग्रामीण विकासमा केन्द्रित रहेर छलफल भइरहेको छ । रासस
सिटी एक्स्प्रेसको लखपति योजना अन्तर्गत बाग्लुङ्गका थापाले पाए एक लाख रुपैयाँ
काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६-न यति न उति सिधै लखपति” उपहार योजनाको पहिलो महिनाको विजेता घोषित भएका छन् । यस अन्तर्गत बाग्लुङ्ग निवासी हाल जापानमा कार्यरत गोबिन्दबहादुर थापा विजेता घोषित भएका छन् । जापानबाट पैसा पठाई पहिलो(असोज) महिनाको एक लाख रुपैयाँको मासिक लक्कीड्रमा परेर थापा विजेता भएका हुन् । विजेता थापाले एक लाख रुपैयाँको चेक प्राप्त गरेका छन् । उक्त नगद पुरस्कार कम्पनीले एक समारोह आयोजना गरी विजेता गोबिन्द बहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरेको छ । दुई महिना अवधिको यो अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ६३० जनाले २०० रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले १० हजार रुपैयाँ जिति सकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो । लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० रुपैयाँको मोबाइल टप अप १० जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले १० हजार रुपैयाँ र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले एक लाख रुपैयाँ जित्न सक्ने छन् । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप १० लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ ।
प्रहरीलाई पचास हजार घुस दिन खोज्ने महिला प्रहरीकाे नियन्त्रणमा
काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५० हजार घुस दिन खोज्ने होटलका सञ्चालक ४० वर्षीया सोममाया राईलाई मङ्गलबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा प्रहरीलाई घुस दिन खोजेपछि राईलाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेकी राईलाई आवश्यक कानूनी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको वृत्तले जनाएको छ । रासस
सरकारको करोडौ लगानी रहेको अस्पताल अझै सञ्चालनमा आएन
दमक । झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित साविकको खजुरगाछीमा निर्माण गरिएको अस्पतालको सुविधासम्पन्न भवनमा उपचार सेवा अझै शुरु हुनसकेको छैन । सरकारको करोडौं लगानीमा निर्माण गरिएको सो अस्पताल नियमित रूपमा सञ्चालन नहुँदा त्यस क्षेत्रका सेवाग्राही अन्यत्र पुगेर सेवा लिन बाध्य हुँदै आएका छन् । करिब आठ वर्षअघि निर्माण शुरु भई पटक–पटक म्याद थप गरेर छ महिनाअघि मात्र अस्पतालको तीनतले पक्की भवन निर्माण सम्पन्न गरिएको थियो । सो भवन स्थानीय सरकारलाई हस्तान्तरण भइसके पनि अस्पतालको सेवा सञ्चालन हुन सकेको छैन । खजुरगाछी बजारबाट करिब एक किलोमिटर टाढा सोही ठाउँका श्याम चौधरीले सार्वजनिक प्रयोजनका लागि उपलब्ध गराएको सात बिघा जग्गामा रहेको सो अस्पतालमा चिकित्सकको दरबन्दी र एकान्त ठाउँमा रहेका कारण मजबुत सुरक्षा व्यवस्थाको अभावमा अस्पतालको सेवा सञ्चालन हुन नसकेको अस्पताल सञ्चालक समितिका अध्यक्षसमेत रहेका वडा नं ६ का अध्यक्ष बद्रीनारायण यादवले जानकारी दिएका छन् । उनले भने, “अस्पतालको भवन त बनेको छ, तर अस्पतालअनुसार एक जना एमबीबीएस चिकित्सकसहित अन्य विभागमा पनि पर्याप्त जनशक्ति आवश्यक हुन्छ, चिकित्सक भए अन्य उपकरण तथा फर्निचरका सामान हामी आफैँले बन्दोबस्ती गरेर सेवा दिन सकिन्छ ।” एमबीबीएस चिकित्सकको दरबन्दी नभएकै कारण त्यहाँ सरकारको करोडौँ लगानी रहेको अस्पताल भवन र सामाग्रीमा उपयोगविहीन अवस्थामा पुगेको भन्दै स्थानीयवासीले तत्काल अस्पतालको सेवा सञ्चालन गर्न माग गर्दैआएका छन् । रासस
बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव
बाँके । बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य सात, सहायक नौ र साना ७८ छन् भने बाँकेमा नौ सीमास्तम्भ गायव पारिएका छन् । जसमध्ये मुख्य चार र सहायक पाँच सीमास्तम्भ छन् । बाँके, बर्दियासँग सीमा जोडिएको भारतको बहराइच जिल्ला पर्दछ । करिब ६५ किलोमिटर बाँकेखण्ड र ८० किलोमिटर बर्दियाखण्ड रहेको छ । बाँके र बर्दियालाई स्थानीय मानखोला नदीले छुट्याएको छ । नेपाल–भारत छुट्याउने बाँकेखण्डमा जम्मा ३०७ सीमास्तम्भ छन् । यसमा पनि मुख्य ३२ र सहायक २७५ सीमास्तम्भ छन् । जसमध्ये मुख्य २७ सीमास्तम्भ राम्रो अवस्थामा छन् भने चार खोलाले बगाएको छ । एउटा सीमास्तम्भको पुनःनिर्माण गर्नुपर्ने देखिएको छ । दुई सय ४६ सहायक सीमास्तम्भ राम्रो अवस्थामा भए पनि २१ को मर्मत गर्नुपर्ने देखिएको छ । तीन सहायक स्तम्भ पुनःनिर्माण गर्नुपर्ने देखिएको छ भने पाँच खोलाले बगाएको छ । यस्तै, बर्दियाखण्डमा ७२ सीमास्तम्भ मर्मत गर्नुपर्ने भएको छ । तीमध्ये ३१ मुख्य, ४० सहायक र सानो एउटा सीमास्तम्भ छन् । पुनःनिर्माण गर्नुपर्ने मुख्य सीमास्तम्भ चार वटा छन् भने सहायक १२ र साना ३१ सीमास्तम्भ रहेका छन् । यस्तै सात साहयक सीमास्तम्भ खोलाले बगाएको छ भने २५ साना सीमास्तम्भलाई पनि खोलाले बगाएको छ । नापी विभागको रेकर्डअनुसार ४२ नम्बरको सीमास्तम्भ मानखोलादेखि ९८ नम्बरको सीमास्तम्भ कर्णाली नदीसम्म बर्दियाखण्ड हो भने मानखोलादेखि गुर्जेनगौरीसम्म बाँकेखण्ड पर्दछ । फेला नपरेका, पुनःनिर्माण, मर्मत गर्नुपर्ने काम सबै फिल्ड सर्वे टोलीले गर्दछ । फिल्ड सर्वेमा नेपाल– भारत दुवै देशका अधिकारी संलग्न रहन्छन् । फिल्ड सर्वे टोलीले पनि समयमा काम पूरा गर्न सकेको छैन । सर्वे टोलीले पूर्वदेखि काम थालेको बताइन्छ । नेपालतर्फ सीमानाकामा सशस्त्र प्रहरी बल नेपाल तैनाथ छ । सशस्त्र प्रहरी चौकी १३ देखि करिब २० किलोमिटरको फरकमा स्थापना गरिएको छ । यो दूरी बाँके र बर्दियाकै हो । भारतले भने सशस्त्र सीमा बल (एसएसबी)लाई करिब पाँच किलोमिटरको फरकमा तैनाथ गरेको छ । भारततर्फ बाटो छ, तर नेपालतर्फ बाटो छैन । त्यसकारण भारतले नेपालतर्फको सीमानाकामा आफ्नो दबाब बढाउँदै लगेको स्थानीयवासीको भनाइ छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को उपस्थिति भने बाक्लो रहेको छ । प्रत्येक एक/दुई किलोमिटरमा एसएसबीले गस्ती गरिरहेको दशगजामा देख्न सकिन्छ । भारत सिमानाको बाँकेखण्डमा नेपाली सुरक्षा उपस्थिति कमजोर देखिएको छ । सीमाको निगरानीका लागि सशस्त्रको मात्रै सीमित जनशक्ति परिचालित छ । भातरतर्फ भने एसएसबीको बलियो उपस्थिति रहने गरेको छ । सशस्त्र प्रहरी बल नं ३० गण बागेश्वरीले नेपालगञ्ज भन्सार, कालाबन्जर, गङ्गापुर, नरैनापुर, सुइयालगायतका ठाउँमा सीमा सुरक्षाका लागि चौकी स्थापना गरेको छ । “हामीले दैनिक रूपमा सीमामा गस्ती गरिरहेका छौँ”, गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले भने, “सीमास्तम्भको अवस्था नियमित रूपमा अवलोकन गर्दै आएका छौँ ।” सीमामा दुई देशका सुरक्षाकर्मीको संयुक्त गस्तीसमेत बेला–बेला हुन्छ । कतिपय बेला क्षेत्र तोकेरसमेत गस्ती हुने गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । “सीमा सुरक्षाका सन्दर्भमा काउण्टर पार्टसमा छलफलसमेत हुने गरेको छ”, उनले भने, “प्रत्येक साता र आवश्यकताअनुसार नियमित पनि संयुक्त गस्ती हुने गरेको छ ।” सशस्त्र प्रहरीले सीमाको सुरक्षाको काम मात्र गर्ने भएकाले सीमास्तम्भ मर्मत आफ्नो कार्यक्षेत्रभित्र नपर्ने बताएको छ । “हामीले सीमास्तम्भ मर्मत गर्ने होइन, हाम्रो काम सीमा सुरक्षाको मात्रै हो, सीमा सुरक्षाकै लागि पनि हामीसँग आवश्यकताभन्दा कम जनशक्ति छ, पाँच वटा युनिटबाट ६५ किलोमिटर हेर्नुपर्छ”, प्रहरी उपरीक्षक अधिकारीले भने । सीमावर्ती क्षेत्रका बासिन्दा नेपाली सुरक्षाकर्मीको अवस्था सीमामा पातलो रहने गरेको बताउँछन् । उनीहरु भन्छन्, “नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सीमा सुरक्षा बलको गस्ती बढी रहेको देखिन्छ ।” बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमामा नियमित गस्ती गरिरहेको बताउँछन् । “सीमामा नेपाली सुरक्षाकर्मी ‘एलर्ट’ छन्, सीमा क्षेत्रमा थप युनिट विस्तारका लागि हामीले पहल गरिरहेका छौँ”, उनले भने । बाँकेको महेन्द्रनगरमा सशस्त्र प्रहरी गणको मुख्यालय राखिएको छ । सशस्त्रले सीमा सुरक्षासँगै अर्को युनिटले राजश्व चुहावट नियन्त्रणका लागि भन्सार, औद्योगिक सुरक्षा बलका रूपमा पनि जिल्लामा परिचालित छ । रासस
‘अष्ट्रेलियाका मुख्य शहरहरुमा व्यापार, पर्यटन तथा लगानी सम्बन्धी रोड शो हुनुपर्छ’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले अष्ट्रेलियाका मुख्य शहरहरुमा व्यापार, पर्यटन तथा लगानी सम्बन्धी रोड शो हुनुपर्ने बताएका छन् । उनले नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर ग्रेमी वडसँग भएको भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् । अध्यक्ष श्रेष्ठले लगानी सम्मेलनपछि र एकद्धार प्रणाली लागू भएपछि लगानीको संभावना बढेको बताए । अष्ट्रेलियाको मुख्य शहरहरु ब्रिसवेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थ लगायतका आकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबद्र्धन गर्न रोड शो गर्नुपर्ने, व्यापार/मेला प्रदर्शनीमा सहभागिताको अवसर प्राप्त हुनुपर्ने बताएका हुन् । नेपालले अल्पविकसित मुलुकमै अष्ट्रेलियाले प्रदान गरेको करमुक्त प्रवेशको सुविधाको अधिकतम प्रयोग गर्न नसकिरहेको कटु यथार्थ प्रस्तुत गर्दै नेपाली समुदाय पनि अष्ट्रेलियामा ठूलो संख्यामा रहेको हुँदा तिनीहरुलाई समेत लक्षित गरी निकासी प्रबद्र्धन र आयत व्यवस्थापन हुनुपर्ने जोड दिए । नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर ग्रेमी वडले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्चात लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताएका छन् । उनले साना लगानीकर्ताहरुलाई समेत सहज वातावरण हुने कानूनी प्रावधान भएमा नेपालमा अष्ट्रेलियाको कृषि, जलश्रोत, पर्यटन आदि क्षेत्रमा उल्लेख्य लगानी आउने सम्भावना रहेको बताएका छन् । राजदूत वडले नेपाल चेम्बर अफ कमर्सको जमलस्थित कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा आफ्नो कार्यकालमा सकेसम्म नेपाल अष्ट्रेलियाबीच सिधा हवाई सेवा शुरु गर्न आफूले पहल गर्ने बताए । यसको लागि व्यवसायिक निर्णय हुनुपर्ने र हवाई सम्झौता भैसकेको परिप्रेक्षमा सो प्रक्रिया आवहन गर्न कठीन नहुने उनले जनाए । साथै, उनले अष्ट्रेलियाले नेपालको सामुदायिक वनमा गरेको सहयोग अन्य मुलुकको लागि पनि अनुकरणीय भएको बताउँदै नेपालमा लगानी तथा व्यापारको लागि कानूनी र असल व्यवसाय मैत्री वातावरण भएमा अष्ट्रेलियाको लगानी उल्लेख्य रुपमा आउन सक्ने जानकारी दिए ।
विद्युतीय बसको सञ्चालन खर्च पाँच गुणा कम
काठमाडौं । विद्युतीय बस खरिद अरु बसभन्दा तुलनात्मक रूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ । सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने शुल्क पाँच गुणा कम हुने गरेको छ । डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक रु चार हजारसम्मको इन्धनमा खर्च हुन्छ । विद्युतीय सवारीसाधन चार्ज गर्दा महसुलवापत दैनिक झण्डै रु ७५० खर्च हुने प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताएका छन् । जनशक्तिका लागि लाग्ने खर्च भने दुवैमा बराबर नै रहेको उनको भनाइ छ । खरिद मूल्य बढी भए पनि सञ्चालन खर्च कम रहेकाले प्रालिले अहिले यात्रुबाट लिने भाडामा पनि सहुलियत दिइरहेको छ । उनले भने, “सरकारले सार्वजनिक यातायातका लागि निर्धारण गरेको भाडादरमा हामीले २० प्रतिशत छुट दिइरहेका छौँ ।” विद्युतीय सवारी साधन चार्ज गर्नका लागि बनाइएका निजी संस्थाले निर्माण गरेका ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिने सरकारले व्यवस्था गरेको छैन । ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिँदा सञ्चालन खर्च कम हुने र यात्रुलाई अझै छुट दिन सकिने उनले बताए । दुई महिना पहिलेदेखि प्रालिले चार वटा विद्युतीय बस चक्रपथमा सञ्चालन गरिरहेको छ । यही वर्ष २५ बस थप्ने उक्त प्रालिको योजना छ । रासस
एनआइसी एशियाले ल्यायो ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना
काठमाडौं । एनआइसी एशिया बैंकले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजना सार्वजनिक गरेको छ । बैंकले यसअघि सार्वजनिक गरेकाे “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम परिर्वतन मात्र गरेर उक्त नामकाे याेजना सार्वजनिक गरेकाे हाे । आम जनमासहरुलाई सजिलोसँग बुझ्न र बुझाउन सजिलो होस् भन्ने हेतुले यस योजनालाई “सुपर चमत्कारिक मासिक निक्षेप खाता” भनि नामाङ्कन गरिएको बैंकले जनाएकाे छ। रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहकहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तीय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सक्नेछन् । यस बैंकले सार्वजानिक गरेको “सुपर चमत्कारिक खाताहरु” अन्तर्गतकाे उक्त “सुपर चमत्कारिक मासिक निक्षेप खाता” बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिना देखी १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुसार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज पाउन सक्नेछन् । रिकरिङ्ग निक्षेप योजनाअन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत रहेकाे र यस्ता निक्षेप योजनाहरुले निक्षेप श्रोत परिचालन गरिरहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताएका छन् ।